Category: कानुनी कुरा

  • नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो ।

    दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक मामलामा राष्ट्रपतिको सक्रियतालाई भने धेरैले संशयका साथ हेर्ने गर्छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै खाले बैठकलाई बहिष्कार गर्ने रणनीति ल्याएका छन् ।

    प्रचण्ड र अन्य नेताहरु भने सबै विवाद पार्टी भित्र छलफल गरी टुंगोमा पुग्नु पर्ने पक्षमा रहेका छन् । यसै सन्दर्भमा दुई अध्यक्षसँग राष्ट्रपतिले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो।

    ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो । यस्तो कक्षाका लागि बग्गीखाना भने जानुपर्ने छैन । अनलाइनबाट प्रहरीले लिने कक्षा अनिवार्य गरिएको छ ।

    लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालक स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने नियम थियो । अब भने ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिइने भएको छ ।

    कोरोना संक्रमणको महामारीका बीचमा अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले उल्लेख गरेको छ ।

  • सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य

    सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य

    काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अमान्य भएको बताएको छ । प्रतिवेदनमा प्रधानमन्त्रीकै संलग्नतामा भष्ट्राचारको प्रवद्र्धन हुने गरेको उल्लेख छ । सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको टिप्पणी गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर खोज अनुसन्धानविनै मनोगत धारणाबाट प्रतिवेदन अभिप्रेरित रहेको बताएका छन् ।

    उनले सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकारले अस्वीकार गर्ने उल्लेख गरेका छन् । सरकार विरोधीहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारिएको सरकारको टिप्पणी रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन इण्डेक्समा नेपाल १२४ औं स्थानमा देखिएको छ ।

  • महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    बर्दिबास । महोत्तरीमा सोमबार ६ वर्षिय बालिकाको हत्या भएको अवस्थामा शव फेला पर्यो । यस घटनापछि मंगलबार दिनभर महोत्तरीको बर्दिबास दिनभर तनावग्रस्त रह्यो । स्थानीयले हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहको घरमा आगजनी गरे ।

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाए । उक्त अवरोध हटाउने क्रममा प्रहरीले चलाएको गोली लागेर केही व्यक्ति घाइते भएका थिए । उनीहरुमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

    बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई उदृत गर्दै नेपाली संचरमाध्यमले लेखेका छन् । उनको दुवै तीघ्रामा गोली लागेको थियो । गम्भीर घाइते उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

    बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्या भएपछि स्थानीय आक्रोसित बनेका छन् । मंगलबार स्थानीयले टायर बाल्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा सडक अवरुद्ध गरेपछि प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको हो ।

    बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको हो । उनी आइतबार साँझबाट वेपत्ता थिइन् । बालिकाको आफुले हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    मदिरा सेवन गरेका उनले परिवारलाई उक्त कुरा बताएका थिए । त्यसपछि परिवारले नै प्रहरीलाई खबर गरेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको आशंका छ । यद्दपी पोष्टमार्टम रिर्पोट नआएका कारण हत्याको कारण नखुलेको प्रहरीको भनाई छ ।

  • सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    काठमाडौं । अब सरकारी हाकिमले निजी स्तरमा ट्युसन पढाउन अनुमति लिनु पर्ने भएको छ । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने नीति ल्याइएको हो ।

    राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने निर्णय मन्त्रालयले गरेको हो ।

    निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन मन्त्रालयको अनुमति लिनुपर्ने नियम यसअघि पनि थियो । तर, यसको कार्यान्वयन कसैले पनि गरेको थिएन । मन्त्रालयका अनुसार यो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुनेछ ।

    भौतिक रुपमा उपस्थित भएर वा अनलाइन दुवै माध्यमबाट अनुमति बेगर निजी इन्ष्टिच्युटहरुमा पढाउन अब नपाइने नियमन बनेको छ ।
    तालिम तथा प्रशिक्षण सञ्चालनका लागि नेपाल सरकारकै स्टाफ कलेज, स्थानीय विकास प्रशिक्षण केन्द्र, राजश्व प्रशासन तालिम केन्द्र, न्याय प्रशिक्षण तालिम केन्द्र लगायत छन् ।

    ती केन्द्रहरुमा गएर कर्मचारीहरुले पढाउन सक्ने प्रावधान छ । तर चर्को मूल्य पाइने भएकाले सरकारी कर्मचारीको आकर्षण निजीमा छ । मन्त्रालयले यसअघि इन्सटिच्युटहरुमा पढाउने अनुमति पाएकाहरुको अनुमति पत्र आइतबार नै रद्द गरेको छ ।

    अब नयाँ अनुमति लिनु पर्नेछ । ट्युसन पढाउन कर्मचारीले बिदा माग्ने गरेको पाइएकाले कर्मचारीको निगरानी गर्ने निर्णय समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । मन्त्रालयको निर्णय विपरीत कुनै कर्मचारीले निजी इन्ष्टिच्युटमा पढाएको पाइएमा कारबाही हुनेछ ।

  • बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद

    बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद

    काठमाडौं । बलात्कारविरुद्ध मृत्युदण्डको आवाज उठिरेहका बेला बलात्कारमा संलग्न दोषीमाथि हुने सजाय बढेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई कानूनको दायरामा ल्याउने गरी अध्यादेश ल्याएको हो ।

    नेपाल ऐन संशोधन अध्यादेशमार्फत् ल्याउँदै सरकारले बलात्कारका घटनामा मिलापत्र गराएमा दण्डको व्यवस्था गरेको हो।

    यो अध्यादेश जारी भएसँगै मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।

    मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ। राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ ।

    अपराध संहिता २०७४ को दफा २२५ मा संशोधन भएको हो। यस दफामा मिलापत्र गराउने विषय यसअघि उल्लेख छैन। अध्यादेश अनुसार मिलापत्र गराउने, त्यसका लागि उत्साहित गर्ने अथवा दवाव दिने पनि कारवाहीको भागिदार हुनेछन्। बलात्कारका घटना लेनदेन अथवा गैर लेनदेनकै आधारमा मिलापत्र गराएको भेटिए पनि कारवाही हुने भएको छ।

    अब बलात्कारको घटनामा उमेर समूह परिवर्तन गरिएको छ। जस अनुसार १४ देखि १६ वर्ष उमेरका किशोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद हुने भएको छ।

    त्यसैगरी १६ देखि १८ वर्षकी किशोरी बलात्कार गर्नेलाई १४ वर्ष कैदको व्यवस्था गरिएको छ। १८ वर्षदेखि माथिकालाई बलात्कार गर्नेलाई १२ वर्ष कैद तोकिएको छ। यसअघि यी उमेर समूहमा क्रमश १२, १० र ७ वर्ष कैदको व्यवस्था थियो।

    पछिल्लो समय बलात्कारका घटनामा जनप्रतिनिधि तथा पञ्च, गुठियारहरुले नै मिलापत्र गराउँदै आएको खबर सार्वजनिक भएका थिए। मिलापत्रले पीडितले न्याय पाउने अवस्था साँघुरिएको भन्दै चर्को विरोध भएको थियो।

  • पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ

    पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ

    बैतडी । बैतडीमा गाई पालन गर्न भनी नगरपालिकाबाट लगेका गाईको सामुहिक हत्या भएको पाइएको छ । प्रहरीले गाईलाई हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ समेत गरेको छ । बैतडीमा १४ वटा गाई एकै स्थानमा मृत अवस्थामा भेटिएपछि यो घटना सार्वजनिक भएको हो ।

    प्रहरीका अनुसार पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । अर्का एक जना फरार छन् । सोही स्थानका सुरेश पार्की फरार रहेका छन् ।

    उनीहरुले बैतडीको पाटन नगरपालिकासँग सम्झौता गरी ३४ वटा गाई पाल्ने गरी लगेका थिए । गाइपालनलाई प्रोत्साहन गर्न नगरपालिकाले उनीहरुलाई प्रति गाईवापत २ हजार नगदसमेत दिएको थियो । नगरपालिकाबाट लगेका १४ वटा गाई मृत अवस्थामा फेला परेपछि उनीहरूले नै हत्या गरेको प्रहरीको आशंका छ ।

  • बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

    बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

    बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो ।

    प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार गरेका थिए । त्यसपछि शेरबहादुरले छोरामाथि नै चक्कु प्रहार गरेका थिए ।

    चक्कु लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

  • पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

    पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

    वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो ।

    चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि उनको शव नारायणी अस्पतालमा राखिएको थियो । शवको पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको हो।

    उक्त अवसरमा नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेता पुगेका थिए । उनीहरुले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

    गाँउपालिका कमिटीमा ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा चौरसिया घाइते भएका थिए । उनको कात्तिक ७ मा उपचारका क्रममा निधन भएको थियो। त्यसपछि प्रहरीले उनलाई रड प्रहार गर्नेविरुद्ध जाहेरी लिन मानेको थिएन ।

    स्थानीय प्रहरीलाई केन्द्रले दवाव दिइरहेको थियो । किनकी यहाँ पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप भएको हो । यसमा प्रधानमन्त्रीस्तर बाटै प्रहरीलाई दवाव गएको भन्दै केन्द्रिय राजनीति समेत तरंगित बनेको थियो ।

  • काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या

    काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या

    काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । काठमाडौंको धापासीमा एक समूहले छुरा प्रहार गरी युवकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान ज्यान गएको छ ।

    धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा उनीमाथि समूहले छुरा प्रहार गरेको हो । त्यसक्रममा गम्भीर घाइते भएका उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।

    प्रहरीका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

    विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

    विराटनगर । विप्लव समुहका दुई कार्यकर्ता हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार नियन्त्रणमा लिइएको हो ।


    पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे रहेका छन् । उनीहरुले हातहतियार देखाउँदै स्थानीयसँग चन्दा आतंक फैलाएपछि प्रहरीले खोजीको सूचिमा राखेको थियो । उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले मिक्लाजुङ गाउँपालिका १ स्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यो घर खाली भएका कारण उनीहरु कब्जा गरेर बसेका थिए । उनीहरूको साथबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ। घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) हुन । राई भने साधरण सदस्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

    उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरसहित बम विस्फोटमा प्रयोग हुने सामग्री बरामद भएको छ ।

  • काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

    प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ । पूर्व र मध्य नेपालका नाकामा अत्यधिक कडाई भएका कारण अहिले तस्करीका लागि सुदुरपश्चिमका नाका प्रयोगमा आइरहेका छन् ।

    यसअघि कंचनपुरमा तस्करले दुई प्रहरीको हत्या गरिसकेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका अनुसार महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाएर ल्याएको १० बोरा पटाका बरामद भएको हो ।

    प्रहरीले बस चालक कञ्चनपुरका ३० वर्षिय नविन जोशीलाई नियन्त्रणमा लिएको छ । नागढुंगाबाटै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    ना ६ ख ७११४ नम्बरको बसमा चेकजाँच गर्दा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएर आएको खुलेको छ ।

  • एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

    एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

    भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

    सोही क्रममा झडप भएको र त्यसले उग्ररुप लिँदा एक जनाको हत्या भएको पाइएको छ । घटनामा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार शाहिवको हत्या अभियोगमा शाहिवसँगै काम गर्ने दुई जना भारतीय मजदुर भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेका छन् ।

    उनीहरुले शनिबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि राती ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच एक प्रेमिकाका विषयमा विवाद भएको हो । प्रहरीका अनुसार हुसेनले अनुचित शब्द बोलेको र त्यसक्रममा विवाद उत्पन्न भएको बताइएको छ । त्यसपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा ढुंगा प्रहार गरेका थिए ।


    शाहिदको शव आइतबार बिहान इटापाकेको प्लानिङस्थित नरकटघारी खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले तालीमप्राप्त कुकुरको सहायतामा अपराधीको खोजी गरेको थियो ।

    प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गरी दुवै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेपछि पोल खुलेको थियो । दुबै जनाले हत्या स्वीकार गरेका छन् ।

  • देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

    देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे ।

    कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई ख्याल गर्न उनले सजग गराएका छन् ।

    प्रधानमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भन्दै सचेत गराएका छन् । अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको भन्दै उनले महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए ।

    सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा कोरोनाको निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहने समेत उनले बताए ।

  • पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु

    पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु

    वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् ।

    प्रहरीका अनुसार उनको आज बिहान ९ बजे वीरगंजस्थित एलएस न्यूरो हस्पिटलमा ज्यान गएको छ । बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा नेकपा कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो ।

    सोहीबेला उनी गम्भीर घाइते भएका थिए। झडपमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराएको भन्दै झडप शुरु भएको थियो ।

    झडपमा घाइते भएका अन्य ७ जना भने उपचार पछि घर फर्किएका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

  • प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

    प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन ।

    सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री स्वयमःले गरेको उपेक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीलाई अहिले सामाजिक संजालबाट निकै प्रश्नहरु आइरहेका छन् ।

    संसदबाट संविधान संशोधन गरेर नयाँ नक्सा निशान छापमा परिसकेको अवस्थामा प्रधानमन्त्री स्वयले यसको उपेक्षा गरेका हुन् । यसबाट प्रधानमन्त्रीको राष्ट्रवाद केवल देखावटी मात्र भएको भन्दै आलोचना भइरहेको छ । यसअघि यसै साता प्रधानमन्त्रीले भारतीय गुप्तचर रअका प्रमुखलाई भेटेपछि उनको चर्को आलोचना भइरहेको छ ।

  • सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    काठमाडौं

    नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी कदमको भर्त्सना गर्दै बिज्ञप्तिमा निम्न मागहरु सहित सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई अन्यायको विरुद्ध लड्न आव्हान समेत गरेका छन् ।

    १. २०७७ कात्तिक २ गते कोभिड–१९ नोभेल कोरोना भाईरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको कथित निर्णय खारेज गर्नु पर्ने।

    २. कोभिड १९- बाट सङ्क्रमित भएका सम्पुर्ण नागरिकहरुको उपचार सरकारले नि:शुल्क  गर्नु पर्ने ।

    ३. प्रतिनिधि सभाका सांसद तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई गैर कानुनी ढंगले दिएको दशैं भत्ता फिर्ता गरी कोरोना कोषमा राख्नु पर्ने। 

    ४. विभिन्न क्षेत्रमा मौलाएको सानादेखि ठुलासम्मका भ्रष्टचारको सत्यतथ्य छानबिन गरि जनताको बीचमा सार्बजनिक गरी दोषीलाई दण्ड दिईनु पर्ने।

    बहिर्गमित जनमुक्तिसेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ को नामबाट जारी प्रेस बिज्ञप्ति उपर सरकारलाई छिटो भन्दा उचित कदम चाल्न समेत भनिएको छ ।

  • बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

    बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

    बुटवल । प्रदेश ५ को स्थायी राजधानीका विषयमा बढ्दो तनावका बीच आज बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवल आइरहेको समयमा उनको गाडीमा ढुंगा हानिएको हो ।

    बुटवलको राजमार्ग चौराहमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो । ढुंगामुढाबाट स्कर्टिङसहितको गाडीमा क्षति पुगेको छ ।

    मूख्यमन्त्रीको गाडीमा कांग्रेस कार्यकर्ताले ढुंगा हान्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो । त्यसक्रममा एक दर्जन व्यक्ति पक्राउ परेका छन् । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसले बुटवलमा आन्दोलन चकाएको छ । कांग्रेसले आज रुपन्देही बन्दको आहवान समेत छ ।

  • कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

    कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

    बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै रुपन्देहीमा आन्दोलन चर्किएको छ । आइतबार नेपाली कांग्रेसले रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ । यो मुद्दालाई कांग्रेसले भोटको राजनीतिका रुपमा भरपर उपयोग गर्ने संकेत गरेको छ ।

    विरोधका कार्यक्रम र प्रदर्शन बढ्सँगै रुपन्देही जिल्ला प्रशासनले भने बुटवलमा निषेधाज्ञा जारी गरेको छ । बुटवलका करिब दर्जन ठाउँ चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र घोषणा भएको स्थानमा ५ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन पाइदैन ।

    आज कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउको कार्यक्रम राखेको छ । सम्भावित दुर्घटना रोक्न निषेधित क्षेत्र तोकिएको प्रशासनको भनाई छ । प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

    प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । प्रदेश मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

  • सर्वोच्चमा बामदेव गौतमको पदबारेको बहस आज सकिएन, शुक्रबार फेरी हुने

    सर्वोच्चमा बामदेव गौतमको पदबारेको बहस आज सकिएन, शुक्रबार फेरी हुने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि यो विषय सर्वोच्चमा पुग्यो । सर्वोच्चले तत्काल निर्णय यथास्थितिमा राख्दै आजका लागि विपक्षीसहित दुबै पक्षलाई बहसमा बोलाएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज पुरा हुन सकेन ।

    त्यसपछि सुनुवाई शुक्रबारसम्मका लागि लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भएको थियो । आज दुबै पक्षबाट चर्को बहस भएपनि कानुन व्यवसायीको बहस गर्ने क्रम नसकिएका कारण शुक्रबार सम्मका लागि सरेको छ ।

    सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी गराएका छन् । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बुधबार बहस भएको छ ।

    बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका हुन् ।

  • नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

    नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

    काठमाडौं । नेपालमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने बहस अहिले उत्कर्षमा छ । ८ दिन अगाडी बझाङ खिकिलाको मन्दिरमा १२ वर्षिया सम्झना कामीको बलात्कारपछि भएको हत्याले नेपालमा पुनः एक पटक बालिका बलात्कार गर्ने माथि मृत्युदण्ड दिनुपर्ने कानुन बहसमा आएको हो ।

    संसदीय समितिले समेत यस घटनालाई गम्भीर रुपमा लिँदै नेपालमा बलात्कारीलाई मृत्युदण्डको सजाय ल्याउनुपर्ने पहल थालेको छ । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

    बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानुन आयोगलाई निर्देशन दिएको छ ।

    समितिले बलात्कार एवं बलात्कारपछि हुने हत्याजस्ता जघन्य अपराधलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको गम्भीर चुनौती भन्दै बालबालिकालेखि वृद्धावस्थाका महिलामाथि बलात्कारका घटना हुनुको मुख्य कारण कमजोर कानुन र दण्ड सजाय हुनु र यस्ता घटनाको सहजै गैरकानुनी व्यवस्थापन हुनु भएको समेत मानेको छ ।

    यसअघि कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको अभियुक्त खुलेआम हिँडिरहेको छ । उसको पहिचान, पक्राउ र कारवाहीमा समेत सरकार चुकेपछि पुनः यस्तै प्रकारका घटना दोहोरिन थालेका छन् ।

    बलात्कारीलाई मृत्युदण्ड दिने, नपुंशक बनाउनुपर्ने आवाज उठेको भन्दै समितिले नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक व्यवस्था, पीडक र पीडितको मानव अधिकारका दृष्टिले कति सम्भव छ भन्ने विषयमा अध्ययन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    मृत्युदण्ड सम्भव भए कसरी सम्भव छ र असम्भव भए कसरी असम्भव छ, मृत्युदण्ड वा नपुंशक बनाउने कानुनी व्यवस्था गर्दा त्यस्ता अपराध घट्ने सम्भावना कस्तो हुन्छ, यसको विकल्प के हुन सक्छ जस्ता विषयमा सकारात्मक तथा नकारात्मक पक्षबाट बहस चलाउन आवश्यक देखिएको समितिको निष्र्का रहेको छ ।

    उल्लिखित विषयलाई नागरिकस्तरमा छलफलमा ल्याई निश्कर्षमा पुर्‍याउन, अन्तर्राष्ट्रिय अभ्यास र हाम्रो आवश्यकताका सम्बन्धमा विस्तृतमा अध्ययन गर्न गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा नेपाल कानुन आयोगलाई निर्देशन दिइएको हो ।

  • नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट आज एकै दिन तीन वटा अध्यादेश जारी भएका छन् ।

    एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ कानून हो । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो। गत विहिबार मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो। सोहीअनुसार अध्यादेश जारी भएको हो ।

    नयाँ कानून अनुसार अब कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने भएको छ । अरुको शरीरमा एक थोपा मात्र पनि एसिड परेमा त्यसको कसुर कडा हुने भएको छ ।

    तेजाब आक्रमण गर्नेले कुनै पनि बाहनामा छूट नपाउने गरी कानून बनेको हो । महिला वा पुरुष, जो माथि आक्रमण भएपनि यो कानून आकर्षित हुने भएको छ । एसिड आक्रमण गरेको अवस्थामा जहिलेसुकै उजुरी दिन सक्ने प्रावधान रहेको छ । ।

    तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ। आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ।

    तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय राखिएको छ ।

  • बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

    विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम यो विषयलाई यथास्थितिमा राख्न आवश्यक देखिएको आदेशमा उल्लेख छ । उनको हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षीका नाममा आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

    सर्वोच्चले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट हुने मनोनयनको विषयमा नेपालको संविधानले अंगीकार गरेको व्यवस्थाबारे गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने समेत बताएको छ । गौतम राष्ट्रियसभा सदस्य नियुक्त भई सपथ ग्रहणसमेत गरिसकेका छन् ।

    सोहीकारण उनको पद के हुने भन्ने विषयमा निर्णय गर्नुअघि विपक्षीको पनि कुरा सुन्नुपर्ने सर्वोच्चको निष्कर्ष छ त्यसका लागि अन्तरिम आदेशको छलफलमा असोज १४ गते दुबै पक्षलाई सर्वोच्चले डाकेको छ ।

    रिटमा निवेदक त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र बामदेव गौतमलाई विपक्षी बनाएका थिए ।

    संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक देखिएकाले यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गर्नुपर्ने पनि सर्वोच्चको भनाई छ ।

  • मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

    मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

    काठमाडौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उता, उच्च अदालत पाटनले भने कारवाही तत्कालका लागि अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सम्झौता बमोजिम युरिया मल ल्याउन असफल भएका दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको थियो ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो । यी दुई कम्पनीले ५० हजार मेट्रिक टन मल ल्याउने गरी ठेक्का पाएका थिए । तर, समयमै मल ल्याउन नसकेपछि सरकारले बंगलादेशसँग पैँचो माग्नु परेको छ ।

    दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको छ । मल साउनमै आउनु पर्ने थियो । मल ल्याउन नसकेका उनीहरुको सम्झौता समेत सरकारले खारेज गरिदिएको छ ।

    अदालतमा उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको छ ।

    अदालतले भनेको छ, ‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू, ।’ उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ मा छलफलका लागि समेत बोलाएको छ ।

  • पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

    पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

    खोटाङ । मानिसले पैसाका लागि के सम्म गर्न सक्ला ? त्यो पनि कति रुपैयाँका लागि ? नेपालमा एक व्यक्तिले मात्र १ हजार रुपैयाँ सापटी नदिएको झोँकमा आफ्नो हजुरबुबा उमेरका वृद्धवृद्धाको हत्या गरेको खुलेको छ । खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई वृद्धवृद्धाको विभत्स हत्या भएको अवस्थामा अघिल्लो साता शव घरमै फेला परेको थियो ।

    जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

    हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङले एक अभियुक्तलाई मंगलबार सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका सोही स्थानका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो।

    श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि मात्र स्थानीयले पत्ता पाएका थिए । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीले अभियुक्त राईलाई २० भदौमा पक्राउ गरेको हो । उनलाई भदौ २१ मा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको थियो ।

    पक्राउ परेका राईले एक हजार रुपैयाँ पैसा सापटी माग्दा नदिएपछि मदिरा सेवन गरी घरबाटै खुकुरी लगेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार राइले दिउँसोमा उनीहरुको काम समेत गर्ने गरेका थिए ।

    उनको साथबाट १ हजार रुपैयाँ, पैसा राख्ने गोपिमायाको थैलीसमेत बरामद भएको छ । इन्द्रबहादुर अविवाहित रहेको र अपांगता भएकाले उनको हेरचाहका लागि बहिनी समेत माइतीमै बस्ने गरेको स्थानीयले जनाएका छन् ।

  • अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव

    अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव

    ललितपुर । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या भएको छ । अस्पतालमा कार्यरत ३९ वर्षीय गीता केसीको हत्या भएको हो । प्रहरीका अनुसार उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलमा पर्ने लेलेको जंगलमा फेला परेको छ ।

    प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा केसीका भतिजा निर्मल केसी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

    केसीको परिवारले उनी हराएको निवेदन तीन दिन अगाडी महानगरीय प्रहरी परिसर, ललितपुरमा दिएका थिए । त्यसपछि प्रहरी खोजी थालेको थियो । उनको शव शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको हो । आज बिहान उनको शव पुष्टी भएको हो ।

  • लागुऔषध कारोबारीलाई पक्रन रुकुममा प्रहरीले चलायो गोली

    लागुऔषध कारोबारीलाई पक्रन रुकुममा प्रहरीले चलायो गोली

    मुसिकोट । रुकुमपश्चिममा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । दुई लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको पुष्टी गरेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्रेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

    दुई जना पक्राउ परेपनि एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई गोली लागेको छ । पुलिसले उनको तिघ्रामा गोली हानेको थियो । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । अर्का जयप्रकाश घर्ती भने फरार छन् ।

    रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीहरुको समेत नाम जोडिएपछि प्रहरी खोजीमा थियो । सोही खोजीका क्रममा प्रहरीले गोली चलाएर पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

    अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन समेत आदेश गरेको छ । साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड आक्रमण भएको हो । लगत्तै उनीहरु पक्राउ परेका थिए । उनीहरुले कसुर स्वीकार गरिसकेका छन् ।

  • काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अब अत्यावश्यक काम परेको समयमा बाहेक अन्य व्यक्ति सडकमा निस्कन पाउने छैनन् । उपत्यकामा सवारी साधन बन्द हुनेछन् । खाद्यान्‍न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सवारी बन्द गरिएको छ । सर्वसाधारणलाई सडकमा निस्कन निषेध गरिएको छ ।

    यस्तो छ निर्णय

    १. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन

    २. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न

    ३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न

    ४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न

    ५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न

    ६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न

    ७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न

    ८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न

    ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने । गतिविधिहरु सञ्चालन गर्न

    १०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न

    ११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न
    १२. होटेल, रेष्टुराँ सञ्चालन गर्न। तर,

    १३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने छ।

    १४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।

    १५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

    १६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने ​जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ

    १७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

  • आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त

    आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त

    काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमिततामा मुछिएका आफ्ना तीन अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक अदालतबाट दोषी ठहरिएका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएको सेनाले जनाएको छ । उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेनाले कारवाही गरेको हो ।

    नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तीको फैसला सुनाएको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा दोषि ठहर भएका हुन् ।

    समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई भने सफाइ दिने फैसला गरेको हो । सैनिक भित्रको अनियमितताको अनुसन्धान र फैसला सैनिक आफैले गर्छ ।