Category: कानुनी कुरा

  • आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

    आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् । उनी निर्वाचनको तयारीका विषयमा बुझ्न आयोग जान लागेको बताइएको छ । यद्दपी उनको उद्देश्य भने आफुले नेतृत्व गरेको गुटलाई नेकपाको आधिकारिक मान्न दावि पेश गर्ने रहेको बताइएको छ ।

    यसअघि नेकपाले गत १६ माघमा नेकपा विवाद र निर्वाचन तयारीलाई लिएर नेकपाका दुवै गुटलाई भेला गरेको थियो । भेलामा प्रधानमन्त्री गएका थिएनन् । आज एक्लै आयोग जान लागेका हुन ।

    उनी मंगलबार बिहान ११ बजे आयोगको कार्यालय जाने प्रधानमन्त्रीको सचिवालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखेका छन् । नेकपामा आधिकारिकता विवाद छ ।

    तर, आयोगले दुबै गुटको दाविमा प्रमाण नपुगेको बताएको छ । अर्कोतर्फ सरकारले संसद विघटन गरी १७ वैशाखमा मध्यावधी निर्वाचन घोषणा गरेको छ । तर, प्राविधिक हिसावले यो मितिमा निर्वाचन गर्न सम्भव छैन । सोहीकारण प्रधानमन्त्री आज निर्वाचन आयोग पुगी परामर्श गर्ने भएका हुन् ।

  • ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

    ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ ।

    अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध भएको उल्लेख गरेका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित गरेका समेत विज्ञप्तीमा जनाइएको छ ।

    ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दैछौं,’ उनीहरुले भनेका छन् ।

    यसअघि बुधबार भएको किशोरीको हत्यामा संलग्नको खोजी भइरहेको र उनीहरुको नजिक पुग्ने प्रमाणहरु फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

  • बैतडीमा किशोरीको  बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

    बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

    बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ ।

    यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भ्एको छ । बुधबार भएको यो घटनाबाट आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।

    स्थानीय सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्ने उनको सोही दिन स्कुलबाट घर जाने क्रममा बाटोमै बलात्कारपछि हत्या भएको हो । प्रहरीका अनुसार अन्दाजी तीन बजेतिर उनको हत्या भएको देखिएको छ । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडेपछि घटना भएको हो ।
    २०७५ साउन १० गते भएको निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्री असफल छन् । उनकै लापरवाहीका कारण थप एक अर्की किशोरीले अकालमा ज्यान गुमाउनु परेको छ । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ । घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क फेला परेको छ ।

    हात कोतरिएको र यौनाङ्गमा रगत बगेको देखिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली बैतडी पुगेको छ । घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरको सहायतामा भागरथीको मोबाइल फेला परेको छ ।

  • संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

    संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

    काठमाडौं । आज संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण गरिने भएको छ । नियम अनुसार संवैधानिक परिषदले सिफारिस गरेका नामका संसदीय समितिमा सुनुवाई भई त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ती हुने प्रचलन छ । तर, यस पटक सरकारले नियम कानून लत्याउँदै धमाधम नियुक्ति दिएको छ ।

    राष्ट्रपति कार्यालय शितल निवासमा आज सपथ ग्रहण हुने भएको हो । संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था रहेको छ।

    संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो। सिफारिस समेत छलछाम गरी झुटो बोलेर पछि मात्र सार्वजनिक भएको थियो ।


    संवैधानिक निकायमा आफू अनुकूलका मान्छे राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको गणपूरक संख्या घटाएर अध्यादेश ल्याएका थिए।

    संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश आएपछि सभामुख अग्नी सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमति बीना नै सिफारिस भएको थियो । यद्दपी देउवामाथि भने भित्र भित्र मिलेको आरोप लाग्ने गरेको छ ।

  • आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसका १३ वटा भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्न लागेको बताइएको छ । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसको भनाई छ ।

    संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको कांग्रेसको भनाई छ ।

    नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्दैछ् । काठमाडौंमा भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने छ । कांग्रेसका सबै भातृ संगठनले आन्दोलनमा सरिक हुन आह्वान गरेका छन् । सरकारको विरोधमा कांग्रेसले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

  • नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

    नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

    काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी भावनात्मक रुपमा फुटिसकेको छ । तर, कानूनी रुपमा भने नफुटेको निष्कर्ष निर्वाचन आयोगले दिएको छ । आयोगको यो निर्णयले अन्यौल बढिरहेका समयमा आयोगले आज पुनः नेकपाका दुबै खेमासँग छलफल गर्ने भएको छ ।

    नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाउँदै आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो ।

    आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठका अनुसार निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५, ५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलमा बोलाइएको छ ।

    सरकारले आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सोही सन्दर्भमा आयोगले आज दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई धारसँग छलफल गर्न लागेको हो । आजको बैठकमा आधिकारिकताको विषयमा समेत छलफल हुने भएको छ ।

  • नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

    नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

    काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई वटै समूहबाट भएका निर्णय अमान्य भएको बताएको छ । यसले नेकपा भित्र अन्यौल बढेको छ । अर्थातः अहिलेसम्म भएका कुनै पनि निर्णयबाट नेकपा विभाजन भएको छैन । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

    दुबै समुहबाट भएका आफुखुसी निर्णयलाई अमान्य बताएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात थपेका ११ सय केन्द्रिय सदस्यको पद गएको छ । उता, अर्को खेमाबाट अध्यक्ष बनेका माधव कुमार नेपालको समेत पद मान्य भएन ।

    कागजी रुपमा अहिले पनि ओली र प्रचण्ड नै नेकपाको अध्यक्ष हुनेछन् । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको तर्क आयोगले गरेको छ ।

    संसद विघटन लगतै प्रचण्ड, माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । ओली समूहले केन्द्रीय कमिटी बिस्तार गरेको हो ।

    दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबै निर्णय विधान सम्वत नभएको बताएको हो ।

  • सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

    सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ ।

    रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ । बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरणले बहस गरेका थिए ।

    यसैगरी वरिष्ठ अधिवक्ता प्रा। गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्यालले पनि बिहीबार बहस गरेका थिए ।

    संसद विघटनविरुद्ध सर्वोच्चमा परेको १३ वटा रिटमाथिको सुनुवाई जारी छ ।सर्वोच्च अदालतले संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

    बिहीबार भएको बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको बताएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेका हुन् ।

  • सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

    सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

    काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् । विरोध कार्यक्रमका दौरान सभापति देउवा पक्षधर नेताले भने निर्वाचनको माहौल बनाउन कार्यकर्तालाई निर्देशन दिने गरेका छन् ।

    नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् ।

  • निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

    निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

    काठमाडौं । संसद विघटन गरी सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि यसको तयारीमा निर्वाचन आयोग र सुरक्षा निकाय जुटेका छन् । सरकारले निर्वाचनको मिति नै घोषणा गरेको अवस्थामा अदालतमा विचाराधिन भएपनि तयारी समेत थाल्नुपर्ने तर्क आयोगको छ ।

    सोहीकारण १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छ ।

    यस निर्णयको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएका रिटमा सुनवाइ संवैधानिक इजलासमा जारी रहेको छ । आयोगले निर्वाचनको तयारीकै क्रममा आइतबार संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसंग मतदाता नामावली अध्यावधिक र मतदान स्थलका विषयमा समेत परामर्श लिएको छ ।

    आयोगले दलहरूलाई चुनाव केन्द्रीत कार्यक्रमहरूमा सहभागी भइदिन, आमनागरिकलाई सुसुचित गराइदिन, सहयोग, समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ । आयोगका अनुसार माघ १५ मा मतदाता नामावली प्रकाशित हुनेछ ।

    यसमा त्रुटि भए सच्याउन १६, १७ गते निवेदन दिन सकिने छ । माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक गरिनेछ ।

    तर, नेकपा भित्रको अर्को समुहले भने संसद पुनस्र्थापना हुने भन्दै निर्वाचनका तयारीका काम अगाडी नबढाउन निर्वाचन आयोगसँग अनुरोध गरिसकेको छ । उता, गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन हुन् ।

  • संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

    संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजबाट निरन्तर सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुन लागेको बताइएको छ ।

    यस मुद्दामा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने बारे पुस २२, २९ गते र माघ १ गते संवैधानिक इजलासमा सुनुवाइ गर्ने तय भएको हो। रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका थिए ।

    गत १० पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएका छन् ।

  • संसद विघटनको रिटमा आज पनि सुनुवाई

    संसद विघटनको रिटमा आज पनि सुनुवाई

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन् ।

    आजको सुनुवाइबाट यो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने टुंगो लगाउने तयारी छ । पुस ५ मा संसद विघटन भएको हो । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

    सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका छन् ।

    अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राख्न सक्ने प्रावधान रहेको छ । कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता थिए ।

  • व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

    व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

    काठमाडौं । व्यक्ति अपहरण गरेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरुका पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको किटानी जाहेरी परेको हो । १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बुधबार ठमेलबाट पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

    अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

    वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लागेको छ । केही समयको प्रदर्शनपछि स्थिति नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।


    वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेका बेला यो घटना भएको हो । यो बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने अभियान रहेको थियो । त्यस क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरी अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गरेका थिए । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस्को कारवाहीमा एक महिलालाई गोली लागेको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन ।

    संसारलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकामा ट्रम्पले लिएको यो बाटोको भने संसारभरबाट आलोचना भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको आरोप उनीमाथि लागेको छ । उता राष्ट्रपतिमा निर्वाचिन जोय बाइडनले भने ट्रम्पलाई हिंसा रोक्न र संविधानको रक्षाका लागि आह्वान गरेका छन् ।

  • संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

    संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । जनइच्छा विपरित र संविधानमा उल्लेख नै नभएको व्यवस्थालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विषय अदालत पुगेको हो । आम मानिसले संविधान विपरित रहेको मानेको यो कदम अदालतबाट उल्टने अपेक्षा समेत गरेका छन् ।

    सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो । यद्दपी संवैधानिक इजलास भने हरेक बुधबार र शुक्रबार मात्रै बस्छ । सोहीकारण बहस लम्बिदा आदेश आउन भने ढिला हुने निश्चित छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।

    दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावि सहित सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् ।
    अन्तिम सुनुवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग लिखित जवाफ माग गरेको छ ।

  • कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

    कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

    काठमाडौं । तपाई विदेशमा गैरकानूनी रुपमा बसिरहनु भएको छ भने जरिवाना तिरेर घर फर्कन वा आफुलाई वैधता कायम गर्न समय थप भएको छ । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकका लागि वैधानिकता कायम गर्ने समय थप भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

    यो अवसर कुवेतमा गैरकानूनी रुपमा बसिरहेका नेपालीले उपयोग गर्न सक्नेछन् । किनकी तोकिएको अवधिमा समेत विदेशी नागरिकले आफुलाई वैध नबनाए कडा सजायको भागिदार हुनुपर्छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना नै तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरेको हो ।

    यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३१ सम्म यस्तो समय तोकिएको थियो । कुवेत सरकारले थप एक महिना यो अवसर दिएको हो । कुवेतको आन्तरिक मामिला मन्त्रालयको २८ डिसेम्बरको नयाँ निर्णयअनुसार जनवरी १ देखि शुरू हुने गरी एक महिना थप गरिएको जानकारी गराएको छ ।

    तोकिएको अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गर्न सकिने गरी चेतावनी समेत दिइएको छ ।

  • नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन

    नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने निश्चित भएको छ । नेकपा भित्र प्रचण्ड-नेपाल समुहले बैंक खाता रोक्का गर्न निवेदन दिएको थियो । सबै बैंकहरुलाई निवेदन दिएसँगै बैंक खाता रोक्का प्रक्रिया अगाडी बढेको हो । आन्तरिक विवादपछि नेकपा विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकि छ ।

    यसको छिनोफानो भने निर्वाचन आयोगले गर्नेछ । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता छन्, ति सबै बैंक खाता रोक्का हुने निश्चित भएको हो । निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने प्रावधान रहेको नेपाल राष्ट्र बैंकलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

    पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाता रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका हुन् । अन्य प्रक्रियामा ओली समुह अगाडी देखिएको छ ।

    यसमा भने प्रचण्ड माधव नेपाल समुहले चलाखी गरेका छन् । विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेको नेपाल राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । विवाद भएपछि खाता सञ्चालन नहुने बताइएको छ । यस प्रकारका विवाद अन्य समयमा आउने भन्दै राजनीतिक दलको हकमा भने यो पहिलो भएको बैंकर्षहरुको भनाई छ ।

  • राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने निर्णय लिएको बताइएको छ ।

    यसअघि १८ असारमा राष्ट्रपतिबाट वर्षे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रतिनिधिसभा भने नेकपा भित्रको आन्तरिक कलहको शिकार बनी विघटनमा परेको छ । यसविरुद्ध अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

  • पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शक्ति केन्द्रित गर्न अनेक उपाय लगाइरहेका छन् । संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । रमाइलो पक्ष त उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् ।

    उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिए । उनी प्रदेश सभामा सिन्धुपाल्चोकमा हारेका नेता हुन् । प्रचण्ड समुहका उनलाई ओलीले मन्त्री पद दिएर आकर्षित गरेका छन् ।

    सिन्धुपाल्चोककै पूर्वएमाले नेता शेरबहादुर तामांगले प्रचण्डलाई साथ दिएपछि ओलीले लामालाई लाभको पद दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९ जना नयाँ नेतालाई मन्त्री पद दिए ।

    दुई जनाको मन्त्री पद भने गुमेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोती दुगडको पद गएको हो । शुक्रबार हतार हतारमा भएको मन्त्रिपरिषद बिस्तारमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिए ।

    शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो मन्त्री बने । विमला विश्वकर्मालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।


    आज थप र जिम्मेवारी हेरफेर भएका मन्त्री
    टोपबहादुर रायमाझी : उर्जा
    मणि थापा : खानेपानी
    प्रभु साह : शहरी विकास
    प्रेम आले : वन
    गणेश ठगुन्ना : सामान्य प्रशासन
    गौरी शंकर चौधरी : श्रम
    दावा लामा : युवा तथा खेलकुद
    जुली कुमारी महतो : महिला बालबालिका
    विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री
    भानुभक्त ढकाल : पर्यटन (मन्त्रालय हेरफेर)
    हृदयेश त्रिपाठी : स्वास्थ्य (मन्त्रालय हेरफेर)
    लीलानाथ श्रेष्ठ : कानून
    शिवमाया तुम्बाहाङ्फे : भूमिसुधार (मन्त्रालय हेरफेर)
    पद्मा अर्याल : कृषि (मन्त्रालय हेरफेर)
    कृष्ण गोपाल श्रेष्ठ : शिक्षा

  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई

    काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध परेका सबै रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ। यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ पुसमा संसद विघटन गरिएको थियो । राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते दुई चरणमा आमनिर्वाचन समेत घोषणा गरेकी छन् । तर, यो प्रावधान संविधानमै नभएको भन्दै सर्वोच्चमा मुद्दा परेका छन् ।

    सरकार र राष्ट्रपतिको यो कदमविरुद्ध १३ वटा रिट परेका छन् । जसमा संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको दावि गरिएको छ । सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ ।

    प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै रिटहरु संवैधानिक इजलासमा पठाउने आदेश गरेका हुन् । सरकारको यो कदमविरुद्ध नेकपाको प्रचण्ड समूहले समेत रिट दायर गरेको छ ।

  • चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो अभियानका दौरान ३ सय ४२ वटा मोटरसाइकल प्रहरीको फन्दामा परेका हुन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यस प्रकारका मोटरसाइकलका कारण दुर्घटना निम्तिने खतरा हुन्छ । त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण समेत गर्छ ।

    साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलको संचालनमा प्रहरीले कडाई गरिरहेको छ । महाशाखाका अनुसार यस प्रकारका मोटरसाइकलको नम्बर संकलन गरी निरन्तर निगरानी गरिदै आएको छ ।

  • सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

    सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

    काठमाडौं । सरकारले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसमा विवाद चर्कने संकेत देखिएको छ । राजधानीमा जारी केन्द्रिय कमिटिको बैठकको दोस्रो दिन बितिसक्दा पनि कांग्रेसले सरकारको कदमबारे आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन । उल्टो बैठकमा शीर्ष नेताहरुबीचमा तिब्र विवाद देखिन थालेको छ ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संसद विघटन असंवैधानिक भएको भन्दै यसको प्रतिवाद गर्नुपर्ने तर्कमा छन् । सभापति शेर बहादुर देउवा भने अझै पनि सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयहरु आउन्जेल नबोल्ने पक्षमा छन् । यसले कांग्रेसमा स्पष्ट दुई खेमा विभाजन गरिदिएको छ ।

    सभापतिले सोही अनुसार केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउने मुड बनाएको आरोप पौडेल समूहको रहेको छ । त्यसो त देउवालाई नेकपा विभाजनबाट तत्काल प्राप्त हुने लाभबारे ओलीले फकाइसकेको आशंका गरिएको छ ।

    मंगलबारको बैठकमा केन्द्रीय समितिका मात्र चार जना नेतालाई बोल्न दिइएको थियो । आज पनि उत्तिकै नेताले बोले । जसले गर्दा बैठक लम्ब्याउने नियत देखिएको पौडेल पक्षको आरोप छ । आज नेता डा. रामशरण महतले संसद विघटन असंवैधानिक भएको बताएका थिए ।

    नेता गगन थापाले कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले केन्द्रिय कमिटिमा अलमल गर्न नहुने तर्क राखे । प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुन नसक्ने भन्दै उनले अदालतलाई पर्खने नभई संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने माग उठाउन माग गरे ।

    सडक आन्दोलनकै बलमा सरकारलाई दवाव दिनुपर्ने उनको भनाई छ । आज बोलेका नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगाना समेत संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको पक्षमा उभिए ।

    उनीहरु बोलेपछि आफ्नो धारणा राख्दै सभापति देउवाले कांग्रेस सडकमा जान हतार गर्न नहुने भन्दै संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकतामा निर्वाचन आयोगले दिने निर्णय कुर्नपर्ने बताए ।

    उनको यो धारणामा भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । अरुले के भन्छ भन्दा पनि कांग्रेसले स्पष्ट धारणा बनाएर सडकमा जानु पर्ने उनको भनाई छ ।

  • बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।

    उनले पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न बहिनीलाई दवाव दिएको खुल्न आएको प्रहरीले जनाएको छ । सकुन्तलाका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलेको राससले लेखेको छ ।

    करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी हुन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलालाई काम छ भनी घरबाट जङ्गलमा लगि हत्या गरेको खुलेको हो ।

    हत्या भएको अघिल्लो राति दाजु सञ्जीवले फोनमा समेत पटकपटक धम्की दिएको खुलेको छ । घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको श्रीमानले जानकारी गराएका छन् ।

    घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको राससले लेखेको छ ।

  • नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ ।

    आज १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठक बोलाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएका कारण उनी संसदीय दलको नेता बन्ने पक्का भएको हो ।

    प्रचण्ड, नेपाल समुहमा प्रतिनिधि सभा सदस्यमध्ये ९० जना सांसद उपस्थित छन् । यो बहुमत संख्या हो । यसअघि मंगलबार नै नेकपाको ओली समुहले आफ्नो समूह आधिकारिक भएको भन्दै पार्टी विभाजनका कामहरु फटाफट गरेको थियो । जसमा नयाँ केन्द्रिय सदस्य थपेर आफ्नो बहुमत देखाइएको छ । यसबारे अब निर्वाचन आयोगले दिने फैसलाबाट औपचारिक रुपमा पार्टी विभाजन हुनेछ ।

  • संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

    संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् ।

    रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

    उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै संसद विघटनको बदर गर्न माग गरेका छन्।

  • सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

    सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै

    काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ ।

    नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत आजै बेग्लाबेग्लै समयमा बोलाइएको छ । यी दुई दलले समेत पार्टीको आगामी रणनीति तय गर्नेछन् । त्यसपछि संयुक्त रुपमा सरकारको कदमको प्रतिसोध गर्ने तयारी तीन दलको रहेको छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको समूहबाहेक मुलुक भित्रका हरेक पक्षबाट त्यसको व्यापक विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

    सोमबार नेकपा प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेपाली कांग्रेसले बैठक गरेको थियो । यो बैठकमा तीन वटै पार्टीको आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति भएको थियो ।

    कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ। जनता समाजवादीले थप कार्यक्रमबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गर्ने तयारी गरेको छ ।

  • सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

    सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको हो । यो कदमको राजनीतिकसँगै कानुनी उपचार खोज्ने निर्णय भएको समेत प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर समेत स्थायी कमिटी बैठकले गरेको छ । पुस ७ गतेका लागि बोलाइएको आकस्मिक केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

    सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक समेत बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे नै स्थायी कमिटीको बैठक समेत बोलाइएको छ । बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

    आजको स्थायी कमिटि बैठकमा प्रचण्ड र माधव नेपाल समुहका ३१ जना सदस्य उपस्थित भएका थिए । ओली र उनी समर्थक नेता भने सहभागी भएनन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै भएको थियो ।

  • कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

    कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिँउदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसको पदाधिकारी बैठक आज बसेको थियो । उक्त बैठकले तत्काल संसद बोलाउनु पर्ने निचोड निकालेको हो ।

    सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गर्दै संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नु अलोकतान्त्रिक र सर्वसत्तावादी कदम भएको समेत निष्कर्ष कांग्रेसले निकालेको छ ।

    आजको बैठकले पुस ३ गतेका लागि संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाउने निर्णय गरेको छ । पार्टीले २९ मंसिरमा गरेको प्रदर्शनको समिक्षा समेत आजको बैठकमा भएको छ । यता, सरकारले भने अध्यादेश फिर्ता गर्न पार्टीमा सहमति गरेको छ ।

  • अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना

    अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना

    काठमाडौं । ८ महिना अगाडी राष्ट्रपतिबाट अध्यादेश ल्याएर फिर्ता गरेको अध्यादेश पुनः ल्याएपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली तिब्र आलोचनाको शिकार बनेका छन् । संवैधानिक परिषद्बाट विभिन्न निकायमा आफु अनुकुलका व्यक्ति नियुक्तिमा हतारिएको उनले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका थिए ।

    उक्त बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभाुमख अग्नी प्रसाद सापकोटा उपस्थित भएनन् । त्यसपछि अवरुद्ध भएको परिषद्को बैठक उनले आजका लागि बोलाएका थिए । आज शेरबहादुर देउवा उपस्थित भए । तर सभामुख भने साविकमा जस्तै उपस्थित भएनन् ।

    सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले पर्याप्त गृहकार्य नगरी बैठक डाकेका कारण सभामुख बैठकमा उपस्थित नभएका हुन् । यसको झोँकमा प्रधानमन्त्रीले लगत्तै मन्त्रिपरिषद बैठक डाके । बैठकमा उनले अध्यादेशबारे कुनै जानकारी दिएनन् । बरु सिधै राष्ट्रपतिलाई अध्यादेश पठाए र पास गर्न लगाए ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले समेत विजुलीको रफ्तारमा अध्यादेश पास गरिदिइन् । फलस्वरुप पुनः प्रधानमन्त्री आलोचनाको केन्द्रमा बस्न पुगे । सत्तारुढदेखि विपक्षी दल समेतले संसदको हिउँदे अधिवेशन माग गरिरहेका छन् ।

    जनताबाट निर्वाचित संसदलाई बन्धक बनाएर प्रधानमन्त्रीले अध्यादेशमार्फत देश चलाउन खोजेको र यसमा राष्ट्रपतिबाट आँखा चिम्लिएपछि संकट अझ गहिरिएको हो ।

    प्रधानमन्त्रीको यो कदमको सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताले कडा आलोचना गरेका छन् ।

    उनीहरुले यसलाई प्रतिगमनको संकेत भनेका छन् । अध्यादेश फिर्ता लिई संसदबाटै कानूनहरु बनाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

  • विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

    विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । सोही आधारमा गाउँलेले प्रहरीलाई गोली हानेर श्रेष्ठको हत्या भएको जानकारी गराएका थिए ।

    उनको अपरिचित समूहले लिएर गएको र गोली पड्किएको आवाज सुनेपछि स्थानीयबासी समेत खोज तलासमा जुटेका थिए । त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको हो ।

    आज दिउँसो मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको हो ।

    शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले नेपाली संचारमाध्यमलाई जानकारी गराएका छन् । घटनास्थल मोरङको बिकट क्षेत्र रहेको बताइएको छ । मधुमल्लाबाट चार घण्टाको अवधिपछि मात्र प्रहरी उक्त स्थानमा पुग्न सकेको थियो ।