Category: कानुनी कुरा

  • आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

    आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

    उनीहरुलाई नेमकिपाका कृष्णबहादुर तामाङले चूनौति दिँदैछन् । देवकोटा र बादल दुबै एमाले भएकाले एमालेको एकता प्रक्रियाका लागि समेत यो महत्वपूर्ण निर्वाचन मानिएको छ । बादल सूर्य निर्वाचन चिह्नबाट चुनाव लड्दैछन् । यो एमालेको चिन्ह हो देवकोटाले भने कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।

    देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहले समर्थन गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

  • चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने

    चिनियाँ खोपको दोस्रो डोज लगाउन बाँकिले स्थानीय तहमा नाम टिपाउनु पर्ने

    काठमाडौं । चिनियाँ खोप भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकले दोस्रो डोजका लागि आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन पास माग्दै नआउन र स्थानीय तहमा पुगेर नाम टिपाउन आह्वान गरेको छ । अहिले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज उपत्यकाका धमाधम लगाइरहेको छ ।

    तर, निषेधाज्ञाका कारण उपत्यकाभन्दा बाहिर रहेका मानिसहरु भने खोपबाट बन्चित भएका छन् । सरकारले उनीहरुलाई काठमाडौं नआउन र सम्बन्धित स्थानीय तहमै खोप पुर्याउने व्यवस्थाका लागि पहल थालेको हो ।
    मन्त्रालयले बुधबार सूचना जारी गरी भेरोसेल खोपको पहिलो मात्रा लगाएर उपत्यका बाहिर गएकाहरुले स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको छ ।

    मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । खोप लगाउनुपर्ने व्यक्तिको लगत प्राप्त भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने भएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

    मन्त्रालयले खोप लगाउनुपर्नेलाई निषेधाज्ञाको समयमा पनि आवतजावतको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ

  • राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

    राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन एमालेले जारी गरेको ह्वीप नमान्ने संकेत वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । मंगलबार बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

    जवाफमा नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएको भन्दै अहिले सहयोग गर्न नसक्ने बताएको नेपालका सहयोगी मोहन गौतमले उल्लेख गरेका छन् । नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न प्रस्ताव गरेको र उनको प्रस्तावमा नेता नेपाल सहमत भएको बताइएको छ ।

    यस अनुसार एमालेमा पार्टीले जारी गरेको ह्वीप माधव नेपाल पक्षका मतदाताले नमान्ने देखिएको छ । बादललाई नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनको सांसद पद गुमेको हो । एमालेले उनलाई उपनिर्वाचनमा उठाएको छ । तर, माधव नेपाल समुह ओलीसँग सहमति गर्नु अगाडी नै मनोनयन दर्ता भएका कारण विपक्षी दलका तर्फबाट डा. खिमलाल देवकोटा उमेदवार बनेका छन् । उपनिर्वाचन जेठ ६ मा हुने छ ।

  • सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

    सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

    काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

    न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

    ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ आदेशमा उल्लेख छ ।

    यद्दपी कोरोना महामारीमा मास्क लगाउनुपर्ने नागरिकको दायित्व भएको पनि सर्वोच्चको भनाई छ । तर, विपन्न नागरिकलाई मास्कको सहज आपूर्ति र वितरण नभएका कारण समस्या भएको सर्वोच्चले उल्लेख गरेको छ।

  • राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप

    राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍ ६ जेठमा हुँदैछ । निर्वाचनमा दुबै उमेदवार एमालेका छन् । तर, एमालले भने रामबहादुर थापामगर ुबादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप्रमुखलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् । एमालेमा विवाद रहकै अवस्थामा कांग्रेस, माओवादी र एमाले माधव नेपाल समूहको तर्फबाट माधव कुमार नेपाल पक्षका नेता खिमलाल देवकोटा बादलको विपक्षमा उठेका छन् ।

    उनले आफुले कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने बताएका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा उपस्थित भई मतदान गर्नुपर्ने भएको छ । मतदातालाई कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन भनिएको छ ।

    निर्वाचन आयोगका अनुसार निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण नेगेटिभ आएको पीसीआर रिपोर्ट ल्याउनु पर्छ । पोजेटिभ आएको भए छुट्टै मतदात केन्द्र बनाएर भोट हाल्ने व्यवस्था गरिने भएको छ ।

  • बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

    बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

    काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन्। सोमबार अबेर राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई २०७८ वैशाख ३० गते बिहीवार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्न आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    विपक्षी तीन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरे अनुसार राष्ट्रपतिको आह्वान आएको हो ।

  • प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

    विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।

  • आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ ।

    केपी शर्मा ओलीले नपाउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेमा १२१ सांसद छन् । त्यसमा पनि सबै मत आउने निश्चित भइसकेको छैन । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिने छैन । ३२ सांसद भएको जसपाले ह्विप जारी नगरेका कारण असन्तुष्ट सांसदले ओलीलाई मत दिने छैनन् । यो अवस्थामा राजनीतिक थप पेचिलो बन्ने निश्चित भएको छ ।

  • एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो ।

    अदालतको आदेशपछि माओवादी र एमाले बीचका एकता भंग भएसँगै ओलीले नेपाल पक्षका नेताहरुलाई अपमानजनक ढंगले कारवाही गरेका थिए । ओलीले शर्त नमाने २७ वैशाख अगाडी नै एमालेका सांसदको राजिनामा आउने छ ।

    अर्थातः आज साँझसम्म नै एमालेका प्रत्यक्षबाट निर्वाचित सांसदल राजिनामा गर्र्नेछन् । शनिवार साँझ बसेको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पनि ओलीले शर्त नमाने राजिनामा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले २७ वैशाखमा विश्वासको मत लिन ससद्को विशेष अधिवेशन बोलाएका छन् ।

    विश्वासको मत पाउन ओलीले अहिले माधव नेपाल पक्षका नेतासँग नरम रुपमा प्रस्तुत भएका छन् । विश्वासको मत पाएपछि कारवाही गर्ने कारवाही गर्ने ओली प्रवृत्ति बुझेका नेताहरु यसपटक भने नझुक्किने भएका हुन् ।

  • संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

    संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यो बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ । बैठकमा सभामुख अग्नी खरेलसमेत नजाने भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी गराएका हुन् ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित रहेको उल्लेख गर्दै परिषद् बैठक बहिष्कार गर्न लागेको उनले जानकारी गराएका हुन् । नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने उनले बताएका छन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ । तर सरकारले भने अध्यादेशमार्फत सदस्य संख्या कम भएपनि बैठक बस्न सक्ने गरि व्यवस्था गरेको छ । संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्दा सहमतिमा गर्नुपर्ने कानूनी व्यवस्था छ ।

  • राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ ।

    माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उठ्दैछन् । एमालेको तर्फबाट भने उमेदवारको टुंगो लागेको छैन । गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भनिएको भए पनि उनले हार्ने चुनाव नलड्ने अडान लिएका छन् ।

  • कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक

    कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी गरेको छ ।

    कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदो बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको हो । सो सन्दर्भमा संसदीय दलको बैठकमा छलफल हुने भएको हो । वैशाख २७ मा बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।

  • कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

    कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

    काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।

    अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ सरकारले समेत मूल्य नियन्त्रण गर्न नसकेको भन्दै आलोचना शुरु भएपछि प्रशासनले एक्सन लिएको हो । प्रशासनले बुधबार स्पष्टीकरण सोधिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बुधबार एक सूचना जारी गरि तोकिएको उपचार शुल्कभन्दा बढी लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। तोकेको शुल्क भन्दा बढी लिएमा मन्त्रालय र स्थानीय प्रशासनहरूमा जानकारी गराउन सहप्रवक्ता डा. समीरमणी अधिकारीले आग्रह गरेका छन् ।

  • नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

    नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन २७ वैशाखका लागि संसदको विशेष बैठक बोलाएका छन् ।

    ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । संसद जिवितै रहेको अवस्थामा अध्यादेशबाट सरकार चलाउन खोज्ने ओलीको कदमको समेत कांग्रेसले भत्र्सना गरेको छ ।

    आज सरकारले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याएको थियो । त्यसलाई राष्ट्रपतिले आजै सदर गरिदिएकी छिन् । माओवादी केन्द्र र कांग्रेसले एकै दिन प्रधानमन्त्री ओली विरुद्ध एक मतमा विरोध गर्ने निर्णय गरेका हुन् ।

  • माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो ।

    २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने गरी संसद अधिवेशन बोलाएका छन् ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र बुधबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी गरेको छ । स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।


    स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले प्रदेश सरकार बनाउनु लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा भएको ठहर समेत गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


    बैठकले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकोमा संविधानको भावना, लोकतान्त्रिक मुल्य, मान्यताको विरुद्ध, स्वेच्छाचारी निरंकुश प्रवृत्तिको नकारात्मक अभिव्यक्ति ठानि बिरोध गरेको पनि श्रेष्ठले जानकारी दिए ।

  • शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध

    शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध

    काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए ।

    उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । तर, एमाले भित्रका कुल चार सांसदले उनको विपक्षमा हस्ताक्षर गरेका छन् ।


    पोखरेललाई प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउने तयारी गरिएपनि विपक्षीको कडा विरोधका बीच निवासमा सपथ खुवाइएको छ । यो घटनाबारे प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति घोर अलोकतान्त्रिक प्रवृत्ति भएको बताएका छन् ।

    आइतबार विज्ञप्ति निकाल्दै उनले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।

    उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएको बताएका छन् ।

    आज एक विज्ञप्ती निकाल्दै प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको उल्लेख गरेका छन् । उनले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको जानकारी गराउँदै प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् ।

  • लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

    लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

    बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा ६ वैशाखमा अविश्वासको प्रस्तवा दर्ता भएको हो । सो प्रस्ताव आजको बैठकमा पेश गर्न लागिएको हो ।

    यसबारे शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्दैछन् । त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिनेछन् । अविश्वासको प्रस्तावमा सोमबार नै मतदान हुने छ ।

    त्यसपछि उनको पद रहने वा नरहने टुंगो लाग्ने छ । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

    हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनिसकेका कारण पोखरेलको पद बच्ने सम्भावना छ । तर, कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सम्भावना समेत रहेका कारण मतदान सम्म कुर्नु पर्ने हुन्छ ।

  • लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

    लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

    काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको प्रदेशसभा सदस्य पद गएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको छ ।

    सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१ं बाट प्रत्यक्ष निर्वाचित भएका थिए । सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु मूख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि मन्त्री बनेका थिए । यसकारण उनीहरुको राजनीतिक वृत्तमा व्यापक आलोचना भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भएसँगै यहाँ जसपा फूटको संघारमा पुगेको छ ।

    यादव पक्षले चार सांसदलाई स्पष्टीकरण सोधेको थियो । पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेसँगै उनीहरुको पद गएको हो ।

    प्रदेशसभा सचिवालयले निकालेको सूचनामा समेत जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको बताएको छ ।

  • माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

    माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने गरी ल्याइएको हो ।

    यसअघि सत्तारुढ नेकपा एमालेको कमिटिमा महिला एक जना पनि नपरेपछि आलोचना भइरहेको छ । माओवादी केन्द्रले भने पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवा कम्तीमा २० प्रतिशत हुने गरी विधानमा संशोधन गरेको छ ।

    दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने समेत उल्लेख छ । केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्नेछ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।

  • गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।

    आज अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्ने कार्यक्रम छ । त्यसपछि भने सांसदले बोल्न पाउने छन् । छलफलपछि अविश्वासको प्रस्ताव टुंगो लगाइने छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र जनमोर्चा कसिएका हुन् ।

  • नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

    नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

    काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ ।

    प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला पारेको हो । मङ्गलबार प्रहरीले काठमाडौँको सिनामङ्गलबाट आठ जनालाई पक्राउ गरेको थियो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टरको हात रहेको खुलेको छ । यी दुइ कम्पनीले होटल वा घरमै पीसीआर रिपोर्ट ल्याइदिने गरेको खुलेको छ ।

    त्यसका लागि स्वाव होइन, पैसा दिए पुग्थ्यो । प्रहरीका अनुसार वैदेशिक रोजगारमा जान बढी नक्कली रिपोर्ट बन्ने गरेको फेला परेको छ । बुधबार मात्र प्रहरीले त्यस्ता नक्कली रिपोर्ट बोकेर विदेश जान लागेका १७२ यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार स्वाब सङ्कलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको समेत भेटिएको छ । बुधबार १२२ जनालाई भित्र बोर्डिङ पास लिएर जाँदै गर्दा पक्राउ गरिएको हो । थप ५० जनालाई विमानस्थल जाँदै गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६८ भारतीय, दुई पाकिस्तानी र १०६ नेपाली छन् । सलाम एयर, जजिरा एयर र एयर अरेबियाबाट उनीहरु विभिन्न मुलुक जाँदै थिए ।

  • आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

    आफुले लगाएको मास्क पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने, सडकमा थुक्न मनाही

    काठमाडौं । मानिसहरुले आफुले लगाएको मास्क जथाभाजी फ्याँक्न थालेपछि सरकारले कडाई गरेको छ । सरकारले स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालेको राससले लेखेको छ । यसअघि सडकमा यत्रतत्र मास्क अब पाँच दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । साथै त्यसरी मास्क सडकमा फ्याँक्नेमाथि कारवाही समेत गर्ने स्थानीय प्रशासनको तयारी रहेको छ ।

    खासगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ ।

    अटेर गरेमा कारवाही हुने प्रशासनको चेतावनी छ । घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको हो । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

  • गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    गगन थापासहित सांसदद्धारा वायु प्रदुषणबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौं । गगन थापासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चार सांसदले वायु प्रदुषणबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । वायु प्रदूषण बढेको र यसबारे छलफल गर्न अत्यावश्यक रहेको भन्दै सांसदहरुले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

    वायु प्रदूषण न्युनिकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी तथा पहल कदमीबारे छलफल गर्न काठमाडौं उपत्यकाका जनप्रतिनिधिका रूपमा चार सांसदले प्रस्ताव दर्ता गरेका छन् ।

    मंगलबार बस्ने संसद बैठकमा यस प्रस्तावबारे महत्वपूर्ण छलफल हुने विश्वास सांसदहरुको छ । थापासहित भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले वायु प्रदूषणबारे प्रस्ताव संसदमा आइतबार दर्ता गरेका छन् ।

  • आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

    आज माओवादी केन्द्रको स्थायी समिति बैठक, सरकार गठनबारे ठोस निर्णय आउला ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    सरकारले एमसीसी संसदमा अगाडी बढाउन गरेको प्रस्ताव र यसले कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ आकर्षित हुने आशंकाका बीच माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । सरकारको चर्को विरोध गरेपनि समर्थन फिर्ता नलिएको माओवादीको समेत आलोचना भइरहेको छ ।

    आजको बैठकले नयाँ सत्ता समिकरणका सम्भावनाबारे छलफल हुने छ । प्रदेश तहमा माओवादी केन्द्रको रणनीति सफल बन्दै गएको सन्दर्भका संघीय सरकारमा समेत आफ्नो रणनीति बुनिरहेको माओवादी केन्द्रले आगामी सरकारको नेतृत्व भने कांग्रेसलाई दिने बताइसकेको छ ।

  • गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६ महिना मात्र मन्त्री पदमा बस्न पाउने छन् ।

    आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदको सपथ ग्रहण गराएकी छन् । आजै उनले कार्यभार समेत सम्हालेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै एमाले बनेसँगै माओवादी केन्द्रले कारबाही गरेको हो । उनी राष्ट्रिय सभा सांसद थिए ।

  • कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

    कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री

    काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले चाल्ने कदम हुने अपेक्षा धेरैको थियो ।

    तर, अपेक्षा विपरित प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय उठान गरे । एमसीसीलाई आफुले सदनमा पेश गर्न चाहेको भए पनि सभामुखले रोकिरहेको भन्दै उनले सभामुख अग्नी सापकोटाको कडा आलोचना गरे । एमसीसी अगाडी बढाउन चाहनु प्रधानमन्त्रीले सत्ता टिकाउन कांग्रेस फकाउने थप एक कार्ड चालेको विज्ञहरुले बताएका छन् ।

    आज काठमाडौंबाट प्रकाशित हुने अधिकांश पत्रिकाले यसको चिरफार गर्ने प्रयास समेत गरेका छन् । नयाँ पत्रिकाले लेखेको छ, ‘नयाँ गठबन्धनका लागि विपक्षी एक ठाउँ भएपछि एमसीसीमार्फत कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्रीको योजना ।’ कांग्रेस एमसीसी नेपालमा भित्राउन चाहन्छ । सोहीकारण प्रधानमन्त्री उसलाई फकाउन समेत यो प्रस्ताव टेबुल गर्न चाहन्छन् । तर, एमाले भित्रको माधव नेपाल समुह र माओवादी भने एमसीसीको कडा विरोधमा छन् ।

  • सदनमा एमसीसी रोकेको भन्दै प्रधानमन्त्री ओली सभामुखविरुद्ध आक्रोसित

    सदनमा एमसीसी रोकेको भन्दै प्रधानमन्त्री ओली सभामुखविरुद्ध आक्रोसित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुखविरुद्ध आक्रोसित बनेका छन् । शनिबार आफैले बोलाएको सर्वदलीय बैठकमा उनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध आक्रोस पोखेको नेताहरुले जानकारी गराएका छन् । यद्दपी आजको बैठकमा माओवादी केन्द्र र एमालेको माधव नेपाल समुहका नेताहरु भने सहभागी भएनन् । यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि वालुवाटार गएनन् ।

    उता, प्रधानमन्त्री ओलीले भने संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन दलहरुबाट सहयोगको अपेक्षा गरेका छन् । सभामुखले सदनमा एमसीसी सम्झौता रोकेको भन्दै आक्रोसित भएको बैठकपछि नेताहरुले जानकारी दिए ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा सभामुखले सरकारको प्रस्ताव स्वच्छाचारी ढंगले रोकेको भन्दै प्रस्ताव सदनमा ल्याउन आग्रह गरिएको जनाएका छन् । उनका अनुसार बैठकमा सबै तहका निर्वाचन छिट्टै गर्नुपर्नेमा समेत निष्कर्ष निकालिएको छ । कोभिड नियन्त्रणमा सरकारको भूमिकामा समेत नेताहरुले जोड दिएका छन् ।

    सरकारका कारण नभई संसदको नेतृत्वका कारण महत्वपूर्ण विषय अड्किएको सरकारले दाबी छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत एमसीसीको पक्षमा रहेका कारण प्रधानमन्त्रीलाई आड भरोसा मिलिरहेको छ । तर, एमसीसी पास गर्ने सम्बन्धमा भने एमाले भित्रै विवाद रहेको छ ।

  • कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

    कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमालले समर्थन फिर्ता लिएसँगै उनले प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएको हो । उनले आफ्नो सत्ता बचाउन बहुमत सावित गर्नुपर्छ । आजबाट प्रदेशसभाको सातौँ अधिवेशन शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनमा पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउने गरी कार्यसूचि राखिएको छ ।

    एमालेले चैत ५ मा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको छ ।

    ३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादीका १२ जना सांसद मात्रै छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद छन् । एमालेका सभामुखसहित २० जना सांसद छन्। एमालेबाट फ्लोर क्रस नभए मुख्यमन्त्रीको पद जानेछ ।

  • माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो ।

    सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब संवैधानिक प्रावधान अनुसार उनीहरु ६ महिना मन्त्री बन्न सक्नेछन् । त्यतिन्जेल सांसद बन्न नसकेमा भने पुनः पद जानेछ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरूलाई पद तथा गोपनीयताको सथप खुवाएकी छिन् ।

    त्यसअगाडी प्रधानमन्त्रीले उनलाई मन्त्री पदमा नियुक्तीको सिफारिस गरेसँगै राष्ट्रपतिबाट मन्त्री पदमा नियुक्त गरिएको थियो । उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका छन् । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् ।

  • देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् ।

    देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन् । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक जवाफ दिएको छ । उता, जसपा भने आज समेत अनिर्णित बनेको छ ।

    जसपाका केही नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वासन दिएका कारण जसपाले छलफलका लागि भन्दै समय मागेको छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि प्रधानमन्त्रीले स्वतः राजिनामा दिने अपेक्षा गरेका अन्य दल उनले सत्ता नछाड्ने बरु अझ बलियो बन्ने रणनीति अपनाएपछि नयाँ गठबन्धनको तयारी भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले आजको बैठकमा कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेको नेताहरुले बताएका छन् ।

    आजको बैठकमा कांग्रेसका सबै पदाधिकारी सहभागी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भए ।