Category: मनोरञ्जन

  • प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

    प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

    प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए । प्रचण्डले यो क्षेत्रलाई अझै व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

    फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’का लागि चीनबाट चार्टर्ड उडानबाट जहाज ल्याउन प्रयास भइरहेको आयोजकले जनाएको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल ९हान० र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज ९नारा० सँगको सहकार्यमा ८–९ असारमा यस्तो फेस्टिभल हुँदैछ । फेस्टिभलमा सहभागी हुनेहरुलाई चार्टर्ड उडानबाट पोखरामा लैजाने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले जानकारी दिए ।

    फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन ९डीसीएम० वाङ जिनले नेपाल र चीन बीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए ।

    डीसीएम वाङ जिनले यस्तो बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आइरहेको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एसियामै पहिलो भएको बताए । उनले यो फेस्टिवल एसियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए ।

    बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिने गरी अगाडि बढाउने सोच रहेको समेत जानकारी दिए

    । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रमका अवसरमा फेस्टिभलको लोगो तथा प्रवर्द्धनात्मक भिडियो समेत अनावरण गरियो ।

    नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा गत २१ वैशाखमा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

  • रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्

    रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

    सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

  • समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्

    समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्

    (गीत सहित)

    न्यूयोर्क

    पछिल्लो समय सिने पत्रकार प्रकाश सुबेदीको “द प्रकाश सुबेदी शो” को अन्तर्वार्तापछि अडान र आत्मविश्वासको उपमा पाएकी गायिका समिक्षा अधिकारीको आफ्नै जीवनसापेक्ष गीत ‘म चन्द्रमा हुँ’ चर्चामा चुलिएको छ ।

    गीतकार जीवनदास सुनारले गीतमा पल-समिक्षा काण्डपछि जनमानसमा समिक्षाउपर परेको भ्रमलाई समेत चिर्न खोजेको छ । गहनभाव पोख्न सिपालू गीतकार सुनारले यसपटक सही मौकामा सान्धर्विक शब्दशिल्पि कोरेका छन् । गजलशैलीको गीतलाई संगितकार बिजया अधिकारी र एरेन्जर राजु कार्कीको सांगितिक समुहले सुमधुर बनाउन मेहेनत गरेको प्रतित हुन्छ ।

    गत २९ मे, सोमबार संगीतकार बिजयको युट्यूब मार्फत सार्वजनिक भएको गीतको “आफ्नै ईज्जत लिलाम गरें, तिम्रो लागि जिउँदै मरें” गीति अंश टिकटकमा भाइरल बनेपछि गीतले पहिलो दिनमा नै झण्डै मिलियनको लक्ष तय गर्ने संकेत देखाएको छ ।

    गीत बिषयक छोटो कुराकानिमा गीतकार जीवनदासले प्रकाश सुबेदी शो हेरेपछि समिक्षाकै लागि शब्दहरू कोरेको बताएका छन् ।

  • दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा

    दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा

    काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । उनले ग्राजुएसन गरेको क्षणलाई तस्वीरमार्फत सेयर गर्दै खुसी बाँडेकी छन् ।

    ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षितस्वरुपको कालो पोसाक र प्रमाणपत्रको उक्त तस्वीरमा उनी लेख्छिन्, ‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ । मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु ।’

    श्रृंखलाका बुवा तथा पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि ग्राजुएसन समारोहमा सहभागी हुन यतिबेला अमेरिकामा छन् । तस्वीरमा उनीहरुले छोरीलाई साथ दिंदै हर्षित भएको देख्न सकिन्छ ।

    यसैबीच, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हार्वर्डमा जाने भएकी छन् । उनले यो सरप्राइज शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी थिइन् भने इन्स्टाग्राममा समेत उल्लेख गरेकी छन् । सन् २०२३-२०२४ का लागि आफूले हार्वर्ड मेडिकल स्कुलमा आफूले स्नातकोत्तरको कोर्स गर्न लागेको उनले जनाएकी छन् ।

    विश्वभरका हजारौं आवेदकमध्येबाट आफू स्नातकोत्तर पाठ्यक्रमका लागि समावेश भएको र यो कोर्सअन्तर्गत पेसेन्ट सेफ्टी, क्वालिटी र हेल्थ लिडरसिप क्लास समावेश हुने उनको भनाइ छ ।‘म ब्रह्माण्डप्रति धेरै कृतज्ञ छु,’ उनले लेखेकी छन् ।

  • आज गणतन्त्र दिवस, देशभर मनाइंदै

    आज गणतन्त्र दिवस, देशभर मनाइंदै

    काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततस् तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

    विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

    संविधान सभाले डा। रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

  • मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

    मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

    काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते ।

    समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

    जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।


    भव्य फिनाले समारोहमा नेपाली रकस्टार अभया सुब्बाले एकल गायन प्रस्तुत गरिन् भने अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरियो । ‘आज किन’ बोलको गीत गाउँदै अभयाले गीत प्रस्तुत गरिन् । उनको गायकीमा प्रतिस्पर्धीले पनि नृत्य गरेका थिए । समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिती थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

  • गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

    गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

    काठमाडौं । प्रख्यात चक्रीय अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण हुने भएको छ । यसलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको छ । उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।

    पदमार्ग निर्माणका लागि लमजुङ तथा गोरखाका चार गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष दीपक सापकोटा र टान गण्डकीका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ छन् ।

    स्थानीय तहमार्फत पदमार्गको भौतिक संरचना निर्माण तथा विभिन्न निकायमा समन्वय गर्न पर्यटकीय पथप्रदर्शकसमेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीलाई संयोजक बनाइएको छ । स्थानीय तहले आगामी आर्थिक वर्षदेखि रकम विनियोजन गरेर यसको अध्ययन, रेखांकन र भौतिक संरचना निर्माण अघि बढाउनेछन् । पर्यटकलाई उक्त ठाउँमा पठाउन टानले सहयोग गर्नेछ ।

    यस क्षेत्रमा २ वटा पदमार्ग हुने अधिकारीले जनाए । उच्च क्षेत्रको पदमार्ग करिब २१ दिनको हुनेछ । यो पदमार्ग लमजुङको डोना ९ठुलागी०–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला ९५००० मिटर० पास हुनेछ । यो यात्रामा जानेले बुद्ध र हिमालचुलीका बेस छुनेछन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–बराहपोखरी क्षेत्र ९३२०० मिटर० सम्म पुग्नेछन् । यो यात्रा करिब १३ दिनको हुनेछ ।

    उनका अनुसार यो पदमार्गको प्रवर्द्धन गर्न बजेट विनियोजन हुनेछ । ‘यो मार्ग चक्रीय अन्नपूर्ण पदमार्गभन्दा अझ भिन्न बन्नेछ, जहाँ अहिलेसम्म पर्यटक पुगेका छैनन्,’ उनले भने, ‘पर्यटक नयाँ ठाउँमा सहभागी हुन रुचाउँछन् । पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नेछ ।’

    टान उपाध्यक्ष गुरुङले ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले लमजुङ र गोरखाको स्थानीय तहलाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धन गर्न छलफल अघि बढाएको बताए । पर्वतीय क्षेत्रमा पर्यटक जान रुचाए पनि बाटो नभएपछि हिमालको बेसक्याम्पसम्म पुग्ने पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

    चक्रीय अन्नपूर्ण पदमार्गमा गाडी गुड्न थालेपछि पर्यटकले वैकल्पिक पदमार्गको खोजी गरेको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘विदेशीलाई पदमार्गमा सवारी साधन गुडेको मन पर्दैन,’ उनले भने, ‘विकल्पमा वरपर धेरै पदमार्ग बनाइए पनि यही सडकमा जोडिने भएकाले पर्यटक कम हिँडे । अब, पर्वतीय पदमार्गमा पर्यटक हिँड्ने अपेक्षा छ,’ उनले भने ।

  • तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

    तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

    काठमाडौं । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।

    आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो। “यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको कुरा विष्टले उद्धृत गरे। उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

    सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्। ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए। उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए। सगरमाथातर्फ जानु अघि उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो तर आँट गरे जस्तो सुकै कठिन काम पनि गर्न सकिँदो रहेछ।’

    “यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो। नेपाल आमाको काखमा हुर्केको मैले जवानी बेलायतको लागि व्यतीत गरेँ, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ,” उनले आगामी योजनाबारे बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साहसिक खेलमा समेत रुचि राख्ने उनले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन्।

    दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्। चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्। बुढा मगरले भनेका थिए, ूघुँडामाथिबाट नै खुट्टा नभएकामध्ये हालसम्म कसैले सगरमाथा चढ्ने प्रयास नै गरेका छैनन्। त्यसैले म पहिलो प्रयासकर्ता हो।ू विगतमा सरकारले लगाएको प्रतिबन्धका कारण आफ्नो तयारीमा केही ढिलाइ हुन गएको गुनासो गरेका उनले केही वर्षयता आरोहणबारे प्रशिक्षण लिँदै आएका थिए। पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजना बनाएका मगरलाई कानुन बाधक बनेको थियो।

    पर्वतारोहण सम्बन्धी तत्कालीन नियमावलीका अनुसार ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखा देख्न नसक्ने व्यक्तिले’ हिमाल आरोहण गर्न नपाउने व्यवस्था गरेको थियो। तर पछि त्यो कानुनी वाधा हटेपछि उनलाई सगरमाथा आरोहणका लागि बाटो खुलेको थियो। नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्ग प्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको हो।

    सगरमाथा चढेपछि नेपालमा अपाङ्गता साक्षरतामा काम गर्ने उनको योजना रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपालतर्फबाट आरोहण गर्नका लागि ४७८ जनालाई अनुमति दिइएको नेपाली अधिकारीहरूले बताएका छन्। अनुमति लिनेमध्ये सबैभन्दा बढी चीन र त्यसपछि अमेरिकाका पर्वतारोही छन्।

    BBC Nepali

  • गोसाइकुण्डमा विशेष मेला सुरु

    गोसाइकुण्डमा विशेष मेला सुरु

    काठमाडौं । रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् ।

    आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ ।

    यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान छ । त्यसै अनुसार सुरक्षा प्रबन्ध मिलाएको र उद्धार गर्नुपर्ने अवस्थामा निःशुल्क फोन नम्बर एक सयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीको अनुरोध छ ।

  • देउवा पुत्र जयविरले गरे इन्गेजमेन्ट, को हुन शिवाना ?

    देउवा पुत्र जयविरले गरे इन्गेजमेन्ट, को हुन शिवाना ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेको बताइएको छ ।

    जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्। शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।

    केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्। शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। शिवाना सौन्दर्य सामग्री (ब्युटी–प्रडक्ट) को व्यापार गर्छिन् ।

  • धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

    धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

    काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए।

    सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन्। पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ।

    धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए। आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ।

    बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो। दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको थियो। कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ। रासस

  • आज इद, विश्वभर मनाइंदै

    आज इद, विश्वभर मनाइंदै

    काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदको अवसरमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिएका छन् ।

    ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ ।

    यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

    फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

  • नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

    नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

    काठमाडौं । इदमा प्रदर्शन हुने सलमान खान अभिनित ुकिसीका भाइ, किसिका जानुलाई वितरक मनोज राठीले नेपाल ल्याउँदैछन् । फिल्मलाई भारतीय रुपैयाँ एक करोडमा किनेर राठीले नेपाल प्रदर्शनमा ल्याउने भएका हुन् । ‘अब नेपालमा पनि सलमानको क्रेज धेरै छ । त्यसैले दर्शकले यो फिल्मलाई हेरिदेलान् भनेर हामीले फिल्मलाई एक करोडमा किन्ने जोखिम मोलेका छौं, राठीले भनेका छन् । हिन्दी फिल्मको वितरणमा सक्रिय राठीले नै यसअघि पुष्पालाई नेपाल प्रदर्शनमा ल्याएका थिए । फिल्म प्रदर्शनको मिति नजिकिएसँगै अभिनेता सलमानले नेपालका दर्शकलाई सम्बोधन गर्दै फिल्म हेर्न आग्रह गरेका छन् ।

    सलमानले नेपाली दर्शकलाई सम्बोधन गरेको भिडियोमा भनेका छन्, हेल्लो नेपाल । म हुँ तपाईंको भाइ, तपाईंको जान, सलमान खान । यो इदमा म लिएर आउँदैछु, फ्यामिली इन्टरटेन्टमेन्टले भरिएको मेरो फिल्म तपाईंको नजिकैको हलहरुमा यही अप्रिल २१ देखि प्रदर्शनमा आउँदैछ । धेरै माया दिनुस्, टिकट बुक गर्नुस् । इदको सबैलाई शुभकामना ।’

  • आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

    आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

    काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ ।

    आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ डा। बासुदेवकृष्ण शास्त्रीले भने ।

    यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लागेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

    मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । सो मूर्तिले मातातीर्थको आकर्षण झन् बढाएको छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन बढेको छ ।

  • लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

    लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

    काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्मले नाम परिवर्तन गरेर अमेजन प्राइममा जान लागेको हो ।

    भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको कथामा आधारित फिल्म वितरणको जिम्मा अमेरिकी कम्पनी एसएनआरले लिएको छ । बेलायत, अस्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा फिल्म रिलिजको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

    फिल्म १९१५ को सेप्टेम्बर २५ मा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनामा आधारित छ । उक्त युद्धमा घाइते भए पनि २६ वर्षीय राइफलम्यान कुलवीर थापा बाँच्न सफल भएका थिए । त्यसपछि घाइते अवस्थामै उनी पीडितको उद्धारमा खटिएका थिए । युद्धका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेलायती महारानीले उनलाई भिक्टोरिया क्रसले सम्मान गरेकी थिइन् ।

    निर्देशक शाहीको लेखनमा बनेको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् भने मधु गुरुङ र प्रयास गुरुङ निर्माता हुन् ।

  • दुई दिनमै हलबाट उत्रियो ‘बुलाकी’

    दुई दिनमै हलबाट उत्रियो ‘बुलाकी’

    काठमाडौं । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । ‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौँ’, निर्माता विष्टले फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरी जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौँ ।’ उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन्।

    दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन्।

    सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।

  • नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री

    नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन मात्रै होइन राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन्।

    उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको बताएका छन्। ‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ,’ शुभकामना सन्देशमा भनिएको छ।

    उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्। निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताए।

    ‘वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्। उनले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

    ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन,’ शुभकामनामा सन्देशमा उल्लेख छ । उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन्।

  • सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान

    सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ ।

    नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ ।’

    आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ । उनले नयाँ वर्ष २०८० सालको आरम्भमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् ।

  • आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै

    आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै

    काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

    नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
    नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

    सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

    विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

    विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

  • भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट

    भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट

    काठमाडौं । भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु भएको छ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।

    सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । अहिले भैरवनाथको रथसँगै भद्रकालीको रथ सिंगार्ने काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

    भैरवनाथको रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ । त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । यो कार्य सकिएपछि विधिवत् रुपमा रथ तानिन्छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

    बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिंगो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै, बिस्का जात्रा शान्तिपूर्ण बनाल्उन सद्भाव र्याली गरिएको छ । हिजो दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो ।

    ‘बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाऔँ’ भन्ने नाराका साथ भएको र्यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका सयौँ व्यक्ति सहभागी थिए ।

  • टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी

    टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी

    काठमाडौं । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको जानकारी दिएको छ ।

    उनले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ ।

    उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । रासस

  • बालेन र हर्कको भेट, के भयो कुराकानी ?

    बालेन र हर्कको भेट, के भयो कुराकानी ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङबीच शिष्टाचार भेटघाट भएको छ । दुई मेयरको पहिलो पटक भेटघाट भएको बालेन्द्रको सचिवालयले जनाएको छ । काठमाडौं आएका सम्पाङले मंगलबार दिउँसो साढे २ बजे बालेन्द्रसँग भेटघाट गरेका हुन् । दुबै मेयरबीचको पहिलो भेटघाटमा अनुभव आदनप्रदान तथा आ-आफ्नो स्थानमा के कसरी काम गर्ने भन्ने कुरामा छलफल भएको बालेन्द्रका स्वकीय सचिव भुपदेव शाहले जानकारी गराएका छन् ।

    भेटमा बालेन्द्रले स्थायी सरकार नहुँदा समस्या भएको बताएका थिए । साथै मन्त्री भेट्न सिंहदरबार जाँदा ती मन्त्रीको पद नै चट भएको प्रसंग निकालेका थिए । बालेन्द्रले स्थानीय सरकार ५ वर्षसम्म स्थायित्व हुने भए पनि केन्द्र सरकार फेरबदल हुँदा काम गर्न समस्या भएको कुरा हर्कलाई सुनाएका थिए ।

    भेटमा धरानका मेयर सम्पाङले बालेन्द्रलाई शुभ संकेतको रूपमा लिइने सिलाम साक्मा लगाइदिएका थिए । लिम्बु समुदायको सांस्कृतिक बिम्ब रूपमा लिइने सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिने गर्छन् । यसको प्रयोग विभिन्न पर्वमा प्रयोग हुने गर्छ ।

  • राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

    आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत(रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

    आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड

    सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड

    काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए ।

    “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ । यद्यपि, यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती पनि सिर्जना गरेको छ । यसको असर चलचित्र अनलाइन लिक वा पाइरेटेड भएका छन्”, अध्यक्ष केसीले भने, “यी चुनौतीलाई सम्बोधन गर्न बोर्डले डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको हो । चलचित्रकर्मीले भोगिरहेका साइबर खतरा न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माता, सामाजिक सञ्जाल प्लेटफर्म र अन्य सरोकारवालासँग मिलेर काम गर्दैछौँ ।”

    कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर विक्रान्त कार्की र आइडिया ब्रिड आईटी सोलुसनका निवेशकिरण अधिकारीले संयुक्तरुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका थिए । नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट छुटकारा पाउने उपाए र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

  • आज चैते दशैं, देशभर मनाईंदै

    आज चैते दशैं, देशभर मनाईंदै

    काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।


    संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

    शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । शर्मा भन्छन्, ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’

    अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ ।

    मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो ।

    मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकाले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने गरिएको थियो ।

    त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैनथ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो ।

    शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् ।

    चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ ९कतै मकै र धान पनि थप गरेर० छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ ।

    ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।

  • आज घोडे जात्रा, काठमाडौंमा बिदा

    आज घोडे जात्रा, काठमाडौंमा बिदा

    काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।
    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो
    । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।


    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

  • ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    काठमाडौं । आफ्नो यूट्यूब च्यानलबाट दुई वर्षसम्म गायब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप पुनः एक पटक यूट्यूबमा देखिएका छन् । उनले आफ्नो यूट्यूब च्यानलमा ११ सेकेण्डको भिडियो अपलोड गर्दै लेखेका छन्, आई एम ब्याक । यो भिडियो उनको एक चुनावी र्यालीको हो । जसमा उनले भनेका छन्, ‘तपाईलाई कुराएकोमा माफी चाहन्छु, यो एक जटिल मामला हो ।’


    सन् २०२० मा भएको राष्ट्रपति चुनावका हारेसँगै उनका समर्थकले वासिंटनस्थित क्यापिटल विल्डिङमा हंगामा मच्याएका थिए । त्यसछि उनका सामाजिक संजालहरु फ्रिज गरिएको थियो । उनले सामाजिक संजालका माध्यमबाट आफ्ना समर्थकलाई भड्काउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी पुनः एक पटक राष्ट्रपति चुनाव लड़ने तयारीमा छन् ।

  • आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु

    आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु

    काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ ।

    उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । विभागका अनुसार यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका ३\३ जना छन् । नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट २\२ जनाले अनुमति लिइसकेका छन् ।

  • २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

    २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

    काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिने भएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ ।

    देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।
    फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।