Category: मनोरञ्जन

  • आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

    आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

    काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

    बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।

    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

  • दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने

    दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने

    काठमाडौं । स्थानीय रैथाने खानाको प्रवर्द्धन गर्न होटल संघ नेपाल (हान)ले रैथाने परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमै राख्ने बताएको छ। संघका सदस्य होटलहरूमा आगामी आइतबार (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा)सम्म रैथाने परिकार पस्कने कार्यक्रम नै आयोजना हुने जनाइएको छ।

    पर्यटकहरूले यात्राको क्रममा रैथाने खानाप्रति विशेष रूचि राख्ने हुँदा मौलिक खानाको स्वाद चखाएर भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको संघका अध्यक्ष विनायक शाहले बताए। यस्तो किसिमको कार्यक्रमअन्तर्गत देशभरका सदस्य होटलहरू खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटलमा रैथाने खाना पाइनेछ।

    त्यस्तै काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दसैं विशेष स्थानीय रैथाने खाना पस्कने छन्। यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी रहने संघले जनाएको छ।

  • चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट

    चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट

    काठमाडौं ।, दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

    सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।

    खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

    यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । यस्ता पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोका समेत बिक्री वितरण हुनेछन् । उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

    साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । यसैगरी नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

    काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम(पूर्व र रुकुम(पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् । यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।

  • आज जितिया पर्व मनाइंदै

    आज जितिया पर्व मनाइंदै

    काठमाडौं । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।


    व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

    त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । यस पर्वमा यहाँका व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

    व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ(आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।

    त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको बताउँछन् ।

    पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

    राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।
    जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

  • यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

    यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

    काठमाडौं । यसपटक दशैंको उत्तम साइत नेपाली साइत अनुसार ११ बजेर २ मिनेट जाँदा देखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ ।

    कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

    कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।
    विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः ३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

  • आजबाट सुरु भयो सोह्र श्राद्ध

    आजबाट सुरु भयो सोह्र श्राद्ध

    काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

    चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए ।

    कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

  • शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

    शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

    काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर(२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय क्षेत्र समेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

    ‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौं, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौ‌’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारप्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्ध–प्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ । शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली बिहीबार साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ ।

    चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ’वाइल्ड स्टे विथ चौंरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायत कलाकार सहभागी छन् । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार ११ देखि १३ असोजसम्म हुने तीनदिने कार्यक्रममा लोक गायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा। रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।

    कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ ।

    यस किसिमको सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

    गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेञ्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौंरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।

  • काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

    काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ ।

    जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ । जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

    राजतन्त्र रहुञ्जेल रथयात्रा नजर गर्ने काम राजाहरुबाट हुने गर्दथ्यो ।
    इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

    जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

    जात्रा अन्तर्गत असोज १० गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ । इन्द्र जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

  • गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

    गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

    काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले अब कार्यालय सुरु हुनु भन्दा अगाडी अब १५ मिनेट योगा गर्नु पर्ने भएको छ । बुधबार आफ्ना कर्मचारीलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न गृहले परिपत्र गरेको हो । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ । यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ ।

    शनिबार सशस्त्र प्रहरी बलको हलमा राष्ट्रपति, प्रधानन्यायाधीश समेतलाई उपस्थित गराएर एकदिवसीय ध्यान विज्ञान शिविर गरिएको थियो । त्यसकोे चार दिनपछि मन्त्रालयले महाशाखाहरुमा कार्यरत अधिकृत स्तरका कर्मचारीले विहान १०ः०० देखि १०ः१५ बजेसम्म १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्र गरेको हो ।

    मन्त्रालयका अनुसार मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका कर्मचारीहरु शनिबार एकदिवशीय ध्यान विज्ञान कार्यक्रममा सहभागी भइसकेका छन् । अब अरु कार्यालयका कर्मचारीलाई पनि ध्यान विज्ञान कार्यक्रम राख्ने र त्यसपछि मन्त्रालयमा जस्तै १५ मिनेट योग अभ्यास गराउने तयारी छ ।

  • दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

    दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

    काठमाडौं । यस वर्ष दसैं र तिहारमा नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको
    छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

    ‘कहाँ के कति नोट उलपब्ध भनेर आन्तरिक रुपमा विवरण मागिरहेको राष्ट्र बैंकले घटस्थापनापछि नयाँ नोट सटही खुला गर्ने तयारी गरेको हो । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक–एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

    राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता (घटस्थापना आसपास) देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने तयारी छ ।
    दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी)पनि धेरै बिक्री हुँदै आएको छ ।

  • काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

    काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

    काठमाडौं । काठमाडौंमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु भएको छ । हरेक साल भाद्रशुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात हुन्छ । काठमाडौंमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने गरिन्छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । इन्द्रजात्रा पर्वको मुख्य विधि वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिङ्गो ठड्याउनु हो । यो लिङ्गो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ ।

    वर्षा र सहकालका देवता इन्द्रको पूजा एवम् सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको छ । विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको तेश्रो दिन आउँदो बिहीवार कुमारी रथयात्रा हुन्छ । यो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

    बिहीवार राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे , पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ ।

    यो दिन विदेशी पाहुना पनि सहभागी हुने छन् । जात्राभर सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ।

  • त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

    त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।

    चङ्‍गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्दा सुरक्षामा असर गर्न सक्छ । सोहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उड्ने क्षेत्रमा यस्ता गतिविधि नगर्न सचेत गराउँदै आएको छ । यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानून अनुसार कारवाही हुने कार्यालयको भनाइ छ ।

  • पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

    पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

    सपपेन्द्र बस्नेत बोष्टन

    अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा नेपालीहरुको महान पर्व ‘हरितालिका तीजको अवसरमा तीज विशेष ‘सामूहिक पूजा’ सम्पन्न भएको छ। सेप्टेम्बर १८ तारिख सोमवार ब्रतको दिन न्यू इंग्ल्याण्डमा रहेका नेपाली मुलवासी हिन्दू धर्मावलम्बी ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले तीज विशेष ‘सामूहिक पूजा’ गरेका हुन्। उनीहरुले सामूहिक पूजासंगै तीजको महत्व र मर्मलाई आत्मसात् गर्दै धार्मिक विधि अनुसार भगवान शिव पार्वतीको विशेष दर्शन, पूजापाठ तथा अर्चना गरेका थिए। मन्दिर व्यवस्थापन समितिले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुका लागि विहान ८ बजेदेखि बेलुका साँझ ८ बजेसम्म मन्दिर खुला गरेको थियो। व्यवस्थापन समितिले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुको सुविधाका लागि सामूहिक रुपमा ‘हरितालिका तीज’ विशेष पूजा धार्मिक विधि अनुसार सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाएको थियो। उक्त धार्मिक कर्ममा सहभागी हुन चाहनेहरुको संख्या उत्साहजन देखिएपछि, मन्दिरमा उपलब्ध स्थान र सहभागी हुनेहरुको समयलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिले चार चरणको समयतालिका बनाएर ‘सामूहिक पूजा’ को व्यवस्थापन गरेको थियो।

    मन्दिरमा आबद्ध पण्डितहरुले ब्रतालु तथा श्रद्धालु भक्तजनहरुलाई धार्मिक विधि अनुसार हरितालिका तीज विशेष ‘सामूहिक पूजा’ गराएका थिए। उक्त कार्यक्रमको नेतृत्व मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले गरेका थिए भने, रमेश पराजुली, महेश सुवेदी, मनोहर धिताल, गोपालप्रसाद आचार्यलगायतले ‘सामूहिक पूजा’ कार्यक्रमलाई धार्मिक विधिपूर्वक प्रभावकारी रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ तथा आराधना गरेका थिए।यसैक्रममा, सहभागीहरुले तीज विशेष गीतहरु गाउदै नाच्दै हर्षोल्लास मनाउदै एकाएक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए।

    सामूहिक पूजा कार्यक्रम निकै प्रभावकारी र उत्साहजनक रहेको भनि मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले प्रतिक्रिया दिएका छन्। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिकीर गर्दै उनले भने, ‘ सामूहिक पूजा कार्यक्रम निकै प्रभावकरी र उत्साहपूर्ण रहेको थियो। पूजामा सहभागीहरु, गुरुहरु, मन्दिर व्यवस्थापन, सहयोगीहरुलगायतको साथ सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। सबैलाई धन्यवाद व्यक्त गर्दछु।’ उनले थपे, ‘मन्दिर सञ्चालन पछि तीज पर्वको अवसरमा पहिलो पटक आयोजना गरिएको ‘तीज विशेष पूजा’ के कस्तो होला भन्ने चिन्ता थियो। तर, निकै राम्रो भयो।’ पूजारी गजुरेलले दिएको जानकारी अनुसार चार चरण गरी सम्पन्न गरिएको सामूहिक पूजा कार्यक्रममा ५ सय महिलाहरुको सहभागिता रहेको थियो। सेप्टेम्बर १९ तारिख मंगलबार पञ्चमीका दिन पनि मन्दिर व्यवस्थापन समितिले ‘सामूहिक पञ्चमी पूजा’को व्यवस्था गरेको र उक्त पूजा कार्यक्रम बिहान १० बजेबाट सुरु हुने गरी आवश्यक तयारी गरिएको जानकारी दिए।

    गत मे २७देखि मे ३० तारिखसम्म सामूहिक भवनमा स्थापना गरिएको मन्दिरमा आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै, नियमित रुपमा मन्दिर सञ्चालन हुदै आइरहेको छ भने, मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसार पर्ने धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजना गरिदै आइरहेको छ।

    हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासमा यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा, अर्चना, स्तुति र प्रार्थना गरी यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर, पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्मलाई नै मार्दै गएकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ।

  • आज ऋषि पञ्चमी, यस्तो छ महत्व

    आज ऋषि पञ्चमी, यस्तो छ महत्व

    काठमाडौं । आज ऋषि पञ्चमी पर्व नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक साल भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने प्रचलन रहेको छ


    यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

    आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाण्डौको टेकुसहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ ।

    गणेशको पूजा गरी मनाइने गणेश चतुर्थी पर्व पनि आज मनाइँदैछ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिन्छ ।

    हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज मङ्गलवार नै परेको छ । यो पर्वलाई नेवार समुदायले चथा नाममा मनाउँछन् ।

    तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि आज मङ्गलवार नै रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए । गणेश रथयात्रा पनि आजै गरिने छ ।

  • अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम न्युयोर्कमा मनाइयो

    अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम न्युयोर्कमा मनाइयो

    न्युयोर्क

    नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना), बाग्लुङ सेवा समाज अमेरिका, नारी एकता, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, पर्वत सेवा समाज न्युयोर्क र बलेवा सेवा समाजसँगको सहकार्यमा संयुक्त तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    गत शनिवार सेप्टेम्बर १६ तारिखको साँझ ६ बजेदेखि १२ बजेसम्म सत्यनारायण मन्दिर न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न गरिएको हो ।

    तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षतामा एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष हेमन्तबहादुर मल्ल, प्रमुख अतिथिमा महावाणिज्यदूत बिष्णु गौतम, Honorable Guest New York State Assembly woman Jenifer Rajkumar लगायतले कार्यक्रमा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमको बारेमा सहआयोजक फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका (फोन्ना) का अध्यक्ष विष्णु राना मगरले यो बर्ष करिव १५ सयको हाराहारीमा महिला दिदीबहिनीहरुको उपस्थिति भएको र सबैलाई दर खुवाएर सौहार्द र रमाइलो वातवरणमा खुसी साटासाट गर्दै समापन भएको समेत बताएका छन्। यो बर्षको तीजमा बहिर सडक पेटीमा समेत महिला दिदीबहिनीहरु नाचगान गरिरहेको दृष्य प्रवासमा गर्विलो देखिन्थ्यो ।

    भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँने गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
    वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले तीजमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

  • आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड

    आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

    वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

  • आज विश्वकर्मा पूजा, के छ महत्व ?

    आज विश्वकर्मा पूजा, के छ महत्व ?

    काठमाडौं । आज हिन्दु धर्मावलम्बीले विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । हरेक साल कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी पर्व मनाउने गरिन्छ ।

    कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

    आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

  • तिजको दर खाने दिन आज

    तिजको दर खाने दिन आज

    काठमाडौं । हरितालिका तिजको दर खाने दिन आज परेकोछ । यससँगै तिज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

    धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान र दरसँग जाँडरक्सी नखान समेत चिकित्सकहरुको सुझाव छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

  • पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध

    पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ । यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

  • पशुपतिको गर्भगृहको तस्वीर खिचे २ हजार जरिवाना हुने

    पशुपतिको गर्भगृहको तस्वीर खिचे २ हजार जरिवाना हुने

    काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

    तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो ।

    यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

    यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।

    चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । मूल मन्दिर परिसरको तस्वीर, भिडियो खिचेमा मोबाइल सिज गरिनेछ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्वीर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।

    पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्वीर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

    सनातनदेखि तस्वीर खिच्न मनाही गरिएको स्थानको तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्वीर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्वीर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्वीर खिचेमा रु ५०० जरिवाना गर्न सुरु गरेको छ ।

    पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे–नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए । कोषले तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

    छलफलमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले तीजमा पशुपति क्षेत्रमा आउने महिलालगायत भक्तजनको पहिरन शोभनीय हुनुपर्ने बताए । दर्शनार्थीले अश्लील तस्वीर खिचेमा मोबाइल सिज गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइएको पनि उनले कार्यक्रममा सुनाए । पशुपति क्षेत्रमा दैनिक घरघरबाट बरालिएर आउने युवायुवतीलाई सम्झाउन सबैको सहयोग कोषले माग गरेको छ ।

    सो अवसरमा काठमाडौँ महानगरपालिका-८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथको मूल मन्दिरसम्म गाडी लैजान बन्द गरिनुपर्नेमा जोड दिए । विगत वर्षमा कोषको पास लिएका र ज्याकेट लगाएर स्वयंसेवक बनेकालाई नै मूलमन्दिर परिसरबाट भगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिने गरी वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।

    तीजका अवसरमा महानगरपालिकाले पशुपति क्षेत्रमा दुईवटा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विगत वर्षमा प्रवेश गरी कसैले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएकामा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको उनले जानकारी दिए ।

    ‘पशुपतिनाथ मूल मन्दिरमा हिन्दू मात्र छिर्न पाइन्छ भन्ने आस्थासँग जोडिएको कानुन हो, परम्परादेखि चल्दै आएको या नियम पशुपतिनाथमा पालना हुन्छ’, प्रवक्ता अधिकारीले भने।

    छलफलमा कोष सञ्चालक परिषद् सदस्यत्रय शिक्षित पराजुली, डा भरतप्रसाद बडाल र आशा पाण्डेलगायतले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको बताए । यसवर्षको हरितालिका तीज व्रत असोज १ गते सोमबार परेको छ ।

    पाँच दिने तीज पर्व भदौ ३१ गते आइतबारदेखि सुरु हुन्छ । तीजको पहिलो दिन आइतबार दर खाने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । रासस

  • वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

    वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

    काठमाडौं । वर्षासँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल रूचाउने पर्यटकको मागअनुसार थप एक वटा सहित दुई वटा बेलुन उडान सुरू गरिएको अध्यक्ष बादेले बताए ।

    हट एयर बेलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन् । पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकिएको छ ।

    करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए ।

    कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको उनले जानकारी दिए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ ।

  • आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

    आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

    काठमाडौं । आज कुशे औँशी पर्व मनाइदैछ । हरेक साल भाद्र कृष्ण औँसीका दिन यो पर्व पर्छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँने गर्छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक मान्यता छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ(आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

    पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

    काठमाडौं । प्रतिकुल मौसमका कारण बन्द भएको तारा एयरको पोखरा–जोमसोम उडान नियमित सञ्चालन हुने भएको छ। ताराले सोमबारदेखि नियमित उडान गर्न लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ।

    तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुनेछ। मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।

  • ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

    ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

    काठमाडौं । एकसाथ सगरमाथा आरोहण गर्दै कीर्तिमान राखेका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने भएका छन् । नेपाल पर्वतारोहण संघले उनीहरु एक असाधारण साहसिक पदयात्रामा निस्कन लागेको बताएको छ । १३ सेप्टेम्बर ९२७ भदौ०मा यात्रा सुरु गर्ने तयारीमा रहेका उनीहरुले कुल ११० दिनको पदयात्रा नेपालमा गर्ने भएका छन् । आन्द्रेज र मारिजा दुवै उमेरले ६६ वर्ष पुगेका छन् ।

    यो जोडीले सुदूरपूर्वी नेपालको ताप्लेजुङबाट ग्रेट हिमालयन ट्रेलको यात्रा प्रारम्भ गर्नेछ । पूर्वी ताप्लेजुङको कञ्चनजङ्‍घा नर्थ आधार शिविर ५,१४७ मिटरबाट सामान्यतया ग्रेट हिमालयन ट्रेलको यात्रा सुरु हुन्छ । पश्चिममा हुम्लाको हिल्सा (३,६४७ मिं)मा ग्रेट हिमालयन ट्रेलको यात्रा समाप्त हुन्छ । यो रुटको कुल लम्बाइ १७ सय किलोमिटर छ ।

    यस रुटभित्र नेपालका उत्कृष्ट पदयात्रा रुटहरु समेटिएका छन् । उच्च पहाडी तथा हिमाली ट्रेकिङ रुटहरु समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा विकास गरिएको हो । कतिपयले भने ग्रेट हिमालयन ट्रेलको यात्रा दार्चुला सम्म पुगेर अन्त्य गर्ने गर्छन् । संघका अनुसार यो जोडीले १३ सेप्टेम्बरबाट थालेको यात्रा १ जनवरी २०२४ मा सक्ने योजना बनाएका छन् ।

  • सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा १० असोजमा कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो ।

    काठमाडौं उपत्यकाका पर्यटकीय स्थानमध्ये कीर्तिपुरले विशिष्ट पहिचान बोकेको छ । साँझको समयमा कीर्तिपुरबाट उपत्यकाको मनमोहक दृश्य देखिन्छ । सोहीकारण कीर्तिपुरमा सन्ध्याकालीन पर्यटनको सम्भावनाको खोजी गर्न लागिएको हो । कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवर्धन गरिरहेको छ ।

    साथै कीर्तिपुरको डिजिटल नक्सा तयार पार्ने काम समेत सुरु भएको छ । डिजिटल नक्साले कीर्तिपुरका आकर्षण, सम्पदा स्थल, होटल, रेस्टुरेन्ट, र अन्य चासोका बिन्दुको सही निर्देशन दिने छ । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रवर्धन र नक्सामा स्थान तथा रुट राख्ने अभियान समेत थालेको छ ।


    कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी, स्थानीयको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्धनविज्ञ सौरभ ढकालद्वारा प्रस्तुतीकरणका साथै स्थलगत नक्साङ्‍कन गरिएको छ । सहभागीहरुले गुगल म्यापलगायत नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए ।

    कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने भएको छ । डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक–समय जानकारी प्रदान गर्दछ । यो तथ्यांकले पर्यटकलाई उनीहरूको गतिविधि बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्ने बताइएको छ ।

  • हिमालको फेँदीमा गल्फ हुने

    हिमालको फेँदीमा गल्फ हुने

    काठमाडौं । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा दोस्रो गल्फ च्यालेन्ज आयोजना गर्ने भएको छ । भदौ ३० बाट आयोजना हुने दोस्रो गल्फ च्यालेन्ज उच्च हिमाली भेगमा आयोजना हुने कमै प्रतियोगितामध्ये एक हो । विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव यहाँ खेलाडीले लिन पाउने छन् ।

    संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउने प्रयास समेत भएको छ । अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर)का नाममा विश्वकै सर्वोच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान छ ।


    यसपालि हुने प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवललगायतका सहरबाट ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । तीमध्ये चार जना महिला गल्फर छन् ।

    अर्को सालबाट अन्तर्राष्ट्रिय खेलाडी निम्त्याएर प्रतियोगिता गर्ने आयोजकको तयारी छ । विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने छन् ।

  • आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

    आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ।

    श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ।

    यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

    राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

    RSS

  • सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

    सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो ।

    चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।

    ‘नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ,’ उनले भने । नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उनको भनाइ थियो ।

    प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलोपटक सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए । ‘मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरेँ,’ उनले भने ।

    वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन,’ उनले भने ।

    सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ थियो । त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।
    रासस

  • गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

    गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

    काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।
    समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए।

    अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन्। थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए।

    गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ। गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ।

    गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

    समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ। यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ।

  • गाइजात्रा पर्व आज मनाइँदै

    गाइजात्रा पर्व आज मनाइँदै

    काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुतीसहितका कार्यक्रम गर्ने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विहृवल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ ।

    यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएपछि हाँस्यव्यंग्यको चलन सुरु भएको जनश्रुती छ । आजै रक्षाबन्धन र जनैपूणिर्मा पर्व पनि मनाइँदै छ । तिथी घटबढका कारण रक्षा बन्धन, जनैपूणिर्मा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निणरयक विकास समितिले जनाएको छ ।