Category: मनोरञ्जन

  • नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै

    नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपति जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।

    पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

    निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ । २८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय हुन बताइएको छ ।

    संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्‍याइने छ ।

  • ३५ जना सगरमाथा महिला आरोही सम्मानित

    ३५ जना सगरमाथा महिला आरोही सम्मानित

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी काठमाडौंमा महिला सगरमाथा आरोहीहरुलाई सम्मान गरिएको छ । नेपाल पर्वतारोहण संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ३५ जना आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेत्री बीना मगर, नायिका निशा अधिकारी, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन लगायतका छन् ।

    संघका अनुसार सम्मानित हुने अन्यमा कान्छी डोल्मा ह्याल्मो, निशा भोटे, पासाङ ल्हामु शेर्पा, डाबुटी शेर्पा, भुमिरा गुरुङ, याङ्दी शेर्पा, लाक्पा थाङ्जी शेर्पा, लुक्मी स्याङदेन, पासाङ फुटी शेर्पा र कान्छीमाया तामाङ छन् । यसैगरी कल्पना महर्जन, युआन्टिका तामाङ, पासाङ ल्हामु शेर्पा, दावा याङजुन शेर्पा, माया गुरुङ, छुनु श्रेष्ठ, छोकी शेर्पा र फुरा दिकी शेर्पा सम्मानित भएका छन् ।

    यसैगरी दिक्की शेर्पा, माया शेर्पा, शाली बस्नेत, नीमा जाङ्मु शेर्पा, छिरिङ न्यामगेल शेर्पा, दावा फुटी शेर्पा, दिकी लामा शेपा, पासाङ कान्छी शेर्पा, शर्मिला लामा, कुमारी ज्ञानमाला रानपल, नानु माया गुरुङ र प्रिती भुसाल पनि सम्मानित भएका छन् ।
    नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपालीले उनीहरुलाई प्रसंशापत्रसहित सम्मान गरेकी हुन् ।कार्यक्रममा राज्यमन्त्री सिरपालीले नेपालको पर्वतीय पर्यटन र महिला आरोहीको उन्नतीमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विज्ञहरुको सहयोगमा पर्वतीय पर्यटनको क्षेत्रमा मन्त्रालयले काम गर्ने उनको भनाइ छ । यसका लागि योजना र कार्यक्रम ल्याउन उनले आग्रह गरेकी छिन् ।

  • निशाको प्रष्टीकरण-‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा’

    निशाको प्रष्टीकरण-‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा’


    शरदविरुद्ध अंशबन्डा मुद्धा हालेको विषयमा विभिन्न टिका-टिप्पणी हुन थालेपछि निशाले फेसबुकमा आफ्नो सिंगल तस्वीरसहित पोस्ट गर्दै उनले लेखेकी छन्, ‘हामी अन्य व्यक्तिको अनुभवप्रति कत्तिको दयालु र स्वीकार्य छौं भनेर सोच्न र पुनः सोच्न आवश्यक छ । त्यो हाम्रो विशिष्टता हो । ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो । त्यो स्वीकृतिले हामीलाई मानिसको रूपमा परिभाषित गर्दछ र सामूहिक रूपमा हामीलाई मायालु समाज निर्माण गर्न नेतृत्व गर्दछ । म, शरद र युवान राम्रै छौं तथा हामीबीच अथाह माया, सम्मान र करुणा सेयर भइरहेको छ । ’काठमाडौं ।

  • मोडल अञ्जली लामाको अभिनय ‘अप्लज’ओस्कारमा मनोनित

    मोडल अञ्जली लामाको अभिनय ‘अप्लज’ओस्कारमा मनोनित

    काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाको अभिनय रहेको फिल्मको गीत अप्लज ओस्कार अवार्डमा मनोनयनमा परेको छ । फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको हो ।

    पुरुषको रुपमा जन्मेर महिला बनेकी अञ्जली तेस्रोलिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुन्। उनी २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उत्कृष्ट २० सम्म पुगेकी थिइन्।‘ल्याक्मे फेसन शो’ ले उनलाई नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा दिलाएको हो।

  • आज तराईमा खेलिदैछ होली

    आज तराईमा खेलिदैछ होली

    काठमाडौं । होली पर्व आज तराईका जिल्लामा मनाइँदै छ । पहाडमा सोमबार होली मनाइएको छ । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।
    होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ ।

    मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

    असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

  • आज होली पर्व, पहाडी भेगमा बिदा

    आज होली पर्व, पहाडी भेगमा बिदा

    काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

    होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।

    राष्ट्रपति भण्डारीले दिएको सन्देशमा होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन होली पर्वले योगदान पुर्याउने विश्वास उनले लिएकी छन् ।

    यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । यस्तै सभामुख देवराज घिमिरेले होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

  • अभिनेता पल शाह रिहा, कारागारबाहिर समर्थकको भीड

    अभिनेता पल शाह रिहा, कारागारबाहिर समर्थकको भीड

    काठमाडौं । जबरजस्ती करणी अभियोगमा आत्मसमर्पण गरेको एक वर्षपछि अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा भएका हुन् ।

    उनि २०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

    नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो। कारागारबाहिर उनको समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो चीर

    सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो चीर

    काठमाडौं । यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको छ । सोमबार बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् । यससँगै होली पर्व सुरु भएको हो ।

    होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो २२ गते सोमवार पहाडी जिल्लामा र २३ गते मङ्गलवार तराईका जिल्लामा होली मनाइँदै छ ।

  • पल शाह आज छु्ट्दै

    पल शाह आज छु्ट्दै

    काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) छुट्दैछन् । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाका छन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

    त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो । उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

    आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् । दाङ स्थायी ठेगाना भएका शाह रिहा भएपछि काठमाडौं आउने छन् ।

  • ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

    ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

    काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि ढोरपाटन शिकार आरक्ष केन्द्रमा शिकार पर्यटकका लागि अनुमति दिएको छ । यो सिजनमा १२ नाउर र ८ झारलको शिकार हुनेछ । विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारी व्यत्ति तथा संस्थाका लागि प्रस्ताव आह्वान गरेको थियो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बँदेलको शिकार अनुमति पाउँछन् ।

    विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकार गरिनेछ । यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको छ । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ ।

  • ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

    ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

    काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
    नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्बो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्बो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

    समय क्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्बो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • मादल बजाएर सेनाले राख्यो विश्व रेकर्ड

    मादल बजाएर सेनाले राख्यो विश्व रेकर्ड

    काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे ।

    सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरे । मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।

    वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।
    रासस

  • नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

    नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

    काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछन् ।

    हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

    नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।

    नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरूवात भएको हो ।

    देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

    सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

    नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारीजस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

    विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।

    संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

    वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गरेको छ । सेना दिवसका अवसरमा यसपटक भारतीय सेनाका पूर्व पाँच प्रमुख समारोहमा भाग लिन यहाँ आइसकेका छन् ।

    द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।

    सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।

  • पशुपतिनाथमा भक्तजनको भीड

    पशुपतिनाथमा भक्तजनको भीड

    काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए ।

    पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

    महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ । महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

    यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवद्र्र्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यसपटक नेपाल आउएका छन् ।

  • सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

    सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् ।

    महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गरिन् । उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताएकी छन् ।

    मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ ।

    पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ । पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको राष्ट्रपति भण्डारीले बताइन् ।

    उनले प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइने विश्वास व्यक्त गरिन् । ‘पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमति, रुद्रमती, इच्छुमती नदीलगायत मुलुकभरि फैलिएका पानीका स्रोत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएकी छु’, शुभकामना सन्देशमा भनिएको छ ।

  • आज महाशिवरात्री, देशभर मनाइंदै

    आज महाशिवरात्री, देशभर मनाइंदै

    काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउँछन् ।

    वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

    माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

    आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

    पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा

    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

    कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

    यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।

    पाँच वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागू पदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानूनी कारबाही गर्ने उनले बताए ।

  • चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

    चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

    काठमाडौं । करिश्मा मानन्धरकाे मानहानी गरेर अन्तर्वार्ता दिएकाे आराेपमा प्रहरीले डिल्लीराम खनाल पक्राउ गरेको छ ।

    उनले एक हप्ताअघि एउटा युट्युब च्यानलमा करिश्मा मानन्धर अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए । खनाल पछिल्लाे समय यूटयुवमा चर्चित छन् ।

    नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

    खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

  • नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

    नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

    काठमाडौं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो। हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन्।

    उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्। पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको छ । जनकपुरमा आयोजित कार्यक्रममा उनले नेपाल हिन्दू राष्ट्र भएको बताएका थिए । शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ। शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घले जनाएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती विश्वका विभिन्न देशहरूलाई हिन्दू राष्ट्र बनाउनु पर्ने पक्षमा मत राख्ने गर्छन्।

    तीन वर्षअघि उनले संयुक्त राष्ट्र सङ्घले भारत, नेपाल र भुटानलाई हिन्दू राष्ट्रको मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। अङ्ग्रेजी अनलाइन पिपल्स रिभ्यूका अनुसार गत वर्ष जनकपुरमा आयोजित एउटा कार्यक्रममा त उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न कुनै नेता आवश्यक नपर्ने बताउँदै भनेका थिए, “म घोषणा गर्छु( नेपाल हिन्दू राष्ट्र हो।” भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्ममा भारत हिन्दू राष्ट्र बन्ने घोषणा पनि गरेका छन्। उनले नेपाल र भारतबीच रहेको सीमा विवादबारे पनि आफ्नो धारणा सार्वजनिक रूपमा प्रकट गर्ने गरेका छन्।

  • शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

    शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

    काठमाडौं । बागमतीको मुहानक्षेत्र धापम बनेको जलाशयको बिहीबार उद्घाटन गरिएको छ । सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदीको बहाव बढाउने बागमती एकीकृत सभ्यता विकास समितिले जनाएको छ ।

    धाप ड्याममा आयोजित समारोहमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ड्यामको निर्माण बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे । धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन पनि दिए । जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने लिङ्देनले उल्लेख गरे ।

    शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्‍याउन निर्देशन दिए ।

  • महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

    महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

    काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आउने भएका छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेको बताइएको छ । यस वर्षको महाशिवरात्रि शनिबार हो ।

    पशुपति क्षेत्र विकास कोषले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य बिहीबार पशुपतिनाथ आइपुग्ने जानकारी दिए । कोषका अनुसार हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ व्याख्याता हुन् । उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ ।

    शङ्कराचार्यले पहिलो दिन आशीर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो । शङ्कराचार्यका लागि नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाइएको कोषले जनाएको छ ।

  • शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।
    यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेंगीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।

    महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आउने छन्। फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
    महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ।

    साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुर्‍याएका हुन्।

    फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ।

  • हज यात्रामा जानेका लागि निवेदन खुला

    हज यात्रामा जानेका लागि निवेदन खुला

    काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला भएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

    हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

  • डिल्लीरामविरुद्ध करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी

    डिल्लीरामविरुद्ध करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी

    काठमाडौं । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    बुधबार फेसबुकमा एक पोस्ट गर्दै उनले भनेकी छन्, ”उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरौँ नेपालको कानून कत्तिको बलियो रहेछ । प्रेम दाइ भन्नुुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?? म हिन्दु हुँ । यो विचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अति भयो । म मेरो संसारमा खुसी छु ।”

  • पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध जिल्ला अदालत तनहुँमा परेको बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए।

  • स्वस्थानी व्रत आजबाट सकिने

    स्वस्थानी व्रत आजबाट सकिने

    काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आजबाट सकिँदेछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ ।

    विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने धार्मिक परम्परा छ ।

    काठमाडौंको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला र पुरुषले आज व्रत समापन गर्नेछन्् ।

  • मिस नेपालका लागि आवेदन खुला

    मिस नेपालका लागि आवेदन खुला

    काठमाडौं । द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुला गरेको छ । द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न लागिएको जानकारी गराए । उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने समेत जानकारी दिए । न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्ने आयोजकले बताएको छ ।

    इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान छ । आयोजकले देशका सातै प्रदेशमा अडिसनको मिति तोकेको छ । काठमाडौं अडिसन मार्च १८ मा साझेदार होटेल बुढानीलकण्ठस्थित केजीएच पार्क भिलेजमा हुनेछ । त्यस्तै, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको क्षेत्रीय अडिसन मार्च १५ गतेभित्रै हुने जनाइएको छ । यसको स्थान र मिति पछि घोषणा गरिनेछ ।

  • नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो ।


    अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।

    ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने राससलाई जानकारी दिए । यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।

  • नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराइन् । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताइन् ।

    सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि यो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन् । गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंशा समेत गरिन् ।

  • विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    काठमाडौं । विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने निर्णय गरेको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।

    पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न अनुरोध गरिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ । ७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

  • कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

    कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ ।

    राष्ट्रपति भण्डारीले कलाकारहरूलाई राष्ट्रको अमूल्य सम्पदाको संज्ञा दिँदै उनीहरुको साधना र मौलिक सिर्जनाले राष्ट्रलाई विश्वसामु चिनाएको बताइन् । उनले कला क्षेत्रले नेपाली चलचित्रले रोजगारीको र्जना गर्ने र अर्थतन्त्रलाई बलियो पार्न मद्दत गरेको बताइन् । उनले नेपाली चलचित्र र कलाकारहरूले भोग्नुपरेका दुःख र समस्यालाई अन्त्य गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

    कार्यक्रममा चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न, कर अनुसार छुटको व्यवस्था गर्न, पर्यटकीय स्थलमा बिना लागत फिल्म छायाङ्कन गर्न, चलचित्र विकास बोर्ड स्वायत्त गर्न, चलचित्र उद्योग ऐन पास र लागु गर्न, चलचित्रकर्मीका लागि ठोस नीति बनाउन, पशुपति विकास कोषभित्र चलचित्रकर्मीका लागि श्रञ्दाञ्जलि गृह बनाउने लगायतका माग कलाकारहरूले राष्ट्रपति सामु राखेका छन् ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र मनोरञ्जनका लागि मात्रै नभएर यसले सिङ्गो देशको भौगोलिक अवस्था र कला संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत गरेको बताए । नेपाली चलचित्रलाई नेपालीले नै माया नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष केसीले चलचित्र ऐन छिटो पास भएमा तथा नेपाली चलचित्र स्टुडियो र सिनेमा एम्बेसी छिटो सञ्चालनमा ल्याउने हो भने नेपाली चलचित्र विकास गर्न सजिलो हुनेमा बताए ।