Category: मनोरञ्जन

  • राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।
    भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ छ ।

    अभिनेत्री कोइरालाले बीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । अभिनेत्री कोइरालाले भनिन्, ‘‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो, मलाई त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भन्ने मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु ।’’

    उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क समेत गरिन् । ‘‘म चाहन्छुलाई राप्रपाका उम्मेदवारहरूलाई अत्यधिक भोटले जिताउनु होस् । हलोमा भोट दिनुहोस् । तपाईँहरूको आवाज संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरूले तपाईँहरूको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो,’’ अभिनेत्री कोइरालाले भनिन्, ‘‘धेरै पहिला बीपी र महेन्द्र सरकार दुवै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।’

  • कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

    कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए ।

    “नेपाली चलचित्रको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,” उनले भने, “एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ। र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरून् भन्ने पनि हुन्छ। यी दुवै कुराका लागि ‘कबड्डी–४’ सिनेमाघरमा रिलिज गर्न लागेका हो।” सिनेमाघर एपका टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टीभी, अमेजन फायर टीभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधि प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने जानकारी दिए ।

  • नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

    काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् ।

    त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक हुन् । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता भने नेपाल र भारतमध्ये एक ठाउँमा हुने सम्भावना रहेको समेत बताइएको छ । त्यसको मिती उल्लेख छैन । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो । अव भने गुरुङ परिवार त्यसको हिस्सामा आएका छन् ।

  • विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

    विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो ।

    ‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगले केसीलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘ तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?’ सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने भन्दै आयोगले भनेको छ, ‘तपाईं उपर उक्त कारबाही किन हुनु नपर्ने हो ?’

  • प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?

    काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।

    ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।


    उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई ’ गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’

  • नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

    नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको न्युयोर्क सहर आउदो नोभेम्बर ५ तारिखका दिन ‘समता साँझ’ मय बन्ने भएको छ।

    न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यता रहने यस साँस्कृतिक कार्यक्रम, ग्लोबल समता सिनेटको आयोजनामा हुन लागेको हो। सोही कार्यक्रमलाई लक्षित गर्दै १ तारिख मंगलबार साँझ आयोजकले प्रेस मिटको समेत कार्यक्रम तय गरेका छन् ।

    मातृभूमिमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सहयोग जुटाउने हेतुले साँस्कृतिक कार्यक्रम ‘समता साँझ’को आयोजना गरिएको आयोजकले जनाएको छ।
    कार्यक्रम यही आउदो नोभेम्बर ५ तारिखका दिन न्युयोर्क सहरको Woodhaven manor caters & Banquet,96-01 Jamaica Avenue, Woodhaven मा हुने गरी आवश्यक तयारी थालिएको हो ।

    कार्यक्रमका बारेमा जानकारी दिदै ग्लोबल समता सिनेटका बरिष्ठ उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम ‘समता साँझ’का संयोजक टिका ढकालले भन्नु भयो, ‘कार्यक्रम भव्य रुपमा सफल पार्न हामी तयारीमा जुटिसकेका छौं। यो साँस्कृतिक कार्यक्र भएतापनि, यसको मुख्य उद्देश्य भनेको मातृभूमि नेपालमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिलाउने अभियानलाई टेवा पुर्याउन सक्दो सहयोग जुटाउनु नै हो।’ संयोजक ढकालका अनुसार कार्यक्रमबाट उठेको रकम नेपाल स्थित समता शिक्षा निकेतनद्वारा सञ्चालित समता शिक्षा अभियानलाई टेवा पुर्याउनका लागि सदुपयोग गरिने छ। ‘हामी नेपालमा सञ्चालित समता शिक्षा निकेतनको समता शिक्षा अभियानसंग जोडिएर नेपालको शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्नका लागि जुटेका छौं। आसा छ कि, न्यु योर्कवासी नेपालीहरुले सक्दो साथ र सहयोग दिनुहुनेछ।’ संयोजक ढकालले भन्नु भयो, ‘यो अमेरिकामा रहेका नेपाली/गैर आवासीय नेपालीहरुका लागि, मातृभुमिप्रतिको ऋण तिर्ने सुवर्ण अवसर हो। आऔं ! सक्दो सहयोग गरेर मातृभूमिको ऋण तिरौं ! र पुण्य कमाऔं ! ”

    आयोजकका अनुसार समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल ‘समता साँझ’ का मुख्य आकर्षक रहनु हुनेछ। उहाँहरुसंगै लोक दोहोरी गायक बिमल डाँगी, गायिका निसा सुनार र गायक मुकेश घिमिरेले गीत गाएर कार्यक्रममा सांगीतिक माहोल शृजना गर्ने छन् भने, नृत्यमा पारङ्गत कलाकारहरु गोबिन्द राई(नृत्य निर्देशक), लाक्पा डोल्मा लामा चेन र लोचना सुवेदीले आआफ्नो खारिएको नृत्यकला पस्किएर साँगीतिक माहोललाई थप रौनक र मनोरञ्जनात्मक बनाउने छन्। उक्त कार्यक्रममा दर्शकहरुलाई खानाको पनि व्यवस्था गरिएको जानकारी दिदै कार्यक्रम संयोजक ढकालले साँगितिक कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन सम्पूर्ण न्यु योर्कवासी संगीत प्रेमीहरुलाई अनुरोध गर्नु भयो।

    कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क स्वरुप प्रति टिकट सय डलर दर तोकिएको छ भने, कार्यक्रममा व्यवसायको व्यानर राख्नका लागि एक हजार डलर सहयोग शुल्क तिर्नु पर्ने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल नौं सय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।

    समता साँझ कार्यक्रम
    ‘सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ समता सिनेटर बन्ने/बनाउने अभियानसंग जोडिएको कार्यक्रम हो । यसै कार्यक्रमका बिच
    अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिने भएको छ।
    समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र प्रमुख संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता सिनेटरहरुलाई समता शिक्षा उपाधिसहित सम्मान गर्न लागिएको ग्लोबल समता सिनेटका वरिष्ठ उपाध्यक्ष तथा समता साँझका संयोजक ढकालले जानकारी दिनु भयो। ढकालले शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुलाई ‘समता सिनेटर’ बनेर समता शिक्षा अभियानमा जोडिन हुन अनुरोध समेत गर्नु भएको छ ।

    आयोजकका अनुसार, सिल्भर समता सिनेटर बन्नका लागि ६ सय लडर, समता सिनेटर बन्नका लागि एकहजार डलर र गोल्ड समता सिनेटर(कार्यक्रममा आफ्नो व्यवसायको व्यानर पनि राख्न पाँउने)बन्नका लागि दुइहजार डलर सहयोग शुल्क तिर्नु पर्नेछ। सिनेटर बन्ने र कार्यक्रमा व्यानर राखेर सहयोग गर्नेलाई दुइवटा टिकट निशुल्क उपलब्ध गराइने जनाइएको छ। आवश्यक शुल्कसहित रितपूर्वक निवेदन दिएकाहरुको संस्थाको समभावप्रतिको प्रतिबद्धता प्रमाणित भएमा, उनीहरु समता सिनेटर बन्न सफल हुनेछन्। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्ने जनाइएको छ।

    गत वर्ष अमेरिकामा स्थापना गरिएको ‘ग्लोबल समता सिनेट’ संस्थामा यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु आवद्ध हुने आशा गरिएको छ।

    समता शिक्षा निकेतनको समता शिक्षा अभियानलाई सहयोग जुटाउने हेतुले न्यु योर्क राज्यसहित अमेरिकाको ९ राज्यहरुमा यस प्रकारको साँस्कृतिक कार्यक्रमसहितको सुशोभन समारोह हुन गइरहेको आयोजकले जनाएको छ। जस अनुसार नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर- १३ मा मासाचुसेट्स, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा आयोजना गरिने गरी समय तालिका तय गरिएको छ।

    समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। यसका अलावा संस्थाले आफ्नो अभियानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ भारत, श्रीलंका र बंगलादेशमा समेत आफ्नो शाखा बिस्तार गरेको छ। अन्य देशहरुमा पनि पुग्न आवश्यक पहल गरिरहेको छ। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।

  • होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का

    होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का

    भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली अहिले विश्वकप क्रिकेटका दौरान अष्ट्रेलियामा छन् । सोही क्रममा उनी बसेको होटेलको कोठाको भिडियो सार्वजनिक भएसँगै विराट र उनकी पत्नी तथा बलिउड नायीका अनुष्का शर्मा भड्किएका छन् । यसलाई उनीहरुले गोपनियताको उल्लंघन भएको बताएका छन् ।

    त्यसो त स्टार क्रिकेटरको कोठाको भिडियो सार्वजनिक भएपछि संसारभरबाट यसको आलोचना भएको छ । होटेलले माफी मागेको छ भने भिडियो बनाउने कर्मचारीलाई कामबाट निकालेको समेत जनाएको छ । विराटले इन्ष्टाग्राममा खेलाडी र सेलब्रेटीलाई केवल मनोरन्जनका माध्यमबाट मात्र नहेर्न भनेका छन् । भिडियो खिच्ने समय कोहली रुममा थिएनन् ।

  • भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उनले जानकारी दिए ।

    यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

  • आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    काठमाडौं । आज तिहारको भाइटिका विश्वभर नेपालीले धुमधाम सहित मनाउदैछन । काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुदैछ ।

    दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ ।

    दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

    बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् ।

  • भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।
    भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

    रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

    भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए ।

    भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यस वर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।

  • तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    काठमाडौं । यम पन्चकको आज चौथो दिन गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

    द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन ।

    कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

    यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

    भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
    विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

    काठमाडौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछ ।

    गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका हुन् ।

  • शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार

    शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार

    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व शुरु भएको छ । आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

    लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

    यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । काग तिहारको अवसरमा आज काठमाडौंमा काग सम्मेलन आयोजना गरिएको छ । आज शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको छ ।

    दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ ।

    शनिबार नै कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो । त्रयोदशी तिथि आज आइतबार बेलुकी ५ :०४ बजेसम्म छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएको हो ।

    धनवन्तरी जयन्ती पनि आजै परेको छ । धनत्रयोदशी ९धनतेरस० भने शनिबार नै मनाइएको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।

    गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म ९म्ह० पूजा कात्तिक ९ गते बुधबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

  • काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौं । तिहारमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको बताएका छन् । अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।

    प्रहरीले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेको देखेमा वा पटाका पड्काएमा पनि तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ ९पटाका० सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ । छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

    यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्वीर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

  • तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    ललितपुर । तिहारलक्षित गोदावरी फूल मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

    फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । तिहार तथा छठ पर्व, घर आँगनरबगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो । प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

    प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कटफ्लावर प्रजाति रहेका छन् । यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् । यो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा हुन लागेको हो ।

    मेलामा प्रवेशका लागि साधारणतर्फ एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ । प्रदर्शनीमा अवलोकनकर्तामध्ये ५ जनालाई विजेता घोषणा गरी ६ गते बेलुका सिभिल मलमा हुने चलचित्र ‘महापुरुष’ को प्रिमियर शोमा महजोडीसँगै सहभागी हुने अवसर दिइने एसोसिएसनले जनाएको छ । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ ।

  • बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

    बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ।

    नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्‍याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा हुन गइरहेको समारोहलाई सफल पार्न आवश्यक तयारीमा तिब्रता दिइएको हो। उक्त समारोह आउँदो नोभेम्बर १३ तारिख आइतबारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गरिदै छ।

    ”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा,
    अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिदै छ।
    सिनेटरहरुलाई
    समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र संरक्षक तथा वरिष्ठ कलाकार ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता शिक्षा उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।

    बोस्टनमा हुने समारोहलाई सफल पार्ने तयारी अन्तर्गत समता ग्लोबल सिनेटका ‘समता सिनेटर’ बोस्टनवासी ठाकुर ज्ञवालीको संयोजकत्वमा मासाचुसेट्स राज्यमा अवस्थित विभिन्न संघ संस्था तथा प्रबुध्द व्यक्तित्वहरुलाई समेटेर ‘मूल समारोह आयोजक समिति’ गठन गरिएको छ। मूल समारोह आयोजक समिति गठन गरेसंगै समितिले आफ्नो काम सुरु गरिसकेको छ। समितिका संयोजक ज्ञवालीले जानकारी दिनुभएअनुसार समारोहको प्रचारप्रसार, सम्भावित सहयोगीहरु र सिनेटर बन्न इच्छुक व्यक्तित्वहरुको खोजी कार्य सुरु गरिसकिएको छ। संयोजक ज्ञवालीले भन्नु भयो, ‘
    हामीले समारोहको तयारीलाई तिब्रता दिइसकेका छौं। समारोहको मिति नजिकिसकेकाले तयारीलाई तिब्रता दिनु परेको हो।”

    शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर पुण्य कार्य गर्न घरदैलोमै सुवर्ण अवसर आएको जिकिर गर्दै ज्ञवालीले बोस्टनवासीहरुलाई यस अवसरमा सिनेटर बनेर समता शिक्षा अभियानमा हातेमालो गर्न अनुरोध समेत गर्नु भएको छ।

    हाल ज्ञवालीसहित बोस्टनबाट कुमार सिंह डाँगी, राजु तामाङ, कैलाश डाँगी, एनड्रे, डाँगी, एडम डाँगी र समृद्धि डाँगी (४ वर्षिया सबै भन्दा कान्छी सिनेटर) समता सिनेटर रहनु भएको छ। गत वर्ष स्थापना गरिएको यस संस्थामा अन्य शिक्षाप्रेमी, नेपालप्रेमी तथा समाजसेवीहरु पनि समता सिनेटर बनेर समता शैक्षिक अभियानमा जोडिने क्रम जारी छ। यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु हुने अनुमान गरिएको छ।

    संस्थाका अनुसार, इच्छुकहरुले समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्नेछ। र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्नेछ। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

    समितिका सहसंयोजक तथा समता सिनेटर कैलाश जंग डाँगीका अनुसार उक्त समारोहमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको छ। समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल कार्यक्रमको प्रमुख आकर्षक रहने भएका छन्। सहसंयोजक डाँगीले भन्नु भयो, ‘ वरिष्ठ कलाकार ‘मह’ जोडी र लोकप्रिय गायक रामकृष्ण ढकाल सुशोभन समारोह अन्तर्गत हुने साँगितिक कार्यक्रमको प्रमुख आकर्षक रहनु हुनेछ। उहाँहरुको बेजोड साँगितिक माहोलमा रम्न बोस्टवासी आतुर छन्।’

    उहाँले दिनुभएको जानकारी अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क तिरी कागजी वा अनलाइनबाटै पनि टिकट किन्न सकिने व्यवस्था मिलाइदैछ। सहयोग शुल्क स्वरुप प्रति टिकट १ सय र ५० डलर दर रहने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल पाँचसय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।

    यसैगरी, यस्तै ‘बृहत सुशोभन समारोह’ मासाचुसेट्स राज्यको बोस्टनसहित अमेरिकाको ९ राज्यहरुमा हुन गइरहेको आयोजकले जनाएको छ। जसअनुसार नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा सम्पन्न गर्ने गरी तयारी थालिएको छ।

  • मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

    मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

    काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन् । बियर ग्रिल्स नेपालमा एक साता रहनेछन् । उनको साथमा परिवारका सदस्य रहेको बताइएको छ । ग्रिल्सले यसअघि सगरमाथा र आमादब्लम हिमाल चढिसकेका छन् । ग्रिल्स डिस्कभरी च्यानलको ‘म्यान भर्सेस वाइल्ड’ एड्भेन्चर शोका प्रस्तोता हुन् ।

  • न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

    न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न

    न्युयोर्क

    बडा दशै तथा दिपावलीको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा नेपाली अमेरिकन म्युजिक फेष्टिभल भव्य रुपमा सम्पन्न भएको छ । अक्टोबर ८, २०२२ शनिबारका दिन न्यूयोर्क सहरमा नेपाली समुदायबाट पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” गरिएको हो।

    “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र रियल स्टेट सेल्स पर्सन नवराज केसीले गरेका थिए । खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोबास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु हो भनेर आयोजकहरुले बताएका छन्।नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रुपमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनीहरुको विश्वास छ ।

    न्यूयोर्क शहरका मेयर एरिक एडम्सको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयरले दशैं तथा तिहारको अवसरमा नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका थिए । मेयरले चर्चित नेपाली गायिका सपनाश्री, गायक फिरोज स्याङ्देन, सामाजिक अभियन्ता पेमा छेवाङ शेर्पा र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीलाई विशेष सम्मान प्रदान गरेका थिए।

    गायक फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार, संजोक योञ्जन, अभय ढुंगेल लगायतका गायक–गायिकाहरुको बेजोड सांगीतिक प्रस्तुतिले उपस्थित स्वदेशी तथा विदेशी दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। नृत्य तर्फ कबिना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बसन्त डान्स सेन्टरेको प्रस्तुति थिए ।

    स्वयंसेवकमा अन्जित गुरुङ, अञ्जन श्रेष्ठ, एट्ना कार्की, कपिल मगर, प्रकाश श्रेष्ठ, भुवन केसी, शंकर बिसुंके, बास विशु, निलिमा मादेन, जोन लामा, निरन प्रजापती, उमा तामाङ, रोजिना देउला र निलिमा मादेन थिए भने कार्यक्रमको ध्वनि नियन्त्रण तथा साँगितिक समायोन डिजे ज्याङ्बुले कमाल गरेका थिए ।

  • मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक

    मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक

    काठमाडौं । मोडल तथा भिजे ओसिन सिटौला नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्तावक बनेकी छन् । आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन गर्दा गराएका थापाको उनी प्रस्तावक बनेकी हुन् । ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ की मतदाता हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक बने ।

    गगन थापाले यस निर्वाचन क्षेत्रमा अर्थविद् स्वर्णिम वाग्लेलाई उठाउन चाहेका थिए । त्यसको साटो उनी अन्य निर्वाचन क्षेत्रमा जान तयार समेत बनेका थिए । तर, संस्थापन पक्षले स्वीकार नगरेपछि काठमाडौं ४ मा गगन नै निरन्तर उम्मेदवार बनेका हुन् ।

  • आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा

    आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा

    काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।


    लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

    आज बेलुकीसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने मानिन्छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ ।

  • राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयको भनाई छ ।

    राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान वितरण गरेकी छिन् । आज नेपालसहित विश्वभर रहेका हिन्दु धर्मावलम्बीले विजया दशमी धुमधामसहित मनाइरहेका छन् ।

  • अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो ।

    स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ । गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११ः५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे शुभ साइत तोकेको छ ।

    त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ ।

    क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।

    यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०:३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको छ ।

  • पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ ।

    विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ । डेंगुका कारण पूर्व राजा भने दशैंमा शक्तिपीठमा समेत सहभागी भएनन् ।

  • आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।


    घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

    समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

  • राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ।

    राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने छिन‍्। सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ। टीका ग्रहण गर्न राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुन भनेको छ ।

  • आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

    आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

    कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ ।

  • दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

    दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं

    काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। राससका अनुसार यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए।

    अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने। विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन्।

    कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताए। सवारीसाधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएकोभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ। काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ(आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ। आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए।

    सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो। शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।
    दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन। दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरू गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ।

  • दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

    दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

    काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

    आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    ‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो’, उनले भने ।

    ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

    दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् ।

    ‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो ।

    आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

    आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लाग्ने गर्छ ।

    यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

    आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

    देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

    महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

  • देशभरका दशैं घरमा भित्राइयो फूलपाती

    देशभरका दशैं घरमा भित्राइयो फूलपाती

    काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो । सेना तथा प्रहरीले देशभरका शक्तिपिठमा फूलपाती भित्राउने क्रममा सलामी दिएका थिए ।

  • आज फूलपाती, शुरु भयो दशैंको बिदा

    आज फूलपाती, शुरु भयो दशैंको बिदा

    काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।

    फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आजैका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

    काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ ।