काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष बडा दसैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा परम्परा जोगाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्न थालिएको अध्यक्ष पौडेलले बाए । कार्यक्रमको शुभारम्भ संयुक्त रुपमा पानसमा बत्ती बाल्दै वडा अध्यक्ष राजु अधिकारी र क्लबका सभापति सञ्जय पौडेलले गरेका थिए ।
चङ्गाचेट प्रतियोगितामा कुल ४५ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमा प्रथम स्थान मिर्मिरे बिहानले हात पार्न सफल भए । श्रवण श्रेष्ठ दोस्रो बने । कार्यक्रमलाई तीन समुह बिभाजन गरेर प्रतियोगित आयोजना गरिएको थियो । दसैं लागेसँगै चङ्गा उडाउने परम्परा आधुनिकताका नाममा मसिदै गएका कारण यो परम्परा जोगाउन समेत कार्यक्रम गरिएको पौडेलको भनाई छ ।
काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।
हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ। ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ,’ महाशाखाले शुक्रबार दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज २१ द्वादशीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।
विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठूलो वर्षाको आँकलन गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आँकलन महाशाखाले गरेको छ। यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आँकलन गरिएको छ। यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ।
२१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ । पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन्। गत वर्ष पनि दसैँताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो ।
यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैंले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडा दशैंको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। सामाजिक, साँस्कृतिक, परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडा दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्न गरिन्छ। तर, मुलत: नेपाल र नेपालीको मौलिक पहिचान बोकेको यो ‘बडा दशैं’को मूल मर्म, धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिजोआज यस महान पर्वलाई ‘विजयादशमी’ भनेर सम्बोधन गर्ने, चिन्ने, चिनाउने, व्याख्या गर्ने र सोही अनुसार मनाउने गरेको पाइन्छ। खास गरी सामाजिक सञ्जालहरु र सञ्चार माध्यमहरुमा जानेर वा नजानेर यस महान चाडलाई ‘बडा दशैं’ को सट्टा प्राथमिकताका साथ ‘विजयादशमी’ मात्र भनेर सम्बोधन गर्दै शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ। जसले नजानिदो ढंगले बृहत महिमा, गरिमा र महत्व बोकेको चाडलाई संकुचित र कुन्ठित गरिरहेको छ। अझ भनौं चाडको मूल मर्मलाई नै ओझेलमा पारिरहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडा दशैं शुभारम्भ हु्न्छ। मुलत: जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म दशैंको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ। हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नवदुर्गाको भिन्न भिन्न स्वरुपले दशैंको क्षेत्र बृहद रहेको पुष्टि गर्दछ। धार्मिकग्रन्थका अनुसार महिसासुर लगायतका दानवहरुको बध गर्ने अभियानका क्रममा नौं रुप धारण गरेको विश्वास गरिन्छ। त्यसैले दुर्गालाई नवदुर्गाका नामले पनि पुकारिने गरिन्छ। यसरी धार्मिक ग्रन्थ अनुसार हरेक दिन(नौ दिन) र असत्य माथि सत्यको विजय प्राप्त भएको दशमीको दिन, जसलाई विजयादशमी भनेर पुकारिन्छ, सहितलाई समेटेर संयुक्त रुपमा ‘बडा दशैं’ भनेर सम्बोधन गरिनु पर्दछ। नकि ‘विजयादशमी’ मात्र। तब मात्र यो बृहत चाडको यथार्थ मर्म, महत्व, गरिमा र महिमा दर्शाउन र बचाउन सकिन्छ। जसलाई पुष्टि गर्न नवदुर्गाको नौं रुप, त्यसको शक्ति, भूमिका र महत्वलाई यसरी उल्लेख गरिएको पाइन्छ। १) शैलपुत्री–हिमालय पर्वतकी पुत्रीको रुपमा उत्पन्न ६ वटा हात भएकी नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भन्ने गरिन्छ। जसको हातहरु शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरुले सुशोभित भएका हुन्छन्। महिसासुर सहित दानवहरुले देवगण माथि अति नै अत्याचार गरेपछि दानवहरुको नष्ट गरेर देवगणको रक्षा गर्ने महाअभियान सफल पार्न आफ्नो रुपधारण गरेकी नवदुर्गाको पहिलो रुप हो यो। सोही अनुसार यस दिन उनको पूजा, अर्चना र साधना गर्ने गरिन्छ। २) ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुपलाई ब्रम्हचारिणी भनिन्छ। यो पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित रुप हो। जो उनको ध्यान जपको रुप हो। शास्त्र अनुसार, नव दुर्गा महिसासुरको वध गर्नु उचित हो वा होइन ? भन्ने यकिन गर्नका लागि आत्मज्ञान प्राप्त गर्न यो रुप धारण गरी ध्यान जपमा लिन भएकी विश्वास गरिदै आइएको छ। ३) चन्द्रघण्टा– चार हातमा शंख, चक्र, गधा र पध्म बोकेकी र मस्तकमा घण्टा आकारको अर्ध चन्द्र रहेको नव दुर्गाको तेश्रो रुप चन्द्रघण्टा हो।शास्त्र अनुसार, घण्टालाई सञ्चार र चन्द्रलाई फैलाउनुको रुपमा अर्थ्याइएको पाइन्छ। यस दिन सोही अनुसार दुर्गाको पूजा, अर्चना, आराधन र प्रार्थना गर्ने गरिन्छ। ४) कुष्माण्डा – दुर्गा भगवतीको चौथो रुप कुष्माण्ड हो। महिसासुरको बध गर्ने अभियान अन्तरगत ब्रम्हाण्ड उत्पन्न गर्नका लागि उनले यो रुप धारण गरेको मान्यता रहेको छ। आफ्नो मुस्कानबाट ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो। देवीले महिसासुरलाई यस रुपले आफ्नो बसमा ल्याएकी थिइन्। जसलाई शक्तिशालिनी तथा शान्तिदायनी रुप पनि भन्ने गरिएको छ। नवरात्रको यस दिनलाई शक्ति पूजाको विशेष दिन पनि मानिन्छ । ५) स्कन्दमाता – देवताका सेनापति स्कन्द कुमारकी माताको रुपलाई स्कन्दमाता भनिन्छ।दुर्गाले यस रुप धारण गरेर सत्यका लागि असत्यका विरुद्ध लड्न सेना तयार पारेको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । ६. कात्ययानी–दुर्गाको छैटौं रुपलाई कात्ययानी भनिन्छ। कात्ययानले घोर तपश्या गरेर दुर्गालाई छोरीको रुपमा प्राप्त गरेकाले यस रुपलाई कात्ययानी भनिएको पाइन्छ। महिसासुरले आफ्नो मृत्यु जल, थल र वायु कहि पनि हुन नसकोस् ।र, कुनै पनि हतियारबाट नहोस् भनि बिष्णुबाट बरदान पाएका थिए। जसले गर्दा उनको बध गर्न असम्भव झै थियो। यस्तो निकै गम्भीर अवस्थालाई दुर्गामाताले यही रुपमा गहन चिन्तन मनन गरेर उसको बध गर्ने सही उपाय पहिचान गरेको विश्वास गरिन्छ। ७) कालरात्री–यो दुर्गाको सातौं रुप हो। यो रुपमा दुर्गाको दाँयापट्टि ५ र बाँयापट्टि ४ हात रहेका छन्। उनको यस रुपको बाँया हातमा मुसल र दण्ड र दाँया हातमा त्रिशुल र तरवार सुशुजित छन्। देवीको यस अद्भुत शक्तिको कालरात्री स्वरुपलाई विनाशिनी पनि भनिन्छ। देवीले यस रुपमा महिसासुरलाई आफ्नो काखमा राखेर नङको सहायतामा पेट चिरेर बध गरेकी थिइन्। जसलाई असत्य माथि सत्यको विजय भएको विश्वास गरिन्छ। यसै विश्वासका कारण देवीको असत्यमाथि सत्यको विजय अभियान सफल भएको दिन भन्दै देवीको पूजनीय कर्मको सम्मान स्वरुप बली दिने प्रचलन चलिआएको मानिन्छ। जस अनुसार सप्तमीदेखि महाअष्टमीको दिनसम्म राँगा, बोका, भाले, हाँस, भेडाहरुको बली दिने प्रचलन छ। हिंसा गर्न नचाहनेहरुले भने घिरौँला, लौंका जस्ता तरकारीका कैडालाई पशुको स्वरुप दिएर बली दिने प्रचलन पनि छ।अहिंसावादीहरुले भने नवदुर्गालाई कदर स्वरुप नरिवल चडाउने गरेको पाइन्छ। ८) महागौरी–धर्मशास्त्रले नवदुर्गाले महिसासुरको बध गर्ने महाअभियानमा सफलता प्राप्त गरिसकेपछि आफ्नो आठौं रुपमा सबै बस्त्र तथा पहिरण सेतो धारण गरेको बताएको छ। शास्त्र अनुसार यस रुपमा उनले महिसासुर लगायतका दानवहरुको शरिर कुहाउने र उनीहरुलाई शान्ति दिलाउने काम फत्ते गरेको विश्वास गरिन्छ।
९) सिद्धिधात्री–नव दुर्गाको अन्तिम रुप सिद्धिधात्री हो। यस रुपमा देवी दुर्गा बाँया हातमा अमृतघडा र दाँया हातमा स्वस्तिक तथा कमल र लिएकी छिन्। देवीले यस रुपमा यस अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने विश्वास गरिन्छ। नवमीको दिन शक्तिपीठ तथा देवीको पूजा, अर्चना, साधना र आराधना गर्नाले देवीको शक्ति र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यहि विश्वासका आधारमा हिन्दु धर्मावलम्वीहरुले यस दिन माता नवदूर्गा भवानीको पूजा, अर्चना, साधना र आराधना गर्ने गर्दछन्। बडा दशैंको दशौं दिन (जसलाई ‘विजयादशमी’ भन्ने गरिन्छ) लाई विजयोत्सवको मुख्य दिन मानिन्छ । यो दिन देवताले दानव माथि अर्थात सत्यले असत्यमाथि विजय प्राप्त गरेको विजयोत्सव मनाउने हर्षोल्लासको दिन हो। यो दिन नव दुर्गा दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा हर्षोल्लासका साथ खुसीयाली मनाउदै नव दुर्गा भवानी र भगवान श्री रामको पूजा, अर्चना, आराधन, साधना र प्रार्थना गर्दै विजयको प्रसाद ग्रहण गर्ने गरिन्छ।जस अनुसार, निधारमा विजयको प्रतिक रातो अबिरमा मुछिएको अक्षताको टिका र घटस्थापनाका दिन अर्थात नव दुर्गाले महिसारसुरलाई बध गर्ने अभियान फत्ते गर्न पहिलो रुप धारण गरेको दिन राखिएको जमरा शिरमा लगाउने चलन छ। यो नेपाली पात्रो अनुसार हरेक वर्ष आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिमा पर्दछ। यस दिन एक आपसमा उत्तरोत्तर प्रगति उन्नति, आरोग्य र दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गर्नुका साथै आफन्तजन, नातेदार, नाता कुटुम्ब, गुरु, मान्यवरहरुको हातबाट टिका तथा जमरा, दक्षिणा ग्रहण गर्दै अमुल्य गआशिर्वाद लिने प्रचलन चलिआएको छ। बडा दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिर्वाद यस प्रकार रहेको छ : “आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने। दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।” यसको अर्थ हो :- द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु होस्। दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस्।दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्।हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता होस्।विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कृति वा प्रशिद्धि होस् ।
महिलालाई दिइने आशिर्वाद यस प्रकार रहेको छ : “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।” यसको अर्थ हो:- जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु। क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनु।
बडा दशैंको बृहत गरिमा, महिमा र महत्वका कारण टिका, जमरा, प्रसाद, आशिर्वाद र दक्षिणा ग्रहण गर्ने कार्य, पूर्णिमाको दिनसम्म गर्ने गरिन्छ। वर्ष दिनमा एक पटक विषेश र भव्य रुपमा मनाइने यस महान चाडलाई थप रौनक र हर्षोल्लासमय बनाउन शक्तिपीठहरुको दर्शन तथा पूजा आराधन गर्नुका साथै आफन्तजनहरुसंग भेटघाट गर्ने, नयाँ नयाँ बस्त्रहरु लगाउने, मिष्ठान्न भोजन गर्ने गराउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती, चोक चौतारो, मठमन्दिर सरसफाइ तथा रंगरोघन गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, जस्ता क्रियाकलापहरु पनि गरिन्छ। यस अर्थमा ‘बडा दशैं’ धार्मिक ,साँस्कृतिक, सामाजिक , पारिवारिक , शैक्षिक, ज्ञान, पहिचान, परम्पार, रितिरिवाज, एकता, उत्सव आदिका दृष्टिले बहुआयामिक महान चाड हो। जसले नेपाल र नेपालीको बृहद मौलिक पहिचान बोकेको कुरा पुष्टि गर्दछ।
यसरी घटस्थापनादेखि नवमीसम्म नव दुर्गाको नौं रुपको पूजा, अर्चना, आराधना, प्रार्थना र उपासना गर्ने र दशमीका दिन टिका, जमरा, प्रसाद, दक्षिणा र आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासका साथ बृहत रुपमा मनाइने चाड भएकाले यो चाडलाई केबल ‘विजयादशमी’ मात्र नभनेर महान चाड ”बडा दशैं” कै नामले पुकारेर चाडको मूल मर्म अनुसार बृहत् रुपमा नै मनाउनु पर्दछ भनि यस महान शुभ घडिमा सबैलाई अपिल समेत गर्दछु। साथै, बडा दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना !
काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन सामान्य अवस्थामा अक्टोवर पहिलो साता बाट मनसुन निष्कृय हुन्छ । मनसुन अन्त्य हुन मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ। नेपालमा मनसुन बंगालको खाडीबाट प्रवेश गर्छ। हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट नेपाल आउँछ ।
काठमाडौं । नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना हुँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।
दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् ।
गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले साहित्य तथा कला क्षेत्रमा समेत कलम चलाउँदै आएका छन् । कृति न्यौपानेले गीतमा संगीत भरेका छन् ।
गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए । वरिष्ठ कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ले आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव बोकेको उनले बताए ।
गीतको भिडियोतर्फ वरिष्ठ कलाकार श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । साथमा बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का पनि जोडिएका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा सम्पादन राकेश दाहालको छ । वसन्त सापकोटाले भिडियोको निर्देशन गरेका छन् ।
काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ । नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।
काठमाडौं । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आरधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र रहन्छ । सोहीकारण देवीलाई चन्द्रघण्टा भनिएको मानिन्छ । चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता छ ।
नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना हुन्छ । नवरात्रभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ ।
काठमाडौं । आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने खसीबोका र च्याङ्ग्रा किन्न पाइने भएको छ । कम्पनीले बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्ने जनाएको छ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाडौं ल्याइएको छ । कम्पनीले मंगलबार खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको थियो । च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको छ । छुटमा खरिद गर्दा उपभोक्ताले खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोमा ५० रुपैयाँ सस्तो पर्नेछ ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ ।
प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी गरिरहेमा भने कानून अनुसार कारवाहीको चेतावनी समेत प्राधिकरणले दिएको छ । दशैंमा चंगा उडाउने परम्परा रहेको छ । तर, घना बस्ती नजिकै विमानस्थल रहेका कारण काठमाडौंमा मानवीय गतिविधिका कारण हवाई सुरक्षामा भने असर परिरहेको हुन्छ ।
काठमाडौं । आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा हुँदैछ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।
आज पनि राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको बिहानैदेखि भिड लागेको छ । राजधानी बाहिरका दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।
काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।
आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।
आइतबार भक्तपुरको जगातीमा यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका २७ वटा भाडाका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो ।
नियन्त्रणमा लिएका १२ गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मात्रै नभइ उपत्यकाभित्रै चल्ने गाडीलाई लक्षित गरेर सुरक्षा जाँच बढाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ ।
यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छरछैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ।
कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।
काठमडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा राम्रो सुरूआत गरेको छ। भारतीय ट्रेड विश्लेषक तरण आदर्शले फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको उल्लेख गरेका छन् । ‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो। फिल्मको व्यापार २–३ दिनमा आफ्नो लयमा फर्किने छ।’
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन ।
यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् ।
अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।
त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टेलिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका हुन् ।
चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ ।
यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ ।
यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएका हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो ।
उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् ।
त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् ।
काठमाडौं । चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज भएको छ । तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ ।
गीतको भिडियोमा दुई पुस्ताका चार कलाकारहरुलाई प्रस्तुत गरिएको छ । हरिवंश आचार्य र गौरी मल्ल तथा अरुण क्षेत्री र अञ्जना बराइलीको जोडीलाई भिडियोमा प्रस्तुत गरिएको छ । प्रदीप भट्टराई निर्देशित चलचित्रलाई दीपेश खत्रीले निर्माण र रविन्द्रसिंह बानियाँले सह(निर्माण गरेका हुन् । निर्देशक भट्टराईको यो चौँथो चलचित्र हो ।
न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो । पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य धेरै रोचकताका साथ प्रस्तुत गरिएको थियो । कुमारी,गणेश र भैरवको रथयात्रासँगै नेवारहरुले आफ्नो मौलिक पहिरन र महिलाले हाकु पटासीमा सजिएर धिमेसँगै नेवारी नृत्य गरी कार्यक्रमलाई अझ रोचक बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली संस्थाबाट आएका पाहुना, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणलाई इन्दजात्राको प्रसाद वितरण गरिएको थियो । नेवारहरु जहाँ बसोबास गरे पनि नेपालमा होस् वा सात समुद्रपारिको देशमा होस् उनीहरुले आफ्नो देश, आफ्नो कला, आफ्नो पहिचान, आफ्नो संस्कृतिलाई अति नै माया गर्छन् । यसलाई पुस्ता पुस्ता सम्मका लागि यस्ता कार्यक्रम गरी आउँदा पुस्तालाई देखाउने र सिकाउने गर्छन् । साथै, विदेशी भूमिमा नेपालको कला र संस्कृतिबारे प्रचारप्रसार गर्छन् ।
यस्तै विदेशमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने साथै प्रचारप्रसार गर्ने उद्देश्यले सन् २००७ मा न्युयोर्क नेवा गुठी स्थापना गरिएको हो । नेवा गुठी स्थापना कालदेखि हरेक वर्ष नेपाल संवतका दिनलाई भव्यरुपमा मनाएर नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सोही अवसरमा राति सामूहिक म्हःपूजा गर्ने गरिन्छ । समय समयमा आउने चाडपर्वहरु इन्द्रजात्राआदि भव्य रुपमा मनाउने गरिन्छ ।
यस्तै आफ्ना भावी पुस्ताका लागि नेपाल भाषा र रञ्जना लिपि, धिमे बाजा सिकाउने कार्य गरिँदै आएको छ । नेवा गुठीले हालै एउटा ऐतिहासिक काम पनि सम्पन्न गरेको छ । गएको अगस्ट ५, ६ र ७ मा नेवा गुठीको वर्तमान अध्यक्ष विजयमान सिंहको नेतृत्वमा गुठी परिवार तथा अन्य संघसंस्थाको सहयोगमा चौथो विश्व नेवा सम्मेलन सम्पन्न गरेको छ ।
उक्त सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट साथै देश विदेशबाट तीन सय जना प्रतिनिधि सहभागी भएका थिए । उक्त सम्मेलनमा नेवारी भोज, नेवारी पहिरन शो, नेवारी चित्रकला प्रदर्शन, नेवारी नृत्य, नेपाल भाषाको सिनेमा प्रदर्शनलगायत विभिन्न कलाकारहरुले नेपाल भाषामा गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डका लागि सिफारिसमा परेको छ ।
सोमबार बसेको नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिको बैठकले समितिलाई प्राप्त चलचित्र मध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।
नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय हो ।
उक्त निर्णयसँगै चलचित्रले अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि प्रतिस्पर्धा गर्न पाउनेछ ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा चलेका फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउने प्रावधान छ ।
काठमाडौं । आज जितिया पर्वको मुख्य दिन, मध्यतराईका महिलाले विशेष रुपमा मनादईछ । यो पर्वको विधिवत् सुरुवात शुक्रबार नै भएको हो । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।
जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ ।
पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् । उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्याएको बताएका छन् ।
क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका रहेका थिए, बनभात खान तम्सिरहेका थिए ।
अम्रिकी क्यालेण्डर अनुसार सेप्टेम्बर ३,४,५ Long Weekend अर्थात लामो सप्ताहान्त परेको थियो | लामो सप्ताहान्त भन्नासाथ लामो बिदा भन्ने बुझिन्छ | अम्रिकी लेबर डे ५ सेप्टेम्बरमा परेकोले Long Weekend परेको थियो | कहीँ नभाको जात्रा हाँडी गाउंमा भने झैँ, विश्वभर लेबर डे , अर्थात श्रमिक दिवस, मे महिनाको १ तारिख मनाइन्छ भने, अम्रिकामा चाँहि सेप्टेम्बरमा ! लामो सप्ताहान्त आउनै हुन्न, अम्रिकीहरु लामो यात्रामा निस्कन्छन, हाइवेमा हुइँकिन्छन, बतासिन्छन, ज्यान छाडेर आराम गर्छन् ।
न्युयोर्के ब्यस्त जिन्दगीको कुराकानी गरेर साध्य छैन | मेरो ब्राजिलियन सहकर्मी रिता शुक्रबारको दिन हतारिरहेकी थिइन | किन यसरी हतारेकी भनेको त, ‘म अहिले कामबाट सिधा एअरपोर्ट गएर ब्राजिलको प्लेन समात्नु छ’ भनिन । आफुले सकाउनु पर्ने Paper Work गर्नमा तल्लिन थिइन । खोइ लेउ, तिम्रो पेपर वर्क म गरिदिन्छु भनेको त शुरुमा त अनकनाइन । पछि उसले नभ्याउने भएपछि, लु है मेरो Username र Password भनेर बाँकी रहेको काम मलाई जिम्मा दिएर हुर्रीइन | तिनदिने लामो सप्ताहान्त र त्यसमाथि केही दिन थपथाप् बिदा स्विक्रित गराइ तिनी भेकेसनको लागि ब्राजिल हान्निइन्। अनि लोग्नेलाई नलाने भन्दा, मुस्काउंदै भनिन : ‘कहिलेकाहीँ एक्लै जानुको मज्जा बेग्लै हुन्छ’!
क्याम्पिङ्गको कुरो गर्दै, म त मेरो सहकर्मी र सप्ताहान्तको बखान पो गर्न थालेछु । लु लागम अब क्याम्पिङतिर ,, धेरै जसो Camper हरु २ तारिख शुक्रबार नै त्यहाँ पुगेका थिए । Upstate NY स्थित State Park मा अवस्थित क्याम्पिङ साइटमा, डेढघण्टाको ड्राइभमा, भाई कुङ्ग छिरिङ्ग र म चाँहीँ शनिबार बिहानी पुग्यौँ ।मनकारी भाईहरुले हाम्रो पाल पहिले नै टांगिसकेका थिए । हाम्रो पाल संगैको छिमेकी छिमे ग्याजो (भुपु वलुङ किदुक प्रेसिडेन्ट) त धमाधम आफ्नो पाल उखेल्दै पो थियो । “हिजो, तरुनी तन्देरीहरुले रातभर गित गाएर, हल्ला गरेर सुत्नै दिएन” भन्ने उनको गुनासो थियो । हल्लाको कुरो सुनेर पुरानो कुरो पो याद आयो । एकचोटि छोरीले मलाई न्युयोर्कस्थित सेण्ट्रल पार्कमा Open Concert मा लगेकी थिइन | त्यस्तो डाङ्गडाँग र डुङडुङ आवाजमा समेत म निदाएको थिएँ। भनेपछि सुत्न सकिएला भनेर हामी चाँहि ठाउँ सरेनौँ । बेलुकीको बिजुली पानीको असरले होला, हामी दुई दाजुभाइलाई चाँहि हल्लाले हल्लाएन ।
बिहानको बनभात खाएर, को कहाँ पाल टांगेर बसेको रहेछन भनेर, हामीलाई अनुमति प्राप्त क्याम्पिङ साइटको अवलोकन गरियो । न्युयोर्कैमा बसेपनि लामो समयसम्म भेट नभएका ओलाङचुङ भेगका धेरैसित भलाकुसारी भयो । त्यस क्याम्पिङ साइटमा वरिपरि रुख र बीचमा खुला चउरी भएका रमणिय स्थलहरु रहेछन ।मनमिल्ने, हितचित मिल्ने, बिजुली-पानी मिल्नेहरुको आ-आफ्नो ग्रुप थियो | बाग (म्हाजाङ), स्योपरा, क्यारम, तास नारिसकेका थिए | धार्मिक ग्रन्थ बाचन् गरिरहेका एक ग्रुप महिला पनि देखियो | प्रतेक चउरीमा पार्क ब्यवस्थापनले मोबाइल ट्वाइलेट्हरु पनि राखेका थिए | नत्रभने हामी त झाडिभित्र छिरेर, २ नम्बर दिएर, तितेपातीको झारले पुछ्न रेड्डी थियौँ ! रुखतिर फर्केर लघुशंका गर्न कम्ता मज्जा आउंदैन त ! क्याम्पिङ साइट बुकिङ गर्न जाँदा, पार्कका अधिकारीहरुले, ‘तिमारु हल्लेहरुलाई, यही साइट ठीक छ, अन्यत्र हल्ला गर्न दिँदैन’ भनेर ल्याएछन ।
SONY DSC
हाम्रो तिनदिने वलुङ क्याम्पिङमा केवल वलुङेहरु मात्र नभएर, वलुङ, ढोक्पे, लुङथुङ, लेलेप, लेप्चुङ, याङमाक, खाङ्बछेँ, अन्य हिमाली समुदायका सदस्यहरु, Friends of Walung, पनि थिए | बाहिरीय ज्वाँईँ र बुहारीहरु नहुने कुरै भएन । हाम्रो भेलामा तीन भाषा चल्छ । कर्मभुमिको अंग्रेजी भाषा चल्ने नै भयो । जन्मभुमी नेपालको खसभाषा र हाम्रा पुर्खाहरुको उदगम स्थल तिब्बतको तिब्बती भाषा अर्थात सम्बोटा भाषा ! क्याम्पिङ साइटमा पनि यि तिनै भाषामा सुचना जारी गरिएको थियो भने, खाना खान बोलाउंदा चाँहि थाल नै ठट्याइेएको थियो । जंगल भित्र पनि, खानेकुरा राख्ने भण्डार Pantry Room , बफे खानाको टेबल सेटिङ, किचेन आदिको लागि पनि अलग अलग पाल टांगिनु, ब्यवस्थापकहरुको कुशल ब्यवस्थापनलाई मान्नुपर्छ | चुङ्दा उक्यावको नेत्रित्वमा भएको वलुङ किदुक कार्यसमितिको टिमले गरेको कामलाई सबैले सर्हाना गरे ।
समुह समुहमा अलग अलग बसेको हुनाले, ओलाङचुङ गोला गाउंस्थित टोलको नाम ढोङदे र ढोङमे हामीले सम्झयौं । हामी ढोङमेमा थियौँ भने, अझ ग्याजोको पाल त यारोङमा थियो | समुहगत भेलामा, फिन्जो र मिङमा ग्याबो उर्फ धन बहादुरको क्याम्पामा मैले धेरै समय बिताए ठुलो चउरीको कुनोमा उनारुले गजबको ठाउँ फेला पारेको थियो । त्यहाँ काठको रेडिमेड एकढिक्के बेञ्ची र टेबल पनि थियो । रुखको मुनी नै उनारुले पालहरु टाँगेका थिए । नारायण गोपालको मनमोहक गाना सुन्दै, बिजुली पानी टुन्काउँदै, आफ्नो गाउँ ठाउँलाई सम्झन्दै बेस्मारी रमायौँ ।हाम्रा चेलीहरुले ताराम्तार सेकुवाहरु ल्याएर हामीलाई औधी माया गरे । ब्रेकफास्ट र लन्च चाँहीँ नित्य खायौँ, डिनर चाँहीँ खायौँ कि खाएनौँ अत्तो पत्तो भएन, किनभने बेलुकी पख, पोलेको मासु बेस्मारी खाइेएको थियो | हामी हिमाली भेगका बासिन्दाहरु बिहान तातो पानी पिउने हुनाले, बिहान, त्यहाँ ठुलो थर्मसमा तातो पानी राखिएको थियो । तातोपानी पिइसके पछि, नुन हालेको भोटे नौनी चिया, गुलियो चिया र अन्य बग्रेल्ती जुसहरु, छानि छानि पो थियो त !
SONY DSC
Community Outing मा बिहानीपखको समय मलाई औधी मनपर्छ । जहाँ पनि म सखारै उठछु । क्याम्पिङमा पनि सबैजना सुतिरहेको बेला झिसमिसेमा उठदा, एकजना किचेनको भाई, बिहानको चिया नाश्ताको चाँजोपाँजो मिलाउंदै थिए | बातावरण चकमन्न थियो, एकाध चराहरुको चिर्बिर र बेला बेलामा किचनमा भाँडा बजेको आवाज बाहेक केही सुनिदैनथ्यो | कतै जंगलभित्रबाट भालु त फुत्त निस्कन्दैन? भनेर घरि घरि चारैतिर हेर्थें ! मेक्सिकोको रिसोर्ट सिटी कनकुनको समुद्री तटमा बिहानीपख, समुद्रको छालले पखालेको ताजा बालुवामा, नाङ्गै पाइताला हिंडेको रमाइलो क्षण पनि सम्झेँ ।
हामी बसेको चउरीहरु त आधार शिविर थिए ।बनभात लन्च खाएर सबै लाखापाखा लाग्थे ।कोही ताल तलैयातिर, कोही भालु माउण्टेनतिर, कोही हाइकिङतिर, कोही नजिक रहेको गोम्बातिर लाग्थे । पासँग भाईको नेत्रित्वमा हामीले एउटा सानो सानो माउण्टेनमा खल्खली पसिना आउन्जेल हाइकिङ गर्यौँ | अघिल्लो दिन खाएको डोजरको सेकुवा त खलात्त खुलुत्तै गै गो नि ! एकाध क्याम्परहरुले त तिनै दिन, तासमा रमाए , स्योपारा बजारए, बाग ठट्टाए । तिनले खाना खाए कि खाएनन ! जे होस् ! यसो गर्न पाउनु उनारुको गणतान्त्रिक अधिकार हो ।
आयोजक वलुङ कार्य समितिले बिभिन्न खेलहरु पनि खेलाएका थिए । हामीले उहिले स्कुलमा खेलेका खेलहरु – आधा जिउ बोरामा हुलेर कुदने, चम्चामा गुच्चा राखेर दाँतले चेपी हिँडने, गाडीको टायरको दुलोमा खुट्टाले हिर्काएर बल छिराउने, डोरी तान्ने खेल र अन्य बग्रेल्ती खेलहरुको आयोजना भएको थियो । दुई दुई चोटि त बिङ्गो पनि खेलियो । लङ्गुरबुर्जा, क्यारेम, ब्याडमिण्टन, मिनी टेबल टेनिस… के मात्र थिएन । डोरी तान्ने खेलमा त डोरी चुंडेर दुवै पक्षका गर्ल्याम गुर्लुम्मै लडेका थिए । आगामी बनभातमा त ओलाङचुङमा खेल्ने ‘टुनो’ खेल पनि समाबेश गर्नुपर्ला । धनुबाण पनि राखिनु पर्छ मेरो जिकिर छ, कारण हाम्रो पुर्खाहरु शिकारी थिए । ‘व’ भन्ने जन्तुलाई खेद्दै खेद्दै अहिलेको वलुङ ठाउँमा पुगेको किंवदन्ती छ | लुङ भनेको ठाउँँ हो | ‘हामीले क्याम्पिङ साइटमा १०० डलर कुनै ठाउंमा लुकाएको छौँ, जसले भेटछ, त्यो पैसा उसैको भयो’ भनेर पनि घोषणा गरेका थिए । तरुना तन्देरीहरुले धुइँपातल खोजे, अन्त्यमा एकजनाले फेला पनि पारे !
तीन दिनको क्याम्पिङ्ग अर्थात बनभात तुर्याएर हामी फर्केर न्युयोर्के ब्यस्त जीवनमा हेलिइसकेका छौँ । यस् क्याम्पिङले आपासी भाईचारामा अभिवृद्धि भएको छ | एकले अर्कालाई राम्ररी चिन्ने मौका दिएको छ, सामुहिक कार्यगत एकतालाई बढावा दिएको छ । करिब तिसदेखि चालिस धुरी पालहरु थिए | कम्तिमा १०० जना क्याम्पर्स थिए होलान् । कोही पनि कसैसित ठुस्केको, रिसाएको, झगडा गरेको देख्नु परेन | साँझ पखको नेपाली नाचमा सबै रमाए | एउटा गितको बोल यस्तो थियो; “ससुराली जाँदा दिल बस्यो सालीमा… तरुनी तन्देरीहरुले बलिउड संगितमा जिउ हल्लाए । को बैँशे, को अधबैँशे, को तन्देरी , सबै नाचे, सबैले मन पराए । एक किसिमको तरुण बातावरण पो थियो त !
न्युयोर्केली ओलाङचुङ्गेलीहरु र त्यसको सेरोफेरोकाहरुले मनाएको क्याम्पिङ ब्रितान्त अपुरो हुनेछ यदी मैले एण्डिलाको बयान गरिन भने | उनको नाम एण्डी हो । बयस्क, बच्चा वलुङ्गेहरु सबैले उनलाई मान गरेर एण्डीला भनेर बोलाउँछन । ७० बर्ष नाघिसकेका यी वृद्धा एण्डिला, रुमेनियाबाट सानैमा अमेरिका आएका हुन । न्युयोर्कस्थित वलुङ किदुक अर्थात ओलाङचुङ समाजका भुप प्रेसिडेन्ट छिमे ग्याजोसित एण्डिलाको भेट सन २००८ मा फरेष्ट हिलमा भएको रहेछ । बौद्व धर्ममा आस्था राख्ने एण्डिलाको धर्म गुरु चाँहीँ नाम्खा रिम्पोन्छे रहेछ | ग्याजो र एण्डिलाको हिम्चिम बढदै गै यि दुइजना जिगरी दोस्त नै बन्न पुगेछन । एन्डिला वलुङ किदुक अम्रिकाको सदस्य पनि हो र उनले लेबी पनि बुझाउंदै आएका छन । यसपाली फुटुकको अवसरमा न्युयोर्कबाट वलुङ जाने समुहमा उनी संलग्न पनि हुन चाहेका थिए । तर आफ्नो उमेरका कारण पैदल् हिंडन सकिन्छ कि सकिन्न भने दोधारले गर्दा उनले आफ्नो बिचार हाफ्नु पर्यो| तर उनी दुई महिनाको लागि भारतस्थित धर्मशाला जाँदैछन ।
क्याम्पिङबाट सबैसित अलग्गिने दिन, फिन्जोको कुनोमा बसेर हामीले घेछ्याङ (बिदाइको छ्याङ ) पियौँ । यो बनभात ओलाङ्चुङेहरुको मात्र थिएन । ओलाङचुङको सेरोफेरोमा रहेका थुप्रै बस्तिहरुलाई प्रतिनिधित्व गर्ने पुर्वेलीहरुको बनभोज थियो । हिमाली भेगकै बाहुल्य थियो | यो अपुर्व पुनर्मिलन, भेला, जमघटको सम्झना, निकै समयसम्म मनमा आलै रहनेछ । यही बनभोज सम्बन्धी कथा लेख्ने क्रममा एउटा खुसीको कुरा खुलस्त पार्न चाहें : न्युयोर्कस्थित ओलाङचुङ समाजले, सानै भएपनि, न्युयोर्कमा, सामुदायिक भवन् किन्न सफल भएको छ । यस् समाजका सम्पूर्ण सदस्यहरुले मननयोग्य चन्दा दिएर यो वलुङ घर किनिएको हो । बेबी सिटर, हाउसकिपर, क्याब ड्राइभर, कन्स्ट्र्कशन वर्कर, नेल टेक्निसियन, स्वास्थ्यकर्मी आदिले मनग्गे पैसा दिएर घर जोडिएको हो | पैसा दिनलाई मिलिनियर हुनु पर्दैन रहेछ, मनकारी हुनुपर्दो रहेछ । न्युयोर्कस्थित ठुला नेपाली संस्थाहरुले पनि ओलाङ्चुङेहरुबाट प्रेरणा लेओस ! सानो गाउँ, ठुलो मुस्कान छर्नेबाट सिकोस ! यतिमै बिट मारेँ ।
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।
बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् । उनलाइ राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता दिने भएको हो । विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिश्रको पद उपाध्यक्ष हुनेछ । उनले यसअघि सहअध्यक्ष पद माग्दै आएका थिए । असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि एकता प्रक्रिया टुंग्याउने गरी उनले राप्रपामा छलफल अगाडी बढाएका छन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा काठमाडौँ फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइम इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ इन्टरटेनमेन्ट रहेका छन् ।
महानगरपालिकाले काठमाडौँ फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो । मनोरञ्जन कर बुझाउन ताकेतामा परेको र्याडिसन होटलमा सञ्चालित क्यासिनो र्याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले भने कर तिरेका छैनन् । महानगरको राजस्व विभागका अनुसार म्यारियट क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्णको क्यासिनोले ११ लाख ८५ हजार, हायातको क्यासिनोले नौ लाख ८९ हजार, सोल्टीको क्यासिनोले नौ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपियाँ महानगरलाई मनोरञ्जनबापत कर बुझाएका हुन् ।
काठमाडौं । आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाडौंमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । बेलुका काठमाडौंमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ ।
यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ । उपाकु दीपयात्राका कारण काठमाण्डौ महानगरको भित्री शहरी क्षेत्र ठमेलदेखि टेकुसम्म र भोटाहिटीदेखि परोपकारसम्म बेलुका गाडी चलाउन रोक लगाएको छ ।
काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले उनलाई सफाई दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने उनले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना भोग्नु पर्ने भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर अदालतले गरेको छ ।
पल स्वयंमले आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबापलका एक्लै सुत्न डराएको भनि भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेको र मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिएको भन्दै अदालतले सो फैसला सुनाएको हो ।
‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’ फैसलामा उल्लेख छ ।
फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन समेत भनिएको छ । अदालतले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ । उमेर नपुगेको नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पुरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएको भन्दै अदालतले ‘जाहेरवाला (पीडितका बाबु)लाई आगामी दिनहरुमा आफ्नो अविभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्न सचेत गराइन्छ ।’
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।
त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।
काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ।
पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ। गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्।
राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए। देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ। गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन्।
यसरी दुई÷तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ। देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन्।
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए ।
रात्रिकालीन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउने उनको भनाइ थियो । पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तिको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ ।
ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।
दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न लागिएको हो । रात्रिकालीन सम्पदा यात्राले स्थानीयवासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताए ।
काठमाडौं । आज तीजको अन्तिम दिन, प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।
तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको तर्क छ । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् ।
सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने मान्यता छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । आज पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको ठूलो भीड लाग्छ । दिनभर नाचगान गरिन्छ ।
गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१,२०२२ एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषी हरूको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदी सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।
ओहायो एनआरएन च्याप्टर कार्यकारी सदस्य वर्षा वलि (निरौला) तथा सदस्य सारदा धितालले आक्रषक रूपमा कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा महिला संयोजक विनीता आचार्यले स्वागत मन्तब्य राख्दै तिजको पर्वको परंपरागत महत्व बारेमा प्रस्ट पर्दै सम्पूर्ण आगन्तुक महानुभावहरू लाई स्वागत गरेकी थिईन। कार्यक्रममा डा.आरति शर्माको नृत्य समुह, योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटाको आक्रषक नृत्य तथा स्थानीय गायकहरू सोम गुरूङ, कृष्ण रेग्मी र राजकुमार लोहोनीले गीत मार्फ़त थप मनोरञ्जनात्क गराएका थिए भने अन्य महिला दिदीबहिनीहरू स्वस्पुर्त बिभिन्न तीज गितमा छमछमी नाच्नु भएको थियो।
ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गर्नुभयो ।कार्यक्रमको आर्थिक पाटोको संयोजनमा कोषाध्यक्ष होताराम बिस्वकर्मा साथै सदस्य शान्तीराम अधिकारीले गरेका थिए । कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका सचिव रिद्धि खड्का तथा सदस्य रेवती कंडेलले आवश्यक सामग्री संयोजन साथै खानपान ब्यवस्थापनमा बिशेष भुमिका खेल्नुभएको थियो।सह-सचिव लोकेन्द्र देवकोटा तथा सदस्य डिल्ली केरूङको पनि कार्यक्रम सफल पार्न समन्वय गरेका थिए।लक्ष्मी ज्वैलर्सका संस्थापक तथा च्याप्टरका युवा संयोजक भिषण अधिकारीले कार्यक्रमको लागि ५०० डलर आर्थिक सहयोग तथा साउण्ड सिस्टम उपलब्ध गराएका थिए। साउण्ड सिस्टम संयोजन तथा डिजे संचालन अनुज दाहाल र क्षितिज निरौलाले संयुक्त रूपमा गरेका थिए।
ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले कार्यक्रमको समग्र ब्याबस्थापन गर्दै अन्तमा नृत्यमा डा.आरती शर्मा नृत्य समुह,योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटा तथा गायनमा राजकुमार लोहोनी ,सोम गुरूड़,कृष्ण रेग्मी साथै कार्यक्रम संचालिका सारदा धिताल, साउण्ड सिस्टम कार्यक्रम संयोजन गर्ने अनुज दाहाल र क्षितिज निरौला साथै अन्य बालवालिकाहरू लाई टर्फी बितरण गर्दै सम्मान गरेका थिए ।
कार्यक्रम आयोजकले यसै समाचार मार्फत कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग रूपमा सदस्य संयम सेवी शुभचिन्तक महिलाहरू क्रमस: निर्मला लुईटेल,सन्तोषी खड्का,उर्मिला कंडेल लगायत सबै महिला दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको समेत संस्थाद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा फोटोग्राफी भने बादल निरौलाले गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु भएको थियो। भोजन ब्यबस्थापन गर्ने ड्र्यागन एक्सप्रेस किचेनका टंक तिवारीलाई पनि धन्यबाद ब्यक्त गरिएको छ ।
ओहायो एनआरएन च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी मनोरन्जनपूर्ण तरिकाले कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमितिका सम्पूर्ण टिमलाई समेत संस्थाले धन्यबाद ब्यक्त गरेको छ ।