काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा अनुसार विभिन्न समुदायमा धान्य पूर्णिमा धुमधामसाथ मनाइन्छ ।
नवअन्नप्राशनका लागि समेत आजको दिन पवित्र मानिन्छ । यो दिन काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत ठूलो मेला लाग्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायमा आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइन्छ । योमरी पूर्णिमालाई योमरी पुन्हि समेत भनिन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।
किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि देशभर र काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । भारतको पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जितेकी छिन् । उनी यस्तो उपाधी जित्ने तेस्री भारतीय युवती बनेकी हुन् । बीबीसीका अनुसार सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी हुन् । सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि जितेकी थिइन् । लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको हो । मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्। इजरायलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको हो ।
हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएको समाचारमा उल्लेख छ । पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले उपाधी जितिन् । मिस यूनिभर्स बनेपछि सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिएकी छिन् । प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ? भनेर सोधिएको थियो।
त्यसको जवाफमा सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका हुन् ।
कवयित्री दीपाराई पुनद्वारा रचित ‘आमा’ शिर्षकको गीति भिडियो आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । आफ्नो गृहभूमी र जन्मदिने आमाप्रतिको मनोबेग प्रस्तुत भएको उक्त गीत मर्मर्स्पर्शी एवं डायस्पोरिक चेतनमा आधारित रहेको र यसले द्वन्दकालीन समयको चित्रण गरेको पाईन्छ ।
एउटा ब्यक्तिको लागि जन्म दिने आमा र जन्मिएको ठाँउ दुवै स्वर्ग समान हुन्छ, अझ विदेशमा रहे बसेको बेला त झन घर देशको याद आउँछ । त्यही परिवेश समावेश गरी लेखिएको प्रस्तुत गीतले घरदेशमा छोराको पौरख खान पर्खिरहेकी बुढी आमाको कारुणिक शब्द चित्र उतार्न सफल भएकी छिन गीतकार दीपा राई पुन ।
राजेश पायल राईको स्वर, डि आर अटुको संगीत, किरण राईको निर्देशन तथा चर्चित अभिनेता दयाहाङ राई र पशुपति राईको अभिनय रहेको उक्त गीति भिडियोले विभिन्न कारणवस बिदेशिन पुगेका नेपालीहरुको मनोभावना समेटिएको गीतकार राईले बताउनु भयो । मूलत ममता र स्नेहमुखी कविता लेखनमा आफ्नो छुट्टै पहिचान बनाएकी दीपा राई पुनका यसअघि पनि प्रतिरूप एल्बम र केही गीति भिडियोहरू सार्वजनिक भएका छन् ।
काठमाडौं । मिस वर्ल्डको प्रतिस्पर्धामा नेपाल इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान पुगाउन सफल भएकी हुन् ।
हेड टु हेडमा सोधिएको प्रश्नमा नेपालको प्रतिनिधित्व गरिरहेकी नम्रताले निकै उत्कृष्ट जवाफ दिएकी थिइन् । उनले दिएको जवाफको धेरैले तारिफ गरेका थिए । उत्कृष्ट ३० मा नेपालसँगै पाराग्वे, क्यामारुन र फिलिपिन्सले पनि आफ्नो स्थान पक्का गरिसकेको छन् ।
अमेरिकामा जारी मिस वर्ल्डको प्रतिस्पर्धामा भोटिङ चलिरहेको छ । पछिल्लो समय भोटिङका आधारमा दिइने ब्युटी वीथ पर्पोस र मल्टिमिडिया अवार्डमा नेपाल बलियो दावेदार मानिन्छ ।
राजस्थान । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । राजस्थानस्थित सवाई माधोपुरको बरवाड़ा किल्लामा रहेको सिक्स सेंसेज़ होटलमा धुमधामसाथ यो विवाह सम्पन्न भएको हो । विवाहको मण्डप परपरागत शाही अन्दाजमा सजाइएको थियो ।
यस इभेन्टलाई मध्यनजर गरि निकै गोपनीयता अपनाइएको थियो । संचारमाध्यमलाई प्रवेश रोकिएको थियो । विवाहको चर्चा भारत र बलिउड मन पराउने संसारभर भइरहेको थियो । विवाहमा बलिउडका कलाकार तथा व्यापारीहरु सहभागी भए । तर, को को सहभागी थिए भन्ने खुलाइएको छैन ।
जनकपुर । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको दिनका रुपमा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । जनकपुरमा भने ठूलो मेला लाग्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ ।
यसको मुख्य आकर्षण भने आजको राम(जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्याइन्छ । जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता(रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ । नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालु आज जन्तीका रुपमा जनकपुर पुग्छन् ।
स्वर सम्राट नारायणगोपालको ३१औँ स्मृति दिवसमा न्युयोर्कमा सांगीतिक कार्यक्रम आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा हिमालय कल्चर एकेडेमीले न्युयोर्कमा रहेका कलाकारहरुलाई जमघट गराएर सांगीतिक कार्यक्रम गरी स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
नेपाली सिनेमा निर्माता निर्देशक तथा लेखक दीपक श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा नारायणगोपालले गाउनुभएका गीतहरु विभिन्न कलाकारहरुले गाउनुभएको थियो । गीत गाउने कलकारहरुमा जगदीश समाल, राजेन्द्र राई, संगीता मुखिया छोचु , अभय ढुंगेल, सुवर्ण शाक्य, हजुरी शाह, विमल डाँगी, निशा सुनार, ओम कर्माचार्य र सानु शेर्पा हुनुहुन्थ्यो ।
त्यस्तै संगीत दिनेहरुमा जगदीश समाल, शिशिर श्रेष्ठ, राजेन्द्र कर्ण, हेमराज राई, रामसिंह, सुवास दाहाल हुनुहुन्थ्यो । त्यस अवसरमा वरिष्ठ कानुनविद् विनोद रोक्काले मीठो कविता सुनाउनुभएको थियो । कार्यक्रम सञ्चालक दीपक श्रेष्ठले नारायणगोपालका गीतका साथै उहाँको जीवनीबारे दर्शक श्रोतालाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा हिमालय कल्चर एकेडेमीका संस्थापक तथा गायक अभय ढुंगेलले कार्यक्रमा सहभागी दर्शक, श्रोता, गायक तथा संगीतकार सबैलाई धन्यवाद ज्ञापन गर्दै नारायणगोपालको सम्झनालाई सधैँ जिवन्त बनाउन सबैको माया साथ पाइरहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली बरिष्ठ कलाकार कविना महर्जन अमेरिकी राष्ट्रपति लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२१ बाट सम्मानित हुनुभएको छ । यो सम्मान पाउने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ । बरिष्ठ कलाकार महर्जन लामो समयदेखि अमेरिकाको न्युजर्सीमा परिवारसहित बस्दै आउनु भएको छ । उहाँले अमेरिकामा हुने विभिन्न कार्यक्रममा नेपाली मौलिक नृत्य प्रस्तुत गर्दै आउनु भएको छ ।
सो बापत उहाँले महर्जनले थुप्रै पुरस्कार र सम्मान पाउनु भएको छ । उहाँको ललितपुरको खोकनामा जन्म भएको हो । उहाँ न्युयोर्क नेवा गुठीको कार्य समितिका सदस्य पनि हुनुहुन्छ ।
सानै उमेरदेखि नृत्यमा लाग्नुभएकी महर्जनले नेपालका विभिन्न जात जातिका कला नृत्य, विशेष गरी नेवारी नृत्य, धार्मिक नृत्य, बुद्ध धर्मका चर्या नृत्य, कुमारी नृत्य, मञ्जुश्री नृत्यलगायत धेरै पौराणिक नृत्यहरु सिकी विभिन्न समारोहमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ नृत्यमा अब्बल ठहरिनुभएको छ ।
उहाँले थुप्रै नेपाली गीति एल्वममा पनि आफ्नो अभिनय प्रस्तुत गर्नुभएको छ । बरिष्ठ कलाकार महर्जनले ५ हजार घन्टाभन्दा बढी समय अमेरिकामा सार्वजनिक जीवनका लागि खर्चिनु भएको भन्दै उहाँको उच्च प्रशंसा गरिएको छ ।
काठमाडौं । आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ हरिबोधिनी एकादशी मनाउँदैछन् । एक वर्षभर चौबीस वटा एकादशी पर्छन् । जसमध्ये ठूली एकादशीको महत्व बढी रहेको छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आआफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।
आज सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्छ । सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक बिदा समेत गरेका छन् ।
हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक बिदा गरेका छन् । हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ ।
हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिएको हो ।
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै आजबाट छठ पर्व सकिएको छ । सामाजिक एकता र सदभावको पर्वको रुपमा छठको महिमा रहेको छ । बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएसँगै छठ व्रत पुरा भएको हो । नेपालको तराई मधेशका जिल्लामा यो वर्ष धुमधामले मनाइन्छ । पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाइएको थियो ।
दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गरी दाने,तेस्रो दिन दिभरी उपवास बसेर साँझ सखर मिलाएको खिर खाने जसलाई खरना भनिन्छ । चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।
कृषकले उत्पादन गरेका अन्न, तरकारी मसलामा प्रयोग गर्ने वनस्पति केरा लगायतका सामग्रीहरुलाई प्रसाद बनाई चढाउने गरेको छठ पर्व परिवारिका सुख शान्ति र निरोगी रहन यो पर्व मनाउने गरिन्छ ।
बर्मिंघम । नोबेल शान्ती पुरस्कार विजेता मलाला यूसुफज़ई विवाह बन्धनमा बाँधिएकी छिन् । उनी स्वयमःले ट्वीट गर्दै यसबारे जानकारी गराएकी हुन् । बेलायतको बर्मिंघम शहरमा उनको विवाह भएको हो । यो उनको पतिको घर हो । २४ वर्षिय मलालाले असर मलिकसँग मुस्लिम परम्परा अनुसार विवाह गरेकी हुन् । निकाह भनिने यो सत्कारपछि उनले यो दिन आफ्नो जीवनको एक मूल्यवान दिन भएको बताइन् ।
मलाला पाकिस्तानमा महिला अधिकारका लागि संघर्ष गरेकी युवति हुन् । उनलाई सोही आरोपमा २०१२ मा तालिवान चरमपन्थीले टाउकोमा गोली हानेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिंघम लगिएको थियो । उपचार पछि पनि उनी उतै बस्न लागिन् । उनको विवाह विशुद्ध पारिवारिक मात्र भएको छ ।
मलालालाई उनका लाखौं प्रसशकले बधाई तथा शुभकामना दिएका छन् । मलालाका पति पाकिस्तानी क्रिकेटसँग जोडिएका छन् । असर मलिक पाकिस्तान क्रिकेट बोर्डको नेशनल हाई परर्मेन्स सेन्टरमा जनरल म्यानेजर (जीएम) पदमा काम गर्छन् । पीसीबीमा आवद्ध हुनु अघि उनी पाकिस्तान सुपर लीगको टीम मुल्तान सुल्तान्ससँग समेत काम गरेका थिए ।
काठमाडौं । नेपालसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न मुलुकमा आज छठ पर्व धुमधामका साथ मनाइंदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी यो पर्व मनाउन लागिएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरि पर्व मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।
यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
काठमाडौं । तिहारमा लक्ष्मीपूजालाई विेशेष दिन मानिन्छ । यो दिन धनधान्यकी देवि लक्ष्मीको पूजा गर्ने दिन झिलीमिली र उज्यालो गरि घरलानई सजाउने परम्परा छ । अहिले यस्तो झिलीमिली कृतिम बनेको छ । जसका लागि भारत र चीनबाट यी सामग्री नेपाल आउने गरेका छन् । यस्तो सामाग्रीको प्रयोगले अर्कोतर्फ दुर्घटना समेत बढाएको छ । काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको स्थानीय संचारमाध्यमले लेखेका छन् ।
तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताएका छन् । उनका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । विद्युत शर्ट हुँदा, दियो बाल्दा ख्याल नगर्दा भएको मानवीय त्रुटीका कारण आगलागी भएको पाइएको छ ।
कार्तिक १९ गते साँझ ललितपुरको मंगलबारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको थिछ । तीन दिनमा उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा छ वटा आगलागीको घटना भए पनि मानवीय क्षति भने हुन पाएन । ललितपुरमा दुई वटा घटना भएकोमा चार जनाको मृत्यु र दुई जना घाइते भए । भक्तपुरमा तीन वटा आगलागीको घटना भए ।
टेक्सस । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा भएको भागदौडमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।
अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो। करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो। महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो। घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।
मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले, ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए। उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्।
ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए। उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए। स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गरेका थिए। आकस्मिक सवारी साधनहरू, बत्तीहरू र आपत्कालीन फ्ल्यास, भिडमा धेरै पटक देखिएको सञ्चार माध्यममा जनाइएको छ।
मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरे। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ। एबीसी थर्टिनले जनाए अनुसार शुक्रवार सयौँ मानिसहरू कार्यक्रम परिसरमा पुगेका थिए। कन्सर्टमा प्रवेश गर्नका लागि उनीहरूले सुरक्षा जाँच गर्ने मेटल डिटेक्टरजस्ता उपकरणहरू नै तोडमोड गरेका थिए। महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने कार्यक्रम रद्द गरिएको छ। आयोजक लाइभ नेसनले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ।
काठमाडौं । तिहार (यमपञ्चक)का दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ । यो मन्दिर भूकम्पपछि लगातार बन्द थियो । पछिल्लो दुई वर्ष भने कोरोनाका कारण बन्द भएको थियो । यो वर्ष भने मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भइसकेको छ । दिदीबहिनी वा दाजुभाई नहुनेले यहाँ पुगेर टिका लगाउन सक्छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजका दिनमात्र खुल्छ ।
काठमाडौं । यमपञ्चक (तिहार)को आज पाँचौँ दिन, हिन्दु धर्मावलम्बीले आज भाइटीका मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइन्छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ । टिका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
काठमाडौं । बिहीबार संसारभर लक्ष्मीपूजाका साथ दिपावली मनाइयो । उज्यालोको अनेक रुपले नेपालको राजधानी शहर काठमाडौं धपक्कै बल्यो । भारतमा समेत दिपावली धुमधामसाथ मनाइयो । यी दुई मुलुकबाहेक संसारभर दिपावलीका अनेक स्वरुप देखिएका छन् ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहीबार हिन्दु धर्मावलम्बीले ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाएका हुन् । आज चौथो दिन भने गोवद्र्धन पूजा मनाइदैंछ । गाई, गोरु तथा गोठमा पूजा गरि यो पर्व मनाइन्छ । यो वर्ष भाइटिका शनिबार परेको छ । भाइटिकाको उत्तम साइत भने ११ बजेर २ मिनेट जाँदा रहेको छ ।
दिपावलीमा चम्किएको काठमाडौ Photo : Gorakhapatraअमेरिकाको न्यूयोर्कस्थित वर्ड ट्रेड सेन्टरमा दिपावलीको झलक ANI\BBCबेलायतको लेस्टर शहरमा दिपावली : BBCदुबईमा लक्ष्मीपूजाको रात
काठमाडौं । नेपालमा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् आज मनाइदैछ । आजबाट नेपाल सम्वतः ११४२ शुरु भएको छ । यो सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गरेको बताइन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् मानिन्छ । राससका अनुसार विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।
नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो म्हः पूजा पर्व मनाउने गर्दछन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीका अवसरमा यस पर्व मान्ने संसारभरका सबैमा शुभकामना दिएका थिए । बिहीबार दियो बालेको तस्वीर सहित ट्वीटरमार्फत शुभकामना पोष्ट सार्वजनिक गर्दै उनले यो पर्व मनाउने सबैमा शुभकामना बाँडेका हुन् ।
राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्बिरमा उनी र अमेरिकाकी प्रथम महिला जील बाइडेन देखिएका छन् । बिहीबार संसारभर हिन्दु धर्मावलम्वीले लक्ष्मीपूजा मनाइरहेका छन् ।
राष्ट्रपतिले भनेका छन्, ‘दिवालीको प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुखपछि आशा पलाउनेछ।’
अमेरिका मात्र नभई दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई उनले शुभकामना भनेका छन्।
काठमाडौं । यमपञ्चक (तिहार)को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानैबाट घरघरमा सरसफाई गरिन्छ । गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा रहेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् ।
भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई ‘भैलो’ हुन आएको हो ।
काठमाडौं । तिहार (यमपञ्चक)को दोस्रो दिन आज काग र कुकुर तिहार मनाइंदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लागेको छ । त्यसअघि काग तिहारको साइत थियो । आज काग र कुकुरलाई जा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वासका साथ कुकुर पुजा गरिन्छ ।
कुकुर लोकप्रिय घरपालुवा जनावर समेत हो । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने यो वर्ष बिहीबार मनाउनु पर्ने भएको छ । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेकाले सो दिन यो पूजा गर्न सुझाव दिइएको छ । यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेका कारण काग र कुकुर तिहार एकै दिन मनाउनु परेको हो ।
काठमाडौं । काठमाडौंमा तिहारको समयमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोक्दै सूचना जारी गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनको निर्णय छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न, गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी छ । यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा समेत कारबाही हुने बताएको छ ।
काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो । मङ्गलबार साँझ यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार एकै दिन परेको छ ।
बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाई, गोरु र आत्म पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।
हिजोआज पश्चिमाहरुलाई हालोविनले छपक्कै ढाकेको छ । अनुहार भरि टाँचामारेर, कुच्चिएर झर्लाजस्तो पारेर, क्वाप्लाक्कै खाइहाल्ने भुतै जस्तो बनेर, भेडो, बँदेल, घोडा वा फर्सी आदि अनेक थरीको मुकुन्डो लाएर रातसाँझ जिउ नै सिरीङ्ग पार्ने हाउभाउमा हिड्ने दिन भएकोले रातविरात, बाटोघाटो चोक, कुनाकप्चेरा तिर निकैलाई तर्साएको हुनुपर्छ । घरको मुल ढोका मै कंकाल झुण्ड्याएर, घरको अगाडि पछाडिको कालो कुनोलाई अझै अध्याँरो पारी मुर्कुट्टाहरु ताँति राखेर, माकुराको जालोले घरै घेरेर सायद रमाइलो नै मानी यो पर्व मनाउँछन । यो त मनाउनेहरुलाई थाहा होला । सयौं बर्षदेखि यसै गरी मनाउदै आउनेलाई आनन्द नै आउला तर कहिल्यै नदेखेपनि मनको कताकता कुनामा भुतको अस्तित्व र काल्पनिकै भएपनि भुतले मनको छेउकुना खाएको वा सताएको हामीलाई आफु बस्ने, खाने, हिड्ने ठाँउ जताततै भुतैभुत देख्दा कसरी पो मन थामिन्छ होला ।
१९ औं शताब्दिमा आइरिस र स्कटिसहरु बसाईसरे सगैं भित्रिएको हालोविन पर्व अप्रवासीहरुले भरिएको अमेरीकामा निकै छिटो मौलाउने भैहाल्यो । उनिहरुले आफ्ना मृत आफन्तहरु, देशका सहिदहरुको सम्झनामा यो पर्व मनाउन थालेका थिए । मृतात्माहरुको कामना गर्दै बर्षको एक दिन अक्टोवर ३१ लाई भव्य रुपमा मान्ने यो दिन अनौठा रंगीविरंगी लुगाहरु, अनुहार र शरीरभरी भयानक चित्रहरु बनाई डरको प्रतिकको रुपमा तर्साउने र एकले अर्कोलाई झुक्याएर (प्र्याङ्गक) रमाइलो गर्ने गर्दछन । एकातिर मृतात्माको सम्मान गरेको भनिन्छ तर पाइलैपिच्छे भुतलाई मान टक्र्याएको जस्तो देखिन्छ । हाम्रो संस्कृति, परम्पराले पनि मृतात्माहरुलाई सम्झिन्छ । जव मानिस आफ्नो चोलाबाट अनन्त यात्रामा लाग्छ तव काजक्रियाको प्रकृयामा प्रेतात्माबाट पितृको रुप धारण हुन्छ भनि बिधिले भनेको छ । समाजको निर्माण र परम्परागत रुपमा बिधिहरु भिन्न भिन्नै तरिकाको बनेको हुनसक्छ तर तोकिएको पद्धति पश्चात मृतकको आत्मा पितृमा परिणत हुन्छ र पितृ देवतासमान हुन भन्ने मान्यता दरिलो रुपमा मानिदै आएको छ ।
जसरी हालोविनलाई मृतात्माको सम्झनामा मनाइने पर्व भनियो त्यस्तै यसको पछाडि अर्कोपनि मान्यता रहेको देखिन्छ । त्यो हो अन्नवालीको पुजा । संसारमा मानिस लगायत अन्य जिवजन्तु, पंछिहरुको अस्तित्व जोगाउने अन्नको अर्थलाई बिशेष महत्व दिनुपर्ने सन्देश यस्तैखाले पर्वहरुको निरन्तरताले दिन्छ । संसारभरी कुनै न कुनै रुपमा भुमी पुजाको अस्तित्व छ । उत्पादनको मान्यता छ । जँहाबाट सुरु भएतापनि यो संस्कारले आजसम्म औद्योगिक होस वा कृषि, धनि होस वा गरीव सबै देशको समाजलाई प्रभाव पारेको छ र कुनै न कुनै पर्वको रुपमा मानिसको घरआँगनमा रमाएको छ । यस्तै अन्नवाली भित्र्याउने र भित्र्याएको अन्नसंगै हाँसेको कृषकको मुहार उज्यालो हुँदाको क्षणलाई सम्झाउन पाकेको फर्सीलाई सिंगार्ने, त्यसैमा विभिन्न चित्रहरु कोर्ने र फर्सीमा बत्तिबाली ढोका छेउ राखि उज्यालोको सन्देश दिने चलनलाई सकारात्मक र प्रेरणदायी मान्दा अन्यथा नहोला । अमेरिकी समाजले युरोपीय परम्परा र शैलीहरु प्रशस्तै रुपमा ग्रहण गरेता पनि हालोविनका केही अंशहरु मेक्सिकोबाट भित्र्याएको पाईन्छ । प्रारम्भमा आइरिसहरुले गान्टेमुलालाई पुज्ने र मान्दैआएको भएतापनि पछि आएर दक्षिणको भिमकाय फर्सीलाई महत्व दिइ त्यही चलन हावि भएको देखिन्छ । जे जस्तो प्रकृया भएपनि आखिर चुरो कुरा चै एकै हो, त्यो आफ्नाहरुको मृतात्माको सम्झना र अन्नवाली पुज्ने कुरा ।
झट्ट हेर्दा हाम्रो तिर मृतात्माको सम्झनामा मनाइने गाईजात्रा जस्तो, गठेमुग: जस्तो अर्कोतिर बाली भित्र्याइसकेपछि न्वागी खादै नयाँ अन्नको जोहोसंगै नाचगान गरेजस्तो । नयाँ लुगामा ढल्किदै दैलो दैलोमा गई देउसी भैलो भट्टयाउदै मिठा खानेकुरा मागेजस्तो । सायद समाजको वनावट, धर्म र सो बखत प्राप्त सामलहरुले हुनुपर्छ हामी देउसी भैलोमा सेलराटी माग्छौ, हालोविनमा प्यानकेक, चकलेट माग्छन । माग्ने समयपनि तिहारको छेक उस्तै उस्तै परेको छ । यसै पर्वमा झुक्याउने अनि चोर्ने दिन पनि छ । हाम्रो तिर झुक्याएको खतवात नलाग्ने, चोरेको पनि सजायँ भोग्न नपर्ने भनेर गणेश चौथीलाई मान्दै आइएको छ । यता उता के के मिले जस्तो, आखिर गोलो पृथ्वीको जुनसुकै कुनामा पुगेपनि मानिसहरुको चालचलन, संस्कार घुमिफिरी रुम्झाटार भने जस्तो जस्ले जस्को अनुसरण गरे पनि मिल्दोजुल्दो र रमाइलो नै हुनेरहेछ । यस पर्वमा एकातिर मृतात्मालाई सम्झिने त गरिन्छ नै अर्कोतिर प्रेतात्माहरुबाट अन्नवाली र गाइबस्तुहरुको रक्षाको लागी आगोको धुनी बाली रातभरी जाग्राम बस्ने चलन कयौं मुलुकहरुमा यसै ह्यालोविनको छेको पारेर मनाइनुले हरेक समाजले भुत प्रेतको अस्तित्वलाई मान्यता दिएको पाइन्छ । फरक भनौं कि अलि अनौठो चाहिँ यत्ति छ कि आफन्तहरुको मृतात्माको प्रार्थना र पुजाको नाउँमा किन गाँउ, सहर, घरबारी, बाटो र कुनाकाप्चा भुतमय बनाएको होला ? कंकालै कंकाल किन झुण्ड्याएको होला ? भुतको सट्टा देउताजस्तो बनाएर राखेपनि हुने भन्ने नितान्त मेरो विचार ठिकैहोला । त्यो पनि नभए एउटा अनुमान नै गरौं कि भुत छैन भन्दाभन्दै पनि सबैको मनमा रहेको भुतको छाँया, कसैले कहिल्यै नदेखेको तर सुनेर वा सिनेमातिर देख्दादेख्दा बनेको भुतको आकार र अध्याँरोमा पछि पछि भुत आउँदै त छैन भन्ने मनोबिज्ञानलाई चिर्नको लागी भुतसगंको नजिकको संगत र आदतले पनि डर घटाउन ठिकै काम गर्ला । जे होस, हालोविनले आज आफु नजिक नभएका आफन्तहरुलाई महत्व दिएको छ । मानव अस्तित्वलाई जोगाउने अन्नवालीलाई सम्झेको छ र कता कता पृथ्वीको सबैसमाजसंग मिल्दोजुल्दो मान्यताहरुलाई बोकेको छ । फर्सी त फर्सी भैहाल्यो, फर्सीको शान छाएको छ, तर आफन्तहरुको सम्झनामा भुतले चाँहि अलि बढी मान पाएको छ ।
आ है भन मेरा भाइ हो – द्येउसी रे ! आ है द्येउसी रे भन – द्येउसी रे ! आ है राम्ररी भन – द्येउसी रे ! आ है स्वर मिलाइकन – द्येउसी रे ! आ है यो बढा घरमा – द्येउसी रे !
द्येउसेहरुले दिएको आशिष, दुबो जस्तै मौलाइ जाउन् ! यसै घरमा सधै भरी, लक्ष्मीले बास गरुन् !!
ढुंगा छोए सुनै बनोस्, माटो छोए अन्न ! धनधान्य भइ सदा, बनुन् सर्वमान्य !!
मेहनतले खेतबारीमा, झुलिरहुन् अन्न ! सधैभरी धन र मनको, रहुन् सम्पन्न !!
बाँच्न नपरोस् अरुको है, डर अनि भरमा ! सत्रु जस्तो बिछोड नहोस्, कहिल्यै पनि घरमा !!
छोराछोरी पढीलेखी, रहुन् सदा ज्ञानी ! मान्य गुन्य भइ सब्का, बनुन् बुद्दिमानी !!
अरुको धनमा गर्नु नपरो, कहिले पनि लाल्चा ! स्वर्ग जाने द्वारको सधै, खुली रहोस् ताल्चा !!
द्येउसेहरुले दिएको आशिष, गर्नुस् स्विकार ! अन्त पनि जानुछ हजुर, लौ त नमस्कार !!
द्येउसेहरुले दिएको आशिष दुबो जस्तै मौलाइ जाउन् ! यसै घरमा सधै भरी, लक्ष्मीले बास गरुन् !!
कथा करिव दुई दशक अगाडिको हो । म बीस एकाइस वर्षको अल्लारे केटो थिएँ । आनन्दित उमेर जेमा पनि खुसी र उत्साह मानेर बिताउँथे । तर सानै उमेरदेखि नै जिम्मेवारी सहित नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेको छु । यसो गर्दा दुःखभन्दा पनि आनन्द लाग्थ्यो । यसैक्रममा विदेशी पर्यटक र नेपाली स्टाफ सबै गरेर चालीस जना जतिको समूह बनाएर लार्के पास (मनासलु राउन्ड) पदयात्राको लागि निस्केका थियौं । समूहको नेतृत्व मैले गरेको थिएँ । मैले सबै पक्षसँग गाँसिएर काम गर्नु पर्थ्यो ।पदयात्रा गर्दा नेतृत्व गर्ने व्यक्तिलाई पर्यटकीय भाषामा “सरदार“ भन्ने गर्छन् । त्यस मानेमा म त्यस समूहको सरदार थिएँ । क्याम्पिङ ट्रेकको ग्रुपमा जाने स्टाफमा सरदार/ गाइड, गाइड हेल्पर, सेफ/कुक किचेन ब्वाई, भान्से अतिरिक्त सहयोगी- स्पेयर ब्वाई, भरिया नाइके,भरिया गरेर विभिन्न तह अनुसार दर्जा निर्धारण गरिएको हुन्छ । दर्जानुसार सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ । हाम्रो ग्रुपमा विदेशीहरुको संख्या चौध जना थियो । त्यसैअनुसार नेपाली स्टाफको संख्या तीस जना सहित जम्मा चवालीस जनाको समूह लिएर हामी लार्के पास राउन्ड मनासलु ट्रेकिङको लागि निस्क्यौँ । बाटोभरि ठाउँ देखाउँदै, त्यहाँका खोलानाला, हिमाल, पहाड चिनाउँदै म जान्थेँ । सहज रुपमा बाटो कटाइरहेथेँ म । त्यसो त यो क्षेत्रको लागि मेरो पहिलो अनुभव भने होइन । त्योभन्दा एक वर्ष पहिला पनि मनासलु एक्सपिडिसनको नेतृत्व गर्दै त्यो क्षेत्रको यात्रा गरिसकेको थिएँ । जुन बेला ख्याल–ख्यालमा रमाइलो गर्ने बेलामा एउटा बिर्सिनै नसक्ने घटना घटेको थियो । त्यो प्रसंगले अहिलेसम्म मेरो मनमा एउटा चखिलो तरंग दिइरहन्छ । म त्यो घटना, पात्र र अवस्थाले बेला–बेलामा लज्जा बोध पनि गर्छु । त्यति बेला ठूलो एक्सपिडिसन ग्रुप भएकोले हामी लगभग सत्तरी जना जति समूहमा थियौं । हाम्रो ग्रुप जुन गाउँमा बास बस्थ्यौं प्रायः त्यो गाउँ नै ढाक्थ्यौं। पर्यटकलाई सबै व्यवस्था गरेपछि हामी नजिकैका घरतिर जान्थ्यौँ । त्यतै बस्ने, खाने र रमाइलो गर्थ्यौं। हामीसँग आएका सहयोगी भरियाहरु विभिन्न घरहरुमा बाँडेर बस्थ्यौँ । बस्तिहरुमा त्यसरी भरियाहरुलाई पनि सहजै बास दिन्थे । पिँढी, कोठा वा घरबाहिरका बरण्डामा भरियाहरु आफ्नो लुगा ओछ्यान लगाई रात कटाउँथे । यसरी क्याम्पिङ गर्दै ट्रेकिङ जाने क्रममा हाम्रो क्याम्पिङ आरुघाटबाट एकदिनको बाटोमा पर्ने गाउँमा बस्नु पर्ने भयो । क्याम्पका सबै व्यवस्थाहरु मिलाइसकेपछि प्रायः गाउँमा डुल्न निस्कने हाम्रो दैनिकी जस्तै हुने गथ्र्यौ । हाम्रा केही स्टाफहरुले अगाडि नै कहाँ–कहाँ खाने, पिउनेको कस्तो व्यवस्थाहरु छन् त्यसको जानकारी लिएर दिन्थे । यो सामान्य प्रकृया थियो । यो बेलुकी हुने त्यस्ता भेटघाट, खानपान र रमाइलोबाट परिचितै थिएँ म । स्टाफहरुलाई प्रत्येक बेलुकी बानी बसिसकेको थियो । उनीहरुकै सल्लाह, सुझाव अनुसार केही सहयोगीहरुको साथ हामी गाउँकै एउटा सानो किनारा पसल भएको घरमा छिर्यौं । खासै पर्यटकहरुको लागि नै भनेर व्यबस्थित किसिमको खाने बस्ने व्यवस्था नभए पनि गाउँकै हिसाबले सफा, चिटिक्क मिलाइएको थियो । त्यतिबेलाको समयमा अहिलेको जस्तो सुविधासम्पन्न रेस्टुरेन्ट, पर्यटकको लागि गेस्ट हाउस खासै थिएन । जति हुन्थ्यो, त्यो पनि व्यवस्थित हुँदैनथ्यो । सामान्य सेवा, सत्कार हुन्थ्यो । पर्यटकहरु त्यस्तैमा रमाइरहेकै देखिन्थे । विशेष होटल, रेस्टुराँ र लजहरु बिरलै थिए । मैले मादक पदार्थ पिउने गरेको थिइनँ । तर मेरा सहयोगीहरु भने हुरुक्कै हुन्थे । हामी त्यहाँ पुग्नासाथ साहुनीले हार्दिकतापूर्वक बस्नको लागि गुन्द्री बिछ्याइदिइन् । मैले सहयोगीहरुलाई बियर पिउनेलाई बियर, लोकल रक्सी पिउनेलाई रक्सी किनेर दिएँ । तर म भने कालो चिया पिएर उनीहरुलाई साथ दिइरहेको थिएँ । दिनभरिको थकान वा परिश्रम बिर्सुन् भनेर पनि उनीहरुलाई आनन्दित गराइदिन्थेँ । फेरि यात्रा रमाइलो होस् भनेर पनि स्टाफलाई बेलुका रमाइलो गराइदिन्थेँ । हाम्रो लागि डिनरको व्यवस्था हाम्रै क्याम्पमै हुन्थ्यो । तर पनि केटाहरुले रक्सीसँग मासु खान मन गरेकोले मासु पनि भुट्न लगायौं । समूहको नेतृत्व मेरै भएकाले मलाई छुट्टै किसिमको इज्जत दिइन्थ्यो । नेता, नाइके वा प्रमुखको हैसियत प्राप्त हुन्थ्यो मलाई । तर साथसाथै केही किनेर देला भनेर धेरैको अपेक्षा पनि राखेका हुन्थे । त्यसैअनुसार उनीहरुले जे–जे मन लाग्छ अर्डर गरेर खान लगाएँ । साहुनी अन्दाजी पैंतालीस–पचास वर्ष उमेरकी जस्तो देखिन्थिन् । किचेनमा भ्याइनभ्याई थियो र पनि मैले थाहा नपाउने गरेर छिनछिनमा मतिर हेरिरहेकी हुन्थिन् । उनी कर्के नजरले हेरेको म पत्तो पाइरहथें । तर यति धेरै केटाहरुका अगाडि मैले चुपचाप बस्नु आवश्यक थियो । म थाहा नपाएको हालतमा थिएँ । सुरुमा अलि असहज जस्तो महसुस भए पनि त्यो समूहको सरदार म भएपछि मलाई विशेष ध्यान दिएको होला, भन्ने सम्झेर बसेँ । तर एकछिन पछि त किचेनको कामलाई एकछिनको लागि थाँती राख्दै म बसेको नजिकै आएर बसिन् र मलाई सोधिन्– ‘भाइलाई त चिने–चिनेजस्तो लाग्यो ।’ मैले पनि हल्का गफ दिइहालेँ । मलाई पनि त्यस्तै लगिरहेको छ, भनेँ । ‘त्यै त नि भाइ । तपाईं त एमानको साथी होइन’ भनेर सोधिन् । मलाई मनमनै लाग्यो । चिनेको जस्तो गरे भने पक्कै केटाहरुले खाएको, पिएकोमा पनि सहुलियत पाउँला र मलाई पनि राम्रै मान देला भन्ने लागेर उनले जे–जे सोधिन्, मैल हो–हो मात्रै भन्दै गएँ । उनले फेरि सोधिन्, ‘तपाईं त पोहोर साल पनि ग्रुप लिएर आउनु भएको थियो । हैन ?’ म अलि अकमकाएको थिएँ । म त्योभन्दा अगाडि म कहिल्यै त्यो ठाउँमा आएको थिइनँ । मैले आफुलाई कमजोर वा नजान्ने बनाउनु भएकै थिएन । किनभने एक त एक महिलाले सोधेको, फेरि साथीहरुको अगाडि म कच्चा पनि देखिनु भएन । मेरो पहिलो भ्रमण यही थियो । तर पनि ‘हो मा हो’ मिलाउनको लागि, हो नि आएको थिएँ नि, भनेर भनेको थिएँ । मसँगैको केटाहरुले पनि हो मा हो नै मिलाइरहेका थिए । यति भनेपछि कुरा मिलिहाल्यो नि जस्तो लागेको थियो । आखिर जान्ने, सुन्ने भइयो । आफ्नो इज्जत पनि अरु सामुन्ने अलिक माथिल्लो स्तरको देखाउन सकेकोमा म गमक्क परेको थिएँ । आ–आफ्नै सुरमा खाँदै थियौं । अचानक मतिर हेर्दै, साहुनी दिदीले मसँग रिस पो देखाउन थालिन् – ‘भाइ, तपाईंहरुको जति इज्जत हुन्छ नि– हाम्रो पनि त्यतिकै इज्जत हुन्छ ।’ म त छक्कै परैँ । ‘हन के भयो दिदी ? हामीले त्यस्तो केही गल्ति गरेजस्तो त लागेन !’ मेरो कुरालाई बीचैमा रोक्न खोज्दै उनले फेरि भनिन्– ‘अर्काको छोरीचेलीलाई यसरी बिचल्लीमा पारेर तपाईं भाग्नु हुन्छ ? गाउँलेहरु जम्मा गरेर आज त यसबारे छिनोफानो हुनै पर्छ ।’ जंगिदै भनिन् उनले । म त अलमल्ल परेँ । ‘यी साहुनी दिदी के भन्नु हुन्छ’ भनेँ । फेरि रिस देखाउँदै, ‘अझ के पो भन्छ लाज पचेको मान्छे !’ भनेर भनिन् । उनको रिसमा कमी आएकै थिएन । म सोचमा परेँ । अनि मैले बल्ल बुझेँ । कसैले गरेको कर्तुतको दोष ममाथि लगाउदै छिन् भनेर । अरुको समस्या र विपत्ति मेरा थाप्लामा आएको चोट म भोग्न थालेँ । म नमिठो मान्दै थिएँ । गल्ति मेरै थियो । वातावरण राम्रै बन्ला भनेर नाटक नै गरेको थिएँ । सबै कुरामा हो मा हो मिलाएको थिएँ । तर परिस्थितिले त अर्कै मोड पो लियो । नसोचेको परिस्थितिसँग जुध्नुपर्ने परिस्थिति नजिक–नजिक आयो । अब मैले सत्य कुरा बोलेर धमिलिएको परिस्थितिलाई सहज बनाउनु बाहेक अरु त्यहाँ उपाय थिएन । मैले लामो सास फेर्दै भनेँ, ‘हेर्नु न दिदी, मैले त्यतिकै म एमानको साथी भनेको मात्रै हो । म उहाँलाई चिन्दा पनि चिन्दिनँ । र यो मेरो भ्रमण पहिलो चोटि हो यो गाउँमा । म योभन्दा पहिला आएकै थिइनँ ।’ मेरो यति कुराले उनी शान्त हुने छाँटकाँट देखिएन । र भनिन्– ‘अघि चाहिँ हो, हो भन्दै हुनुहुन्थ्यो अनि अहिले चाहिँ किन होइन ? तपाईं ढाँट्दै हुनुहुन्छ । अब तुरुन्त मेरो छोरीलाई के गर्नु पर्ने हो तपाईंले गर्नैपर्छ ।’ उनी त झन्–झन् फन्किन थालिन् । मैले अब घनघोर आपतमा परेको ठान्न थालेँ । यति कुरा सुनेपछि म त छाँगाबाट खसेझै भएँ । मैले म त्यो व्यक्ति होइन भनेर लाख कोशिस गर्दा पनि उनले पत्याइनन् । म मनमनै अत्तालिएँ । अब मैले ती केटीसँग भेटेर सही र सत्य स्थितिसँग साक्षात्कार गर्नुको विकल्प थिएन । अन्तमा मैले भनेँ, ‘तपाईंकी छोरी कहाँ छिन, बोलाउनुस् न । अनि उहाँले चिनिहाल्नु होला नि । म त्यो व्यक्ति होइन भनेर !’ उनको रिस अझै पनि मरेको थिएन । ‘ल, ल म छोरीलाई बोलाउँछु । तर तपाईं भाग्ने होइन नि ! छोरी आइन्जेल तपाईं यहाँ नै बस्नु पर्छ’ भनेर भन्दै गर्दा मेरा अरु सहयोगी साथीहरु छक्क परेर हेरिरहेका थिए । उनीहरु पनि ख्याल–ख्यालमा झेलमा परिन्थ्यो भन्ठान्दा होलान् । उनीहरुले पनि ‘हाम्रो सरदार सर पहिलो चोटि नै हो यहाँ आएको’ भनेर बुझाउने कोसिस त गरिरहेका थिए । मेरो कुरा त विश्वास गरेकी छैनन्, बिचरा उनीहरुको कुरा त के सुनुन् तिनले । तर डर थिएन । म पूर्णतः विश्वस्त थिएँ । किनकी उनले ठानेको जस्तो गल्ति मबाट भएकै थिएन । उनै दिदीले एक जना सानो नानीलाई अराउँदै भनिन्– ‘लौ नानी, धारामा तिम्री दिदी लुगा धोइरहेकी होली, तुरुन्तै बोलाएर ल्याऊ त ।’ सानो नानी पनि ‘हुन्छ नि हुन्छ’ भन्दै दिदीलाई बोलाउन निस्के । हामी सबै एक किसिमले अलमलमा परेका थियौँ । अब भने मलाई कता–कता डर पनि लाग्न थालेको थियो । उनकी छोरीले के पो भन्ने हुन् । कतै उनीले पनि हो नै भनेमा त म त बडो ठुलै झमेलामा पो पर्ने भयो त ! मैले घरबार जोर्दै घर जानु पर्ने भयो त ? मुखमा चपाइरहेको मासु पनि ओकलौँ कि निलौँ भइरहेको थियो । मेरोजस्तो नाटक त्यो दिदीको छोरीले पनि गरी भने के हालत होला । अब म फसेँ, फसेँ । मनमा छटपटी बढ्यो । एकछिन पछि उनकी छोरी आइपुगिन् । हामीतिर हेर्दै दुई हात जोडेर नमस्कार गरिन् । हामीले पनि नमस्कार फर्कायौं । त्यतिकैमा ती दिदीले छोरीलाई सोधिन्– ‘उहाँलाई चिन्छौ हैन ? तिम्रो मान्छे उहाँ नै हैन ?’ छोरी अलमल हुँदै ‘को ?’ भनेर हामीतिर हेरिन् । मलाई बल्ल अलि सास आयो । किनकी ती बहिनीले मतिर कुनै संकेत नै देखाएकी थिइनन् । फेरि पनि त्यो दिदीले छोरीलाई मतिर देखाउदै सोधिन्– ‘उहाँ के, उहाँ एमानको साथी होइन । पोहोर साल अम्रिकानेहरुसँग आउनु हुँदा दुई दिन यतै बस्नु भएको थियो, हैन ? चिनेनौ ?’ गोरा मान्छे देखेपछि जुनसुकै देशबाट आएको भए पनि अम्रिकाने नै भन्दोरहेछ । छोरीले मतिर हेर्दै अलि लजाएको जस्तै गरेर भनिन्– ‘कहाँ उहाँ हुनु नि । आमा पनि कस्तो मान्छे नचिनेको, लाजै मर्दो । त्यतिकै अरुलाई, दोष लगाउनु भयो ।’ उनी स्वयम् पनि लाजै मानेर सामुन्ने आइन् । उनको भावमा एउटी युवतीको संकोच देखिन्थ्यो । लामो सास फेरेँ । मेरो हालत देखेर मेरा सहयोगीहरु पनि गलल्ल हाँसेँ ।
त्यतिकैमा ती दिदीले पनि हाँस्दै भनिन्, ‘किन अघि जे पनि हो हो भन्नु भएको त । मान्छे हेर्दा पनि उस्तै लाग्यो । ल माफ पाउँ है भाइ ।’ मैले पनि हाँस्दै भनेँ– ‘दिदी, गल्ती त मेरै हो नि । तपाईले अर्कै कारणले खोजिनिती गरिरहनु भएको रहेछ । के थाहा, कुरै नबुझेर मैले त हो मा हो नै मिलाएँ ।’ वातावरण अलिक सहज बनाउँदै केही अघि र अहिलेको परिस्थितिमा एकाएक फरक भयो । आँधी आएर फाटेको आकाश जस्तो भएको थियो मेरो मन । उज्यालो एकदमै चंगा । त्यसपछि सहयोगी साथीहरुलाई जिस्किने मेलो पाए । घरी–घरी भन्ने गर्थे, ‘धन्न, हाम्रो सरदार घरज्वाइँ भएर बस्नु परेन ।’
यसरी अघिल्लो वर्षको आउँदा एक क्याम्पपछि अर्को क्याम्प हुँदै क्याम्पैपिच्छे रमाइलो गर्दै हिँडेको यादहरु धेरै थियो । गत सालजस्तै यसपटक पनि मेरो ग्रुप थियो । हाम्रो ग्रुपका विदेशी मेम्बरहरु अलि पाका उमेरको भएकोले पनि अलि अनुभवी, सहयोगी साथीहरु आवश्यक पर्थ्यो । मैले पुराना साथीहरुलाई दोहोर्याएको थिएँ । क्याम्पिङ गर्ने ठाउँको व्यवस्थापन गर्न एक जना सहयोगी स्टाफलाई प्रत्येक दिन बिहान सबेरै अगाडि पठाइन्थ्यो । त्यसपछि कुक र किचेन वोईहरुको भान्से टिम जाने गर्यो । खासगरी भान्सा र अन्य स्टाफ पठाएपछि पर्यटकहरुलाई लैजान पर्थ्यो । त्यसो गर्दा पछि भान्साको काम गर्न उनीहरुलाई पनि समय हुन्थ्यो ।
सोती खोलाको किनारैकिनार, सयपत्री, मखमली फूलहरुले घरहरु श्रृङगारेका देखिन्थ्यो । ठाउँ–ठाउँमा दशैको लागि बनाएको पिङहरु थिए ।मौसम सफा । विहान अलिक चिसो भएपनि दिउँसो भने गर्मी नै हुन्थ्यो । माथि उक्लेपछि चिसो हुने हुनाले लगाउने लुगाहरुको राम्रो व्यवस्था थियो । गर्मी र जाडो जस्तो भए पनि खासै फरक पर्दैन्थ्यो । तिहारको समय गाउँ–गाउँका सबै मान्छेहरुमा हर्षउल्लास छाएको देखिन्थ्यो । जताततै रातो र कमेरो माटोले पातेका घरहरु उज्याला देखिन्थे । पूजा गर्न र बत्ती बालेर लक्ष्मी भित्र्याउन हरेक घरहरु सुन्दर देखा पर्थे । पिँढी, आँगन र घरहरु अत्यन्तै सजाइएका देखिन्थे । गाउँको नाम अहिले आएर ठ्याक्कै याद आएन, तर दुईटा अग्ला–अग्ला पहाडहरुको खोँच अनि सोती नदीको किनारमा सानो, पन्ध्र–बीस घरधुरी भएको सानो गाउँ थियो । गाउँ सानो र सफा थियो । त्यसैले बस्न लायकको थियो । हामी त्यहाँ ९:३० तिरै पुगिसकेको थियौं बिहानैको । बिहानको समय, उज्यालो घाम, फुलबारीको चमकले वातावरण ज्यादै मनोरम लाग्थ्यो । अझै नजिकै हिमालको चहकिलो सुन्दरताले मनभरि एउटा आनन्द खेल्थ्यो । त्यो गाउँ कटेपछि चार–पाँच घण्टाको हिँडाइसम्म पनि पनि अर्को गाउँ नभेट्ने भएकोले हामी छिटै त्यो गाउँमा आइपुगे पनि त्यो दिनको क्याम्प त्यही गाउँमा बस्नु पर्ने हुन्थ्यो । हामी पुग्न अगावै स्टाफले क्याम्पको सबै बन्दोबस्त गरेका थिए । हामी त्यहाँ पुग्न साथै चिया नास्ता ल्याइदिए । यत्तिकैमा एक जना दस बाह्र बर्षको जस्तो देखिने बहिनी नजिकै आएर भनिन्, ‘दाइ तपाईंलाई हाम्रो दिदीले घरमा बोलाउनु भएको छ, आउनु न है ।’ त्यो क्षेत्रतिर थोरै मान्छेहरुको आवतजावत हुने भएकोले हामी ठूलै ग्रुप आएपछि त को, कसको भनेर हल्लै हुन्थ्यो । गाउँलेका आँखाले चासो राखेर सोधखोज गर्थे । म पनि त्यस्तै सोधाइमा परिहाल्थेँ । त्यसैले पनि हामी आएको थाहा पाएर नै बोलाउन पठाएको होला भन्ठानेँ । सुरुमा म त झसङ्ग भएँ, कसले पो बोलायो भनेर । तर राम्ररी नियाल्दै गर्दा बल्ल नानीलाई चिनेँ । अघिल्लो वर्ष आउँदा सानै थिए । घरको आँगनमा गुच्छा खेलिरहेको देख्थेँ । एकै वर्षमा हलक्कै पो बढिछन् । मनमनै सोचेँ । ‘ए हो र ? हुन्छ बहिनी म एकछिनमा आउँछु ल । तिमी जाँदै गर्नु है’ भनेँ । ‘मेरो र त्यो बहिनीको बातचित पनि राम्ररी सुनिरहेका थिए उनीहरुले । त्यो बहिनी त्यहाँबाट जान साथै ‘के हो दाइ, दिदीले बोलाएकी छन् रे नि हँ ।’ भनेर एक जनाले प्याच्च भन्यो । मैले आँखाको इसारा गर्दै ‘केही होइन’ भने जस्तो गरेँ र मेम्बरहरुसँगको बातचितलाई निरन्तरता दियौँ । गेस्ट मेम्बरहरुसँगको बातचितको काम सकेपछि, टेन्टबाट मनि पर्स लिएर एक जना स्टाफलाई भनेँ, ‘ल, तपाईं पनि मसंग हिँडौँ ।’ ऊ पनि मख्ख हुँदै तयारी भइहाल्यो । मलाई कसले बोलायो भनेर सोच्न गाह्रो परेन । आफ्नै किसिमको अन्दाज थियो । अघिल्लो वर्ष आउँदा हामीले त्यो गाउँको घरमा खुबै रमाइलो गरेको याद झलझली आयो । अन्दाजी उन्नाइस–बीस वर्ष जतिको देखिने छोरीले आमालाई काम सघाइरहेकी थिइन् । उनीलाई सरला भनेर बोलाउने गर्थे । उनी फरासिली थिइन् । राम्री थिइन् । नयाँ मान्छेसँग चाँडै घुलमिल भै हाल्ने किसिमको बानी थियो उनको । उनको यो स्वभावले जो कोहीलाई मोहित बनाउँथ्यो । बेलुकी काम सकेर हामी चार पाँच जनाको समुह उनीहरुको घरमा केही खाने, पिउने निहुँमा गएको थियौँ । पछि उनीहरुका पनि दुई–चार जना साथी जम्मा भएका थिए । यो र रातभरि दोहोरी खेलेको यादहरु पनि मेरो मगजमा ताजै थियो । पुराना दृश्य र चित्रले मनमा पटक–पटक आउजाउ गरिरहे । म एकछिन त्यसमै हराएँ । अरु स्टाफहरु रक्सी र जाड पिइरहँदा मलाई ‘सरदार सर बियर पो पिउनु हुन्छ कि ?’ भनेर दुईतीन चोटिसम्म सोधेका थिए । तर मैले ‘म केही पनि ड्रिङ्क गर्दिनँ, साथीहरुले पिएको मैले पिएको जस्तै हो’ भनेर भन्ने गर्थें । ‘ऐना हेरेर, लाऊ माया लाउनेले धोको फेरेर’ दोहोरीमा दुई पक्षबीच घम्साघम्सी हुँदै गर्दा म छेउमा बसेर ताली मारिरहेको हुन्थें। कति त बेला–बेलामा उठेर नाच्ने पनि गर्थे । तर म चिया पिएर बसे पनि रक्सी पिउनेहरुसँग बस्दा कता–कता मलाई पनि मात लागेको जस्तो भयो । दोहोरी गाउनमा जति नै व्यस्त भए पनि सरला मतिर पुलुक्क–पुलुक्क हेरिरहेकी हुन्थिन् । म पनि थाहा नपाएको जस्तै गरेर आफ्नै सुरमा थपडी मरिरहेको जस्तो गरिरहेको थिएँ । आफु ग्रुपको मुखिया भएकोले पनि शान्त र चुपचाप हुनु परेको थियो । तर मौका मिल्नासाथ मेरो नजर पनि त्यता गइरहेकै हुन्थ्यो । हामी बीच पनि एक किसिमको नजरको दोहोरी नै चलिरहेको थियो । रात पनि धेरै छिप्पेकोले केही घन्टासम्म मज्जाले चलिरहेको दोहोरी बीचैमा रोकेर हामी क्याम्पतिर आयौँ । मनमा एकखालको अनौठो भावनाले छोएथ्यो । बेलुकी ओछ्यानमा ढल्किँदा पनि धेरै बेर नाचगान, कर्के हेराइ र हाँसो ठट्टाले पछ्याउन छोडेन मलाई । बिहान उज्यालो भएपछि हामी सामान प्याक गरेर त्यहाँबाट निस्कने तरखर गर्दै थियौं। सरला हामीतिरै आउँदै थिइन् । ‘केही काम परेर पो आएकी हुन् कि’ भनेर सोचेँ । म नजिकै आएर भनिन्– ‘बाटोमा केही घण्टासम्म घरहरु भेटिदैन । भुटेको मकै र एउटा कोकाकोलाको क्यान हालेको छु लिनुस है सरदार सर ।’ मन्द मुस्कान दिदै दिएकी थिइन् । अघिल्लो रात कुरैकुरामा ‘मलाई भुटेको मकै मन पर्छ’ भनेको थिएँ । त्यसैले पनि भुटेको मकै खाजामा राखेको हुनुपर्छ । पर्दैन भने पनि करै गरेपछि मैले लिएको थिएँ । मकै बिहानै भुटेको हुनुपर्छ । भुटेको मकै तातै थियो । मैले ‘हैन किन दुख गरेको, खाजा त मेरो स्टाफले पकाइ हाल्छन् नि’ भनेर खाजा फिर्ता गर्न खोजेको थिएँ । मैले किन दुःख दिनु भनेर सम्मान गरेर लिन नमान्दा पनि केही न केही लिनै पर्ने स्थिति आयो । ‘जे भए पनि लिनु न लिनु’ भनेपछि मैले पनि खाजालाई लिएर ब्यागमा राखेर त्यहाँबाट विदा भएँ । म पर पुग्दासम्म एकोहोरो हेरिरहेको थिइन् सरला । यिनै कुराहरुले मलाई त्यो क्षेत्रमा यात्रा गर्न आउनलाई तानिरहेको थियो । यी कुराहरु सोच्दासोच्दै सरलाको आँगनमा पुगेछु । ढोकामा उभिइरहेकी सरला मलाई देख्न साथै नजिक आएर भनिन्– ‘तपाईलाई संझिरहेकी थिएँ । आइपुग्नु भयो । धेरै खुशी लाग्यो ।’ उनको आवाजमा एउटा खुसी र उदासिनता थियो । उनी पहिलाको जस्तो चञ्चल थिइनन् । शान्त र मौनताभित्र हराएकी हुन्थिन् । उनको निधारमा लगाइरहेको सिन्दुर, गलाको पोते देखेर अनौठो लागिरहेको थियो मलाई । मेरो आँखा पनि त्यतै गएको थियो । उनी आँखातिर झरेको कपाल मिलाउदै अलि निहुरिएकी थिइन् । अप्ठ्यारो माने झै गरिन् । उनको अप्ठ्यारोपनलाई हटाउनको लागि मैले केही नभएको जस्तै नर्मल भएर कुरा गरिरहेँ । म सामान्य बाहिर भए पनि भित्रभित्र अशान्त थिएँ । ‘के छ नि, सन्चै हुनुहुन्छ ?’ मेरो कुरालाई रोक्न खोज्दै भनिन्– ‘ठिकै छु । भाइटीकाको तयारीमा लागेको छु । समयले यस्तै गरायो । सोचेको जस्तो नहुँदो रहेछ । तपाईं आएको भन्ने थाहा पाउना साथै मैले नै बहिनीलाई बोलाउन पठाएकी हुँ । संयोग नै भन्नु पर्छ । आजै तपाई यहाँ पुग्ने अनि अनि यही समयमा पुग्ने । अब तपाईं मेरो दाजु बन्नु पर्छ’ भन्दै मलाई हातमा तानेर भित्र लगिन् । उनका कुराले धेरै भाव र अर्थ दिएका थिए । त्यो म बुझ्थेँ । अरुले उनको भावनालाई बुझ्न सकेनन् । मैले पनि यसबारे थप कुरा कोट्याएर चाडपर्वमय वातावरणलाई धमिलाउनु थिएन । बस जे, जे भन्छिन् हुन्छ भनेँ । त्यसपछि आज ‘तपाईंहरुलाई नै टीका लगाईदिन्छु है’ भनेर सोधिन् । म अकमक्क भएँ । मैले दिदीबहिनीहरुको हातबाट कहिल्यै पनि टीका लगाएको नै थिइनँ । हाम्रो समुदायमा त्यस्तो चलन नै छैन । टीका मेरो लागि बिल्कुलै नौलो अनुभव थियो । यसरी मनैबाट मान गरेर गरेपछि मैले नाइँनास्ति गर्ने कुरा पनि भएन । भुइँमा सुकुल बिछ्याइएको थियो । त्यहाँ एक कुनामा टपरीमा चामल, सेल रोटी, नरिवल राखिएर पूजा गरिएको देखिन्थ्यो । अरु विभिन्न देवीदेउताका तस्वीर थिए । विशेषः गरी लक्ष्मीका तस्वीरमा पूजा गरिएको देखिन्थ्यो । नाङ्लोमा विभिन्न टीकाको सामाग्रीको साथमा उनेको फूलका मालाहरु थिए । दियो बालिएको थियो । मासु, अचार, सेल, खानाको परिकार र चिया पिउने काम सकेपछि टीकाको लागि तयार भयो । मैले सोचेँ, टीका भनेपछि रातो सिँदुर र फूलको माला लगाइदिने होला । तर निधारमा सातै रङ्गको मिलाएर निधारभरि नै लगाइदिइन् । टाउकोमा तेल लगाएर कपाल कोरियो । ओखर फोरेर, पूजा गरेर अरु सबै विधि पनि गरियो । यसरी टीका र फूलको माला लगाइदिदै गर्दा यता मैले आफ्नै दिदीबहिनीहरुलाई पनि संझेको थिएँ । मसँगै टीका लगाउनेमा एक जना प्रहरी दाइ पनि थिए । हामी एक अर्कोमा परिचय पछि गफ गरेर बस्यौं। मलाई टीका लगाउँदा के, के गर्नु पर्छ केही थाहा थिएन । प्रहरी दाइले जे, जे गर्छन् मैले पनि त्यसै गरेँ । टीका लगाइदिएपछि हामीले पैसा दिनु पर्ने रहेछ । प्रहरी दाइले बीस रुपैयाको दरले टीका लगाइदिने सबैलाई दिँदै थिए । यतिको मान गरेर दाजु बनाएर टीका लगाइदिएपछि थोरै पैसा दिन पनि मनले मानेन । त्यसैले सरलालाई एक हजार दिएँ । त्यसपछि तीन जनालाई पाँच–पाँच सयको दरले दिएको थिएँ । त्यसपछि यसो पछाडि फर्केर हेर्छु त साना–साना बहिनीहरु पनि टीका लगाइदिने लाइनमा रहेछन् । उनीहरुलाई सय सयको दरले दिएको थिएँ । सबै गर्दा बत्तीस सय रुपैयाँ जति मैले कोसेलीमा दिएँ । त्यतिबेलाको त्यति पैसा भनेको अहिले हो भने पन्ध्र बीस हजार जतिकै हुनुपर्छ । जति नै रकम खर्च भए पनि सरला बहिनीले देखाएको आत्मीयताको अगाडि फिका नै थियो । मलाई त्यतिबेला एउटा गीत हरफ मनमनै एकदमै याद आयो– ‘के सोचे मैले, के भयो अहिले ।’ मनमा खुशी कि पीडा छुट्टाउनै नसक्ने किसिमको थियो । मेरा लागि यो एकदमै अमूल्य र अद्भूत भएको थियो । रुपियाँ र नोटबाट त्यो अनुभव किन्न वा साट्न सकिन्नथ्यो । मसँगै गएको स्टाफ साथी पनि ‘तिहार त हामीलाई पो लाग्यो त’ भन्दै मज्जाले खसीको मासु र चिउरा खाँदै थियो । टीकाको कार्यक्रम सकेर हामी त्यहाँबाट बिदा भयौं । भोलि बिहान हामी त्यो गाउँ छोडेर जाँदै गर्दा फरि सरला बहिनी पोहोर सालको जस्तै गरेर खाजाको फोका मलाई दिदै ‘दाइ, यसमा केही सेलरोटी र कोकाकोला राखेको छु है, बाटोमा खानु’ भनिन् । दृश्य उस्तै–उस्तै थियो । समय अलि फरक अनि साइनो फरक थियो । सरबाट दाजु भएँ । मैले पनि ‘हुन्छ बहिनी धेरै धन्यवाद छ । राम्रोसँग बस्नु है’ भन्दै बिदा भयौं । हामी पर पुग्दासम्म पनि सरला बहिनी हामीतिर हेर्दै थिइन् । त्यसपछि दुई दशक पुग्दासम्म टीका लगाएको सरला बहिनीसँग मेरो भेट कहिल्यै जुरेन । धेरै वर्षपछि दीपावलीको माहोलमा टीका लगाएको बहिनीलाई सम्झिदै गर्दा कता–कता हाँसो पनि उठ्यो । तर मेरो मनमा अनायास त्यसरी टीका लगाउने मौका जुरेको त्यस अनुभव आफुले घुमेर र हेरेर आएका हिमालजस्तै मनभित्र थपक्क उज्यालिएर बसेको छ । तिहारको मखमली र सयपत्री जस्तै ढकमक्क फुलेर मनभरि रहेको छ आजसम्मै ।
काठमाडौं । यस पटक भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । भाइटिका कात्तिक २० गते शनिवार परेको छ । समितिका अनुसार सम्भव भएमा सो साइतमा टिका लगाउनु राम्रो मानिन्छ ।
उत्तम साइतमा टीका लगाउन नभ्याउने अवस्थामा समेत १२ बजेभित्र टीका लगाउन सकिने बताइएको छ र शास्त्रमा उल्लेख भए अनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने भएकाले ज्योतिषीहरुले यस्तो सुझाव दिने गरेका छन् । त्यसो त भाइटिकाको दिन दिनभर नै टिका लगाउने प्रचलन रहेको छ । यसपटक तिहारको तिथि घटबढ भएका कारण काग तिहार र कुकुर तिहार एकै दिन मनाइदैछ । दुबै तिथी बुधबार परेको छ । बिहीबार लक्ष्मीपूजा हुनेछ ।
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति अनावरण गरिएको छ । बुद्धको मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएका कारण महंगो परेको बताइएको छ । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।
बीबीसीका अनुसार उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । आइतवार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो मूर्तिको अनावरण गरिन् । मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन हुनुपर्नेमा जोड दिइन्।
म्यानमारबाट भारतको कोलकाता हुँदै नेपाल ल्याइएको सो मूर्तिको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । उक्त मूर्ति निर्माणका लागि म्यानमारको खानी सम्बन्धी एक कम्पनी मालवीन समूह लगायत बुद्ध धर्ममा आस्था राख्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले सहयोग गरिएको छ ।
सो मूर्तिको तौल झन्डै २ हजार किलोग्राम रहेको छ । १ दशमलव ९ मिटर उचाइ रहेको भनिएको मूर्तिको चौडाइ ६० सेन्टिमिटर रहेको दाबी गरिएको छ। विमानस्थल भित्र जाने र बाहिर निस्कने मुख्य गेटको बीचमा राखिएको यो मूर्तिलाई अहिले सिसाको फ्रेम भित्र राखिएको छ । मूर्तिको सुरक्षाका लागि २४ घण्टा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन तथा पूजाआजा गरेकी छिन् । यो सिजनमा मुक्तिनाथका लागि ठूलो संख्यामा भक्तजन जाने गर्छन् । राष्ट्रपतिको भ्रमणले यस भेगको विकासमा अझ टेवा पुग्ने विश्वास लिइएको छ ।
मुस्ताङमा पर्ने पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शन गर्न राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम जोमसोम हुँदै मुक्तिनाथ पुगेकी हुन् । नेपाली सेनाको हेलिकोप्टरमा उनी जोमसोम झरेकी थिइन । पछिल्लो समय राष्ट्रपतिले धार्मिक तथा पर्यटकीय भ्रमणमा समय छुट्याउन थालेकी छिन् । यसलाई भने सकारात्मक रुपमा लिइएको छ ।
तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु रहेका छन्। भाषा आयोगको पछिल्लो प्रतिवेदन अनुसार भने बोलीचालीका लागि प्रयोगमा आएका भाषाहरुको संख्या १३१ पुगिसकेको छ। त्यसै गरी यहाँ १० भन्दा बढी धर्मावलम्बीहरु धार्मिक स्वतन्त्रताको भरपूर उपयोग गरिरहेका छन्। यि विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुका आ-आफ्नै मोलिकता झल्काउने विशेष खाले चाडबाड, रितिरिवाज, परम्परा, लवाइ खवाइ, रहनसहन, बोलीचाली रहेका छन्। यि आँकडाहरुलाई सम्पदाका दृष्टिकोण हेर्दा, नेपाल विविध सम्पदाको धनी देश हो। र, विविधता बीचको एकताको स्वर्गीय भूमि हो भन्दा अतिसंयुक्ति नहोला।
नेपालको जनगणना २०६८ अनुसार नेपालमा ८०.६ प्रतिशत हिन्दू धर्मावलम्बीहरु रहेका छन्। आफ्नो धर्म संस्कृति अनुसार स्थापित हुदै आएका परम्परा, रितिरिवाज, चालचलनलाई समय अनुसार परिस्कृत र परिमार्जित गर्दै आफ्नो पहिचानसहितका चाड पर्वहरु परापूर्व कालदेखि नै मनाउदै आइरहेका छन्। जस मध्यको दशैं र तिहार प्रमुख बडा चाड हुन्। यि चाडबाडमा धार्मिक केन्द्रियता भएतापनि, यसको महत्व भने बहुआयामी रहेको छ। धार्मिक, साँस्कृतिक, सामाजिक, रितिरिवाज, परम्परा, रहनसहन, चालचलन आदिका दृष्टिकोणले यि चाडबाडहरुले समग्र नेपाली समाजलाई एकता, धार्मिक सहिष्णुता र भाइचाराको सुत्रमा बाँधिराख्न अहम भूमिका खेलिरहेका छन्। जसले गर्दा नेपाल र नेपालीको अमूल्य पहिचान बोकेको चाड बडा दशैं र तिहारलाई केवल हिन्दू धर्मावलम्बीहरुको चाड मात्र नठानी समग्र नेपालीहरु कै चाडका रुपमा मान्ने र मनाउने गरिदै आएको छ। त्यसैले नेपाल र नेपालीको गौरव र पहिचान बढाउने यि चाडबाडहरुलाई मर्म अनुसार बृहत रुपमा प्रचाप्रसार गर्नुका सोथै सोही अनुसार मनाउनु पनि जरुरी छ। यसै सन्दर्भमा देश विदेशमा रहेका नेपालीहरु यस वर्षको महान चाड बडा दशैंलाई विधिवत् समापन गरी, अर्को महान चाड ‘तिहार’ मनाउने संघारमा रहेकाले आवश्यक तयारीमा जुटिसकेका छन्। तिहारलाई हिजोआज धार्मिक चाड मात्र नभनि झिलिमिली उज्यालोको चाड, प्रकृति पूजनको चाड, फूलैफूलको चाड, जनावर तथा पंक्षी पूजन चाड, दिदीभाइ तथा दाजुबहिनीको चाड, दिपावलीको चाड, तिहार आदि भनेर पनि पुकारिने गरिन्छ। मुख्य गरी ५ दिनसम्म बृहत रुपमा मनाइने यो चाडको महिमा, गरिमा, महत्व, भूमिका र गरिने विविध वृहत् क्रियाकलापहरुलाई मध्यनजर गर्दा, यस महान चाडलाई ‘तिहार’ नै भनि प्रचारप्रसार गर्नु पर्दछ।र, चाडको मुल मर्म र महत्व अनुसार नै बृहत रुपमा नै मनाउनु पनि आवश्यक छ।त्यसैले यहाँ ‘तिहार’को महत्व र मर्म दर्शाउने केही संक्षिप्त धार्मिक तथा पौराणिक कुराहरु प्रस्तुत गर्ने कोसिस गर्दैछु।
हरेक वर्ष नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशी तिथिदेखि कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिन नेपालीहरुको महान चाड ‘तिहार’ पर्दछ। जसलाई यमपञ्चक पनि भनिन्छ। पौराणिक धार्मिक आस्था र विश्वासका आधारमा पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको पूजा, अर्चना, प्रार्थना तथा आराधना गरिने भएकाले यस चाडलाई यमपञ्चक भनिएको हो। पौराणिक धार्मिक कथन अनुसार सूर्यका यमराज र यमुना दुई छोराछोरी थिए। एकपटक यमुनाले आफ्नो दाजुलाई आफ्नो बासस्थानमा निम्तो गरेकी थिइन्। आफ्नो बहिनीले दिएको आत्मीय निम्तोलाई सहर्ष स्विकार गर्दै कार्तिक कृष्ण त्रयोदशीका दिन आतिथ्यता ग्रहण गर्नका लागि यमराज बहिनी यमुना कहाँ गएका थिए। बहिनीले पनि आफ्नो निम्तो स्विकार गरेर आएकाले आफ्नो दाजुको अतिथ्य सत्कारमा कुनै कसर बाँकी राखिनन्। यमराज पनि आफ्नो बहिनीको सत्कारमा आनन्दित भइ कामको थकान मेटाउन कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म (पाँच दिनसम्म) लामै विश्राम गरे। र, पाँचौं दिन बहिनी यमुनाको हातबाट टिका लगाएर बहिनीलाई आशिर्वाद दिइ बिदा भएका थिए। यही धार्मिक कथनको मूल मर्मलाई आधार मानेर ‘तिहार’ मनाउन लागिएको किम्बदन्ति रहेको छ। यस अर्थमा परापूर्व कालदेखि नै तिहारको पाँचैं दिनलाई उत्तिकै महत्त्वपूर्ण मानेर हरेक दिन धार्मिक महत्व र मर्मका आधारमा धार्मिक विधिहरुलाई अवलम्बन गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन चलिआएको छ। जस अनुसार तिहारका पाँचैं दिनको पहिचान, मर्म, महत्व र गरिने क्रियाकलाहरु संक्षिप्तमा यसप्रकार रहेका छन्:
१) कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात काग तिहार
कार्तिक कृष्ण त्रयोदशीको दिन तिहारको पहिलो दिन हो। यस दिनलाई ‘काग तिहार’ भनिन्छ। मुख्य गरी कागलाई यमराजको दूत तथा सन्देश वाहक मानेर पूजा गरिन्छ। पंक्षीमा चतुर मानिने सर्वभक्षी प्राणी कागलाई समग्र पंक्षीको प्रतिनिधिका रुपमा पनि पूजा गर्ने गरिन्छ। काग तिहारका दिन चोखो नितो गरी स्वास्थ्यकर स्वादिष्ट भोजनहरु बनाएर कागलाई डाकी पूजाआजाका साथ खुवाउने गरिन्छ। यसरी पूजा तथा भोजन दिने बेलामा धार्मिक मन्त्र ‘ऐन्द्र बारुण वायव्या याम्या वै नैऋतास्तथा। वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम्।।’ उचारण गरिन्छ। जसको अर्थ हो, पूर्व, पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरूले यो बलि ग्रहण गरून्। यस दिनमा आयुर्वेदका भगवान धनवन्तरीको जन्म जयन्ती पनि मनाइन्छ। यस दिनलाई धन त्रयोदशी अर्थात धन्तेरस पनि भनिन्छ।यस दिन नै धनधान्य लक्ष्मी माताको विशेष पूजा गर्न आवश्यक सरसामानहरु खरिद गर्ने गरिन्छ। यस दिन कमलको फूलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर खरिद गरेर घरभित्र्याउने प्रचलन छ। यसो गर्दा लक्ष्मी माता खुसी भई घर भित्रने, बास गर्ने, आशिर्वाद दिने र धनधान्य बनाइ दिने धार्मिक विश्वास रहेको छ। यस दिन नयाँ भाँडाकुँडा तथा सुन वा चाँदीको बस्तु किनेर घरको पूर्वी-उत्तर दिशामा राखेमा फलिफाप हुने विश्वास गरिन्छ।
२) कार्तिक कृष्ण चतुर्दशी अर्थात कुकुर तिहार
यो तिहारको दोश्रो महत्वपूर्ण दिन हो। यो तिहार अन्तरगत पर्ने कुकुर तिहार हो। जसलाई यमपञ्चकको दोस्रो दिन पनि भनिन्छ। कुकुरलाई यमराजको दूत मानिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ। कुकुर यमदूत भएकाले यमराजलाई खुसी बनाउन कुकुरलाई पूजा गर्ने गरिन्छ। कुकुरलाई पूजा गर्नुमा मानव उपयोगी उसका महत्वपूर्ण गुणहरु पनि हुन् भन्ने कोणबाट व्याख्या गरिने गरेको भएतापनि, धार्मिक मुल्य र मान्यताका आधारमा भने यमदूत भएकै कारण पूजा गरिएको विश्वास गरिन्छ। कुकुर तिहारका दिन यमराजको स्मरण गरी कुकुरलाई पूजा गरेर टिका तथा माला लगाइ दिएर मिष्ठान्न भोजनहरु खुवाउने गरिन्छ। कुकुरलाई पूजा गरी मिष्ठान्न भोजन गराउदा यस्तो मन्त्र उच्चारण गर्ने गरिन्छ। ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।’ जसको अर्थ हो, वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंसक बन।
३) कार्तिक अमावस्याका अर्थात गाई तिहार कार्तिक अमावस्याका दिन तिहारको तेश्रो दिन हो।यस दिनमा माताको रुपमा पूजिने गाईको विशेषरुपमा पूजा गरिन्छ। यस दिन गाई बस्ने गोठको सरसफाइ गर्नुका साथै गाईलाई पनि सफासुग्घर राखेर पूजा गर्ने गरिन्छ। गाईलाई धनधान्य माता देवी लक्ष्मीको प्रतिक मानिने भएकाले साँझपख मठ मन्दिर तथा घर आगनमा बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मीपूजा पनि गरिन्छ। यस दिनको राति माता लक्ष्मी पृथ्वीलोकमा आउने र आशिर्वाद तथा वरदान दिने धार्मिक विश्वासका साथ घरको आगनमा रहेको तुलसीको मोठदेखि वा मुल दैलोदेखि घरभित्रका पूजा स्थल तथा कोठाहरुसम्म गाईको गोबर तथा रातोमाटोले लिपेर, आगनमा रंगोली र लक्ष्मीको पैतालाको छाप बनाएर पूजा आजा गरिन्छ। भगवान रामले कार्तिक कृष्ण औंसी अर्थात आजको दिनमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको र बहिनी यमुनाको सत्कारबाट यमराज खुसी भएका कारण नरक जान नपर्ने धार्मिक विश्वासमा झिलिमिली बत्ति बालेर खुसियाली मनाइएको धार्मिक विश्वास गरिन्छ। यस दिनको राती समूह बनी घरघरमा पुगेर महिलाहरुले धार्मिक ग्रन्थ, आस्था, विश्वास, परम्परा अनुसार यमुना-यमराज, बली राजा, भगवान राम लगायतको गाथा भट्याउदै गाउदै भैलिनी खेल्दछन्। तर, हिजोआज पुरुषहरुले पनि भैलेनी खेल्ने गर्दछन्। हिजोआज भैलिनीलाई धार्मिक क्रियाकलापका अतिरिक्त मनोरञ्जन तथा हर्षोल्लासको महत्वपूर्ण क्षण र आर्थिक सहयोग जुटाउने सुवर्ण अवसरकारुपमा पनि लिएर गीत संगितको समिश्रणसहित परिस्कृत र परिमार्जित रुपमा भैलिनी खेल्ने गरिन्छ। यस दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि परेकाले विभिन्न कार्यक्रम गरि लक्ष्मी जयन्ती पनि मनाइन्छ।
४) कार्तिक शुक्ल परेवा अर्थात गोरु तिहार
यो कार्तिक शुक्ल प्रतिपद तिथिको दिन हो। जसलाई गोरु तिहार भनिन्छ। यस दिन धार्मिक मरम, मुल्य, मान्यता र विधि अनुसार गोरुको पूजा गरिन्छ । यस दिन गोवर्द्धन र बलि राजाको पनि पूजा गरिन्छ। यस दिनको राती मुख्य गरी पुरुषहरुले समूहमा मिलेर द्येउसी खेल्ने चलन छ। हिजोआज भने महिलाहरुले पनि महिला-महिला मिलेर वा पुरुषहरुसंग मिलेर पनि देउसी खेल्ने गर्दछन्। यस दिन नेवारी समुदायका लागि विशेष दिन हो। जसलाई नेवारहरु महःपूजा ज्यू(शरिर)पूजाको दिन भनिन्छ। यस दिन नेवारी समुदायले धार्मिक विधि अनुसार आफ्नो शरीरको विशेष पूजा गर्ने गर्दछन्। यो दिन नेपाल संवत् अनुसार नयाँ वर्ष प्रारम्भको दिन पनि भएकाले शुभकामना आदानप्रदानसहितको हर्षोल्लासको रौनक हुने गर्दछ।
५) कार्तिक शुक्ल द्वितीया अर्थात भाइतिहार यो दिनलाई तिहारको प्रमुख दिन अर्थात पाँचौं दिन हो। जसलाई भाइतिहार अर्थात भाइटिका भनिन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई श्रध्दा र भक्तिपूर्वक टीका लगाइदिन्छन्। धार्मिक आस्था र विश्वासका आधारमा यस दिन दिदीबहिनीले यम-यमुना, यमराज, यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गर्ने गरिन्छ। पात्रो अनुसार साइतमा दिदीबहिनीले दाजुभाइको चीरायु, सुस्वास्थ्य, सुख, शान्ति, ऐश्वर्यको कामनासहितको प्रार्थना गर्दै निधारमा सप्तरंगी टीका, दूबो, मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन्। धार्मिक विधि अनुसार भाइटिका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सगुन, प्रसाद, सेलरोटी, मिठाईं, फलफूल, मसला आदि प्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने प्रचलन छ। यस दिन दिदीबहिनीले हृदयदेखिकै प्रार्थना गरेका कारण खुसी भएका यमराजको आदेश अनुसार यमदूतले धर्तीबाट मानिसलाई यमलोक नलैजाने धार्मिक विश्वास रहिआएको छ। बहिनी यमुनाको निम्तो मान्न दाजु यमराज यमलोकबाट धर्तीमा आएको र कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसेको धार्मिक कथन छ। जसलाई यमपञ्चक पनि भनिन्छ। यही पाँच दिनलाई नेपालमा नेपालीहरुले परापूर्वकालदेखि नै महान चाड ‘तिहार’ भनेर सम्बोधन गरी, हर्षोल्लासका साथ मनाउदै आइरहेका छन्। यसरी धार्मिक, साँस्कृतिक, सामाजिक, पारिवारिक, परम्पार, रितिरिवाज, पहिचान र गरिने विविध क्रियाकलापहरुका दृष्टिकोणले ‘तिहार’ बहुआयामी भएको र चाडको महिमा, गरिमा, पहिचान, मर्म र महत्व वृहत रहेको पुष्टि हुन्छ। तसर्थ, यस महान चाडलाई सोही अनुसार महत्वपूर्ण रहेका पाँचैं दिनको प्रतिनिधित्व गर्ने वृहत् नाम ‘तिहार’ नै भनेर सम्बोधन गरौं ! शुभकामना आदानप्रदान गरौं ! प्रचाप्रसार गरौं ! संरक्षण र सम्वर्द्धन गरौं ! र, धार्मिक आस्था, विश्वास, मर्म, विधि र क्रियाकलापहरुलाई केन्द्रमा राखेर सक्दो वृहत रुपमा हर्षोल्लासका साथ मनाऔं भनि सबैलाई अपिल गर्दै नेपाल र नेपालीको मौलिक पहिचान बोकेको यो वृहत महान चाड ‘तिहार’ को सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! धनधान्य हुनुका साथै ऐश्वर्य मिलोस् ! माता लक्ष्मीले सदा बास गरुन् !