काठमाडौं । तिहारको पुर्वसन्ध्यामा ललितपुरको जावलाखेल खेल मैदानमा पुष्प प्रदर्शनी शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार १४ औं गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गरेका छन् । कोभिड–१९ महामारीका कारण गत वर्ष मेला हुन सकेको थिएन । तिहारमा सबैभन्दा बढी फूलको खपत हुने गर्छ । तर, कोरोनाका कारण प्रभावित भएको व्यवसाय पुरानै अवस्थामा फर्कन भने केही समय लाग्न ेछ । मेलामा सयौं थरी फूलहरु अवलोकन तथा बिक्रिका लागि राखिएको छ । व्यवसायीले फूलमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास गरेपनि तिहारमा हुने अवैध आयातले भने समस्या हुने गरेको गुनासो समेत गरेका छन् । यो वर्ष पनि व्यवसायीले तिहारका लागि माला आयात गर्ने तयारी गरेका छन् ।
Category: मनोरञ्जन
-

तिहारमा फूलको माग स्वदेशी उत्पादनले नथेग्ने, ५० हजार माला आयातको तयारी
काठमाडौं । नजिकिएको नेपालीहरुको दोस्रो महान चाड तिहारमा फूलको माग स्वदेशी उत्पादनले थेग्न नसक्ने भएको छ । सोहीकारण तिहारका लागि यस वर्ष पनि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । राससका अनुसार फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी छ । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ ।
उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ ।
यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ ।
-

आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
काठमाडौं । मंगलबार दशैको अन्तिम दिन अर्थात, कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गर्ने दिनका रुपमा कोजाग्रत पुर्णिमालाइ मनाउने प्रचलन रहेको छ ।५ दिन सम्म दशैको टीका जमरा लगाउने प्रचलन रहेको स्थानमा आज अन्तिम दिन टीका र जमरा लगाइन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पुर्णिमाका दिन पूरा हुन्छ ।आज बेलुकी सबै बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं सकिन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्तिके स्नान भने बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।
-

गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना
अमृता के सी (रोनी)
काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक स्थान ‘देसे’ मा दशैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ ।
विजया दशमीको टिकाको दिन असत्यमाथि सत्यको जित भएको भन्दै देखाइदै गरेको देवि नाच ३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभएपछि देखाइएको थिएन । ४ वर्षअघि स्थानीय युवाहरूको सक्रियतामा पुनः यस नाचलाई नियमित रूपमा नचाउन थालिएको छ ।
परंपरा, कला र संस्कृति जोगाउन युवा पुस्ताले देखाएको सकृयतालाई स्थानीय तथा आसपास क्षेत्रका सबैले सह्राहनीय कार्य भनि प्रसंशा गरेका छन्
-

आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना
काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरि मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकका रुपमा मानिन्छ । देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।
त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ । नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।
-

परदेशीको पिडा गीत बजारमा
न्यूयोर्क
नेपालीको महान चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरी भण्डारीको दशैँ कोसेली ‘परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । गायक तथा सर्जक बिष्णुहरी भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत ‘परदेशी’ बोलको गीतमा स्वयमं भण्डारीको स्वर रहेको छ ।

उक्त गीतको भिडियोमा सुरेन थापा, प्रमिला ढकालको मुख्य अभिनय रहेको छ भने सुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला माया पण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायत कलाकारको बेजोड अभिनय प्रदर्शन गरिएको छ ।
हाल अमेरिकाको न्युयोर्क शहरमा रहेका नेपालीहरुले यो गीत प्रस्तुत गरेका हुन् । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माण गरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमा समेट्न खोजिएको छ ।
विशेष गरी यो गीतले परदेशमा जीवन विताएका नेपालीहरु छिट्टै घर फर्किने र आफ्नै कथा ब्यथालाई आफ्नै गाउँ घरमा साथीसंगी मिलेर रमाइलो गरेको यथार्थलाई गीतकार बिष्णुहरि भण्डारीले शब्दमा उतारेका हुन् ।
नेपालीहरुको कला, सस्कृति र मौलिकतालाई प्रस्तुत गर्नको लागि आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको र यस गीतले आपसी सद्भाव बढाउने उनको भनाई छ ।ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्ग स्टुडियोले संगीत संयोजन गरेको छ ।
-

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं । बडा दशैंको आज दोस्रो दिन आज देशभर ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठ तथा दशैं घरहरुमा देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने प्रचलन रहेको छ । दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिन्छ ।
राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको भिड लाग्छ । दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरमा समेत पूजा गर्न हजारैं मानिस पुग्ने गर्छन् ।
-

कांग्रेसले यो वर्ष पनि चियापान आयोजना नगर्ने
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले हरेक वर्ष दशैं, दीपावली र छठको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक पनि नगर्ने भएको छ । गत वर्ष समेत कोरोनाका कारण चियापान आयोजना भएको थिएन । बिहीबार काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी एक विज्ञप्तिमा कोरोना महामारीबाट बच्न सबैले उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने समेत विज्ञप्तीमा उल्लेख छ । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु सबैको कर्तव्य भएको भन्दै महामारीमाथि विजय हासिल गर्न चांडै नै सफल हुने विश्वास समेत लिइएको विज्ञप्तीमा उल्लेख छ । ‘नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।’, काँग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
-

आजबाट बडा दशैं शुरु, जमरा राखिँदै
काठमाडौं । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरि जमरा राखिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् ।
घटस्थापनाको दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
-

बलिउडका चर्चित कलाकारहरु काठमाडौंमा, फिल्म उँचाईको छायांकन गरिँदै
काठमाडौं । बलिउडका केही चर्चित कलाकारहरु यतिबेला काठमाडौंमा छन् । फिल्म ‘उँचाई’को छायांकनका दौरान बलिउडका चर्चित अनुहारहरु यतिबेला काठमाडौं आइपुगेका हुन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका छन् । उनीहरुमध्ये अनुपम खेर पशुपतिनाथ दर्शनमा पुगेका छन् । उनले यो भूमिमा आउँदा आफुले शान्ती प्राप्त गर्ने बताएका छन् । यो फिल्मलाई बलिउडका नाम चलेका निर्देशक सूरज बडजात्याले निर्देशन गरिरेहका छन् ।
‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’, ‘हम साथ साथ है’सहितका फिल्म उनले निर्देशन गरिसकेका छन् । नेपालबाट फिल्म ‘उंचाई’को छायांकन सुरु गरिँदै छ । फिल्म छायांकन ४० दिनमा सकाउने लक्ष्य छ । फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डेन्जोपाको प्रमुख भूमिका रहनेछ । फिल्मको छायांकन कुन कुन स्थानमा हुनेछ भन्ने चाँही खुलाइएको छैन ।
-

जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने
टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ।
उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो। विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ। उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन्। स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए।
राजकुमार फुहिमितो र कोमुरोको परिवारलाई जोडेर पछिल्ला वर्षहरूमा आएका समाचारले राजकुमारी माको मानसिक आघातको सिकार भएको इम्पेरियल हाउसहोल्ड एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले जनाएको छ। यस अघि राजपरिवारकै अर्की सदस्यले पनि पुरुष उत्तराधिकारी चयन गर्न दिइएको दबाबका कारण तनाव सम्बन्धी समस्याबाट बिरामी परेको बताइएको छ।
जापानमा मानसिक समस्यालाई समाजमा नराम्रो रूपमा चित्रित गर्ने गरिएको छ। राजकुमारीको जोडीबीच सन् २०१२ मा टोकियोको एक अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भेट भएको थियो। सन् २०१७ इन्गेजमेन्ट गरेको यो जोडीले त्यसको एक वर्षपछि विवाह गर्ने तय गरेको थियो। राजकुमारी माकोले जापानमा परिवारबाट छुट्टिने शाही सदस्यले पाउने १३ लाख अमेरिकी डलर समेत त्याग गर्ने बताइएको छ।
उनले परम्परागत शैलीको शाही विवाह समेत नगर्ने अपेक्षा गरिएको छ। उनले दुवै सुविधा त्याग गरेको अवस्थामा उनी दुवै सुविधा त्याग गर्ने पहिलो राजपरिवार सदस्य बन्नेछिन्। जापानको कानुन बमोजिम सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारको महिला सदस्यले शाही हैसियत त्याग्नु पर्छ तर पुरुष सदस्यले पर्दैन।
-

नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो । समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।
भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ । न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कुन मुलुकमा कति बजे साइत ?
-

काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक
काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला-महोत्सव र सभा-जुलुस गर्न नपाउने गरि प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्म यस्तो आदेश जारी गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घर बाहिर मानिस जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्लेख छ । कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रशासनको भनाई छ ।
चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहन समेत प्रशासनले भनेको छ । यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने समेत उल्लेख गरिएको छ ।
यस्तो छ प्रशासनको आदेश

-

मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु
गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएका थिए ।
उनको उचाई सम्बन्धी समस्याका कारण ज्यान गएको अनुमान गरिएको छ । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । बुधवार बिहान कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । यो सिजनमा मनास्लु हिमाल आरोहणमा आरोहीको भीड लागेको छ ।
-

अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन
प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’
कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु । वडा नं १० को सहयोगमा ‘सृजनशील महिला समूहले’ व्यवस्थित गरेको हाकुपटासी, तपालं, मिसालँ र सुरुवाल लगाउन आज कैयन मानिसहरु ओइरिएका छन् । नेवार पोशाकको महत्व, पोशाकमै गुटुमुटिँदा मात्र बोध हुन्छ । कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती रिजाल ‘खडका’ पनि हाकुपटासीमा गुटमुटिन् र प्रतिक्रिया दिइन–हाकुपटासी लगाउनुको आनन्दै बेग्लै !
सुनेको छु,
नारायण गोपालको एक गीत छ
‘तान चलाउनु चर्खा काटनु’
सबैलाई स्वाभिमान सिकाउने यो गीत श्यामदास बैष्णवले कीर्तिपुर आउँदा, कीर्तिपुरको श्रमजिवी तस्वीर हेरी लेखेको थियो रे ! उहिलेको कीर्तिपुर र तान पर्याय जस्तो थियो । हाकुपटासी तानमै बुनिन्थ्यो । कीर्तिपुरबाट कैयन कपडा बाहिर जान्थ्यो । देशका कैयन महिलाहरु कीर्तिपुरले बुनेका पोशाक लगाउँथे । कीर्तिपुर पोशाकको लागि निकै लोकप्रिय थियो । कीर्तिपुरको कपडाको आफ्नै पहिचान थियो ।
हाकुपटासी कीर्तिपुरको सान हो । केही दशकअघिसम्म कीर्तिपुरमा महिलाहरु चाडपर्वमा हाकुपटासीमै सजिएर पुजापाठमा हिँडेको देखिन्थ्यो । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीको लागि पनि हाकुपटासी विशेष मनप्रिय पोशाक थियो । हाकुपटासीमा कालो रंगमा रातो रंगको घेरा लगाएको हुन्छ । यो रंग संयोजनको आफ्नै संदेश छ । जो कोही महिला पनि हाकुपटासीमा सजिँदा बिछट्टै सुन्दर देखिन्छिन् । यो यस पोशाकको विशेषता हो । नेवार महिलाको यो परम्परागत पोशाकले कुर्कुच्चा भने छोपिँदैन । महिलाले कुर्कुृृच्चा छोप्नैपर्छ भन्ने उहिलेको कट्टर समयमा नेवार महिलाहरुको कुर्कुच्चा भने खुला हुन्थ्यो । यसले नेवार शम्यता त्यो बेला नै कति आधुनिक र महिलाप्रति उदारवादी थियो भने देखाउँछ । विवाहको समयमा पनि ससुरोले छोरोलाई दुलही हेर्न जाँदा, लाज मानेर पुरै मुख पछयौरीले छोपी आउने बुहारीको कुर्कच्चा हेरी ‘ल तेरी श्रीमती गोरी छे, कुर्कुच्चा गोरो छ’ भनेर घरमा छोरोलाई सुनाउने गथ्र्यो रे ! हाकुपटासीमा देखिने महिलाको कुर्कुच्चा धेरै कुराहरुको विम्व हो, नेवार महिलाको ।
नेपालको प्रायजसो शहरको आआफ्नो पहिचान छ । भोजपुर खुकुरीको लागि प्रचलित भए जस्तो, एकताका कीर्तिपुर कपडाको शहरको रुपमा चिनिन्थ्यो । विस्तारै त्यो पहिचानमा खिया लाग्दै गयो । साँझपख संगीतमय आवाजमा सुनिने तानको ‘ताकतुक’ आवाज पनि सुन्य भयो । कपडाकै शहरको रुपले चिनिएको कीर्तिपुरले हाकुपटासीसम्म भक्तपुरबाट आयात गर्नुपर्ने अवस्था आयो । तान नै लोप भइसकेको अवस्थामा कीर्तिपुर नगरपालिकाका सम्पदाप्रेमी मेयर रमेश महर्जनले फेरि कीर्तिपुरमा तान ब्युँझाउने प्रयत्न गर्नु भएको छ । तीन दशकपछि कीर्तिपुरमा फेरि तानले गुनगुनाएर ‘तान’ लिने भएको छ । यसको लागि कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा, वडा नं २ को पहलमा कीर्तिपुरका महिला समूहबाट प्रतिनिधित्व गर्ने, धेरै महिलालाई तालिमको सुरुवात गरिसकेको छ । विशेषतः अधवैंशे युवतीहरु आकर्षित हुने तानबुनाइले, शारीरिक श्रमको काम पनि गर्न नसक्ने र बृद्धभता पनि उमेरको कमिले नपाइरहेका महिलाहरुलाई आर्थिक लाभ हुने मेयर साहेवको भनाइ छ । यो सीपले परम्परागत पेशाको मात्र जर्गेना नभई, छोराबुहारीमा हात थाप्नुपर्ने अवस्थामा कमि आउँछ ।
तानमा हामी धेरैको स्मृति पनि गुटमुटिएर बसेको छ । तान चलाउँदै गरेकी आमाको काखमा हामी गएर बसेका छौँ । तानबाट निस्किने मीठो धुनले हाम्रो बाल्यकाल निकै संगीतमय बनाएको थियो । तानमा खेल्ने आमाका श्रमजिवी हातहरुले हामीलाई विश्वविद्यालयले दिन नसक्ने, श्रमको पाठ सिकाइदिएको छ । कपडामा बुन्ने धागोले जीवनको एकलयताको पाठ सिकाएको छ । विकाससँगसँगै शभ्यतालाई उत्खनन गर्नु विकासको सुगन्ध हो, मीठास हो । यस्को लागि हामी सबैले सम्पदा र संस्कृतिप्रेमी मेयर साहेवलाई हार्दिक धन्यवाद दिनैपर्छ ।
यो वाहेक, कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएसँगै महिला समूहहरु निकै जुरमुराए । एक्लाएक्लै भएका महिलाहरु संगठित भए । कीर्तिपुर नगरपालिकाले पनि तालिम दिँदै महिलालाई स्वरोजगार बनाउँदै गए । कीर्तिपुरमा आज महिलाहरु कोही बेकरी तालिम लिएर केक बनाउँदै गरेको देखिन्छ भने कोही अचार तालिम लिएर अचार ।
साबुन पनि समूहले नै बनाउँदै गरेको देखिन्छ भने प्लाष्टिकको गिलास पनि । मरमसला त आज वडा वडामा उत्पादन हुन्छ । बाहिरबाट आयात गर्नुपर्ने अवस्था लगभग नियन्त्रित भइसकेको छ । आज कीर्तिपुरमा श्रमजिवी कोही महिलाको हात खालि बस्नु परेको छैन ।
सयौं तालिमको क्रममा तानबुनाइ र सिकाइसम्म पुग्दा, लाग्न थालेको छ कि, अव फेरि एकपटक कीर्तिपुर कपडाको शहरको रुपमा चिनिनेछ । यहाँका महिलाहरु विशेष चाडपर्वमा हाकुपटासीमा गुटमुटिनेछन् र सांकेतिक आवाजमा बोल्नेछन् कि हाकुपटासी हाम्रो समूदायको हो, हाम्रो हो । नेपालको झण्डा सिम्रिक रंगमा नीलो घेराले चिनिए जस्तो, कीर्तिपुर हाकुपटासीको कालो रंगमा रातो घेराले चिनिनेछ । तान गुनगुनाउनेछन् भने साँझपख आमाका चुराहरु खित्खिताउनेछन् । युगानुसारको विकासलाई काँधमा बोकेर इतिहास दोहरिनेछ । -

पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै
पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला भएको छ । यो सन्देश संसारभर पुर्याउन यो अभियान सफल हुने प्रदेश सरकारको विश्वास छ ।
राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउने योजनासहित यो कार्यक्रम बनेको हो । यस अभियानमा पर्यटन बोर्डले समेत समन्वयको काम गरेको छ । पदयात्रामा जान आइतबार ११ वटा देश र निकायका राजदूत पोखरा पुगिसकेका छन् ।
युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्ट, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुख समेत पदयात्राका लागि पोखरा पुगेका छन् ।
पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले भब्य स्वागत गरे । पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा लगेको हो । सोमबार ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम छ। नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ।
-

मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण
काठमाडौं । जारी आरोहण सिजनमा मनास्लु हिमालमा सर्वाधिक आरोही पुगेका छन् । करीव ५ सय आरोही विभिन्न क्याम्पमा रहेको समयमा शुक्रबार चुचुरोसम्म डोरी पुगेको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएको हो । सेभेन समिट ट्रेकका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासी शेर्पाले बाटो निर्माण सम्पन्न गरी आधारशिविर फर्केको छ ।
मनास्लु आरोहणका लागि मात्र १७१ जना विदेशी आरोही आएका छन् । शनिबार बाट भने आरोाहण शुरु भएको छ । आज बिहानै दुई भारतीयले सफल आरोहण गरेको कम्पनीले जनाएको छ । आजबाट धमाधम थप आरोहण हुने समेत कम्पनीले जनाएको छ । शरद ऋतुमा सगरमाथा बाहेकका हिमालमा भिड लाग्छ । यो सिजन सगरमाथा आरोहण भने कठिन मानिन्छ । सामान्यतया सगरमाथाको आरोहणमा जाने तयारीमा रहेका आरोहीले यो सिजन अन्य हिमाल चढेर अनुभव लिने गर्छन् ।
-

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए ।
असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबारफूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।
मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।
तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।
घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।
टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।
तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
-

चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना निर्माण गरेको छ । अब विभिन्न स्थानमा सुृरक्षाकर्मीको निगरानी बढाइने छ । साथमा सादा पोशाकमा रहेका सुरक्षाकर्मीले समेत निगरानी बढाउने भएका छन् । महाशाखाले दशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गर्ने योजना छ ।
बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाइने भएको छ । ट्राफिक प्रहरीले चार पटक विभिन्न ४३ ठाउँमा २४ सैं घण्टा चेकजाँच सुरु गरेको छ ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । लामो दुरीका सवारी साधनमा क्षमताभन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अबस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए, नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ । उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सूसुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।
-

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२
काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ घोषित भएका छन् । विक्की अग्रवाल र सन्तोष थापासहित फाइनल पुगेका उनले सर्वाधिक भोट पाएर विजेता बनेका हुन् । फाइनल शनिबार राति सम्पन्न भएको हो । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुतिका कारण उनी चर्चामा आएका थिए ।
पौडेलले कार र २५ लाख नगद जित्न सफल भए । उनी ताप्लेजुङका हुन् । उनलाई जिताउन विभिन्न अभियान नै चलाइएको थियो । रेडियो तमोरमा टेन्सन-फ्री कार्यक्रम चलाएका उनी सानैदेखि कमेडीमा रमाएका थिए । उनले भद्रगोल टेलिशृंखलामा अभिनय समेत गरेका छन् । भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल जिते ।
-

चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म सस्तोमा सामान किन्न पाइने भएको छ ।
देशभर ३९ स्थानमा यस्ता पसल संचालन गरिने छ । यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाइने बताइएको छ । यसमा नेपाल आयल निगमले काम गर्नेछ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्मचल्ने छन् । चाडबाडमा महंगो हुने बजारमा सस्तो सामान आपूर्ति गर्न सरकारले हरेक वर्ष यस्तो पसल चलाउने गरेको छ ।
-

आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै
काठमाडौं । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर पूजा आराधनासहित मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिनमा घरमा रहेका हातहतियारको समेत पूजा गरिन्छ । कृषकले कृषि औजारको पूजा गर्छन् । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाउने गरिन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति विभिन्न नदीमा सेलाउने गरिन्छ ।
आज उपयोगमा आउने विभिन्न औजार, सवारी साधनको समेत पूजा गर्ने प्रचलन रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मान्यता छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिन्छ ।
-

चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत
काठमाडौं । नेपालीको महत्वपूर्ण चाडबाड नजिकिएका छन् । यसले भिडभाड बढ्ने र कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको छ । सरकारले यस परिस्थितिमा कोरोना संक्रमण कायमै रहेको भन्दै चाडपर्वमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक आदेश जारी गरि चाडपर्वमा धेरै जना जम्मा नहुन र चाडपर्वलाई सांकेतिक रुपमा मात्रै मनाउन भनेको हो ।
प्रशासनले असोज एक गतेबाट लागू हुने गरी जारी गरेको निषेध आदेशमा सार्वजनिक स्थानमा भीडभाड नगर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि नगर्न, नगराउन आदेश दिएको छ । उपत्यकामा शैक्षिक संस्थाले भौतिकरुपमा पठनपाठन गर्न नपाउने भनिए पनि यदि गर्नै परेका खण्डमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा सञ्चालनको निर्णय गर्नसक्ने आदेशमा उल्लेख छ । यसरी गर्दा सञ्चालनको विवरण र ढाँचा तयार पार्नुपर्ने भएको छ ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरी यसअघि नै आदेश जारी गरिएको थियो । आदेशमा अनावश्यकरुपमा मानिस जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा महोत्सव तथा भोज आदि गर्नरगराउन नपाउने उल्लेख छ ।
आदेशानुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ र बेलुका ४ देखि ७ सम्म सञ्चालन गर्न भने पाइने छैन । सार्वजनिक एवं निजी निर्माण कार्यका लागि ढुवानीका साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।
स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनका सबै प्रोटोकल पालना गरी भिडभाड नगरी सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको यसअघिको आदेशलाई कायमै राखिएको छ । यस अवधिमा पर्ने चाडपर्वसमेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिकरुपमा मात्र मनाउन भनिएको छ । आदेशको नियमित अनुगमन हुने र मापदण्ड पालना नगरेको पाइएमा कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।
-

पोखरामा खुल्यो लकडाउन, रात्रिकालिन व्यवसाय समेत चल्ने
पोखरा । पोखरामा सबै प्रकारका पर्यटकीय गतिविधि शुरु भएको छ । बैशाख तेस्रो सातादेखि पोखरामा जारी भएको लकडाउन अब पूर्ण रुपमा खुलेको हो । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। यससँगै पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबारलगायत सबै गतिविधि खुलाउने निर्णय भएको हो । जेठ अन्तिम सातादेखि लकडाउन खुकुलो भएपनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन्।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण र मृत्युदर घटेका कारण लकडाउन खुला गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ आदेश जारी गरि लकडाउन खुला गरिए पनि सरकारले जारी गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड भने पूर्ण रुपमा पालना गर्न भनेका छन् ।
यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार अब थप समयसम्म खोल्न पाइने भएको छ। बुधबार जारी गरेको आदेशमा पोखराका होटल तथा रेष्टुरेण्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख छ। डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने भएको छ ।
-

१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य सपल सञ्चालन गर्दै आएको छ ।
कम्पनीले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो । । लिमिटेडले हरेक वर्ष चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदै छ । यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछ । सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट गरिएको छ ।
-

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक युवति वेपत्ता भएकी छिन् । प्रहरीका अनुसार घटना मङ्गलवार भएको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् ।
आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरी खोजीमा जुटेका थिए । घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको साथीहरुले बताएका छन् । त्यसपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।
-

हलेसी मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला
खोटाङ । कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारबाट सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । खोटाङ जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र को आइतबार बसेको बैठकले मन्दिर खुलाउने निर्णय लिएको हो । मन्दिर ५ वैशाखदेखि बन्छ ।
अब मन्दिरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न पाइने भएको हो । महामारीपछि दैनिक बिहान र बेलुका हुँदै आएको नित्य पूजालाई मात्र निरन्तरता दिएर बन्द गरिएको थियो । ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गरिरहेका थिए । अब भने भित्रै पुगेर दर्शन गर्न पाइने भएको हो ।
हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको छ । हलेसी नेपालकै चर्चित तीर्थस्थलमध्ये एक हो ।
-

युट्युबको आम्दानीमा अब एक प्रतिशत कर
काठमाडौं । नेपाल सरकारले युट्युबसहित सामाजिक संजालबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको छ । अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरेका हुन् । उनका अनुसारु व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ । यससँगै नेपालमा लामो समयदेखि बहसमा रहेको सामाजिक संजालको आम्दानी अब करको दायरामा समेटिएको हो ।
-

आज ऋषिपञ्चमी पूजा, तीज सकिँदै
काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी, देशभर ऋषिपञ्चमी पर्व मनाइँदैछ । हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउँछन् । आजबाट तीज पर्व समेत समाप्त हुने छ । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने प्रचलन रहेको छ ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । राससका अनुसार आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।
-

पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला
काठमाडौं । पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट दर्शन गर्न पाइने भएको छ । सर्वसाधारणले निर्वाध दर्शन गर्न पाउने गरि आजबाट मन्दिर खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको महामारीका बीच मन्दिर पछिल्लो चार महिनायता बन्द थियो । शुक्रबार बिहान ६ बजेदेखि दर्शन खुल्ला भएको छ । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको हो ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।
लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो । विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । बिहीबार तीजका अवसरमा अधिक भीडभाड हुने भएकाले मन्दिर बन्द नै रह्यो ।
