Category: फिचर

  • भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    काठमाडौँ, १६ भदौः गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भने, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।”

    गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताए । “सुरक्षा संयन्त्रले पूरा शक्तिका साथ काम गरिरहेको छ, त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा दलदल थियो, एक्साभेटरसमेत डुबेको थियो”, उद्धारका प्रयासबारे जानकारी दिँदै उनले भने, “अहिले सुरुङको क्राउनसम्म पुग्न सफल भएका छौँ, विद्युत् गृहको माथिबाट खनेर जान सकिन्छ कि भनेर प्रयास गरिरहेको छौँ ।”

    सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको स्पष्टोक्ति थियो । “विभिन्न टनेलमा ड्रोन पनि पठाइएको छ । सुरुङभित्रको उद्धारको अझै पनि प्रयास जारी छ, अझै आशा बाँकी नै छ”, उनले भने, “सुरूङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहनुभएको छ कि भन्ने आशा छ ।”

    उनले विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरिएको जानकारी दिए । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको जानकारी दिँदै त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रमा सुरक्षित स्थानमा जान माइकिङ गरिएको जानकारी दिए ।

  • भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकको संख्या एक हजार कट्यो, चार हजार ६०६ सम्पर्कविहीन

    भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकको संख्या एक हजार कट्यो, चार हजार ६०६ सम्पर्कविहीन


    काठमाडौँ, १६ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् ।

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा छन् । बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २१४ पुरुष, एक हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ ।

    सम्पर्कविहीनको विवरणमा दुई हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष, ३३० विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाइएका एक हजार ३४० गरी चार हजार ६०६ जना रहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण सङ्कलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

    भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ ।

  • उद्धार र राहतमा आजको अपडेट के छ ? प्रधानमन्त्रीले दिए यस्तो जानकारी

    उद्धार र राहतमा आजको अपडेट के छ ? प्रधानमन्त्रीले दिए यस्तो जानकारी


    काठमाडौँ, १६ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”

    प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन् । “हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ,” उनले भनेका छन्, “हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउँ चट्टान किन खस्यो रु यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।”

    हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । “विज्ञहरू भन्छन्, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेको हुनसक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्छ । हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ ।’

    प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेको समेत उल्लेख गरे । साथै प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उनीहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको उनको भनाइ छ । उनका अनुसार बाढी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरणकार्य जारी छ । नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गर्नु भएको छ । रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।

    प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तरराष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गरेका छन् । उनका अनुसार भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग दिन सुरु गरेको थियो । भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । उद्धारका लागि भारतको ११ सदस्यीय टोली पनि नेपाल आइसकेको छ । साथै, २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।

    पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ । श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ । चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रूपैयाँ सहयोग गरिसकेको छ । चीनबाट आएको उद्धार टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेको छ । चीनले ५० टन राहत सामग्री उपलब्ध गराएको छ । साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।

    अमेरिकाबाट पाँच लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर (नगद सहयोग)को प्रतिबद्धता आएको छ । यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ । कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । स्विट्जरल्यान्डबाट एक मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र सङ्घबाट खर्च हुने गरी) प्राप्त भएको छ ।

    एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । यस कार्यमा युके, जापानलगायत मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको छ भने इयू र सयुक्त राष्ट्रसङ्घका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको छ ।

  • रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

    रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

    काठमाडौँ, १६ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गरेका छन् । सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
    उक्त भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्दारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।

    विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए । सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह गरे ।

  • बाढी छिरेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम रोकियो

    बाढी छिरेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम रोकियो

    काठमाडौँ, १६ भदौः बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौँको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)का अनुसार सोमबार राति आएको बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो । परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पिआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

    यसअघि पनि बाढीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरुद्ध भएको थियो । बन्द भएको केन्द्र पीआईडीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको उनले बताए ।
    प्रतिदिन तीन करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको केन्द्रको परीक्षण गत असार ३० गतेदेखि भइरहेको थियो ।

    उक्त पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ओछ्याएकाले पाइपलाइन सफाइ र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । पाइपलाइन सफाइको काम सुरु भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने बताउँदै सो अवधिसम्म प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्ने उनले जानकारी दिए ।

  • पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

    पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

    गुल्मी, १६ भदौः अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका २ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

    सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।

  • मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण

    मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण


    कास्की, १६ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको आज निरीक्षण गरेका छन् । गत साउन अन्तिम साता मोदी खोलाको बाढीले ठाउँठाउँमा कटान गर्दा यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । यसबाट अन्नपूर्णका चार वडा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका छन् ।

    बाढीले अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा १०० मिटर पक्की कालोपत्रे सडक बगाएको छ भने बस्ती जोखिममा परेको छ । सो स्थानमा अहिले प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा सडक मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ । सडकको अवस्था, भइरहेको मर्मतको प्रगति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले सडक छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
    “अवरुद्ध सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याएर स्थानीयवासीको आवागमन सहज बनाउने गरी काम भइरहेको छ । प्रदेश सरकारलगायत निकायको निरन्तरको प्रयास र सहकार्यबाट सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरेका छौँ”, उनले भने । मोदी बाढीले सबैभन्दा बढी प्रभावित बनाएको बिरेठाँटी तथा चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ । चिम्रुङ तमु चोक स्याउली बजार सडक खण्डमा पनि अहिले वैकल्पिक ट्र्याक खन्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

    मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधिसमेत प्रभावित बनेका छन् । सडक पुनःनिर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गरेको र गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडकको पुनःनिर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराएको छ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराएको छ ।

    बिरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ । पर्यटकीय मौसम आउनै लाग्दा सडक अवरुद्ध भएपछि पर्यटन क्षेत्र सुस्ताएको छ भने स्थानीयवासीको समेत दैनिकी प्रभावित बनेको छ ।

  • प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा

    प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्ध ठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी सञ्चार माध्यमले सोमबार जनाएका छन् । “समुद्रमा तेल फालेका तस्बिर प्रकाशित भएपछि विशेषज्ञ र सफाइ टोली स्थलमा पठाइयो र प्रदूषण गराउने जहाज कब्जा गरियो,” दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले इरानी सरकारी समाचार संस्थालाई बताए ।


    “कब्जा गरिएको जहाज चिनी बोकेको विशाल जहाज रहेको र यसले जलेको तेल, प्रदुषित पानी र औद्योगिक फोहोरको मिश्रण सिधै समुद्रमा फालेको थियो,” उनले भने । उनले जहाज कुन देशको हो र त्यसमा रहेका चालक दलको राष्ट्रियता उल्लेख गरेनन् । पानीबाट फोहोर सफा गरिसकिएको र जहाज न्यायपालिकामा पठाइएको उनले बताए । इरानले पछिल्ला हप्ताहरूमा भएका धेरै तेल चुहावटपछि क्षतिपूर्तिको माग गरेको छ, जसमा केश्म टापु नजिकको घटना पनि समावेश छ।

    अगस्टको सुरुमा छिमेकी ओमान नजिक एउटा ट्याङ्कर रोकिएपछि तेलको दाग देखिएको थियो। एएफपीको अनुसन्धानले उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल–काब्लिय–याह टापु नजिक एक हप्ताजति अलपत्र भएको पत्ता लगाएको थियो। फेब्रुअरीमा मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यसले पारवहन गर्ने जहाजहरूबाट शुल्क उठाएर वातावरण संरक्षणलगायत सेवाहरूको लागि रकम जुटाउने योजना बनाएको छ । अमेरिकाले जलमार्गमा कुनै पनि शुल्कको उठाउने कुराको कडा विरोध गर्छ ।

  • रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    म्याग्दी, १६ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका छन् । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

    “म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भने, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

    याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए । उनका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

    धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आएका छन् । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुन् । उनीहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन् । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

    समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो । डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हँुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

  • मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु


    मुस्ताङ, १६ भदौः जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए ।

    यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए । उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो ।

    कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित ९हाइब्रिड० जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ । जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ । किसान भीम गुरुङको स्याउ बगैँचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिनुभयो । जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडाँै पु¥याउने तयारी भइरहेको बताए ।

    स्थानीय भीम गुरुङको स्याउ बगैँचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पु¥याउने, स्याउको ग्रेडिङ, नापतौल र प्याकेजिङलगायत स्याउ लोड गर्ने कार्यका लागि करिब तीन दर्जन कामदार परिचालित गरिएको छ । व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौँ पु¥याउने योजना रहेको बताए । उनका अनुसार उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताए ।


    यसैगरी घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौँ पु¥याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिए । फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौँमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाइ छ ।

    जिल्लामा स्याउको यहाँ सुरु भएसँगै यहाँका स्याउ बगँैचामा लटरम्म स्याउ फल्न थालेका छन् । स्याउको सिजन सुरु भएसँगै मुस्ताङमा स्याउ व्यापारीहरुको चहलपहल बाक्लिएको छ । स्याउ व्यापारीहरुले साउनअगावै किसानको बगैँचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ सङ्कलन गर्न मुस्ताङ आउने गर्छन ।

    जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो । मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ ।

  • जलवायु परिवर्तनका परिणामबारे विश्वका नेताहरू संवेदनशील बन्नुपर्छ : राष्ट्रसंघ

    जलवायु परिवर्तनका परिणामबारे विश्वका नेताहरू संवेदनशील बन्नुपर्छ : राष्ट्रसंघ


    कोरोर, पलाउ, १६ भदौ (रासस–एएफपी) । प्रशान्त महासागरमा बढ्दो समुद्री सतहबारे विश्वका नेताहरू संवेदनशील बन्नुपर्ने राष्ट्रसङ्घीय अधिकारीहरूले बताएका छन् । विश्वको प्रमुख अर्थतन्त्र मानिने मुलुकका नेताहरूले प्रशान्त महासागरको एउटा टापुमा उभिएर समुद्री सतहको उच्च वृद्धि वास्तविकता आफ्नै आँखाले देख्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले पलाउमा सोमबार बताए । गत साता नेपालमा भएको घातक बाढीलाई उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले प्रशान्त महासागरमा बढ्दो समुद्री सतह त्यसको ‘अर्को पाटो’ भएको बताइन् ।


    “हामीलाई पहिले नै थाहा थियो कि तातो जलवायुले विश्वका बरफलाई असाधारण गतिमा परिवर्तन गरिरहेको छ, जसले हिमनदीमुनि बस्ने समुदायलाई मात्र खतरामा पार्दैन, बरु हाम्रा महासागरहरूमा थप पानी थुपारिरहेको छ,” उनले पत्रकारहरूसँग भनिन् । मोहम्मदले पलाउमा बोल्दै भनिन्, “प्रशान्त क्षेत्रका नेताहरू जलवायु परिवर्तन, अपराध र क्षेत्रीय सुरक्षालगायतका चुनौतीहरूबारे छलफल गर्न वार्षिक शिखर सम्मेलनका लागि भेला भएका छन् । उनीहरूले मानव सिर्जित जलवायु परिवर्तनका कारकलाई नियन्त्रण गर्न पहलहरूलाई थप सशक्तताका समथ अघि बढाउनुपर्छ ।”

    मोहम्मदका अनुसार राष्ट्रसङ्घले जी–२० समूह राष्ट्रका नेताहरूलाई अक्टोबरमा विश्वको सानो राष्ट्रमध्ये एक मुलुक टुभालुमा आयोजना हुने बैठकमा सहभागी भई प्रतिबद्धता जनाउन आग्रह गरिरहेको छ । यो बैठक टर्कीमा हुने आगामी संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनअघि हुनेछ । “हामीलाई लाग्छ कि उनीहरू आएर विश्वलाई उनीहरूले के गर्नुपर्छ भन्ने कुरामा साँच्चै संलग्न हुनुपर्छ,” उनले भने । यद्यपि सम्मेलनमा प्रशान्त क्षेत्रबाहिरका थोरै नेता मात्र यात्रा गर्ने चिन्ता छ ।

    जलवायु सङ्कटमा सबैभन्दा संवेदनशील देशहरूमध्ये एक टुभालुले वैज्ञानिकहरूले अधिकांश भूमि डुब्न सक्ने भविष्यवाणी गरेपछि आफ्नो जनसङ्ख्यालाई स्थानान्तरण गर्न तयारी गरिरहेको छ । पलाउका वातावरण मन्त्री स्टिभन भिक्टरले भने, “प्रशान्त क्षेत्र ‘कुनै पनि अनुदान माग्दै छैन’ तर बढ्दो समुद्री सतहबाट सबैभन्दा बढी प्रभावित समुदायहरूलाई सामना गर्न उनीहरूसँग स्रोत कम छन्। यो समृद्ध राष्ट्रले बुझ्नुपर्छ । समस्यालाई उनीहरू आएर प्रत्यक्ष देख्नुपर्छ र समाधानका लागि तत्पर बन्नुपर्छ ।”

    सोमबार प्रकाशित संयुक्त राष्ट्रको प्रतिवेदनले महासागर तातो बन्दै जाँदा र हिमनदी पग्लने कारणले समुद्री सतह वृद्धि रेकर्ड गतिमा भइरहेको देखाएको छ। “सन् २०५० सम्ममा १.२ अर्बसम्म मानिस विस्थापित हुन सक्छन् भने प्रशान्त टापु राष्ट्रहरूमा समुद्री सतह वृद्धि विश्वको औसतभन्दा दोब्बर छ,” प्रतिवेदनमा भनिएको छ। यसले वित्तपोषणको खाडल पनि उजागर गरेको छ। विकासशील देशहरूलाई अनुकूलनका लागि ३१०–३६५ अर्ब डलर चाहिन्छ, तर सन् २०२३ मा अनुकूलन वित्त मात्र २६ अर्ब डलर उपलब्ध थियो ।

    –कोरल चट्टानहरू दबाबमा–

    सोमबार पलाउमा वैज्ञानिकहरूले जारी गरेको अर्को प्रतिवेदनमा भनिएको छ, “कोरल चट्टानहरू ‘पतनको सङ्घार’ मा छन् । जलवायु परिवर्तनका कारण ४० वर्षमा कडा कोरलको विश्वव्यापी अवस्था ९.५ प्रतिशत घटेको छ ।” ‘ग्लोबल कोरल रिफ मोनिटरिङ नेटवर्क’ले १२० देशका ३७ हजार चट्टानका तथ्याङ्क विश्लेषण गर्दा प्रमुख ‘ब्लीचिङ’ का घटनाहरूबीचको समय अन्तर साँघुरिएको पाइएको छ । ब्लीचिङपछि पर्याप्त समय भएमा चट्टानहरू पुनःप्राप्त हुन सक्छन्, तर समुद्री ताप लहरको आवृत्तिले आंशिक प्रगति मात्र हुन्छ ।

    अध्ययनले सन् २०१० देखि हरेक पाँच देखि छ वर्षमा प्रमुख ब्लीचिङ घटना भएको पत्ता लगाएको छ । “हामी उनीहरूलाई पुनःप्राप्त गर्न आवश्यक अवस्था बिस्तारै नष्ट गर्दैछौँ,” अध्ययनका प्रमुख लेखक म्यानुएल गोन्जालेज रिभेरोले भने । उनले भने, “जलवायु परिवर्तनले अझ बारम्बार र गम्भीर समुद्री ताप लहर निम्त्याइरहेको छ, र कमसल पानीको गुणस्तर, अत्यधिक माछा मार्ने क्रम र तटीय विकासजस्ता स्थानीय दबाबले चट्टानहरूलाई यसको सामना गर्न अझ कमजोर बनाइरहेको छ ।”

    सबैभन्दा बढी प्रभावितमध्ये अस्ट्रेलिया, प्रशान्त र क्यारिबियनका चट्टानहरू रहेका छन् । लगभग १० करोड मानिस कोरल चट्टानबाट पाँच किलोमिटर भित्र बस्छन्, जुन दुई दशकमा ४६ प्रतिशतको वृद्धि हो। “प्रशान्त राष्ट्रहरूका लागि समुद्र राजमार्ग थियो, जसले मानिसहरूलाई जोड्थ्यो, तर अहिले सङ्कटमा छ,” पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्प्सले भने ।

  • इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी

    इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले सोमबार इजरायली प्रधानमन्त्रीले वासिङ्टनलाई इस्लामिक गणतन्त्र इरानसँग युद्धमा फसाएको आरोप लगाउँदै बेन्जामिन नेतान्याहूलाई ‘विषालु सर्प’ को संज्ञा दिएका छन् । इरानी विदेशमन्त्री अराघचीले भने, “नेतान्याहूले हिब्रु भाषामा खुलेर गर्व गर्नुहुन्छ, उहाँले इजरायलको तर्फबाट इरानसँग युद्ध गर्न अमेरिकी प्रशासनलाई फसाउनुभएको छ ।”

    फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलाबाट इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि आक्रमण गरेर अमेरिका–इजरायली हमलाको जवाफ दियो र द्वन्द्व फैलिँदै गयो ।

    अप्रिलको युद्धविरामले सबैभन्दा तीव्र लडाइँ अन्त्य ग¥यो, तर हर्मुज जलमार्ग नजिक मुख्य रूपमा हुने छिटपुट आक्रमणले अन्तिम शान्ति सम्झौताको सम्भावना कमजोर बनाएको छ । अमेरिका हालै इरानको ‘आर्थिक सङ्कट’ निम्त्याएर दवाव दिने अभियानतर्फ लागेको छ । अमेरिकाले आइतबार राति इरानी टापु लारकमा आक्रमण गरेको थियो । यो एक महिनामा पहिलो ठूलो आक्रमण हो । जवाफमा इरानले जोर्डन र यूएईका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

    “इरानका नेताहरूलाई ‘जङ्गली’ जन्तुको संज्ञा दिँदै गत साता नेतान्याहूले भनेका थिए, “इरान–अमेरिका सम्झौताको कुनै सम्भावना छैन ।” नेतान्याहू लामो समयदेखि इरानसँग कूटनीति गर्नु गलत हुने धारणा राख्छन् । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को आणविक सम्झौताको खुलेर विरोध गरेका थिए । तर ट्रम्पले वार्तामार्फत समाधान खोज्दा सार्वजनिक रूपमा आलोचना गर्ने कुरामा सावधान बनेका थिए ।

  • इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    दुबई, १६ भदौ (रासस–एएफपी) । संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई ‘खतरनाक वृद्धि’ भनेको छ । यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो ।

    यो मे महिनापछि यूएईको क्षेत्रलाई लक्षित गर्ने पहिलो इरानी आक्रमण हो, यद्यपि खाडी मुलुकले यस महिना आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेको छ । यूएईको परराष्ट्र मन्त्रालयले एक्समा जारी वक्तव्यमा भनिएको छ, “यूएईको क्षेत्रीय जलक्षेत्रमाथि हवाई रक्षा प्रणालीले रोकेको ड्रोन संलग्न शत्रुतापूर्ण इरानी आक्रमणको कडा निन्दा गर्दछ ।”

    मन्त्रालयले यूएईले ‘जवाफ दिने पूर्ण र वैध अधिकार’ सुरक्षित राखेको पनि बताएको छ । रक्षा मन्त्रालयले इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रण गरेको बताउँदै अमेरिकी कर्मचारी बस्ने अखडामा क्षेप्यास्त्र आक्रमण भएको अफवाह अस्वीकार गर्‍यो । सोमबारको सुरुमा इरानले अल मिन्हाद हवाई अड्डालाई ‘दर्जनौँ ड्रोन आक्रमण” बाट लक्षित गरेको दाबी गरेको थियो ।

  • सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै


    डडेल्धुरा, १६ भदौः सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।

    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने आलिताल डडेल्धुराका ७८ बर्षिय खगेस्वरी भट्टले बताए ।

    “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ”, उनले भने, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

    फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने संस्कृतिका जानकार मुरलीधर अवस्थिले बताए । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उनले भने, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।

    सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्राइने व्रतालु सरस्वती अवस्थी बताउँछिन् । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गछौँँ”, उनले भनिन्, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”

    अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजा महाराजाका वीरगाताका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा खेलिने चलन छ ।

    प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ ।

    शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ। गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि ठाउँ ठाउँमा गरिन्छन् ।

  • मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मियामी, १६ भदौ (रासस–एएफपी) । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गरेका छन् । उनले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु¥याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।

    फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो।” उनले भने, “म शपथ खाएर भन्छु कि मैले सधैँ सबैथोक दिएँ, केवल पछिल्ला वर्षहरूमा जब हामीले सबै जित्यौँ मात्र होइन । त्यसभन्दा अघि पनि । मैले सधैँ यो जर्सीका लागि लडें र सबै दिएँ।”

    मेस्सीको कप्तानीमा उनले सन् २०२२ मा दोहामा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितेर अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए । तर उनको टोलीले सन् २०२६ को फाइनलमा इस्ट रदरफोर्ड, न्यू जर्सीमा स्पेनसँग १–० ले हार बेहोर्‍ यो। अगस्टमा बुबा जर्जको मृत्युपछि मेस्सीले कुनै पनि प्रकारको फुटबल खेल्न ‘धेरै लामो समयसम्म’ जारी राख्नेबारे ‘गम्भीर शङ्का’ रहेको बताएका थिए ।


    मेजर लिग सकर क्लब इन्टर मियामीसँगको मेस्सीको करार सन् २०२८ को सिजनको अन्त्यसम्म चल्छ । उनले अर्जेन्टिनाका लागि २०७ खेल खेलिसकेका छन् र अर्जेन्टिनाका लागि १२५ गोल गरेर अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

  • ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन


    त्रिशूली (नुवाकोट), १६ भदौः नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।

    ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भने, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”

    ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।

  • हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट


    हेटौँडा, १६ भदौः हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

  • कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    चितवन, १६ भदौः पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ ।

    उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।


    सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।


    श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ।

  • ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन


    नारायणगढ (चितवन), १६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

    भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।
    उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

    प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

  • धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

    धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम


    धादिङ, १६ भदौः यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ ।

    प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले सो सडक सहित धादिङवेशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार,परेवाटार–आदमटार–बेलिनटार–मासटार, तथा धादिङबँेशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको छ ।

    बैठकले ती सडक तत्काल सञ्चालन योग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ ।

    त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय गरिएको छ । बाढीबाट धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ । समितिले प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

  • बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण


    काठमाडौँ, १६ भदौः विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

    आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

    हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ । नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ ।

    अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

  • पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    १६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ।

    विपतबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने जिम्मेवारी कार्यदलले पाएको छ । तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने समेत कार्यदलको जिम्मेवारी छ । प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरिने छ । तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार पारिने समेत मन्त्रालयले जनाएको छ ।

    आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्ने र संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्नेसमेत कार्यदलको जिम्मेवारीमा छ । पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई समेट्दै बुल्ड ब्याक बेटरको सिद्धान्त लागू गर्ने तथा दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा अनावश्यक दोहोरिने काम रोक्न एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गर्ने समेत कार्यदलको जिम्मेवारीमा रहेको छ ।


    आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गर्ने, कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्ने तथा कार्यदलको कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ ।


    विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने र कार्यदलले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कार्यलाई शिघ्र कार्यान्वयन गर्नेछ ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन


    काठमाडौँ, १५ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा–छहरे–नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उनले बताए ।


    वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

  • भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह

    भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह


    काठमाडौँ, १५ भदौः नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान, नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको हो ।

    भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ । दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

  • रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ

    रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ


    काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

  • जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?

    जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?


    काठमाडौँ, १५ भदौः सरकारले रसुवा बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी राखेको जनाएको छ । नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको हो । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ । नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ ।

    उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो । सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन् । नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार भइसकेको जनाएको छ ।

    माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ । उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ । उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेको सेनाको भनाइ छ । नुवाकोट माथिल्लो त्रिशूली थ्री ‘ए’ को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ । उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ ।

    माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ । हाल उक्त आयोजनामा नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जनाको उद्धार भइसकेको छ । सौर्य आयोजनाबाट चार जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना


    काठमाडौँ, १५ भदौः बाढी प्रभावित प्रभावित जिल्लामा अवरुद्ध भएको विद्युत् पुनःस्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाको कालिकास्थान, नौकुण्डको केही भाग गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग गरेर सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ ।

    साथै आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत्् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ । नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकामा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् सेवा उपलब्ध गरी काम भइरहेको छ । विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थान, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भाग बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्याउने काम भइरहेको छ ।

    मन्त्रालयका अनुसार धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकामा आमदघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालयका अनुसारसञ्चार सेवा पनि अधिकांश स्थानमा पूरा भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।

  • भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    गोरखा, १५ भदौः भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ । गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेकामध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव आज अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो ।

    पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


    भोटेकोशी बाढीले रसुवालगायत क्षेत्रबाट बगाएर ल्याएका र पहिचान गर्न नसकिने अवस्थाका, सडेगलेका सात वटा शव प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    काठमाडौँ, १५ भदौः रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीनरतीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

    सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पारेका छन् । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ ।

    त्रिशूली(३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

    माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ । खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ । लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ ।

    नौ सय ३९ शव फेला

    बाढीमा परी मृत्यु भएका ९३९ जनाको शव फेला परेको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८, चितवनमा २७९ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवलाई सुरक्षितसाथ जमिनमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

    बाढीबाट प्रभावित भएका ११ हजार ३७९ जनाको उद्धार भएको छ । बाढीमा परी घाइते भएकामध्ये १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    काठमाडौँ, १५ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ । कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार

    कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
    रसुवाको भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी दिए ।