काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । ह्वाइट हाउसमा भएको भेटपछि दुबै नेताले प्रेस कन्फ्रेन्समा बोलेका छन् । उनीहरुले एक अर्काको तारिफ गरे । दुई नेताबीचको भेटमा व्यापार मुद्दामा बढी कुराकानी भएको समेत उनीहरुले बताए ।
ट्रम्पले भारतबाट आउने सामानमा बराबरको आयात शूल्क लगाउने घोषणा गरे । मोदीले दुबै देशबीच व्यापार वार्ता सुरु गरिने बताए । उनले अमेरिकाका सहयोगी दुस्मन भन्दा पनि खराब रहेको समेत त्यस समय बताएका थिए ।
भेटमा मोदीले अवैध आप्रवासीलाई फिर्ता लैजान भारत तयार रहेको वाचा दिए । उनले रुस–युक्रेन युद्ध रोकिने आशा समेत गरेका छन् । ट्रम्पले अमेरिकाबाट अधिक तेल भारत निर्यात गरिने समेत बताए । अहिले भारतले इराक र साउदी अरबबाट ९० अर्ब डलर बराबरको ग्यास र तेल खरीद गर्छ ।
काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले अब पोखरा–चीन नियमित उडान गर्ने भएको छ । कम्पनीले आगामी महिनाबाट पोखरा–ल्हासा रुटमा नियमित उडान गर्ने घोषणा गरेको छ । यद्दपी मिति भने तय भएको छैन । मार्च २०२५ बाट कम्पनीले नियमित उडानको योजना बनाएको बताएको छ ।
हिमालयले विभिन्न चिनियाँ शहरलाई काठमाडौंसँग सिधा उडानमा जोडेको छ । उसले पोखरामा समेत यस्तै ऐतिहासिक उडानको तयारी गरेको हो । हिमालय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुनेछ ।
यसअघि पोखरामा चार्टर्ड उडानहरु भने भएका छन् । तर, नियमित उडान हुन नसक्दा यो विमानस्थलमा गरिएको लगानीको औचित्यमाथि प्रश्न उठिरहेको थियो । भैरहवा विमानस्थलमा भने विभिन्न कम्पनीले राम्रो अक्कुपेन्सीमा नियमित उडान गरिरहेका छन् ।
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।
उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए। मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए ।
उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए । राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।
त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।
वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो । यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए।
उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो । उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिएका थिए।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ। कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ। यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो।
‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ। जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
तीन पांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। दुई पांग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। राससको सहयोगमा
काठमाडौं । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न स्क्याम सेन्टरमा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन्। म्यान्मारको स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो। उनीहरू सबै जनालाई थाईल्यान्ड ल्याइएको छ। मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्। उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।
अहिले थाईल्यान्ड पुग्नेमा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्राजिलका नागरिक छन्। गत साता चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गर्न प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
‘थाई सरकारले थाई भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो। थाईल्यान्डलाई कामदार र पैसा ओसार्ने क्रममा ट्रान्सिटका रूपमा प्रयोग गर्न नदिन ब्याङ्किङ र भिसासम्बन्धी नियममा कडाइ गरेको थियो। केही विपक्षी सांसदहरूले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए।
स्क्याम सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मारमा नभई थाईल्यान्डमा र स्क्याम सेन्टरमा नभई अन्यत्र काम गर्ने भनेर पनि ल्याएका हुन्छन्। त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्।
उनीहरूले अन्लाइनमा पिग बुचरिङ भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैर कानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्। केही विदेशहरू त्यस्तो काम गर्न तयार हुन्छन्। तर कैयौँलाई त्यहाँ बस्न बाध्य पारिन्छ र परिवारबाट ठूलो मात्रामा फिरौती ल्याए मात्र छोड्ने भनिन्छ। कुनै हिसाबले छोडेर भागेकाहरूलाई यातना दिइएको बताइन्छ।
यसरी उद्धार गरिएका विदेशी कामदारहरू डेमोक्र्याटिक करेन बेनभोलन्ट आर्मी (डीकेबीए)ले थाई सेनालाई हस्तान्तरण गरेको हो। डीकेबीए उक्त राज्यमा सक्रिय सशस्त्र समूहमध्ये एउटा हो। सशस्त्र समूहहरूले स्क्याम व्यवसायीहरूलाई ठाउँ उपलब्ध गराएको र संरक्षण प्रदान गरेको अनि त्यहाँ काम गर्न बाध्य पारिएका र मानव तस्करीमा परेका मानिसहरूले भोग्नुपरेको यातनालाई बेवास्ता गरेको आरोप खेप्नुपरेको छ।
म्यान्मार सन् १९४८ मा स्वतन्त्र भएदेखि नै त्यहाँको सरकारले करेन राज्यमा आफ्नो नियन्त्रण कायम राख्न सकेको छैन। थाईल्यान्डको विशेष अनुसन्धान विभागले करेन न्याश्नल आर्मी नामक एउटा सशस्त्र समूहका तीन कमान्डरहरूविरुद्ध मङ्गलवार पक्राउपुर्जी जारी गरेको थियो। तीमध्ये एक सअ चित थू हुन् जसले चिनियाँ कम्पनीसँग सन् २०१७ मा श्वे कोक्को भन्ने सहर स्थापना गर्न एउटा सहमति गरेका थिए। यो नयाँ सहरमा विशेष गरी ठगी धन्दाबाट आर्जित पैसा लगानी भएको ठानिन्छ। बीबीसी नेपाली सेवाबाट
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।
घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो । क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन ।
कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चनालगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए । महासचिव भुसालका अनुसार हालसम्म ७०० भन्दा बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरुको ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।
सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । रासस
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएका छन् । भट्टराई ६८८ मतान्तरले विजयी भए ।
कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए। भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो। महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो। उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्।
साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए। महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए। सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका हुन्। ९९ सदस्यीय केन्द्रीय समितिमा ७० पदका लागि निर्वाचन भएको थियो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।
मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै, हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमान रूपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे । यस्तै, आगामी २६, २७ चैत मा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्य रूपमा गर्न छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए । बैठकमा कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।
काठमाडौं । अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ का २९ वर्षीय विशाल ठाकुर छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै उनीहरूले दुई जनाबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।
काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् ।
सबैभन्दा कम खोप कर्णाली प्रदेशमा लगाइएको छ । कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन् । यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको छन्।
जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ । महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।
डा। गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । गौतमका अनुसार लक्षित वर्गको ९० प्रतिशतभन्दा बढी खोप लिइने लक्ष्य राखिएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ। चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।
एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन। वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन।
त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ।’
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ। एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ। त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ। यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ। २५ वर्ष उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसमा संक्रमण हुन्छ, सर्छ।
धेरैजसो मानिसमा भाइरस प्रवेश गरेको १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् । महिनावारी भएको बेला एचपीभी खोप लगाउन मिल्छ । किशरीहरूमा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपीभी खोप लगाउँदैमा किशोरीको महिनावारीको समय प्रभावित हुँदैन।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्श्कीबीच फोनवार्ता भएको छ । यसअघि ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच समेत फोनवार्ता भएको थियो । ह्वाइट हाउसले यी वार्ताबारे जानकारी गराएको छ । दुई नेताबीचको वार्ता सकारात्मक रहेको समेत ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बताएकी छिने ।
उनका अनुसार जेलेन्श्किीसँग ट्रम्पले युद्ध रोक्न र रुस तथा युक्रेनबीच शान्ती सम्झौताका लागि प्रतिवद्ध रहेको बताएका थिए । युक्रेनी राष्ट्रपतिले समेत ट्रम्पसँग विस्तृतमा कुराकानी भएको बताएका छन् । कुराकानीमा शान्ती स्थापनामा बढी जोड दिइएको समेत उनले बताएका छन् । उता ट्रम्प र पुटिनबीच समेत सीघ्र भेटघाटको तयारी भइरहेको बताइएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । सन् २०२४ मा ४० लाख ८० हजार टन स्टिल उपलब्ध गराउने ब्राजिल क्यानडापछि संयुक्त राज्य अमेरिकालाई इस्पातको दोस्रो ठुलो निर्यातक हो ।
करको सम्भावित प्रतिशोधको बारेमा सोधिएको प्रश्नमा संस्थागत सम्बन्ध मन्त्री अलेक्जेन्ड्रे पाडिल्हाले पत्रकारहरूलाई भने, “सरकारले यस विषयमा कुनै छलफल गरेको छैन, तर व्यावसायिक गतिरोधको विरोध गरेको छ ।” “ब्राजिलले कुनै पनि व्यापार युद्धलाई प्रोत्साहित गर्दैन र प्रवेश गर्दैन,” पाडिल्हाले भने । यद्यपि, यो राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले गत महिना गरेको टिप्पणीको विपरीत छ ।
उनले यदि ट्रम्पले ब्राजिलमाथि कर वृद्धिको भार थोपरेमा प्रतिकार गर्ने बताएका थिए । “यो एकदम सरल छः यदि उनले ब्राजिलका उत्पादनहरूमा कर लगाउनुभयो भने ब्राजिलले संयुक्त राज्य अमेरिकाबाट निर्यात हुने उत्पादनहरूमा कर लगाउनेछ,” ७९ वर्षीय लुलाले उक्त अवसरमा भनेका थिए । लुलाले अमेरिकासँगको सम्बन्ध सुधारगर्न र चीनपछि ब्राजिलको दोस्रो ठूलो व्यापारिक साझेदारसँग व्यापार सम्बन्ध बढाउन चाहेको बताए ।
ब्राजिलका अर्थमन्त्री फर्नान्डो हदादले ट्रम्पले लगाएको जस्तो एकतर्फी कर ’विश्व अर्थतन्त्रसुधारका लागि प्रत्युत्पादक’ भएको बताए । उनले भने, “यो नयाँ कर वृद्धिले ब्राजिललाई मात्र एकल असर गर्दैन, बरु सम्पूर्ण विश्वलाई लक्षित गर्दछ र ब्राजिलले ट्रम्पलाई कसरी प्रतिक्रिया दिने निर्णय गर्नु अघि अन्य देशहरूले कस्तो प्रतिक्रिया देखाउँछन् भनी हेरिरहेको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नुपर्दा उनीहरूको सुरक्षाको लागि स्टीलमा यस्तै कर वृद्धि लागू गरेका िथए । यद्यपि, कोटा आयात गर्न सहमत भएपछि ब्राजिललाई छुट दिइएको थियो । एजीएल कार्गो निर्यात कम्पनीका संस्थागत सम्बन्ध निर्देशक ज्याक्सन क्याम्पोसले एएफपीसँग भने, “ब्राजिलले प्रतिशोधको सट्टा कूटनीति रोज्ने सम्भावना छ ।”
क्याम्पोसले भने, “कूटनीतिको माध्यमबाट वार्ता गर्नु एउटा विकल्प हुनेछ, किनभने यसको तत्काल प्रभाव पर्छ । यदि सम्झौता हुन सकेन भने ब्राजिलले भारत, दक्षिण कोरिया र अफ्रिकालाई हेरेर बजारलाई विविधीकरण गर्ने प्रयास गर्न सक्छ ।” ब्राजिलस्थित अमेरिकी चेम्बर अफ कमर्शले एक विज्ञप्ति जारी गर्दै स्टिल र आल्मुनियममा लगाइने करले यी क्षेत्रमा ब्राजिलको निर्यातमा उल्लेखनीय असर पार्ने सम्भावना रहेकाले वार्ताबाट समाधानको अपेक्षा गरेको जनाएको छ ।
“सन् २०२४ मा ब्राजिलले संयुक्त राज्य अमेरिकामा ५.७ अर्ब डलरभन्दा बढीको स्टिल र फलाम निर्यात गरेको थियो । सोही वर्ष ब्राजिलले अमेरिकी बजारमा २६ करोड ७० लाख अमेरिकी डलरबराबरको आल्मुनियम निर्यात गरेको थियो, जुन ब्राजिलको विश्वव्यापी बिक्रीको १६.७ प्रतिशत बराबर हो ।
ब्राजिलको स्टिल इन्स्टिच्युटले भनेको छ, “विशेषगरी देशको बजार अमेरिकासँग पहिल्यै प्रतिस्पर्धा गरिरहेका चीनजस्ता मुलुकबाट आयातमा भएको उल्लेखनीय वृद्धिले पनि प्रभावित भएको छ । “इन्स्टिच्युटले व्यापार प्रतिरक्षाका उपायहरूको परिणामस्वरूप ‘ब्राजिलले तेस्रो देशहरूबाट संयुक्त राज्य अमेरिकामा स्टील उत्पादनहरू रोक्ने कुनै सम्भावना छैन,” ट्रम्पले भनेका छन् । रासस\एएफपी
काठमाडौं \बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार वाशिङ्टन डीसी पुगेर राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दा न्यानो स्वागत पाउने छन्। तर उनको भ्रमण त्यतिमा मात्र सीमित हुने छैन। पछिल्ला वर्षहरूमा ट्रम्प र मोदीले बलियो व्यक्तिगत सम्बन्ध विकास गरेका छन्। दुई देशबीच उच्चस्तरीय भेटघाटहरू भएका छन् र उनीहरू सँगसँगै देखा पनि परेका छन्।
सन् २०१७ मा वाशिङ्टनमा भएको पहिलो भेटघाटपश्चात् उनीहरूको सम्बन्ध झाँगिएको छ। ह्यूस्टन र अहमदाबादमा भएका विशाल र्यालीहरूमा उनीहरूको संयुक्त रूपमा उपस्थिति रहे। विश्वमामिला तथा राजनीतिमा समान दृष्टिकोण अनि चीनसँग जुझ्ने विषयमा रहेको आपसी रणनीतिक दृष्टिले उनीहरूको सम्बन्ध मात्र नभई अमेरिका-भारत साझेदारी पनि थप बलियो बनाएको छ।
सम्भवतः त्यसैले बेलाबेला भारतको आलोचना गरे पनि ट्रम्पले कहिल्यै मोदीको आलोचना गरेका छैनन्। मोदीको भ्रमणका बेला दुई नेताहरूले अमेरिका-भारत रणनीतिक साझेदारीका आगामी कार्यदिशाबारे पक्कै केही समय बिताउने छन्। मोदीले ट्रम्पका कैयौँ वरिष्ठ मन्त्रीहरूलाई भेट्ने छन्। उनले अमेरिकी अग्रणी व्यापारीहरू तथा भारतीय-अमेरिकी समुदायका सदस्यहरूसँग पनि कुराकानी गर्ने छन्। उनले स्पेसएक्स र टेस्लाका प्रमुख इलोन मस्कसँग पनि भेट्ने सम्भावना छ। मोदी भारतमा विद्युतीय गाडीको क्षेत्रमा विकास गर्न उत्सुक देखिन्छन्। उनी मस्कले भारतमा टेस्लाको कारखाना खोलेमा निकै खुसी हुने छन्।
तर ट्रम्प-मोदी मित्रता र रणनीतिक साझेदारीका कुराकानीले एउटा गम्भीर वास्तविकता छोपेको छ, मोदीको भ्रमणताका सम्बन्धको कारोबारी प्रकृति केन्द्रबिन्दुमा देखा पर्ने छ जहाँ दुवै नेता, अझ खास गरी ट्रम्पसँग मागहरूको सूची हुन सक्छ। दिल्लीले ट्रम्पलाई राम्रै बुझेको छ। अहिले मोदीको मन्त्रिपरिषद्का कतिपय सदस्यहरू उनको अघिल्लो कार्यकालमा पनि थिए।
त्यति बेला ट्रम्प आफ्नो पहिलो कार्यकाल सम्हाल्दै थिए। गत महिना भएको ट्रम्पको शपथग्रहण समारोहमा पनि यो चिनजान झल्किएको थियो स् अनि दिल्लीले अमेरिकी आयातमा शुल्क घटाउन, गैरकानुनी भारतीय आप्रवासी फिर्ता लिन र अमेरिकी तेल किन्न तयार रहेको सार्वजनिक सङ्केत दिइसकेको छ।
उसले केही वस्तुमा आयात शुल्क घटाइदिसकेको छ भने गत साता पहिलो खेपमा विमानमार्फत् आइपुगेका १०४ गैरकानुनी आप्रवासी भारतीयहरूलाई स्वीकार गरिसकेको छ। भारतमाथि ट्रम्पले कुनै लक्षित मागहरू नगरून् अनि नयाँ ट्रम्प प्रशासनसँग तनावको सम्भावना घटाउन यी कदमहरू चालिएका छन्।
पछिल्ला वर्षहरूमा भारतसँगको वस्तु तथा सेवा व्यापारमा अमेरिकाले बेहोरिरहेको करिब ४६ अर्ब डलरको घाटा कम होस् भन्ने उद्देश्यले ट्रम्पले मोदीसँग अमेरिकी आयातमा लगाइएका शुल्क अझै घटाउने माग राख्न सक्छन्। तर यो अवरोधले नयाँ अवसरको ढोका खोल्न सक्छ स् दुवै तर्फ शुल्क घटाउने गरी एउटा आर्थिक साझेदारी सहमतिका निम्ति द्विपक्षीय वार्ता थाल्न आग्रह मोदीले ट्रम्पलाई आग्रह गर्न सक्छन्।
हालैका वर्षहरूमा दिल्लीले व्यापार सम्झौताका लागि तयार रहेको सङ्केत दिएको छ। बाइडन प्रशासनभन्दा ट्रम्प प्रशासन यो मामिलामा खुला हुन सक्छ। बाइडन प्रशासनले नयँ व्यापार सम्झौताहरूमा थुप्रै वातावरणीय एवं श्रमसँग सम्बन्धित सर्तहरू तेर्स्याउने गर्थ्यो।
मोदीलाई थप गैरकानुनी भारतीय आप्रवासी फिर्ता लग्न पनि ट्रम्पले भन्न सक्छन्। कतिपय विवरणहरूमा त्यो सङ्ख्या सात लाख भनिएको छ – अमेरिकामा रहेका त्यस्ता मानिसहरूको यो तेस्रो ठूलो समुदाय हो। यो विषय चाहिँ दिल्लीका निम्ति अलि कठिन र संवेदनशील हुन सक्छ।
गत साता भारतीय विदेशमन्त्री एस जयशङ्करले संसद्मा बोल्दै भारत आफ्ना नागरिकहरूमाथि गलत व्यवहार नगरियोस् भन्ने निश्चय गर्न अमेरिकासँग मिलेर काम गरिरहेको बताए। गत साता फिर्ता पठाइएका भारतीयहरूलाई हतकडी लगाइएको विवरणले भारतमा क्रोध फैलिएको थियो।
ट्रम्पले अझ धेरै अमेरिकी तेल किन्न पनि मोदीलाई भन्न सक्छन्। सन् २०२१ मा अमेरिकी तेल निर्यातका लागि भारत मुख्य गन्तव्य थियो। तर युक्रेनमा रुसको अतिक्रमणले विश्वको तेल बजारमा उथलपुथल भयो अनि दिल्लीले उसको साझेदार रुसबाट सस्तोमा धेरै परिमाणमा तेल किन्न थाल्यो। तेलको मूल्यले नै भारतले अमेरिकाबाट कति परिमाणमा तेल किन्न चाहला भन्ने निर्क्योल गर्ने छ। मोदीले ऊर्जाको क्षेत्रमा विशेष आग्रह गर्न सक्छन् । दिल्लीले उसको परमाणु दायित्व कानुन परिमार्जन गर्दै छ अनि नयाँ परमाणु ऊर्जा अभियानको घोषणा गरेको छ। सन् २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यकताको आधा नविकरणीय ऊर्जा स्रोतबाट पूर्ति गर्ने भारतको लक्ष्य छ।
ट्रम्पलाई परमाणु ऊर्जामा लगानी गर्न अनुरोध गरेर उसले बीचको बाटो खोज्न सक्छ स् यो ऊर्जा परम्परागत इन्धनभन्दा सफा मानिन्छ तर ट्रम्प प्रशासनले लगानीका लागि खासै नरुचाउने सौर्य वा वायु ऊर्जा जस्तो पनि होइन। बाइडन कालमा द्विपक्षीय सम्बन्धमा प्रविधिको ठूलो महत्त्व रह्यो। सन् २०२२ मा आईआईटी भनिने इनिशटिभ अन क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलजिजको कार्यान्वयन गरियो। दुवै पक्षले यसलाई रणनीतिक साझेदारीको नयाँ पाटो माने।
कर्मचारीतन्त्रमा पुगेर यो विषयमा कुनै ढिलाइ नहोस् भनेर आईसीईटीको नेतृत्व दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको काँधमा दिइयो। मोदीले ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँग यस मामिलामा उनीहरूको प्रतिबद्धताबारे आश्वस्त हुन खोज्ने छन्। चीनसँग जुझ्नका लागि भारतलाई विश्वको प्रविधि आपूर्ति शृङ्खलामा बढी भूमिका दिने रुचिका कारण सायद उनीहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने छन्।
साथै प्रविधिको क्षेत्रमा मोदीले ट्रम्पसँग एच(वनबी भिसाको व्यवस्था कायम राख्न अनुरोध गर्न सक्छन्। यस्ता प्रवेशाज्ञा प्रतिभाशाली विदेशी कामदारहरूलाई दिइन्छ। ट्रम्पका कतिपय प्रभावशाली समर्थकहरूले यसको आलोचना गर्दै आएका छन्। अमेरिकामा रहेका ठूलो सङ्ख्याका भारतीय प्राविधिकहरूले यस्तो प्रवेशाज्ञा पाएका छन्।
तर गत साता अमेरिकी प्रशासनले तेहरानविरुद्ध अत्यधिक दबावको नीति घोषणा गरेको छ। चाबहारमा व्यापारीक गतिविधि गर्नेहरूविरुद्ध आर्थिक प्रतिबन्ध नलाग्ने गरी पहिले गरिएका व्यवस्था हटाइदिने सङ्केत उसले दिएको छ। मोदीले यस विषयले दिल्लीलाई पार्ने असरबारे प्रस्टता खोज्ने छन्।
अनि युक्रेन र गाजामा युद्ध रोक्ने उनको ठूलो विदेश नीति प्राथमिकताबारे पनि ट्रम्पले मोदीको विचार जान्न चाहलान्। दिल्ली दुवै युद्ध समाप्त भएको हेर्न चाहन्छ। युक्रेनको हकमा मोदीको नीति – युद्ध अन्त्यको आह्वान गर्ने तर रुस वा पुटिनको आलोचना नगर्ने – ट्रम्पसँग मेल खान्छ। भारतको रुससँगको विशेष सम्बन्ध अनि इजरेलसँगको निकटताका कारण ट्रम्पले मोदी ती द्वन्द्व समाधानमा तेस्रो पक्ष मध्यस्थकर्ताको भूमिका वहन गर्न इच्छुक छन् कि भनेर बुझ्न खोज्लान्। यदि सङ्घर्षरत पक्षहरू बाह्य मध्यस्थताबारे सहज भएमा मात्र मोदी यस्तो भूमिका वहन गर्न राजी होलान्। तर यी संवेदनशील कुराकानीका बाबजुद दुवै नेताहरूले सकारात्मक सन्देश दिन चाहने छन्। यहाँनेर इन्डो-प्यासिफिक क्वाडले उचित स्थान पाउने छ।
बेइजिङकेन्द्रित अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित यो समूहलाई ट्रम्पले बलियो समर्थन दिएका छन्। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले क्वाडको वार्षिक बैठकलाई विदेशमन्त्रीस्तरीय बनाइदिए भने पछि बाइडनले त्यसलाई शीर्ष नेता तहमा उचालिदिए। यो वर्षको क्वाड बैठक भारतमा हुँदै छ। मोदीले त्यसमा सहभागी हुन ट्रम्पलाई निम्तो दिन सक्ने छन्। अन्तर्राष्ट्रिय यात्रा गर्न ट्रम्प खासै रुचाउँदैनन्। तर सायद भारत भ्रमणका लागि भने उनी इच्छुक हुने छन् – मोदीसँगको व्यक्तिगत सम्बन्ध थप गहिरो बनाउन अनि बहुआयामिक द्विपक्षीय साझेदारीलाई अघि बढाउन।
काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा परी क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको छ ।
कपन बस्ने ११ वर्षका मोरङका क्रिसल पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका सुरेश तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो । तामाङ विद्यालयका शिक्षक हुन् ।
दुर्घटनामा ४० जना घाइते भएका थिए । विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजे दुर्घटना भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए ।
यसअघि आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । जुनकिरी इंग्लिस बोर्डिङको बा १ क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाइरहेका छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउने गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् ।
‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् । दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएकोसमेत प्रचण्डले दाबी गरेका छन् । उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’
दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् । ०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो । ०८० पुल १३ गते जारी भएको आदेशले ‘जनयुद्ध दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो ।
काठमाडौं । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले गाजामा पुनः आक्रमणको चेतावनी दिएका छन् । गाजामा अहिलेसम्म ४४ हजारभन्दा माथि निहत्था मानिसको ज्यान गइसकेको छ । इजरायली बन्धकको रिहाई हमासका तर्फबाट रोकिएसँगै इजरायली प्रधानमन्त्रीको यस्तो धम्की आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सोही धम्की दिइसकेका छन् ।
इजरायली प्रधानमन्त्रीले आफ्नो सेनालाई गाजा आसपास तैनाथ हुन आदेश गरेका छन् । हमासले भने इजरायलले युद्धबिराम पालना नगरेको आरोप लगाउँदै आएको छ । इजरायल र हमासबीच १९ जनवरीमा युद्धबिराम लागु भएको थियो । त्यसयता १६ इजरायली र ५ थाई बन्धकको रिहाई भइसकेको छ । यसबीचमा इजरायलले ५६६ प्यालेस्टाइनलाई छाडेको छ ।
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए।
उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् ।
छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो । गंकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले बताए । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।
काठमाडौं । रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति समेत मृत भेटिएका छन् । अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१ वर्षीय चन्द्रसिंह पुन पनि भूमे ४ को खुल्खुले खोलाको खोंचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलले जानकारी दिएका छन् ।
ढाटी र समीरको हत्याको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चन्द्रसिङ पुनको शव पनि फेला पारेको हो । तीनैजनाको शवको मचुल्का उठाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले बताएा छन् ।
काठमाडौं । धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिएको छ ।
प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भएको छ । मंगलबार राति अबेर मतदान सकिएको हो । ‘राति १२ बजे तिर मतदान सकिएको थियो । नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ ।
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं भिडेका छन् । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए ।
‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास’, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन्।
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा इनार खन्ने क्रममा पुरिएर एक जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत अवस्थामा उद्धार गरी घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपिएफ अस्पताल लगिएको थियो।
प्रवक्ता बोहोराका अनुसार मृत्यु हुनेमा सुनसरी इनरूवा गा.पा. ५ घर हुने ४० वर्षीय लिडे उराउ छन्। कामदार पुरिएको सूचना प्रहरीले पाएपश्चात् प्रहरी निरीक्षक माधव प्रसाद चौधरी, प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको कमाण्डमा २० जना टोली परिचालित थियो।
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालको अवस्था गतवर्षभन्दा खस्किएको छ । गत वर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपाली ३४ अंक सहित १०७ औ स्थानमा छ ।
गत वर्ष नेपालभन्दा राम्रो अवस्था भएका केही मुलुकहरुको अवस्था खस्किएकाले वरीयताक्रममा मात्रै नेपाल एक स्थानमा अगाडि भएको हो । ‘अहिले विश्वव्यापी सूचकांकको औसत अंक नै ४३ हो । त्यसमा पनि ५० अंकभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ’, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अध्यक्ष मदनकृष्ण शर्माले भने, ‘२र३ अंक सुधार हुनुलाई पनि सामान्य मानिन्छ । तर नेपालको अवस्था सुधारोन्मुख छैन ।’
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचार बढेको भन्ने आम बुझाइले नेपालको अवस्था थोरै खस्किएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफै सर्वेक्षण गर्दैन ।
विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका वारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ । विभिन्न निकायहरुले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्छ ।
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत र यसअघि सचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव उपाध्यायलाई अर्थमा र अर्थ सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन इमान्दारीपूर्वक योगदान गरेको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए ।
अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव घिमिरेले विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिका प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन आफूले सदा सहयोग गर्ने बताए ।
काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३स्१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४स्१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ ।
९ मंसिरदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट २४ माघसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए । पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत ६ मंसिरको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुईपाङ्गे्र सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनमा ल्याउनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका हुन् ।
उनले मुलुकमा कानुनहरू सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएमा निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए । उनले मुलुकमा पैसा भएर मात्रै विकास नहुने भएकाले पैसा आर्जनका लागि विकास गर्नुपर्ने सोचका साथ लाग्नुपर्नेमा जोड दिए । परिषद्का सदस्यहरूले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगवृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरूको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना छिटो सम्पन्न गर्ने विषयमा आफ्ना राय–सुझाव दिएका थिए ।
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्याउन ५ असोज २०७५ को मन्त्रिपरिषद् निर्णय बमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो । परिषद्को सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ लगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को बैठक भएको हो ।
बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयास, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभाव, विकास निर्माणमा भएका प्रगति, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो । बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
काठमाडौं । रसुवाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ। पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए ।
पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।
स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ । पण्डित तथा पुरोतिहरूले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहेको स्थानमा पुण्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घर नजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताए ।
एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन्।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियममा २५ प्रतिशत महसुल लगाउने घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, अमेरिका पुनः एक पटक धनी बन्ने कदमको यो सुरुवात हो । यो महसुल सबै देशका लागि लागू हुनेछ ।
आफ्नो देशलाई चाहिनी स्टील र आल्मुनियम आफ्नै देशमा उत्पादन गरिने भन्दै उनले अन्य मुलुकको उत्पादन आवश्यक नभएको समेत बताएका छन् । उनले महसुल लगाउनुका वावजुत अमेरिकामा यसको मूल्य नबढ्ने बरु अझ सस्तो हुने दावि गरेका छन् । वास्तवमा अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।
काठमाडौं । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ ।
गत वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या अक्टोबरमा १२।४ प्रतिशत, नोभेम्बरमा २।२ प्रतिशत र डिसेम्बरमा ९।० प्रतिशतले वृद्धि भएको थियो । व्यावसायिक, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा आवेदकहरूको कमी आएको तर निर्माण उद्योगमा यो दरमा सामान्य वृद्धि भएको छ ।
दक्षिण कोरियामा बेरोजगारहरूलाई रोजगारी खोज्न मद्दत गर्न सरकारले सहयोग प्रदान गर्छ र यो राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । जनवरीमा रोजगारीको लाभ प्राप्त गर्नेहरूको सङ्ख्या कुल छ लाख रहेको थियो र यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो । रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको कुल भुक्तानी ३.८ प्रतिशतले बढेर ९७४.७ बिलियन वोन (६७०.१ मिलियन अमेरिकी डलर) पुगेको छ । रासस–सिन्ह्वा