Category: फिचर

  • भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।

    भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार बसेको १४औं बैठकको निर्णयअनुसार एक महिनाभित्र नेपालले मोडालिटी तय गरिसक्नु पर्नेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो ।

    ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’


    गत फागुनको पहिलो सातामासम्पन्न नेपाल(भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल–मे २०२३मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । विद्युत आदान प्रदान समितिको बैठकले विद्युत आदानप्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ ।

    आर्थिक वर्ष सन् २०२२–२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदान दर तय गरेको हो । विद्युत आदानप्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेलामा विद्युत आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको वेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए । आव २०१९–२०का लागि तय भएको दर त्यसपछिका वर्षहरुलाई पुनरावलोकन हुन सकिरहेको थिएन ।

    भारतीय पक्षबाट वाषिर्क साढे पाँच प्रतिशतको मूल्यबृद्धि जोडर प्राधिकरणले आयात गर्ने विद्युत्को बिल पठाउने गरिएको थियो । विगतमा गरिएको विलिङलाई समायोजन गर्दै जाने सहमति भएको कार्यकारी निर्देशक घिसिङले बताए । यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको उनको भनाइ छ ।

    ‘नयाँ तय गरिएको दर टेक अर पे आधारमा हैन, हामीलाई आवश्यक पर्दा खरिद गरिने विद्युत्को दर हो, चाहिएको बेलामा मात्र विद्युत् आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो छ, उक्त दर हामीले विद्युत निर्यात गर्दा पनि पाउने छौं,’ घिसिङले भने ।

    उनले गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेस गरेको बताए ।

    घिसिङले भने, ‘प्रतिस्पर्धामा छनौट भएका कम्पनीहरुले आयातित कोइलाबाट उत्पादित विद्युतमात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचढाव आइरहेकोले उक्त कम्पनीहरु प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन् ।’

    बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकोले दर सस्तो भएको हो । प्रतिस्पर्धी बजारमा पनि दैनिक रुपमा प्रतियुनिट विद्युत्को औसत दर १२ भारुसम्म पने गएको छ । ‘यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ, त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ,’ घिसिङले भने ।

    प्राधिकरणले आवश्यक परेको वेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज० र महाकाली सन्धि अन्तर्गतको विजुली भारतबाट आयात गर्छ । व्यापारिकरुपमा ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

    प्राधिकरणले प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।

  • सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस

    काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् ।

    प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट मैदान निर्माणलाई तिब्रता दिनेमा सकारात्मक देखिएका छन् । उनले सो निर्वाचन क्षेत्रका अन्य समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ ।

  • सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएपछि उनको आलोचना भएको थियो ।

    राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरे । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरे । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए ।

    यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ

  • ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक

    काठमाडौं । आफ्नो यूट्यूब च्यानलबाट दुई वर्षसम्म गायब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप पुनः एक पटक यूट्यूबमा देखिएका छन् । उनले आफ्नो यूट्यूब च्यानलमा ११ सेकेण्डको भिडियो अपलोड गर्दै लेखेका छन्, आई एम ब्याक । यो भिडियो उनको एक चुनावी र्यालीको हो । जसमा उनले भनेका छन्, ‘तपाईलाई कुराएकोमा माफी चाहन्छु, यो एक जटिल मामला हो ।’


    सन् २०२० मा भएको राष्ट्रपति चुनावका हारेसँगै उनका समर्थकले वासिंटनस्थित क्यापिटल विल्डिङमा हंगामा मच्याएका थिए । त्यसछि उनका सामाजिक संजालहरु फ्रिज गरिएको थियो । उनले सामाजिक संजालका माध्यमबाट आफ्ना समर्थकलाई भड्काउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी पुनः एक पटक राष्ट्रपति चुनाव लड़ने तयारीमा छन् ।

  • काठमाडौं–सुर्खेत उडानको  जहाजमा समस्या, काठमाडौं फिर्ता

    काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता

    काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर जहाजमा आज पनि समस्या देखिएको छ । इन्डिकेसनमा समस्या देखिएपछि जहाजलाई काठमाडौं मै फिर्ता गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो जहाज अहिले ग्राउण्डेड गरिएको छ ।

    यसको चेक जाँच गर्ने इन्जिनियरलाई समेत काममा रोक लगाएको छ । पछिल्लो केही समययता नेपालका जहाजहरुमा निरन्तर यस प्रकारको समस्या दोहोरिने गरेको छ । केही दिन अगाडी मात्रै श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि फिर्ता गर्नु परेको थियो ।

  • अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।
    कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ । क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्।

    यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्। जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन्।

    अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले वास्तवमै महत्त्वपूर्ण क्षमता प्रदान गर्ने बताएका छन्। यस सम्झौताले देशलाई यथास्थितिबाट केही फरक अवस्थामा पुग्न मद्दत गर्ने र यसरी नै अस्ट्रेलियालाई सुरक्षित आफूहरू राख्न सक्षम भएको मन्त्रीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) लाई बताए।

  • सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

    सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

    काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।


    बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ ।

    २०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।

    यी दुई आयोजना एउटै नदी ुबेसिनुमा ५० किलोमिटर दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपीसीले दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।

  • पोर्चुगलको टीममा परे रोनाल्डो

    पोर्चुगलको टीममा परे रोनाल्डो

    काठमाडौं । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डोले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ।

    कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो। त्यसपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन्।

    उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन्। आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन्। पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।

    रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन्। गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन्। उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन्।

  • आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु

    आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु

    काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ ।

    उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । विभागका अनुसार यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका ३\३ जना छन् । नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट २\२ जनाले अनुमति लिइसकेका छन् ।

  • पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।

    रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ उनले भनिन् ।

  • आइतबारसम्म नै मौसम प्रतिकुल रहने

    आइतबारसम्म नै मौसम प्रतिकुल रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्‍म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव र सक्रिय अवस्थामा छ। त्‍यसकारण कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। यो क्रम २ दिन (शनिबार र आइतबार)सम्म चलिरहन्छ।’

    मौसमविद् मानन्धरका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पूर्वीभन्दा पश्चमी भुभाग लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिममा बढी वर्षा हुने उनले बताइन् । महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार चैत ४ गते शनिबार दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

    देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग,हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तर, राति देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने छ ।

    यस्तै चैत ५ गते आइतबार दिँउसो देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहति वर्षाको सम्भावना छ भने राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको हुने मौसम पुर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । मेघ गर्जन, चट्याङ्ग र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन पनि माहाशाखाले अनुरोध गरेको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

  • उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

    उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

    काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

    एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

    शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भए ।

    निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् ।

    यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।

  • बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

    बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

    काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्‍याउने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

    क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको हो ।

    आइसिसी विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नौ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफाएयरमा पुगेको छ ।

    नेपालले अब आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता जनाउनेछ ।

  • रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

    रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए ।

    एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ । पार्टीसँग १९ संघीय सांसद छन् ।

    यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।

    उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ ।

  • नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

    नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै सो पुरस्कारको दिन लागेका हुन् ।

    विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् म तपाईहरूको सुखदुखमा सधै साथमै रहनेछु प्रधानमन्त्रीले भने, ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् ।

    साथै यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

  • बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

    बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

    काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

    लघुवित्तको आइपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

    मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

    जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

    लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२।३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

    लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

  • बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

    बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

    काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ ।

    बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र पुनर्निर्माणमा सहकार्यको लामो र गौरवशाली इतिहास रहेको राजदूत पोलिटले बताइन् । ‘यसले ६ दशकमा नेपाली जनताका लागि महत्त्वपूर्ण नतिजा दिएको छ, जसका लागि हामी र नेपाल सरकार अत्यन्तै गौरवान्वित छौं । यस नयाँ कार्यक्रममार्फत हामीले लिने दृष्टिकोणले स्थानीय निर्णय लिने र सेरुइस डेलिभरीलाई उच्च स्थानमा राख्नेछ र थप जवाफदेही, बलियो स्थानीय सरकार निर्माण गर्न मद्दत गर्नेछ,’ उनले भनिन्, ‘यो नयाँ दृष्टिकोणले नेपाल सरकारलाई पूर्वाधार पुर्‍याउने तरिकामा सुधार गर्न पनि मद्दत गर्नेछ ।’

    लामो समयदेखि नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतको योगदान एवं सहयोग निरन्तर रहेको अर्थसचिव रायाले बताए । यस कार्यक्रमले स्थानीय तहको पूर्वाधार, स्थानीय सरकारको क्षमता अभिवृद्धि र जनजीवनको गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

  • आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

    आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

    काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ। कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन्। उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए।

    कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डिन दत्तले अश्लील हरकत गरेको भिडिओ सार्वजनिक भएको थियो। जुम बैठकमा उनले अडियो म्यूट गरेका थिए भने, भिडियो अन नै थियो। दत्त कृषि संकायको ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।

  • मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

    मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

    काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी छ ।


    उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य , सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको समेत नाम छ ।

    उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।

    उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

  • विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री

    विदेश जाने युवालाई सास्ती नदिनुहोस : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् ।

    बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको भन्दै पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाले दुः ख पाएको कुरा गम्भीर भएको बताए । उनले कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् भन्दै दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण गर्न निर्देशन दिए ।

    उनले गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवम् परिमार्जन गर्न समेत निर्देशन दिएका छन् । देशको अर्थतन्त्रमा देखा परेका समस्यासँगै लघु वित्त तथा सहकारी र बैङ्क तथा वित्तीय क्षेत्रमा बचतकर्ता र ऋणीका तर्फबाट समेत आक्रोश एवं केही अवाञ्छित गतिविधि, विभिन्न विषयलाई लिएर भएका गतिविधि र स्वतन्त्र विद्यार्थी युनियनको चुनावलगायतका कुराहरूलाई सबै सुरक्षा निकायहरूले गम्भीरतापूर्वक मनन गरी समग्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन समेत उनले भनेका छन् ।

    अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाई आपराधिक घटना नियन्त्रण गर्ने र माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसङ्गतिको अन्त्य गर्न उनले गृह प्रशासनलाई निर्देशन दिए । सार्वजनिक सेवा वितरणको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाई नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्न उनले निर्देशन दिए ।

  • २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

    २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने

    काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिने भएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ ।

    देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।
    फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

  • यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार यूएईलाई ९ रनले हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो।

    नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।

    नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।

  • भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

    भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १.५० रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो । यसअघि फागुन १७ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १.२१ रुपैयाँ र डिजेलमा ५.५ रुपैयाँ भाउ घटाएर पठाएको थियो ।

    भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउने/नघटाउने बारे केही बताएको छैन । अघिल्लो पटक पनि भाउ घटेर र्आ पनि निगमले भने घटाएको थिएन ।

    अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५८ कम्पनीको १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ को बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । बुधवार १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

    यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको बलियो लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको छ ।

    यूएईका लागि सर्वाधिक आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे । छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे।

    विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।

    नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने यूएई पहिलो टोली हो।

  • बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने

    बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने

    काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् ।

    उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको
    छ ।

    केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

    गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेशमा सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।

  • गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी

    गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

    उनले यही चैत ६ गते विश्वासको मत लिने तयारी थालेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषदको नेतृत्व गर्ने सम्भावना छ ।

    गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले गृह, अर्थ वा भौतिक योजनामध्ये रोजेको मन्त्रालय दाबी गरेको छ ।

    यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा पनि उनिहरुको दाबी रहेको छ ।

  • टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

    टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

    एजेन्सी । अमेरिकाले टिकटकमाथि पुन: प्रतिबन्ध लगाउने प्रयास थालेको छ । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो। सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

    तर पछि अमेरिकी अदालतले सरकारको निर्णय खारेज गरिदिएको थियो। अहिलेको जोन बाइडनको कार्यकालमा पहिलो पटक टिकटकमाथि प्रतिबन्ध लगाउने खतरा देखिएको बताइएको छ।

    अमेरिकी सरकारले चीनका टिकटक मालिकले यो कम्पनीको सेयर नबेचेमा उसमाथि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। अमेरिकामा टिकटकका १० करोडभन्दा धेरै ग्राहक रहेका छन्।

    टिकटकले अमेरिकी उपभोक्ताको तथ्यांक चीन सरकारसँग सेयर गर्ने गरेको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ। यही विषयलाई लिएर टिकटक कम्पनी र अमेरिकी सरकारको सम्बन्ध यसअघि पनि तनावपूर्व रहँदै आएको छ।

  • रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    काठमाडौं\बीबीसी । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ। ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ। रुसले ड्रोनको आकस्मिक चालका कारण दुर्घटनाग्रस्त भएको बताएको छ। उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ।


    रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू–९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ। रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो। दुर्घटना मङ्गलवार मध्य युरोपेली समयअनुसार करिब सात बजेपछि भएको अमेरिकी सेनाले जनाएको छ। ‘हाम्रो एमक्यू–९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो’ एक विज्ञप्तिमा लेखिएको छ।


    ठोक्किनुअघि एसयू-२७ विमानहरूले ड्रोनमा लापरवाह, पर्यावरणीय हिसाबमा असुरक्षित र अव्यवसायिक ढङ्गमा इन्धन खसालेका थिए,’ लेखिएको छ। अमेरिकाले वाशिङ्टनस्थित रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर उक्त घटनाको विरोध गरेको थियो।

    बैठकपछि रुसी सरकारी सञ्चारमाध्यमले एन्टोनोभलाई उद्धृत गर्दै मस्कोले ड्रोन दुर्घटनालाई ‘उत्तेजना’को नतिजाका रूपमा व्याख्या गरेको बताएको छ। सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा समेटेयता ब्ल्याक सीमा तनाव बढेको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सधैँ उडान सञ्चालित भए पनि रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेपछि अमेरिका र यूकेले त्यस क्षेत्रमा जासुसी र निगरानी उडानहरू बढाएका छन्।

    अहिले मङ्गलवार रुसले अमेरिकी ड्रोन र त्यसको काममा बाधा पुर्‍याउने प्रयास गरेको थियो वा नियोजित रूपमा खसालेको थियो भन्ने प्रश्न सिर्जना भएको छ। अमेरिकाका अनुसार यस क्षेत्रमा सम्बद्ध विमानहरूसँग अन्तरक्रिया गर्ने रुसी विमान चालकहरूले जोखिमपूर्ण कार्यहरू दोहोराएका छन्। त्यसैले रुसी विमान चालकहरूको गल्तीका कारण ड्रोनको निकै नजिक पुगेको र दुर्घटना भएको हुनसक्ने सम्भावना छ। यदि यो नियोजित हमला हो भने यस घटनाले उत्तेजना बढाउने छ।

    त्यस्तो अवस्थामा यस आक्रमणलाई क्रेमलिनले संयुक्त राज्य अमेरिकाको प्रतिक्रिया जाँच गर्न गरेको प्रयासको रूपमा हेरिनेछ। पश्चिमा देशहरूले रुससँग प्रत्यक्ष टकराबमा उत्रिएर युक्रेन युद्ध रोक्न कडा प्रयास गरेका छन्। तर अब ब्ल्याक सीमा भएको यस घटनाबारे अमेरिकाले आफ्नो प्रतिक्रियाको मूल्याङ्कन गर्नु पर्नेछ। अमेरिकी सैन्य कमान्डरहरूले उनीहरूको विज्ञप्तिमा यसलाई “जोखिमपूर्ण कार्य” भन्दै चेतावनी दिएका छन्।