Category: फिचर

  • काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

    काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।

    सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।

    कामपाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।

    सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।

    सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।

    त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।

    त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ।

    ‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ’, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्, अवस्था बुझेर सेवा दिनुपर्छ।’

  • विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

    विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

    काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।

    नेपालले प्रतिश जिसी, ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

    साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका छन् । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
    क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।

  • न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

    न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

    काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ । यसअघि २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।

  • यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप

    यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप

    काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको मृत्यु भएको थियो ।

    सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो । आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन दिँदै दुर्घटनाको १४ सेकेण्ड अगाडि पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमाण्ड लिएको उल्लेख गरेको थियो । जाँच आयोगले काम सक्न बाँकी रहेकाले म्याद थप गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

  • डीडीसीले बढायो दुधको मूल्य

    डीडीसीले बढायो दुधको मूल्य

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन् । त्यहीं मूल्य बिहीबारदेखि उपभोक्ताबाट लिने भएका छन् ।

    अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ । त्यस्तै, संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ ।

    संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ । बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ।

  • श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो

    श्रम स्वीकृतिमा अनिवार्य २ वर्षे प्रावधान हट्यो

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।

    मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताएको छ ।

    मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन । पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।

    यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।

  • उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

    काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।

    पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको हो ।

    फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

    किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।

    यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ।

  • मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

    मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

    काठमाडौं । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।

    मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

    त्यस्तै बैठकले पूर्वमुख्यसचिव लिलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

    उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।

    यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।

    त्यस्तै, बैठकले दूधकाे मुल्य बढाएर प्रतिलिटर ६५ रूपैयाँ कायम गर्ने पनि निर्णय गरेकाे छ ।

    यती एयरलाईन्सको एटीआर-७२, नाईन एन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

    बैठकले नेपाली सेनका महासेनानी पदमा एक जनालाई र सहायक रथी पदमा एकजना गरेर दुईजनाको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको उनका अनुसार बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि भएको छ ।

  • माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

    माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

    काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले वैशाख मसान्तसम्ममा माग सम्बोधन नभए जेठबाट फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।

    सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो।

    वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।

    ‘प्रभाविन क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्ने वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्वद्ध पक्ष स्थानीय निकाय समेतले २०८० वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यन्वयन प्रकृया सुरु नगरे स्थानीय नागरिकद्वारा २०८० जेष्ठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागि पूर्ण रूपमा रोक लगाइने व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

  • राष्ट्रपतिको रामचन्द्र पौडेलको दुवै गालाको कोठी फिर्ता !

    राष्ट्रपतिको रामचन्द्र पौडेलको दुवै गालाको कोठी फिर्ता !

    काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर तीनदिन पछि फेरिएको छ ।

    तीव्र आलोचना भएपछि अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ ।

    यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

    पदभार सम्हालेलगत्तै राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको ‘आधिकारिक तस्वीर’ अनावश्यकरूपमा सम्पादन गरेर सार्वजनिक भएको थियो ।

    यसअघि दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीको अनुहारमा पनि मसिना कोठी थिए । तर, उनको औपचारिक तस्वीरमा कुनै काँटछाँट गरिएको थिएन ।

  • उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मतदान गर्न कांग्रेसको निर्देशन

    उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मतदान गर्न कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको हो ।

    यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

    बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ।

  • प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

    प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

    काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र ६ गते विश्वासकाे मत लिने तयारी गरेका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ।

    चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

  • उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

    उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ।

    मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ।

    उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रमिला कुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्।

    उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

  • आइसीसी वरियतामा नेपालको झन सुधार

    आइसीसी वरियतामा नेपालको झन सुधार

    काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।

    पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स (१४औं) र ओमान (१५औं)स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

  • नेपालमा कस्तो रहला आजको मौसम ?

    नेपालमा कस्तो रहला आजको मौसम ?

    काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

    आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’’

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जना उम्मेदवार छन् । प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उपराष्ट्रपति निर्वाचनका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

  • ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान

    ठगी प्रकरण: पृथ्वी शाहसहित ६ जना जेल चलान

    काठमाडौं । सोमबार जिल्ला अदालत काठमाडौंले शंकास्पद धन नेपाल भित्राएएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

    शाहले २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।

    शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्।

    प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ७ जना पक्राउ परेका छन् । अन्यको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । अभियुक्त मनिला तामाङ भने ५० हजार धरौटीमा रिहा भएकी छिन्।

    शाहविरुद्ध ५६ जना अमेरिकी नागरिकसँग ठगीको आरोप लागेको थियो । उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका थिए। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।

    शाहले ठगी गरि ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको तथा सो रकम नेपालका बैंकहरुमा डिपोजिट गरेका थिए ।

    उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी, घरजग्ग तथा बीमामा लगानी गरेको पाइएको छ ।

  • निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

    निजामती कर्मचारी अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

    काठमाडौं । निजामती कर्मचारी अस्पतालले ठूलो संख्याका कर्मचारी माग गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।

    अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

    आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति र पेसागत आबद्धता प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), समावेशी समूह खुल्ने कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडिएफ बनाएर अपलोड गर्नुपर्नेछ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

  • यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने

    यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ ।

    काठमाडौंका जात्रा–पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यो तयारी गरिँदैछ भने त्यसअघि यस विषयमा स्थानीय समुदाय र गुठीसँग छलफल गरिने छ ।

    हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा काठमाडौंंको जमलबाट सुरु भएर चैत शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मत्स्येन्द्रनाथलाई उपत्यकावासीले वर्षा र सहकालका देवताका रूपमा पूजा गर्छन् । बुधबारदेखि रथ यात्रा सुरु हुँदै छ ।

  • सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

    सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

    काठमाडौं । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।

    ‘रासायनिक मलमा यसअघि समग्रमा ७०.८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९.०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ,’ कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो रू २५, डिएपी प्रतिकिलो रू ५० र पोटास प्रतिकिलो रू ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो रू १४, डिएपी प्रतिकिलो रू ४३ र पोटास प्रतिकिलो रू ३१ मा बिक्री वितरण भइरहेको थियो ।

    साबिकभन्दा अब युरिया प्रतिकिलो रू ११, डिएपी प्रतिकिलो रू सात र पोटास प्रतिकिलो रू ९ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो । तर अब युरियामा ६४.४९, डीएपीमा ५२.३८ र पोटासमा ४६.०९ प्रतिशत मात्रै अनुदान दिइनेछ ।

    अर्थ मन्त्रालयले रासायनिक मलको अनुदान घटाउन भनेपछि यस्तो निर्णय गरिएको पनि कृषि मन्त्रालयले जनाएको छ । ‘रासायनिक मलको बढ्दो माग, बढ्दो अन्तर्राष्ट्रिय मूल्य र तद्अनुरुप रासायनिक मलमा बढ्दो अनुदान रकमलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयको पत्रअनुसार स्रोत सुनिश्चितता गर्दाको शर्तको रुपमा रासायनिक मलमा दिँइदै आएको अनुदानलाई लागतको ५० प्रतिशतमा सीमित राख्ने राय आएको छ,’ कृषि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

  • पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

    पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
    दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ ।

    देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

  • नेपालले जोगायो एक दिवसीय मान्यता, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै

    नेपालले जोगायो एक दिवसीय मान्यता, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै

    काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

    आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो। यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भावना पनि कायमै छ ।

    नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै थियो । अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वकप छनोटसम्मका लागि कायम रहनेछ ।

    विश्वकप लिग २ मा कूल ७ टोलीहरु छन् । यीमध्ये शीर्ष ५ टोलीको एकदिवसीय मान्यता कायम रहन्छ । आजको जितपछि नेपाल ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । र, अब बाँकी खेलको नतिजा जेसुकै आए पनि नेपाल चौथो स्थानबाट तल झर्ने सम्भावना छैन बरु नेपाल अझै माथि चढ्ने सम्भावना भने छ । त्यसैले नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको छ ।

  • ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

    ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले सहज नभएपनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

    आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाका अवसरमा उनले गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, भन्ने लागेपनि अहिले त्यस्तो अवस्था नआएको बताएका हुन् ।

    बाह्य क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिहरूका कारणले गर्दा त्यस्तो संकटको सम्भावना टरेको छ उनले भने ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको बताए । साथै यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको देखाउने जिकिर गरे ।

    बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक नीति जरूरी थियो, तर, अहिले त्यो संकट टरिसकेको छ उनले भने।

    साथै अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको जानकारी प्रम प्रचण्डले दिए ।

    उनका अनुसार अनावश्यक चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको समेत बताए ।

    कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको छु उनले भने।

    मुद्रास्फिर्ति नियन्त्रणभित्रै भएको तथा नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेकोले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको बताए ।

    कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चापलगायत कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएकोमा सरकार यी समस्यालाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेमा गम्भीर भएर लागिरहेको बताए ।

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बाह्य बजारको मूल्यमा निर्भर रहन्छ,तथापी उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ ।

    तर यो सधैभरि धान्न सकिने अवस्था चाहिँ होइन । सिमेण्ट लगायतका स्वदेशी निर्माण सामग्रीहरूको खपत घटेको छ । विकास निर्माणका काम निरन्तर अगाडि बढाउनुभयो भने उत्पादन र रोजगारीका क्षेत्रमा पनि सकारात्मक असर पर्न गई पूरै अर्थतन्त्र नै चलायमान बनाउन योगदान पुग्नेछ ।

    निर्माण व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको मुद्दा र समस्या समाधानका लागि सरकार गम्भीर भएको बताए । नेपालमा सबैभन्दा धेरैपटक संशोधन गरिने कानुनहरूमा सायद सार्वजनिक खरिद सम्बन्धी कानुन नै अगाडि आउँछ ।

    तर, पनि निर्माण क्षेत्रका समस्या पूर्णतः सम्बोधन गर्न सकिएको छैन । यसका नीतिगत सीमा कहाँ छन्, सरकारको भूमिका कसरी थप प्रभावकारी बनाउन सकिन्छ, निर्माण व्यवसायीहरूको राष्ट्रिय दायित्व के हो र त्यो दायित्व कसरी पूरा गर्न सकिन्छ रु यसबारे गम्भीर समीक्षा आवश्यक छ ।

    निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन् ।

    बेलाबेलामा “ठेकेदार हराएको सूचना” भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायहरूप्रतिको आक्रोश ‘ट्रोल’ हुने गरेको छ, त्यसले हाम्रो निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गर्दछ । तसर्थ, यस्ता विषयहरूमा निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी छ ।

  • २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

    २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो ७ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशत बढेर ५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७ सय ६७ पुगेको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७ सय ८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ सय ६५.९ प्रतिशत बढेको थियो।

  • उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

    उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

    आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।

    राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उनको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

    उक्त उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गर्न नपर्ने बताएको छ ।

  • चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने

    चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने

    काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ ।

    चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो । पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ । हाल नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँबाट कुनमिङमा हप्तामा दुई र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ ।


    एयर चाइनाले छन्तु–काठमाडौँ रुटमा हप्तामा दुई उडान गरिरहेको छ । त्यसैगरी चाइन साउदर्न एयरले हप्तामा एक पटक काठमाडौँ–ग्वान्झाउमा उडान गरिरहेको छ ।

  • माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५ दिनभित्र कारण देखाउन अदालतले समय दिएको अवस्थामा माओवादी धारका पार्टीहरूले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन्। यसअघि माओवादी धारका पार्टीहरूले २ पटक बालुवाटारमा पनि बैठक गरेका थिए।

  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।

    त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् । नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९)मा हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

  • आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । यूएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

    यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ । सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।

    नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ । यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

    सबै ३६ खेल खेलिसकेको स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप क्वालिफायर्समा स्थान पक्का गरिसकेका छन् । नेपाल र यूएईको खेलमा नामिबियाको नजर हुनेछ । यदि नेपाल यूएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप क्वालिफायरमा पुग्नेछ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।

  • शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप

    शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम छ ।

    शुक्रबार राष्ट्रपति पौडेल गुह्वेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए ।

    उनको आगमनको क्रममा ट्राफिक जाम भएको भन्दै आलोचनासमेत भएको थियो । उनको भ्रमणमा श्रीमती, छोरा र निकटका व्यक्तिहरूसमेत सँगै हुने गरेका छन्।

    संघीय संसद् भवनबाहिर राष्ट्रपति निर्वाचन हुँदै गर्दा उम्मेदवार रहेका पौडेलले राष्ट्रपनि निर्वाचित भएमा कुनै तामझाम र जनतालाई सास्ती नदिने बताएका थिए ।’

    गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु’ उनले दुई दिनअघि मात्रै भनेका थिए।

    चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले आगामी सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ ।