Category: फिचर

  • देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

    देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।

    वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा पछिल्लो ५ घन्टादेखि भारी वर्षा भइरहेको छ। सूचना केन्द्रले बिहिबार बिहान साढे ५ बजे जारी गरेको एसएमएस अलर्ट अनुसार ती क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलामा आकस्मिक बाढी आउने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती (माडी क्षेत्र) लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। पूर्वीनवलपरासी पूर्वको दुम्कौली, चितवनको माडी क्षेत्रको छर्छरे, पोखराको जुम्लेटी लगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले

    आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। वर्षा, बाढी र गेग्रान बहानवले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो।

    पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।

    काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए। उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगीका लक्षण देखिन्छ।

  • ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०, २० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा ७ पुस २०७६ मा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको सहकार्यमा भएको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।

  • उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

    उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण समेत रोकिएको छ ।

    यस अवस्थामा आकस्मिक रुपमा हुन लागेको अमेरिकी उच्च अधिकारीको यो आगमनले राजनीतिक वृत्तमा भने संशय सिर्जना गरेको छ । डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल–अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

    साथै गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए । उक्त सम्वादमा लुले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै आलोचना गरेको थियो ।

  • काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

    काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक सातादेखि ठप्प फोहोर उठाउने काय आजबाट शुरु हुँदैछ । महानगरपालिकाले घोषित एक साता र अघोषित रुपमा करीव एक महिनादेखि नै काठमाडौंका धेरै ठाउँमा फोहोर उठाएको छैन । महानगरले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने बताएको छ ।

    फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो । महानगरपालिकाका अनुसार ञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ ।

  • साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

    साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो सानदार जित निकाल्दै श्रीलकालाई ३-० गोल अन्तरले हरायो । बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो।

    नेपालका लागि कृतिशरत्न छुन्जुले दोस्रो गोल गरेका थिए। मनग्य नकर्मीले नेपालका लागि तेस्रो गोल गरेका थिए। मनग्यले ८४ मिनेटमा गोल गरेका थिए। जारी प्रतियोगितामा कृतिश र मनग्यले दोस्रो गोल गरे । सोमबार माल्दिभ्सविरुद्ध नेपालले ४-० को जित निकाल्दा कृतिश र मनग्यले पनि गोल गरेका थिए।
    जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। आजै पहिलो खेलमा बंगलादेशले आयोजक भारतलाई २१ गोलले हरायो । अब नेपालले तेस्रो खेल ३१ जुलाईमा भारतसँग खेल्दैछ ।

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् । यसअघि उनी समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए । उनको दोस्रो भ्रमणको उद्देश्य भने खुलिसकेको छैन ।

  • नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७८ नमूनाको पीसीआरमा ४१८ र १६६७ नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ५६४ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ३९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३९२९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

  • गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

    गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

    काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसाको प्रलोभनमा परेर विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। अलपत्र पर्ने क्रम बढ्दै गएपछि गृहले बुधबार विज्ञिप्त जारी गर्दै उक्त आग्रह गरेको हो ।

    विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको हो।

    भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरुलाई उद्दारमा समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।

    नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइहरू भोगिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ।

    भिजिट भिसामा विदेश गएर काम गर्ने गरेको हुँदा अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयको भनाई छ।

    ‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ,’ मन्त्रालयले भनेको छ।

    यसरी समस्यामा परेका मानिसहरूको उद्धार गरी फिर्ता ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत कुनै कानुनी आधार नरहेको हुँदा त्यस्ता व्यक्तिहरू झन् कठिनाइमा पर्ने मन्त्रालयले बताएको छ।

    स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।

  • एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

    एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)


    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईई बोर्डले बुधवार नतिजा सार्वजनिक गरेको हो ।

    कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

    नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका बोर्डले जनाएको छ । उनीहरुले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो।

    यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

    यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।

    यस्ता छन् नतिजा हेर्ने सजिलो तरिका

    विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।

    त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्तालर १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।

    राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, खल्ती, निमा एकेडेमी, इकान्तिपुर डटकम, दि कनेक्ट प्लस, इडियु सञ्जाल, नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने छ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बरबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबैको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

    जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने नेष्डा लघुवित्त र जाल्पा लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, युनिभर्सल पावर र युनियन हाइड्रो ८.८९, लिबर्टी इनर्जी ८.१७, महुली लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, समिट लघुवित्त, शिवश्री हाइड्रोपावर, रिभर फल्स पावर, गणपति लघुवित्त र बुद्धभूमि नेपालका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    नेप्सेका अनुसार आज कुमारी धनवृद्धि योजनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    अरुण कावेलीको १२ करोड ३५ लाख र गुराँस फाइनान्सको ८ करोड ९२ लाखको कारोबार भएको छ ।

  • चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

    चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लासहित नुवाकोटको ककनीमा समेत हैजाको संक्रमित भेटिएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी भएको हो ।

    काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एकरएकजनामा हैजा संक्रमण देखिएको छ ।

    यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टी भएको छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एकरएकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

    ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहानबा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो।

    सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डीआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।

    बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो।

    उक्त बस ट्याक्सीमाथि पल्टिँदा बसका यात्रुसहित ३ जना घाइते भएको प्रहरीले जनाएको । उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

  • तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ । एयरलाइन्सले फ्रान्कफर्टबाट छ सय ७८ र म्युनिखबाट तीनसय ४५ उडान रद्द गरेको जनाएको छ । मंगलबार समेत फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द भएको छ ।

    लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ । एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ । यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन । उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ । विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ ।

    करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए । युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ । यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ । मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ ।

  • साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । खेल भारतको भुवनेश्वरस्थित कालीङ्गा मैदानमा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सोमवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएर उच्च मनोवलमा रहेको छ ।

    पहिलो खेलमा श्रीलङ्का भने बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आइतवार र अन्तिम खेल बङ्लादेशसँग मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

  • पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

    पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

    काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ । डुबान भइरहने होचा ठाउँ र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, मधेस प्रदेश र प्रदेश(१ मा वर्षा भइरहेको हो । आज राति पनि पानी पर्ने अनुमान गरिएको छ

  • निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धित निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम भएको छ । बयान र सीसीटीभी फुटेजको प्रमाणबाट समेत यसमा कुनै पुष्टी हुने आधार नभेटिएपछि छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन लेख्न थाल्दैछ । अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको हो । समितिले शर्माको टेलिफोन डिटेल भने हेर्ने छैन । यसले व्यक्तिगत गोपनीयताको हनन् हुने भन्दै समिति अब प्रतिवेदन लेखनमा लाग्ने भएको छ ।

    समितिले सार्वजनिक स्थानमा गरेका बदमासीका प्रमाण सुरक्षित राख्न त्यहाँको निरीक्षण प्रणाली बलियो बनाउने गरी प्रतिवेदन लेख्ने समेत तयारी गरेको छ । समिति गठन भएको आज १६ औं दिन पुगेको छ । पहिलो पटक १० दिनको समय पाएको समितिले पुनः ७ दिनको समय पाएको थियो । समितिले निर्धारित समयमै प्रतिवेदन लेखिसक्ने बताएको छ ।

    समितिले शर्मासहित अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव लगायत व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। उक्त अनुसन्धान र सोधपुछबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए-नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनमा अघि बढेको हो। आफुमाथि छानविन गर्न समिति बनेपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए ।

  • फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    मनिला । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको विवरण आएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ ।

    भूकम्प १० किलोमिटर गहिराइमा थियो । अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

  • एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए ।

    परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ । ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ ।

    एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

  • एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ

    एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।
    प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९ गते कावसोती नवलपरासीबाट भुसाललाई पक्राउ गरेको हो । भुसालले बाटोमा हिडिरहेकी एक महिलासँग भएको पैसा, मोबाइल, गहना नदिएमा एसिड हान्दिन्छु भन्दै अमानवीय व्यवहार गरेका थिए ।

    भुसाल ‘बदमास केटा नामक यू ट्यूव च्यानल’ का सञ्चालक हुन् । भुसालले बाटोमा हिडिरहेकी एक महिलालाई “साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु” भनेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एसिड जस्तो अति सम्वेदनसिल पदार्थ प्रयोग गर्छु भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएर अपलोड गरेको आरोपमा प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

    भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौँबाट मंगलबार सात दिनको म्याद थप लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी पशुपतिकुमार रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

    सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो।


    रौतहट मलोहिया–५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्साशास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो ? यससम्बन्धी व्यवस्था कस्तो छ ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त कार्यालयसँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दासले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।

    पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीका बारेमा सजग गराइएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराइ संविधानप्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो।

    सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले जानकारी दिए । आयोगले गरेको जरिवाना फैसला कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पठाउने आदेश दिएको छ।

    साथै पुनरावेदकले मागेको सूचना उपलब्ध गराउनु, परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिनु भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाउने आदेश पनि आयोगले दिएको छ। आयोगकोे निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश जारी गरिएको गुरुङले बताए । रासस

  • बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

  • स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मात्र ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च यसमा जोडिएको छैन । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ ।

    आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो । ०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।

  • बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो ।

    मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दाइले योजनावद्ध रुपमा सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको हो ।

    उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएका थिए । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या भएको देखिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई पेशेबर हत्यारा बोलाइएको समेत खुलेको छ ।

  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्नए गठन भएको संसदीय छानविन विशेष समितिले नेपाल प्रंहरीबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको सिलबन्दी मंगलबार खोलेको छ । जसमा प्रहरीले सीसीटीभी क्यामराको डिलिट भएको अंश समेत रिकभर भएको छ । तर, रिकभर भएको फुटेजमा मान्छे भने नचिनिने अवस्था आएसँगै अन्ततः समिति नै अन्यौलमा पुगेको छ । मंगलबार यसबारे समितिको बैठक दुई पटक बसेको छ ।

    पहिलो पटक बसेको बैठकमा समितिका सदस्यहरु आफैले भिडियो हेरेका थिए । ५० भन्दा बढी फुटजबारे कुनै भेउ नपाएपछि उनीहरुले नेपाल प्रहरीको विशेषज्ञ टीमसँग पुनः छलफल गरे । छलफलमा विज्ञ टीमले रिकभर गर्दा धेरैजसो गुणस्तर मेटिइसक्ने भएकाले गुणस्तरीय फुटेज आउन नसक्ने जानकारी समितिलाई गराएका हुन् । समिति अब प्रतिवेदन लेखनमा लाग्ने छ । समितिले शर्मासहित मन्त्रालयका अधिकारी, पत्रकार तथा अन्य सरोकारवालासँग यसबारे छलफल गरिसकेको छ । तर, आरोप पुष्टी गर्ने कुनै प्रंमाण भने भेटाएको छैन ।

  • उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ ।

    सोमबार सोमवार २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच भएको थियो ।

  • राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्।

    मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ।

    त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

    यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

    लण्डन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ। ग्याजप्रोमले नर्ड स्ट्रीम-१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको अर्थ अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुनसक्छ।


    जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ। यो निर्णयले युरोपेली सङ्घका देशहरूलाई जाडो महिनाअघि उनीहरूका भण्डारणमा ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको छ। नर्ड स्ट्रिम १ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्‍याउँछ। तर यसबाट केही साताअघिबाटै क्षमता भन्दा कम मात्रामा ग्यास आपूर्ति भइरहेको छ। यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पुरै बन्द गरिएको थियो।

    रुसले गत वर्ष ईयूका देशहरूमा उसको ४० प्रतिशत ग्यास निर्यात गरेको थियो। इन्धनलाई हतियारको रूपमा प्रयोग गरेको आरोप ईयूले रुसमाथि लगाउँदै आएको छ। रुसले ग्यासको आपूर्तिमा कटौती गर्ने वा ठप्प बनाउनसक्ने बताएपछि युरोपेली आयोगले देशहरूलाई ग्यासको प्रयोगमा आगामी सात महिनाभित्र १५ प्रतिशत कटौती गर्न आग्रह गरेको छ। यसले ग्यास सङ्कट परेको अवस्थामा सहयोग पुग्ने ठानिएको छ। युरोपेली आयोगका प्रमुख उर्जुला फोन डेर लायनले रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने सम्भावित परिदृश्य हुनसक्ने बताएकी छन्।

    ग्यास खपत घटाउने प्रस्ताव कार्यान्वयनमा ल्याउन ईयूका ऊर्जा मन्त्रीहरू मङ्गलवार ब्रसल्समा भेट्दैछन्। तर कतिपय सदस्य राष्ट्रहरूले यस्तो प्रस्तावको प्रतिरोध गर्ने ठानिएको छ। रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि ग्यासको थोक मूल्य आकासिएको छ र यसले उपभोक्ताहरूको खर्च बढाएको छ। ग्याजप्रोमको घोषणाबारे प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले एकताबद्ध युरोप विरुद्ध ग्यास युद्ध सुरु गरेको बताएका छन्।

    ग्याजप्रोमले भने चालू अवस्थामा रहेका बाँकी दुई वटा मध्ये एउटा टर्बाइनको प्राविधिक अवस्थाका कारण बुधवारबाट आपूर्ति कटौती हुने जनाएको छ। तर जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपी समाचार संस्थालाई भनेका छन्, ‘हामीसँग भएको सूचनामा निर्यात घटाउनुपर्ने कुनै पनि प्राविधिक कारण देखिँदैन।’ क्रेमलिनले भने आफ्नो देश भरपर्दो ऊर्जा साझेदार भएको दाबी गर्दै आएको छ।

    उसले ईयूमा ग्यास आपूर्ति अवरुद्ध हुनुमा पश्चिमा प्रतिबन्धलाई कारणको रूपमा ‍औँल्याउने गरेको छ। ग्याजप्रोमले प्रतिबन्धका कारण मर्मतका लागि क्यानडा पठाइएको उपकरण आउन ढिला भएको र नर्ड स्ट्रीम -१ बाट क्षमताको ४० प्रतिशत मात्रै ग्यास पठाउन सकिएको बताएको छ। ‘हाम्रो उत्पादनमा हाम्रै नियम हुन्छ, हामीले नबनाएको नियममा हामी चलखेल गर्दैनौँ,’ ग्याजप्रोमका प्रमुख कार्यकारी एलेक्सी मिलरले भने।
    बीबीसी

  • विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

    विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

    काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ । मन्त्रालयले सोमबार कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट मौसमी श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको पत्रमार्फत जानकारी गराएको छ ।

    विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो । सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो । श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ ।

    मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो । सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

    ०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो। ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ। विभागले भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।