Category: फिचर

  • सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो ।

    आइतबार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

    भक्तपुर नगरपालिका(२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका ४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो। घाइतेहरूको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार जारी छ ।

  • म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
    चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी गराए ।

    ‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौ’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ ।’ घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए ।

    जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए । अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।

  • एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

    काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

    केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो । उनले कांग्रेस प्रवेश गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

  • कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

    कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

    काठमाडौं । प्रहरीले कल सेन्टरबाट हुने ठगी धन्दामाथि अपरेसन तिब्र पारेको छ । सो क्रममा आइतबार तिलोत्तमाबाट डेढ सय जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेमा स्काई वर्ल्ड सर्भिस सेन्टरको व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हू यूइहुआ, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीय नेहा गुप्‍ता, २८ जना पुरूष र ५ जना महिला गरी ३३ जना नेपाली छन्। मैनालीका अनुसार सोमबार काठमाडौं महानगरपालिका(९ तीनकुनेस्थित कल सेन्टरमा अवैध तरिकाले कामदारहरू राखेको गोप्य सूचना पाएको थियो। कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।


    प्रहरीले उनीहरूको साथबाट आठ लाख २९ हजार रुपैयाँ, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर र एक थान डिभिआर बरामद गरेको जनाएको छ। उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी ब्ल्याकमेलिङ गरेको आरोप छ।

  • इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए ।

    खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

    साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

    काठमाडौं । साफ यु २० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति पेश गरेको हो । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो ।

    दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरे । माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्दैछ ।

  • अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

    अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

    अध्ययनका क्रममा जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि जानकारी माग्दा मन्त्रालयले सिस्टम अनुसार रहेको सीसीटीभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको फुटेज डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो । छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुुसार प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट बुझाएको छ । रिपोर्ट मंगलबार खोलिने भएको छ ।

  • नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

    नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ नमूनाको पीसीआरमा ४३५ र १७१६ नमूनाको एन्टिजेनमा ११५ जना गरी कूल ५६८ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।

  • इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको

    इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको

    काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

    भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु ३ खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

    तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।

    रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको पेट्रोल, रु ६५ अर्ब ५५ करोड ९ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ ।

    एक वर्षको अवधिमा रु १ खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, रु ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, रु ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

    नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा रु ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, रु ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, रु सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।

  • उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन पनि शेयर बजार उच्च अंकले बढेको हो ।

    मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको सीमा राखिएको थियो ।

    उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएकोले जसको प्रभाव शेयर बजारमा परेको आंकलन गरेको छ ।

    साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५४.४५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले बढेको छ । ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स, विकास बैंक, अन्य, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीको मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.९९ प्रतिशतले बढेको छ ।

    नारायणी विकास बैंक, मल्टिपर्पस फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मौदी हाइड्रोपावर, सूयोदय वोमी लघुवित्त, मानुषी लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट र पोखारा फाइनान्सको शेयर धनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे १४ करोड र नेपाल टेलिकम ११ करोड बढीको कारोबार कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

  • भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

    भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

    नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । उनले आजै पदभार ग्रहण गर्नेछिन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् । सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनले झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।

  • पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर छ ।

    घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका वडा नं १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले छन् । चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन् ।

    अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका वडा नं ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका वडा नं ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका वडा नं ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नं ७ का खड्क बहादुर विक छन् । उनीहरुको पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ ।

  • श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए ।

    आफ्नै घरको तीन तलामाथिको बैठक कोठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खोजेका थिए । घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । रूष्मालाई पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले पौने ११ बजेतिर मृत घोषणा गरेका थिए ।

    तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि राति ११ बजे निधन भएको हो । आचार्य केही महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

  • कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

    कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। उनी कांग्रेसमा संस्थापनइत्तर पक्षका उम्मेदवार हुन् । लम्सालले ७४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन्। अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले मात्र १२ मत पाए । अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन्। हेटौंडामा साउन ६ र ७ मा महाधिवेशन भएको थियो।

    पोखरामा महाधिवेशन गरेपछि ८ वर्षमा युनियनले अहिले महाधिवेशन गरेको थियो। २०७१ भदौमा देउवानिकट बद्री सिग्देल युनियन अध्यक्ष थिए। पोखरा महाधिवेशनमा सिग्देलले लम्साललाई हराएका थिए। ८ वर्षपछि लम्साल अहिले अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतसहित निर्वाचित भएका छन्। उनले सरोज अधिकारीलाई हराएका हुन्। अधिकारीले ६६५ मतमात्रै ल्याएका थिए। केसी संस्थापनइत्तर पक्षका नेता हुन् ।

    उपाध्यक्ष खुलातर्फ २ पदका लागि नकुल अर्याल ७७५ मत र भीष्मराज ओझा ६४० मतसहित निर्वाचित भए। नकुल संस्थापन इतरका हुन्। ओझा यसअघि कार्यबाहक महासचिव थिए । उनी भने संस्थापन पक्षका हुन्। उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल ७२० मतसहित निर्वाचित भइन् भने कल्पना शर्मा ६१९ मतसहित पराजित भइन्। सलोजा संस्थापनइतरकी हुन्। उपाध्यक्ष समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भए ।

    उपाध्यक्ष प्रदेश नम्बर १ तर्फ डिल्लीराम खतिवडा ५६० मतसहित निर्वाचित भए भने मधेश प्रदेशतर्फ अनिल कर्ण ६४८ मतसहित बिजयी भए। बागमती प्रदेश उपाध्यक्षमा मुरारी अधिकारी ६७१ मत सहित निर्वाचित हुँदा गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६७३ मतसहित बिजयी भए। लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७०१ मतसहित निर्वाचित भए भने कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९ मतसहित निर्वाचित भएका थिए।

    सुदूरपश्चिम उपाध्यक्षतर्फ प्रेम चुनारा ५५२ मतसहित निर्वाचित भए । उपाध्यक्ष उपत्यकातर्फ जीवन भण्डारी ८४२ मतसहित निर्वाचित भएका छन्। महासचिवमा दिलिप पौडेल ८७८ मतसहित निर्वाचित हुँदा जगन्नाथ दुलालले ४५१ मतमात्रै ल्याए। दिलिप संस्थापनइतरका हुन्। उपमहासचिव खुलातर्फ ३ पदमा कमल पन्तको ५७७ मत, युवराज गौतमको ७३७ मत र रवीन्द्र सुवेदीको ५५८ मत आएको थियो। उनीहरू निर्वाचित भएका छन्।

    उपमहासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी ६८१ मत र सुलोचना गौतम ६९० मतसहित निर्वाचित भएका छन्। दिलिपाश्री संस्थापननिकट हुन्। उपमहासचिव समावेशीतर्फ अभयकुमार राई ७१३ मतसहित निर्वाचित भए । सचिव खुला चार पदका लागि केदारप्रसाद दाहालको ६७७ मत, खगेन्द्र भण्डारीको ६४८ मत, तीर्थराज बस्नेतको ५८० मत र भुवन शर्मा ६३७ मत आएको छ। उनीहरू चारै जना खुला सचिव निर्वाचित भएका छन्। सचिव महिलातर्फ ३ जना निर्वाचित भए।

    पुष्पा शर्मा ६४४, मेनुका ढुंगाना ८०१ र रेजिना गौतम ६३९ मतसहित निर्वाचित भए । सचिव आदिवासी जनजातितर्फ लालकुमार मोक्तान ७४१ मतसहित निर्वाचित भएका छन्। सचिव मधेशीतर्फ अजित तिवारी, सचिव दलिततर्फ राजन रूचाल, सचिव पिछडिएको क्षेत्रतर्फ एलपी देवकोटा, सचिव थारूतर्फ सहदेव चौधरी, सचिव खसआर्यतर्फ युवराज रेग्मी निर्वाचित भए ।

    सचिव अनलाइन माध्यमतर्फ छायाचन्द्र भण्डारी, सचिव रेडियो माध्यमतर्फ नरहरि सापकोटा, सचिव टेलिभिजनतर्फ अशोककुमार तिवारी, सचिव छापा माध्यमतर्फ राधा खनाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा माधव धिताल ६७४ मतसहित निर्वाचित भए।

  • सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

    सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

  • अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

  • ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा,  १५० युवा-युवती पक्राउ

    ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

    बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी गराएका छन् ।

    भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भन्दै ठगी गर्ने कार्यमा संलग्न करिब १ सय ५० जनालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको केसीको भनाइ छ।

    अनुसन्धानका लागि प्रहरीले उक्त कार्यालय भएको भवनलाई नै शिल गरेको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकी नगरमा ४ तलाको घरमा तीन वटा फ्ल्याट भाडामा लिएर तीन सय जति कम्प्युटरसहित कार्यालय सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय सर्वसाधारणलाई गलत सन्देश पठाएर तनाव दिने र ब्ल्याकमेलिङ गर्ने क्रम बढेपछि प्रहरीले आइतबार त्यहाँ छापा मारेको हो।

  • कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

    कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

    काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्।


    बन्दीलाई प्रजनन अधिकार

    नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ। कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ। विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ।

    पढ्न पाउने व्यवस्था

    विधेयकमा बन्दीलाई पठनपाठनको प्रबन्ध मिलाउनुपर्ने प्रावधान राखिएको छ। कारागार प्रशासकले बन्दीको पठनपाठनका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ। कारागार प्रशासकले तोकिएको सङ्ख्याभन्दा बढी सङ्ख्यामा बन्दी रहेको अवस्थामा आवश्यकतानुसार आधारभूत शिक्षा, माध्यमिक शिक्षा, खुला शिक्षा वा दूर शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने छ।

    कारागार प्रशासकले निरक्षर बन्दीलाई प्रौढ शिक्षा, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठन गराउनुपर्ने छ। पठनपाठनका लागि कारागार प्रशासकले कारागारमा रहेका बन्दीमध्येबाट तोकिएबमोजिम शिक्षकका रूपमा तोक्नेछ। त्यस्तो शिक्षकलाई एक महिना बराबर थप पाँच दिन सजाय कट्टा हुनेछ।

    शिक्षकलाई तोकिएबमोजिमको पारिश्रमिक र सुविधा उपलब्ध गराइने छ। बन्दीको आचरणमा सुधार वा सकारात्मक विचार प्रवद्र्धन गर्ने उद्देश्यले तोकिएबमोजिमको नैतिक शिक्षा, योग अभ्यास तथा त्यस्तै अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिनेछ।

    बन्दीलाई स्वावलम्बी बनाउने प्रयास

    नयाँ विधेयकमा कैदीबन्दीलाई स्वावलम्बी बनाउने प्रयास गरिएको छ। यद्यपि सीपमूलक वा आयमूलक यसअघि नै कार्यक्रम सञ्चालनमा छ। कारागार प्रशासकले बन्दीलाई आत्मनिर्भर बनाउन वा आय आर्जन गर्ने अवसर प्रदान गर्न कारागार परिसरभित्र विभिन्न सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन गर्नेछ। त्यस्ता कार्यक्रमबाट उत्पादित वस्तुलाई बजारको पहुँच दिन कारागार प्रशासकले आवश्यक व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ। आयमूलक कार्यक्रमबाट प्राप्त आयमध्ये तोकिएबमोजिमको आय रकम सम्बन्धित बन्दीलाई उपलब्ध गराउनै पर्नेछ।

    बन्दीलाई काममा लगाउन सकिने प्रबन्ध पनि विधेयकले गरेको छ। कानूनबमोजिम अनुमति प्राप्त गरी कारागार परिसरमा कुनै कारखाना स्थापना भएकोमा त्यस्तो कारखानामा काम गर्न चाहने बन्दीलाई काममा लगाउन सक्नेछ। कुनै बन्दीलाई काममा लगाइएकोमा निजलाई तोकिएबमोजिमको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ।

    विवाह दर्ता गर्न पाउने

    विधेयकमा एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निवेदन पेस भएमा कारागार प्रशासकले विवाह दर्ताका लागि सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ। त्यस्तो विवाह दर्ता हुनसक्ने भनी सम्बन्धित निकायले कारागार कार्यालयलाई लेखी पठाएमा कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन सम्बन्धित बन्दीलाई सुरक्षाकर्मी साथ लगाई विवाह दर्ता गर्न जाने अनुमति प्रदान गर्नुपर्नेछ।

    नाबालक आमासँग बस्न पाउने

    विधेयकको विशेष संरक्षणको व्यवस्थाअन्तर्गत नाबालकलाई आमासँग राख्नसक्ने प्रबन्ध कायमै छ। पाँच वर्षभन्दा कम उमेरको नाबालकको आमा कारागारमा रहनुपर्ने भए केही सर्तसहित अनुमति दिइनेछ।

    ती सर्तमा सम्बन्ध विच्छेद गरेकी आमा भएमा, नाबालकको बाबु नभएमा वा निज पनि कारागारमा रहेको भएमा, अदालतले त्यस्तो नाबालक निजको आमासँगै कारागारमा रहनुपर्ने आदेश दिएमा, आमाले बच्चालाई आफूसँग राख्न माग गरेमा नाबालक कारागारमा बस्न पाउँछ। नाबालक कारागारमा रहेकी आमासँग बस्ने भएमा कारागार प्रशासकले आमा र बच्चालाई बस्नका लागि उपयुक्त कोठाको प्रबन्ध गर्नु पर्नेछ।

    कुनै बन्दीले नै पालन पोषण गर्नुपर्ने नाबालक रहेछ र त्यस्तो नाबालकको पालन पोषण गर्ने अरू कोही नरहे त्यस्ता बच्चाको सम्पूर्ण हेरविचार, शिक्षा, दीक्षा र पालन पोषणको व्यवस्था तोकिएबमोजिम कारागार कार्यालयले नै गर्नुपर्ने छ।

    प्रशासकले कारागारमा रहेका पाँच वर्षभन्दा कम उमेरका नाबालकका लागि प्रारम्भिक बाल विकाससम्बन्धी योजना तयार गर्नुपर्नेछ। बन्दीका आश्रित नाबालकलाई राशन र पोशाक तोकिएबमोजिम व्यवस्था गर्नुपर्ने छ। प्रशासकले प्रत्येक कारागारमा बन्दी महिलाबाट जन्मिएका बालबालिकाको अभिलेख राख्न एक छुट्टै दर्ता किताब खडा गर्नुपर्ने छ।

    कारागारबाहिर गएर बच्चा जन्माउन पाउने

    विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ। प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणका सम्बन्धमा तोकिएबमोजिमको विशेष व्यवस्था गर्नुपर्ने छ।

    गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागारबाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले अनुमति दिनुपर्ने छ। तर त्यसका लागि सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिएबमोजिम बैंक जमानत लिई कारागारबाट बाहिर जाने अनुमति दिनसक्ने छ।

    जन्म कैद वा जघन्य कसुरको सजाय पाएको, जन्म कैद वा जघन्य कसुरको सजाय हुनसक्ने कसुरको अभियोगमा थुनामा रहेको, विशेष सुरक्षा कक्षमा राख्ने प्रकृतिको कैदीबन्दी भए भने त्यस्तो अनुमति पाउने छैन।

    जमानतमा छुटेकी गर्भवती बन्दी कारागारबाहिर रहे पनि कारागारभित्रै रहे सरह मानिनेछ। सो अवधि पनि कैद बसेको अवधिमा नै गणना गरिनेछ।

    बाहिर जान अनुमति दिइएको बन्दी फर्किएपछि उसले राखेको बैंक जमानत फुकुवा गरिदिनुपर्ने छ। जमानतमा छुटेकी गर्भवती बन्दी कारागारमा नफर्केमा कारागार प्रमुखले बैंकको जमानत जफत गरी सुरक्षाकर्मी खटाई कारागारमा उपस्थित गराउने छ।

    बन्दी आफैं कारागारमा बस्न चाहेमा वा आर्थिक अवस्था वा अन्य कुनै कारणले गर्भवती बन्दीको कारागारमा नै राम्रो स्याहार हुने कुरामा कारागार प्रशासक विश्वस्त भएमा त्यस्तो बन्दीको सहमतिमा निजलाई कारागारमा नै राख्न भने विधेयकअनुसार पाइने छ।

    यी बन्दीलाई दिनुपर्ने छ विशेष ध्यान

    विधेयकअनुसार विभिन्न चार वटा अवस्थाका बन्दीलाई विशेष ध्यान दिनुपर्ने छ। त्यस्ता बन्दीको खानपान, बसोबास र स्वास्थ्य परीक्षणमा तोकिएबमोजिमको विशेष ध्यानु दिनुपर्ने छ। अपाङ्गता भएका, मानसिक रोगी, कडा रोग लागेको र ६५ वर्ष उमेर पुगेका बन्दीले त्यस्तो सुविधा पाउँछन्।

    भाग्न खोजे थप सजाय

    नयाँ विधेयकको कसुर तथा सजाय शीर्षकले थप सजायको प्रबन्ध गरेको छ। कारागारको पर्खाल, झ्याल, ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा वा कारागारबाट गोप्यरूपमा भाग्न सकिने कुनै मार्ग बनाएमा थप सजाय हुनेछ।

    त्यस्तो कसुर गरेमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ। पाँच जना वा सोभन्दा बढीको समूह भई हुलदङ्गा गरेमा वा कारागारको आन्तरिक व्यवस्थापन खलबल्याएमा, कारागार कार्यालयको कर्मचारी, कारागारका बन्दी वा आगन्तुकको शरीर बन्धक बनाएमा वा हैरानी गरेमा, बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हातहतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा थप सजाय हुनेछ। कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

    प्रचलित कानूनबमोजिम सजाय पाई खुल्ला कारागार, सुधार गृह, पुनर्स्थापना केन्द्र, बाल सुधार गृह, प्रोवेशन वा प्यारोलमा रहेको व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

    आपराधिक मनसायले बल प्रयोग गरेमा, कारागारको कुनै सम्पत्ति जानाजानी बिगारेमा वा नष्ट गरेमा, अभिलेख वा कुनै मिसिल वा कागजात नष्ट गरेमा, बिगारेमा वा च्यातेमा, बिनाअधिकार हतकडी खोलेमा वा भाँचेमा, कारागारभित्र निषेध गरिएको कुनै चीज वा मालसामान लिएमा, राखेमा वा पठाएमा, आगलागी गरेमा, कारखाना वा भान्साको कुनै वस्तु वा हतियार प्रयोग गरी क्षति पु¥याएमा, सीसीटिभी, मेटालिक डिटेक्टर वा अन्य उपकरण नष्ट गरेमा वा सोको उद्योग गरेमा तीन वर्षसम्म थप कैद वा रु ३० हजारसम्म जरिवाना हुनेछ।

    अपमानजनक वा धम्कीपूर्ण भाषा प्रयोग गरेमा, अनैतिक, अभद्र वा अनुशासनहीन काम गरेमा, कुनै बन्दीलाई भगाएमा वा भगाउने प्रयास गरेमा थप तीन वर्षसम्म कैद वा रु ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकले गरेको छ।
    रासस

  • पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको हो । दुर्घटनामा घाइते भएकालाई विभिन्न अस्पताल लगिएको छ । दुर्घटनामा परेकाहरु पहिचान भइसकेको छैन ।

  • बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

    बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

    काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

    अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको हो ।

    आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि शर्मा माथि लागेको छ ।

    बजेट निर्माणका क्रममा १४ जेठको राति को को आएका हुन् भन्ने विषयको सत्य तथ्य पत्ता लगाउन सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

    तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

    छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    समितिलाई जवाफ दिने क्रममा शर्माले आरोप अस्वीकार गरिसकेका छन् ।

    छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक र कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवालीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

  • नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१७७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

  • बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो ।

    मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको सीमा राखिएको थियो ।

    उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएकोले जसको प्रभाव शेयर बजारमा परेको आंकलन गरेको छ ।

    साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)६१.०५ अंकले घटेर २०७८.५१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१२ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक हरियो बनेको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।

    फाइनान्स, विकास बैंक, अन्य, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीको मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, रिभर फल्स पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेका अनुसार आज एनएमबी डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा बढीले घटेको हो ।

    आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी पौने ७ करोड र हिमालयन डिस्ट्रलरी साढे ६ करोड बढीको कारोबार कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

    सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।

    मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो ।

    पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए ।

    कोरोना महामारीको मारमा परेको पर्यटनको पुनरुत्थानका लाग कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रमण वर्षको रुपमा उत्सव मनाउनुभन्दा पनि अभियानकै रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

    दिन र वर्षको रुपमा पर्यटन प्रवर्द्धन गर्नेभन्दा पनि भ्रमण दशकका रुपमा मनाउनुपर्ने अवधारणा अघि सारिएको उनको भनाइ छ ।

    मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा एक महिनामा गर्न सकिनेदेखि दीर्घकालसम्मका योजना समेटिएका छन् ।

    नेपालको पर्यटनलाई चलायमान बनाउनका लागि मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

    कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो ।

    २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन सकेन । तर, खर्च भने ७० करोड माथि भएको बताइएको छ ।

  • भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

    भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ ।

    सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ।

    मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ। मृतक नितेश खर्वुजाको सनाखत भएको हो । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

    घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।

  • नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

    नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

    काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण उपलब्ध हुन्छ ।

    त्यसभित्र छ वटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामरा पनि जडान भएको छ । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित देशमा प्रयोगमा भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता गाडीलाई नेपालमा पनि भित्र्याएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्नेसहितको सेवा प्राप्त हुने यस्तो गाडी नेपालमा पहिलोपटक भित्रिएको हो । अबका विपत्तिमा ती गाडीले सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ ।

    चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर त्यस गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको उनको भनाई छ । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ ।

    सरकारले गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः फण्डमा अमेरिकी सहयोग नियोग (यूएसएड), बेलायती सहयोग नियोग (एमसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको लगानी रहेको छ । ती गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछन् ।

    विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा त्यही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

  • कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

    कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

    काठमाडौं । नेपालमा अब कैदि बन्दीको प्रजनन अधिकार सुनिश्चित हुने भएको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो। उक्त विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो। उक्त विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान छ ।

    यसअघि सर्वोच्च अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको र प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो। स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

  • देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

    देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन ।

    महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

    यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १ का एक\दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत

    गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत

    काठमाडौं । गैरआवासयि नेपाली संघले प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताएका छन् ।

    सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने , ‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।’

    अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए । सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । ‘हामी गैरआवासीय नेपाली )एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौं’, उनले भनिन् ।

    सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए । ‘यी अधिकारको परिभाषा अर्को विधयेक (गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ’, उनले भने ।

    सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए । सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतीक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए ।

    ’सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ’, उनले भने । उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

  • कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने सुझाव दिए ।

    संसदका दुबै सदनले शनिबार बेलुका आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागि भए । समारोहलाई स्म्बोधन गर्दै उनले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठूलो परिवारको संज्ञा दिंदै परिवारको मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।

  • मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो।

    डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्। उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्। मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन्।

    डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन। तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए। उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए।


    ूडब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ,’ डा. टेड्रोसले भने। मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्। तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ।

    मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ। यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ। केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए।

    ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ। मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ। यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन।