Category: फिचर

  • भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध

    भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध

    काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन काठमाडौंस्थित भारतीय दूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना निकाल्दै कुनै पनि कूटनीतिक सुविधा पाउन भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य भएको बताएको छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा जनाइएको छ ।

    दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आईडी कार्ड), जागिररविद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुनु पर्ने भएको छ । यस्तो प्रावधानले अब नेपालमा कति जना भारतीय नागरिक बसोबार गर्छन् भन्ने औसतः तथ्यांक समेत प्राप्त हुने छ ।

  • नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ ।

  • सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

    सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर

    काठमाडौं । संघीय सरकार, स्थानीय सरकार र सरोकारवाला स्थानीयबीच सहमति जुटेपछि पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि मंगलबार बन्चरे डाँडामा प्रहरी परिचालन गरेर फोहोर फालिएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सवारीलाई स्थानीयले अवरोध गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार १५७ वटा गाडीमा लगेको फोहोर फालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए ।

    सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए । उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्‍याइएको थियो । मंगलबार प्रहरी पचिारलन गरिएपनि बुधबार के हुन्छ भन्ने अन्यौल जारी छ ।

  • साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना

    साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना

    काठमाडौं । काठमाडौं । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले ५ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी गराउँदै करका अधिकारीहरुले यस्तो जानकारी गराएका हुन् ।

    उद्योगी व्यवसायीहरुको छाता सङ्गठन सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न ‘आर्थिक विधेयक २०७९ का प्रावधानहरुसम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले ई–बिलिङले व्यावसायिक पारदर्शिता बढाउने हुँदा यसलाई कार्यन्वयनमा ल्याउन सहयोग गर्ने बताए।

    उनले भने, ‘मेहनत र इमान्दार उद्योगी व्यवसायीलाई सिस्टममा जान कुनै समस्या छैन तर प्रविधिको ज्ञान चाहिँ हुनुपर्छ ।’ छलफलमा गल्ला व्यापारी नेत्रप्रसाद आचर्यले ई–बिलिङका बारेमा सरकारले व्यवसायीहरुलाई पर्याप्त सचेत गराउनु जरुरी रहेको बताए । उनले भने, ‘भिसिटिएस जस्तो समस्या हुनुहुँदैन, ई–बिलिङको विषयमा राज्यले व्यवसायीलाई धेरै जानकारी गराउनु जरुरी छ ।’

    भैरहवास्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्तिराम आचर्यले वार्षिक रु १० करोडको कारोबार गर्ने व्यवसायीले अनिवार्य ई–बिलिङ सिस्टममा जानुपर्ने आर्थिक विधेयकमा उल्लेख भएको बताए। उनले आर्थिक विधेयक, २०७९ ले ई–बिलिङलाई अनिवार्य गरेकोसमेत जानकारी दिए । गएको जेठ १५ गते घोषणा भएको आर्थिक वर्ष २०७९/८० को बजेटमा ई–बिलिङ लागू गर्ने उल्लेख छ ।

    प्रमुख आचार्यले भने, ‘रु १० करोडभन्दा बढीको कारोबार गर्ने सबैले ई–बिलिङ अनिवार्य जारी गर्नुपर्नेछ । साउन १ गतेपछि कसैले लागू नगरेको भेटिएमा पाँच लाख जरिवाना गर्न बाध्य हुनेछौँ ।’

    व्यवसायीहरु पल्लवी न्यौपाने, पिताम्बर न्यौपाने, मदन पौडेल, पशुपति कान्दु, सञ्जयकुमार केशरी, कुर्वान अली, नेत्र आचार्य, गोपाल भण्डारी, ऋषि पाण्डे, दिलीप कान्दु, विजय पाण्डेलगायतले कर, ई–बिलिङ, बिलबीजकको विविध विषयमा जिज्ञासा राख्दै सरकारले कुनै पनि कानुन लागू गर्नुपुर्व पर्याप्त जानकारी गराउनाका साथै र सूचनासमेत गर्नुपर्नेमा जो दिए ।

    रुपन्देहीमा ४७० करदाताहरु १० करोडभन्दा बढीको कारोबार गर्नेमा पर्दछन्। असार मसान्तसम्म ई–बिलिङका लागि आवेदन दिएकाहरुलाई विभागले जसरी पनि साउन १ देखि नै ई–बिलिङका लागि अनुमति दिने पनि जनाइएको छ ।

    के हो ई–बिलिङ ?

    आन्तरिक राजश्व कार्यलयका प्रमुख मुक्ति आचार्यले विद्युतीय बीजक सफ्टवेयरहरुको सूची विभागको वेबसाइटमा साढे चार सयभन्दा बढी रहेको र आफ्नो व्यापारको प्रकृतिअनुसार यसलाई डाउनलोड गरेर प्रयोगमा ल्याउन सकिने पनि बताए ।

    उनले भने, ‘आवश्यकताअनुसार सफ्टवेयर विभागको वेबसाइटबाट डाउनलोड गर्ने र त्यसको ब्याकअप राख्ने गर्नुपर्छ । स्टक, हिसाब किताब सबै आफैँ गर्ने भएकाले यो धेरै सहज छ । ई–बिलिङका लागि करदाताले निवेदन दिनुपर्नेछ । निवेदनसँगै पेन ड्राइभमा सफ्टवेयरको आधिकारिक सेटअप फाइल, २० वटा बीजकको नमूना, उपकरणको स्पेसिफिकेशन, डाटा रिकभरी र ब्याकअप सिस्टम, उपकरण तथा सफ्टवेयर युजर म्यानुअल, सिबिएमएस टेस्ट सर्भरमा परीक्षण भएको म्याटेरलाइज्ड रिपोर्ट, सफ्टवेयर आपूर्तिकर्तासँगको सम्झौता पनि पेस गर्नुपर्दछ ।

    त्यसपछि विभागले स्वीकृति दिएपछि मात्रै ई–बिलिङ गर्न पाइनेछ । स्वीकृति विना ई–बिलिङ गरेमा पनि ५ लाख जरिवाना गर्ने आर्थिक ऐनमा प्रावधान छ । ई–बिलिङ गरेपछि स्थलगतरुपमा गरिने अनुगमन स्वतः न्यून हुने विभागको विश्वास छ ।

    ई–बिलिङले एकातिर व्यवसायिक पारदर्शिता बढाउने छ भने अर्कोतिर सरकारले उद्योगी व्यवसायीले राजश्व चोरे वा लुकाए भन्नेजस्ता शङ्का वा आरोपबाट मुक्त होइने अर्थविद्हरु बताउँछन् । कर लेखा प्रणालीलाई विश्वसनीय र पारदर्शी बनाउन विद्युतीय उपकरणबाट बीजक जारी गर्ने तथा लेखा राख्ने प्रणालीलाई विद्युतीय बीजक भनिन्छ ।

    नेपालमा आन्तरिक राजश्व विभागबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ (क) को उपदफा (२) र दफा १६ (क) को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी विद्युतीय बीजकसम्बन्धी कार्यविधि, २०७४ तयार गरी लागू गरिएकामा आर्थिक ऐन २०७९ ले आर्थिक वर्ष २०७९/८० को पहिलो दिन अर्थात् आगमी साउन १ गतेदेखि वार्षिक १० करोडभन्दा बढी कारोबार गर्ने करदाताको हकमा यसलाई अनिवार्य गरिने भएको छ । यसलाई कार्यान्वयनमा नल्याउनेलाई ५ लाख रुपैयाँ जरिवाना गरिने भएकाले यो ऐन लागू हुने अपेक्षा गरिएको छ ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो

    काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

    लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

    लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

    नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा आइतबार प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए।

    समस्या समाधानको पहलमा लाग्न निर्देशन दिँदासमेत शेयर बजारमा सुधार देखिन सकेको छैन।

    अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

    साताको कारोबारको दोस्रोदिन सोमवार नेप्से ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा आइपुगेको छ ।

    यसदिन २३४ कम्पनीको १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँ बराबरको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    सोमवार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।

    उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०. प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआएसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालयन बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

    अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्।

    एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका छन्।

    एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्।

    एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

    समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ। डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरूङ (अष्ट्रेलिया), डा सुनिल साह (युके), डा बोधराज सुवेदी (पोल्याण्ड), डा शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा नितेश अर्याल (कतार), डा ओम कुर्मी (युके), डा अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा लुसुन चालिशे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा शर्मिला गुरुङ (हङकङ), श्री प्रसुना कँडेल (युके), डा पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा. चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अष्टेलिया) रहेका छन् ।

    बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

    संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए ।

    सम्मेलनको सल्लाहकारमा हेमराज शर्मा, गौरीराज जोशी, डा केशव पौडेल, यास्मिन बेगम सैयद, फणिन्द्र पन्त, डा सन्ध्या चापागाईं (नेपाल ), डा.शरद मान ताम्राकार (अस्ट्रेलिया) छन्।

    सम्मेलनको लागि मिडिया समिति समेत गठन भएको छ । सम्मेलनको मिडिया संयोजनको जिम्मा चिरन शर्मा (युके) भगिरथ योगी (युके) इन्द्रलक्ष्मी घिमिरे (नेपाल) शुभद्रा ढकाल (नेपाल) र हेमन्त काफ्ले (अस्ट्रेलिया) लाई दिइएको छ ।

    ‘विगतका वर्षमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाको घोषणा, साझेदारसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।

  • १ असारबाट मतदाता नामावली संकलन थालिने

    १ असारबाट मतदाता नामावली संकलन थालिने

    काठमाडौं । आगामी संसदीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक थाल्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।
    स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम शुरु हुन लागेको आयोगका प्रवक्ता पौडेलले बताए ।

    यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले बताएको छ । “यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । “पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुनेछ” विज्ञप्तिमा भनिएको छ ।

    आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आप्mनो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा आग्रह गरेको छ । कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ ।

  • बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत

    लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्। उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए। जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई निर्णायक भनेका छन्।

    उत्साहित स्वरमा उनले उक्त नतिजा धेरै राम्रो र विश्वस्त भएको बताए। यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ। आलोचकहरूले भने उनी विरुद्धको विद्रोहको मात्राले जोनसनको अधिकार खुम्चिएको बताएका छन्। केहीले उनलाई राजीनामा दिन पनि आह्वान गरेका छन्। जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो। त्यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो।

    लेबर पार्टीका नेता केयर स्टामरले विभाजित कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर सम्हालिन खोजेको बताएका छन्। लिबरल डेमोक्र्याट नेता एड डेभीले जोनसन सत्तामा अडिग रहँदा उनको प्रतिष्ठा ध्वस्त भएको र उनको अख्तियार अब पूर्ण रूपमा बन्द भएको बताएका छन्। डाउनिङ स्ट्रीटले उक्त नतिजाले प्रधानमन्त्रीको जनादेशलाई नवीकरण गर्ने र सरकारलाई मतदाताले सरोकार राख्ने मुद्दामा निरन्तर ध्यान केन्द्रित गर्न अनुमति दिने बताएको छ।

    जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए। कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रीटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान भएको हो। मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो। कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।
    बीबीसी

  • तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने

    तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने

    काठमाडौं । काठमाडौंमा पछिल्लो तीन महिनायता नियमित उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौंको फोहोर अब बञ्चरेडाँडा डम्पिङ साइटमा जाने छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको सहमतीपछि फोहोर उठ्ने भएको हो । वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति जुटेको थियो । सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरिएको छ ।

    अब हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुरिने भएको छ । दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति समेत जुटेको छ । काठमाडौं महानगरपालिकाले अब हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न सूचना जारी गर्दैछ ।

  • पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी

    पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी

    काठमाडौं । सुदुर पश्चिममा निर्माणको योजना बनेको पश्चिम सेती भारतीय कम्पनीलाई दिने तयारी सरकारले गरेको छ । लगानी बोर्ड नेपालले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बोर्डले भारतीय कम्पनी एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल अघि बढाउने निर्णय गरेको हो । लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजनामा एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल गर्न लगानी बोर्डको कार्यालयले कार्यादेश पाएको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावअघि डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा नै यो विषय खुलासा गरेका थिए । ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ थियो । उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने प्रष्टीकरण दिएका थिए ।

    अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएका बेला सम्भव भएसम्म सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर, लगानी मोडालिटी नै नटुंगिएका कारण हस्ताक्षर हुन पाएको थिएन । आयोजनाको निर्माण मोडालिटी टुंग्याउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजक्तमा एक समिति बनाइएको थियो ।

    समितिले जलाशययुक्त पश्चिम सेती आयोजनामा मात्र विदेशी लगानीकर्ताले चासो दिने गरी पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर(६’ एउटै प्याकेजमा बनाउन सकिने सुझाव दिएको थियो । यदि सो मोडलमा सम्भव नभएर छुट्टा छुट्टै रुपमा आयोजना विकास गर्न सकिने समितिको सुझाव दिएको थियो । चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ भदौ १३ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।

  • संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

    संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

    काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन ।

    सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका छन् । बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ ।

    प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ । धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको छ ।

    असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ । साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।

  • जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ

    जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ

    बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जङ्गलमा पाँचजना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

    इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो ।

  • काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने

    काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालनमा आएको छ । नागरिकका गुनासो व्यवस्थापन तथा सोधपुछ गरी त्यसको समाधान गर्ने गरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह(बालेन)ले जनताले प्रश्न सोध्न पाउनुपर्ने बताए ।

    उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताएका छन् ।। महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । काठमाडौं महानगरका अनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं. फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।

    त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्वीर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने छ ।

  • १ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

    १ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

    काठमाडौं । सरकारले १ असारबाट लागु हुने गरी साताको दुई दिन बिदाको प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले इन्धन खपत घटाउन भन्दै १ जेठबाट शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालेको हो । तर, सोचजती प्रगति हुन नसकेपछि बिदा खारेज गरिएको हो । निर्णयको औपचारिक घोषणा भने भइसकेको छैन ।

    यसबीचमा सेवाग्राहीलाई सन्तुष्ट गराउने गरी सरकारले कार्य सम्पादनका लागि तयारी गरेको थिएन । जसले गर्दा सरकारको आलोचना समेत भएको थियो । कतिपय दुर्गम भेगमा ९ बजे कार्यालय वा विद्यालय पुग्न कठिन भएको भन्दै गुनासो समेत आएको थियो ।

  • मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री नफेर्ने सहमति भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु नफेर्ने सहमति भएको हो।

    नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।

    आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयाँ मन्त्रीमा सिफारिस गरेको थियो।

    पार्टीको निर्णयविरुद्ध आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

    मन्त्री परिवर्तनको विषयलाई लिएर एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

    मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । यो विवादबारे पार्टीको बैठक बोलाएर छलफल गर्ने अध्यक्ष माधव नेपालले तयारी गरेका छन् ।

  • सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने

    सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने

    काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नबढाउने भएको छ ।

    सोमबार प्रतिनिधिसभाकाे बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताएका हुन् ।

    एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनेवित्तिकै हदम्यादमा पुनर्विचार गर्न नसकिने उनको भनाई छ । ‘हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने यहाँहरुको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ’ उनले भने ।

    कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिने र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्न सक्ने मन्त्री बन्दीले बताए । आजको बैठकमा सांसदहरुले हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।

  • ‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’

    ‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’

    काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ,’ सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’

    उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँच/छ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए।

    ‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस्,’ उनले भने, ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस्। जनशक्ति थपियोस्।’

    नामकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।

    समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका एम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार व्यहोर्नुपर्ने बताए ।

  • रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

    लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

    लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

    नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा आइतबार प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए।

    समस्या समाधानको पहलमा लाग्न निर्देशन दिँदासमेत शेयर बजारमा सुधार देखिन सकेको छैन। साताको कारोबारको पहिलोदिन आइतवार नेप्से १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा आइपुगेको छ ।

    यसदिन २२८ कम्पनीको १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँ बराबरको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

    शुक्रवार १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ ।

    माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ०.५४ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह २.०१ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा आज हिमालयन बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, महुली लघुवित्त ७.६६, नेपाल लाइफ र मनकामना स्मार्ट लघुवित्त ३.९२, गुँरास लघुवित्त ३.८६, ग्लोबल आइएमई बैंक ३.६१, अजोड इन्स्योरेन्स, एशियन लाइफ, सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य साढे २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक पौने ७ करोड र नेपाल लाइफको साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

    ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

    काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

    आज प्रतिनिधि सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि सदनमा भएको छलफलमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए।

    ती प्रश्नहरूको उत्तर दिने क्रममा मन्त्री कोइरालाले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए।

    नेपाल कानुन आयोगलाई हदम्याद बढाउँदा देखा पर्ने सकारात्मक र नकारात्मक परिणामबारे अध्ययनका लागि अनुरोध गरिएको र सो आयोगले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानेर हदम्यादको प्रावधानलाई आवश्यकताअनुसार सुधार गरिने विश्वास उनले व्यक्त गरे।

    हदम्यादकै कारण न्यायबाट कोही पनि पीडिट वञ्चित हुनुनपरोस् भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोचिरहेको उनको भनाइ थियो।

  • आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

    आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री

    काठमाडौं । प्रतिनिधिसभामा सोमबारबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।

    सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित गर्ने प्रावधान रहेको छ । तर, यो बजेटमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुले जवाफ दिन नपाउने भएका छन् । पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागेको छ । सम्भवतः सोमबार नै नयाँ मन्त्रीहरुले सपथ लिने छन् ।

  • अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी

    अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी

    काठमाडौं । पश्चिमा मुलुकले युक्रेनलाई लामो दूरी प्रहार गर्न मिल्ने हतियार पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची बढाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । बीबीसीका अनुसार युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो। रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ।

    युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन्। रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुनः केन्द्रित गरेको थियो। रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ। उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन्।

    हालै मात्र अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो। त्यसले हाल युक्रेनसँग रहेका त्यस्ता प्रणालीभन्दा निकै परसम्म र सटीक ढङ्गले निसानामा प्रहार गर्नसक्छ। ह्वाइट हाउसका अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ती प्रणालीहरू रुसी सीमाभित्र प्रहार गर्न प्रयोग गरिँदैन भनेर आश्वस्त पारेपछि मात्र किएभलाई उपलब्ध गराउन सहमत भएको बताएका छन्।

    अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन्। रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका निम्ति युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस(टी पठाउने प्रतिबद्धता जनाएको छ। आइतवार रुसी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, ‘सामान्यत मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ( सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनू।’

  • भारतको उत्तराखण्डमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तिमा २६ को मृत्यु

    काठमाडौं । नेपालको छिमेकी राज्य उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके ०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्। चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो।

    दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेका थिए। उनले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गरेका थिए। पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए।

    उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ। उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।

  • पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान

    पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान

    काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको छ । वर्षात सामान्यभन्दा बढी हुन थालेको छ । सोमबार पहाडी भेगमा बग्ने साना प्रकृतिका नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार बिहान बाढीको एलर्ट सार्वजनिक गर्दै महाशाखाले देशका प्रमुख र मझौला प्रकृतिका नदीमा भने जलको वहाव सामान्य रहने बताएको छ । झापा, सुनसरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव बढी हुने बताइएको छ ।

  • युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    काठमाडौं । वेल्सले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्लेअफमा युक्रेनलाई हराएको वेल्स ६४ वर्षपछि विश्वकप खेल्न छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १,० गोलले पराजित गर्यो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरे । यो गोल नै निर्णायाक बन्यो ।

    युद्धग्रस्त युक्रेनको पक्षमा संसारभरबाट समर्थन आएको थियो । वेल्सलाई कडा टक्कर दिए पनि युक्रेन सफल भने हुनसकेन । विश्वकपमा छनोट भएको वेल्स इंग्ल्याड रहेको समूह बीमा परेको छ । यो समूहमा इंग्ल्याण्डसहित अमेरिका र इरान छन् ।

  • युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण

    युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण

    काठमाडौं । युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्। आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए। कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ। रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा हालैका महिनाहरूमा किएभमा आक्रामक गतिविधिहरू रोकिएका थिए।

    अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था ज्यादै कठिन रहेको भन्दै गल्लीगल्लीमा लडाइँ भइरहेको जनाएका छन्। उक्त सहरलाई नियन्त्रणमा लिनसकेमा लुहान्स्क क्षेत्र रुसी फौज र उसका स्थानीय पृथकतावादी साझेदारहरूको नियन्त्रणमा पुग्नेछ। ती समूहले नजिकैको डोनेट्स्क क्षेत्रका लगभग अधिकांश क्षेत्र नियन्त्रणमा लिइसकेका छन्। पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू गरिएका भए पनि युक्रेनी फौजले डटेर सामना गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

    शनिवार लुहान्स्कका गभर्नरले युक्रेनी फौजहरू अझै पनि सेभरोडोनेट्स्कमा लडिरहेको र उनीहरूले पश्चिमा साझेदारहरूले सहयोग स्वरूप उपलब्ध गराएको अस्त्रहरू कुरिरहेको बताएका थिए। लडाइँका कारण सेभरोडोनेट्स्कका अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएका छन् तर हजारौँ सर्वसाधारणहरू अझै पनि घरका भूमिगत भागमा लुकेर बसेका छन्। गभर्नर हाईडाईका अनुसार रुसी फौजहरूले युक्रेनलाई थप सैन्य सामग्री ल्याउनबाट रोक्न र सर्वसाधारणहरूलाई मानवीय सहायता उपलब्ध गराउन नदिन नदीमा निर्मित पुललाई ध्वस्त बनाइरहेका छन्।

    गएको फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनविरुद्ध हमला गरेयता दशौँ हजार मानिसहरूले ज्यान गुमाएका छन् भने दशौँ लाख विस्थापित भएका छन्। युद्धविराम गराउने कूटनीतिक प्रयासपनि यो बीचमा अघि बढाइएका थिए। युक्रेनी राजधानी किएभमा जनजीवन सामान्य जस्तो बन्न थालिरहेको देखिएको थियो। बीबीसी

  • बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु

    बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु

    ढाका । बंगलादेशको एक गोदाममा विस्फोट हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएको बंगलादेशी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको बीबीसीले लेखेको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन। मृत्यु हुने मानिसमध्ये कम्तीमा पाँच जना अग्निनियन्त्रक हुन् ।

    स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन्। विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ। घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्। विस्फोट भएको कैयौँ घण्टा भइसक्दा पनि आइतबार बिहानसम्म आगो नियन्त्रणमा आएको छैन। यो डिपोमा करिब ६०० मानिसहरूले काम गर्ने त्यसका निर्देशक मुजिबुर रहमानले एएफपीलाई बताए। बाङ्ग्लादेशमा आगलागीका घटना बारम्बार भइरहने गरेका छन्। गत डिसेम्बरमा देशको दक्षिणी क्षेत्रमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो। गत वर्ष राजधानी ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो।

  • नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन

    नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन

    काठमाडौं । नेपाली सेनाले विभिन्न चार हिमालबाट ३३ टन भन्दा बढी फोहोर संकलन गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।

    सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। सो कार्यक्रम आइतबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए। हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो। जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो।

    कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले सगरमाथा(ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो। नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो।

    दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो। त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।

  • अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

    अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

    काठमाडौं । अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी चल्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

    सरकारले इन्धन जोगाउन भन्दै जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।सोसँगै इन्धन खपत घटाउन भन्दै गृहले सार्वजनिक बिदाका दिन सवारी नचलाउन भनेको हो । अत्यावश्यक कामका लागि चलाउनु पर्ने भएमा पास लिएर मात्रै चलाउन पाइने मन्त्रालयले जनाएको छ ।

    अब बिदाका दिन सरकारी गाडी चलाउनु पर्ने भएमा केन्द्रमा मन्त्रालय, आयोग, प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवबाट जारी भएको पास लिनुपर्नेछ ।

    त्यस्तै, प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिव, जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरी प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

    यो व्यवस्था चाँडै कार्यन्वयनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ ।

  • बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?

    बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

    आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम देउवालाई बुझाएको हो ।

    सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

    त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो।

    यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

  • नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय

    नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ ।

    माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

    बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेसमेत छलफल भएको थियो ।

    गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पु¥याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।