Category: फिचर

  • नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ २ पैसा

    नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ २ पैसा

    काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको हो।

    प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

    प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुन्छ । भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद– विक्री गर्न सक्ने गरी सीमा तोकेको छ ।

    प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो ।

    प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

  • लगातार घट्यो नेपाली सेयर बजार, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    लगातार घट्यो नेपाली सेयर बजार, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार चौथो दिन पनि सोही लय कायम राखेको हो । यस साताको ४ दिनमा मात्रै नेप्से १११ अंकले घटेको छ ।

    सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोड बढेको छ ।

    बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँ बराबरको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.६ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूह पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज माउन्टेन हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ६.४७ प्रतिशतले घटेको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८, हिमालयन ऊर्जा ४.०६, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ इक्वीटी फण्ड, मैलुङ खोला, शिखर इन्स्योरेन्स, साल्ट ट्रेडिङ र सानिमा लार्ज क्यापको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा आज बलेफी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द

    तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द

    काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गरेको छ ।

    मौसमका कारण जेठ २० देखि २७ गतेसम्म एकसाताका लागि उक्त रुटको उडान बन्द गरिएको तार एयरले जनाएको छ । आज जोमसोमका लागि निर्धारण गरिएका सबै उडान समेत रद्द भएको छ ।

    तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एकसाताका लागि जोमसोम उडान बन्द गरिएको बताए । ‘आजदेखि एक साताका लागि तारा एयरले पोखरा–जोमसोम उडान बन्द गर्ने निर्णय गरेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘मौसमको समस्या र हाम्रो आन्तरिक कारणले उडान बन्द गर्ने भएका हौँ ।’

    मौसम सम्बन्धी जानकारी दिननसक्दा आज पनि तारा एयरको अन्य उडान पनि प्रभावित भएको उनले बताए । ‘हामीले टावरसँग उडान अनुमति माग्नु अघि मौसम सम्बन्धी रिर्पोट माग्छ । समयमा इनरुट मौसम दिन नसकेपछि १० बजेपछिका सबै फ्लाइट अफ गर्यो,’उनले भने ।

    आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इनरुट’ मौसम सफा नभई उडान अनुमति नदिने बताएको थियो ।

    तर, जल तथा मौसम विज्ञान विभागले प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।

    मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ।

  • अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

    अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

    ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि अधिकारीहरूले जनाएका छन्।


    बुधवार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले भनेः ‘अहिले भन्नुपर्दा चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएका छन’ आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ। प्रहरी उपप्रमुखका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो। आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

    गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको छ। प्रहरी उपप्रमुख डालग्लिशका अनुसार स्थानीय समयअनुसार ४ बजेर ५२ मिनेटमा बन्दुकधारीबारे प्रहरीलाई खबर आएको थियो र त्यसको तीन मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो।

    त्यहाँ पुगेका प्रहरी अधिकारीहरूले गोली चलेको आवाज सुने र त्यही आवाज सुनेर उनीहरू दोस्रो तलातर्फ बढेको बताइएको छ । अधिकारीहरूले दोस्रो तलामा रहेका मानिस लगायतका प्रत्यक्षदर्शीहरूसँग अहिले सोधपुछ गरिरहेका छन्। एबीसी न्यूजसँग कुरा गर्दै कप्तान रिचर्ड म्यूलेनबर्गले बताएअनुसार प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो।

  • भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल

    भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललगायत दुवै मन्त्रालयका उच्च पदस्थ अधिकारी सहभागि भए ।

    मन्त्रालयमा श्रम स्वीकृतिजस्तै रिलेसन भीसा र भिजिट भीसामा विदेश जाँदा पनि पहिल्यै स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने बारे छलफल भएको थियो । त्यसका लागि अध्यागमन विभागले रिलेसन भिसा र भिजिट भिसामा विदेश जानेहरूले स्वीकृति लिनका लागि ‘एप्स’ निर्माण गर्ने र सोको व्यवस्थापन छुट्टै शाखा मार्फत गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

    प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा भिजिट भिसामा नक्कली कागजात बनाइ विदेश पुग्ने र काम नपाइ विचल्लीमा पर्ने समस्याको समाधान हुने बारेमा छलफल भएको थियो । घुम्न जानेले एप्समा भरेको विवरण र पेस गरेका कागजातको यथार्थता एकीन भएपछि अनुमति दिँदा सरकारसँग विदेशमा घुम्न जानेको अभिलेख हुने र विचल्लीमा परेर फर्किन पर्ने समस्या समाधान हुन सक्ने बताइएको छ ।

  • दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९ गते राती ९ बजे नारायणहिटीस्थित दरबारमा तत्कालिन राजा वीरेन्द्र र उनको सम्पूर्ण वंशको हत्या भएको हो ।

    दरबार हत्याकाण्डको आज ठ्याक्कै २१ वर्ष पुगेको छ । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यको पर्दामै छ । छानविन आयोगले तत्कालिन राजकुमार दीपेन्द्रबाट यो घटना भएको बताउँछ । तर, आम मानिस भने यो स्वीकार गर्न तयार छैनन् ।

    नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो । यो घटना नेपालमा राजतन्त्र अन्त्य हुने विविध कारणमध्ये निर्णय बन्न पुगेको थियो । अहिले नारायणहिटी दरबार सङ्ग्रहालय बनाइएको छ ।

  • खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना

    खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना

    काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना हुने गरी सरकारले नियम बनाएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो कसूर गरेमा एक लाख रुपैयाँ जरिवाना लाग्नेछ ।

    उक्त नियमावली अनुसार सरकारले जग्गाको उपयोगको आधारमा १० क्षेत्रमा वर्गीकरण गर्नेछ । यस अनुसार भूवनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको हाल भइरहेको उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र,आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र भनी भूमिको वर्गीकरण हुनेछ । यो वर्गीकरण परिवर्तन गरेमा पनि जरिवाना लाग्ने र त्यस्तो जग्गा साविक बमोजिमकै कायम गर्न सक्ने व्यवस्था पनि नियमावलीमा छ ।

    मन्त्रालयले जारी गरेको प्रेस नोटमा कुनै एउटा क्षेत्रभित्र पनि विभिन्न उपक्षेत्र हुने उल्लेख छ । उदाहरणका लागि कृषि क्षेत्रभित्र अन्नबाली क्षेत्र, फलफूल क्षेत्र लगायतका उपक्षेत्रको रुपमा वर्गीकरण गर्नेछ । आफ्नो जग्गाको वर्गीकरणमा चित्त नबुझाउने पक्षले उजुरी गर्न पाउनेछन् । मन्त्रालयका अनुसार, एउटा क्षेत्रमा वर्गीकरण भएको भूमि अर्को प्रयोजनका लागि उपयोग गर्न मिल्ने छैन ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यवसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने ।’ मन्त्रालयले महत्वपूर्ण खनिज पदार्थ फेला परेमा, प्राथमिकता प्राप्त आयोजना सञ्चालन गर्नुपरेमा, अन्तर्राष्ट्रिय सीमा, सुरक्षा, विकास लगायतका कारणले भूउपयोग परिवर्तन गर्नसक्ने उल्लेख छ । विपद व्यवस्थापनको सिलसिलामा संघीय सरकारले असुरक्षित बस्ती सार्नसक्ने व्यवस्था पनि नियमावलीमा छ ।

    नियमावलीले स्थानीय तहलाई भूउपयोग परिवर्तन गरी असुरक्षित बस्ती सार्न सक्ने, जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न आवश्यक आधार र मापदण्ड तयार गर्ने अधिकार दिएको छ । कृषि भूमिमा यान्त्रीकरण गर्न कित्ता जग्गा एकीकरण गरी चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

  • बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    बारा । बारामा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए । घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार !

    तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ । काठमाडौंको उत्तर पुर्बी डाँडामा अबस्थित जगडोलको स्थानीयबासीको हैसियतले यो पत्र लेख्ने जमर्को गरेको हुँ । काठमाण्डौस्थित जगडोल गाउँ अलि पर बसेर हेर्दा गोकर्ण नगरपालिका भित्रकै एउटा गाँऊ होला भन्ने भान पर्दछ तर भुगोलको हिसाबले जगडोल बुढानिलकण्ठ नगरपालिका भित्रपर्ने तर बुढानिलकण्ठ नगरपालिका प्रशासनको नजरमा भने हत्तपत्त नपर्ने, एैतिहासिक एवं पौराणिक महत्त्व बोकेको रमणीय गाउँ हो । काठमाडौंको जनघनत्व र अव्यवस्थित भवन निर्माणले निम्त्याएको प्रदुषणले निसासिएर जगडोलको स्वच्छतामा रमाउदै टहलिन, बिहान चारै बजे देखि सयौ मानिसहरू “ मर्निङ वाक “ आउने कुरामा तपाईंहरू पनि सायदै अनविज्ञ हुनुहुन्न होला ! तपाईं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ज्यु त बिहान घुम्ने सयौ मानिसहरु मध्येको एउटा अंग नै हुनु हुन्छ ।

    नगरपालिका प्रमुख ज्युहरु !

    म अब मुल बिषय तर्फ प्रवेश गर्छु ।उता काठमाडौं महानगरपालिकाका नब निर्बाचित प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको फोहोर समाधान नगरे सम्म आफू माला नलगाउने प्रण गरेको देखेर मलाई डाह लागेको छ । तर यता प्रकृतिले हराभरा हजारौ पर्यटकको गन्तब्य उपत्यका कै शिर ,जगडोल जाने मुल सडकको प्रबेशद्वारमा अज्ञात मानिसले ल्याएर दुर्गान्धित बनाउने गरेको त्यो फोहोरको थुप्रो र गन्धले तपाईं हामी सबैलाई दिनहु गिज्याउदै आएको छ । कस्ले फाल्छ कसरी फाल्छ आज सम्म अत्तो पत्तो छैन । तर त्यो हरियाली दिनहु फोहोरको पहिरो बन्दै गएको छ । सभ्य समाज ,पढे लेखेकाहरुको बस्ती तर कानुन बिपरित डकैती सैलीमा गाउँको बिचमा फोहोर फ्याकेर दुर्गान्धित बनाईन्छ तर समाज ,प्रशासन सबै मौन ।तपाईं हामी सधैं हिंड्ने बाटोमा बसेर गिज्याई रहने ति फोहोरको थुप्रोलाई हाम्रै आँखाले मात्र देखेको हो कि हाम्रो नाकले मात्र महसुस गरेको हो त्यो त थाहा भएन । स्थानिय प्रशासन वा प्रतिनिधिका आँखाले देखेका भए त कती बर्ष बित्यो त्यो क्रमभङ् हुन्थ्यो होला ? यो बिषय कतिपयका लागि सामान्य हुनसक्छ तर कृयाकलापका हिसाबले यो बिषय सामान्य हुँदै होईन । भोग्नेहरु पिडा भयो भन्छन् । लाजै भयो भन्छन ।

    रमणीय र प्राकृतिक श्राेत साधनले भरिभराउ जगडाेल क्षेत्रको प्रवेशद्वारमा अस्तब्यस्त फ्याकिएको फोहोरको गन्धले ख्याल ख्यालैमा हद पार गरिसकेको छ । वरिपरी महंगा रिजोर्ट स्वादिस्ट पारीकार पाक्ने गर्दछन् तर नाकैमा पोतिएको त्यो फोहोरको थुप्रोले यस अगाडिका जन प्रतिनिधिलाई यो गन्धले कहिल्यै पिडा दिएन ।तर दैनिक आवत जावत गर्ने सर्वसाधारण र पर्यटकका लागि यो पिडा बनेर बसेको बर्षाै भै सक्यो । सुरुमा दुई चार पोका ल्याएर सुरु गरिएको यो प्रकृया अहिले बढाएर रातको समयमा ट्रकमा नै ल्याएर खन्याएर भाग्ने गरेको छ ।

    यदि काठमाण्डौ महानगरका प्रमुख बालेनले जस्तै तपाईं हाम्रा दुबै नगरका प्रमुखले पनि त्यो फोहोर हटाउने प्रतिबद्धता पहिलो दिन देखी गर्नु भएकाे भए हामी कति भाग्यमानि महसुस गर्ने थियौ होला । राज्यको करोडौं करोड लगानीमा अस्त ब्यस्त पसारो परीरहेको सहिद पार्क कै काखमा त्यो फोहोरको डङुर् नाची रहेको छ । न शहिद पार्क प्रशासनलाई त्यो फोहोरले गन्हाउने गरेको छ न जन प्रतिनिधिका नाकमा त्यो गन्ध पस्ने गरेको छ ।

    प्रमुख ज्युहरु ! अचम्म त यो छ कि फोहोरलाई फोहोर देख्ने अनी फोहोरको गन्ध नाकले थाहा पाउने चांहि किन गाउँले र सर्वसाधारण मात्र हुने होला ? जगडाेल हुँदै शिबपुरी हाइकिङ गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु समेत आउने गरेका छन् , उक्त मुख्य प्रवेश मार्गमा रातको समय पारेर ट्रकका ट्रक फाेहरहरू लेराइ दोस्रो ओखरपौवा बनाएर आवत जावत गर्न समेत हम्मे हम्मे पर्ने अवस्थामा छ ।हुन त जगडाेलका स्थानिय बासिहरुले उक्त फोहोर कसले कसरी ल्याउछ भन्ने पतालगाउन बिभिन्न उपाय यस अगाडि नगरेका पनि होईनन् । कुन ठाँऊको फोहोर होला भनेर स्थानिय युवाहरुले फोहोर खोसरेर कागजमा भएको फोन नम्बरमा फोन गरेर समेत पत्ता लगाउने कोशीस गरे । केही सिप लागेन । सि सि क्यामेरा पनि जडान गरिएका छन तर उक्त क्यामेराको भिडियो बौद्ध प्रहरीले हेर्ने सहमति पनि नभएको होइन तर के त्यो क्यामराले काम गरेको छ ? न बौद्ध प्रहरी नै यो बिषयमा संबेदनसिल देखिन्छन् ।न प्रहरीले पत्ता लगाउने कोशीस नै गरेको छ । सुरु सुरुका दिनहरुमा १ , २ पोका फोहोर त हो नि भनेर वास्ता नगर्दा, अहिले मरेका सिनो देखि हरेक फाेहर थुप्रीसकेका अबस्थामा छ ।बटुवा देखि सवारि साधन प्रयोग कर्ता र बटुवाहरु आवत जावत गर्ने हरेकको नाकमा ठुःस गन्ध पुगे पछी एकछिन नाक मुख छोपी हिंड्ने गरेका छन्। प्रहरी प्रशासनको खिल्ली उडाउदै मध्य गाँऊमा ट्रकका ट्रक फोहोर मिल्काउदा समेत न प्रशासन न गाँउले सबै चुप चाप भएको देख्दा हामी नेपाली ” हामी यस्तै त हो नि ब्रो ” भने जस्तो भयौ कि जस्तो पनि लाग्छ ।

    भूमिका जती नै बाँधे पनि जती नै बयान गरे पनि त्यो फोहोर त्यहा बाट हट्नु पर्‍यो ।जसरी पनि हटनु पर्‍यो । हाम्रा नगर प्रतिनिधिज्युहरु अब त्यहाँ पुग्दा नाक मुख थुनेर खुम्च्यार हिड्दै अर्को पाँच बर्ष नबिताइ दिनुहोला भनी अनुरोध साथ यो पत्र सार्बजनिक गरेको हुँ । बिकास र परिवर्तनका नाममा ठुला ठुला गुड्डी हाक्नु भन्दा गाउँले ले महसुस गर्ने यस्तै कामहरु गर्दै जानुस् तपाईंहरुको योगदान अजर र अमर हुने छ । धन्यबाद ।

    बसन्त पौडेल
    बुढनिलकण्ठ -११,जगडोल

  • प्रधानमन्त्री र एमाले अध्यक्षसँगको भेटबारे बालेनले के भने ?

    प्रधानमन्त्री र एमाले अध्यक्षसँगको भेटबारे बालेनले के भने ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे बोलेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिन अपिल गरे ।

    ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ उनले भनेका छन्, ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’

    बुधबार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मतगणना भइरहँदा उनले बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले मेयरको कार्यभार सम्हालेकै दिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए। उनले आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता भएको हुँदा सबैसँग सहकार्य गर्न अनिवार्य भएको बताए।

    ‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन,’ उनले लेखेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’

  • नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ

    नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ

    काठमाडौं । नेपालका होटलहरु अब सिंगल युज प्लास्टिक मुक्त बन्ने भएका छन् । होटल संघ नेपाल (हान)ले बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा नेपालका लागि बेलायती राजदूतको उपस्थितिमा यस्तो अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य सामाग्रीको प्रयोग विस्थापित गर्ने भएका छन् । हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ ।

    हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् । हानका प्रथम महासचिव विनायक शाहले आगामी दुई वर्ष भित्र भने नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने बताए । जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए । ‘यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न’, उनले भने, ‘हामी नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं ।’

  • अर्थमन्त्रीले भने : बजेटमा सबैको अपनत्व छ

    अर्थमन्त्रीले भने : बजेटमा सबैको अपनत्व छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको अपनत्व कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरी आगामी आर्थिक वर्ष ०७९\८० को बजेट ल्याएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

    नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दूरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीका जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको अपनत्व रहेको बताए । ‘यो बजेट तपाईंहरुको हो, म त केवल प्रतिनिधि मात्र हुँ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु, अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

    आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हासिल हुने उनले विश्वास व्यक्त गरे । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी गराए ।

    कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बुलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको उनले बताए । उनले किसानलाई उत्साहित गर्न, परिचय पत्र वितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए ।

    शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीप समेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ । मुलुकमा कृषि वस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए ।

  • काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो

    काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो

    काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फर्किएको छ ।

    त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको ९५३ उडान नम्बरको जहाज ३० नटिकल माइल उडेपछि काठमाडौं फिर्ता आएको हो ।

    सो जहाजको पछिल्लो टायरको केही भाग धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको हो ।

    उक्त विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरिसकेको छ । सो जहाज अवतरण गराउने बेलामा केही समय विमानस्थल बन्द समेत गरिएको थियो ।

    अब उक्त जहाजको प्राविधिक जाँच गरिने जनाइएको छ ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार १ अर्ब ७ करोडमा सीमित

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार १ अर्ब ७ करोडमा सीमित

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

    बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र आज ७ घटेको छ ।

    पछिल्लो तीन कारोबार दिनमै नेप्से ९२ अंकले घटेको छ । बुधवार नेप्से ७.२६ अंकले घटेर २१३०.७१ विन्दुमा आइपुगेको छ ।

    यसदिन २२७ कम्पनीको १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँ बराबरको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको आएको छ । मंगलवार १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये तीन समूहबाहेक अरु सबै समूहको परिसूचक घटेको छ । घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ ।

    मैलुङ खोलाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको करिब १० प्रतिशतले बढेको छ ।

    मैलुङखाला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२८ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १३९.४० रुपैयाँ पुगेको छ ।

    शिखर इन्स्योरेन्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ७.२५, गुँरास लघुवित्त ७.०१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६.८०, मानुषि लघुवित्त ४.७२, एनआइसी एशिया ग्रोथ फण्ड ४.७१, सूर्य लाइफ, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इदिमर्दी र विजय लघुवित्तका शेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

    नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी साढे ४ करोड र शिखर इन्स्योरेन्स पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ‘बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख छैन,स्रोतका स्पष्ट आधार के’ ?

    ‘बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख छैन,स्रोतका स्पष्ट आधार के’ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख नभएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

    आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताए ।

    साथै, स्रोत र कार्यान्वयनको आधार नै बजेटले प्रस्तुत गर्न नसकेको उनको भनाइ छ । “यो बजेट केवल आगामी निर्वाचन लक्षित छ । स्रोत र कार्यान्वयनको आधार केही छैन । अनुमानको आधारमा बजेट बनाइएको छ,” उनले भने ।

    सांसद लिङदेनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भन्नलाई आधार र स्रोत के हो भन्दै प्रश्न गरे । साथै, बन्द रहेको हैटौडा उद्योगबाट उत्पादन हुने लुगा लगाउन अनिवार्य गरे पनि उत्पादन चाहिँ कहिलेबाट हुने भन्दै प्रश्न उठाए ।

    अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’

    अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको बताए ।

  • ‘स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ’- प्रचण्ड

    ‘स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ’- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीत तहको निर्वाचनमा धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा जित हासिल गर्नेमात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

    बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा आयोजित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यी दूई नगरमा स्वतन्त्र रुपमा उठेर जित हासिल गरेका मात्र स्वतन्त्र उम्मेदवार भएको बताए ।

    जनकपुरधाम उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर जितेकाहरु स्वतन्त्र नभएको प्रचण्डले बताए । ‘जनकपुरमा जितेको स्वतन्त्र हो, स्वतन्त्र होइन । धनगढीमा जितेको स्वतन्त्र हो, स्वतन्त्र होइन । यो पार्टीकै हो सबै । दुईटा मान्छेचाहिँ अलि भिन्न ढंगले आए, काठमाडौं र धरान । यसमा अलि भिन्न छन् तर अरु कोही स्वतन्त्र छैनन्,’ प्रचण्डले भने ।

    दुई ठाउँमा स्वतन्त्र रुपमा जितेका उम्मेदवारले पार्टीलाई राम्रो सबक सिकाएको पनि प्रचण्डले बताए । उनका अनुसार माओवादीले काम गर्न नसकेपछि जनताले ‘तिमीहरु त्यसो गर्छाँै हामी यसो गर्छौँ’ भनेर सबक सिकाएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘भिन्नलाईचाहिँ मैले के देख्छु भने उनीहरुलेचाहिँ माओवादीको जस्तो कुरा गरेका छन् क्या ! त्यसो भएकोले उनीहरुलाई जनताले मत दिएको हो । हिजो हामीले जनताको सेवा गर्ने, हावा, पानी, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अत्यचार सब सिध्याउँछौँ भनेर भनेको होइन । अहिले उनीहरु पनि त्यसरी नै पानीको मुहान खोज्दै हिँड्छन् । यी सबै त हाम्रा कुरा हुन् । तर, हामीले राम्रो गर्न नसकेपछि हेर तिमीहरु यसो नगरेपछि हामी यसो गर्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ । मैले यस विषयमा बधाई पनि दिएको छु ।’

    अध्यक्ष प्रचण्डले दुई नगरमा स्वतन्त्रले चुनाव जित्दैमा स्वतन्त्रले अब राज्य सञ्चालन गर्छ भन्ने भ्रममा नपर्न पनि ध्यानाकर्षण गरेका छन् । उनले पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने विल्कुल हुन नसक्ने कुरा भएको स्पष्ट पारे ।

    उनले भने, ‘तर, स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ । त्यो अपवाद हो । कुनै न कुनै रुपमा पार्टीसँग सहकार्य गरेर मात्र अघि बढ्ने सक्ने स्थिति हुन्छ यो देशमा । पार्टी सिस्टम कमजोर हुने स्वतन्त्रको राज्य चल्ने विल्कुल हुन सक्ने कुरा होइन ।’

  • मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?

    मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?

    काठमाडौं । मिस नेपाल–२०२२ को अन्तिम प्रतिस्पर्धाका लागि २४ जना युवती छनोट भएका छन् । मिस नेपाल २०२२ को अन्तिम तयारी चलिरहँदा २४ प्रतिस्पर्धी अब उपाधीका लागि भिड्नेछन् । अन्तिम प्रतिस्पर्धामा रहेका युवतीलाई ब्याच र अंक प्रदान गरिएको छ। पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरेका हुन् ।

    यसपटक मिस नेपाल बन्ने दौडमा अनुष्का पौडेल, श्रीयांशु पिया, दिलाशा डोटेल, आश्रा श्रेष्ठ, अयुषनोभा ढुंगाना, आकृति शाह, मेरिका बाँस्कोटा, मानषी चन्द, स्मारिका शर्मा, श्रीया गजुरेल, सुस्मिता बोगटी, ममता ढकाल, एश्वर्य शाही ठकुरी, सरिषा श्रेष्ठ, अनुश्रुया डाँगी, ऋतुल पौडेल, प्रियंकारानी जोशी, यशस्वी श्रेष्ठ, रोज कँडेल, न्यान्सी खड्का, सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी, गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन्।

    मिस नेपाल २०२२ को फाइनल आगामी असार ४ मा हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने अन्तिम प्रतियोगितामा ६ जना चिकित्सक सुन्दरीले भाग लिएका छन्। हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपालका लागि यो वर्ष देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

  • विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?

    विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?

    न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई पढाइने रब एलिमेन्टरी स्कूलमा उक्त आक्रमण भएको थियो।

    रामोस ह्याण्डगन, स्वचालित राइफल र थुप्रै राउन्ड गोली राख्ने क्षमताको म्यागजीनसहित आक्रामक रूपमा विद्यालय पुगेका थिए। घटनास्थलनजिकै रहेका एक सीमारक्षक सुरक्षाकर्मीले उनलाई गोली हानेर मारिदिएका थिए। तर यस्ता खालका हिंसात्मक व्यवहारले अमेरिकी स्कुले बालबालिकाका साथै शिक्षक र अभिभावकको दैनिक जीवनलाई कसरी असर गर्छ त ? सन् १९९९ मा भएको कोलम्बाइन गोलीकाण्डपछि धेरै अमेरिकी विद्यालयमा मेटल डिटेक्टरको व्यवस्था गरिएको थियो ।

    विद्यालयमा हुने धेरै जनालाई लक्षित गरी हुने गोली प्रहारका घटनाबाट सर्वसाधारणमा पीडा उत्पन्न हुनु र विद्यालयलाई सुरक्षित पार्ने उपायको अपेक्षा गरिनु बुझ्न सकिने कुरा हुन्। टेक्ससको विद्यालयमा भएको घटनापछि विद्यालय रहेका कैयौँ विद्यालयले प्रहरी उपस्थिति बढाउने बताए। सन् १९९९ मा कोलम्बाइन हाईस्कूल, सन् २००७ मा भर्जिनिया टेक यूनिभर्सिटी, सन् २०१२ मा स्यान्डी हुक प्राथमिक विद्यालय र सन् २०१८ मा पार्कल्यान्ड हाईस्कूलमा पनि घटना भएपछि यस्तै गरिएको थियो।

    यी सबै घटनाहरूमा ८८ निर्दोष मानिसहरू मारिएका थिए। विद्यालयमा हुने बन्दुक आक्रमणबारे अध्ययन गरेकी अमेरिकी विज्ञ सेरिल लेरो जोनसनले भनिन्, “प्रत्येक घटनापछि विद्यालयहरूमा सुरक्षा बढाइएको छ र मानिसहरूलाई उनीहरूका बालबालिका कोलम्बाइन, भर्जिनिया टेक अथवा स्यान्डी हूकजस्ता घटनाका पीडित हुँदैनन् भनेर आश्वास्त पारिएको छ।”


    भिक्टिम्स एन्ड अफेन्डर्स जर्नलमा लेख्दै उनले ती घटनापश्चात् विद्यालयमा बन्दुक बोकेका व्यक्ति वा सशस्त्र सुरक्षाकर्मी देखिने, एक्सरे मशीन, मेटल डिटेक्टरहरू राख्न पाउने जस्ता विषय सामान्य बनेको बताइन्। सशस्त्र व्यक्ति आए के गर्ने भनेर अमेरिकी विद्यालयहरूमा अभ्यास गर्न थालिएको छ । अमेरिकी विद्यालयहरू बन्दुकधारीले आक्रमण गरे के गर्ने भन्ने योजना बनाउन पनि अभ्यस्त भएका छन्।

    यसको अर्थ विद्यालयहरूले खतराको आकलन गर्ने, आपत्कालीन प्रतिक्रिया जनाउन योजना गर्ने, सङ्कटका बेला खटिने टोली बनाउने र बन्दुकधारीलाई तत्काल कसरी प्रतिक्रिया जनाउने भनेर अभ्यासहरू बढाइरहेको जोनसन बताउँछिन्। एभ्रीटाउन फर गन सेफ्टी सपोर्ट फन्ड नामक संस्थाका अनुसार एउटा एकदमै विवादित नीति भनेको बन्दुकधारी आउँदा के गर्ने भनेर गरिने अभ्यास हो।

    यो ९५ प्रतिशतभन्दा बढी अमेरिकी प्राथमिक विद्यालयहरूमा लागु हुँदै आएको छ। ह‍ालैका केही त्यस्ता गहन अभ्यासमा नक्कली बन्दुक बोकेका नकाबधारी पुरुषहरू र नक्कली रगत प्रयोग गरेर पीडितको भूमिका निर्वाह गर्ने विद्यार्थीहरू सहभागी भएका थिए। सन् २०२० को एउटा प्रतिवेदनमा एभ्रीटाउनले त्यस्ता अभ्यासको प्रभावकारिताले कति सघाउ पुर्‍याएको छ भनेर “कुनै अनुसन्धान” नभएको बताएको छ।

    यसैबीच त्यस्ता अभ्यास मानसिक स्वास्थ्यका लागि भने हानिकारक हुने सङ्केत देखिएको छ। उक्त प्रतिवेदनले एक अभिभावकलाई उद्धृत गर्दै लेखेको छस् “त्यस्तो अभ्यासका बेला पूर्वप्राथमिक विद्यालयमा पढ्ने मेरी छोरी शौचालयमा एक्लै बस्थिन् र अतिचिन्ताका कारण उनले एक वर्षसम्म उपचार गर्नुपर्‍यो।

    सन् २०१९ मा इन्डियानास्थित एक विद्यालयले त्यस्तो अभ्यास गराउँदा त्यसले विद्यार्थीलाई तनावमा पारेको र शिक्षकहरू पनि गोलीका छर्राबाट आहत र भयभीत भएको भन्दै उक्त विद्यालयको आलोचना भएको थियो। थुप्रै अभ्यासहरू विद्यालयका कर्मचारी वा कानुन कार्यान्वयन गराउने वयस्कका लागि हुन् ताकि उनीहरूले त्यस्ता अवस्थाको सामना कसरी गर्छन् भनेर हेर्न सकियोस्, न्याश्नल सेन्टर फर स्कूल क्राइसिस एन्ड बिरीभ्मन्टका डेभिड स्कनफील्डले बीबीसीसँग त्यतिबेला भनेका थिए। ‘बालबालिकालाई नक्कली रगतले ढाकिएर भुइँमा लडेको अभियन गर्न लगाउनु अर्थहीन छ र त्यो आघात पुर्‍याउने हुनसक्छ।’

  • निजामती अस्पतालले  मोडुलर आइसीयू संचालनमा ल्याउने

    निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने

    काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उनले जानकारी गराए । आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्धहुने उनको भनाई छ ।

    अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उनको दावि छ । अस्पतालले चारबेडको आईसीयू विस्तार गरेर १२ बेडको बनाएसँगै दैनिक १० देखि १५ जना बिरामी आइसीयू नपाएर रिफर हुनुपर्ने समस्याको अन्त्य भएको डा. पौडेलेले जानकारी दिए ।

    चीन सरकारले बनाएको १ सय १५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको उनको भनाइ छ । अस्पताले जेठ १ गतेबाट होलबडी जाँच गर्नेहरुका लागि लक्षित गरेर बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सेवा दिन थालेपछि दैनिक १८० जनाले सेवा लिन थालेका छन् । अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिए ।

  • राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने

    राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिमको चर्चित धार्मिक गन्तब्य बडिमालिकाको भ्रमणमा जाने भएकी छिन् । उनी बुधबार बिहान बाजुरा प्रस्थान गर्ने कार्यक्रम छ । सोही सिलसिलामा उनी मंगलबार नै सुर्खेत पुगेकी छिन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिएका छन् । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेका छन् । बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी छिन् ।

  • माओवादीले आफ्ना निर्वाचित प्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने

    माओवादीले आफ्ना निर्वाचित प्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने भएको छ । कार्यक्रम काठमाडौंमा आयोजना गरिएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रको भनाई छ । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने भएका छन् ।

    पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीको भनाई छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ । बुधबार र बिहीबार प्रशिक्षण चल्ने छ ।

    कार्यक्रम कमलपोखरीस्थित पूरानो कुमारी हलमा राखिएको छ । प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।

  • थप ९ जनामा कोरोना पुष्टी

    थप ९ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्। अहिले देशभर ९७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

  • ‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती

    ‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती

    काठमाडौं । कवड्डी–४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीचको विवाद सहमतीमा टुंगिएको छ । फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षुका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ आदिले संयुक्त हस्ताक्षर गरी विवाद टुंगाइएको हो ।

    दुबै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन् ।’अभिनेत्रीले कुनैपनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छिन् ।

    ‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्द धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्’ सम्झौता पत्रमा उल्लेख छ । दुबै पक्षका अभिभावकहरु बसेर आगमी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई टिप्पणी नगर्ने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबैसमक्ष अपिल गरिएको उक्त पत्रमा लेखिएको छ ।

    सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् । फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेका फूर्पा तामाङले आफुलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना तामाङले थप्पड हानेकी थिइन् ।

    साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । प्रहरीले वौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कवड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो ।

  • मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने

    मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने

    काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबारदेखि मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

    समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मंगलबारदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए। उनले वर्षायामसँगै पानीको टनेल र सुरुङमा समस्या हुने आँकलनसहित हाललाई पानी पठाउने ढोकाहरु बन्द गरिएको बताए।

    ‘आजदेखि पानी पठाउन बन्द गर्न सुरु गरिसकेका छौं,’ उनले भनेका छन्, ‘पर्सीदेखि मनसुन सिजन सक्रिय हुँदै जाने भएकाले त्यसअघि नै बन्द गरिएको हो ।’

    मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

    बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिने जनाइएकाे छ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो ।

  • नेप्सेमा ३५.५३ अंकको गिरावट, एक अर्ब ३१ करोडको कारोबार

    नेप्सेमा ३५.५३ अंकको गिरावट, एक अर्ब ३१ करोडको कारोबार

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से आज ३५ अंकले घटेको छ ।

    पछिल्लो दुई कारोबार दिनमै नेप्से ८५ अंकले घटेको छ । मंगलबार नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक झन्डै ४ करोड र हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
    उच्च अंकले घटेको बजारमा आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको साधरण र प्रमोटर दुवै सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, एनएलजी इन्स्योरेन्स ६.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५, मल्टिपर्पस फाइनान्स ५.३८, प्रभु इन्स्योरेन्स ५.२८, राष्ट्रिय बीमा कम्पनीे प्रमोटर सेयर ५.१५, मैलुङखोला ५.१२, नेपाल इन्स्योरेन्स र समृद्धि फाइनान्सको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

  • च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

    च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

    पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको थियो । लिभरपुलका समर्थक स्टेडियम छिर्न लामो लाइनमा लाग्नु परेको थियो । यनीहरुमाथि फ्रान्सको प्रहरीले अश्रु ग्यास फालेको थियो ।

    सोमवार फ्राँसका खेल अधिकारीले टिकट बिक्रिमा गरिएको संगठित हेरफेरका कारण समस्या आएको बताएका थिए । फ्रान्सका खेल मन्त्री एमिली आउदिया कैस्तेराले रियल म्याड्रिडका समर्थक लिभरपुलका समर्थकको तुलनामा संयमित देखिएको भभिव्यक्ति दिएपछि भने उनी समेत आलोचनाको शिकार बनेका छन् । लिभरपुरका अध्यक्ष टॉम वेरनरले पत्र लेख्दै फ्रान्सका खेल मन्त्रीले माफी माग्नु पर्ने बताएका छन् । यी घटनाको सिलसिलापछि संघले स्वतन्त्र जाँच थालेको जनाएको छ ।

  • युवालाई विदेश पुर्याएर  अलपत्र पार्ने ५ जना पक्राउ

    युवालाई विदेश पुर्याएर अलपत्र पार्ने ५ जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिएका छन् ।

    कडायतका अनुसार मुख्य आरोपी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुवईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई आइतवार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए । साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् ।

    उनीहरुले भिजिट भिसाको नाममा करिव २ करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए । एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारवाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपील गरेको बताए । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएईसहित विभिन्न मुलुक पुर्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स सञ्चालकहरु, दलाल तथा बिचौलियालाई कारवाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

  • अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल संचालनमा आउला ?

    अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल संचालनमा आउला ?

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन आगामी नयाँ वर्ष २०२३ बाट गर्ने तयारी छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यस्तो जानकारी गराएका हुन् । उनले घोषणा गरेकै मितिमा नियमित उडान गर्न सजिलो भने छैन । खासगरी भौतिक संरचना निर्माणको काम समयमै सकिए पनि यहाँ अन्य व्यवस्थापकीय काम यथावत नै छन् ।

    जसले विमानस्थलको कामलाई पर धकेल्नेछ । विमानस्थलका अनुसार जहाज अवतरण गर्ने रुटमा पर्ने एक डाँडो सम्याउनु पर्ने छ । साथै, ल्याण्डफिल साइट व्यवस्थापनको काम समेत गर्नुपर्नेछ । यी काम नयाँ आर्थिक वर्षको शुरुवात नै गरिने उनको भनाई छ । यो विमानस्थल सन् २०१४ मा ठेक्का सम्झौता भएको थियो । सन् २०२१ मै सकिनु पर्ने आयोजना कोभिडपछि पर धकेलिएको हो ।

  • युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत

    युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत

    काठमाडौं (बीबीसी) । पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्। अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ुयुद्ध औजारुका लागि ठूलो वित्तीय स्रोत बन्द गरेको बताएका छन्। उनका भनाइमा यसले रुसलाई युद्ध अन्त्य गर्न अधिकतम दबाव दिएको छ। उक्त प्रतिबन्ध ब्रसल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजको हिस्सा हो। त्यसमा सबै २७ सदस्य राष्ट्रले सहमति जनाएका थिए।

    मिशेलका अनुसार ईयूले रुसको सबैभन्दा ठूलो ब्याङ्क र राज्यको स्वामित्वमा रहेका तीनवटा प्रसारकहरूलाई लक्षित गर्दै कडा प्रतिबन्धात्मक उपायहरू अपनाउने कुरालाई पनि स्वीकार गरेको छ। ईयू सदस्य राष्ट्रहरूले रूसी तेल आयात प्रतिबन्धसम्बन्धी आफ्नो मतभेद अन्त्यका लागि कैयौँ घण्टासम्म सङ्घर्षपूर्ण वार्ताहरू गरेका थिए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले सम्झौतामा पुग्ने अपेक्षा कम रहेको बताएकी थिइन्। विशेषगरी उक्त प्रतिबन्धमा हङ्गेरीले मुख्य रूपमा असहमति जनाएको थियो।

    रुसी तेल आयातमा प्रतिबन्धको प्रस्ताव सुरुमा एक महिनाअघि युरोपेली आयोगले गरेको थियो। उक्त आयोगले सदस्य राष्ट्रहरूका लागि कानुनहरू बनाउने गर्छ। तर विशेषगरी हङ्गेरीको प्रतिरोधका कारण ईयूको पछिल्लो चरणको प्रतिबन्धलाई रोकेको थियो। अन्य भूपरिवेष्ठित देशहरू स्लोभाकिया र चेक गणतन्त्रले पनि रुसी तेलमा निर्भरताका कारण थप समय माग गरेका थिए। ग्याजप्रोमद्वारा रुसी ग्यासबाट पहिले नै काटिएको बुल्गेरियाले पनि उक्त योजनाबाट बाहिरै बस्न चाहेको थियो।

  • तारा एयर दुर्घटना : एक जनाको शव अझै वेपत्ता

    तारा एयर दुर्घटना : एक जनाको शव अझै वेपत्ता

    काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परी २२ जनाको निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टी गरेको छ । निधन भएकामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौं ल्याइएको छ । बाँकी शव आज काठमाडौं ल्याउने तयारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको हो । दुर्घटनास्थलमा रहेका चार शवलाई मंगलबार बिहान मुस्ताङकै कोवाङमा झारिएको छ।

    कोवाङमा रहेका शवलाई आजै काठमाडौं ल्याइने छ । एउटा शव भने अझै फेला परेको छैन । २१ जनाको मात्र शव फेला परेको प्रहरीले जनाएको छ । आज पनि घटनास्थलमा सर्च अपरेशन जारी राखिएको छ । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको हो ।