Category: फिचर

  • ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

    ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बर भएका छन् । यस अवधिमा देशभर ८ हजार ५०६ नमुना पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षणबाट १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षण भएको छ । यो परीक्षणबाट ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    यो अवधिमा ६ हजार २९५ जनाले कोरोनालाई जितेका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको सरकारको तथ्यांक छ ।

  • गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री

    गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशमा एमालेको सत्ता ढलेको छ । यहाँ अब कांग्रेसका कृष्णचन्द्र पोखरेल (नेपाली) मूख्यमन्त्री बनेका छन् । संसदबाट अल्पमतमा परेको पृथ्वी सुब्बा गुरुङको सरकार काम चलाउ भएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत सदस्यसहित सरकारको नेतृत्व दावि गर्न दिएको समय भित्रै नेपालीले आफ््नो दावि पेश गरेका थिए ।

    सोही आधारमा पौडेलले उनलाई मूख्यमन्त्रीमा नियुक्ति दिएकी छन् । यससँगै एमालेको सत्ता ढलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि केन्द्रसहित प्रदेशहरुमा समेत ओली कमजोर बन्दै गएको पुष्टी भएको छ ।

    प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी गराएका छन् । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए।

    तर, उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपनि त्यो मान्य भएन । नेपालीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

  • भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि

    भारतमा ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी, मृत्यु भने अझै दैनिक ४ हजार माथि

    नयाँ दिल्ली । भारतमा कोरोना महामारीको ग्राफ उल्लेख्य घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टी भएको खबर भारतीय संचारमाध्यमले छापेका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८४३३२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ४००२ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो अवधिमा १२१३११ जनाले भने कोरोना जित्न सफल भएका छन् ।

    १ अप्रिलमा ८३ हजार मानिसमा कोरोना पुष्टी भएको थियो । त्यसपछि लगातार बढेको संक्रमण ७० दिनपछि पहिले कै स्थानमा आएको हो । भारले अहिलेसम्म २५ करोड मानिसमा कोरोना खोप लगाइसकेको छ । पछिल्लो २४ घण्टामा ३३ लाख भन्दा बढी मानिसलाई खोप लगाइएको छ । कोरोना एक्टिव केसको हिसावले भारत संसारको तेस्रो स्थानमा छ । कुल संक्रमितको संख्याका हिसावले समेत भारत दोस्रो स्थानमा छ । अमेरिका र ब्राजील भारत भन्दा अगाडी छन् ।

  • गण्डकीमा आज होला नयाँ सरकार गठन ?

    गण्डकीमा आज होला नयाँ सरकार गठन ?

    पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समय आज ३ बजे सकिने छ । त्यसपछि प्रदेश प्रमुख सीता पौडेलले आफ्नो निर्णय सार्वजनिक गर्नेछिन् । उनले शुक्रबार २४ घण्टाको समय दिएर बहुमतसहित सरकारको नेतृत्व दावि गर्न समय दिएकी थिइन् । मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

    कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जना प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई समर्थन दिएका थिए ।

    केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको योग्य दाबीसमेत अयोग्य भनेपछि प्रदेशमा समेत विपक्षी सशंकित छन । किनकी प्रदेश प्रमुख यहाँ केपी शर्मा ओलीले आफु निकटका नेतालाई बनाएका छन् । विपक्षी दलले भने स्पष्ट बहुमत साथ आएको नेतालाई मूख्यमन्त्रीमा नियुक्त गर्न आह्वान गरेका छन् ।

  • नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

    नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

    काठमाडौं । नेपालमा यो सिजनको मनसुन भित्रिएको छ । यसको प्रभावले देशका अधिकांश स्थानमा पानी परेको छ । मनसुनको सुरुवातमै पानी पर्न थालेको र यो वर्ष बढी पानी पर्ने पूर्वानुमान समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने भएको हो ।

    यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका एक, दुई ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । का कारण कापूर्वी र मध्य क्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण वर्षा शुरु भएको महाशाखाले जनाएको छ

  • प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

    प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

    काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएसँगै व्यापक आलोचना शुरु भएको छ । उनले मुलुकमा केपी शर्मा ओलीको मनोमानी बढी भएको भन्दै नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको आपत्तीजनक अभिव्यक्ति दिएका छन् । गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् ।

    वैद्यले नेपालमा त्यस्तो व्यक्ति चाहिएको र नभए आफै त्यसका लागि तयार रहेको आपत्तिजनक शब्द बोलेका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले यस्तो बोलेका हुन् ।

    वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’

    वैद्यको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएसँगै उनलाई पार्टीले अभिव्यक्ति आत्मआलोचनासहित सच्याउन निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

    उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उनी काठमाडौं क्षेत्र नं ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् ।

  • अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ

    अष्ट्रेलियासँग हारेपनि खेलाडीसँग सन्तुष्ट प्रशिक्षक, भन्छन् : गोर्खाली पाराले खेल्यौँ

    कुवेत । नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार राती सम्पन्न अष्ट्रेलियाविरुद्ध ३-० गोल अन्तरले पराजित भयो । अष्ट्रेलिया फिफा वरियतामा नेपाल भन्दा १३० औं स्थानमा छ । अर्कोतर्फ नेपाल दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो । यस परिस्थितिमा पनि मात्र तीन गोल अन्तरको पराजय भोग्नुलाई नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राम्रो उपलब्धी माने ।

    अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको र नेपालीले साहसिक रुपमा खेलेको प्रतिक्रिया दिए । नेपालले नेपालको गोर्खाली पहिचान सम्झँदै भने, ‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’

    विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार राती अन्तिम खेल खेलेको हो । यो खेलमा नतिजा भन्दा प्रदर्शनमा ध्यान दिने बताएका उनले भनेजस्तै नेपालले सुधारिएको प्रदर्शन भने गर्न सफल भएको छ ।

    नेपाल दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा नेपालले दुई गोल खायो । दोस्रो हाफमा १० खेलाडी मात्र खेल्दा पनि मात्र एक गोल खायो । नेपालका गोलकिपरले निकै प्रहार बचाउ गरे, जसले अष्ट्रेलियाको स्कोर कम गराउन भूमिका खेलेको छ ।

    अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मेहनत साथ खेलेको प्रतिक्रिया दिए । नेपालले यो यात्रामा अष्ट्रेलिया र जोर्डनसंग ३-० को हार बेहोर्‍यो । चाइनिज ताइपेईलाई २-० ले हरायो । यी तनी वटै टोली नेपाल भन्दा बलियो टीम हुन् । कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।

  • सभामुखले बोलाएको बैठकमा गएनन् ओली, शीर्ष नेताले के सुझाव दिए ?

    सभामुखले बोलाएको बैठकमा गएनन् ओली, शीर्ष नेताले के सुझाव दिए ?

    काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेता भने बैठकमा पुगेका छन् । नेताहरुले लोकतन्त्रको रक्षा गर्न सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । सभामुखको सचिवालयका अनुसार सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको जानकारी संचारकर्मीलाई दिए । छलफलमा शीर्ष नेताहले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेको निष्कर्ष निकालेका छन् । सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना हुने उनीहरुको भनाई छ ।

    बैठकमा नेताहरुले नागरिकलाई कोरोनाविरुद्धको खोप ल्याउन नसकेकोमा आलोचना गरेका थिए । चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको नीतिो समेत विरोध भएको छ । बैठकमा सभामुख सापकोटाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतबाटै निकास आउने अपेक्षा गरे ।

  • धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको हो ।

    माछा पालना गर्न नयाँ पोखरी खनिएको र सोही पोखरीमा पौडी खेल्ने क्रममा बालिकाको ज्यान गएको हो । प्रहरीका अनुसार बालबालिका गोठालो गएका थिए । अत्यधिक गर्मी रहेको त्यस समय बालिकाहरु पौडी खेल्न जाँदा डुबेपछि उनीहरुसँगै गएका बालकहरुले आफन्तलाई खबर गरेका थिए ।

    आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले ५ जना बालिकाको शव निकालेको हो । प्रहरीले पोखरी वैध वा अवैध हो भन्नेबारे अनुसन्धान थालेको जनाएको छ ।

  • यी हुन् नेपालमा पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोग

    यी हुन् नेपालमा पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोग

    काठमाडौं । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकी करण गरेको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरेको हो।

    स्वास्थ्य विभागको निर्यपछि भएको प्रथम जुनोटिक रोगहरुको प्राथमिकीकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्रथमिकिकरण गरेको जनाएको छ ।

    जसमा प्राथमिकीकरण गरिएका रोगहरुमा इन्फ्लुएन्जा जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस छन्।

    यस्तै, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिसर्कोसिस/हार्डडाइटिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन्। यसअघि नेपालका ६ वटा जुनोटिक रोग प्राथमिकीकरणमा परेका थिए।

  • पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६७ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ।

  • नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त

    नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७५० जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोना मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना रहेका छन् ।

  • बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

    बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

    लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताएका छन् ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए। यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गर्ने जनाएको छ ।

    प्रधानमन्त्री जोनसनले यूकेको खोप कार्यक्रमको सफलताका कारण अतिरिक्त सङ्ख्यामा रहेका खोप आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा रहेको समेत बताए । उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेका छन् ।

    अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपालले बेलायतबाट खोपको अपेक्षा गरेको छ । भारतबाट खरीद गरेको खोप नआएपछि करीव १४ लाख मानिसले पहिलो खोप लगाएपनि दोस्रो खोप लगाउन सकेका छैनन् ।

  • विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै

    विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै

    कुवेत सिटी । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणमा आज अन्तिम खेलहरु हुँदैछन् । नेपालले आज समूहको सबैभन्दा बलियो टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुनेछ । कुवेत सिटीमा आयोजना हुने खेलमा नेपालको लक्ष्य आक्रमण खेल खेल्ने हुनेछ । पछिल्ला खेलमा नेपालले गोल बचाउनुका साथै आक्रामक फुटबल समेत खेलिरहेको छ ।

    नेपालले यसअघि चाइनिज ताइपेईलाई २ गोल अन्तरले हराएको छ । जोर्डनले भने नेपाललाई ३ गोल अन्तरले हराएको छ । नेपाल विश्वकपको छनोट बाट भने बाहिरिएको छ । तर, आफु भन्दा १ सय स्थानभन्दा माथिको बलियो टीमविरुद्ध नेपाल प्रतिष्ठाका लागि लड्ने छ ।

    नेपालले अष्ट्रेलियालाई हराएमा एसिया कप छनोटमा जाने सम्भावा समेत जिवित रहने छ । समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारसहित ६ अंक बटुलेको छ । नेपालले यसअघि विश्वकप छनोटमा २०१९ मा अष्ट्रेलियासँग क्यानबेरामा ५ गोलको पराजय भोगेको थियो । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने तयारीमा छन् ।

  • गण्डकीमा दीपक मनाङेले छाडे पद, विपक्षीलाई साथ दिने

    गण्डकीमा दीपक मनाङेले छाडे पद, विपक्षीलाई साथ दिने

    काठमाडौं । बिहीबार गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मत हाल्न अनुपस्थित भएका स्वतन्त्र सांसद तथा खेलकुद मन्त्री दीपक मनाङेले पद छाडेका छन् । बिहीबार राती मूख्यमन्त्री र मनाङेले बीच पत्रयुद्ध नै चल्यो । मूख्यमन्त्रीको सरकार ढलेको छ । उनी काम चलाउ भएका छन् । कामचलाउन मूख्यमन्त्रीले पूर्ण मूख्यमन्त्रीकै हैसियतमा मनाङेलाई पदबाट मुक्त गरेको पत्र काटे ।

    लगत्तै मनाङेले आफुले पद छाडेको र विधिको शासन अनुसार लोकतन्त्रको रक्षाका लागि लड्ने बताए । अब उनले विपक्षी गठबन्धनलाई साथ दिनेछन् । यो अवस्थामा गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन रहेका पृथ्वी सुब्बा गुरुङको सत्ता जाने छ । यहाँ कांग्रेसको सरकार गठन हुने सम्भावना छ ।

  • आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम

    आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटनपछिको उत्पन्न परिस्थिति र समसामयीक परिस्थितिबारे छलफल गर्ने भन्दै उनले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बैठकमा आऋवान गरेका छन् । यसअघि उनले पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफल गरिसकेका छन् । दिउँसो २ बजे संसद भवनस्थित ल्होत्से हलमा छलफल हुने छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ । तर, उनी जाने सम्भावना भने कम छ । उनको सचिवालयले यो छलफलको औचित्य नभएको बताएको छ । ८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गते मध्यावधी चुनाव घोषणा गरेपछि सभामुखले उचित कदम आफुले पनि चाल्ने बताएका थिए ।

  • प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’

    प्रधानमन्त्री ओलीलाई झट्का दिने ‘एकै दिनका चार निर्णय’

    काठमाडौं । राजनीतिक रुपमा निकै चतुर रुपमा खेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा केही गलेका छन् । खासगरी विपक्षी दल एकजुट भएर उनीविरुद्ध सक्रिय मात्र भएनन्, नतिजामा समेत त्यसले प्रभाव पार्न थालेको छ । आज ओलीका तीन वटा निर्णय उल्टिएका छन् । एक प्रदेशमा उनको समर्थन रहेको सरकार ढलेको छ ।

    आज गण्डकी प्रदेशमा ओलीको समर्थनमा रहेको सरकार ढलेको छ । ३१ सांसदको साथ पाउनु पर्ने प्रदेश सभामा मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा मात्र २७ भोट आयो । यो प्रदेशमा एमाओवादीको साथ लिएर कांग्रेसले सरकार बनाउने गृहकार्य थालेको छ ।


    बिहीबार नै सर्वोच्च अदालतबाट प्रधानमन्त्री ओलीका तीन निर्णय उल्टिएका छन् । यसमा मधेषवादी दलका नेताको सत्ताको भर्यांग बनेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी भएको छ । यसले ओलीलाई ठूलो धक्का लागेको छ ।

    सर्वोच्चले विधायिका छलेर ल्याइएको अध्यादेशलाई वैधानिकता दिएन । आजै सर्वोच्चले कर्णालीमा एमाले ओली पक्षले कारवाही गरेका सांसदलाई पुनर्वहाली गर्ने आदेश गरेको छ ।

    साथै सर्वोच्चले एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भनी ओलीले गठन गरेको समितिलाई समेत अवैधानिक घोषित गरेको छ । अब ओली २ जेठ २०७५ मा फर्कनु पर्छ । त्यस अवस्थामा एमालेमा माधव नेपाल पक्ष बलियो रहने छ ।

    ओली पक्ष अल्पमतमा हुने छ । किनकी आयोजक कमिटीमा ओलीले आफु निकटका नेताहरुलाई राखेका थिए । एमालेको १० औं महाधिवेशन समितिलाई मान्यता नदिएपछि एमालेले कारवाही गरेका ११ नेतामाथिको कारवाही समेत अवैधानिक हुने छ ।

  • कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो

    कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो

    काठमाडौं । कर्णालीमा फ्लोर क्रस गरेका चार जना सांसदको पद बचेको छ । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनीहरुको पद समेत बचेको हो ।

    कर्णालीका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन उनलाई मत दिएका चार जना सांसदलाई एमालेले कारवाही गरेको थियो । उनीहरु एमालेमा माधव नेपाल पक्षका सांसद हुन् ।

  • सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन

    सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै एमालेमा माधव नेपाल पक्षको माग पुरा भएको छ । सर्वोच्चले एमाललाई २ जेठ २०७५ को अवस्थामा फर्काइ दिएको हो । प्रकाश ज्वालासहित चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको हो ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको २३ फागुनको फैसलाअनुसार एमाले र एमाओवादी अलग अलग पार्टी अस्तित्वमा आएका थिए । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरु मात्र बैठक राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए । त्यसलाई ७ चैतमा बसेको ओली पक्षका मात्र नेता सहभागी भएको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।

    सोही महाधिवेशन आयोजक समितिको १० वैशाखको बैठकले फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई कारवाही गरेको हो ।

    राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय कमिटीबाट मात्र निस्कासन गर्न सक्ने व्यवस्था उल्लेख गर्दै अन्तरिम आदेशमा ‘नेकपा एमालेको केन्द्रीय समितिको निर्णय हावाला दिएर निवेदकहरुसँग स्पष्टीकरण माग नगरेको र निवेदनहरुलाई कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पद समेतबाट निस्कासन गर्दा नेकपा एमालेको केन्द्रीय समितिबाट निर्णय भएको नदेखिई प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ (२) (३) को भावनाको प्रतिकुल देखिएको ‘‘’ भन्दै कारबाहीको निर्णय कार्यान्वयनमा समेत रोक लगाइएको छ ।

  • गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् ।

    विहीबार प्रदेशसभामा विश्वासको मत मागेका गुरुङले विश्वासको मत पाउन सकेनन् ।

    गुरुङले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा मत २७ र विपक्षमा ३० मत पर्यो। ६० जना सांसद मध्ये ५८ जनामात्र उपस्थित थिए। ती मध्ये १ जना भने तथस्ट रहे। बहुमतका लागि ३१ मत चाहिन्छ। जनमोर्चाका कृण थापा तथस्ट रहे।

    गुरुङ सरकारकै युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भने मतदान हुँदा प्रदेशसभामा अनुपस्थित रहे।

    मुख्यमन्त्रीको प्रस्तावविरुद्ध काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले मतदान गरेका थिए।

    ६० सदस्यीय गण्डकीमा विपक्षी गठबन्धनको पनि स्पष्ट बहुमत छैन। तर, दीपक मनाङेले विपक्षीलाई साथ दिए विपक्षीको बहुमत पुग्ने देखिएको छ।

  • नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टी, ५२९३ जना संक्रमण मुक्त

    नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टी, ५२९३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको परीक्षणमा ९९०१ नमुनाको पीसीआर परीक्षणमा २८७४ र ५ ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२९३ जना कोरोना मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ जना रहेका छन् ।

  • नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।

    सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे। प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेकाे थियाे।

  • झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता

    झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन विहिबार नेप्से १.८ अकले घटेको २९४४.७८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८८.६५ अंकले बढेको छ भने जीवन बीमा समूह २७३.७८ अंकले घटेको छ ।

    झिनो अंकले घटेको बजारमा आज १४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    सामान्य अंकले घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।

    आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको ९९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ५७ करोड र लुम्बिनी विकास बैंक ४५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

  • मन्त्रिपरिषद् विस्तार , यी हुन् प्रधानमन्त्री ओलीका नयाँ सारथी

    मन्त्रिपरिषद् विस्तार , यी हुन् प्रधानमन्त्री ओलीका नयाँ सारथी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्र छाडेका तथा मावध नेपाल पक्ष छाडेर ओलीपक्षमा लागेकालाई पनि मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।

    एमालेको खनाल–नेपाल समूह छाडेका नेता तथा सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । उनी प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा संसद्मा अनुपस्थित थिए । तर, उनले शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

    यस्तै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले गृहमन्त्रालय सम्हाल्ने भएका छन् । सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृहमन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए । अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

    २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि उनलाई प्रमुख सचेतकबाट हटाएर देव गुरूङलाई प्रमुख सचेतक बनाइएको थियो । यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री बनेका छन् । उनी जसपा अगाढी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्यसमेत थिए । उनी जसपा अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् ।

    यस्तै नारदमुनी रानालाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् ।२०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुखसमेत बनेका थिए ।

    यता सर्वोच्चको आदेशपछि पदमुक्त भएका रामबहादुर थापाकी पत्नीलाई पनि मन्त्री बनाइएको छ । पूर्वगृहमन्त्री बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । नैनकला विगतमा महिला आयोगको अध्यक्ष थिइन् ।

    प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् । शाह बारा जिल्लाको क्षेत्र नम्वर ३ बाट विघटित प्रतिनिधि सभामा निर्वाचित् भएकी थिइन् ।

    २०५४ सालमा ज्वाला भूमिगत नेकपा माओवादीमा संगठित भएकी उनले यसअघि २०६७ सालमा भुमीसुधार राज्यमन्त्री भएकी थिइन् ।

    ज्वाला तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा–२ बाट सांसदमा निर्वाचित भएकी थिइन् । बाराबाट सांसद निर्वाचित साह नेकपा खारेज भएपछि ओली समूहमा लागेकी थिइन् । पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीसहित चार जनालाई सांसद पदबाट हटाएका थिए ।

    प्रचण्डले शाहलाई सांसदबाट बर्खास्त गरेपछि प्रधानमन्त्री ओलीले प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् ।

    यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य मोहन बानियाँ पनि मन्त्री बन्ने भएका छन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । बानियाँलाई नेकपा एमालेले २०७४सालको निर्वाचनमा (पिछडिएको क्षेत्र/पुरुष) कोटाबाट समानुपातिक सांसद चयन गरेको हो ।

  • शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

    शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

    काठमाडौं । नेपालमा शुक्रबार साँझ वा शनिबारबाट मनसुन सक्रिय हुने भएको छ । मौसमविद्ले यो वर्ष औसतमा बढी पानी पर्ने चेतावनी यसअघि नै दिएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभावका कारण बिहीबारबाटै वर्षा भने हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

    मनसुनी प्रणाली नेपाल नजिकै आइसकेको छ । यसले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने छ । यो वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट मात्र १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान सरकारी निकायको छ । गएको वर्ष औसत बराबर पानी पर्दा समेत ठूलो मानवीय क्षति भएको थियो । त्यसको तुलनामा यो वर्ष अझै ठूलो पानी पर्दैछ । बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान छ ।

  • अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

    अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

    लण्डन । अमेरिकाले विश्वका करीव १ सय मुलुकलाई कोरोना खोप अनुदानमा दिने भएको छ । त्यसका लागि ५० करोड डोज खरीद गर्ने घोषणा खबर सार्वजनिक भएको छ । अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने छ ।

    बीबीसीका अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ । बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर बढाउन दबाब छ । अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि यस्तो खबर बाहिरिएका हुन् ।

    ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक रुपमा भने बताइसकेको छैन । विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले आफुसँग भएको योजनाको छिट्टै घोषणा गर्ने बताए । अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम भेगमा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन्।

    आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन्। युरोपको आफ्नो भ्रमणको अन्त्यमा उनले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटिनसँग भेट्ने कार्यक्रम रहको बीबीसीले लेखेको छ ।

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने, मनाङे निर्णायक

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने, मनाङे निर्णायक

    पोखरा । गडकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिँदैछन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभाबाट बहुमत पुर्याउन ३१ जना सांसदको साथ हुनुपर्छ । मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेमा २७ सांसद छन् । अन्य प्रदेशमा जस्तै यहाँ पनि फ्लोर क्रसको सम्भावना भने छ । उता, विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्पमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा प्रस्ताव गर्दैछन् ।

    कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारेका छन् । उनलाई जनमोर्चाका ३ सांसदले साथ दिन मानिरहेका छैन । विपक्षी गठबन्धनले समेत बहुमत पुर्याउन नसके मध्यावधी निर्वाचन घोषणा गर्न सक्ने सम्भावना छ । सोहीकारण मन्त्री दिपक मनाङेले कांग्रेसलाई साथ दिन सक्ने खबर समेत सार्वजनिक भएका छन् ।

    आफ्नो मूख्यमन्त्री पद जोगाउन पृथ्वीसुब्बा गुरूङले आफुलाई साथ दिएको भन्दै प्रदेश सभा जोगाउन आफुले निर्णायक भूमिका खेल्ने बताएका छन् । विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन एक मत चाहिएको छ । प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् ।

  • भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

    काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।


    भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले खोपका सम्बन्धमा राजदूतले के भन्ने बारे चाँही खुलाएको छैन । मन्त्रालयका अनुसार सो अवसरमा खोप आपूर्तिसहित विभिन्न आपसी हितका विषयमा छलफल भएको छ ।

  • सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

    सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग परामर्श गर्ने भएका छन् । उनले शुक्रबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

    सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र पठाएर बैठकमा बोलाएका छन् । बैठक समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको छ ।

  • महाधिवेशन भदौमै गर्ने कांग्रेस सभापतिको प्रतिवद्धता

    महाधिवेशन भदौमै गर्ने कांग्रेस सभापतिको प्रतिवद्धता

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमै आयोजना हुने सभापति शेरबहादुर देउवाले बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभई महत्वपूर्ण राजनीतिक अभियान समेत भएको आफुले बुझेको बताएका हुन् । उनले पार्टीको जिवन्तताका लागि महायज्ञ भएकाले महाधिवेशन तोकिएको समयमै हुने उनले उल्लेख गरेका छन् ।

    देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न समेत आह्वान गरेका छन् । उनले पार्टीका नेता, कार्यकर्तामा अन्यौल नहोस भनी यस्ते विज्ञप्ती जारी गरेको बताइएको छ । कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्ला वा नगर्ला भन्ने अन्यौल अहिले पनि छ ।


    ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन’ उनले भनेका छन्, ‘बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो ।’ असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनको भनाई छ ।