Category: फिचर

  • कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ ।

    बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका हुन् ।

    यसरी आउने खोप अनुदानमा आउने छ । त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिने घोषणा समेत बाइडेनले गरेका छन् ।
    विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो। खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् कुल ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। यसमध्ये कति नेपालमा आउने छ भन्ने चाँही दुतावासले पनि खुलाएको छैन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने उल्लेख गरेका छन् ।

  • विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जित

    विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जित

    काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ अन्तर्गत भएको नेपालले चाइनिज ताइपेईविरुद्ध सानदार जित निकालेको छ । प्रतियोगितामा ताइपेईलाई दोस्रो पटक हराउने क्रममा नेपालले २–० को जित निकाल्यो ।


    समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएसँग नेपाल शुरुवातमै दवाव सिर्जना गर्न सफल भएको थियो ।

    २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । दोस्रो हाफमा नेपालले एक गोल थप्यो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गरेका हुन् ।

    समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । नेपाल प्रतियोगितामा जेठ २४ मा जोर्डन र जेठ २८ मा अष्ट्रेलियासंग खेल्दैछ । तीन वटै टीम नेपालभन्दा बलियो छन् ।

  • अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् ।

    राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको दावि गरेका छन् । तर, यसको भने पुष्टी भएको छैन । अमेरिकी सरकारले नेपालसहित १६ एसियाली मुलुकलाई खोप दिने घोषणा गरेको छ ।

    अमेरिकाको यो घोषणाले नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउन भूमिका खेल्ने प्रधानमन्त्री ओलीको भनाई छ । यसअघि नेपाल सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी राष्ट्रपति जो बायडेनलाई पत्र लेख्दै खोप उपलब्ध गराउन आह्वान गरेकी थिइन् ।

  • मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ ।

    राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने छ । २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

    दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । झण्डै तीन महीना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

    आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

    सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ ।

  • साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

    साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

    काठमाडौं । सरकारले बजेटमा घोषणा गरे अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आज मूल्यसूची सार्वजनिक गर्दै बजेटको कार्यान्वयन थालेको हो । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो ।

    साल्ट ट्रेडिङले आज आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको छ । अब बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसामा किन्न सकिने छ । खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको छ । पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा किन्न सकिने छ ।

    पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने छन् । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

    काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यास भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।

  • नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

    नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५९०४ संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ७५ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ।

  • ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन –  डब्ल्यूएचओ

    ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

    डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानाकारी गराएको हो ।

    बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित थियो ।

    हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

    बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ ।

    तर, हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।

  • श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?

    श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?

    कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् ।

    यो जहाज सिंगापुरमा दर्ता भएको एक्स–प्रेस पर्ल हो । जहाजमा दुई सातादेखि आगो लागेको थियो । आगो निभाइएको छ । तर, अब जहाज डुब्ने क्रममा छ । बीबीसीका अनुसार सयौं टन इन्धन टयाङ्क लादिएको उक्त जहाज चुहिए समुद्री जीवमा ठूलो असर पर्ने भएको छ । भारतीय र श्रीलङ्काली नाभीहरु केही दिन यता आगो निभाउन प्रयासरत थिए ।

    आगो निभेपनि जहाज टुक्रिन र डुब्नबाट जोगाउन नसकिएको समाचारमा उल्लेख छ । समुद्री छाल र मौसमी हावाले पोर्ट अफ कोलम्बो बाहिर भइरहेको उक्त अपरेशनमा बाधा उत्पन्न गराइ रहेको छ । नाइट्रिक एसिडसहित जहाजमा लादिएको इन्धनसहितको सामग्री डुबे समुद्री फेदमा रहेका जीव नष्ट हुने चिन्ता बढेको छ । नेगोम्बोको तटीय क्षेत्रमा पानीमाथि इन्धन उत्रिएको छ ।

    श्रीलंकाको मत्स्य मन्त्रालयले उक्त क्षेत्रमा तत्काल माछा मार्ने गतिबिधि रोक्न भनेको छ । जहाजमा करिब २५ टन एसिड भरिएको थियो । नाइट्रिक एसिड चुहिएर जहाजमा आगो लागेको हो । सिंगापुरको एक्स प्रेस पर्लले भारत र कतारसँग जहाजलाई सो स्थानमै छोड्न अनुमति मागे पनि ती राष्ट्रले दिएनन् ।

    तर श्रीलङ्काले सहमति दिएको थियो । सरकारको यो कदमको सर्वसाधारणले आलोचना गरिरहेका छन् । १८६ मिटर लामो जहाज १५ मेमा भारतीय बन्दरगाह हजिराबाट एक हजार ४८६ कन्टेनर बोकेर प्रस्थान गरेको थियो ।

  • विश्वकप छनोट अभियानमा आज नेपालले ताइपेईको सामना गर्दै

    विश्वकप छनोट अभियानमा आज नेपालले ताइपेईको सामना गर्दै

    काठमाडौं । फिफा विश्वकप २०२२ र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अभियानमा आज नेपालले आज चाइनिज ताइपेईको सामना गर्दैछ । चाइनिज ताइपेईलाई नेपालले यो अभियानको पहिलो खेलमा हराइसकेको छ । त्यसकारण दोस्रो खेलमा नेपालको मनोवल केही उच्च हुन सक्छ । खेल कुवेतको कुवेत सिटीमा नेपाली समय अनुसार राति पौने १० बजे हुँदैछ ।

    ताइपेईविरुद्ध नेपालको लक्ष्य स्पष्ट जित हुनेछ । किनकी तुलनात्मक रुपमा यो समुहमा नेपाल र ताइपेइ कमजोर छन् । तर, ताइपेई नेपाल भन्दा पनि बलियो टीम हो । नेपाललाई समूहका चौथो स्थानमा रहन समेत यो खेल जित्नै पर्छ । त्यस अवस्थामा नेपाल एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउन सक्छ ।

    नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपालभन्दा पछाडी रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालको बाँकि खेल २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग रहेको छ ।

  • आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

    आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले भित्र गूट वा फूटको अन्तिम लडाई जारी छ । माधव नेपाल पक्षका नेताहरुमध्ये केहीले ओलीसँग पुनः वार्ता अगाडी बढाएपछि उत्पन्न परिस्थितिका बीच आज दुबै समुहको महत्वपूर्ण बैठक बस्दैछ । ओली पक्ष र नेपाल पक्षका छुट्टाछुट्टै बैठक बस्ने भएका हुन् । ओली समुहले स्थायी कमिटी बैठक बोलाएको छ ।

    खनाल, नेपाल समूहले केन्द्रीय कमिटी बैठक समेत आजै बस्नेछ । मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गर्दै बुधबारका लागि अर्को बैठक बोलाएको थियो । तर, बुधबार नेताहरुबीच अनौपचारिक बैठक जारी रहेका कारण स्थायी कमिटि बैठक आजका लागि सारेको हो ।

    उता, नेकपा एमालेको खनाल, नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । यो समुहले ओलीसँग सँगै रहने वा छु्ट्टिने विषयमा आज सदस्यहरुसँग राय परामर्श लिँदैछ । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काएमा मात्र ओलीसँग सहमति हुने सक्ने निष्कर्षमा नेपाल समूह रहेको छ । ओली समुह भने पछाडी फर्कन तयार छैन । बरु त्यसको मूल्यमा पार्टी विभाजनका लागि नेताहरु तयार रहेका छन् ।

  • नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ।

    शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने घोषणा नासाले गरेको हो । ती मिसन प्रत्येकका लागि ५० करोड डलर बजेट प्राप्त हुने समाचारमा उल्लेख छ । ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिने बताइएको छ । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।

    त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा नगरेको बीबीसीले लेखेको छ । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।
    ूयी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्ने बताइएको छ । सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो।

  • गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

    गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एक बुँदा समेटेको छ । जसमा नेपालको ढुंगा, गिटी विदेश निकासी गरि त्यसबाट व्यापार घाटा कम गर्ने नीति लिइएको छ । यसका लागि निकासी हुन विन्दुसम्म रोपवे निर्माण गर्न चाहने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यो नीतिको व्यापक आलोचना शुरु भएको छ ।

    आज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मले यो नीति तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले नेपालको प्राकृतिक सम्पदाको दोहन गरेर विदेश निकासी गर्ने सरकारको नीतिले उसको राष्ट्रवाद समेत उदांगो भएको नेताहरुको प्रतिक्रिया छ ।

    एमाले नेता माधव कुमार नेपालले चुरे दोहन गरि मुलुकको आधा जनसंख्यालाई भुक्षय, भोकमरी र डुवानमा पार्ने योजनासहित सरकारले यस्तो नीति ल्याएको आरोप लगाएका छन् । उनले यो निर्णय तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको ढुंगा, गिट्टी र वालुवा निकासी गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी भएको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो निर्णय राष्ट्रघाती भएको प्रतिक्रिया दिएका छन् ।

    उता, अर्थ मन्त्रालयले आजै एक विज्ञप्ती निकाल्दै सरकार चुरेको संरक्षणमा गम्भीर रहेको भन्दै खानीबाट निकाल्ने ढुंगा, गिट्टी तथा वालुवामात्र निकासी हुने बताएको छ । यसका लागि वातावरणीय प्रभाव अध्ययन हुने भन्दै मन्त्रालयले नीतिको बचाउ समेत गरेको छ ।

  • नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

    नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टी भएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।

    देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ।

  • नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको चौथोदिन नेप्से ५५.७६ अकले बढेर २८२७.१३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ५५६ रुपैयाँको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे २ अर्बले बढेर सवा ११ अर्ब पुगेको छ ।

    कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४७९.१३ अंकले बढेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ३३ करोड र सानिमा माइ हाइड्रोपावर ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    आज दुई कम्पनीको शेयरमूल्यमा १० प्रतिशत बढेको छ भने अन्य ११ कम्पनीको मुल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।

    यस्तै, मञ्जुश्री, पोखरा, समृद्धि, जानकी गुह्येश्वरी, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत को हाराहारीमा बढेको छ ।

    त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनी भएको छ ।

  • उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

    उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

    काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म थप भएको हो ।

    बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

    जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ ।

    यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

    यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।

    यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइनेछ ।

    केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।

    वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अन्तिम पटक थपिएको म्याद जेठ २० गते सकिँदै छ ।

  • चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् ।

    तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको छ । यसअघि चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोपलाई समेत डब्लुएचओले प्रयोगको अनुमति दिइसकेको छ । सो खोप नेपालमा समेत प्रयोग भइरहेको छ ।

    सिनोभ्याक खोप भने चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ मुलुकले प्रयोग गरिसकेका छन् । यो खोप १८ वर्षभन्दा माथिका मानिसहरूका लागि प्रयोगको अनुमति दिइएको छ ।

    साथै डब्लुएचओ फाइजर, बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनमा उत्पादन गर्ने खोपलाई समेत अनुमति दिएको छ । यसले विश्वभर खोप सप्लाईमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

    उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

    काठमाडौं । काठमाडौं उपत्यकामा अब केही खुकुलो प्रावधान राखेर निषेधाज्ञा भने लम्ब्याइने भएको छ । यस्तो प्रावधान २१ जेठबाट लागु हुने छ । यसबारे आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने छन् । अहिले अत्यावश्य वस्तुबाहेकको पसल बन्द गरिएकोमा अब खाद्यान्न बिक्री वितरण खुला हुने छ । पूर्वाधार निर्माणका काम समेत सहज बनाइने छ ।

    किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गरिने छैन । तर, सार्वजनिक सवारी साधन भने बन्द हुनेछन् । निषेधाज्ञा भने एक साथा थप्ने तयारी छ । सरकारले प्रतिवन्ध मात्र लगाए पनि यस पटक धेरै मानिसमा परीक्षण गरेन ।

    सोहीकारण उपत्यकासहितका घना वस्तीमा संक्रमण घट्न सकेको छैन । अहिले पनि दैनिक ६ हजार भन्दा बढी मानिसमा कोरोना पुष्टी भइरहेको छ । अब खुला हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । निर्माण सामग्री रातीको समयमा ओसार्न दिने तयारी समेत छ ।

  • अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टीम खेल्ने

    अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टीम खेल्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि मुलुकको संख्या बढाउने निर्णय गरेको हो । यस्तो निर्णय आगामी सन् २०२४ देखि ३० सम्मको बीचमा आयोजना हुने विश्वकपमा लागु भइसक्ने छ । अहिले १० टीमले मात्र विश्वकपमा भाग लिन सक्छन् । यो संख्या बढाएर अब १४ पुर्याउने निर्णय भएको हो ।

    उता टी२० विश्वकपमा भने २० टिम सहभागी गराइने छ । यसले नेपालजस्तो एशोसिएट मुलुकको विश्वकप सपना पुरा हुने देखिएको छ । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा १० टिमले मात्र विश्वकप खेल्ने छन् ।

    २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने उल्लेख गरेको छ। महिला विश्वकपमा समेत टीम संख्या बढिसकेको छ ।

    नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेयता विश्वकपमा छनोट हुन सकेको छनै । सन् २०२२ को टी२० विश्वकपका लागि नेपाल ग्लोबल क्वालिफायर खेल्ने क्रममा रहेको छ ।

  • रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा

    रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा

    काठमाडौं । नेपालमा साढे दुई वर्ष पुरानो राजसंस्थाको विरासत अन्त्य गराउने सुत्रधार सावित भएको रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पुगेको छ । २०५८ जेठ १९ मा राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गरिएको थियो । यसको आरोप तत्कालिन युवराज दीपेन्द्र शाहमाथि लगाइए पनि जनता भने यो स्वीकार गर्न तयार छैनन् । यो घटना अहिले पनि रहस्यमय छ।

    दरवार भित्र घटनाको सबै प्रमाण मेट्ने काम भएको छ । शुक्रबारको दिन साप्ताहिक पारिवारिक जमघटमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली हानी हत्या गरिएको थियो ।

    नेपाली सेनाको सबैभन्दा कडा सुरक्षा पहरा भित्र भएको यो हत्याकाण्डले त्यसबेला संसार नै स्तभ्द बनेको थियो । छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको प्रतिवेदन बनाएको थियो ।

    यो हत्याकाण्डपछि जनतामा राजसंस्थापछि चरम निरासा उत्पन्न भयो । अर्कोतर्फ चर्किएको माओवादी द्धन्द्धको रापमा मुलुकमा गणतन्त्र ल्याउने आधार बन्यो । अहिले पूर्वराजा ज्ञानेन्द्र आम नागरिक बनेर जीवन बिताइरहेका छन् ।

  • टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका छन् । नियमित उडान खुलेकामध्ये चीनमा अझै उडान तोकिएको छैन । अनुमति पाएका उडानमध्ये टर्कीसले इस्तानबुलमा साताको एक उडानको अनुमति पाएको छ ।

    टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबारका लागि तोकिएको छ । नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहामा कतार एयरवेजले समेत अनुमति पाएको हो ।

    कतारमा सोमबार उडान हुनेछ । कतारमा ७ जुनबाट जहाज उड्ने छ । नेपाल एयरलाइन्सले दिल्लीमा हरेक बुधबार उडान गर्नेछ । एयर इण्डियाले साताको शुक्रबार काठमाडौ उडान गर्नेछ ।

  • नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त

    नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८९८ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

  • विवेकशील साझाका नेता उज्वल थापाको निधन

    विवेकशील साझाका नेता उज्वल थापाको निधन

    काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।

    काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारत ४४ वर्षीय थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

    कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

    कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । उनि विवेकशील नेपाली दलका संस्थापक हुन् ।

  • दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १२. ७१ अंकले घटेर २७७०.१२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१६ कम्पनीको ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमबार २१८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर किनबेच भएको थियो ।

    कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

    त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

  • महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित

    महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

    मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको हो ।

    उनीहरुलाई कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको बताइएको छ ।

    अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

    तर, तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ नदिएपछि निष्कासन गरेको एक नेताले बताए ।

  • पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय

    पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय

    काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

    मंगलबार बालुवाटारमा बसेको बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म पनि छलफल जारी राख्ने निर्णय गरेको हो । दुइदिन देखि स्थगित बैठम निर्धारित समयभन्दा ढिलो शुरु भएको थियो ।

    माधव नेपाल समूहले आफ्ना पार्टीका नेतालाई सरकारबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि पर्नु दुःखद् भएको निष्कर्ष निकालेको छ ।

    आजको बैठकमा बजेटबारे पनि छलफल गरिएको छ ।

  • सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति,रेमश चौधरीको रिहाइका लागि पहल गर्ने

    सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति,रेमश चौधरीको रिहाइका लागि पहल गर्ने

    काठमाडौं । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

    मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो ।

    वर्तामा एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएको छ ।

    जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जान ठिक्क परिरहँदा पछिल्लो सहमति बनेको हो । ठाकुरले रेशम चौधरीलगायतको रिहाईको मागलाई प्राथमिक मुद्दा बनाउँदै आएका थिए ।

    उक्त वार्ता टोलीमा सरकारका तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका छन् भने थारु समितिबाट रुकमिणी चौधरी, प्रमिलाल चौधरी, पद्मनारायण चोधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका छन् ।

    सहमतिपत्रमा टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी, धनीराम चौधरीलगायतको मुद्दा फिर्ताका र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने, आन्दोलनका क्रममा महिला र असहायमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न छानिबनि गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।

    ६ बुँदे सहमतिमा सरकारका तर्फबाट कानुनमन्त्री तथा वार्ता टोलीका प्रमुख लिलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका सल्लाकार राजन भट्टराई र एमाले नेता भगवती चौधरीले हस्ताक्षर गरेका छन् । थारु कल्याणकारी सभालगायतबाट रुकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

  • विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत पुग्यो

    विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत पुग्यो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट स्थलमार्ग हुँदै कुवेत पुगेको छ । विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकप र २०२३ मा चीनले आयोजना गरेको एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका खेल आगामी साता हुँदैछन् । अब नेपालले तीन खेल खेल्न बाँकि रहेको छ ।

    नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल पुरा गरि कुवेत पुगेको हो । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ । शनिवार इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको नेपाली टोलीको पीसीआर रिर्पोट सबैको नेगेटिभ आएको छ । टीमले प्रशिक्षण शुरु गरेको छ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेल जितेको छ । चार खेल हारेको छ ।

    समूह बी मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा रहेको छ । सो समूहमा चाइनिज ताइपेई भने अङ्कविहीन छ । यो समुहमा नेपाल सबैभन्दा कमजोर मुलुक हो । फिता वरीयतामा अष्ट्रेलिया ४१ औं, जोर्डन ९५ औं, चाइनिज ताइपेई १४१ औं र नेपाल १७१ औं स्थानमा रहेका छन् । सोहीकारण तीन वटै खेल नेपालका लागि कठिन भने हुनेछ ।

  • चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने

    चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने

    काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ ।

    सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका हुन् । सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो।

    जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको बीबीसीले जनाएको छ । यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।

    यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो । सन् १९६० को दशकयता सबैभन्दा कम हो। सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो। चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो ।

    यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।

    सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नियम आएको हो । नयाँ बच्चाको जन्म नहुँदा बढी उमेरका मानिसको जनसंख्या अधिक हुने र युवा पुस्ता कम हुँदा सन्तुलन मै असर पुग्ने चिन्ता चिनियाँ अधिकारीहरुको छ ।

  • स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

    स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

    जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

    बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरको प्रयोग गरेर चिनाइने छ । जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

    जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

    भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गर्दै आएको छ । उसले सामाजिक संजालबाट समेत यस्तो पोष्ट हटाउन भनेको छ । त्यसो त यो नाम डब्ल्यूएचओले दिएको होइन ।

    तर, संचारमाध्यमले सोही आधारमा स्थापित गराएका हुन् । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड १९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनु नहुने उल्लेख गरेकी छिन् । उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको समेत उल्लेख गरेकी छिन् ।

    अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउने भएको छ । नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटबाट समेत सार्वजनिक भएको छ ।