Category: फिचर

  • भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

    भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

    काठमाडौं । यस पटक सरकारले भारतसँग सरकारी तहबाटै रासायनिक मल खरिद गर्ने भएको छ । गत वर्ष निजी क्षेत्रलाई जिम्मा दिँदा समयमै मल आउन सकेन । सो कारण सरकारको व्यापक आलोचना भएको थियो । भारतबाट मल आउन नसकेपछि बंगलादेशबाट मगाउनु परेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई चाहिने मल खरीदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    सरकारले रासयनिक मल अभाव हुन नदिन यसै वर्ष भारतसँग सम्झौता गरेर मल ल्याउने निर्णय गरेको हो । यसले द्रुत प्रक्रियामा मल आउने अपेक्षा छ । सरकारले हरेक वर्ष करीव १० देखि १२ अर्ब रुपैयाँ मल खरीदका लागि छुट्याउने गर्छ ।

  • यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

    यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

    काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।

    कोरोना महामारीको बढ्दो संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएको भन्दै यस्तो निर्णय भएको हो । यसअघि राष्ट्रिय परिक्षा बोर्डले एसईई परिक्षा वैकल्पिक माध्यमबाट गर्न सरकारसँग सिफारिस गरेको थियो । आन्तरिक मूल्यांकन विधिबाट गर्दा अब विद्यालयहरुले आफै विद्यार्थीको नम्बर तय गरि केन्द्रमा बोर्डमा पठाउन सक्ने छन् ।

  • चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

    चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

    काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले पाउने भएका छन् । यो खोप मंगलबार काठमाडौं आउँदैछ । सो प्रयोजनका लागि सोमबार राती जहाज चीन जाँदैछ । स्वास्थ्य सेवा विभागले ५५ वर्षभन्दा माथि ६५ वर्षको बीचको उमेर समुहमा यो खोप वितरण गर्ने निर्णय गरेको हो ।

    यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गर्ने तयारी सरकारको छ । यो खोप शिक्षक र सवारी चालकले समेत पाउने छन् । यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिएको छ । उनीहरुले दोस्रो डोज खोप भने पाएका छैनन् ।

    पहिलो डोज भारतीय लगाएका जेष्ठ नागरिकले चिनियाँ खोप भने लगाउन मिल्दैन । अहिले ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहित दोस्रो डोज खोप लगाउनु पर्ने अवस्थामा छन् ।

  • तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल आउने विदेशी र नेपाली नागरिकले पालना गर्नुपर्ने शर्तहरुबारे मापदण्ड सार्वजनिक गरेको छ ।

    सोही मापदण्डमा टेकेर हवाई कम्पनीहरुले उडान व्यवस्थापन गर्नुपर्ने भएको छ । बढीमा शर्तमा ७२ घण्टासम्मको पिसिआरदेखि खाडी मुलुकबाट आउनेलाई ५ दिनमात्र क्वारेन्टिन बसे पुग्ने व्यवस्था छन् । पिसिआरको शूल्क र होटेल क्वारेन्टिनको शूल्क व्यक्तिले स्वयमःले तिर्नुपर्नेछ ।


    यस्तो छ नेपाल आउन पाउने शर्त र पालना गर्नुपर्ने नियम

  • नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त

    नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ४९१ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४७ पुगेको छ ।

  • लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित

    लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित

    काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डे निर्वाचित भएका छन्।

    विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

    पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो।

  • नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजार उच्च अंकको गिरावट आएको छ ।

    पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । आज शेयर बजार मापक सूचक नेप्से ४५.७ अंकले घटेर २७८२.८६ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने २ समूहको सूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८०.८८ अंकले घटेको छ ।

    आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ९० करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३९ करोड र एचआइडीसीएल ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । राधी विद्युत् कम्पनी र सेन्टर फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।यस्तै, नारायणी विकास बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

  • चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

    चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

    काठमाडौं । नेपाललाई चीन सरकारले अनुदानमा दिएको थप १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको चार्टर जहाज आज बेइजिङ उड्दैछ । जहाज राती ११ बजे बेइजिङ जाने त्रिभुवन विमानस्थल कार्यालयको तालीकामा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रपति विद्यादेवि भण्डारीसँगको टेलिफोन वार्तापछि खोप सहायता घोषणा गरेका हुन् ।

    यससँगै अब चीनले नेपाललाई अनुदानमा दिएको खोपको डोज कुल १८ लाख पुगेको छ । चीनले यसअघि ८ लाख डोज खोप दिइसकेको छ । यो जहाज मंगलबार दिउँसो साढे २ बजे काठमाडौं अवतरण हुनेछ ।

  • एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

    माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको विपक्षी वकिलहरुको आरोप थियो । साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप अभद्र व्यवहार समेत गरेको आरोप लागेको छ ।


    मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएको समाचारमा उल्लेख छ । यो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको हो ।

    विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अश्लील चित्र र चलचित्र हेर्न थालेको बयानमा उल्लेख छ । विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेको सरकारी वकिलको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई नभेको समेत बताइएको छ ।

    अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थालाई उदृत गर्दै बीबीसीले लेखेको छ । सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो। हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्।

    न्यायाधीश जे मार्क कल्सनले हाकको व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए। फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका छन् ।

  • भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु

    भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु

    उत्तर प्रदेश । नेपालको छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा विषालु रक्सी सेवनका कारण कम्तिमा ५१ जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यस राज्यको अलिगढ जिल्लामा शुक्रबारबाट मानिसहरुको ज्यान गइरहेको छ । प्रहरीका अनुसार अकस्मात ज्यान गुमाएका ६२ जनाको पोष्टमार्टम गर्दा ५१ जनाको मृत्युको कारण विषालु रक्सी भएको खुलेको छ ।

    अस्पतालमा ठूलो संख्यामा मानिसहरु अझै गम्भीर अवस्थामा रहेको बताइएको छ । कोरोना महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बीच पनि धेरै मानिस रक्सी सेवनका कारण मरेसँगै यहाँ लकडाउनबारे नै प्रश्न उठेको छ ।

    सरकारीस्तरबाट भने अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टी भएको छ । घटनापछि स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको जनाइएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसमेत चार जना प्रहरी अधिकारीसमेत निलम्बनमा परेका छन् ।

  • अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

    अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार थप २२ जना घाइते छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाएअनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली चलाएका छन् । आइतबार बिहान एल मुला बैंक्वेट हलको बाहिर यो घटना भएको हो ।

    मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले घटनाको पुष्टी गरेका छन्। शनिबार समेत मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते समाचार छ । बन्दुकका कारण बढेको हिंसाले अमेरिकाको सुरक्षा प्रणालीमै प्रश्न खडा गरेको छ ।

  • आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

    आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

    दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ ।

    कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी भोट हाल्न सक्ने छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । मतपरिणाम समेत साँझसम्म आइसक्ने बताइएको छ । यहाँ नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमाले गएपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

    यहाँ नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनाराय पाण्डे उठेका छन् ।

    उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन्। उनी हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेका उमेदवार हुने । बागमतिमा जस्तै लुिम्बनीमा पनि माधवकुमार नेपाल पक्षले कहाँ भोट दिन्छन् भन्ने विषय भने चासोका साथ हेरिएको छ ।

  • नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो

    नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो

    काठमाडौं । नेपालमा विद्युतीय दुरुपयोग गरि हुने प्रकारको अपराध बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले यस्तो सजग बनाएका हुन् ।


    यसका लागि केही आपराधिक समूह नै सक्रिय रहेको ब्यूरोको भनाई छ । ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमोलगायतमा कल गर्ने गरेको पाइएको छ।

    त्यसपछि अनैतिक कुराकानी र अश्लिल कृयाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने भन्दै सचेत हुन आग्रह गरिएको छ । उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्न भएपछि भिडिओ रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने गरेको प्रहरीले बताएको छ ।

    धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन भनेको छ । प्रहरीले आपराधिक ब्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्न समेत सचेत गराएको छ ।

  • अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको हो ।

    ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । चालु आवमा भने सरकारले १० अर्ब भन्दा बढी बजेट विनियोजना भएको थियो । चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड खर्च भइसकेको छ ।

    मन्त्रिपरिषद बैठकले गत वैशाख ९ मा आयोजनामा आवश्यक बजेटको जोहो गर्ने निर्णय गरेको थियो । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको छ ।

  • कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?

    कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था झन गम्भीर बनेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्योपचारका लागि देश तथा विदेशबाट शुभचिन्तकले सहयोग गरेका छन् । अहिले भने सहयोग अभियान बन्द गरिएको छ ।

  • नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त

    नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा४३६९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०९ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार २७२ पुगेको छ।

  • एमालेको स्थायी कमिटी बैठक स्थगित

    एमालेको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको व्यस्थताको कारण वैठक स्थगित भएको स्रोतले जनाएको छ ।

    पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ ५ बजे बैठक बोलाएका थिए । अर्को बैठक सोमबार बिहान १० बजे बस्नेछ ।

  • सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

    सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

    साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३८४ कित्ता शेयर किनबेच भएका छन् ।

    यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

    नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।

  • भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने

    भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने

    काठमाडौं\एजेन्सी । एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको हाइब्रिड भेरियन्ट पुष्टी भएको छ । संचारमाध्यमहरुका अनुसार यहाँ भारतीय र युके भेरियन्टका दुबै विशेषतासहितको भाइरस पुष्टी भएको छ । यो हावाबाट पनि सर्न सक्ने बताइएको छ । यहाँ कोरोना भाइरस करीव नियन्त्रणमा थिए । भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङका अनुसार यो भेरियन्टमा इन्डियन भेरियन्ट जस्तै तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता पाइएको छ ।

    यो भेरियन्टको भाइरस हावाका माध्यमबाट छिटो फैलिने पुष्टी भएसँगै अझै घातक हुने सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । भियतनाममा ६ हजार ८ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ ४७ जनाले मात्र ज्यान गुमाएका छन्। भियतनाम कोरोना नियन्त्रण गर्न सफल मुलुकमध्ये मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र थप जानकारी पुष्टी नभएको प्रतिक्रिया दिएको छ ।

  • नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द

    नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द

    काठमाडौं । नेपालमा साउन १ गतेदेखि अवैध मोवाइल नचल्ने भएका छन् । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८,७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा ल्याउने घोषणा गरे । यो प्रविधि सञ्चालनमा आएपछि अहिले अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आउनेछ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ । अब विदेशबाट आउनेले नेपालमा मोवाइल लिएर आएपछि पनि त्यो सेट दर्ता गराउनु पर्ने छ ।

  • वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

    वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

    काठमाडौं । संसद विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले चतुर्याइपूर्वक काम गरेको देखिन्छ । आलोचनाका डरले एकै पटक धेरै वृद्धि गरिएको छैन । तर, वृद्धि गर्न समेत छाडिएको छैन । सरकारले वृद्धभत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यो ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकले प्राप्त गर्छन् ।

    सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता समेत ३३ प्रतिशत बढाउने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलको यो घोषणाबाट सरकारले एक साथ धेरै नागरिकको मन जित्न खोजेको देखिन्छ ।

    यसबीचमा सरकारले कर्मचारीको तलवमा समान २ हजार रुपैयाँ मासिक वृद्धि गर्ने निर्णय गरेको छ । यो कम भएपनि सांकेतिक रुपमा सम्बोधन गरेको हो । सरकारले बजेटबाट प्रहरीको रासन भत्ता समेत १५ प्रतिशत बढाउने निर्णय गरेको छ । कर्मचारीको मनोवल बढाउन यस्तो निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए ।

  • बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

    बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

    बगदाद । फिता वरियतामा आफुभन्दा १०३ स्थान माथि रहेको इराकलाई नेपालले दुई गोल फर्काएको छ । ६–२ ले पराजित भएको नेपालले आफ्नो परम्परागत समस्या गोल गर्न नसक्नेलाई भने सुधार गरेको छ । नेपाल र इराकबीच शनिबार राती मैत्रीपूर्ण खेल भएको हो । दुबै टीम विश्वकप छनोटको तयारीमा छन् ।

    इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनायो । दोस्रो हाफमा भने नेपाली टीम अझ कमजोर देखियो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिमको डेब्यु खेलमै गोल गरि मन जिते । मनिस र डिफेण्डर गौतम श्रेष्ठलाई डेब्यु गराइएको छ ।

    कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो । उनले नेपालले आगामी दिनमा अझै राम्रो गर्दै जाने बताए । खेलको सातौं मिनेटमै इराकले अग्रता लिएको थियो । नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो ।

    नेपालका अन्जन विष्टको प्रहार बचाउँदा इराकका अहमेद इब्राहिम खलाफसँग छोएको बल नेपालको पोष्टा छिरेको थियो । ३९औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा इराककले गोल गर्यो । ६७ औं र ७५औं मिनेटमा समेत गोल थप्दै इराक ६–२ को विजयी भयो । नेपाल यसै साता कुवेतमा चल्ने विश्वकप छनोटका खेल खेल्न त्यसतर्फ लाग्नेछ ।

  • यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ ।

    विनियोजित बजेटमध्ये चालु खर्च ४१.२ प्रतिशत, पुँजीगत खर्च २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १२.६ प्रतिशत बजेट विनियोजन भएको छ । प्रदेश तथा स्थानीय तहहरुलाई दिने अनुदानको हिस्सा २३.५ प्रतिशत छ ।

    हेर्नुहोस् बजेटको पूर्णपाठ

  • नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

    नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

    जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन हुने अनुमान छ। यो कुल बजेटको ४१. २ प्रतिशत हो।

    त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको पौडेलले बताए।

  • पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

    पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

    काठमाडौं । सरकारले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाएको छ ।

    आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।

    पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए।

  • चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

    चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

    काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

    आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।

    चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा सम्पन्न गरिने भएको छ ।

    तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण पनि आगामी आवमा थालिने पौडेलले बताए ।

  • पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

  • नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त

    नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४३११ र ७४६ एन्टिजेन विधिबाट १६७ गरि ४४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । देशभर ६ हजार ८० जना संक्रमित निको भएका छन्।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । पछिल्ले २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।

    हालसम्म मृतकको संख्या ७ हजार १६३ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख११ हजार ५०९ रहेका छन् ।

  • याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

    याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

    काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

    आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय गरिएको बताएका हुन् ।

    त्यसका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ ।
    त्यस्तै, सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।