Category: अर्थतन्त्र

  • नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुल्यो

    नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुल्यो

    काठमाडौं । सरकारले नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुला गको छ । सरकारले नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने गरी अध्यादेश ल्याएको हो । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

    सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ । अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ । सार्वजनिक सेवा सहजीकरण गर्नका लागि केही कानुनहरू संशोधन गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले अध्यादेश ल्याएको हो । राष्ट्रपतिबाट सो अध्यादेश प्रमाणीकरण भएपछि नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुल्नेछ ।

  • गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

    गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

    काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ । जसमा गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिएको हो गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।

  • विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ ।

    अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।

    यो संख्या अघिल्लो वर्ष मंसिरमा क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ थियो । यस अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो ।

  • मूल्यवृद्धि १४ महिनायताकै उच्च

    मूल्यवृद्धि १४ महिनायताकै उच्च

    काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेयपदार्थ समूहको महंगीदर करिब दोब्बरले वृद्धि हुँदा गैरखाद्य तथा सेवा समूहका महंगीदर भने घटेको छ ।

    खाद्य तथा पेयपदार्थ समूहमा पनि उपभोक्ताको दैनिक भान्समा अत्यावश्यक तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महंगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

    मंसिरमा प्रदेशगत रूपमा कोशी र मधेश प्रदेशमा महंगी उच्च देखिन्छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत र बागमती प्रदेशको ५.८४ प्रतिशत छ । त्यस्तै, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ ।

    मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ । उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीतिसमेत बढेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत मात्रै थियो ।


    मंसिरमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५९ प्रतिशतु, मध्यवर्ती वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.७७ प्रतिशत र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.२० प्रतिशत रहेको छ । मंसिरमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

  • दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

    दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । इभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ ।

    पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

  • १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

    लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण .(मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ । ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ ।

    त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ ।

    विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

  • निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

    निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।

    समितिको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने ।’ समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देश गरेको छ ।

    व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न भनिएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि निर्देशन गरिएको छ । पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।

  • रविले आजै बुझाए धरौटी

    रविले आजै बुझाए धरौटी

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।

    रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । लिला पछाईको हकमा भने भोलि मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५–५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रवि भने तत्काल छुट्ने छैनन् ।

  • दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।

    शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।

    रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् । ठाउँ-ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।


    नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटक(पटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

  • सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यो आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । मुख्य सुरुङ उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६ सय ४ मिटर खन्ने काम भइसकेको छ । आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् । पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको छ ।

    यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेल सहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा छ ।

    यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।
    बुधबारसम्म आयोजनाको कुल भौतिक प्रगति ३८.८५ प्रतिशत पुगिसकेको छ । वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । स्लोप प्रोटेक्सन र टनेल लाइनिङको काम भने अझै बाँकी छ ।

  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    काठमाडौं । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्ने जिम्मेवारी पाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अधुरो भुक्तानी अर्थतन्त्र चलायमान हुन नसक्नुको प्रमुख बाधक भएको निष्कर्ष निकालेको छ । सरकारलाई अन्तरिम प्रतिवेदन बुझाउँदै आयोगले पूँजीगत खर्च बढाउँदै भएको कामको भुक्तानीको गति बढाउन सुझाव दिएको हो ।

    आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई बुधबार अर्थ मन्त्रालयमा अन्तरिम प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्र थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषय उल्लेख गरिएको मन्त्रालयले उल्लेख गरेको छ । जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिन सुझाव दिइएको छ ।

    वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीलाई सहजीकरण गर्न र व्यापारिक उधारो नियमन गर्न कानुन बनाउन समेत सुझाव दिइएको छ । सरकारले लामो समयदेखि निर्माण व्यवसायीको भुक्तानी चुक्ता गर्न सकेको छैन । यसमा व्यवसायीले सरकारको आलोचना गर्दै आएका छन् । आयोगको प्रतिवेदनमा चालू आर्थिक वर्ष नयाँ ठेक्का नलगाइ निर्माण सम्पन्न कामको भुक्तानीलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

    यसैगरी बहुवर्षीय ठेक्का लागेर सिर्जित दायित्व पूरा गरेर बजेट उपलब्ध हुन सक्ने भएमात्र नयाँ आयोजना आउने वर्षको बजेटमा राख्न समेत आयोगले सुझाव दिएको छ । सरकारले अर्थतन्त्रबारे सुझाव दिन गत असोज तेस्रो साता विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो ।

    चालु आव बाँकी अवधिमा पूँजीगत खर्च बढाउन आयोगले सुझाव दिएको छ । जाजरकोट भूकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधार पुनर्निर्माणमा तीव्रता दिन समेत आयोगले भनेको छ । सरकारले जग्गा प्राप्तिको कारबाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआव्जा वितरणमा तीव्रता दिन र स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्न समेत भनेको छ ।

    आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ । कोभिड अगाडि राम्रो अवस्थामा रहेको व्यवसाय अहिले समस्यामा रहेको तर पछि सुधार हुने अवस्था रहेमा विषय हेरेर एक वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न अवसर दिन समेत आयोगले सुझाव दिएको छ । घरजग्गा बजार शिथिल रहेको र बैंकहरूको गैरबंैकिङ सम्पत्ति बढ्दै गएको सन्दर्भमा सार्वजनिक–निजी साझेदारीमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न आवश्यक कानुन ल्याउन समेत आयोगले सुझाव दिएको छ ।

    सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेका अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावका आधारमा स्रोतको उपलब्धता मध्यनजर गर्न र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न पनि सुझाव दिइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    आयोगले प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएका समस्या सम्बोधन गर्न समेत सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यक्षेत्र एक स्थानीय तहको भौगोलिक क्षेत्रभन्दा बढी हुन नदिने गरी कानुनी व्यवस्था गर्न भनिएको छ ।

    सहकारी संस्थाले कम्पनीलाई वा कुनै संगठित संस्थालाई सदस्य बनाउन निषेध गर्ने, प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने व्यवस्था गर्ने सुझाव दिइएको छ । यसैगरी बचत तथा ऋण सहकारी संस्थामा वित्तीय संस्थामा जस्तै एकल कर्जा सीमाको कानुनी व्यवस्था गर्न, तत्कालका लागि एकै व्यक्तिलाई एउटा वा एकभन्दा बढी तमसुकबाट हुने कुल ऋण लगानी संस्थाको कुल सेयर पूँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्ने लगायत समेत सुझाव दिएको छ ।

    आयोगले चालु आव बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्न १० करोडभन्दा बढी रकम विनियोजन भएका सबै आयोजनाको नियमित अनुगमन र स्थलगत रूपमा समस्या समाधान गर्ने अधिकार सम्पन्न टोली परिचालन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

  • लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    काठमाडौं । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् ।

    उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

    गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् । सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।

  • फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने

    फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ । विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।

    एक महिनाका लागि स्थगित उडान १५ जनवरी ९२९ पुस० देखि पुनः थाल्ने तिवारीले बताए । गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका छन् ।

  • पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

    पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जस अनुसार २०८०–८१ को पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको अनुमान छ

    । उता, गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयले गरेको छ । गत आव अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो । यस आव पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयको छ । चालु आव सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर भेट्ने लक्ष्य लिएको छ ।

    पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान यस त्रैमासमा गरिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयको छ ।

    त्यस्तै प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ । प्रथम त्रैमासमा निर्माणजन्य वस्तु आयातमा आएको गिरावट र निर्माणले गति लिन नसक्दा यो क्षेत्र संकुचनमा छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले ऋणात्मक छ । निर्माण क्षेत्र कोरोना महामारीयता नै निरन्तर संकुचनमा छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ ।

    धान लगायत वर्षेबाली वृद्धि, तरकारी र नगदेबाली वृद्धि तथा पशुपन्छी उत्पादनमा भएको वृद्धिले यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयले उल्लेख गरेको छ । समयमा मल उपलब्धता, उन्नत बीउ प्रयोग, पर्याप्त मनसुनी वर्षाले समेत कृषि उत्पादनमा सहयोग गरेको सरकारको भनाइ छ । वर्षायामको बाढी र पहिरोले क्षति गर्दा कृषिमा उल्लेख्य वृद्धि भने हुन नसकेको कार्यालयको विश्लेषण छ ।

    कार्यालयका अनुसार अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारमा समेत उल्लेख्य वृद्धिदर छैन । यो क्षेत्र पहिलो त्रैमासमा ०.५ प्रतिशतले मात्र विस्तार भएको देखिन्छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तु आयातमा भएको सामान्य वृद्धिका कारण व्यापार क्षेत्रमा केही सुधार देखिएको कार्यालयले जनाएको छ । यस त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान छ ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष यो क्षेत्रको उत्पादन बढेको कार्यालयले उल्लेख गरेको छ । यस वर्ष शिक्षा ०.४, स्वास्थ्य ४.१ र घरजग्गा कारोबारमा ३.१ प्रतिशतको वृद्धि भएको देखिन्छ । यसरी समग्र अर्थतन्त्रबारे कार्यालयले भनेको छ, ‘नेपालको आर्थिक वृद्धिदर कहिले घट्ने, कहिले बढ्ने गरेको भए पनि आव २०७९्–८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिन्छ ।’ गत आव अन्तिम त्रैमास (वैशाख–असार) को तुलनामा चालु आव पहिलो त्रैमास ९साउन–असोज० मा १८ औद्योगिक क्षेत्रमध्ये १२ क्षेत्रको उत्पादन बढेको देखिएको छ । ६ क्षेत्र संकुचनमा आएका छन् ।

    यी दुई त्रैमास तुलना गर्दा विद्युत् तथा ग्यासमा सबैभन्दा धेरै ८.५ प्रतिशत वृद्धिदर छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ७.७ प्रतिशत वृद्धि भएको अनुमान छ । कृषि, वन तथा मत्स्य भने ऋणात्मक हुँदै ०.८ प्रतिशतमा खुम्चिएको छ । ऋणात्मक रहेका ६ क्षेत्रमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन १३.९ प्रतिशत र व्यापार ३.७ प्रतिशतले खुम्चिएको छ । निर्माण क्षेत्र ०.६ प्रतिशतले खुम्चिएको छ ।

  • भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो

    भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो

    काठमाडौं । मङ्गलबार बिहान गएको शक्तिशाली भुकम्पमा परि चीनमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । कयौं घाइते भएका कारण मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । नेपालमा ७ रेक्टर स्केल मापन भएको भुकम्पको केन्द्र चीनको तिब्बत रहेको थियो । सिजाङ अटोनोमस रिजनको डिग्री काउन्टी केन्द्रविन्दु भएर भुकम्प गएको हो । नेपालमा भने अहिलेसम्म मानवीय क्षति भएको खबर छैन ।

  • माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग उठेको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्याङ्कन नभएको भन्दै गुनासो समेत बैठकमा भएको छ । ‘कामको सही मूल्याङ्कन गर्न, दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ ।

    आइतबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मूलभूत पक्षको सबैबाट समर्थन गर्दै यसलाई कार्यान्वयनमा कडाइ गर्न जोड दिएका छन् । नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् । केही सदस्यले पार्टीको महाधिवेशन तालिका ल्याउन आग्रहसमेत गरेका छन् ।

    दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् । स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीको पक्षमा माहोल बनेकोमा बेला सङ्गठन पार्टीभित्र कुनै विवाद र बहसमा अल्झिन आवश्यक नभएको बैठकमा बोल्ने केही नेताको भनाइ छ भने केहीले महाधिवशेनबाट पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

  • कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

    कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेका हुन् । सात दिनभित्र चित्त बुझ्दो जवाफ प्राप्त नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।

    मन्त्रालयले पठाएको पत्रको ८ नम्बर बुँदामा प्राधिकरणको सञ्चालक समितिको बैठकमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक–पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादाविपरीतका कार्यहरू गरेको र मन्त्रालयको निर्देशनसमेतलाई अवज्ञा गर्दै आएको उल्लेख छ ।

    यस्तै ४ नम्बर बुँदामा यही पुस ४ को सञ्चालक समितिको बैठकको माइन्युटमा डेडिकेटेड फिडर र ट्र‌ंकलाइन महसुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशनमा मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने एजेन्डामा नेपाल सरकारबाट नियुक्त भएका प्राधिकरणका कार्यकारी निर्देशकले नोट अफ डिसेन्ट लेखेर सरकारको निर्देशनको अवज्ञा गरेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण ‌ऐन, २०४१ को दफा २५ को उल्लंघन हुने गरी सरकारको निर्देशनको अवज्ञा गरेको मन्त्रालयले जनाएको छ ।


    ऊर्जा मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । मन्त्रालयले मिश्र संयोजकत्वको समिति डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न गठन गरिएको हो ।

    तर, प्राधिकरणले अदालत वा विद्युत् नियमन आयोगमार्फत यस्तो समिति गठन हुनुपर्ने अडान लिँदै आएको छ । मन्त्री खड्काले भने समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले व्यहोर्नुपर्ने जनाउँदै आएका छन् । यसअघि नै मन्त्री खड्काले घिसिङलाई मन्त्रिस्तरीय निर्णय गरेर १५ बुँदे र सचिवस्तरीय निर्णय गरेर ६ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । उनले प्राधिकरणमै आफ्‌नो कार्यालयसमेत खोलेका छन् ।

  • २ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै

    २ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै

    काठमाडौं । रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ । नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको होटल सघं नेपाल (हान) ले जनाएको छ । हानको स्थापनाको दिन पारेर सत्कार दिवस मनाउन लागिएको (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए ।

    उनका अनुसार यस दिन देशभरीका होटेल संघ राजधानीमा उपस्थित हुने र आफ्नो रैथाने परिकार प्रस्तुत गर्ने उनले जानकारी दिए । सो अवसरमा नेपाल होटल इयरबुक समेत सार्वजनिक गरिने भएको छ । सो अवसरमा सातै प्रदेशका रैथाने खाना प्रदर्शनीमा राखिने भएको छ । हानले गत वर्षबाट यसरी क्यालेन्डर कार्यक्रम गर्न थालेको हो । हानको वार्षिक साधारणसभा समेत सोही दिन आयोजना हुने भएको छ ।

  • सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

    यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

    भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए । विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।

    यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दशैंमा अग्रिम बुकिङ खुलाउने क्रममा व्यवसायीसँग भएको सहमति अनुसार सरकारले मूल्य समायोजन गरेको भन्दै खुसी व्यक्त गरे । यो गत वर्षसम्मको मूल्यमा आधारित रहेर समायोजन गरिएको भन्दै उनले यसबीचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दा समेत भाडा समायोजन नभएको बताए ।

    तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने विभागले जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ। यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।

    कुन गन्तब्य पुग्न कति भाडा ?

  • व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।

    निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीबाट रोक लगाउने निर्णय गरेका थिए । उक्त निर्णय फिर्ता लिन वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण सहितका निकायले आग्रह गरिरहेका छन् । पटक–पटकको वार्ता निक्र्योलमा पुग्न नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरिएको र आपतकालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका हुन् ।

  • विपद्‌ पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन

    विपद्‌ पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन

    काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकको निर्णयबमोजिम उक्त योजनाका प्रस्तावित विषयहरु प्रस्तुत गरिएको थियो ।

    क्षतिको विस्तृत लेखाजोखा (डीडीए) गर्न बाँकी भए सम्बन्धित मन्त्रालयबाट गराउन र सोका लागि अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमा आएको थियो । प्रस्तुत प्रस्तावका अधारमा ठोस योजना बनाइ यही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी आजको बैठक स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    परिषद्मा सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रमा आगामी तीन वर्षका लागि ९८ अर्ब ६५ करोड २९ हजार ६८ रुपैयाँ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको छ । डोटी भूकम्प ९बाजुरा, बझाङसमेत० पञ्चातको निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने र २०८० सालको बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने विषयमा प्राधिकरणले तयारी गरेको छ ।

    आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनःनिर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिवलगायतको सहभागिता थियो ।

  • १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो

    १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो

    काठमाडौं । १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने सहमति भएको हो । लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१, जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब रुपियाँ रहेको छ ।

    अप्पर मस्र्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको थियो । यसका साथै २०८१ पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्रि सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवर्धकका रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

    परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्धक-संस्थापकको लगानी रहने बताइएको छ । लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कमध्ये सहअगुवा ग्लोबल आइएमई बैङ्कको छ अर्ब तथा प्रभु बैङ्कको तीन अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।

    आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।

  • काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

    काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सरकारी वकिल जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।

    जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।

    त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिल कटुवालले भने नाम, ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो। केहीको तीन पुस्ते खुलाउन पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएका छन्।
    यी हुन् स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएकाहरू ?

    परिसरको हिरसतमा रहेकास् कमल लामा र सुनिता नेवा
    कास्कीमा रहेका प्रतिवादीहरूः कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने (उनीहरूमाथि कारबाही गर्न काठमाडौं झिकाउन पनि सरकारी वकिलको मागदाबी छ।)

    फरार रहेका प्रतिवादीहरूः गितेन्द्रबाबु राई ९जिबी०, देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ, विशाल तामाङ, अनन्त बाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठ, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेल, किरण पुडासाई, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेल, जनक भट्टराई, मुखियाकान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी छन्।

  • एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

    एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

    काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको दावि गरेका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ राजनीतिक कोर्सको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका ६ महिनाका सन्दर्भमा समिक्षा गरिएको छ। समिक्षामा मुलुकको अर्थतन्त्रमा सुधार आएको निस्कर्ष निकालिएको छ ।

    उनले बैठकमा यस अवधिमा अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचन एवम् निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले अध्यक्ष ओलीको प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश दिइएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको तथा अर्थतन्त्रमा सुधार आएको विषय उल्लेख छ ।

    यसका साथै, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रका बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमित्तामा सङ्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धिहरु प्रतिवेदनमा समावेश रहेको उनले जानकारी दिए ।


    बैठकको सुरुवातमै ओलीले देश विशेष परिस्थितीबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिरहेको बताए । अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने तथा अराजकताको अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको उनको भनाइ छ । उनले बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयताका पोलिट्ब्यूरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरु सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।

  • विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

    विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

    काठमाडौं । गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

    डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

    कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ। ुअध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ,ु उनले भने।

    प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ। क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन्। ुसडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,ु उनले भने।

    राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो। उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग छलफल गरेका थिए।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ। मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ।

    यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ। सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ। पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए। हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गर्थ्यौं, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ, उनले भने।

    तस्बिर : पेमा लामा/ रासस

    उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ। बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ।बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।

    राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो।

    खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो।

    रासस

  • कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

    कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

    काठमाडौं । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् । जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।

    समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैरआवासीय नेपाली सङ्घ, एनसीसी, प्रदेश समाज, सम्पूर्ण क्रियाशील सङ्घसंस्थाहरूको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।”

    विज्ञप्तिमा अगाडि भनिएको छ, “यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालयलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।”

    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा भएको बृहत् अन्तरक्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादरका कारण एकदमै ठुलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३ अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज बुलुन्द गर्दै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा स्मरण गरिएको छ ।

    साथै गत २१ अक्टोबरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति श्री भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उहाँकै निवासमा भेटेर थप तागेता गरेको र कोरियामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडादर घट्न सफल भएको जनाइएको छ ।

  • लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

    लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

    काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् । उनले सो सडक कालोपत्रे छिट्टै हुने समेत बताए ।

    खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका प्रधामन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय अहिले सञ्चालनमा आएको सडकले थप सहज भएको उल्लेख गरे । तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत ३० औं पटक सगरमाथाको आरोहण गर्ने साहसीको जिल्ला भएको भन्दै उनले अब यस क्षेत्रको विकास र प्रगति हुने विश्वास विश्वास व्यक्त गरे ।
    उक्त अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामु शेर्पाको घर समेत अवलोकन गरे ।

    प्रधामन्त्री ओलीले भने, ‘‘हिउँ विश्वका धेरै स्थानमा पर्छ तर हिमालको हिउँले प्राकृतिक सन्तुलन कायम राख्नबेग्लै महत्त्व राख्दछ ।’’ आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका कारण हिमाल सङ्कटमा पर्दै गएको भन्दै यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको उनको भनाइ छ ।

    विश्वलाई शीतलता प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुःखद भएको भन्दै सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । उनले विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको विश्वको सर्वोच्च शिखर रहेको खुम्बु क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु वडा नं १ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न सुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएको हो । पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।


    थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ ।

    खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ । बाटो खुलेसँगै अहिले दैनिक बस, सुमो र बलेरोले यात्रुलाई लुक्लामुनिको सुर्केसम्म पुर्‍याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दूरीमा पर्छ ।

  • अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

    अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

    युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

    साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

  • एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

    एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
    अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु. ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ ।

    “मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ । रासस

  • बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

    बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

    काठमाडौं । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो ।

    सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार यस्ता विभिन्न कम्पनी तगा सर्वसाधारणहरूको साइबरको माध्यमबाट रकम लुटिएको उजुरी र त्यबारेमा अनुसन्धान भइरहेको छ । उनले यस्तो कार्यमा हालमस्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर सक्रिय रहेको बताए ।

    उनले भने, ‘साइबर आक्रमणकारीहरूले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिने र त्यसपछि आफूहरू कुनै वालेट वा वित्तीय संस्थाबाट बोलेको भन्‍दै ओटीपी माग्‍ने गरेको उजुरीहरू आएको छ।’

    उनका अनुसार साइबर आक्रमणकारीहरूले कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउने गरेको पनि पाइएको छ ।

    ‘साइबर आक्रमणकारीहरूले तपाइको सामान आएको बहानामा वा लिंक पठाएर पुरस्कार आएको बहाना गर्छन् । तर, लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको उजुरी धेरै आएको छ।’ उनले भने ।

    ब्‍यूरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध गरेको छ ।