Category: अर्थतन्त्र

  • डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

    डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले


    म्याग्दी, १८ भदौः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरे । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उनले, ‘भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।”

    बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारीखेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ । बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै, कोदोखेती गर्दथे । आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारीखेती भएका ठाउँमा भएको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बँदलेका हुन् ।

    अगुवा कृषक मोहनबहादुर भण्डारीले सहकारीको भ्रमण डडुवावासीलाई व्यावसायिक तरकारीखेतीमा अग्रसर बनाउन ‘टर्निङ पोइन्ट’ बनेको बताउँछन् । “भ्रमणपछि तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत तरकारीखेतीका लागि प्लास्टिक टनेल बनाउन कार्यक्रम प¥यो”, उनले भने, “परीक्षणका लागि मैले खेतमा बनाएको दुई वटा टनेलमा गोलभेँडाखेती सफल भएपछि अरुले पनि खेती गर्न थाले । अहिले गाउँभरी करिब ५० वटा टनेलमा गोलभेँडाखेती भएको छ ।”

    करिब रु ७५ हजारको लागतमा तयार हुने प्लास्टिक टनेलभित्र एक याममा रु एक लाख ५० हजारसम्म आम्दानी लिन सकिने किसानको अनुभव छ । “पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने भएको छ”, भण्डारीले भने, “२० जनाभन्दा बढी किसानले ब्यवसायिक रुपमा तरकारी खेती गरेका छौ ।”

    प्लास्टिक घरमा गोलभेडाको साथै यामअनुसार भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी, भन्टालगायत तरकारीखेती गर्छन् । रोजगारीको सिलसिलामा करिब एकदशक बहराइनमा बिताएका भण्डारीले हाल नौ वटा टनेलमा गोलभेँडाखेती गरेका छन् । डडुवामा ६५ घरधुरी भए पनि केही बसाइँसराइ गरेर बेनी तथा पोखरा बस्छन् । गाउँमा भएका सबैजसोले तरकारीखेती गरेका छन् । बेनी र पोखरामा तरकारी बिक्री हुन्छ । पुलाचौर हुँदै डडुवा जोड्ने कच्ची सडकमा तरकारी ढुवानी गराउन समस्या हुने, सिँचाइका लागि पानीको अभाव, प्राविधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउने चुनौती रहेको छ ।

    बजारमा ग्राहकले रु १२० प्रतिकिलोका दरले खरिद गर्ने गोलभेँडा डडुवाका किसानले आधा मूल्य रु ६० का दरले बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोला डडुवा पछिल्लो समय तरकारीखेतीमा नमुना बन्दै गएको बताए । किसानलाई साना सिँचाइ कार्यक्रममार्फत पोखरी निर्माण, प्लास्टिक घर, यान्त्रिक हलोमा अनुदान सहयोग उनले बताए ।


    बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाले बेनीदेखि पुलाचौरसम्मको सडक पक्की बनाएको बताउँदै यसपाली पुलाचौरदेखि नयाँगाउँ खण्डमा स्तरोन्नति गर्ने तयारी भएको बताए । बेनी नगरपालिकाको मात्र नभएर जिल्लाभरका किसानले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्यउपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी गरेको उनले बताए ।

  • बजारमा ग्यासको हाराहार, कसरी गरिँदैछ व्यवस्थापन

    बजारमा ग्यासको हाराहार, कसरी गरिँदैछ व्यवस्थापन


    काठमाडौँ, १८ भदौः साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ) काठमाडौं ल्याउने नीति लिएको हो ।

    सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोजसहित बाबा ग्यासका ‘प्लान्ट’सँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो ।

    विषम प्राकृतिक विपद्को अवस्थालाई ख्याल गर्दै कर्पोरेशनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति अवलम्बन गरेको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले जानकारी दिए । उनले भने, “पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका आफ्ना ग्यासका सिलिन्डर काठमाडौँ आइपुग्ने छन् ।” कर्पोरेशनले आफ्नो ग्यास प्लान्टका लागि छुटेका केही ग्यासका बुलेट ती निजी कम्पनीमा ‘डाइभर्ट’ समेत गरेको छ ।

    सीमित कोटा : चुस्त वितरण प्रणाली

    नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन । निगमले भारतीय आयल कर्पोरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ । सोमध्ये करिब दुई प्रतिशत अर्थात् ५३ वटा ‘बुलेट’ मात्र कर्पोरेशनको भागमा परेको छ । कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘‘एसटिसी सिलिन्डर’ खपत गरिरहेको जनाइएको छ ।

    निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट, पछिल्लो समय पृथ्वीराजमार्ग अवरुद्ध एवं अन्य बहना देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन् । कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत बिक्री वितरणलाई सहज बनाइराखेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले भन्नुभयो, “उपभोक्तालाई कुपन वितरण गर्दा नै ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गर्दछौँ ।”

    छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन ‘स्टक’

    सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आमनागरिकसम्म पु¥याउने नीति र यसलाई अक्षरशः कार्यान्वयन गर्ने कर्पोरेशनले छ महिनालाई पुग्नेगरी नुनको मौज्दात राखेको छ । यही भदौ १७ गते बुधबार कर्पोरेशनका भण्डारणमा एक लाख २७ हजार ३६१ मेट्रिकटन नुन ‘स्टक’ रहेको सहायक प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुँदै आएको छ । कर्पोरशनले गत आवमा करिब दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो ।

    ‘आयोडिन’ शरीरलाई दैनिक रुपमा नभई नहुने अतिसुक्ष्म पोषक तत्व हो । सरकारले दुई बालबालिका चिन्ह भएको नुन ‘थोरै खाऔँ, सही मात्रामा खाआँै’ भन्दै आग्रह गरिरहेको छ । उपभोक्तावादीहरुले नुन अत्यावश्यक वस्तु भएकाले सरकारको नीतिभित्रै राख्नुपर्ने र यसको बिक्रीवितरणमा निजी क्षेत्रलाई प्रवेश गराउनै नहुने आवाज उठान गर्दै आएका छन् । उनीहरुको तर्क छ “विषम अवस्थामा निजी क्षेत्रले नुनको सहज आपूर्ति मिलाउन सक्दैन । विपद्लगायत अन्य असहज अवस्थामा सार्वजनिक संस्थाले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भनेर कर्पोरेशनले आफूलाई अब्बल सस्थाका रुपमा प्रमाणित गरेको छ ।”

    चिनीमा बजार हस्तक्षेप

    अर्कोतर्फ कर्पोरशनले पछिल्ला दिनमा अन्तरराष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको चिनीको बिक्रीवितरणलाई चुस्त बनाउँदै बजार हस्तक्षेप गरेको छ । निजी क्षेत्रबाट प्रतिकिलो रु १३५ सम्म बिक्री भइराखेको चिनी कर्पोरेशनले रु १०० मा बिक्रीवितरण गरिराखेको छ । कर्पोरेशनले दिएको जानकारीअनुसार यही भदौ ९ मा मात्र संस्थाले ६०० टन चिनी भित्र्याएको थियो । संस्थाले सरकारको नीतिअनुसार चिनी बिक्री गर्दै आएको छ । पछिल्ला दिनमा कर्पोरेशनले तीन हजार टन बजारमा पठाइसकेको छ ।

    दैनिक बजारमा उपभोग्यवस्तु चामल, दाल, गेडागुडी, तेललगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ तर कर्पोरशनले आफूले बिक्रीवितरण गर्दै आएको खाद्यन्नमा मूल्य स्थिर राख्न सफल भएको जनाएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने, “सरकारी निजी स्वामित्वको कर्पोरेशनको ध्येय दैनिक अत्यावश्यक उपभोग्यवस्तु नुनलगायत अन्य खाद्यन्न वस्तुलाई असहजस्थितिमा पनि निरन्तर सेवा पु¥याउनु हो । नाफामा मात्र होइन ।” विपद्का अवस्थामा सार्वजानिक संस्थाको भूमिका र अपरिहार्यता अझ बढ्ने देखिन्छ ।

  • सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

    सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक


    लमजुङ, १८ भदौः निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन । विक्रम संवत् २०७६ असोज ३० गते निर्माण सम्झौता भएको १७ किलोमिटर सडक विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।

    क्व्होलासोथार गाउँपालिका–१ बाग्लुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी आयोजना अघि बढाइएको थियो । कान्छाराम कन्स्ट्रक्सनले रु ३६ करोड ६६ लाख ६८ हजार १७५ मा ठेक्का सम्झौता गरेको थियो । पहिलोपटक तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९ असोज २९ गतेसम्म म्याद थप गरिएको थियो ।

    सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः विसं २०८१ असार २८ गतेसम्म म्याद थप गरिएको थियो । थपिएको समयमा निर्माण पूरा नभएपछि २०८२ चैत ३० गतेसम्म पुनः समय थप गरियो । हाल आयोजनाको म्याद थप भएको छैन । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकिएको मापदण्ड पूरा गर्ने निर्माण व्यवसायीलाई पुनः म्याद थप गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार निर्माण व्यवसायीले तोकिएको अवधिभित्र निवेदन दिनुपर्ने र आवश्यक प्रगति हासिल गर्ने आधार प्रस्तुत गरेमा बाँकी काम अगाडि बढाउन सकिने प्रावधान छ ।

    पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीका अनुसार सोही व्यवस्थाअनुसार कान्छाराम कन्स्ट्रक्सनले साउन ४ गते म्याद थपका लागि निवेदन दिएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि बाँकी निर्माण कार्य अगाडि बढाउन सकिने उनले बताए । सो सडक गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको हो । परामर्शदाता अधिकारीका अनुसार आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ भने ७४ प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु २७ करोड ३७ लाख ४६ हजार ९८२ बराबरको रकम भुक्तानी भइसकेको छ ।


    बाग्लुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्र भइसकेको छ । सडकमा छ मिटर चौडाइको कालोपत्र र एक मिटर चौडाइको नाली निर्माण हुनेछ ।

    हालसम्म पाँच हजार ५०० मिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी चार हजार ५०० मिटर कालोपत्र गर्न बाँकी छ । त्यस्तै, घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्नुपर्नेमा दुई किलोमिटर सडकमा ग्राभेल भएको छ । पाँच किलोमिटर ग्राभेल गर्न बाँकी छ ।
    आयोजनामा नाली निर्माण, माटो कटिङ, ढलान, कल्भर्ट तथा पर्खाल निर्माणका काम भएका छन् । । करिब चार हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा हालसम्म दुई हजार ७२९ घनमिटर निर्माण भएको छ ।

    त्यस्तै, तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा २०१ घनमिटर ढलान भएको छ । कल्भर्ट तथा पर्खाल निर्माणका केही काम बाँकी छन् । विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदै आएको छ । पछिल्लो समय म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलाग्दा काम अघि बढ्न नसकेको अधिकारीले बताए । सडक आयोजना पूरा भएपछि क्व्होलासोथार गाउँपालिकाका पर्यटकीय घलेगाउँ र भुजुङ सडक सञ्जालमा सहज रूपमा जोडिनेछ । त्यसबाट स्थानीयवासीको आवागमन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

  • सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

    सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

    काठमाडौँ, १७ भदौः भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार प्रयास जारी छ ।भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँग समन्वय गरी हाल लाङ्टाङ र चिलिमेमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।


    “चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली ३ ‘ए’ मा परिचालन गरिएको छ र उहाँहरूले नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहनुभएको छ । उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ”, भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उनले भने ।


    कोरियाली सुरुङ उद्धार टोलीले पनि नेपाली टोलीसँग मिलेर अपर त्रिशूली १ को सुरुङ खोल्ने कार्य गरिरहेको उनले जानकारी दिए । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गणतन्त्र कोरियाबाट थप सहयोग तथा ‘लजिस्टिक्स’ आउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ । यसैगरी, सरकारले १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डिएनए नमुना विश्लेषणको कार्य जारी राखेको छ । प्रवक्ता क्षेत्रीले भने, “चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली हिजो आइपुगेको छ । त्यसयता नेपाल प्रहरीले गरिरहेको कार्यमा सहभागी भई डिएनए नमुनाको प्रशोधन तथा विश्लेषणलाई तीव्र बनाउन काम गरिरहेको छ ।”

    यस प्रक्रियालाई तीव्र बनाउन सिङ्गापुरबाट छ सदस्यीय ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ पनि आइपुगेको भने थप १३ सदस्य डिएनए परीक्षण उपकरणसहित आज आइरहेको मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य लजिस्टिक्ससहित थप सदस्यहरू भोलि त्यस टोलीमा सहभागी हुनेछन् ।

    आवश्यक उपकरण तथा साधनसहितको थप कोरियाली फरेन्सिक टोली पनि हालै यस कार्यमा सहभागी भएको छ । त्यस्तै, सुरक्षा निकाय, सरकारी निकाय, चिकित्सा तथा आपतकालीन प्रतिक्रिया टोली र अन्य सम्बन्धित निकाय प्रभावित क्षेत्रमा एकसाथ काम गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले प्रभावित क्षेत्र तथा आसपासमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ ।

    पछिल्लो जानकारीअनुसार एक हजार ११४ वटा शव फेला पारिएको छ, करिब तीन हजार ९०० जना अझै बेपत्ता छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका र तीमध्ये पाँच जना सम्पर्कमा रहेका तथा सुरक्षित अवस्थामा रहेका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

    “विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित तीन हजार जनामध्ये करिब दुई हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी हुँदै फर्किसकेका छन् । बाँकी मानिसलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही जना ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्”, उनले भने । मन्त्रालयले करिब एक हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेका जनाउँदै चाँडै फर्कन चाहनेका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको उल्लेख गरेको छ ।

    केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरका सम्बन्धमा उपयुक्त सीमा नाकामार्फत उनीहरूको पुनःरुट निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ । त्यस दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता छन् ।

  • बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन कांग्रेसको माग

    बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन कांग्रेसको माग


    काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले त्यसपछि सँगसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।


    नेता आङ्देम्बेले भने, “यो प्रचार गर्ने समय होइन । प्राण बचाउने समय हो । यो दोषारोपण गर्ने समय होइन । जिम्मेवारी पूरा गर्ने समय हो । यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन । राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो ।” नेता आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको प्रभाकारी खोज तथा उद्धार गर्न, हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभावबाट सिक्न, उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुन्न, सबै तहका सरकार, निजी क्षेत्र, समुदायसँग समन्वय गरेर सङ्घीय सरकारको नेतृत्वमा यो विपद्को सामना गर्न, शव खोजी, पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।


    साथै उनले राहत वितरणमा पारदर्शिता र सहजीकरण गर्न, पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो प्रकृतिको विपद्को तत्कालीन व्यवस्थापनदेखि दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, सरकारका कामको अनुगमन तथा आवश्यक मार्गनिर्देशनका लागि संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न आग्रह गरे ।


    नेता आङ्देम्बेले भने, “विपदमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै खत माफ भन्ने होइन । राम्रो काम गर्छ–साथ समर्थन छ, बाटो बिराउँछ खबरदारी र प्रश्न छ । खास सहयोग यही होइन र ।” उनले रसुवाको भोटेकोशी हँुदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको उल्लेख गरे । यो बाढीका रुपमा प्रकट भएको एक किसिमको प्रलयकारी सुनामी भएको उल्लेख गर्दै नेता आङ्देम्बेले भने, “सम्भवतः क्षणभरमै यति धेरै क्षति एकैपटक नेपालले व्यहोर्नुपरेको थिएन ।”

    उनले यस कठिन अवस्थामा सीमित स्रोतसाधनबीच पनि अग्रपङ्क्तिमा रहेर खोज, उद्धार, राहत र सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, प्राविधिक विज्ञ, स्वास्थ्यकर्मीलगायत सम्पूर्णप्रति धन्यवाद र सम्मान व्यक्त गरे । राष्ट्रिय विपद्मा देशभित्र र बाहिर रहनुभएका सबै नेपालीको तत्परता र अन्तरराष्ट्रिय समुदायको ऐक्यबद्धता र साथका लागि नेता आङ्देम्बेले धन्यवाद दिए । “विपद् कुनबेला कसरी आउँछ थाहा हुँदैन रहेछ । कांग्रेस पार्टीले यही सदनमा पनि पटकपटक ‘विपद् कुनै पनि बेला आउनसक्छ पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहान्छु”, उनले भने ।


    कांग्रेसले सुरुआतदेखि नै विपद्मा सत्तापक्ष र प्रतिपक्ष नभनीकन ‘हामी’ भनेर सामना गर्नुपर्छ भनेको र आफूहरु सरकारको साथमा रहेको उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्री शाहलाई भेटेर तत्काल गर्नुपर्ने कामका सम्बन्धमा ध्यानाकर्षण गराएको जानकारी गराए ।
    कांग्रेसले तत्काल बैठक बसेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने र सरकारको सत्प्रयासमा साथ सहयोग गर्ने निर्णय गरेको बताउँदै उनले सर्वदलीय बैठकमा कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताए ।

    आफ्नो पार्टी कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै उनले भने, “म स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्था देखेँ, पीडा, आक्रोश र गुनासा सुनेँ । त्यहाँबाट फर्किएपछि सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर नौ बुँदे ध्यानाकर्षण गराइसकेको छु । सभामुखलाई पनि भेटेर संसद् तत्काल आह्वान गर्न र विपद्का विषयमा संसद्मा छलफल गर्न आग्रह गरेको थिएँ ।”

    कांग्रेसका सभापति गगनकुमार थापा स्वयं बाढी प्रभावित क्षेत्र मा पुगेर फर्किएका छन् । अहिले पनि कांग्रेस आफ्नो पार्टी पङ्क्तिलाई सम्पूर्ण ढङ्गले परिचालन गरेको र फिल्डमा रहेको नेता आङ्देम्बेले बताए । उनले विपद्को यो क्षणमा सबैको साझा कर्तव्य भएको र सबैलाई उद्धार, राहत, पुनःस्थापनामा जुट्न आग्रह गरे ।

  • मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

    मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

    बैङ्कक, १७ भदौ (रासस–एपी) । इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

    अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

    त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ । द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।

    युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

    एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।

    टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।

    यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

    ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

    फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो ।

  • भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

    भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

    भोजपुर, १७ भदौः जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो । कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।

    डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२\८३ मा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण गरिएको छ । काठ निकासीबाट मात्र रु आठ करोड १२ लाख ९३ हजार ९२५ मूल्य अभिवृद्धि कर र रु एक करोड ४६ लाख ५२ हजार ९०० प्रदेश सेवा शुल्क सङ्कलन भएको छ ।

    “जिल्लामा वन क्षेत्रबाट हुने काठ तथा अन्य वन पैदावारको कारोबारबाट नौ करोड बढी राजस्व सङ्कलन भएको छ,” प्रमुख मियाले भने, “वन पैदावारको उपयोगसँगै यसको व्यवस्थित व्यवस्थापन र संरक्षणमा समेत ध्यान दिइरहेका छौँ ।” त्यस्तै, रु पाँच लाख ४१ हजार ८० वन रोयल्टी सङ्कलन भएको कार्यालयले जनाएको छ । वन क्षेत्रबाट राजस्व सङ्कलन हुनाका साथै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर पनि सिर्जना गरेको कार्यालय प्रमुख मियाले बताए ।


    वन क्षेत्रबाट प्राप्त राजस्व र रोजगारीले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याएकोे छ । जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयस्तरमा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको भनाइ छ ।

    जिल्लाको कुल भू–भागमध्ये ८४ हजार १६१ हेक्टर अर्थात् ५५.२८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । वन पैदावारको दिगो उपयोग, स्थानीयस्तरमै प्रशोधन तथा मूल्य अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन सके जिल्लाले वन क्षेत्रबाट थप आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना छ ।

  • बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण

    बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण

    बागलुङ, १७ भदौः बागलुङमा आर्थिक वर्ष २०८२–८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ । एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च भएको छ । कार्यालयले पदमार्ग निर्माणमा ९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

    न्यूनतम रु पाँच लाखदेखि रु १० लाखसम्मका लागतमा निर्माण भएका अधिकांश पदमार्ग धार्मिक तथा पर्यटकीयस्थल केन्द्रित छन् । सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थापाले बताउनुभयो । “प्रतिकूल भूगोल, मौसमलगायत कारण रु ३५ लाख बजेटका चार योजना कार्यान्वयन हुन सकेनन्,” थापाले भन्नुभयो, “पर्यटकीय पूर्वाधारको महत्वपूर्ण आधार पदमार्ग निर्माण भएपछि पर्यटक तथा पैदलयात्रुलाई आवतजावतमा सहज भएको छ ।”

    ढोरपाटनदेखि बुकी, फागुने र सुर्तिबाङ जोड्ने चक्रिय पदमार्ग भने ढोरपाटन सिकार आरक्षसँग सम्बन्धित कारणले कार्यान्वयन हुन सकेन । रु १५ लाख बजेटमा पदमार्ग विस्तार थालिए पनि योजना सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा ताराखोलाको ढुङ्गा छापेर ‘रेलिङ’सहित एक सय मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष मनकुमारी शर्माले जानकारी दिए । त्यस्तै, गलकोट नगरपालिका–५ हरिचौर–सिमलबोटमा २२० मिटर पर्यटकीय पदमार्ग निर्माण भएको छ ।

    निसीखोला गाउँपालिका–५ को धार्मिक तथा पर्यटकीयस्थल अर्नाकोट पर्यटन पदमार्ग क्रमागत रूपमा निर्माण भइरहेको छ । काठेखोला गाउँपालिका–२ को दारेगौडादेखि धौलागिरि जोड्ने पर्यटकीय पदमार्गलगायत ५७ योजना कार्यान्वयन भएका छन् ।

  • चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

    चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

    हुम्ला, १७ भदौः भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।


    उनका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाअध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन र वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताए । गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट कट्टा हुने गरी उक्त कोषमा योगदान गर्नेछन् ।

    चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । उनीहरूलाई सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको पाइएको छ ।

    उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिनेछ ।

  • भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

    भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

    काभ्रे (बनेपा), १७ भदौः प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

    धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले भोटेकोशी बाढीपछि धुलिखेलका चार जना अझै सम्पर्कविहीन रहेको बताए । उनीहरूको खोजतलासका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ ।

    यसैगरी, बेथानचोक गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पाउने सेवा–सुविधा तथा पारिश्रमिकबाट रु २० लाख गरी कुल रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको राससलाई जानकारी दिए ।


    बेथानचोक गाउँपालिकाले २०८१ साल असोज दोस्रो साता विपद्को सामना गरेको स्मरण गर्दै पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जनाएको छ । पनौती नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । पाँचखाल नगरपालिकाले रु १० लाख, बनेपा नगरपालिकाले रु १५ लाख, रोशी गाउँपालिकाले रु १० लाख र चौरीदेउराली गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

    यस्तै, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत रु १७ लाख ६६ हजार उपलब्ध गराएको छ । सामुदायिक साकोस पनौतीले रु पाँच लाख, मनकामना साकोसले रु एक लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख र चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार सहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै, पनौती नगरपालिका–२ ले रु एक लाख ५० हजार, धुलिखेल नगरपालिका–८ ले रु एक लाख, चौरीदेउराली गाउँपालिका–७ ले रु एक लाख र पनौती नगरपालिका–८ ले रु ८० हजार सहयोग गरेका छन् ।

    यस्तै, बुडोल सामुदायिक साकोसले रु दुई लाख ५१ हजार, नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गे साकोसले रु एक लाख ११ हजार र धुलिखेलको अटल पाँचकुण्ड साकोसले रु एक लाख पाँच हजार सहयोग गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभरबाट ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो । तीमध्ये केही सम्पर्कमा आएका तथा केहीको मृत्यु भई शव फेला परेसँगै हाल सम्पर्कविहीनको सङ्ख्या ४१ रहेको छ ।

  • उद्धार र राहतमा आजको अपडेट के छ ? प्रधानमन्त्रीले दिए यस्तो जानकारी

    उद्धार र राहतमा आजको अपडेट के छ ? प्रधानमन्त्रीले दिए यस्तो जानकारी


    काठमाडौँ, १६ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”

    प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन् । “हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ,” उनले भनेका छन्, “हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउँ चट्टान किन खस्यो रु यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।”

    हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । “विज्ञहरू भन्छन्, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेको हुनसक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्छ । हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ ।’

    प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेको समेत उल्लेख गरे । साथै प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उनीहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको उनको भनाइ छ । उनका अनुसार बाढी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरणकार्य जारी छ । नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गर्नु भएको छ । रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।

    प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तरराष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गरेका छन् । उनका अनुसार भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग दिन सुरु गरेको थियो । भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । उद्धारका लागि भारतको ११ सदस्यीय टोली पनि नेपाल आइसकेको छ । साथै, २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।

    पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ । श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ । चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रूपैयाँ सहयोग गरिसकेको छ । चीनबाट आएको उद्धार टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेको छ । चीनले ५० टन राहत सामग्री उपलब्ध गराएको छ । साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।

    अमेरिकाबाट पाँच लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर (नगद सहयोग)को प्रतिबद्धता आएको छ । यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ । कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । स्विट्जरल्यान्डबाट एक मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र सङ्घबाट खर्च हुने गरी) प्राप्त भएको छ ।

    एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । यस कार्यमा युके, जापानलगायत मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको छ भने इयू र सयुक्त राष्ट्रसङ्घका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको छ ।

  • रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

    रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

    काठमाडौँ, १६ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गरेका छन् । सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
    उक्त भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्दारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।

    विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए । सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह गरे ।

  • बाढी छिरेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम रोकियो

    बाढी छिरेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम रोकियो

    काठमाडौँ, १६ भदौः बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौँको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)का अनुसार सोमबार राति आएको बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो । परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पिआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

    यसअघि पनि बाढीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरुद्ध भएको थियो । बन्द भएको केन्द्र पीआईडीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको उनले बताए ।
    प्रतिदिन तीन करोड ७२ लाख लिटर ढल प्रशोधन क्षमता रहेको केन्द्रको परीक्षण गत असार ३० गतेदेखि भइरहेको थियो ।

    उक्त पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ओछ्याएकाले पाइपलाइन सफाइ र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । पाइपलाइन सफाइको काम सुरु भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने बताउँदै सो अवधिसम्म प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्ने उनले जानकारी दिए ।

  • पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

    पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

    गुल्मी, १६ भदौः अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका २ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

    सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।

  • मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण

    मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण


    कास्की, १६ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको आज निरीक्षण गरेका छन् । गत साउन अन्तिम साता मोदी खोलाको बाढीले ठाउँठाउँमा कटान गर्दा यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । यसबाट अन्नपूर्णका चार वडा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका छन् ।

    बाढीले अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा १०० मिटर पक्की कालोपत्रे सडक बगाएको छ भने बस्ती जोखिममा परेको छ । सो स्थानमा अहिले प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा सडक मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ । सडकको अवस्था, भइरहेको मर्मतको प्रगति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले सडक छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
    “अवरुद्ध सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याएर स्थानीयवासीको आवागमन सहज बनाउने गरी काम भइरहेको छ । प्रदेश सरकारलगायत निकायको निरन्तरको प्रयास र सहकार्यबाट सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरेका छौँ”, उनले भने । मोदी बाढीले सबैभन्दा बढी प्रभावित बनाएको बिरेठाँटी तथा चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ । चिम्रुङ तमु चोक स्याउली बजार सडक खण्डमा पनि अहिले वैकल्पिक ट्र्याक खन्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

    मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधिसमेत प्रभावित बनेका छन् । सडक पुनःनिर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गरेको र गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडकको पुनःनिर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराएको छ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराएको छ ।

    बिरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ । पर्यटकीय मौसम आउनै लाग्दा सडक अवरुद्ध भएपछि पर्यटन क्षेत्र सुस्ताएको छ भने स्थानीयवासीको समेत दैनिकी प्रभावित बनेको छ ।

  • प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा

    प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्ध ठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी सञ्चार माध्यमले सोमबार जनाएका छन् । “समुद्रमा तेल फालेका तस्बिर प्रकाशित भएपछि विशेषज्ञ र सफाइ टोली स्थलमा पठाइयो र प्रदूषण गराउने जहाज कब्जा गरियो,” दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले इरानी सरकारी समाचार संस्थालाई बताए ।


    “कब्जा गरिएको जहाज चिनी बोकेको विशाल जहाज रहेको र यसले जलेको तेल, प्रदुषित पानी र औद्योगिक फोहोरको मिश्रण सिधै समुद्रमा फालेको थियो,” उनले भने । उनले जहाज कुन देशको हो र त्यसमा रहेका चालक दलको राष्ट्रियता उल्लेख गरेनन् । पानीबाट फोहोर सफा गरिसकिएको र जहाज न्यायपालिकामा पठाइएको उनले बताए । इरानले पछिल्ला हप्ताहरूमा भएका धेरै तेल चुहावटपछि क्षतिपूर्तिको माग गरेको छ, जसमा केश्म टापु नजिकको घटना पनि समावेश छ।

    अगस्टको सुरुमा छिमेकी ओमान नजिक एउटा ट्याङ्कर रोकिएपछि तेलको दाग देखिएको थियो। एएफपीको अनुसन्धानले उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल–काब्लिय–याह टापु नजिक एक हप्ताजति अलपत्र भएको पत्ता लगाएको थियो। फेब्रुअरीमा मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यसले पारवहन गर्ने जहाजहरूबाट शुल्क उठाएर वातावरण संरक्षणलगायत सेवाहरूको लागि रकम जुटाउने योजना बनाएको छ । अमेरिकाले जलमार्गमा कुनै पनि शुल्कको उठाउने कुराको कडा विरोध गर्छ ।

  • रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    म्याग्दी, १६ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका छन् । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

    “म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भने, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

    याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए । उनका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

    धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आएका छन् । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुन् । उनीहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन् । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

    समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो । डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हँुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

  • मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु


    मुस्ताङ, १६ भदौः जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए ।

    यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए । उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो ।

    कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित ९हाइब्रिड० जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ । जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ । किसान भीम गुरुङको स्याउ बगैँचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिनुभयो । जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडाँै पु¥याउने तयारी भइरहेको बताए ।

    स्थानीय भीम गुरुङको स्याउ बगैँचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पु¥याउने, स्याउको ग्रेडिङ, नापतौल र प्याकेजिङलगायत स्याउ लोड गर्ने कार्यका लागि करिब तीन दर्जन कामदार परिचालित गरिएको छ । व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौँ पु¥याउने योजना रहेको बताए । उनका अनुसार उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताए ।


    यसैगरी घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौँ पु¥याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिए । फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौँमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाइ छ ।

    जिल्लामा स्याउको यहाँ सुरु भएसँगै यहाँका स्याउ बगँैचामा लटरम्म स्याउ फल्न थालेका छन् । स्याउको सिजन सुरु भएसँगै मुस्ताङमा स्याउ व्यापारीहरुको चहलपहल बाक्लिएको छ । स्याउ व्यापारीहरुले साउनअगावै किसानको बगैँचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ सङ्कलन गर्न मुस्ताङ आउने गर्छन ।

    जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो । मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ ।

  • ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन


    त्रिशूली (नुवाकोट), १६ भदौः नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।

    ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भने, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”

    ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।

  • हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट


    हेटौँडा, १६ भदौः हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

  • धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

    धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम


    धादिङ, १६ भदौः यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ ।

    प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले सो सडक सहित धादिङवेशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार,परेवाटार–आदमटार–बेलिनटार–मासटार, तथा धादिङबँेशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको छ ।

    बैठकले ती सडक तत्काल सञ्चालन योग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ ।

    त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय गरिएको छ । बाढीबाट धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ । समितिले प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

  • पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    १६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ।

    विपतबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने जिम्मेवारी कार्यदलले पाएको छ । तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने समेत कार्यदलको जिम्मेवारी छ । प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरिने छ । तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार पारिने समेत मन्त्रालयले जनाएको छ ।

    आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्ने र संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्नेसमेत कार्यदलको जिम्मेवारीमा छ । पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई समेट्दै बुल्ड ब्याक बेटरको सिद्धान्त लागू गर्ने तथा दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा अनावश्यक दोहोरिने काम रोक्न एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गर्ने समेत कार्यदलको जिम्मेवारीमा रहेको छ ।


    आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गर्ने, कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्ने तथा कार्यदलको कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ ।


    विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने र कार्यदलले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कार्यलाई शिघ्र कार्यान्वयन गर्नेछ ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन


    काठमाडौँ, १५ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा–छहरे–नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उनले बताए ।


    वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

  • भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    काठमाडौँ, १५ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ । कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार

    कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
    रसुवाको भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी दिए ।

  • मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

    मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै


    मुस्ताङ, १५ भदौः रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ ।

    सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।


    कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२–०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व सङ्कलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।

  • पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

    पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध


    काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।

    त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    काठमाडौँ, १४ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । उहाँका अनुसार ठूला सवारीसाधन काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । उनले भने, हाँले भन्नुभयो, “कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ । अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ ।”

    बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

    यसैबीच, सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ ।

  • युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग


    काठमाडौँ, १४ भदौः युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।

    युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन (सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने) सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताए ।


    प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गरे । भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

  • सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री

    सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री


    काठमाडौँ, १४ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गरे । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पु¥याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।


    “विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले पुर्याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ । प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ”, प्रधानमन्त्री शाहले भनेका छन्, “आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन ।

    आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

    प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित नागरिकको उद्धारलाई तीव्र पारेको थियो । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताएका छन् । साथै राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी खटिएका छन् । उद्धारमा अन्य स्वयंसेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

    प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको उनले बताए । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोज गरिसकेको छ । तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गरे ।


    बाढीका कारण त्यहाँ रहेका धेरै नागरिक घाइते भएका थिए । उनीहरुलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गरिएको र त्यो क्रम जारी रहेको उनले बताए । प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसलाई उद्धार गरी स्थानीयसँगै काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिरहेको उनले बताए ।

    केहीबेर अघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसकेको उनको तथ्यांक छ । अन्य घाइते नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ । प्रभावित क्षेत्रमा उपचार, मनोपरामर्शका लागि काठमाडौँबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको र प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

    “नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ । नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको छ । काठमाडौँको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ । “मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुञ्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याइएको छ”, प्रधानमन्त्री शाहले भनेका छन् ।

    प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ । आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ तथा एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

    प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ । तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ । साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ । हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेको उनको भनाइ छ ।

    साथै बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शवको व्यवस्थापन भइरहेको छ । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुन बमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

  • रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल

    रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा दुई हजार २७४ नागरिकलाई १६ वटा आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिए । उनका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

    साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफहाउस÷किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल÷भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ ।

    विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि÷वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

    प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको छ ।

    रसुवा जिल्लामा बाढी प्रभावितको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ । जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै एक हजार १८० विपद् प्रभावित नागरिकले आश्रय लिएका छन् । स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१÷२ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन् । गोसाइकुण्ड गाउँपालिका– १, २, ३, ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी र आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थलहरू सञ्चालनमा छन् ।

    यी आश्रयस्थल तथा होल्डिङ सेन्टर व्यवस्थापनमा स्थानीय तहले नेतृत्वदायी भूमिका खेलिरहेका छन् । राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण कार्य गरिएको छ । रसुवामा त्यहाँका प्रभावितका लागि धुञ्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा सक्रिय छ । बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन र सुरक्षित स्थानमा राहत तथा औषधोपचार पु¥याउन स्थानीय प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ लागि परेको बताइएको छ ।