Category: अर्थतन्त्र

  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

    प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन


    काठमाडौँ, १४ भदौः बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।

    प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

  • अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    वासिङ्टन, १४ भदौ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताएका छन् । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ । सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताए ।


    “संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ”, ट्रम्पले लेखेका छन् । रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले “राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने”, बताए ।


    सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताए ।
    ती अधिकारीका अनुसार नयाँ कम्पनीमा अमेरिकाले प्रभावकारी रूपमा ५५ प्रतिशत उत्पादन हिस्सा पाउनेछ । यसमा स्वामित्वको हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ । उक्त कम्पनी साउदी आरामको पछि प्रमाणित तेल भण्डारको स्वामित्व राख्ने विश्वकै दोस्रो ठूलो कर्पोरेट संस्था बन्न सक्ने उनको दाबी छ ।

    तेलको मूल्य घटाउन दबाब
    ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ । अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।


    अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।

    एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो ।
    लगानीका चुनौती

    भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ । मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।

    अमेरिकी सबैभन्दा ठूलो तेल कम्पनी एक्सनमोबिलका प्रमुख कार्यकारी अधिकृत ड्यारेन वुड्सले त्यतिबेला भेनेजुएलालाई लगानी गर्न नसकिने देशका रूपमा हेरेका थिए । ट्रम्पले भने आफ्नो प्रशासनले भेनेजुएलामा स्थिरता ल्याएको दाबी गरेका छन् । उनले पूर्वराष्ट्रपति ह्युगो चाभेजको सरकारले दशकौँअघि अमेरिकी तेल कम्पनीहरूको स्वामित्वमा रहेका सयौँ सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै भेनेजुएलाले अमेरिकी तेल चोरेको आरोप लगाउँदै आएका छन् ।


    रोड्रिगेजले सत्ता सम्हालेपछि तेल क्षेत्रलाई निजी लगानीका लागि खुला गर्ने कानुनमा हस्ताक्षर गरेका थिए । यसले दुई दशकभन्दा लामो समयदेखि देशमा शासन गर्दै आएको समाजवादी आन्दोलनको नीतिमा ठूलो परिवर्तन ल्याएको छ । रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलर निजी लगानी भित्र्याउने र अमेरिकामा ग्यासको मूल्य घटाउने दाबी गरेका थिए ।


    अमेरिकी अधिकारीका अनुसार नयाँ कम्पनीबाट खरिद गरिने तेल अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार पुनः भर्न तथा सैन्य प्रयोजनमा प्रयोग गरिनेछ । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ, जुन विश्वको कूल आपूर्तिको करिब १७ प्रतिशत हो । तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको करिब एक प्रतिशत मात्र तेल उत्पादन गर्दै आएको छ । मादुरो हाल अमेरिकामा जेलमा छन् । उनले आफूविरुद्धका आरोपमा दोषी नभएको स्वीकार गरेका छन् ।

  • चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

    चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ


    १४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गरेको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।

    उनले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पुर्‍याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पिडाबारे गहन कुराकानी भएको बताइएको छ । उनले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताए ।

    चिनियाँ विदेशमन्त्री वाङले भने, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।” नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ ।

  • अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    वाशिङ्टन डिसी, १४ भदौः अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।

  • निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

    निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो


    काठमाडौँ, १३ भदौः नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

    सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ । निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्रयाङकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो । त्यसैगरी भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।

    निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ । त्यसैगरी एलपी ग्यास उद्योग सङ्घबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ ।

  • गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो

    गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो


    १३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् । अब अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने उनले जानकारी दिएका छन् । सुरुङमा धेरै कामदार थुनिएको खबर छ ।

  • चार दिनसम्म जलविद्युतका सुरुङ भित्रै थुनिए सयौं कामदार, उद्धारको प्रगति के छ ?

    चार दिनसम्म जलविद्युतका सुरुङ भित्रै थुनिए सयौं कामदार, उद्धारको प्रगति के छ ?


    १३ भदौ, काठमाडौं । रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा कठिनाई देखिएको छ । ऊर्जा मन्त्रालयले यसमा निरन्तर प्रयास गरिरहेको बताएको छ । मन्त्रालयका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको अवस्था बारे जानकारी लिन तथा उद्धार कार्यलाइ तिव्रता दिन मन्त्रालयका सचिव सहितको विज्ञ टोली नुवाकोट र रसुवाको स्थलगत निरिक्षण भ्रमणमा पुगेको छ । सो क्रममा सुरक्षा निकाय तथा अन्य सम्वन्धित निकायलाइ उद्धार कार्य तीव्र बनाउन, प्रभावित नागरिकको जनजीवन सहज बनाउन र सुरुङभित्र फसेका व्यक्तिहरूको शीघ्र उद्धार गर्न निर्देशन दिइएको थियो ।


    सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि प्रतिकूल मौसम तथा अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली ३ ए र त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेका व्यक्तिलाइ उद्धार गर्न आयोजनास्थलको रेकी, रेखाङ्कन तथा उद्धार कार्य निरन्तर अघि बढाइएको छ । सुरक्षा निकायबीच निरन्तर समन्वय गरी उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सुरुदेखि नै घटनास्थलमा खटिँदै आएका टोली बाहेक थप उद्दार टोलि हेलिकप्टरमार्फत घटनास्थलतर्फ परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

    उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा त्रिशूली ३ ए को सुरुङ्ग भित्र फसेका व्यक्तिलाइ उद्धार गर्न उच्च प्राविधिक दक्षता भएका भारतीय विज्ञ टोलि हेलिकप्टरबाट आयोजनामा गएको तर प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेको अवस्था छ । ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ । चिनियाँ टोली हेलिकप्टर मार्फत त्रिशूल ३ बी जलविद्युत आयोजना स्थल पुगेको छ । उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गर्दै सुरुङभित्रको अवस्थाको प्राविधिक रेकी तथा प्रारम्भिक मूल्यांकन गरिरहेको बताइएको छ । उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा स्ट्यान्डबाई अवस्थामा रहेका थप चिनियाँ प्राविधिक विज्ञलाई समेत तत्काल परिचालन गर्ने तयारी गरिएको छ ।

  • प्रधानमन्त्रीका अनुसार यस्तो छ आजसम्मको उद्धार र राहतका कामको अपडेट

    प्रधानमन्त्रीका अनुसार यस्तो छ आजसम्मको उद्धार र राहतका कामको अपडेट

    १३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शनिबार साँझसम्म रसुवा बाढीको अवस्था सार्वजनिक गरेका छन् । यस्तो छ, प्रधानमन्त्रीको पुरै विवरण


    …..रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ।


    संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौं।
    प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुनःस्थापनालगायतबारे संक्षिप्त विवरण निम्न अनुसार छः


    खोजी तथा उद्धारः प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरु नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ।
    प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ। हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीहरूको संख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्।

    तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ। उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौं।


    उपचार तथा मनोपरामर्शः प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेका छौं। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौंबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ।

    यस्तै, काठमाडौंबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ। साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान गरिरहेका छौं। अस्पतालहरूमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ। प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौं। विभिन्न अस्पतालहरूमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ।


    नागरिक व्यवस्थापनः प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। यी शिविरहरूका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रहरू समेत परिचालित छन्।

    बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।


    राहत संकलनः नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शीरूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।

    यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

    विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ कोड र खाताको नाम ९प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष० मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। पीडितहरूका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरुको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ।

    यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित राहत सामाग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ। साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याउने गरिएको छ।

    त्यहाँ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरु सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ। आज मात्रै एमआइ—१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। साथै,आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ। विभिन्न संघसंस्था र सहयोगी निकायहरुले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरुमा राहत सामग्री पठाउने क्रम जारी छ।


    अन्तर्राष्ट्रिय सहयोगः प्रभावितको व्यवस्थापन र पुनःस्थापनाका लागि एशियाली विकास बैंक ९एडीबी०बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर ९नगद सहयोग०, एशियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता आएको छ।

    साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ। भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ। स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्र्याङ्क ९संयुक्त राष्ट्र संघ० बाट खर्च हुनेगरी प्राप्त भएको छ। यस्तै, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनेक्रम जारी छ।


    सञ्चार सम्पर्कः प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो। सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनः सञ्चालनमा ल्याएको छ।

    जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ। वैकल्पिक सडक सञ्चालनः बाढीले मुख्य सडकहरूमा क्षति पुर्‍याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ।

    यो सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।


    शव व्यवस्थापनः हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिदैछ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरुलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरु सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने उहाँहरुलाई जिम्मा लगाउने काम भइरहेको छ। त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौं।


    विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्थाहरूले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। विपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्य—तथ्य खोजिरहेको हुन्छ। त्यसैले पीडितहरुको जीवन रक्षा र उहाँहरुको मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत अनुरोध समेत गर्दछौं। नेपाल सरकार प्रभावित नागरिकहरुको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ।
    धन्यवाद

  • सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा रु ६ करोड ७५ लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ ।

    प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार उक्त रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा उक्त अनुदान वितरण गरिनेछ ।

    प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद्् व्यवस्थापन कोष सञ्चालन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरुप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थमन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णय गरेको थियो ।

  • बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने

    बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने


    काठमाडौँ, १२ भदौः एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६ करोड) अनुदान स्वीकृत गरेको छ । एडिबीले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ ।

    एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला सहयोग पर्खन नसक्ने भन्दै प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताए । एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।

    त्यसैगरी, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापना योजना र सम्भावित पुनःनिर्माणका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको थप सहयोगको प्रक्रिया अघि बढेको पनि एडिबीले जनाएको छ ।

  • रसुवा पुनः सडक संजालमा जोडियो

    रसुवा पुनः सडक संजालमा जोडियो


    १२ भदौ, काठमाडौं । बाढीले रसुवालाई सडक संजालबाट विच्छेद गरेको थियो । आज काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार यस सडकमा ४ चक्के साना सवारीसाधन सञ्चालन गर्न सम्भव छ । सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको मन्त्रालयले जनाएको छ । नुवाकोट र रसुवाको सीमानाका दुबै पक्की पुल बाढीले बगाएपछि यो हिमाली जिल्ला राष्ट्रिय सडक संजालबाट विमुख हुनु परेको थियो ।

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन


    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका छन् ।

    बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।


    सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रुपमा तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् ।

    यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन् । यससँगै कोषमा बचत रकम ४ अर्व ९ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो। बिहिबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरुबाट मन्त्रालय मार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन्।

  • त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा

    त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा


    १२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    उद्धारका क्रममा सुरुङको अवरोध हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना सार्वजनिक गरिएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने र फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

    सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ। यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए।

    नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ भने अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ। फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी र प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।

  • पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो


    कास्की, १२ भदौः त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ । भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए ।

    बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उनले तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको क्षमता छ । शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ ।

  • भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग

    भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग


    इलाम, १२ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

    बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ”, अध्यक्ष केरुङले भने, “जनप्रतिनिधि तथा शिक्षक कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्नेछौँ ।”

    यता बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधि तर्फबाट १५ दिनको सेवासुविधा र कर्मचारीको तर्फबाट दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी रु १० लाख पुर्याइनेछ इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन् ।

    आठ जना सम्पर्कविहीन

    यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका इलामका आठ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । प्रजिअ ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार इलामको देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल, सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन भएका हुन् । उनीहरूमध्ये न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए भने सुवेदी उनीहरूका सवारी चालक हुन् ।

    त्यस्तै, माईनगरका विनोद राई, फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक), फाकफोकथुम गाउँपालिका–६ का विनु थेगिम रहेका छन् । उनीहरू तीनै जना रसुवाको मैलुङ गगनी भन्ने स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार रहेको प्रजिअ ढकालले बताउनुभयो ।
    त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल सबडिभिजन वन कार्यालय माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन् ।

    प्रजिअ ढकालले सुरक्षाकर्मी र जनप्रतिनिधिमार्फत जिल्लाका सम्पर्कविहीनको विवरण सङ्कलन भइरहेको बताए । “बाढीमा हराएका हाम्रा जिल्लाका नागरिकको विवरण सङ्कलन भइहेको छ”, प्रजिअ ढकालले भने, “सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारका लागि यहाँको पालिकासँग समन्वय गरिरहेका छौँ ।”

    बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझी सम्बन्धित परिवारलाई जानकारी गराउन अपिल गरिएको उनले बताए । कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन उद्धार केन्द्रको फोन नम्बर १२३४ मा जानकारी गराउन वा ०२७५२३९८८ वा ९८५२६३३३९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

  • बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

    बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

    बागलुङ, १२ भदौः भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

    गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिकाले रु पाँच लाख, बडिगाड गाउँपालिकाले रु पाँच लाख, ताराखोला गाउँपालिकाले रु दुई लाख, काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने भएका छन् । बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।


    बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलबभत्तासहित रु पाँच लाखबराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

  • बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने

    बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने


    काठमाडौँ, ११ भदौः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए । इप्पानसम्बद्ध जलविद्युत् कम्पनीका तर्फबाट प्रदान गरिने सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ ।

  • विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै


    काठमाडौँ, १२ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको जानकारी दिए । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । सो क्रममा उनले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भएको बताए । यस्तै, रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए ।


    “अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भने । प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८९१ मेगावाटमात्रै रहेको थियो । त्यसमध्ये काठमाडौँ उपत्यकाको माग बिहीबार ५७८ मेगावाट र बुधबार ५९० मेगावाट रहेको थियो ।

    प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट र बिहीबार दुई मेगावाटमात्र विद्युत् आयात गरिएको थियो । मन्त्री श्रेष्ठले उद्धार तथा विद्युत् पुनःस्थापनामा खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिए । उनका अनुसार प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ ।

  • बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १२ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासङ्घको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत छन् । समितिले बेपत्ता भएका सवारीसाधन, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ । यस्तै, यात्रीहरूको अवस्था र क्षतिको विवरण सङ्कलन गर्नेछ । महासङ्घका महासचिव डेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासङ्घको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

  • भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    काठमाडौँ, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै गल्छीबाट त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ । सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज छन् । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० र निजी क्षेत्रबाट उपलब्ध १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।

  • उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री


    काठमाडौँ, ११ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिने उल्लेख गरेका हुन् ।

    “हामी अहिले पनि काममै छौँ । यो सङ्कटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ । उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्”, उनले भनेका छन् । उनले आज आफू नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएको उल्लेख गर्दै प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको बताए । “अवस्था अझै चुनौतीपूर्ण छ । राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् । अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हो”, उनले भनेका छन् ।


    सरकारले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कूल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको, यसमा नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ८४५ जना रहेको प्रधानमन्त्रीले बताएका छन् । उनले नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् न्यूनीकरण र जोखिम व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको पनि उल्लेख गरे ।


    “हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको छ । आज ६९ वटा हवाई उडान सञ्चालन गरी ३५१ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्”, प्रधानमन्त्रीले भनेका छन्, “निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्ड तथा कोअर्डिनेसन प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।”

    त्यस्तै, उनले भनेका छन्, “रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ । करिब तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ । प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्‍याइँदैछ ।”

    प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित भएको र रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनको भनाइ छ ।

    “स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ”, प्रधानमन्त्रीले भनेका छन् ।


    प्रधानमन्त्री शाहले प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको बताएका छन् । साथै ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका अस्पतालबाट मेडिकल टोली आवश्यक औषधि र उपकरणसहित परिचालन गरिएको र धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

    “प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री सङ्कलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ”, उनले भनेका छन््।

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलामरढुङ्गा काट्ने मेसिनरीलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट (भीष्म ट्युब) समेत त्रिशूलीतर्फ पठाइएको बताएका छन् । “दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राखिएको छ ।

    हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर–साइट बन्द भएका छन् । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याई सेवा पुनःस्थापनाको काम भइरहेको छ”, उनले भने ।
    प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले दैनिक दुई जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा एनसेलले समेत निःशुल्क भ्वाइसरडाटा र एसएमएस सुविधा उपलब्ध गराएको उनको भनाइ छ । उनले अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको उल्लेख गरेका छन् ।


    “सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ । सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत तत्काल परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्याङ्कन र पुनःसञ्चालनको काम द्रुत गतिमा अघि बढाउन निर्देशन गरिएको छ”, उनले भनेका छन् ।


    प्रधानमन्त्री शाहले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपिजीडब्ल्यु तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको उल्लेख गर्दै अत्यधिक प्रभावित क्षेत्र र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन भइरहेको बताए । “प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको छ ।

    नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल छ हजार लिटर मौज्दात रहेको छ । आज थप डिजल १५ हजार लिटर र पेट्रोल १५ हजार लिटर पठाइएको छ । हवाई इन्धन आठ हजार लिटर मौज्दात रहेकोमा थप नौ हजार लिटर पठाइएको छ”, उनले भने, “प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण सङ्कलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्याङ्कन भइरहेको छ । फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई अझ लक्षित र प्रभावकारी बनाइँदैछ ।”

    प्रधानमन्त्री शाहले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उल्लेख गर्दै भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको बताए । उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उल्लेख गरे ।

    “राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन गरिएको छ”, प्रधानमन्त्री शाहले भनेका छन्, “मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइएको छ ।”

    विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोग परिचालन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, इयू, डब्ल्युएचओ, आरएफआरसीलगायतका अन्तरराष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको जानकारी दिए । निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन भइरहेको उनको भनाइ छ ।

  • बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा रु २० लाख सहयोग

    बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा रु २० लाख सहयोग

    काठमाडौँ, ११ भदौः प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले रसुवास्थित भोटेकोशीमा गएको बाढीका कारण प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारका लागि रु २० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मञ्चको अन्तरराष्ट्रिय कमिटी सचिवालयको आकस्मिक बसेको बैठकले बाढी प्रभावित नागरिकको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न अन्तरराष्ट्रिय कमिटीको कोषबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

    मञ्चले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा सहयोग पुर्‍याउन सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने मञ्चले जनाएको छ । प्रवासी नेपाली मञ्चले यसअघि पनि प्राकृतिक विपद्, महामारी तथा मानवीय सङ्कटका समयमा राहत तथा पुनर्निर्माणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

    मञ्चले तत्काल राहतमा मात्र सीमित नभई आवश्यकताअनुसार स्वास्थ्य पूर्वाधार निर्माण तथा दीर्घकालीन पुनस्र्थापनामा पनि योगदान गर्दै आएको जनाएको छ । यसै प्रतिबद्धताको निरन्तरतास्वरूप मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था एवं नेपाली समुदायलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न आह्वान गरिएको छ ।

  • नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु

    नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु


    नुवाकोटका विभिन्न बजारमा विद्युत सेवा सूचारु गरिएको छ । बालाजु–त्रिशुली र चपली–देविघाट ६६ के. भि. लाइनलाई ११ के. भि. चार्ज गरि विद्युत सुचारू गरिएको नेपाल विद्युत प्राधिकरण्णले जनाएको छ । रसुवा तथा नुवाकोटमा अन्य स्थानमा विद्युत् आपूर्ति पुनर्स्थापना तथा उद्धार कार्य जारी रहेको बताइएको छ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध वैकल्पिक प्राविधिक उपायहरू अवलम्बन गरी काम अघि बढाइरहेको छ। सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।


    रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ। अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन ३ थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ। अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन भएको छ।

    अपर त्रिशूली–३ ‘ए’ को शान्ति बजारमा फसेका सुत्केरीसहित ७ जनालाई उद्धार गरी त्रिशूली ल्याइएको छ भने थप व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना तथा बाँकी व्यक्तिहरूको उद्धारका लागि सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायहरूबाट निरन्तर प्रयास भइरहेको छ।

  • अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा


    ११ भदौ, काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ।


    माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बिहानैदेखि फिल्डमा खटिएका छन् ।


    उनको नेतृत्वमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवम् प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालित छ।

    भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।

    नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ। सोहीअनुसार चपली–देवीघाट ६६ के.भी. लाइन र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तथा काम तीव्र पारेको छ। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपायको प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी राखेको छ।

  • स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

    स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह


    बागमती, ११ भदौ । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरू बारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।


    “उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइकुण्ड लगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारी साधन चलाउँदै आएका तथा अन्य विभिन्न पेशामा आवद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उनले भने, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भए अनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौं ।”

    हेटौंडा प्रदेशको राजधानी समेत भएका कारण विपद्को उद्धार, सहयोग लगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालन समेत भैरहेको उनले बताए ।

  • बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त


    त्रिशूली (नुवाकोट), ११ भदौ । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पु¥याएको छ । जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिए । नुवाकोटमा उत्पादित विद्युत् काठमाडौँ पठाइएको किस्पाङ–५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई बाढीले बगाएका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा निरन्तरताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उनले जानकारी दिए ।


    बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् केन्द्रमा रसुवास्थित रसुवागढी जलविद्युत् केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङ्टाङ–भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोना २१६ मेगावाट छन् । यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अवस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिए ।

  • भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    काठमाडौँ, ११ भदौः रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरे ।

    यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए । विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताए ।

  • आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

    बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको हो । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

  • भारतले सहयोग सामग्री काठमाडौं ल्याउँदै, चीन र विश्व बैंक तयार

    भारतले सहयोग सामग्री काठमाडौं ल्याउँदै, चीन र विश्व बैंक तयार

    १० भदौ, काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु। २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।

    दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के(के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए । यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

    छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरेका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई ुविपद संकटग्रस्त क्षेत्रु घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

  • विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

    विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

    काठमाडौँ, १० भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न निर्देशन दिएकी छिन् । मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल सङ्कलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्नेगरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिइन् ।

    बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग सम्बन्धित क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल प्राप्त गर्न सम्बन्धित निकायलाई सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्न मन्त्री चौधरीले निर्देशन दिइन् ।
    मन्त्रीको निर्देशनअनुसार गठित टिममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा हरिबहादुर केसी, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा वरुणकुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल छन् ।


    उक्त टिमले सम्बन्धित क्षेत्रमा क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र तथा तत्काल आवश्यकतासम्बन्धी विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरणका आधारमा तत्काल आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ । मन्त्री चौधरीले विपद्बाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी, सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिइन् ।