Category: अर्थतन्त्र

  • एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

    एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

    काठमाडौं । मलेसियन कम्पनी आजियाटाले नेपाल छाड्दैछ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताइएको छ ।

    सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने गरी डिल भएको समेत समाचारमा उल्लेख छ । यसबारे आजिआटाले विज्ञप्ति जारी गरी बताएको हो । स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्य कायम हुने भएको छ ।

    आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।

    आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो । एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।

    एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

  • बुढानिलकण्ठका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ

    बुढानिलकण्ठका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका(७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • निगमले घटायो पेट्रोल र डिजलको मूल्य

    निगमले घटायो पेट्रोल र डिजलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

    नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

    डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । शेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा साताको कारोबारको चौथो दिन नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ ।

    यसदिन २८५ कम्पनीको १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ बढीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ ।

    आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक किनबेच भएको छ । यसको सवा ६ करोड रुपैयाँको कारोबार भएको छ ।

    घट्दो बजारमा पनि आज विजय लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।

  • एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

    एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

    काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ ।

    कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।

    आजियटाले ७ वर्ष अघि युरोपियन टेलिकम कम्पनी टेलिया सोनेरासँग एनसेलको सेयर किनेको थियो । नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण हुँदै गएकाे भन्दै आजियटा बाहिरिने निष्कर्षमा पुगेको हो ।

    नेपालको अवस्था चुनौतीपूर्ण रहेको, व्यवसाय विस्तार हुन नसकेको, आम्दानी निरन्तर घट्दै गएकाले बाहिरिने निर्णयमा पुगेको कम्पनीले जनाएको छ ।

    आजियटाको सेयर नेपाली साझेदाहरुले नै किन्ने जनाइएको छ । यद्यपि, यसबारे कम्पनीले केही जानकारी गराएको छैन ।

    पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार गिरावट आइरहेको छ । २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२०/२१ मा ४० अर्ब ४२ करोड, २०२१/२२ मा ३९ अर्ब ७२ करोड र सन् २०२२/२३ मा घटेर। ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

    नेपाली दूरसंचार बजारमा एनसेलको बजार हिस्सा झन्डै आधा रहेको छ ।

  • सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

    सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन १६ सयले बढेको हो ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय २० रहेको छ ।

  • नेप्सेमा झिनो गिरावट, सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता

    नेप्सेमा झिनो गिरावट, सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ ।

    यसदिन २९० कम्पनीको १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बढीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूह्को परिसूचक घटेको छ भने ५ को बढेको छ । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ।

    बुद्धभूमी नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९४ रूपैयाँ ८० पैसा पुगेको छ। यस्तै, मन्दाकिनी हाइड्रोपावको शेयर मूल्य ८.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रूपैयाँ पुगेको छ।

    शेयर मूल्य सर्वाधिक घट्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको शेयर मूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५५ रूपैयाँमा झरेको छ। यस्तै, मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६१ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

    आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला ३ सय रूपैयाँले बढेर १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।

    साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार १ हजार ५ सय रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

  • कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

    कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

    काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०-१३२-३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

    आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनदेखि नै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।

    ‘प्रसारणलाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘कोशी प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’

    वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

    वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।

    नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात ९एक्जिम० बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारणलाइनको निर्माण गरिएको हो ।

    अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारणलाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

    कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।

    कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० खण्ड प्रसारणलाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारणलाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारणलाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

    वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारणलाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारणलाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३र७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजनाहरु जोडिने छन् ।

    अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

    कोशी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो ।

  • काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

    काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

    काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे संयन्त्रको बैठक बसेको हो ।

    चीनबाट १२ पुस २०७९मा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको थियो । त्यसपछि चीनबाट प्राविधिक टोली नेपाल आएर अध्ययनको काम गरिरहेका छन् । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रसुवा, नुवाकोट, काठमाडौं लगायतका क्षेत्रमा अध्ययनमा गरिरहेका छन् ।

    तर, अहिलेसम्म परियोजनामा कस्तो प्रगति भयो भन्ने जानकारी चिनियाँ पक्षले दिएको छैन । भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार सचिवस्तरीय बैठकमा चीनले यसबारे नेपाललाई जानकारी गराउने अपेक्षा छ । बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँग जमिन, वन तथा अन्य विभिन्न तथ्य तथ्यांकसहित अपेक्षा गरेको विभिन्न सहयोगहरुबारे पनि छलफल हुने अधिकारीहरु बताउँछन् ।

    चिनियाँ प्राविधिक टोलीले अबको करिब साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउने अपेक्षा छ । गत वर्ष नै पहिलो एक वर्षमा सर्भेको काम सकिने भनिएको थियो भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्सांकनको काम गर्ने तालिका तय थियो । त्यसपछिको अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने योजना छ ।

    विस्तृत अध्ययनका लागि भविष्यमा अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरु स्थापना गर्नुपर्ने मानिएको छ । चीनले आफ्नै खर्चमा अध्ययनको काम गरिरहेको हो । चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययन भइरहेको छ ।

    केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६को मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो ।

    चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन । चीनले शून्य कोभिड–१९ नीति हटाएर यात्रा प्रतिबन्धहरु खुला गरेपछि यो परियोजनाको काम कार्ययोजनाअनुसार अघि बढेको थियो ।

    अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरुसम्म हुनेछ । चीनले अध्ययन सकाएपछि आयोजना निर्माण र लगानीको मोडालिटी र प्राविधिक जटिलताको समाधानबारे नेपाल र चीनबीच समझदारी गर्नुपर्नेछ । त्यसका आधारमा परियोजनाको निर्माणको विषय टुंगो लाग्ने छ ।

  • नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

    नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । सोमबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

    यो नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि गत कात्तिक १२ गते सर्वाधिक प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । चाडवाडको सिजन सकिए पनि विहेको सिजनका कारण बजारमा सुनको माग बढेको व्यवसायीहरु बताउँछन् । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०१२.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँ पुगेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको छ ।

    यसदिन २९० कम्पनीको १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँ बढीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिन २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूह्को परिसूचक घटेको छ भने ४ को बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८९ प्रतिशतले घटेको छ ।

    आज सोनापुर सिमेन्टको शेयरसर्वाधिक किनबेच भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । स्वाभिमान लघुवित्तका शेयरधनीले भने सर्वाधिक ८.०४ प्रतिशत गुमाएका छन् ।

  • काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

    काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

    काठमाडौं । काठमाडौंमा बटुवा आफैले बटम थिचेर सडक बत्ति बाल्ने प्रणाली जडान थालिएको छ । पहिलो चरणमा बबरमहलमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । अब बटुवा आफैँले बटन थिचेर सवारी साधनका लागि रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रणाली जडान गरिएको हो ।

    काठमाडौं जिल्ला अदालत अगाडि जेब्राक्रसमा पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

    रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।

    बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाको भनाई छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।

  • वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

    वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

    काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्।

    निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ। सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

  • सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

    सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ४ लाख नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै यो योजनाको शुभारम्भ गरेका थिए । कोषका अनुसार वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता कम देखिएको छ । तर, वैदेशिक रोजगारीमा रही विदेशबाटै योगदान गर्नेको हकमा भने ९० प्रतिशतको निरन्तरता रहेको कोषले जनाएको छ ।

    सामाजिक सुरक्षा कोषमा योगदान गरी वैदेशिक रोजगारीमा जाने योगदानकर्तामध्ये अहिलेसम्म ३ जनाको दुर्घटनामा ज्यान गइसकेको छ । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामध्ये कम्तीमा ९ महिना योगदान गरेको हुनुपर्ने प्रावधान रहेको कारण ज्यान गुमाउनेहरुले कोषबाट कुनै सुविधा भने प्राप्त गर्न नसकेको कोषले जनाएको छ ।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने, श्रम स्वीकृति नवीकरण र नवीकरण गर्ने बेला नभएकाले वैदेशिक रोजगार विभाग र कोषमार्फत सहभागी हुन सक्ने प्रावधान छ । वैदेशिक रोजगारीमा रहेकाले विभागको सफ्टवेयरमार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट्समार्फत कोषमा सूचीकृत हुन निवेदन दिन सक्छन् । कोषमा श्रमिकले हरेक महिना २ हजार २ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ । निरन्तर योगदानको सन्दर्भमा औपचारिक क्षेत्रका श्रमिकभन्दा अनौपचारिक क्षेत्रका श्रमिकको कम सक्रिय रहेको कोषको विश्लेषण छ ।

    सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार ४३९ पुगेको छ । कोषले स्थापनाको छैठौं वार्षिकोत्सव मनाउँदैछ । यस अवधिमा कोषमा योगदानकर्ता भने ९ लाख २८ हजार ४५३ जना पुगेको कोषले जनाएको छ । यस अवधिमा कोषमा भएको योगदान रकम ४४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कोषले आर्थिक वर्ष २०७९–८० सम्म ३० हजार रोजगारदातालाई सूचीकृत गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य भने कोषले पूरा गर्न सकेन ।

    आव २०७९–८० सम्म ५ लाख योगदानकर्तालाई सूचीकरण गर्ने लक्ष्य राखिएकोमा ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता सूचीकृत गर्दै कोषले लक्ष्यभन्दा झण्डै दोब्बर योगदानकर्ता पुर्‍याएको छ । अहिलेसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी ७६ करोड १२ लाख रुपैयाँ भइसकेको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८।७५ करोड पुगेको छ । आश्रित परिवार सुरक्षा दाबी रकम १० करोढ ९६ लाख पुगेको कोषको तथ्यांक छ । अवकाश दाबी रकम ५ अर्ब ४८ करोड ९७ लाख रहेको छ । यसरी ५ वर्षको अवधिमा ६ अर्ब ४४ करोड रुपैयाँ दावि भुक्तानी भएको कोषले जनाएको छ ।

    कोषका अनुसार अहिलेसम्म विशेष (स्पेसल) कर्जा ९ हजार ७४४ जनाले लिएका छन् । यो रकम १ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ रहेको छ । घर कर्जा लिने १७ जना छन् । यो रकम २ करोड ८९ लाख रुपैयाँ रहेको छ । शैक्षिक कर्जा लिनेको संख्या ३ जना र रकम २३ लाख ६४ हजार रहेको कोषको तथ्यांक छ । ९२६ जनाले अहिलेसम्म कर्जा मिलान गरिसकेका छन् ।

    कोषले १७ असोज २०८० मा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आवद्धताका लागि अनुरोध गरेको थियो । जस अन्तर्गत अहिलेसम्म ६ वट स्थानीय तहले मात्र कोषमा आवद्धताका लागि सहमति जनाएका छन् ।

    स्याङ्जाको फेदीखोला गाउँपालिका, मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगञ्ज उपमहानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका यो स्किममा आवद्ध भएका छन् । दुई स्थानीय तह भने प्रक्रियामा रहेका छन् । बागलुङको ताराखोला गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका प्रक्रियामा रहेको कोषले जनाएको छ ।

  • उच्च अंकले बढ्यो नेप्से

    उच्च अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से ४७.७५ अंकले बढेर १९०७.७५ विन्दुमा पुगेको छ ।

    यसदिन २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बढीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक किनबेच भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढे्को छ । त्यसैगरी, जिय लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी र मैलुङखोला जलविद्युत्का शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

    काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

    काठमाडौं । सूर्यविनायकरत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क(सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।

    ती बस आज बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ । यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५–५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ ।

    यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो । अरु सार्वजनिक बसलाई रत्नपार्क(सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।

    माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

  • टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

    टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री डा. महतले भने, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

    काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै उनले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

    यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको समेत उनको भनाई छ । उनले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको समेत दावि गरे ।

  • तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

    तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

    काठमाडौं । यो वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएकामा यो वर्ष २ करोड रुपैयाँ कम कारोबार भएको हो ।

    यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

    अध्यक्ष तामाङले भने, ‘गत वर्षको तिहारमा रु एक सयमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर रु ६५ मा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो ।’

    यो वर्षको तिहारमा रु ३१ करोड २८ लाख मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै रु ७ करोड कम कारोबार भएको छ । यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ ।

    भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ । यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ ।

    पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

    नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब १ हजार २०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

    यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।

  • एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता

    एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता

    काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

    आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    ‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ’, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भने, ‘चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरुमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।’

    एडिबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए । ‘सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ’, उनले भने ।

    नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ ।

    यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ । तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्‍याउने ठानिएको छ ।

    त्यस्तै, केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ ।

  • काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

    काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् । १ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

    फोहोरमैला प्रशोधन गरी बिजुली, ग्याँस तथा मल उत्पादन गर्ने प्रशोधन प्लान्टको स्थापना गर्नु अहिलेको आवश्यकता भन्दै महर्जनले लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय तहको लगानीले मात्रै प्रशोधन प्लान्ट स्थापना गर्न नसकिने र ती प्लान्टलाई एक वा दुईवटा पालिकाको फोहोर मात्रै पर्याप्त नहुने देखिएकाले संघीय सरकारले स्थानीय सरकारलाई साथमा लिएर फोहोरमैला प्रशोधन प्लान्ट स्थापनाका लागि नेतृत्व लिनुपर्ने देखिएको छ ।’ उनले सावकिको ल्याण्डफिल साइटमा रहेको पुरानो फोहरको व्यवस्थापन समेत गर्नुपर्न बताएका छन् ।

    ‘ओखरपौवामा रहेको पुरानो फोहोरलाई व्यवस्थापन गरी उक्त साइटलाई सामुदायिक पार्क वा सामुदायिक वनको रुपमा रुपान्तरण गर्नु अत्यावश्यक छ । पार्क वा वनको अवधारणाले वातावरण संरक्षणसँगसँगै मानवस्वास्थ्यको समेत ख्याल हुने भएकाले तत्काल आवश्यक पहलकदमीका निमित्त हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ । उनले पुरानो ल्याण्डफिल साइटको फोहोरको उचित व्यवस्थापन हुन सकेमा नयाँ ल्याण्डफिल साइट क्षेत्रका जनतामा रहेको नकारात्मक धारणालाई हटाउन सकिने समेत बताएका छन् ।

  • सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

    सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

    काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात बढेको हो ।

    यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागअनुसार यस अविधिमा भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने एक करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

  • चार महिनामा १२ अर्बको विद्युत निर्यात

    चार महिनामा १२ अर्बको विद्युत निर्यात

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९–८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।

    प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

  • निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

    निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

    काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ ।

    बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना वडा कार्यालयमा समेत गराउनु पर्ने सर्त राखिएको छ । पक्रने क्रममा बँदेल मरेमा वडाका एक जना प्रतिनिधिको रोहबरमा मुचुल्का गरी गाड्न वा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्वमा चढाएर सम्बन्धित वडाभित्र उपयोग गर्न सकिने सर्त राखिएको छ ।

    यो व्यावसायिक प्रयोजनमा भने गर्न नपाइने सरकारको सर्त छ । यसको जानकारी समेत सम्बन्धित निकुञ्ज वा कार्यालय तथा वडा कार्यालयमा गराउनु पर्ने भएको छ । मारिएको बँदेलको विवरण हरेक महिना संघीय सरकारका सरोकारवाला निकायलाई गराउनु पर्ने भएको छ । निजी जमिन बाहेकको क्षेत्रमा भने बँदेललाई धमाउन, मार्न, लखेट्न पाइँदैन ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

    काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको छ ।

    यसदिन २९२ कम्पनीको १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बढीको ४२ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० को परिसूचक बढेको छ भने ३ को घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ ।

    आज नबिल बैंकको शेयर सर्वाधिक किनबेच भएको छ । यसको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नबिलले आजै मात्र गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    बढ्दोे बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, थ्रीस्टार हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर र सानिमा रिलायन्स इन्स्योरेन्सको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नबिल बैंकका शेयरधनीले भने सर्वाधिक ८.२० प्रतिशत गुमाएका छन् ।

  • वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब नाघ्यो, आयात–निर्यात दुवै घट्यो

    वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब नाघ्यो, आयात–निर्यात दुवै घट्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार कात्तिक महिनामा १ खर्ब ५ अर्बको विदेशी वस्तु आयात भएको छ । यो चालु आवको ४ महिना यताकै कम हो । यस वर्ष असोजमा १ खर्ब ४८ अर्ब, भदौ १ खर्ब ३० अर्ब र साउनमा १ खर्ब २९ अर्बको सामान आयात भएको थियो ।

    आयातमा गरिएको कडाइ हटाए पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा आयातमा गिरावट आएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक)को तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात ३.७९ प्रतिशतले घटेको छ।

    विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा २० अर्ब कम हो । गत वर्ष कात्तिकसम्म ५ अर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

    आयात प्रतिबन्ध हटाए पनि माग नहुँदा आयात घटेको हो । विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले गत माघदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।

    निर्यात पनि घट्यो

    चालु आवको चार महिनामा आयातसँगै निर्यात पनि घटेको छ यस अवधिमा कुल ५० अर्ब ५६ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशतले कमी हो । गत वर्षको यही अवधिमा निर्यात ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो ।

    आयात घटेसँगै मुलुकको व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा ३.३४ प्रतिशतले घटेर ४ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ । जबकि गत वर्ष सोही अवधिमा व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।

    चालु आवको ४ महिनामा कुल ५ खर्ब ६३ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा ४.१५ प्रतिशत कम हो । गत वर्ष कात्तिकसम्म ५ खर्ब ८७ अर्बको वैदेशिक व्यापार भएको थियो ।

  • चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

    चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

    काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का लागेको छ । चोभार सुक्खा बन्दरगाह ५ वर्षको लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन लागिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम उक्त कम्पनीसँग करार सम्झौता गरी जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ ।

    काठमाडौं–तराई द्रुतमार्ग तयार नहुञ्जेल चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्ने समिति कार्यकारी निर्देशक आशीष गजुरेलले बताएका छन् । । ‘निजी क्षेत्रले व्यवस्थापन, सञ्चालन, मर्मत, सम्भार गरी कबोल गरे बमोजिम पाँच वर्षको लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टाबहाल रकम सरकारलाई बुझाउनेछ,’ उनले भने, ‘नियमावलीबमोजिम सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणालीमार्फत छनौट भएको कम्पनीलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा भाडामा सञ्चालन गर्न जिम्मा दिन लागिएको हो ।’

    समितिको आन्तरिक व्यवस्थापनबाट २०७८ चैत २२ बाट सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि ०८० साउन ८ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको थियो । बोलपत्र प्रक्रियामा ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी र न्यू नेपाल ढुवानी सेवा सहभागी भएका थिए । सहभागी दुई वटा कम्पनीहरुमध्ये मूल्यांकन प्रक्रियाबाट ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी छनोट भएको समितिले जनाएको छ ।

    चोभार बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाइनु पर्ने समितिले जनाएको छ । समितिका अनुसार निजगढ-काठमाडौं द्रुतमार्ग सम्पन्न गरी सञ्चालन गर्दा मात्रै चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक

    नेप्सेमा दोहोरो अंकको कमब्याक

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार एकैदिन २३ अंकले घटेको नेप्से आज २० अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

    बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा पुगेको छ । यसदिन २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १९५ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ ।

    आज सोनापुर सिमेन्टको सर्वाधिक किनबेच भएको छ । यसको पौने ११ करोड रुपैयाँको कारोबार भएको छ ।

    दोहोरा अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने पञ्चकन्या माइ र माथिल्लो मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    सयपत्री हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ८.१५ प्रतिशत गुमाएका छन् ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले आइतवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

    बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ।

    यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत कात्तिक २५ गते डलरको भाउ १३३ रुपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ३ पैसा बढी हो।

  • ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

    ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताएका छ । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताएका हुन् । उनले ऋण लिएर ऋण नतिर्नेको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकालाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।


    उनले भने, ‘‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो। जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्नेकुरा आएको छ। तर ऋणको सवालमा ऋण लिएर, पैसा लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ। जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्नेकुरामा सरकार प्रतिवद्ध छ। उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन।’’ उनले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको समस्या समाधान सरकार प्रतिवद्ध रहेको बताए ।