Category: अर्थतन्त्र

  • तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने

    तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने

    काठमाडौं । तिहारमा चिनीको अभाव हुन नदिन विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको छ । आज काठमाडौंको भित्रि सहरमा थप छ सय बोरा चिनी जाने छ ।


    चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह गरिएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको थियो । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

    बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको हो । प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

  • वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान

    वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधिरनियमावलीरनिर्देशिका बनाउँदा भए गरेको लगानीको सुरक्षा हुने गरी बनाउन आदेश जारी भएपनि मन्त्रालयले उक्त आदेश पालन नगरी अदालतको अवहेलना गरेको इप्पानको भनाइ छ ।

    नेपाल भौगोलिक रुपमा तराई, पहाड र हिमाली क्षेत्रमा विभाजित भएकोले हिमालबाट उदाएका नदीनालाहरु पहाड हुँदै तराईसम्म पुग्दा पहाडी तथा हिमाली क्षेत्रमा जलविद्युत् उत्पादन गर्ने र तराईमा सिंचाइका लागि पानीको प्रयोग गर्न सकेमात्र देश छिटो समृद्ध हुने इप्पानले बताएको छ । जलविद्युत् उत्पादनको सम्भावना रहेको हिमाली तथा पहाडी क्षेत्रका अधिकांश क्षेत्र ‘राष्ट्रिय निकुञ्ज’, ‘सिकार आरक्षण’, ‘संरक्षण क्षेत्र’ लगायतका नाममा राख्दा जलविद्युत् आयोजनाको विकासमा नीतिगत असहजता भई नेपाल सरकारले ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५’ जारी गरेको इप्पानको विज्ञप्तिमा भनिएको छ ।

    उक्त कार्यनीतिलाई समय सापेक्ष ‘विकास तथा वातावरण’ मैत्री बनाउन आवश्यक ठानी मन्त्रिपरिषद्‍बाट २०७८ जेठ १४ गते संसोधन गरिएको र मन्त्रिपरिषद्को उक्त संसोधनप्रति विमति राख्दै सर्वोच्च अदालतमा रिट पर्दा अदालतले रिटको अन्तिम टुंगो नलागेसम्म संसोधित व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    २०८० जेठ ३२ गतेको पूर्ण फैसलामा भए गरेका आयोजनाको काम रोक्न नपर्ने र आगामी दिनमा पनि त्यस्तो लगानीको सुरक्षा हुने गरी मात्रै कार्यनीति बनाउन निर्देशन दिइएको छ । फैसलाको पूर्णपाठमा भनीएको छ, ‘यस अघि नै जलविद्युत् उत्पादन अनुमति पाइसकेका र लगानीसमेत गरिसकेका आयोजनाहरुको हकमा भए गरेका काम कारबाहीलाई समेट्ने गरी आवश्यक प्रबन्ध गर्नु ।’

    उक्त निर्देशनात्मक आदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायहरुले अपव्याख्या गरी फैसला आउनुपूर्व नै सम्बन्धित निकायमा प्रक्रिया अघि बढाइसकेका जलविद्युत् आयोजनाहरुलाई अध्ययन सहमति, ईआईएरआईईई सहमति, वन पैदावर हटाउने स्वीकृति, जग्गाको भोगाधिकारको स्विकृति, प्रसारणलाइनका काम कारबाहीको स्विकृति लगायतका प्रक्रियाहरु रोकेर सर्वोच्च अदालतको अवहेलना गरेको इप्पानको भनाइ छ ।

    सरकारले आगामी १२ वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित ऊर्जा विकास दशक तथा मार्गचित्र अघि सारिरहेको छ । यसको अर्थ सरकारले जलविद्युत् उत्पादन क्षमताको उच्चतम उपयोग गर्न विद्युत् उत्पादन सम्भावना भएका सबै नदी तथा खोलामा विद्युत् आयोजना निर्माण गर्न चाहेको इप्पानले बताएको छ ।

    सरकारले भारत, बंगलादेश लगायतका दक्षिण एसियाली राष्ट्रमा नेपालबाट बिजुली निर्यात गरी ऊर्जाबाट देश समृद्ध बनाउने लक्ष्य लिइरहँदा वन तथा वातावरण मन्त्रालयबाट अदालतको आदेश पालना नगरी सरकारको उक्त लक्ष्यलाई नै चुनौती दिएको इप्पानले बताएको छ । सरकारका जिम्मेवार निकायबाटै सम्मानित अदालतको आदेशको मर्म र भावना विपरीतका गतिविधिले निरन्तरता पाउँदा, जलविद्युतमा निजी क्षेत्रले गरेको खर्बौं लगानी जोखिममा परेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

    यसका साथै जलविद्युत् क्षेत्रको अभिभावक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मातहतका निकायहरुबाटसमेत सर्वोच्च अदालतको फैसला आउनु अघि जारी भएका अनुमति पत्र उपर’ संरक्षित क्षेत्र भित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५’ अनुसार तत्काल आवश्यक स्वीकृतिरसहमति दिएर अदालतको आदेश अक्षरस पालना गरी नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट भएको खर्बौ लगानीको सुरक्षा गरिदिन पनि इप्पानले माग गरेको छ ।

  • एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

    एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक

    काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो ।

    यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।

    यसमा गैरआवासीय नेपालीको जमघट र सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिएको छ । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

    चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन् ।

    अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

    यसवर्ष १० महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख नाघेको छ। यो अवधिमा ८ लाख ९ हजार ६७८ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। यो संख्या सन् २०१९ को १० महिनाको तुलनामा १०६ प्रतिशतले बढी हो।

  • नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

    नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

    काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र वित्तीय संस्थाहरूको तर्फबाट साइफेमका अध्यक्ष जर्ज फ्राइडेनले हस्ताक्षर गरे । यि वित्तीय संस्थाहरूले नेपालको दिगो विकास,जलवायु परिवर्तन, गरिबी निवारणका लागि सहुलियत दरमा नेपालमा ऋण प्रवाह गर्ने तथा कम्पनीको शेयरहरूमा समेत लगानी गर्दै आएका छन् । पाँच वर्षका लागि संझौतापत्रमा हस्ताक्षर गरिएको छ ।

    संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

    लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, जलविद्युत, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

  • डिजेल र मट्टीतेलको मूल्य घट्यो

    डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । बुधबारदेखि लागू हुनेगर नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से सोमबार ३ अंकले बढेकोमा आज फेरि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर ५७ करोडमा सीमित भएको छ । यो पछिल्लो सात महिना यताकै कम हो ।

    मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा आइपुगेको छ । यसदिन २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.४६ प्रतिशतले घटेको छ ।

    आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ करोड ७० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज सोनापुर मिनरल्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

  • नेपालका ६० प्रतिशत घर एक तले

    नेपालका ६० प्रतिशत घर एक तले


    काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् । 

    नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् । “मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।

    देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।

    करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता रहेको छ । “कूल ४१ लाख २२ हजार छ सय ९० अर्थात ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ”, तथ्याङ्क कार्यालयको विवरणमा भनिएको छ, “यसैगरी कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।”

    यसैगरी, कूल एक करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ । देशभरका कूल आठ लाख ३६ हजार एक सय २७ अर्थात १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एकजना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।

    देशभरका कूल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत छन् ।

    राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म (पन्ध्र दिन) प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण सङ्कलन गरिएको थियो । रासस

  • भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने

    भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने

    नयाँ दिल्ली । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले बताएका छन् ।

    घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

    उक्त निर्णयसँगै सरकारले प्याजको मूल्य स्थिर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा जनाइएको छ ।

    भारतले प्याज निर्यातको मूल्य तोकेसँगै नेपालमा प्याजको भाउ झनै बढ्ने देखिएको छ । नेपाली आयतकर्ताले भारतबाट प्याज आयात गर्दा प्रतिकिलो १०० रुपैयाँ बढी पर्ने भएको छ । नेपाल र भारत सरकारले लगाएको दोहोरो करका कारण जेठ यता नेपाली बजारमा प्याजको भाउ झन्डै तेब्बरले बढिसकेको छ ।

    भारतको नयाँ व्यवस्थाले प्याजको मूल्य महिँगएकाले नेपालममा कम आयात हुने देखिएको छ । आन्तरिक उत्पादनले माग नधान्ने र भारतबाट आयात गर्दा पनि महँगो हुने भएको छ ।

  • नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

    नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

    काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ ।

    विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली खेलाडीले हानेको रन र लिएको विकेटका आधारमा अर्नाले कुल ६ लाख ७६ हजार रुपैयाँ दिनुपर्ने भएको हो ।

    अर्नाले विश्वकप छनोटमा ब्याटिङतर्फ हरेक रनमा १ हजार, हरेक चौकामा १० हजार र हरेक छक्कामा २० हजार दिने घोषणा गरेको थियो । त्यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार, मेडन ओभरमा १० हजार र विकेटमा २५ हजार दिने घोषणा गरेको थियो ।

    आजको खेलमा नेपालले सिंगापुर विरुद्ध १४७ रन हान्दै ८ विकेटले जित हात पारेको छ । पहिला ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

    कम्पनीको घोषणा अनुसार आजको खेलको स्कोरमा ब्याट्सम्यानले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलरले २ लाख ८४ हजार रुपैयाँ पाउने भएका छन् । ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल एक्लैले मात्र १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार प्रतिरन १ हजारका दरले ७४ हजार, ८ चौकाको १० हजारका दरले ८० हजार र २ छक्काको २० हजारका दरले ४० हजार गरी कुल १ लाख ९४ हजार पाउने भएका हुन् ।

    त्यस्तै, कप्तान रोहित पौडेलले ९५ हजार रुपैयाँ पाउने भएका छन् । २४ बलमा ३५ रन बनाएका रोहितले समान २र२ चौका र छक्का हिकाएका थिए । त्यसैगरी, २६ बल खेल्दै २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् ।

    त्यस्तै, बलरतर्फ अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४ ओभरमा ९ डटबल फाल्दै ३ विकेट लिएका थिए । यस अनुसार ३ विकेटको प्रतिविकेट २५ हजार दरले ७५ हजार र ९ डट बलको ९ हजार गरी कुल ८४ हजार पाउने भएका हुन् ।

    त्यस्तै, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । उनीहरुले १३/१३ डटबल फाल्दै दुई/दुई विकेट लिएका थिए । त्यसैगरी, २ विकेट लिँदै ११ डट बल फालेका करण केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

  • १० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट

    १० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । १० दिनपछि खुलेको सेयर बजार आज एकैदिन २८ अंकले घटेको हो ।

    आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २७३ कम्पनीको ७४ करोड रूपैयाँ बराबरकाे २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.६८ प्रतिशतले घटेको छ ।

    आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    उच्च अंकले घटेको बजारमा आज सोनापुर मिनरल्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजैदेखि कारोबारमा आएको सोनापुरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको हो ।

    घट्दो बजारमा आज अपर सोलु हाइड्रोका सेयरधनीले सर्वाधिक ८.९९ प्रतिशत कमाएका छन् ।

  • बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

    बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

    काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ।

    विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा झन्डै ७ अर्ब बढी हो । गत वर्ष असोजसम्म ४ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

    असोजसम्ममा उक्त मूल्य बराबरको वस्तु आयात हुँदा सरकारले १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख रूपैयाँ बराबर राजश्व संकलन गरेको छ ।

    तीन महिनाको अवधिमा वस्तु निर्यात भने घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्ममा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रूपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत आर्थिक वर्षको असोजमसान्तसम्मको तुलनामा २.२६ प्रतिशतले कमी हो ।

    नेपालले असोज मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रूपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ ।

  • दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

    दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

    काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

    बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ।

    प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए।

    दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट दैनिक करोडौं रुपैयाँ गुमाइरहेका छौं ।’ प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि भारतबाट स्वीकृति पाउनेमा विश्वस्त रहेको उनले बताए । तर स्वीकृति नपाएमा अझै विद्युत् खेर फाल्नुपर्ने उनको भनाइ  छ।

  • सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

    नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    असोज पहिलो सातादेखि सुनको भाउ लगातार घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँसम्म झरेको थियो । जुन गत वैशाख यताकै सस्तो हो । तर, असोज तेस्रो साताबाट फेरि उकालो लागेको सुनको मूल्यले चाडवाडको सिजनमा नयाँ रेकर्ड कायम गरेको हो ।

    दसैं, तिहार जस्ता चाडवाडको बेलामा सुनको धेरै माग र खपत हुने गरेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९२६.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

    ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

    काठमाडौं । नेपालले एक महिना ९असोज०मा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

    तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

    साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।
    साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।


    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

    एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट ५६२ मेगावाट र महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट ७० मेगावाट विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए ।

    ‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केही दिन अघि पुनः प्रस्ताव पठाएका छौं,’ घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको र तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत गृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’

  • नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

    नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

    काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्म ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

    निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएपछि नगद प्रवाहमा समेत सुधार आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसबीचमा इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको पौडेलले जनाएका छन् । निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

    निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यसबाट आफ्नो राष्ट्रिय उत्तरदायित्व समेत निर्वाह हुने निगमले जनाएको छ ।

  • उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो

    उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो ।

    सुचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ९३ करोडमा सीमित भएको छ ।

    आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ ।

    आज सानिमा जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

  • विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै धेरै, साढे १२ महिनालाई आयात धान्ने

    विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै धेरै, साढे १२ महिनालाई आयात धान्ने

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

    यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । यसअघि गत असारमा सबैभन्दा धेरै गत साउनमा १५ अर्ब ३९ करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

    विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति ३.९ प्रतिशतले बढेको हो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १४ खर्ब ६ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १९२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

    भदौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

  • मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर

    मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८.१९ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

    सरकारले राखेको लक्ष्यभन्दा महंगी माथि पुगेको पाइएको छ। तर सरकारले महंगी ६.५ प्रतिशत कायम राख्ने दाबी गरेको थियो। सरकारले राखेको लक्ष्यभन्दा २ प्रतिशत महंगी वृद्धि भएको पाइएको छ। साउनमा ७.५२ रहेको थियो। भदौमा ८.१९ प्रतिशत पुगेको छ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य
    वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ ।

    समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतलेघटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी
    उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ ।

    समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क
    ०.१८ प्रतिशतले घटेको छ । छ। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ । २०७९ भदौमहिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

    २०८० भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो ।
    ठ। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३
    प्रतिशतले घटेको छ ।

  • शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

    शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

    यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।

    यस्तै, गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशत बढेर भदौसम्म १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने २.६ प्रतिशत बढेर १२ अर्ब १ करोड पुगेको छ ।

  • दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

    दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको दोस्रो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७०.६ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

  • दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

    दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

    काठमाडौं । दसैं मनाउन तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ(संस्था बन्द भएपछि दसैं मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

    उनका अनुसार आइतबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। शनिबार बिहानदेखि आइतबार बिहानसम्म ५१ हजार २७९ र शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ४७ हजार ६४३ यात्रु बाहिरिएका हुन्।

    ट्राफिक प्रहरीले २४ घन्टाको रेकर्ड राख्ने गरेको छ। दसैंको दोस्रो दिन चलिरहँदा बाहिरिनेको संख्या बढिरहेको एसएसपी भट्टले जानकारी दिए। ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ, उनले भने, ुयातायात सहजताका लागि उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरिएको छ ।

    नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले दैनिक २५ हजारभन्दा बढी यात्रु बाहिरिएको जानकारी दिए। लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौं, उनले भने। दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए।

    दसैंका लागि यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गतेदेखि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यसपटक धेरै यात्रुहरू बाहिरिने अनुमान छ।

    rss

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१. ४३ विन्दुमा झरेको हो ।

    यसदिन २८४ कम्पनीको १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ बराबरको ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा भारी गिरावट भएको छ । बिहीवार १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ ।

    आज प्रभू बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड २४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

    काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

    काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका, च्यांग्राको बिक्रि सुरु भएको छ । उपत्यकामा हजारौंको संख्यामा खसीबोका र च्यांग्रा भित्रन्छन् । पशु सेवा विभागले स्वस्थ खसीको पहिचानका लागि सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने भएको छ । विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा पशु चिकित्सकको टोली परिचालन गरी खसी, च्यांग्रा, राँगालगायत पशुबस्तुको परीक्षण गरी रङ लगाउने भएको हो ।

    चाडबाडमा लामो दूरीबाट ढुवानी हुँदा पशु बिरामी पर्ने सम्भावना रहन्छ । बाटोमा बिरामी भएको अवस्थामा रोग फैलिन सक्ने भन्दै पशु सेवा विभागले रोग फैलिन नदिन विभिन्न नाका र आसपासका बजारमा स्वास्थ्य टोली परिचालन गरेर रोगी, निरोगी पहिचान गर्ने तयारी गरेको जनाएको छ । खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागे रगतको नमुनाका आधारमा अध्ययन गरी सिङमा हरियो र रातो चिह्न लगाइने जानकार बताउँछन् ।

    आवश्यक परीक्षणसँगै स्वस्थ र अस्वस्थ खसीको वर्गीकरण गरी बिक्रीका लागि अनुमति दिइने भएको छ । खसीबोकाको नाक, मुखबाट सिँगान र र्‍याल बगेको, पातलो दिसा बगेको, चोटपटक लागेर संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको लगायत निरीक्षण गरिने विभागले जनाएको छ । शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, आँखामा चिप्रा र राता आँखा, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गरिने छ ।

  • आजबाट नयाँ नोट साट्न पाइने

    आजबाट नयाँ नोट साट्न पाइने

    काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

    वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

  • दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

    दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

    काठमाडौं । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउँदैछन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

    चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ ।

    दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँको हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ । गैरकानुनी तवरबाट व्यापारीले भारतबाट खसीबोका ल्याउने गरेको थापाको
    भनाइ छ ।

    दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ ।

    सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

    सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री हुन्छ । दाङको तुलसीपुर, मकवानपुरको हेटौँडा, धादिङ, कैलालीबाट खसीबोका ल्याइँदै छ । यस्तै रसुवाबाट च्याङ्ग्रा आउने कम्पनीले जनाएको छ ।

  • माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

    माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

    काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङ्टनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गरेको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको छ ।

    विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उनीहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिएका हुन् । गत वर्ष नौ दशमलव दुई प्रतिशत मात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिएका थिए ।

    बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उनीहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, तीन सय मिलियन अमेरिकी डलर अर्थात् रु ३९ अर्ब बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ ।

    यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गरेका छन् । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ ।

  • मनाङ एयरको एओसी निलम्बन

    मनाङ एयरको एओसी निलम्बन

    काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७स्१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए ।

    यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन । ‘मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने निर्णय हुन्छ’, उनले भने ।

  • लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द

    लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द

    काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विस्तृत परियोजनाको ठेक्का सम्झौता रद्द भएको छ । समग्र लागतभन्दा उच्च भएपछि एमसीए नेपालले ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जाने तयारी गरेको जनाएको छ । नयाँ ठेक्कामा जानुअघि कुन कुराले लागत उच्च भएको परीक्षण गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

    एमसीसीको गाइडलाइनअनुसार लागत बढी हालेकै आधारमा नेगोसियसन गर्न नमिल्ने भएका कारण हाललाई पुनः टेन्डर प्रक्रियामा जाने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताएका छन् । परियोजनाको लागत के कारणले बढ्यो त्यसको अध्ययन गरी डिजाइन समस्या पाइएमा परिवर्तनमा जान सकिने उनको भनाई छ ।


    परियोजना सकेसम्म वन क्षेत्रबाहिर बनाउने, वन बचाउन पहुँच मार्ग नबनाउने, कम जग्गा अधिग्रहण गरी ठूला टावर निर्माण गर्ने जस्ता कार्यले परियोजनाको लागत बढेको बताइएको छ । पुनः बोलपत्र आह्वान गर्नुअघि डिजाइन पनि राम्रोसँग अध्ययन गर्ने एमसीए नेपालको तयारी गरेको छ ।

    एमसीसी कार्यान्वयन गर्न बनेको मिलिनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपाल आह्वान गरेको बोलकबोल (बिडिङ)मा लागत तेब्बर परेपछि गत भदौ १३ गतेबाट समयावधि सुरु भएको परियोजना अघि बढ्न सकेको छैन । ‘न्यारो बेस डिजाइन’का कारण एमसीसी परियोजनामा समस्या रहेको विज्ञहरुको भनाइ छ ।

    एमसीसी परियोजना पाँच वर्षमा सक्नुपर्ने र नसकिए अमेरिकाले रकम फिर्ताको सर्त राखेको छ । एमसीसी परियोजनाको प्रसारण लाइन निर्माणको प्रस्ताव गरेको ५ भारतीय कम्पनीले प्रसारण लागतको कुल रकमभन्दा दोब्बर रकम प्रस्ताव गरेका थिए । परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको लागि २२ करोड ६ लाख अमेरिकी डलर लागत रहेको छ ।

    तर, सबैभन्दा कम प्रस्ताव नै साढे ३६ करोड डलरको हाराहारीमा परेको थियो । सडक र प्रसारण लाइन गरी कुल ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) रहेको परियोजनामा अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर लागत छ । प्रसारण लाइनको लागत उच्च भएपछि सडक निर्माण ४० किमिमात्रै हुने भएको छ । यसअघि ७७ किमि सडक उच्च क्षमतामा निर्माण गरिने भनिए तापनि यसको लम्बाइ घटाएर ४० किमिमा झारिएको छ ।

  • एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती

    एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती

    काठमाडौं । एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। लप्सीफेदी-रातमाटे-न्यु हेटौंडा (११७ किमि) पहिलो खण्ड, रातमाटे-न्यु दमौली (९० किमि) दोस्रो खण्ड र न्यु दमौली-न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भनिएको थियो।

    ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव गरेपछि तीनवटै ठेक्का रद्द गरिएको हो। ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए।

    ३१५ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माणका लागि २०७९ मंसिर १२ गते ठेक्काको सूचना निकालिएको थियो। प्रसारणलाइन तीन खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्‍वान गरिएको थियो।

    ठेक्का रद्द हुनुलाई परियोजनामा पहिलो गासमै ढुंगा लागेको रुपमा अर्थ्याइएको छ। पुन: ठेक्काको सूचना निकालेर मूल्यांकन गर्न अर्को ५/७ महिना लाग्न सक्छ। जसले परियोजना समयमा नै सक्न थप चुनौती हुनेछ।