Category: अर्थतन्त्र

  • सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

    सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

    काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा मुलुकबाट ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउन, भदौ र असोजमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर निर्यात भएको हो । मुलुकबाट ३८ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको ६ लाख ९ हजार ४४८ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

    गत आर्थिक वर्ष सोही अवधिमा २ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ६० हजार ८४८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ८० लाख ३३ हजार रुपैयाँको १ हजार २५ टन क्लिंकर र १ करोड ३५ लाख ४६ हजार रुपैयाँको ५९ हजार ८२४ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागले जनाएको छ ।

    चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ । ‘यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिन ९अलकत्रा० को आयात घट्ने विश्वास लिएको छु,’ अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमा भनेका छन्  । सिमेन्ट उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले अघि सार्दै आएको छ ।

    मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण ९० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योग अस्थायी रूपमा बन्द भएका छन् । मुलुकमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०७८\७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७\७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

    नेपालले यसअघि पनि ०६९\७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट र क्लिंकर निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०६९\७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो । भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ ।

    झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग ९पीएससी० सिमेन्ट निर्यात गरेको थियो । ०७०\७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो ।

    ०७१\७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजी ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । पहिला भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन नसकेका थिएनन् ।

    गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ४ अर्बसम्मको निर्यात हुने अनुमान गरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । ‘सरकारले गत वर्षदेखि सिमेन्ट निर्यात गर्नेलाई अनुदान दिने व्यवस्था गरे पनि हालसम्म कसैले पाएनन्,’ उनले भने, ‘५० करोडभन्दा बढी निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने भनेको छ । तर कसैको पनि नाघेको छैन । अलिअलि निर्यात गरेबापत पाइने ४ प्रतिशत अनुदान पनि पाएका छैनौं ।’ सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५६ वर्ष भइसकेको संघले जनाएको छ ।

  • अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

    अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

    काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्ने बारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए ।

    उहाँले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताए । उनले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रस्तुत गरेको बताए । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको छ ।

    अर्थमन्त्री महतले अर्थतन्त्र छिटोभन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने उनले जानकारी दिए ।

    अर्थमन्त्री महतले देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको बताए । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  • भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

    भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

    काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।


    त्यो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

  • झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको छ ।

    यसदिन २८८ कम्पनीको १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बढीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले बढेकोे छ ।

    आज हिमालयन डिस्ट्रीलरीको शेयर सर्वाधिक किनबेच भएको छ । यसको झन्डै साढे ७ करोड रुपैयाँको कारोबार भएको छ ।

    झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमा ग्लोबल आइएमइ लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

  • प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा

    प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ ।

    विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

  • चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता

    चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता


    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । 

    उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । 

    चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ । 

    सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एक/ एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ । गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

    सुरुदेखि हालसम्म छ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ ।

  • सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?

    सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?

    काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने कफीको समर्थन मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तोकेको छ।

    सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् ।

    कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ।

    यस्तै, चिसो प्रसोधन विधिअन्तर्गत प्रसोधन गरी तयार गरिएको (११ प्रतिशत चिस्यान भएको) पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको कफीको मूल्य प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ।

    यस्तै, चिसो प्रसोधन विधिबाट प्रसोधन नगरी कफी चेरीलाई घाम वा कुनै माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको न्यूनतम समर्थन मूल्य ‘ए’ ग्रेडको प्रतिकिलो २०० रुपैयाँ र ‘बी’ ग्रेडको १५० रुपैयाँ तोकिएको छ।

    अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका ४० जिल्लामा कफीको व्यवसायिक रुपमा खेती हुँदै आएको छ ।

  • दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा

    दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा

    काठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ । 

    तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । 

    बैङ्क अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।

    “उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठुलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठुलो जोखिम छ”, अध्ययनमा भनिएको छ । एआईले सेतो पोसाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठुलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ । 

    अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिहरू धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैङ्क अफ कोरियाको अध्ययनमा भनिएको छ, “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।” रासस-एएफपी

  • आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

    आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, ‘यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।’ पहिलो चरणमा एउटा माला एक सय ५० रुपैयाँका दरले कतार पठाइएको छ । अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ । अध्यक्ष चुमानले भने, ‘पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।’

    गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।

    गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको दुई सयसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । रासस

  • सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

    सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

    काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो ।

    यसमा १ अर्ब ७५ करोड रुपैयाँ थपेर विपद व्यवस्थापनका लागि १० अर्ब उपलब्ध गराउने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

    भूकम्पपछिको पुनर्निर्माणमा प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएको भन्दै सरकारले विपद व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण आवास पूर्ण र आंशिक क्षति भई बस्न योग्य नरहेको घर परिवारलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम दुई किस्तामा दिइनेछ । विपद व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाउने छ र परिवारको स्वघोषणा र वडाको सिफारिस लाभग्राहीको बैंंक खातामा पठाइनेछ ।

    अनुदान उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ । अस्थायी आवास निर्माणका लागि शहरी विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत प्राविधिक सहयोग उपलब्ध गराउनेछ । संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन र अस्थायी आवास निर्माण तथा प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ । आवश्यक समझदारी कायम गर्न तथा सहयोगका लागि स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा राजनीतिक दलहरुको सर्वदलीय संयन्त्र बनाइनेछ ।

    यस्तै भूकम्प प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले खोज उद्दार र राहतका लागि उपलब्ध बजेटबाट इन्धन खर्च वापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ । मन्त्रिपरिषदको बैठकले भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिर्वतनको उच्च जोखिममा रहेकाले व्यक्तिगत आवास लगायत सबै भवन र संरचनाको बिमा गराउनेबारे अध्ययन गरी प्रतिवदेन बुझाउन मुख्य सचिवलाई निर्देशन दिएको छ ।

  • विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

    विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

    काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।

    असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।
    यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।
    कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले महशुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरुको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
    लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरुले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ ।
    लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ ।
    बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।
    गण्डकी प्रादेशिक कार्यालय, पोखराले महशुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ ।
    बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ ।
    सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ ।
    कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।
    प्राधिकरणले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ ।
    यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
    प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति लिएको छ ।

  • ३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो

    ३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

    यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो ।

    प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति ६.७ प्रतिशतले बढेको हो ।

    सो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

    हालको विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

  • वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

    वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट (पेमेन्ट गेटवे) मा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ।

    नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार एक निर्देशन जारी गर्दै अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो।

    यसअघि पेमेन्ट वालेटहरुमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। व्यवस्थालाई परिमार्जन गर्दै २४ कात्तिकदेखि ३ मंसिरसम्म बढीमा २० पटकसम्मका लागि रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

  • शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा

    शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनमहिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

    द्दघ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

    द्दद्ध।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

  • तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

    तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको तेस्रो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन, भदौं र असोजमा रेमिट्यान्स आयात ३० प्रतिशतले वृद्धि हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

  • बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

    बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

    काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सरकारले आर्थिक वर्ष २०७३–७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको नाममा संकलन गरेकै रकममध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई छुट्याउने निर्णय गरेको हो । बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने भन्दै ३ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्ड कार्यालय उद्घाटन गरेका थिए ।

  • निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने

    निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने

    काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

    चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत पूर्वतयारीका काम यो वर्ष गर्ने घोषणा गरेको थियो । साथै लगानी मोडालिटी तय गरी विमानस्थलको काम अगाडी बढाउने घोषणा समेत बजेटमा गरिएको थियो । सोही घोषणा कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयलाई बिहीबार निर्देशन दिएको हो ।

    मन्त्रालयका सचिव भरतमणि सुवेदीका अनुसार मन्त्रिपरिषद्को निर्णय जुन ब्यहोरामा आउँछ, मन्त्रालयले सोही अनुसार आयोजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउने छ । सर्वोच्च अदालतले १२ जेठ २०७९ मा निजगढ विमानस्थल निर्माणबारे सरकारले २०७१ मा गरेको निर्णय खारेज गरेको थियो । फैसलाको पूर्णपाठमा विज्ञ समूह बनाएर निजगढको विकल्प खोज्न र त्यहीँ बनाउनुपर्ने भए वनक्षेत्रको न्यूनतम जग्गा समावेश हुने गरी निर्माणस्थल कायम गर्न भनेको थियो ।

    सर्वोच्चको आदेशअनुसार सरकारले २० साउन २०७९ मा हवाई पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा विज्ञ समूह बनायो, जसले २ असोज २०७९ का दिन सरकारलाई प्रतिवेदन बुझायो । प्रतिवेदन अनुसार विमानस्थल निर्माण थाल्ने चार किल्ला तोक्नेदेखि वातावरणीय प्रभाव मूल्यांकनसहितका कामहरु गर्नु पर्नेछ । अर्थातः निगजढ शून्य प्रक्रियाबाट अगाडि बढ्नेछ ।

    समानान्तर धावनमार्गसहित विमानस्थल बनाउन १.२. बिलियन डलर (१ खर्ब ५९ अर्ब रुपैयाँ) लागत लाग्ने अनुमान गरिएको छ । यद्यपि बिहीबार विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिँदा स्रोतबारे केही बोलिएको छैन । विज्ञ समूहको प्रतिवेदन अनुसार पहिलो चरणमा एक हजार ९ सय हेक्टर र दोस्रो चरणमा विस्तार गरी ३ हजार ८४५ हेक्टरमा निजगढ विमानस्थल बनाउन सकिन्छ । यो अघिल्लो योजनाको तुलनामा निकै कम हो । यसअघि सरकारले ८ हजार ४५.७९ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेको थियो ।

    त्यसबेला २४ लाख ५० हजार रुख काट्ने गरी नेपाली सेनासँग सम्झौता समेत भएको थियो । तर विज्ञ समूहले ८० प्रतिशत कोल्हवी नगरपालिका र २० प्रतिशत जितपुर सिमरामा भूभाग पर्ने गरी विमानस्थल बनाउन सुझाएको छ । विमानस्थल बनाउन सुझाव दिइएको क्षेत्रमा बस्ती, खेतिपाती र वन फाँडी भएको वन क्षेत्र रहेको छ । जसमा टाँगिया बस्ती र मुआब्जा दिइसकेको रैकर जग्गा छ ।

  • मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने

    मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने

    काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । अघिल्लो शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ ।

  • बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो

    बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने जानकारी दिए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महसुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।

    विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

    मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

    विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तीब्रताका साथ अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरुलाई आग्रह गरे ।

  • झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

    झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।

    यसदिन २८८ कम्पनीको ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बढीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परसूचक घटेको छ भने ९ को बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेकोे छ ।

    आज लगानीकर्ता सोनापुर मिनरल्स एयड आयलको शेयरमा आकर्षित भएका छन् । यसको सर्वाधिक ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

    बढ्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ८.०६ प्रतिशत कमाएका छन् । त्यस्तै, पिपुल्स हाइड्रोपावर र नेपाल एसबीआई बैंकका शेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

  • गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

    गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

    काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ।

    चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्।

    एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित चिनियाँ दूताबासले जनाएको छ। यस्तै, केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको बताइएको छ। जसमा २ हजार ३०० टेण्ट, २ हजार कम्बल, ७०० टर्पलिन, ५०० वटा महामारी रोक्ने स्पेयर र १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

    चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा आइपुगेका थिए।

    यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

    यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेका थिए।

  • काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

    काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

    काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ ।

    जस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरुले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ । यस अन्तर्गत आवेदकहरु केयूसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउँनेछन् । केयूकाअनुसार, प्रत्येक नवीनत्तम सोचलाई ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई परियोजनाबाट सहायता पाउनेछन् ।

    कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

    मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ता भित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।

    ‘नवीनतम सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’

    प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयूले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

    केयू अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन् ।

    इनरजाइज नेपालकाअनुसार यस आयोजनामार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइसकेका छन् ।

    लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए । विद्यार्थी लगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयूले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो ।

    इनरजाइज नेपाल भने नर्वेजियन सरकारको सहयोगमा नर्वे राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीनतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो ।

    इनरजाइज नेपालको केयू, हाइड्रो ल्याब, एनटीएनयू र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयूले गर्दै आएको छ । यस अन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्नका लागिआर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ । यस अन्तर्गतका परियोजनाका लागि नर्वेजीयन सरकारले ५१ मिलियन अर्थात करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो।

    बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ। बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।

    बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो।

    भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ। मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए। खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उनले बताए।

    यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए। आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत् काम अघि बढाइने बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताए।

    यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उनले बताए। उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्वपूर्ण आयोजना भएकाले यसलाई सहजरुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताए। तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उनको भनाइ छ।
    भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ। धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउण्डेसनले २० बिघा छ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो।

    फाउण्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको रु १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। रंगशाला निर्माणमा हालसम्म फाउण्डेशनले रु ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ। त्यसमध्ये रु १८ करोड ४३ लाख ऋण छ। फाउण्डेशनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो।

  • तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो

    तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो

    काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।

    जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि।सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कामको शुभारम्भ गरेका हुन् ।

    अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने भएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा र फड्को भएको बताए ।

    विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताकासाथ काम भइरहेको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए ।
    उनले निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरुबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए ।

    भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युतको प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिनु पर्ने बताए ।

    एडीबीका बरिष्ठ निर्देशक ९ऊर्जा० प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युतमा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रुपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए ।

    तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए ।

    आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८ देखि कार्यान्वयनमा आएको थियो ।

    निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड ९स्लोप० काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ ।

    आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो ।

    निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

    भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

    प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड, भारतसँग १० पुस २०७५ मा भएको खरिद सम्झौता १० फागुन २०७५ मा कार्यान्वयनमा आएको थियो । ३४।७ किलोमिटर प्रसारणलाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरुको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

    आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

    यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

    उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

    कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन

    गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

    कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा। महतले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । यो कार्यदललाई गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्ने म्यान्डेड दिइएको छ ।

    यस्तै गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।

  • नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक

    नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक

    काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमा नेप्से ५१ अंकले घटेको छ ।

    आइतबार नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ९७ करोड रुपैयाँ बढीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.११ प्रतिशतले घटेको छ ।

    आज नबिल बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा हिमालयन लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् । आज एनआइसी एशियाल लघुवित्तका सेयरधनीले सर्वाधिक ६.९७ प्रतिशत कमाएका छन् ।

  • गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा

    गैरआवासीय नेपाली संघद्धारा भूकम्प पिडितलाई १० लाख सहयोग घोषणा

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

    सङ्घका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “यस कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै सङ्घको तर्फबाट पहिलो चरणमा सरकारको कोषमा तत्काल १० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

    सङ्घले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग सङ्कलन तथा आवश्यक अन्य कार्यमा जुट्न सबै नेपालीलाई आग्रह पनि गरेको छ ।

  • काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस

    काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस

    काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम –पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले निःशुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।

  • भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

    भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

    निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।

    आर्थिक वर्ष २०८०–८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता

    माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता

    काठमाडौं । सङ्‍खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डे, एसियाली विकास बैंक (एडीबी)का महानिर्देशक रमेश सब्रमण्यमसहितको टोलीले शुक्रबार आयोजनास्थलको निरीक्षण भ्रमण गरेको छ ।

    भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री महतले माथिल्लो अरुण जलविद्युत् आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको जानकारी दिए । स्रोतको सीमितता भए पनि माथिल्लो अरुणलाई कार्यान्वयनको चरणमा लैजान राम्रो बजेट विनियोजन गरिएको उनले बताए । उनले स्रोतको अभावमा आयोजना अगाडि बढाउन नसक्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए । लगानीका लागि स्थानीयले चाहिएजति सेयर पाउने बताउँदै पूर्वऊर्जा मन्त्रीसमेत रहेका महतले देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना अब लगानी जुटाउने तहमा पुगेको उल्लेख गरे ।

    ‘आयोजनामा लगानीका लागि विश्व बैंकले विशेष चासो देखाएको छ, उसले नै विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई सहभागी गराएर लगानी जुटाउन खोजिरहेको छ,’ महतले भने, ‘विश्व बैंकको वार्षिक बैठक र द्विपक्षीय छलफलका क्रममा आयोजनालाई लगानी योग्य बनाउन अनुदानसहित सहुलितपूर्ण ऋणमा जोड दिएका छौं, जतिसक्दो छिट्टो लगानी जुटाएर निर्माण अगाडि बढाउन सकारको सम्पूर्ण सहयोग रहने छ ।’

    ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री बस्नेतले जलस्रोतलाई समृद्धिको रुपमा उपभोग गर्न अहिले बलियो आधार र समय आएको उल्लेख गर्दे माथिल्लो अरुणजस्ता आयोजना तत्काल अगाडि बढाउन सरकार तत्पर र प्रतिबद्ध रहेको बताए । ‘प्रवेश सडक निर्माणमा रुख कटानको समस्या रहेको जानकारी आएको छ, अदालतको आदेशअनुसार मन्त्रिपरिषद्‍बाट कार्यविधि बनाएर रुख कटाउनको समस्या छिट्टै समाधान गर्दैछौं’, मन्त्री बस्नेतले भने, ‘स्थानीयलाई आयोजनाको हिस्सेदार बनाउने मोडालिटीमा तत्काल अगाडि बढाउँछौं ।’

    विश्व बैंककी प्रबन्ध–निर्देशक वियर्डेले नेपाल आएदेखि माथिल्लो अरुणका विषयमा छलफल भइरहेकाले उत्पादित विद्युत् देशभित्र खपत र निर्यातका लागि महत्वपूर्ण रहेको बताइन् ।

    आयोजना अगाडि बढाउन स्थानीयलगायत सबै पक्ष आतुर रहेको आफूले पाएको उल्लेख गर्दै उनले सबै पक्षलाई फाइदा हुने गरी आयोजनामा लगानी गर्न बैंक तयार रहेको बताइन् । निर्माण अवधिको ब्याज, मूल्य वृद्धिलगायतसहित १ अर्ब ७५ करोड अमेरिकी डलर ९करिब २ खर्ब १४ अर्ब० अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी ९इक्विटी०बाट जुटाइने छ ।

    प्राधिकरणको अगुवाइमा निर्माण हुने आयोजनालाई ‘ब्लेन्डेड फाइनान्सिङ’९मिश्रित लगानी०को नमूना परियोजनाको रुपमा अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ ।

    विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ७५ करोड डलर सहुलितपूर्ण ऋण जुटाइने छ । यसमध्ये विश्व बैंकले ५० करोड डलर सहुलितपूर्ण ऋण प्रवाह गर्ने छ । ४० करोड डलर स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ । यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी (एचआईडीसीएल)को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ ।

    करिब ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गरिने छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरुणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला सङ्‍खुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरणलगायतका संस्थापक सेयर रहने छ । आयोजना प्रभावित बासिन्दा, देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण सेयर रहने छ । करिब ३२ अर्ब रुपैयाँ सर्वसाधारण सेयर निष्कासन गरी संकलन गरिने छ ।

    सन् २०२४ को जुनभित्र आयोजनाको वित्तीय व्यवस्थापन र सन् २०२५ को मध्यबाट निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता छनोट भइसकेको छ । आयोजनाको पूर्व तयारीमध्ये २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ ।

    आयोजनालाई आवश्यक पर्ने २ हजार २५ हेक्टर निजी जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहने अध्ययनले देखाएको छ ।

    आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५१ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ । उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारणलाइनमार्फत सङ्‍खुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।