Category: अर्थतन्त्र

  • जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

    जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

    काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

    वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता नै खारेजीको अवस्था आएको भन्दै इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए ।

    ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरूले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्,’ कार्कीले भने, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण पीपीए खारेजीको अवस्था छ ।’


    एफएमओका प्रमुख कार्यकारी अधिकृत माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए । २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आईएफसीका मापदण्ड र ईएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

    इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत् उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए । उनले निर्माण भइसकेका करिब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधीन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना ९४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे ।

    पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ । त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने गर्गले बताए ।

    इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालीन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे । एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयूक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व लिन लामाले आग्रह गरे ।

    एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ ।

  • सिटिजन लाइफको आइपीओ बाँडफाँड

    सिटिजन लाइफको आइपीओ बाँडफाँड

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलका अनुसार कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्।

    गोलाप्रथाबाट ९ लाख जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।

    कम्पनीले सर्वसाधारणका लागि भदौ १५ देखि १९ गतेसम्म प्रतिकित्ता २४४ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँँ थपेर) दरले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

    कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, बिक्री एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

  • सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

    सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

    काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्‌कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद ब्रेकप्याडको तौलका आधारमा उक्त गिरोहले ३०० केजीभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको सीआईबीले जनाएको छ।

    सीआईबीका अनुसार उक्त गिरोहले ३६२.७७८ केजी सुन तस्करी भित्र्याएको देखिएको छ। अहिलेको बजारमूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको सीआईबीले जनाएको छ। यस मामिलामा प्रहरीले २३ नेपाली र नौ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्का गरिएका चार नेपाली र १४ विदेशीसहित १८ जना फरार छन्। अनुसन्धानको दायरामा ५० जना आएको बताइएको छ। सीबाईबीका प्रवक्ता नवराज अधिकारीले २९ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए।

    सीआईबीले उनीहरू विरुद्ध भन्सार ऐन अवैध सुन पैठारी तथा सङ्गठित अपराध अन्तर्गतका मुद्दा चलाउन सिफारिस गरेको छ। पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानी समेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्।

    नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको उनले जनाएकी छन्। तर प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको उनले बताइन्। उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटली वा जापानका माफिया सङ्गठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ।

  • ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

    ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन १० अंक र दोस्रो दिन ४४ अंकले बढेको बजार आज भने ओरालो लागेको छ । आज शेयर बजार मापक सूचक (नेप्से) १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७६ कम्पनीको १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनाका कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये एक वटाबाहेकक सबै ओरालो लागेको छ ।

    आज एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड ५६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो

    मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो

    काठमाडौं । मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पुर्‍याएको हो । प्राधिकरणले आइतबारदेखि गमगढीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ ।

    प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।

    अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारणलाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्भे भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेपछि समाधान हुने बताए । उनले राष्ट्रिय प्रसारणलाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने बताए ।

    अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो ।

    बाढीपहिरोबाट विद्युत गृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३र११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

  • दोहोरो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७६ कम्पनीको १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एकवटा बाहेक सबैको परिसूचक बढेको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत शुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत,मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

    आज हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

    भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

    काठमाडौं । भुटानको पारो विमानस्थलबाट पहिलो पटक पोखरामा जहाज अवतरण गरेको छ । शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरण गरेको हो । १५० सिट क्षमताको जहाजले ३ जना यात्रु लिएर पोखरामा अवतरण गरेको थियो ।

    पोखरा अवतरण भएको ड्रुक एयरको विमानले पोखराबाट भने ४२ जना यात्रु लिएर भुटान उडेको थियो । भुटानबाट चार्टर उडानका रुपमा जहाज पोखरा आएको हो । भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो। यसअघि यो विमानस्थलमा चीनबाट चार्टर्ड उडान भएको थियो ।

  • युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

    युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

    काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता घटेको छ ।

    नेपालका ५० लाखभन्दा बढी युवा विदेशमा रहेका छन् । २६ लाख श्रम स्वीकृति लिएर गएका हुन् । युवा विदेशिएसँगै त्यसको असर कृषिमा देखिएको सरकारको विश्लेषण छ । विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए ।

    २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो । ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा झरेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको छ ।

    ०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६..७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने दस वर्षको अवधिमा १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशतमा पुगेको छ ।

    ६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ । कृषि गणना ०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत मात्रै थियो । १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत अर्थात् ३ लाख ३८ हजारमा पुगेको छ ।

  • नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो

    नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो

    काठमाडौं । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘क्रसबोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् ।

    दुई संस्थाबिचको साझेदारीसँगै दुवै देशका नागरिकले दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरेर क्युआरमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्ने छन् । सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेका छन् । जसमध्ये प्राविधिक एकीकरणको काम अन्तिम चरणमा रहेको छ ।

    प्राविधिक एकीकरणपछि यी दुई कम्पनीको नेटवर्कमा आबद्ध सदस्यले एक अर्काको देशका क्युआर भुक्तानीको सुविधा उपयोग गर्न सक्ने छन् । यस किसिमको साझेदारीले दुवै देशका डिजिटल भुक्तानीमा वृद्धि हुने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँच हुने जनाइएको छ ।

    साझेदारीपछि फोन पेका तथा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले दुवै देशको नागरिकको हितका लागि प्रविधिको प्रयोग गराउन पाउनु महत्वपूर्ण कदम भएको बताए । “यो साझेदारीकोे पहलले दुई देशबिचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महìवपूर्ण योगदान पु¥याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिने छ,” उनले भने ।


    एनआइपिएलएमले यो साझेदारीलाई नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई जनाउने उल्लेख गरेको छ । यस्तो साझेदारीले सहज क्रस बोर्डर भुक्तानी सहज बनाउने र कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने कम्पनीले जनाएको छ । फोन पेसँगको साझेदारीलाई कम्पनीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकका रूपमा व्याख्या गरेको छ ।

  • नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै

    नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै

    काठमाडौं । राइड सेयरिङ प्लेटफर्म टुटलले बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ टुटलले राइड सेयरिङ सेवा सुरु गर्न लागेको हो । कम्पनीले एप र सेवा परिस्कृत गर्दै किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बुधबारदेखि नै टुटल प्रयोग गर्न चाहने सेवाग्राहीले एपमार्फत राइड सेवा लिन सक्ने व्यवस्थापक ज्याप सर्भिसेजका सहसंस्थापक रुबिक जोशीले बताए ।

    टुटलको सिस्टममा हालसम्म २ हजार भन्दा बढी राइडर जोडिएको उनले जानकारी दिए । हाललाई राइडरहरुले निशुल्क दर्ता भई सेवा दिन पाउने व्यवस्था गरिएको छ । सुरुवातमा बाइक राइडरबाट १५ प्रतिशत र क्याब (ट्याक्सी) ड्राइभरबाट १२ प्रतिशत मात्रै कमिसन लिइने निर्णय गरेको कम्पनीले जनाएको छ ।

  • ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति

    ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४ रुपैयाँ) मा बिक्री गर्नेछ ।

    सोलु दूधकोशी र दोर्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः ८३.४२ मेगावाट र २६.१९ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति स्वीकृति प्राप्त भएको प्राधिकरण स्रोतले जानकारी दियो । एनभीभीनले उक्त विद्युत भारतको हरियाणाका विद्युत वितरण कम्पनीलाई बिक्री गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअगाडि नै नेपाल विद्युत प्राधिकरण र एनभीभीएनबीच ५ वर्षसम्म वर्षायाममा २ सय मेगावाटसम्म विद्युत खरिद बिक्रीका लागि सम्झौता भएको थियो ।

    प्राधिरकणले उक्त विद्युत ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट भारत जाने भएको छ । प्राधिकरणले ५ वटा जलविद्युत आयोजनाको २ सय मेगावाट विद्युत ५ वर्षसम्म बिक्रीका लागि स्वीकृतिका लागि पेश गरेको थियो । त्यसमध्ये २ वटाको मात्रै अनुमति दिएको हो । प्राधिकरणले १० जुलाइमा यो प्रस्ताव गरेको थियो । पछिल्लो सम्झौता मध्यमकालीन भएको र अब हरेक वर्षायाममा नेपालबाट भारतमा सो परिमाणको बिजुली निर्यात निश्चित गरिएको समेत प्राधिकरणको भनाइ छ ।

    पहिलो वर्ष ५ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म र त्यसपछिको चार वर्षका लागि भने १ जुनदेखि ३१ अक्टोबरसम्म बिजुली निर्यात हुने भएको छ । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ । भारतले नेपालको १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ ।

  • सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

    सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

    काठमाडौं । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ ।

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।

    ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग भएको मौज्दात खाद्यान्नले तीन महिनाको माग धान्न सक्छ, नयाँ धान खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने, ‘भारतबाट १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० क्विन्टल चिनीको आयात खुला गरिदिन आग्रह गरेका छौँ, छिट्टै नै ती खाद्यवस्तुको आपूर्तिको व्यवस्था मिल्नेछ ।’

    आगामी दिनमा खाद्यान्नको अभाव नहोस् भनेर मन्त्रालयले नयाँ धान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै सचिव मरासिनीले खाद्य सङ्कट टार्न हिमाली क्षेत्रमा उत्पादन भएका खाद्यान्नको बजारीकरणको व्यवस्था गरिएको बताए। ‘रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत खाद्य व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सात स्थानीय तहसँग रैथाने बाली खरिदको सम्झौता गरिएको छ,’ उनले भने ।

    अहिले कम्पनीले हुम्लाको सर्केगाड, अदानचुली र सिमकोट गाउँपालिकाबाट १ हजार २६३ किलो कागुनो, २ हजार २२३ किलो चिनो, १ हजार ९०५ किलो फापर र १ हजार ८८ किलो सिमी खरिद गरी बिक्री गरिरहेको छ । सचिव मरासिनीले यही भदौ ४ गते काठमाडौँबाट केरुङ हुँदै हुम्लाको यलवाङ बिक्री केन्द्र र सिमकोटका लागि चार हजार क्विन्टल चामल ढुवानी भएको जानकारी दिए ।

    कम्पनीका अनुसार सुगम जिल्लामा ४४ हजार ६८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार ४८२ क्विन्टल चालम मौज्दात छ । बोलपत्रका माध्यमबाट ७२ हजार ६८४ क्विन्टल चामल प्राप्त भइरहेको छ । कम्पनीसँग १ लाख ३१ हजार ८४९ किलो चामल मौज्दात छ । ४ हजार ६३२ क्विन्टल धान मौज्दात रहेको तथा भारतबाट आयात कोटाअन्तर्गत ३४ हजार ३२० क्विन्टल गहुँ आयात भएको कम्पनीले जनाएको छ ।

    यस्तै, डिजेल आठ दिन, पेट्रोल पाँच दिन, हवाई इन्धन १५ दिन र खाना पकाउने एलपी ग्यास १५ दिनको माग धान्ने गरी मौज्दात रहेको सचिव मरासिनीले जानकारी दिए।

    साल्ट ट्रेडिङ कर्पोरेसनसँग १ लाख ३९ हजार ७९१ मेट्रिक टन आयोडिनयुक्त नुन र ५०० मेट्रिक टन चिनी मौज्दात रहेको उनको भनाइ छ । आयोडिनयुक्त नुनको मौज्दात परिमाणले नौ महिनाको माग धान्ने अनुमान गरिएको छ ।

  • एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम

    एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ६४५ अंकले घटेर १९६१.३७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको ७९करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र उत्पादनमूलक समूह बाहेक अरु सबैको परिसूचक घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • १० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

    १० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

    काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । गत साता बसेको भारतको मन्त्रिपरिषद्ले बैठकले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको हो ।

    भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको पुष्टि गरेका छन् । उनले मंगल बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फ यस्तो जानकारी दिएका हुन् ।

    आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्न भारतको मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । यसले नेपालको विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्न बाटो खुलेको छ,’ उनले लेखेका छन् ।

    यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ । भारतको मन्त्रिपरिषद्ले दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाललाई भारत विद्युत् निर्यातमा सजिलो हुनेछ ।

    गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका बेला सो सम्झौतामा हस्ताक्षर गर्ने भनिए पनि भारतले आवश्यक तयारी नपुगेको भनेपछि सम्झौता हुन सकेको थिएन । प्रचण्ड भ्रमण सकेर फर्किएको ३ महिनापछि अहिले भारतले दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

  • १३ निर्माण कम्पनी परे कालोसूचीमा

    १३ निर्माण कम्पनी परे कालोसूचीमा

    काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
    कालो सूचीमा परेकाहरुले सूचना प्रकाशित भएको मिति (२०८० भदौ १९ गते) देखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । गणेश सिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन् ।

    यसैगरी निर्माण न्यौपाने र रोशन खड्का नेतृत्वको शिवालय बिल्डर्स प्रालि मकवानपुर र पेशल आचार्य नेतृत्वको आज्ञा एण्ड कम्पनी प्रालि विराटनगर दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । इन्द्रबहादुर शाह ठकुरी नेतृत्वको चुलीडाँडा निर्माण सेवा, स्वयम्भू काठमाडौंलाई एक वर्ष ६ महिना ९डेढ वर्ष० सम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचीमा उल्लेख छ ।

    यसैगरी मलिन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं, विजेनदास श्रेष्ठ नेतृत्वको मकर गणेश कन्स्ट्रक्सन प्रालि काठमाडौं, अफजल मोहम्मद हवाई नेतृत्वको बाबा इन्फ्राप्रोजेक्ट प्रालि बाँके, सुदीप आचार्य नेतृत्वको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स पोखरा, उपेन्द्र ढकाल नेतृत्वको यू।डी। एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स टेकु एक वर्षका लागि कालो सूचीमा परेका छन् ।

    मोहन बहादुर तामाङ नेतृत्वको पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा र हेमराज बस्याल नेतृत्वको अरबिन्द्र कन्स्ट्रक्सन भरतपुर चितवन पनि एक वर्षका लागि कालो सूचीमा परेका छन् ।

  • शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७० कम्पनीको १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये फाइनान्सबाहेक सबैको बढेको छ । चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    आइएमइ लाइफको सर्वाधिक कारोबार भएको छ । यसको शेयर ५ करोड २८ लाख बढीको कारोबार भएको छ ।

  • जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

    जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु

    काठमाडौं । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो। जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आइतबार तीनवटा उडान भरेको जानकारी दिए।

    ुमौसममा सुुधार र पर्यटकीय याम सुरू हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो, उनले भने, निजी क्षेत्रको यती एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ।

    आइतबार तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुईजना आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ। बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।

    सडक अवरूद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो। हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०७९–८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। रासस

  • उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

    उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७६ कम्पनीको १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ बुधवार१ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा घटेको छ ।

    सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको शेयर ३ करोड ८८ लाख बढी, आइएमइ लाइफको ३ करोड ७६ लाखको कारोबार भएको छ ।

  • पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री

    पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’


    राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा निकाय, निजी क्षेत्र वा पत्रकार जगतलाई प्रविधिले चुनौती थपेको मन्त्री महतको भनाइ छ । ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरूले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

    उनले हरेक प्रश्नको जवाफ दिन आफू सधैं तयार भएकोसमेत बताए । ‘संसद्भित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्,’ मन्त्री महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्ष रूपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।’

    देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयाससमेत गरिरहेको अर्थमन्त्री महतको दाबी छ । ‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु,’ मन्त्री महतले भने, ‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ ।’

  • नेपाल बैंक र एडीबीबीच सम्झौता

    नेपाल बैंक र एडीबीबीच सम्झौता

    काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो ।

    कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७।७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।

    नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड एडिबी टिएससिएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ । सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बताइएको छ ।

    नेपाल बैङ्क लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैङ्कसँग यो सम्झौता हुन सम्भव भएको बैङ्कले जनाएको छ । सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे ।

  • तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह

    तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह

    काठमाडौं । राहदानी विभागले त्रिपरेश्वरस्थित आफ्नो कार्यालयमा राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ ।

    द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट’ उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

    तथापि तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबैरै विभाग आएर लाइने लाग्ने गरेकोले विहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको सूचनामा उल्लेख छ । ‘विभागमा भीडभाडरहित सेवाप्रवाहका लागि आफ्नो आवेदन फारममा तोकिएको मिति र समयमा मात्र विभागमा आइदिनुहुन सबै सेवाग्राहीलाई हार्दिक अनुरोध छ,’ विभागका प्रवक्ता कुमार राईले जारी गरेको सूचनामा भनिएको छ ।

  • ८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम

    ८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम

    काठमाडौं । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

    आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो ।

    भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो।

    नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे। त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए।

    विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।

    तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो। नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

  • उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने

    उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई छ ।

    हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था गरिएको छ ।

  • खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य

    खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

    अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । निगमले स्वचालिन मूलय प्रणाली अनुसार मूल्य समायोजन गर्दै आइरहेको छ ।

  • एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु

    एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु

    काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो ।

    एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका थिए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदानपश्चात पाँच वर्षे अवधिको सम्झौता सुरु भएको हो । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ ।

    आयोजना कार्यान्वयनका लागि गठित एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् । तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ ।

    विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग ऐन लागू गर्ने, कार्यक्रम कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्ने, अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल सरकार तथा भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्ने, प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन तथा आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रूख कटानी सम्पन्न गर्नुपर्ने सर्त छन् ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक (नेप्से) २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७६ कम्पनीको १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये २ वटाको बढेको छ भने अन्यको परिसूचकमा घटेको छ ।

    माछापुच्छ्रे बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । यसको शेयर १० करोडबढी, आइएमइ लाइफको ३ करोड ३५ लाखको कारोबार भएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम

    काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से फेरि आज ५ अंकले नै घटेको हो ।

    मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।

    सूचकसँगै आज करोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले घटेर ८६ करोडमा सीमित भएको छ । यो पछिल्लो ३ महिना यताकै कम हो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६३ प्रतिशतले घटेको छ ।

    आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले १० प्रतिशत कमाएका छन् ।

  • आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट

    आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट

    काठमाडौं । नेपाल एयरलाइन्सले आजबाट भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोड्दैछ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा उडान हुन लागेको हो । यो विमानस्थलमा नेपाल एयरलाइन्सले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान समेत गरिरहेको छ ।

    अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाइने भएको छ । भैरहवाबाट बिहान ९ बजे काठमाडौं आएको जहाज ११ बजे हङकङ र दिउँसो १ बजे दिल्ली उडानमार्फत आफ्नो गन्तब्यमा जानेछन् ।

    भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउने निगमको योजना छ ।

  • चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?

    चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको छ । चालू आर्थिक बर्षको मौद्रिक नितीमा गरिएको प्रतिवद्धता अनुसार राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको हो ।

    संशोधन अनुसार एक करोडको सिमालाई ३ करोड कयम गरिएको छ । अब समग्र प्रणालीबाट एक करोड ऋण लिएकाहरुले त्यस्तो ऋण ३ करोड सम्म पाउनेछन् । २ करोड सम्म चालु पुँजी कर्जा लिएका फर्महरुले ४ करोडसम्म ऋण सुविधा पाउने छन् । उत्पादन मुलक क्षेत्रले पाउदै आएको २ करोडको सुविधा पनि वृद्धि भएर ४ करोड पुगेको छ ।

    त्यस बाहेक, चालु पुँजी कर्जा मार्गदर्शनमा पहिले भन्दा निकै लचिलो बनेको राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयन भएको तेस्रो वर्षपछि चालु पुँजी प्रकृतिको कर्जा ७ दिनसम्म लगातार शून्यमा झार्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै १० प्रतिशतसम्म बक्यौता राख्न मिल्ने बनाएको छ ।
    व्यवसायीहरुले शून्यमा झार्नुपर्ने नीति कार्यान्वयन गर्न नसकिने भन्दै विरोध जनाउँदै आएका थिए । राष्ट्र बैंकले २०७९ कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो ।

    ‘चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ,’ संसोधित मार्गदर्शनमा उल्लेख छ ।

  • झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार

    झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २७९ कम्पनीको ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये ९ वटाको बढेको छ भने अन्यको परिसूचकमा घटेको छ ।

    कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

    सामान्य अंकले बढेको बजारमा कुथेरी हाइड्रोपावरको १० प्रतिशत बढीले शेयर मूल्य बढेको छ । लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ४.७१ प्रतिशत, सिटि होटलको ४.४८, न्यादी हाइड्रोपावर ४.२३ र माछापुच्छ्रे बैंकको शेयर मूल्य ३.३२ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३८ प्रतिशतले शेयर मुल्य गुमाएका छन् । मनकामना लघुवित्त वित्तीय संस्थाको ३.५५ प्रतिशत, र मिर्मिरे लघुवित्तको शेयर मूल्य ३.४२ प्रतिशतले घटेको छ ।