Category: अर्थतन्त्र

  • अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

    अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

    काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२)बाट गणना थालिने भएको छ । यो अवधिबाट ५ वर्षको बीचमा परियोजनाको काम सम्पन्न हुनुपर्छ । नभए अनुदान फिर्ता जान्छ । एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसिसी कार्यान्वयनमा जाने बताएको छ ।

    एमसिए नेपालका अनुसार एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्नको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ ।

    पूरा भएका पूर्वसर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको र संसद्बाट कम्प्याक्टको अनुमोदन भएको छ ।

    सम्झौता कार्यान्वयनमा जानुअघि नेपाल सरकारले लगानी बढाएको छ । नेपाल सरकार र एमसिसीबिच गत जेठ १४ गते आदानप्रदान गरिएको कार्यान्वयन पत्र अनुसार नेपाल सरकारले एमसिसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थपेको हो ।

    सुरुवाती सम्झौतामा एमसिसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो । सरकारकातर्फबाट थप गरिएको लगानी एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने छ ।


    एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत तीन वटा सबस्टेसन निर्माण हुने छन् । नेपाल विद्युत् प्राधिकरणको आवश्यकता र अनुरोध अनुसार थप नयाँ पावर ट्रान्सफर्मर सबस्टेसन युनिट जडान गरी ती सबस्टेसनको क्षमता विस्तार गरिने छ ।

  • ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

    ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

    काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको भन्दै मन्त्री साउदको ध्यानाकर्षण गराए ।


    परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक तथा अन्य सवारी साधनको आवतजावतलाई सहज बनाइनुपर्ने सुझाव दिएको छ । सो क्रममा मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने आश्वासन दिए । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

  • सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

    सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

    काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

    रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्ने भएका छन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिने भएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने भएको छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पाको सुविधा रहेको छ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

    २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू भएको सिद्धार्थको व्यवसाय अहिले बिस्तार भएर देशैभर फैलिएको छ । ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याइसकेको छ ।

  • जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत

    जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ।

    शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

    लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

    त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताका सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने पनि बैठकले निर्णय गरेको छ।

    बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राइजन इनर्जीले पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।

    बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। यसका अतिरिक्त, बोर्डको बैठकले ग्रिन क्याल्सिमय अमुनियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री स्थापनाको अध्ययन गर्न मलेसियाली कम्पनी रिनिकोलासँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

    बैठकमा विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन/विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिए।

  • कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

    कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

    काठमाडौं । आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो ।

    आव २०७९–८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७९–८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।

    साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् । पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ ।

    साउनमा नेपाली धेरै संख्यामा पुगेको मुलुक यूएई हो । गत वर्षभरमा मलेसियामा धेरै नेपाली गएका थिए । साउनमा भने यूएईमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ । कतारमा साउनमा १० हजार ५६१ जना विदेशिएका छन् । साउदी अरेबियमा १० हजार ३० जना गएका छन् ।

    मलेसियामा भने ९ हजार २६८ जना गएको तथ्याङ्‍क छ । कुवेतमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् । २०७९ साल साउनमा मलेसियामा मात्र २४ हजार ४८४ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा कतार थियो । जसमा १२ हजार ५६८ जना पुगेका थिए । यो वर्ष भने मलेसिया जाने कामदारको संख्या केही खस्किएको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से

    दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७५ कम्पनीको १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा घटेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.९२ प्रतिशतले घटेको छ ।

    आज सोल्टी होटलको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ८७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

  • साउनमै व्यापार घाटा १ खर्ब १५ अर्ब , आयात–निर्यात दुवै घट्यो

    साउनमै व्यापार घाटा १ खर्ब १५ अर्ब , आयात–निर्यात दुवै घट्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ नेपालले घाटा बेहोरेको छ ।

    गत वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको थियो । आयात १.५६ प्रतिशत र नियात ८.६५ प्रतिशतले घटेको विभागले जनाएको छ ।

    गत वर्ष पहिलो साउनमा १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले यो वर्ष १३ अर्बमा खस्किएको छ । गत वर्ष १ खर्ब ३१ अर्बको वस्तु आयात गरिएकोमा समीक्षा अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ ।

    भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ । यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो ।

    आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो ।

  • नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी


    काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकले बढेकाे छ । मंगलबार १७ अंकले बढेको नेप्से आज सोभन्दा धेरै अंकले बढेको हो ।

    बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ ।

    आज घोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल ७ करोड र आइएमई लाइफ इन्स्योरेन्स साढे ५ करोड बढीको कारोबार हुँदै शिर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, ग्लोबल आइएमई ब्लेन्स फण्ड १ र लिबर्टी इनजीको सेयर मूल्य साढे ९ प्रतिशतले बढेको छ भने दोल्ती पावर, मायाखोला हाइड्रोपावर र समता घरेलु लघुवित्तका सेयरधनीले ८ प्रतिशत कमाएका छन् ।

  • प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

    प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

    भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छिन् । उनले नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने भन्दै यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् ।

    नेपाल सरकारले यो वर्षदेखि वार्षिक पूँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले सूचना प्रविधिको विकासलाई आर्थिक समृद्धिको आधारको रुपमा लिन थालिएको बताइन् । भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको बताइन् ।

    अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन थालिएको जानकारी दिइन् । मन्त्री शर्माले यो वर्षभित्र आईसीटी एक्जिविसन, डिजिटल च्याम्पियन, व्यावसायिक तालिम, डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिंदै यसमा विभिन्न देशका अनुभवहरु नेपालका लागि फलदायी हुने बताइन् ।

    चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्‍याउने तयारी थालेको जानकारी दिंदै उनले अब फोरजीको सेवा सबै ठाउँ विस्तार गरेर फाइभजी विस्तार गर्ने बताइन् । ‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ,’ मन्त्री शर्माले भनिन्, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जीटूजी, पिटूपी ९सरकार–सरकार, जनता–जनता० सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।’

    राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा बैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए । कोरियाले ईपीएसमार्फत श्रमिक लैजाने १६ देशमध्ये नेपाललाई प्रमुख देशको रुपमा राखेको उल्लेख गर्दै उनले कोभिड(१९ अघिजस्तै नेपालमा अब कोरियाली पर्यटकहरुको संख्या पनि वृद्धि हुन थालेको बताए ।

    संयुक्त राष्ट्रसंघको नतिजाअनुसार कोरिया विश्वमा इगभर्नेन्सको क्षेत्रमा तेस्रो मुलुक रहेको जानकारी दिंदै रादजूत तइयोङले नेपालमा पनि यसको आवश्यकता रहेको सुझाव दिए । नेपालमा सरकारी तहबाट मात्र नभई निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै पुल्चोक क्याम्पसमा सामसुङले इन्नोभेसन सेन्टरमा सहयोग गरिरहेको बताए ।

  • भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन

    भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

    आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए । सोही गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखराको आयात रोक्न निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ ।

    जसअनुसार मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रण गर्ने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने, सीमा नाकामा गस्ती निगरानी बढाउने उल्लेख छ ।

    सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरु हटाउन पनि मातहतको निकायलाई गृहमन्त्रालयले पत्राचार गरेको छ । भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

  • रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार

    रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ ।

    आज कुमारी बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड र शिवम् सिमेन्ट साढे ४ करोड बढीको कारोबार हुँदै शिर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, इङवा हाइड्रोपावर, माइखोला हाइड्रोपावर, मकर जितुमाया र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

    नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

    काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्ने उनले जानकारी दिएका छन् ।

    रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको बताइएको छ । चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको हो । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।

    ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरीले अनुरोध गरेको छ । काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ ।

  • रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव

    रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव

    काठमाडौं । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

    जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको र त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ । रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेको समेत सचिवालयले जनाएको छ । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।

    मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन् । केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने समेत बताइएको छ । उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको सचिवालयले जनाएको छ ।

    रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताए ।

  • शेयर बजारको ओरालो यात्रा जारी, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारको ओरालो यात्रा जारी, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १२.९३ अंकले घटेर १९९८.२८विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७२ कम्पनीको १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो लागेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा लक्ष्मी लघुवित्त र कुथेलीबुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका लागि नेपाल सरकारले लगानी बढाउने बताएका हुन् ।


    नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै कुनै न कुनै रुपमा परम्परागत औषधिको प्रयोग गर्ने गरेको दाबी गर्दै सरकारले लगानी बिस्तारैसँग यसको सेवाको गुणस्तर बढाउन पनि पहल गर्नुपर्ने जोड दिइएको छ ।

    मन्त्री बस्नेतले भने, ‘‘परम्परागत ओषधिको विकास र विस्तार गर्ने अहिले उपयुक्त समय हो । यसमा हामीले ढिलो गर्नु हुँदैन ।’’ संसारका सबै देशसँग परम्परागत औषधिका क्षेत्रमा आ–आफ्ना अनुभव भएको बताउँदै मन्त्री बस्नेतले आयुर्वेदिक र परम्परागत औषधिको उत्पादनमा ज्ञान र अनुभव आदान प्रदान गरेर सहकार्य गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।


    सम्मेलनमा सहभागी विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वास्थ्यका अधिकारीहरुले आयुर्बेदिक क्षेत्रमा उच्चस्तरीय जनशक्तिको छात्रवृति बढाउने, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा अनुसन्धानमा सहकार्य गर्ने, दुई देशको उत्पादनलाई आयात निर्यातमा सहजीकरण गर्नेलगायतमा छलफल भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बाशुदेव उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार विश्वका विभिन्न देशमा आधुनिक र परम्परागत चिकित्साको एकीकृत सेवा प्रवाहको विषयमा विद्यमान अवस्था र नेपालको अवस्थाका विषयमा पनि छलफल भएको थियो । सम्मेलनले डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडनोम गेब्रेयेससले परम्परागत औषधि र यसको विकासमा विश्वका सबै देशहरुबिच सहकार्य आवश्यक रहेको चर्चा गरे ।


    सम्मेलनको उदघाटन समारोहमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मांडविया र केन्द्रीय आयुष मन्त्री सर्वानन्द सोनोवालले आधुनिक औषधिको प्रयोगले मात्र अबको उपचार सम्भव नहुने कुरा विगतको कोरोनाले देखाइसकेको बताउँदै परम्परागत औषधिको विकासमा सर्वपक्षीय साझेदारी आवश्यक रहेकोमा जोड दिए । सम्मेलनमा डब्लूएचओ सदस्य देशका स्वास्थ्य मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी र अनुसन्धानकर्ता सहभागी थिए ।

  • अर्थमन्त्री महत क्यानडा प्रस्थान

    अर्थमन्त्री महत क्यानडा प्रस्थान

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९ः३० मा क्यानडा प्रस्थान गरेका हुन् ।

    अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । न तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेका छन् ।

    अर्थमन्त्री डा. महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

    अर्थमन्त्री डा. महत करिब १ साता क्यानडामा रहने कार्यक्रम छ । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर(आवसीय नेपाली र अन्य दातृनिकायहरुसँग भेटघाट गर्नेछन् । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

    यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४४ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४४ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६९कम्पनीको १ अर्ब ४४ करोड ७४ लाख ८हजार ९४२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो लागेको छ ।

    आजआइएमई लाईफ इन्सुरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर

    भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर

    काठमाडौं । भारतले एकपछि अर्को उपभोग्य वस्तुको निर्यातमा कडाइ गरेको छ । गत महिना चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अहिले प्याज निर्यातमा कडाइ गरेको हो ।

    भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य अस्वभाविक रुपमा बढेसँगै नियन्त्रण गर्न एकैपटक ४० प्रतिशत कर लगाएको हो । यसअघि भारतबाट प्याज निर्यातमा कुनै पनि किसिमको कर लाग्दैन थियो ।

    भारतको वित्त मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्याज निर्यातमा कर लगाइएको जानकारी गराएको छ । यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

    पछिल्लो एक वर्षको अवधिमा भारतमा प्याजको मूल्य १४ गुणासम्मले बढेको छ । अघिल्लो वर्षको अगस्टमा प्रतिकिलो २ रुपैयाँ रहेको प्याजको मूल्य हाल प्रतिकिलो २८ रुपैयाँ पुगेको अल इण्डिया रिटेल प्राइसले जनाएको छ । यही बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा उच्च कर लगाएको हो ।

    भारतले प्याज निर्यातमा उच्च कर लगाएसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने छ । नेपाल प्याजमा आत्मर्निभर नभएकाले ठूलो मात्रमा भारतबाट आयात हुने गरेको छ ।

    नेपालले भारतबाट प्याज आयात गर्ने गरेका कारण यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ । नेपालले गत आवमा मात्रै पौने ७ अर्ब रुपैयाँ बराबरको १८ करोड केजी प्याज आयात भएको थियो ।

    नेपाल सरकार चालु आवको बजेटबाट प्याज आयातमा भ्याट लगाउने घोषणा गरेसँगै गत जेठमा प्याजको भाउ प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि केही सस्तिएको प्याजको भाउ भारतले कर लगाएसँगै अब फेरि आकाशिने देखिएको छ ।

  • प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक

    प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो ।

    अघिल्लो आवमा यस महिनामा दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

    विभागका अनुसार साउनमा ६० वटा उद्योगमा आएको वैदेशिक लगानीमध्ये ५४ साना उद्योग, चार वटा मध्यम किसिमका र दुई वटा ठुला उद्योग रहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा धेरै पर्यटन क्षेत्र, सेवामूलक क्षेत्रका उद्योगमा बढी भित्रिएका छन् । वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये उत्पादनतर्फका चार, सूचना प्रविधितर्फका एक, पर्यटनतर्फका २८, सेवामूलकतर्फका २६ र कृषितर्फका एक रहेका छन् ।

  • नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

    नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो।

    नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो। उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए।

    काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ। निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ। निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ।

  • नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

    नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

    काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९–८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०७८–७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब ५० प्रतिशतले बढेको हो ।

    यस आवमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आवमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।

    विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । सेवातर्फ नेपाल आउने भन्दा नेपालबाट बाहिरिने रकम ठूलो हुँदा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८५ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा भने केही घटेको छ ।

  • श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

    श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

    काठमाडौं । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले विभागबाट हुने सम्पूर्ण सेवा प्रवाहका कार्यको अनलाइन शुभारम्भ गरे।

    विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।

    ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा काम गर्ने विदेशी श्रमिकको श्रम स्वीकृति, श्रमिक आपूर्तिकर्ताको दर्तारनवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस र प्रतिष्ठान दर्तालगायत सेवा अनलाइनमार्फत गर्न सुरु गरिएको छ।

    विभागमार्फत प्रदान हुने सेवा www.Imlia.dols.gov.np बाट लिन सकिनेछ। विभागले विदेशी नागरिकको श्रम इजाजत, श्रमिक आपूर्तिकर्ता र ट्रेड युनियनसम्बन्धी कार्य गर्दै आएको छ।

    सूचना व्यवस्थापन प्रणालीबाट विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान गर्ने र खारेजी गर्ने, श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र जारी, नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजतपत्र खारेजीलगायतको काम हुनेछ।

    यस्तै श्रम अडिट पेस गर्ने, व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठान तथा श्रमिकको तथ्यांक अद्यावधिक, श्रम विवादसम्बन्धी निवेदन दर्ता, ट्रेड युनियन दर्ता तथा नवीकरण, नाम परिवर्तन, खारेजी र विधान संशोधनलगायतको गर्न सकिने छ।

    यसअघि उक्त सेवा विभाग वा मातहतका कार्यालयमा भौतिकरूपमा उपस्थित भएर लिनुपर्ने अवस्था थियो। विभागले भद्रपुर, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, टेकु, पोखरा, बुटवल, नेपागन्ज, सुर्खेत र धनगढीस्थित कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ।

  • विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत

    विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत

    काठमाडौं । सरकारको ढुकुटीमा १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी विनिमय सञ्चिति रहेको छ।

    राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार एक वर्षमै मुलुकको कूल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएको हो।

    २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब रुपैयाँबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम छ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। २०८० असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

    सञ्चिति पर्याप्तता सूचक

    आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २८.६ प्रतिशत, ३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्।

    २०७९ असार मसान्तमा यी अनुपात क्रमशः २४.६ प्रतिशत, ५७. प्रतिशत र २२.१ प्रतिशत थिए।

  • व्यापार घाटा साढे १४ खर्ब, भारततर्फ निर्यात ३१.३ प्रतिशतले घट्यो

    व्यापार घाटा साढे १४ खर्ब, भारततर्फ निर्यात ३१.३ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको वैदेशिक व्यापार घाटा १५.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु.१४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको देखाएको हो ।

    अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।

    त्यस्तै आर्थिक वर्ष २०७९र८० मा नेपालको कुल निर्यात एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको देखाएको हो ।

    आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ ।

    चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

    समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई रु.१६११ अर्ब ७३ करोड कायम भएको छ ।

    अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।

    वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

  • शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

    शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकले यस्तो देखाएको हो ।

    अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।

    आर्थिक वर्ष २०७९÷८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

    घट। समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ ।

    अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ५६ करोड रहेको थियो।

  • एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

    एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

    काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो ।

    यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

    घद्ध। समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर
    ४.३ प्रतिशतले बढेको थियो।

  • सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

    सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

    काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकले मासिक १७ हजार ३०० पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

    अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

    चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ ।यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो । प्रतिघण्टाका हिसावले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ । यो रकम ५५ रुपैयाँ रहेको थियो ।

    यस पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय तहले समेत अब यो सूचनामा तोकिएको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक तोक्नुपर्ने भएको छ । यो रकम भन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले जनाएको छ ।

  • दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

    दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्यानले उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन थप कडाइ गरेको छ।

    क्यानले बिहिबार सार्वजनिक गरेको ४ बुुँदे निर्णय अनुसार दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हटाईएको छ ।

    नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उडान समय तोकेको थियो ।

    मौसम सफा रहे पनि उडान हुन नसक्दा कर्णालीमा बिरामी र सुत्केरीको ज्यान जान थालेको भन्दै विरोध भएको थियो ।

    प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्न पाउने गरि यसअघि गरेको निर्णय सच्याउँदै अतिरिक्त उडान अवतरण गर्न पाउने गरी निर्णय गरेको छ ।

    दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान/अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने छ।

    यस्तै नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसर मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ८.०१अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७१ कम्पनीको १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ६९ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचकमध्ये एकवटाको ओरालो लागेको छ ।

    आज सोल्टीको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड ७१ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • सार्वजनिक यातायातको भाडा बढ्यो

    सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । डिजेलको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

    नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको भाउ प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । सो लगत्तै विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत भाडा बढाएको हो ।

    त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा बढाइएको छ ।

    वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।