Category: अर्थतन्त्र

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २०.३१अंकले घटेर २०२५.१२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९कम्पनीको १ अर्ब ६९ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो लागेको छ ।

    आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ४१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?

    मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

    खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगत्तै स्तरोन्नतिको काममा लाग्ने मन्त्री ज्वालाले जानकारी दिए । मंगलबार चक्रपथदेखि बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं बनाउने बताए ।

    ‘दैनिक लाखौं मानिस हिँड्ने बाटोमा खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौं’ मन्त्री ज्वालाले भने, ‘खाल्डाखुल्डी पुर्न र सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं । सडकको अवस्था हेर्न म आफैं नियमित आउँछु ।’

    खानेपानी, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा पनि सडकमा समस्या देखिने गरेको छ । त्यसो त, खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक भने छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।

    ‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ,’ मन्त्रालयका सचिव केशव शर्माले भने, ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौं र स्थायी निकास निकाल्छौं ।’

    यस्तै वर्षात हटेलगत्तै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम सुरु गरिने भएको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडकमा खाल्डाखुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।

  • कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

    कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

    काठमाडौं । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि सरकारले वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था हटाएको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियम अनुसार हुनेछ ।

    त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको हो । जग्गा वर्गीकरण नभए पनि सबै पालिकाहरूमा कित्ताकाट गर्न पाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

    कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको रूपमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा राखिएको थियो । यी क्षेत्रको रूपमा जग्गा वर्गीकरण गरिसकेका पालिकाहरूको हकमा कित्ताकाट गर्न कुनै समस्या थिएन । तर अधिकांश पालिकाले यो व्यवस्थाअनुसार जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट र जग्गा कारोबार ठप्प भएको थियो ।

    ‘अब हालसम्म पनि वर्गीकरण नगरेका पालिकाहरूमा एक वर्ष समय थप गर्ने गरी नियमावली संशोधन गरिएको छ । यसको अर्थ एक वर्षसम्म वर्गीकरण नभएका पालिकाहरूको जुनसुकै जग्गाहरूको पनि कित्ताकाट हुने भएको छ । कित्ताकाटका लागि अन्य मापदण्डसमेत लचिलो बनाइएको छ ।

    मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावलीअनुसार आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइनेछ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो ।

    कृषि जमिनको सन्दर्भमा उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेशमा ६७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरूको मापदण्ड पनि कायम गर्ने गरी नियमावलीमा राखिएको छ ।

    मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।

    विकास निर्माण आयोजनाहरूले काम अघि बढाउँदा कसैको जग्गाबाट १ आना, २ आना वा त्योभन्दा कम क्षेत्रफल लिनुपर्ने अवस्थालाई सरलीकृत गर्न सरकारले जति पनि कित्ताकाट गर्न छुट दिएको छ । अंशबण्डा, अंश भर्पाइ, मोहीको बाँडफाँट गर्नॅपर्ने विषयमा पनि १३० वर्गमिटरमा कित्ताकाट गर्नॅपर्ने प्रावधानलाई हटाइएको छ ।

    अब ८० वर्गमिटर नै जग्गा टुक्राउन पाइने निर्णय गरेको छ । सरकारले स्थानीय तहहरूलाई जग्गा वर्गीकरण गर्न अधिकारसँगै समयअवधि पनि थप गरेको छ । सम्बन्धित पालिकाले निर्धारण गरेको सडक वा बाटोमा पर्ने जग्गाको मापदण्डअनुसार कित्ताकाट गर्न पाइने सरकारले जनाएको छ । हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाटोको मापदण्ड तोकेको छ । मोही र जग्गाधनीबीचको समस्यालाई पनि सरकारले समाधान गरेको छ ।

  • भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न

    भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न

    काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सब-स्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सब-स्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत प्रवाह गर्न थप सहज हुने बताए । ‘‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ ।,’’ कार्यकारी निर्देशक घिसिङले भने ।


    कार्यकारी निर्देशक घिसिङका अनुसार ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत प्रवाहका लागि हाल चालू रहेको १३२ केभी सिङ्गल सर्किट मात्र थियो । उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत पठाउन समस्या थियो । अब २२० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत प्रवाहका लागि सहज हुने छ, भोल्टेजमा पनि सुधार हुने भएको छ ।


    अब भरतपुरबाट बर्दघाटसम्म विद्युत पठाउनका लागि पुरानोसहित ३ वटा सर्किट भएका छन् । २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत प्रवाह हुन सक्छ । पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत प्रवाह भइरहेको थियो ।

    बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सब(स्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सब(स्टेसम्म २२० केभी प्रसारण लाइन जोडिने छ ।

    भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकस २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।

  • डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि

    डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल\मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


    नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल–डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल–मट्टितेल १५३ रुपैयाँ थियो ।

  • दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये १ वटाको परिसूचक बढेको छ अन्य सबैको ओरालो लागेको छ ।

    आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । उच्च अंकले घटेको बजारमा आज हिमालयन डिष्टिलरीका शेयरधनीले सर्वाधिक ७.६९ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, थ्रीस्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका शेयरधनीले ६ प्रतिशत गुमाएका छन् ।

  • ७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

    ७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

    काठमाडौं । मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिए । गत वर्ष यही समयमा देशभर ९४ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

    विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको उहाँले सुनाए । विस्तारै मनसुन सक्रिय भइरहेको तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको छ ।

    मध्य तराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेको छ । साउन मसान्त सम्ममा ९२–९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्म ९४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९४ प्रतिशत भूभागमा नै धान रोपाइँ सम्पन्न भएको थियो ।

    मधेस प्रदेशमा हालसम्म ६८ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन २६ गतेसम्म बागमती प्रदेशमा ९७ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।

    गण्डकी प्रदेशमा हालसम्म ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्षको साउन २६ गतेसम्म यो प्रदेशमा ९७ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो ।

    कर्णाली प्रदेशमा हालसम्म ९८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा सो प्रदेशमा ९९ प्रतिशतमात्र रोपाइँ भएको थियो ।सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा शत्प्रतिशत अर्थात् सबै भूभागमा धान रोपाइँ सकिएको थियो ।

    यसैगरी नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थालेको मन्त्रालयले जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता र भैरहवा नाकाबाट गरी करिब ३० मेट्रिक टन गोलभेँडा निर्यात भएको छ । गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो ।

    भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।

  • गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम

    गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ ।

    ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ ।

    सुन ब्रेक सुसहित १५५ किलो र निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो । अहिले ३४ वटा बिस्कुट बनेका छन् । राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

    सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो ।

  • विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

    विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

    काठमाडौं । विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ९आईएलएमआईएस० सञ्चालनको तयारी भइरहेको छ ।

    १ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिन सक्ने छन् । साथै ट्रेड युनियन दर्ता\नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्तारनवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका काम समेत अब अनलाइनबाट गर्न सकिने भएको छ । विभागका अनुसार सेवाग्राहीले ‘आईएलएमआईएस डट डीओएलओएस डट जीओभी डट एनपी’मा गएर आवेदन दिन सक्ने भएका छन् ।

  • लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

    लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

    काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।

    आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकालिनकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको आरएम ग्रुपले जनाएको छ। आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राकेटले गरिरहेको छ ।

    लक्ष्मी सनराजइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम ग्रुपको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ७३ करोडमध्ये सनराइज बैंकले डेढ अर्ब, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम ग्रुपले जुटाउनेगरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

  • शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ

    शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाण्डौबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।

  • सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

    सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

    काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको हो । उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने निष्कर्ष पार्टीहरुको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रहरीले २ साउनमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको प्रकरणमा नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि प्रश्न उठाएर उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो । यही माग राखेर एमालेले १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।

    संसदको अवरोध खोल्ने विषयमा छलफलमा जुटेका सत्तारुढ दलहरु एमालेको माग पूरा गर्न नसक्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागेका थिए । उनले बैठकमा भनेका थिए, ‘छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्छन्, मेरै पार्टीका पनि । त्यसैले नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनले लागोस् ।’

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको विषयमा पनि छलफल भएको थियो । गठबन्धनका नेताहरुले जिज्ञासा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको र निष्कर्षमा नपुगेको बताएका थिए ।

    ‘गृहमन्त्रीले छानबिनको प्रक्रिया अगाडि बढिरहेको छ, टुंगिएको छैन । एक हदसम्म अनुसन्धान भएपछि बाहिर आउँछ भन्नुभयो’ पाण्डेले भने । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन कुराकानी भएको देखिएको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले आफू जोकसैलाई नछाड्ने, तर प्रमाणले पुष्टि नहुने कुरामा हात हालेर ‘ब्याकफायर’ हुन नचाहेको कुरा बैठकमा राखेका थिए । बैठकमा गौर हत्याकाण्डको विषयमा पनि छलफल भएको थियो । सरकारले हालै गौर हत्याकाण्डका पीडित संघर्ष समितिसँग गरेको सम्झौताप्रति जनता समाजवादी पार्टीका नेताहरुले आपत्ति जनाएका छन् ।

  • घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

    घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.८१ अंकले बढेर २०८०.०५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ ।

    नेप्सेमा सूचिकृत भई दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन नै घोराही सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गरेको घोराही सिमेन्टको शेयर पहिलो कारोबारको दिन नै ९.९९ प्रतिशले घटेको छ ।

    आइतबारबाट दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको पहिलो कारोबार ५६५.५ रुपैयाँमा खुलेको थियो। तर बजारमा बिक्री चाप बढ्दा कम्पनीको शेयर मूल्य घटेर ५०९ रुपैयाँसम्म कारोबार भएको छ।

    घोराही सिमेन्टसँगै कारोबारमा आएको थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ ।

  • म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

    म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

    काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।

    उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिए ।

    दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो सुरु हुने स्थानमा एस्काभेटर पुर्‍याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानहरुले सो समयमा चमेरे–राखुरपिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

    ‘बैकल्पिक कच्ची मार्ग ‘सिङ्गल ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ (मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन) आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन) जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो बैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, जारी सूचनामा भनिएको छ ।

    बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

  • पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

    पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

    काठमाडौं । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ। बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा चाउचाउको कार्टुनमा र्‍याप गरी डिकीमा राखिएको अवस्थामा १ हजार दरका तीन हजार ५७३ थान नक्कली नोट बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

    नक्कली नोट बरामद भएको गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले थप त्यससँग सम्बन्धित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा ७ का ४० अर्जुन सुवेदी, २५ वर्ष सुशील कार्की, सुनकोशी गाउँपालिका-६ का २३ वर्षीय शिव भण्डारी, २३ वर्षीय मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी छन्।

    त्यस्तै, झापा कमला गाउँपालिका-३ का २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ का २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ का सागर आचार्य र नवलपरासी सरावल गाउपालिका-१ का ५३ वर्षीया पार्वती नेपाली पक्राउ परेका छन्।

    भक्तपुर चागुनारायण नगरपालिका(४ बाट पक्राउ गरिएको उनीहरूको साथबाट थप १७ लाख दुई हजार नक्कली नोट फेला पारेको एसपी ढुंगेलले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले मनिटर १ थान, सिपियु १ थान, किबोर्ड १, माउस १, कम्प्युटरसेट १, पेपर कटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर रिम १, खुल्ला पेपर दुई सय पेज र १ थान नेपाली राहदानी बरामद गरेको छ।

    त्यस्तै ३ थान मोटरसाइकल, १ थान स्कुटर, १२ थान मोबाइल र त्यसमा लाग्ने सिम पनि बरामद गरिएको एसपी ढुंगेलले बताए। पक्राउ गरिएको ९ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए। नक्कली नोट बनाउने र कारोबार गर्नेलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

  • काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

    काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

    काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख ४४ हजार ४७३ जना यात्रु नेपाल आएका छन् ।

    यो अवधिमा कुल १७ हजार ६२५ वटा उडानरअवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ८ हजार ८१३ वटा उडान भएका छन् । ८ हजार ८१२ वटा अवतरण यो अवधिमा भएको कार्यालयले जनाएको छ । यो अवधिमा १३ हजार ५३ टन कार्गो हवाईमार्गबाट ओसार–पसार भएको छ । ६ हजार ४१२ टन सामान नेपालबाट विदेश गएको छ । ६ हजार ६४१ टन कार्गो नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्‍क छ ।

  • टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

    टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

    काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्। ‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनिन्।

    पछिल्ला केही महिनामा भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म बढेको छ। बजारमा अत्यधिक मूल्य बढेपछि भारतले माग धान्न नेपालबाट टमाटर लैजान लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केही समयदेखि नेपाली टमाटर भारत गइरहेको बताए।

    ‘टमाटर निर्यात भइरहेको जानकारी छ तर विस्तृत विवरण आइसकेको छैन,’ उनले भने। भारतमा टमाटरको मूल्य बढेपछि पछिल्लो समय नेपालमा पनि टमाटरको मूल्य ह्वात्तै बढेको छ। बिहीबार कालीमाटी तरकारी बजारमा टमाटरको मूल्य प्रतिकिलो १८० रुपैयाँसम्म छ।

  • झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६९ कम्पनीको २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९ बटाको बढेको छ भने ४ घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । बुधवार १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज सोल्टी होटेल सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ९५ लाख बढीको कारोबार भएको छ ।

  • पठाओले अब सामान समेत ढुवानी गर्ने

    पठाओले अब सामान समेत ढुवानी गर्ने

    काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सामानको ढुवानी सेवा पनि सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र कतै सामान पुर्‍याउनका लागि बुधबारदेखि पार्सल सेवा सुरु गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । ‘पठाओको मोबाइल एपमार्फत नै यो सेवा लिन सकिन्छ’ उनले भने ‘पार्सल सेवाका लागि पठाओका राइडरहरु परिचालन हुनेछन् ।’ पार्सल सेवा पनि राइड सेयरिङ सेवाजस्तै छिटोछरितो र सुरक्षित हुने थापाको दाबी छ ।

    ‘पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन्’ उनले भने ‘सामानहरू पार्सल गर्दा केही हानी, नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुनेछ ।’ चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।

    यसअघि बाइक, कार लाइट ९ट्याक्सी०, पठाओ बजार र पठाओ फुडको सेवा दिँदै आएको यसले पार्सलको सुविधा विस्तार गरेको जनाएको छ । बार्गेनिङको झन्झट नहुने, चोकसम्म यातायात खोज्न जान नपर्ने, गेटदेखि गेटसम्म सेवा पाइने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्रयाकिङको व्यवस्था हुने, १० लाख रुपैयाँसम्मको बीमा सुविधा पठाओमा रहेको थापाले बताए ।

  • द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन

    द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

    रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रूत मार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय मन्त्रिपरिषद्को एउटै बैठकले निर्णय गरेर गाँठो फुकाएको स्पष्ट गर्दै समयभित्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    सेनाका उच्च अधिकारीलाई उपप्रधानमन्त्री खड्काले निर्देशन दिँदै भने, ‘केही अल्झनमा रहेको द्रूतमार्गको प्रस्थान विन्दुबाहेक अन्यन्त्र सबै क्षेत्रको काम अघि बढाउनुस्, समस्या पहिचान गरी समाधानको उपाय खोजौँ । नीतिगत निर्णयका आधारमा हुने ढिलाइ हटाऔँ । निर्णय समयमा नहुँदा विकास निर्माणलाई क्षयीकरण भएको छ ।’

    उनले कुन आयोजना, कुन ऐन र कानुनले अप्ठेरो पारेको र त्यसका सम्बोधन गर्न सकिन्छ कसरी भन्ने विषय समीक्षामा ल्याइनुपर्ने र त्यसलाई तत्कालै सम्बोधनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । आगामी २०८३ चैत मसन्तसम्ममा पूरा गर्ने लक्ष्य लिइएको द्रुतमार्ग आयोजना शुरु भएयताको हालसम्मको भौतिक प्रगति २५ दशमलव ५४ र वित्तीय प्रगति २८ दशमलव ११ रहेको सो अवसरमा जानकारी दिइयो ।

    नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजना भ्याटसहितको सुरु लागत रु एक खर्ब ७५ अर्ब १२ करोड ४० लाख रहने अनुमान छ । आव २०७९-८० को लक्षित भौतिक प्रगति ३२ दशमलव ८६ र वित्तीय प्रगति ८३ दशमलव २८ रहेको छ ।

    आयोजनालाई १३ प्याकेजमा विभाजन गरी एकदेखि सात वटासम्म निर्माण ठेक्का सम्झौता भई काम भइरहेको तथा तीन वटा प्याकेज बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको दुई वटा प्याकेज डीपीआर परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिइयो ।

    खोकना क्षेत्रको प्याकेज भने जग्गा प्राप्तिमा समस्याको कारण अघि बढ्न नसेकेको अवस्था छ । चालु आवमा आयोजनाका लागि रु २२ अर्ब ५० करोड बजेट स्वीकृत भएको छ । आयोजनामा हालसम्म रु ४९ अर्ब २३ करोड खर्च भइसकेको छ ।

    समीक्षा बैठकमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको पछिल्ला तीन बैठकका निर्णय कार्यान्वयनको स्थिति, मातहतका निकाय र आयोजनाका लागि विनियोजन बजेट तथा खर्चको स्थिति, राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाको प्रगति, सम्पादित मुख्य कार्य, गुनासो व्यवस्थापन, बेरुजु स्थिति फछ्र्योटको विवरण, प्रमुख समस्या र समाधनका सम्भावित उपायका विषयमा गहन छलफल भयो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले रक्षा मन्त्रालय र मातहतका निकायबाट सम्पादित कार्य र लक्ष्य प्राप्तिमा देखिएको सफलताले आगामी दिनमा पनि निरन्तरता प्राप्त गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयले गत आवमा वित्तीयतर्फ ९७ दशमलव ५९ र भौतिकतर्फ ९७ दशमलव ९१ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

    प्रधानसेनापति प्रभुराम शर्माले विपद्को बेला एउटै अस्पतालमा एकै पटक धेरैलाई उपचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ अघि बढाइएको अस्पतालका लागि सरकारबाट वर्ष रु १२ करोड बजेट प्राप्त भएको तथा सेनाले त्यसमा एक अर्ब खर्च गर्ने योजना रहेको स्पष्ट गरे ।

    उनले भने, ‘द्रुतमार्गमा बजेट छ, तर त्यहाँ नियम, कानुन, ऐन, वन, जमिन र गर्नुपर्ने काम लामो छ, एकै पटक सक्छु भनेर हुन्न । ती सबै विषय पूरा गर्दा लामो समय लाग्ने भएकाले दिएको बजेट पनि फिर्ता गर्नुपरेको हो । पूर्वाधारका लागि तयारीमा हामी ढिला भएर हो । आयोजना पूरा गर्ने स्थितिमा फरक परेको छैन ।’

    रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव बाबुराम अधिकारीले मन्त्रालय र मातहतका निकायमार्फत सञ्चालित आयोजना, प्राप्त उपलब्धि र कार्यान्वयनमा देखिएका चुनौतीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गरे । मन्त्रालय मातहत द्रूतमार्ग, बङ्करदेखि ब्यारेकसम्म कार्यक्रम, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय सेवा दल तालिम, उत्तर दक्षिण कोरिडोर, राष्ट्रपति चुरेलगायतका कार्यक्रम सञ्चालनमा छन् ।

  • उच्च अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोडको कारोबार

    उच्च अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोडको कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६५ कम्पनीको १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये म्युचुअल फण्ड घटेको छ भने बाँकी १२ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । मंगलवार १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड ५० लाख बढीको कारोबार भएको छ ।

    नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य क्रमश ९.८३, ९.७५, ९.५७, ९.३९ र ८.९१ प्रतिशतले बढेको छ ।

    सबैभन्दा बढी सेन्चुरी डिबेन्चर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ८.०५ प्रतिशतले घटेको छ ।

  • नक्कली नोटसहित तीन जना पक्राउ

    नक्कली नोटसहित तीन जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ।

    यसैगरी मोबाइल चार थान, सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ। बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६५ कम्पनीको १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

    दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्तको १० प्रतिशत र रिपब्लिक मिडियाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

    आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ८९ लाख बढीको कारोबार भएको छ ।

  • व्यापारिक भवनले पार्किङ शूल्क लिन नपाउने महानगरको निर्णयमा अदालतको रोक

    व्यापारिक भवनले पार्किङ शूल्क लिन नपाउने महानगरको निर्णयमा अदालतको रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई आफ्ना सेवाग्राहीसँग पार्किङबापतको शुल्क लिन लगाएको रोक उच्च अदालत पाटनले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हाललाई त्यसमा कुनै हस्तक्षेप नगर्न आदेश दिएको छ ।

    काठमाडौं महानगरपालिकाले साउन १० गते व्यापारिक कम्प्लेक्सहरुलाई आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क नउठाउन सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले उच्च अदालतमा रिट दायर गरेको थियो । अदालतले सो विषयमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्न सकिने बताउँदै दुवै पक्षलाई ३० गते अदालतमा उपस्थित हुनसमेत भनेको छ ।

    ‘यसमा निवेदकले अन्तरिम आदेश समेतको माग गरेकोले सो सम्बन्धमा दुवै पक्षहरूबीच छलफल गराई निष्कर्षमा पुग्न मनासिव देखिएकाले सो प्रयोजनार्थ मिति २०८०-४-३० को पेसी तोकी विपक्षीलाई म्याद सूचना जारी गर्नू,’ न्यायाधीश राजेन्द्र खरेलको एकल इजलाशले जारी गरेको आदेशमा भनिएको छ ।

  • नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

    नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

    काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फुलबाट संयुक्त पूजा गरेर मार्ग खोलेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिए ।


    सुरुङ मार्गमा धादिङ (पश्चिम) तर्फबाट प्रवेश गरी काठमाडौँ (पूर्वतर्फ) निस्किने कार्यक्रम छ । मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ । आयोजनाका प्रवक्ता कोइरालाले मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोलिने जानकारी दिए । मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको उनको भनाइ छ ।

    आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । यसैगरी आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ । अहिलेसम्म आयोजनाका लागि जग्गा खरिदमा करिब सात अर्ब र भौतिक संरचना निर्माणमा आठ अर्ब रुपियाँ खर्च भइसकेको छ।

  • तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

    तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

    प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।

    त्यस्तै, कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ।

    हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ।

  • काठमाडौंमा जारको पानीको अनुगमन सुरु

    काठमाडौंमा जारको पानीको अनुगमन सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

    आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरुमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरिएको छ । उत्पादन एवम् उपभोग्य मिति नलेखिएको, बिर्कोबाट पानी चुहिएको जार नष्ट गरिएको बताइएको छ । महानगर प्रहरीका अनुसार माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।

  • कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

    कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

    काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९–८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।

    नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८–७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७–७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

    गत आर्थिक वर्ष २०७९–८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

    यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो । आर्थिक वर्ष २०७१–७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।

  • नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

    नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

    काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने भएको हो ।

    आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिएका छन् ।

    २.५ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलमा भने ५ सय ६ मिटर खन्न बाँकी छ । यो आयोजना नेपालको पहिलो ठूलो सुरुङमार्ग हुने छ ।

  • उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३८.३७ अंकले घटेर २०५०.४७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६५ कम्पनीको २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूह परिसूचक घटेको छ ।

    आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ६९ लाख बढीको कारोबार भएको छ ।

    दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइएमई लाइफ इन्स्योरेन्स र रिपब्लिक मिडियाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।