Category: अर्थतन्त्र

  • भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक

    भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक

    काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ ।

    सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ । भारतको धान निर्यातकर्ता संघ (आरईए)का अध्यक्ष बीभी कृष्ण रावले सरकारले धानको खरिद मूल्य बढाउने कदम चालेकाले मूल्य बढेको बताए । ‘सरकारले कल्याणकारी योजनाहरुको लागि आवश्यकभन्दा बढी मौज्दात राखेको छ, त्यसकारण निर्यातमा प्रतिबन्ध लगाउन जरुरत छैन’ उनले रोयटर्ससँग भनेका छन् ।

  • सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा

    सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।

    त्यसक्रममा कोठामा ५–६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको यकिन भइसकेको छैन । अहिले ती बाकसलाई शील गरिएको बताइएको छ । विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्‍याउने जिम्मेवारी आफूले पाएको खुलाएका थिए । तर, त्यसमा सुन रहेको आफूलाई थाहा नभएको उनले बताएका छन् ।

    लामाको बयानपछि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले बालुवाटारस्थित उक्त घरमा छापा मारेको हो । त्यसपछि सुन तस्करीमा संलग्न समूहले प्रयोग गरेको उक्त कोठामा शील गरिएको हो । यसअघि पनि विमानस्थलबाट आएको सामान त्यही कोठामा लगेर भण्डारण गरेको पाइएको छ ।

  • व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’

    व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’

    काठमाडौं । व्यवसायी दीपक मल्होत्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सनुमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

    बिहीबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले यसमा आफ्नो कुनै संलग्नता नरहेको र पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका हुन् ।

    आफ्नो जोडेर आएका समाचार तथ्यहिन भएको मल्होत्राको दाबी छ । मल्होत्राले यसको खण्डन प्रकाशित नगरे कानुनी उपचारमा जाने पनि बताएका छन् ।

    ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु’, उनले भनेका छन्, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु ।’

    त्रिभुवन विमानस्थलको भन्सार विभागबाट पास भएको करिब १०० केजी सुन विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले बरामत गरेको थियो । जुन सुन मल्होत्राको भएको दाबी गर्दै केही सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए ।

    जुन प्रकरणमाथि अहिले छानबिन सुरु भएको छ । प्रकरणमा केही कर्मचारी पक्राउ परेका छन् भने केही अन्य पनि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागले यस प्रकरणबारे छानबिन गर्न समिति नै गठन गरेको छ ।

  • फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता

    फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता

    काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ ।

    गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको हो । यो काम आज सकिए आजैदेखि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान पाउने बताएको छ । फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।

    दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् । यसअघि पनि काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए ।

  • क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी

    क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् ।

    विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद भएको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो ।

    एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । यो घटनामा ठूलो व्यापारी संलग्न रहेको अनुमान गरिएको छ । यद्दपी विभागले कुनै तथ्य सार्वजनिक भने गरिसकेको छैन ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६० कम्पनीको ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    बीपीडब्ल्यूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

    भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उनको भनाई छ ।


    नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न अनुरोध गरे ।

    नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने , भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धि क्षमता समेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा उनले बताए ।


    गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्ली स्थित नेपाली दुताबासका अधिकारीहरूले लगानी सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए ।

  • भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

    भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

    काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा। प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका छन् । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।

    दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो । भारतका अर्थमन्त्रीले एन पीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेड बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए ।

    भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरे । आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिए ।

  • फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

    फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।

    सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यसरी शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ विपरीत देखिएको प्रारम्भिक निश्कर्ष निकालेको हो ।

    ‘‘ ककनी गाउँपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहोरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जाने समेत देखिएको हुँदा सुविधा सन्तुलनको दष्टिले प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म ।।गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ । ककनी गाउँपालिकाको उक्त निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वोच्चमा रिट दिएको थियो ।

  • झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

    काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान अवरोध गरिएको छ ।

    स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका थिए । आज फोहर बोकेका कुनै पनि गाडी गएका छैनन् ।

    नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

    फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

    गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ । माग पूरा नभएसम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको अडान छ ।

  • नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

    नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।

    ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो’, अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, ‘मन्त्री डा महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।’

    सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उक्त भेटका अवसरमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।

    सुरुङमार्गको प्रसङ्गमा टोखा-छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे

  • व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

    व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताए ।

    महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले स्मरण गराए । बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका–भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङवापतको शुल्क संकलन गर्न निषेध गरिएको उनले बताएका हुन्. । सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन पाइने भएको छ ।

    यस्तै व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ ।

    तर पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनले पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरे कारवाही गरिने उनले उल्लेख गरेका छन्। त्यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिने जनाएका छन्। मेयर बालेनका अनुसार सार्वजनिक सडकमा भने पार्किङ गर्न पाइने छेन।


    सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने भन्दै उनले काठमाडौं महानगरपालिका आफैंले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिने जानकारी दिएका छन् । निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने छ।

  • अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

    अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको भनाइ छ ।

    उनले स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको स्वीकार गरे । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन उनले आह्वान गरे । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्था सहभागी छन् ।

    बैठकमा विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशिता लगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन मंगलबारसम्म चल्ने छ ।

  • साउनको पहिलो दिन नै हरियाली शेयर बजार

    साउनको पहिलो दिन नै हरियाली शेयर बजार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

  • वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

    वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

    काठमाडौं । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौंको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका हुन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।

    बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् ।

    बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

    गत जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

    केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठूला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।

  • आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

    आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

    काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।

    चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सरकारको अनुमान छ ।

    खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपियाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ । सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ ।

    आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।

    चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागु गरेको छ ।

    त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालु आवदेखि लागु हुँदै छ । त्यस्तै आजदेखि लागु हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागु हुँदै छ । हवाई टिकटमा भ्याट लागेसँगै हवाई भाडा औसतमा छ प्रतिशतले बढ्ने वायु सेवा सञ्चालक सङ्घले जनाएको छ ।

  • घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

    घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

    काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् ।

    क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए । सोमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

    १० कित्तादेखि ७० कित्तासम्म माग गर्ने सबै आवेदकले माग अनुसार नै सेयर पाएको क्यापिटलले जनाएको छ ।

    कम्पनीले जेठ ३२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

  • राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण

    राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् ।

    बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् ।

    संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि बजेटसँग सम्बिन्धत तीन विधेयक राष्ट्रपतिसमक्ष पठाइएको थियो । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका देहायका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

  • जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

    जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

    काठमाडौं । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् ।

    अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किने छन्।

    नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउने छन् । जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

    त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइनेछन् । बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा शक्तिकान्त दासले संयुक्तरुपमा गर्नेछन् ।

  • भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो

    भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

    भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

    पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकिएको छ ।

  • पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

    पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

    काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए ।

    टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक (पोखरा खण्ड) अमितकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

    अहिले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरेको उनले जानकारी दिए । अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको र अब केही स्थायी संरचना हटाउन बाँकी भन्दै उनले मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइने उनले बताए ।


    हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको र काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले बताए । एसियाली विकास बैंकको सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।

    सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुुई–दुुई लेनको दुइटा पुल बनाउन रु एक अर्ब सात करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चारवटा ठूला र १२ साना पुल बन्नेछन् । राससको सहयोगमा

  • आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

    आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

    काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेको छ ।

    अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी छ । यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीले जनाएको छ । रेल्वे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा रहेको समेत बताइएको छ । अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ ।

    जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको छ ।

  • देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

    देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

    काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यो पटक १२ प्रतिशत विन्दु कम रोपाइँ भएको हो । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको प्रकोपका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    ‘विशेषगरी मधेस प्रदेश, कोशी प्रदेश र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको हो’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरी गोरुमा लम्पी स्किन रोगको महामारीका कारण गोरुको अभाव भई रोपाइँ केही प्रभावित भएको रिपोर्टिङ भएको छ ।’

    विस्तारै मनसुन सक्रिय भइरहँदा रोपाइँको क्षेत्रफल बढ्दै जाने मन्त्रालयको भनाइ छ । यस पटक रासायनिक मल पनि पर्याप्त रहेको मन्त्रालयको दाबी छ ।

  • मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने

    मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने

    काठमाडौं । राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

    म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकोमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न इजाजत दिइएको थियो । तर फेरि सर्तहरूको बेवास्ता गरी काम गर्न थालेकाले फेरि प्रतिबन्ध गरिएको हुनाले कुनै पनि कम्पनी, सङ्घ–संस्थालगायतले यससँग कारोबार नगर्न–नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

  • नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

    नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

    काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो।


    २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । समझदारीमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो ।

    जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ । यसरी नेपालमा कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने उसको प्रारम्भिक अनुमान छ ।

  • मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

    मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो। हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि स्पेसल टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने निर्णय भएको छ ।

    हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने भएको छ । प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ।

    प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडान माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ। सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ ।

  • भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

    भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    कोइकामार्फत ५ वर्षमा (सन् २०२७ सम्म) सम्पन्न हुनेगरी ९५ लाख अमेरिकी डलर (करिब १ अर्ब २३ करोड रुपैयाँ) अस्पताल परियोजनाका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ । यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा कोइका, मध्यपुर थिमी नगरपालिका र हालको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल’ले कार्यान्वयन गर्नेछन् ।

    मन्त्रालयका अनुसार कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्नेछ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराई अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरिया नेपालको नजिकको विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गरे ।

  • बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले  ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

    बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

    काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ ।

    बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको छ । सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ ।

    ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५÷३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

    गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५र१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । अब यस्तो फोहोर बोकेर जाने गाडीले कककनी गाउँपालिका प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने भएको छ ।

  • सरकारले तोक्यो धानको समर्थन मूल्य

    सरकारले तोक्यो धानको समर्थन मूल्य

    काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।

    प्रवक्ता शर्माले भनिन् ‘‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ती हजार ३६२ रुपियाँ समर्थन मूल्य तोकिएको छ। यो पहिला भन्दा साढे दुई सय सय रुपियाँले बढी हो।’’