Category: अर्थतन्त्र

  • आज धान दिवस तथा रोपाई महोत्सव

    आज धान दिवस तथा रोपाई महोत्सव

    काठकाडौं । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।
    आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।

    नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

    आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

    जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने मन्त्रालयको विश्वास छ ।

    नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।
    असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

    कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।


    कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

  • भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

    भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

    काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो ।

    यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा सिद्धार्थले साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पाँच तारे होटल समेत बनेको छ ।

    होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेका अनुसार होटलमा क्यासिनोको समेत सुविधा छ । यहाँ नेपालकै ठूला सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट सहितका पूर्वाधार रहेको ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

    क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँच तारे होटलमा लगानी गरिएको न्यौपानेले बताए । होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।

    ‘आन्तरिक र विदेशी पर्यटकमाझ बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको प्रचार गर्न पाँचतारे होटलका सबै पूर्वाधारमा बुद्धलाई जोडेका छौं’ न्यौपानेले भने । २०५४ सालमा कैलालीबाट सुरु भएको सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

    रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए । ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ । ग्रुपका अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र वृद्धि गर्न भारतसँगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसँग निरन्तर पहल गनुपर्ने माग गरे ।

  • बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

    बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

    काठमाडौं । प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। विपक्षमा १०८ मत पर्‍यो ।

    जुन प्रतिनिधिसभाको बहुमत हो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो ।

    एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।

  • नेप्सेमा उच्च अंकको करेक्सन

    नेप्सेमा उच्च अंकको करेक्सन

    काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २८० कम्पनीको ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको ८३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २८ करोड र सोल्टी होटल २३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज इङवा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६.६४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, खप्तड लघुवित्त र तारागाँउ होटलका शेयरधनीले पनि ६ प्रतिशत गुमाएका छन् ।

  • ‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

    ‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्।

    बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दावी गरेका हुन् ।

    ‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।’, उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरेका छन्।

  • काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

    काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।

    सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

    दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् ।

  • सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने

    सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने

    काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताइन् ।

    उनले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ । प्रस्तावहरु आएका क्षेत्रहरु कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन् ।’ हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारी नीति अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको उनले बताइन् ।

  • चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

    चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

    काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

    विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । उनी तीन दिन नेपालमा रहने र चितवन घुम्ने कार्यक्रम छ ।

    फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

    चीन बाहिर चिनियाँ बैभवको बिम्बका रुपमा ज्याकलाई लिने गरिन्थ्यो । तर, उनी सन् २०२० को सुरुवाततिरबाट अचानक सार्वजनिक जीवनबाट हराएका थिए । चीन सरकारका नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उनको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो ।

    उनलाई नजरबन्दमा राखिएको हल्लाकै वीच गत मार्च महिनामा उनी जापानमा देखिएका थिए । चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् । उनी परिवारसहित टोक्योमा बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण

    उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण

    काठमाडौं । केही दिनदेखि शेयर बजार लगातार उकालो लागेको छ । पछिल्लो समय बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएका छन् ।

    साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । त्यसदिन ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    यसअघि होटल, बीमा कम्पनी, फाइनान्स कम्पनीहरुको सेयरमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्समा डाइभर्ट भएका छन् ।

    माइक्रोफाइनान्स समूहको उपसूचक करिब ९ प्रतिशतले बढेको छ भने २ दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • पशुपतिको जलहरीमा कति भेटियो सुन ?

    पशुपतिको जलहरीमा कति भेटियो सुन ?

    काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन।


    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ। जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ।

    नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको छ। जलहरी निकाल्ने बेलामा क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने छ।

  • पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

    पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

    काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर सामान जफत गर्ने व्यवस्था थिएन।

    नयाँ आर्थिक विधेयकअनुसार कार्टुन, डोको, मोटरसाइकल, साइकलमा व्यापार गरेको तेस्रो पटक पनि पक्राउ परे सामान जफत हुनेछ। त्यस्तै, महानगरले भूमिगत तलालाई पार्किङ प्रयोजनविपरीत प्रयोग गर्दा लाग्ने जरिवाना दोब्बर बनाएको छ । चालु वर्षको आर्थिक ऐन अनुसार पार्किङ प्रयोजनविपरीत भूमिगत तला प्रयोग भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख थियो। यसपटक यो रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ।

    महानगरले संस्थागत विद्यालयको पूर्वप्राथमिक तथा मन्टेश्वरी तहको कक्षा सञ्चालन अनुमति दस्तुर बढाउने भएको छ। चालु आर्थिक वर्षमा १० हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि १२ हजार रुपैयाँ पुर्‍याएको हो । त्यस्तै, संस्थागत विद्यालयतर्फ नै आधारभूत तहको अध्यापन अनुमतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि महानगरले १२ हजार रुपैयाँ लिँदै आएको थियो।

    संस्थागत विद्यालयतर्फ नै ९ र १० कक्षा अनुमति दस्तुरमा पनि महानगरले शुल्क वृद्धि गरेको छ। यसअघि अनुमति शुल्क १५ हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि २० हजार रुपैयाँ लिने नियम बनाएको हो। त्यस्तै, कक्षा ११ र १२ सञ्चालन अनुमति दस्तुरमा महानगरले आगामी आर्थिक वर्षदेखि ३० हजार रुपैयाँ लिने भएको छ। यसअघि ती कक्षा सञ्चालन अनुमतिका लागि २५ हजार रुपैयाँ लिँदै आएको थियो।

  • पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

    पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा अख्तियारले छानबिन गरिरहेको थियो ।

    उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

  • त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

    त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताएका छन् ।

    तिवारीका अनुसार महिलाले प्रयोग गर्ने शौचालयमा अटोमाइज्ड टेलर मेसिन (एटिएम) बाट सेनेटरी प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ । विमानस्थलभित्र वृद्ध, गर्भवती, अशक्त र बच्चाका लागि चेकइनमा प्राथमिकता दिने व्यवस्थासहित बस्नका लागि छुट्टै कुर्सी र ¥याम्प बसमा समेत उनीहरूका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ ।

    “यात्रुको सहज आवागमनका लागि विमानस्थलको टर्मिनल भवन बाहिर, अध्यागमन र प्रस्थान क्षेत्रमा हेल्प डेक्सको व्यवस्था गरिएको छ,” उनले भने, “नेपाल एयरलाइन्सबाट ब्यागेज ह्यान्डिलिङ गर्दा आउने गुनासो सम्बोधन गर्न अनुगमन बढाउनेदेखि गोप्रो क्यामराको प्रयोग गरिएको छ भने पकेट नभएको ड्रेसले पनि धेरै सुधार देखिएको छ ।”

    विमानस्थलमा चरा तथा वन्यजन्तुबाट हुने खतरा पहिचान गरी सुधार गर्दै पछिल्लो समय विमानस्थलमा बाँदर र कुकुर छिर्ने क्रममा समेत कमी आएको दाबी गरे।  विमानस्थलमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न थप सिसिटिभी क्यामरा जडान गरिएको, विमानस्थलको सुरक्षा अडिटमार्फत विगतमा औँल्याइएका कमजोरीमा सुधार आएको उनको भनाइ छ ।

    आन्तरिक टर्मिनलमा आएका हवाई यात्रुलाई विमानस्थल गेटअगाडिको रिङरोडसम्म र अन्तर्राष्ट्रिय आगमनबाट आएर आन्तरिक टर्मिनल जाने यात्रुलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बसको व्यवस्था गरिएको जानकारी पनि उनले  दिए । आन्तरिक टर्मिनलमा १० जनासम्म अट्ने लिफ्ट निर्माण तथा विमानस्थल सौन्दर्यीकरणको काम जारी रहेको उनले बताए ।

  • सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

    सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

    काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। 

    सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ।

    आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    महोत्तरीमा न्यू साई ज्वेलर्सका सञ्चालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका सञ्चालक चन्दनकुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको महासंघले उल्लेख गरेको छ।  

    महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यी पसलबाट गरगहना चोरी भएको छ।

    गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारबाही गर्नको लागि महासंघले माग गरेको छ। लुटपाटको क्रममा अज्ञात समूह संलग्न भएको र सो समूहको तत्काल पहिचान गरी आवश्यक  कारबाही  गर्न उनीहरूको माग छ।

    हाल व्यवसायीहरू आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरू झनै बढ्न सक्ने भन्दै महासंघले व्यवसायीलाई सचेत हुन आग्रह गरेको छ। 

    त्यस्तै सरकारसमक्ष शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले माग गरेको छ।

  • पशुपतिमा जब अख्तियार पस्यो…

    पशुपतिमा जब अख्तियार पस्यो…

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर मन्दिर परिसरमा तौल गरेको हो ।

    सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीमा अख्तियारकै प्रहरी, सुनचाँदीका कालिगढ र काठमाडौं महानगरपालिकाको वडा कार्यालयका प्रतिनिधि पनि छन् ।

    पशुपतिनाथको शिवलिंगमा चढाइने अघ्र्य, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रम्हनालमा पुग्छ । पहिले तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली पशुपति दर्शन गर्न गएका बेला सुनको जलहरी राख्ने र त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

    प्रधानमन्त्रीको घोषणापछि पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणका लागि १०० किलो ४९३ ग्राम सुन आवश्यक पर्ने अनुमान गरेको थियो । त्यति सुनले जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायत आवश्यक सामान बनाउन पुग्ने अनुमान गरिएको थियो ।

    पशुपति क्षेत्र विकास कोषको २०७७ साल माघ १४ गतेको निर्णय । सार्वजनिक खरिद ऐन छल्न बुँदा नं. ३ मा सार्वजनिक खरिद ऐन छल्न जलहरी निर्माणको ज्यादा भक्तालु दाताबाट भुक्तानी गर्ने भन्ने उल्लेख छ ।

    तर कोषले २६ माघ २०७७ मा १०८ किलो सुन किन्ने निर्णय गर्‍यो र नेपाल राष्ट्र बैंकसँग पनि त्यति नै सुन किन्ने सम्झौता गर्‍यो । १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी राख्न क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरिएको उल्लेख भएको ब्यानर राखिएको थियो ।

    चाँदीको जलहरी भएको ठाउँमा सुनको राख्ने सरकारको निर्णयमा विवाद भएपछि यो विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा परेको थियो । मुद्दाको सुनुवाइ हुने दिन नै तत्कालिन राष्ट्रपतिबाट जलहरी उद्घाटन गरिएको थियो ।

    तर जलहरी राखेपछि त्यसमा प्रयोग भएको सुनको मात्रामा प्रश्न उठ्यो । कोषले नेपाल राष्ट्र बैंकसँग गरेको खरिद सम्झौता र महालेखाको प्रतिवेदनमा उल्लिखत विवरण आपसमा मेल खादैन ।

    सम्झौतामा १०८ किलो सुन खरिद गर्ने उल्लेख छ भने कोषले १०३ किलो ७७३ ग्राम सुनमा अन्य धातुसमेत मिसाएर १०७ किलो ९२४ ग्राम भएको दाबी गरेको छ । जलहरी निर्माणका क्रममा २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी र १२ ग्राम जिंकसमेत मिसाइएको कोषको दाबी छ ।

    तर महालेखा परीक्षकको कार्यालयले जलहरीमा ८० करोड ११ लाख रुपैयाँको ९६ किलो ८२२ ग्राम सुन प्रयोग भएको उल्लेख गरेको छ । बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमा भने प्रश्न उठाएको थियो । जसको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ हुन आउँथ्यो ।

    त्यसपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले १० किलो ९७६ ग्राम सुन मासेर खाए भनी अख्तियारमा उजुरी परेको थियो । प्रश्न उठेपछि कोषका पदाधिकारीले बाँकी सुनको रिङ बनाएर जलहरीलाई बाँधिएको जवाफ दिएका थिए । कोषको निर्णय पुस्तिकामा ‘साथै बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाइयो’ भन्ने शब्दावली थपेको देखिन्छ ।

  • शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

    शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार दोब्बरले बढेको छ । त्यसदिन ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढेको छ ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

  • भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

    भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

    चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।

    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।

    चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरुको समयमै सम्पन्न गर्नका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरिएको महानगरले जनाएको छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ ।

    आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

    उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

    उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् ।

    वडाबाट प्राप्त योजनालाई प्राथमिकताप्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

    महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार र स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् ।

  • स्थानीय तहमा आज बजेट आउने

    स्थानीय तहमा आज बजेट आउने

    काठमाडौं । ऐन अनुसार आज स्थानीय तहले बजेट ल्याउने दिन हो । अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् ।
    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना सभामा पेस गर्ने तयारी गरेका हुन् । 

    ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्ने छन् ।बजेट ल्याउने स्थानीय तहमा कोशीका दुई, मधेशको एक, बागमतीको एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई छन् । 

    सङ्घबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, ससर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ।

    सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र अगामी वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सङ्घीय र प्रदेश सरकारले भने यसअघि नै बजेट आआफ्नो सभामा पेस गरिसकेका छन्। 

    स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन्। उक्त बजेटका आधारमा र स्थानीय तहको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका

  • अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

    अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

    काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् ।

    विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो छ । रमाडा ६० भन्दा बढी देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विंडहाम होटल्स एण्ड रिसोर्ट्स को मिडस्केल ब्रान्ड मध्ये एक हो । इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले शुक्रबार नयाँ दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग नेपालको इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ खोल्न फ्रान्चाइजी सम्झौतामा हस्ताक्षर गरेको छ ।

    सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ । यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठान नजिकै अवस्थित हुने बताइएको छ । होटलमा ८० कोठा, एक दिनभर रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल रहने छन् । यसले भोज हल र बैठक कोठा पनि प्रदान गर्ने बताइएको छ ।

    सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे । बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।

    त्यसैगरी शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए । होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

  • ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ

    ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ

    काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो । नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

    प्रहरीको अनुसार ‘एलएसडी जिब्रोमा राखेपछि आफैं बिलाउँछ र घण्टौंसम्म झुम्म बनाउँछ । यति ठूलो परिमाणमा यो ड्रग्स यसअघि नेपालमा बरामद भएको थिएन ।

  • मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो

    मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो

    काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका छन् ।

    आर्थिक वर्ष २०७९\८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् । १ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडकबाट पार्किङ हटाइएको, १६ हजार ७५७ वटा अनधिकृत पार्किङ गरिएको सवारी नियन्त्रणमा लिइएको, २३१ वटा वर्कसपलाई कारबाही गरिएको, १ हजार २० ठाउँको सडक अतिक्रमण हटाउने कार्यलाई मेयर शाहले महानगरको उपलब्धि मानेका छन् ।

    जथाभावी फोहोर फाल्ने २९३ जनालाई कारवाही गरिएको, २७० ठाउँमा आगलागी नियन्त्रण गरिएको, १६ हजार ५७० वटा अनधिकृत संरचना हटाइएको, १८ हजार ९८३ होर्डिङ बोर्ड हटाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धि मानेका छन् । ८५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रुपान्तरण गरेको दाबी पनि मेयर शाहले गरेका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७६ कम्पनीको ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, सिटी होटल्स, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल्सको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

    हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६।३ प्रतिशतले घटाएको हो ।

    प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ । काठमाडौं–धनगढीको उडान अवधि ८३.०९ मिनेट मानिएको छ । नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा कम लाग्ने छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७१ कम्पनीको ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

    त्यसदिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

  • नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार

    नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार

    काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

    घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ ।

    जसमध्ये दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रुपैयाँ बराबर ऋण थपिएको छ ।

    नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४.७९ प्रतिशत पुगेको छ ।

    जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसद्मासमेत उठिरहेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ३ खर्ब ६ करोड रुपैयाँ ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ ।

    जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब आठ करोड ६० लाखले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रुपैयाँ छ ।

    यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

    यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा रू एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख रुपैयाँ र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

    त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार रुपैयाँ र ब्याज भुक्तानीमा ८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रुपैयाँ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ रुपैयाँ बराबर पर्न जान्छ ।

  • पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

    काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ ।

    विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेको थियो । यसलाई अब समान दरमा रुपान्तरण गरिएको छ । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिरमा पछिल्लो पटक बढेको थियो । त्यसको ५ वर्षपछि पारिश्रमिक बढाउने निर्णय टानले गरेको हो । यसबीचमा श्रमिकसँग भएका सम्झौता, नेपाल सरकारले कायम गरेको दररेट र मूल्य वृद्धिसमेतको अवस्थालाई मध्यनजर गरी नयाँ पारिश्रमिक तोकिएको उनले बताए ।

    नयाँ पारिश्रमिक दर अनुसार पथ प्रदर्शक (गाइड)को प्रतिदिन पारिश्रमिक ३ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० रुपैयाँ प्रतिदिन थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

    अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । सहयोगी श्रमिकरमजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

  • हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

    हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा पनि घट्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ (प्रतिकिलोलिटर ९२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । यससँगै बुधबार हवाई भाडा घटाउने प्राधिकरणले जनाएको छ ।

  • पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

    पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

    काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

    शनिबार राति कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले नामकरणको विपक्षमा आन्दोलरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च दिने निर्णय गरेको छ । कोशी सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग सोमबार नै पहिलो चरणको वार्ता गरेको थियो ।

  • सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

    सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

    काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो ।

    गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय भएको जनाएको छ । कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ । तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

    नेत्र चिकित्सक रुइतले गत फागुन प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका थिए । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

    बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।