Category: अर्थतन्त्र

  • २३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो

    २३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो १० महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    चालू आर्थिक वर्षको १० महिनासम्म २३.२ प्रतिशतले वृद्धि भइ १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतलेवृद्धि भई ४,२१,२७९ पुगेको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
    यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु.१११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।

  • नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

    नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

    काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

    यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौंबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

  • माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

    माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

    काठमाडौं । मुलुकको रुपान्तरणकारी आयोजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयले दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको छ । १०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्डलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेनको पनि सहभागिता थियो ।

    छलफलमा अर्थमन्त्री डा। प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । ‘हामीले अरूण तेश्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन मन्त्री महतले भने, ‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ ।’

    मन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे । ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ,’ महतले भने, ‘त्यसैले हामीलाई धेरै जलाशययुक्त आयोजना आवश्यक छ ।’

    प्रधानमन्त्रीको भारत भ्रमणले नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको भन्दै उनले नेपालमा आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको समेत बताए । अब जलविद्युत उत्पादन र निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने योजना सरकारको छ । छलफलमा ऊर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावबारे चर्चा गरे ।

    छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरुले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए ।

    अपर जलविद्युत आयोजनाले गरेको अध्ययन अनुसार परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना छ ।

    परियोजना निर्माणका लागि गर्नु पर्ने पूर्व तयारीका जग्गा अधिग्रहण, रूख कटान लगायतका धेरैजसो कामहरु सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाइबाट परियोजना निर्माणको काम सुरू गर्ने गरी काम अगाडि बढिरहेको छ । अब प्रत्येक इच्छुक दातृ पक्षसँग वित्तीय योजना र ऋणका शर्त तथा ब्याजदरका बारेमा आन्तरिक छलफल गर्ने तयारी छ ।

  • प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

    प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् ।

    आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो ।

    बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

    उद्घाटन पछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ ।

    यसअघि यहि जेष्ठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिनु भएको थियो ।

    बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

    केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।

    आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

    लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए ।

    लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको सामुहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

    रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुयाउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए ।

    अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आम जनताको चाहनालाई पुरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताए । अध्यक्ष ढकालले केवलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गरे ।

    अध्यक्ष ढकालले यस सर्किट अन्र्तगत बुटवलको लुम्बिनी केवलकारबाट धार्मिक यात्रा शुरु गयौँ भने यहि बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोकहुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सृजना गर्न सकिने जनाकारी दिए ।

    भोलिका दिनमा यो सर्किटको विस्तार अन्य धार्मिक पर्यटकीय स्थलसम्म पुग्नसक्छ । नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महशुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिन सक्छ ।

    लुम्बिनी केवलकार बलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

    टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन ।

    मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

    बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

    खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

    केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने छन् ।

  • प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

    प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल जाने भएका छन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेका हुन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

    बुटवलमा पहिलो पटक केवलकार सञ्चालन भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

    स्थानीयको साथ र सहयोगले केबुलकार सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको छ । केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने कम्पनीको विश्वास छ ।

    बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनुभयो । टप स्टेसनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले उल्लेख गर्नुभयो ।

    केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन् ।

    केबलकार सञ्चालनमा आएसंगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल लगायतका संरचना निर्माण गरिने भएको छ । एक हजार दर कायम गरिएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ ।

    उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।

  • १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

    १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

    काठमाडौं । सरकारले असार १ गतेदेखि दुई महिनाका लागि सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । यदि कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । यो कार्यमा सबैको सहयोगको अपेक्षा पनि राखेको विभागले जनाएको छ ।

  • फेरि उकालो लाग्यो सुनको भाउ

    फेरि उकालो लाग्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

    योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

  • आधा बाटोबाटै काठमाडौं फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज

    आधा बाटोबाटै काठमाडौं फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज

    काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो।

    काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

    विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुन: काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०:३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।

  • शेयर बजारमा उछाल

    शेयर बजारमा उछाल

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर लगानीकर्ता र सरकारबीच भएको वार्ता निष्कर्षमा पुगेसँगै नेप्से उच्च अंकले बढेको हो ।

    शेयर कारोबारमा हाल लाग्दै आएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुने सहमति भएपछि लगानीकर्ता उत्साहित हुँदा साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको हो ।

    सरकारले आर्थिक विधेयकमार्फ शेयर कारोबार गरी ५० लाख बढी नाफा कमाउनेले आयकर पनि तिर्नुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता ४ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७० कम्पनीको १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँ बराबरको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच भएका छन् । विहीवारको तुलनामा कारोबार रकम बढेको छ । १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.५४प्रतिशतले बढेको छ ।

    आजशिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड ८१ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको ८ करोड १३ लाख बढीको कारोबरको भएको छ ।

  • अर्थमन्त्रालयको स्पष्टीकरणः ५ वा साढे ७ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम मानिने

    अर्थमन्त्रालयको स्पष्टीकरणः ५ वा साढे ७ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम मानिने

    काठमाडौं । शेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।

    शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।

    सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐनको दफा २९ मा शेयर कारोबार गर्ने व्यक्तिहरुले पनि कर विवरण बुझाउनु पर्ने भन्ने व्यवस्था थियो । यस्तो व्यवस्थाले शेयरमा लाग्ने ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर हो कि होइन भन्ने अन्योल सिर्जना भएको थियो ।

    ‘आर्थिक विधेयक २०८० को दफा २९ का सन्दर्भमा प्राकृर्तिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम गरेको छ ।

    त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ,’ महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ ।

  • ब्रोकर कार्यालयमा तालाबन्दी, शेयर किनबेच प्रभावित

    ब्रोकर कार्यालयमा तालाबन्दी, शेयर किनबेच प्रभावित

    काठमाडौं । शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् । ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।
    सरकारले आर्थिक विधेयकमार्फत सेयर कारोबार गरी ५० लाख बढी कमाउनेले पूँजीगत लाभकरसहित आयकर पनि बुझाउनुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । हाल शेयरकारोबारीले पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत मात्रै कर तिर्दै आएका थिए ।

  • ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

    ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

    काठमाडौं । जुन ६ देखि ९ तारिकसम्म काठमाडौंमा हुन लागेको चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायी नेपाल भ्रमणमा आएका छन् । प्यासिफिक एसियन ट्राभल एसोसियसन (पाटा) नेपालको आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको हिमालयन ट्राभल मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम र पाटा इन्टरनेशलको सहकार्यमा हुन लागेको मार्टमा ५० भन्दा बढी नेपाली पर्यटकीय केन्द्र, होटल तथा पर्यटकीय गतिविधि सम्वन्धी स्टलहरु राखिने छन् ।

    नेपालमा विदेशी पर्यटकहरु भित्राउन महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यले आयोजना गर्न लागिएको हिमालय ट्राभल मार्टको पूर्वसन्धामा ट्राभल तथा पर्यटन व्यवासायीहरुलाई चितवनको वाइल्डलाइफ टुरिजम, पोखरा र काठमाडौं तथा भक्तपुर क्षेत्रका विभिन्न पर्यटकीय ठाँउहरुको अवलोकन भ्रमण गराइएको छ । यसलाई ‘गोल्डेन ट्रयाङ्गल फार्म ट्रिप’ नाम दिइएको छ ।

    चितवनको सौराहामा २२ देशका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीहरुले दुई दिनसम्म बसेर यहाँको हस्पिटाली तथा निकुञ्ज र आसपासको क्षेत्रको भ्रमण गरी जानकारी लिएको पाटा नेपालका सदस्य हिम्मत पुरीले जानकारी दिए । ‘नेपालबाट जसरी विदेश घुम्ने बारेमा यहाँका पर्यटन तथा ट्राभल एजेन्सीहरुले प्रचारप्रसार गर्छन्, त्यसैगरी विदेशी एजेन्सीहरुले पनि नेपाल लैजान प्रचारप्रसार गरुन् भनेर मार्टको आयोजना गरिएको हो,’ पाटा नेपालका सदस्य पूरीले भने, ‘उनीहरूले यहाँका होटल, पर्यटकीय क्षेत्रका बारेमा जानकारी लिएर विदेशी पर्यटक नेपाल पठाउन भूमिका खेल्छन् ।’

    सीमा पार पर्यटनका लागि अनुभव साट्ने र नेपालका पर्यटकीय गन्तब्यहरूका बारेमा नजिकबाट विदेशी पर्यटन क्षेत्रका प्रतिनिधिलाई बुझाउने अवसरका रुपमा यसलाई लिइएको उनको भनाइ छ । सौराहामा चरा विज्ञ बासु विडारीले चितवन र यस आसपासका क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराहरुका बारेमा ट्राभल एजेन्सीका प्रतिनिधिहरू समक्ष प्रस्तुतीकरणसमेत दिएका थिए ।

  • श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

    श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

    काठमाडौं । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति करिब १० प्रतिशतले घटेको देखिएको छ ।

    मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको जनाएको छ । जुलाई २०२० मा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो । आर्थिक सङ्कट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गत वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो । आर्थिक रूपमा धराशायी बनेको एशियाली राष्ट्रले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक सङ्कटका कारण ऋणभार चुलिएको थियो ।

    केन्द्रीय बैङ्कले गत वर्ष ७.८ प्रतिशतको आर्थिक सङ्कुचनपछि हाल अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको जनाएको छ । श्रीलङ्कामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो ।

    यसै मुद्दाका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई महिनौं लामो विरोध प्रदर्शनपछि गत जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य पारिएको थियो । केन्द्रीय बैङ्कले अर्थतन्त्रको पछिल्लो समीक्षामा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति एकल आँकडामा झर्ने अनुमान गरिएको जनाएको छ । यो सेप्टेम्बरमा ६९.८ प्रतिशतमा पुगेको थियो र खाद्य मुद्रास्फीति लगभग १०० प्रतिशत पुगेको थियो । रासस-एएफपी

  • भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।

    सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।

    नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं बलियो सम्बन्धले थप सहज बनाउने बताए ।


    भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताए । प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा चार दिने भारत भ्रमणमा छन् । प्रचण्ड बुधवार भारत गएका हुन् ।

  • सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

    सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले बिहीबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको हो । सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि नै प्रश्न चिह्न खडा गरेको पार्टीको भनाई छ ।

    आर्थिक वर्ष २०७७–७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनु पर्ने माग समेत गरेको थियो । उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी गर्नु पर्ने भनी सो पार्टीको केन्द्रीय समितिले निर्णय समेत गरेको थियो ।

    अहिले कांग्रेसकै नेता अर्थमन्त्री भएको र मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा आफैंले विरोध गरेको कार्यक्रम ब्युँताउन लागि परेको रास्वपाको भनाई छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने रास्वपाको ठहर छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७१ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँ बराबरको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् ।

    बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९३ प्रतिशतले बढेको छ ।

    आज प्रभु बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड बढीको कारोबरा भएको छ ।

    दोहोरो अंकले बढेको बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.९४ प्रतिशत कमाएका छन् ।

    त्यस्तै, बीपीडब्ल्यू लघुवित्त ६.०८, एशिया हाइड्रोपावर ५.०७, पाँचथर पावर ५.०६, नेरुडे लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ४ प्रतिशतले बढेको छ ।

  • नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

    नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

    काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

    तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

    जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि आयोजित कार्यक्रममा दुईवटा जलविद्युत् कम्पनी भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो ।

    यस्तै, गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन बनाउन समेत नेपाल र भारतबीच सम्झौता भएको छ । यसको निर्माणको लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुने छ ।

    जसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ । यस्तै, नेपाल र भारतबीच वाणिज्य सन्धी पुनरावलोकन गर्ने सहमति भएको छ ।

    सुदूरपश्चिमको चाँदनी दोधारामा एकीकृत जाँच चौकी(आइसीपी) बन्ने भएको छ ।

    भारत भ्रमणको क्रममा झापामा अमलेखगन्जसम्को पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता भएको छ ।

  • विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

    विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

    काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो ।

    सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ । सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।

  • तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यो नै हालसम्मकै उच्च मूल्य हो । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ।

    यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

    बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

    यसअघि गत वैशाख २१ गते उच्च मूल्य बनाएको सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

  • बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

    बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

    काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ ओरालो लागेको बजार उच्च अंकले घटेको हो । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँ बराबरको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार२ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    पूरानो दायित्वलाई नयाँ मानेर आयकर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेपछि लगानीकर्ताहरु निराश बनेका हुन।

    सोमबार ल्याईएको आर्थिक ऐन २०८० मा एफपिओ जारी गरेको कम्पनीले प्राप्त प्रिमियममा सेयर धनिलाई बोनस सेयर दिएको भए त्यसलाई आयकर मानी आयकर तिर्न पुससम्मको समय दिएको छ।

    त्यसैगरी, मर्जर गर्दा सौदाबाजी लाभ प्राप्त भएको स्थितिमा सौदाबाजी लाभ प्राप्त भएको रकममा आयकर तिर्न उर्दी दिएको छ।

  • युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने

    युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने

    काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि कर लाग्ने भएको छ ।

    अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ ।

    आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ ।विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) लाग्नेछ ।’

    नीति लागू गर्न सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरिसकेको छ । कार्यविधि अनुसार विद्युतीय सेवा भन्नाले सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवा हो ।

    कार्यविधि अनुसार वार्षिक २० लाख रुपैयाँभन्दा माथि कारोबार गर्ने कम्पनीको हकमा मात्रै करको नियम लागू हुनेछ ।

    जसमा विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिकालगायत सेवालाई समेटिएको छ ।

  • कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

    कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

    काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उनले बताए । बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

    सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन । बजेट वक्तव्यले गरेको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भएपनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको हो । अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।

  • सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम

    सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

    कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

    यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ करोड विनियोजन रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु. ४९ अर्ब ९४ करोड व्यहोर्दा रु. ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ ।

    सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

    राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट ल्याएका हुन् ।
    तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १२.८ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब २२ करोड रुपैया र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ थियो ।

    त्यस्तै तत्कालित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका थिए ।

    फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुसाशन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुने छ ।

    स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताए । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरि बजेट आएको उनले बताए ।

    सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

  • सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड बजेट विनियोजन

    सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ ।

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।
    यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

  • सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान

    सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान

    काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए ।

    अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्या्इनेछ जनाएको छ । त्यस्तै मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ। पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने समेत बजेटमा उल्लेख छ । सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ।

    त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौ, नेपाल चिनौ” भन्ने नारा सहित अभियान सञ्चालन गरिने समेत बजेटमा उल्लेख छ। स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने सरकारले जनाएको छ।

  • सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

    सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

    काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताए ।

    त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायत आधारभूत सेवाको गुणस्तरीयता सुनिश्चित गरिने समेत बताएका छन् ।

    उपभोक्ताको हित संरक्षण गर्न सम्वन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।

    देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गरिने बताएको छ । सहुलियत मूल्यमा खाद्य वस्तु विक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने नीति सरकारले लिएको छ।

  • सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

    सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

    काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ ।

    त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

  • हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

    हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।
    अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।
    नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सह‌कारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने समेत बताए । घरेलु तथा साना उद्योग सञ्चालन गर्ने सहकारी संस्थालाई उत्पादन, भण्डारण र बजारीकरणमा सहयोग उपलब्ध गराइने जनाएको छ।

    सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु ७ अर्ब २४ करोड विनियोजन गरेको छ।

  • विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

    विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

    काठमाडौं । सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानुनी व्यबस्था गरिने बताएका छन् ।

    पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिनेछ। राष्ट्रिय महत्त्वका आयोजनामा भाएविलिटि ग्याप फन्डिङको व्यवस्था गरी निजी क्षेत्रलाई आकर्षित गरिनेछ त्यस्तै राष्ट्रिय महत्त्वका ठूला पूर्वाधार आयोजनामा सार्वजनिक निजी साझेदारी अन्तर्गत हाइब्रिड एन्युटि मोडलबाट निर्माण गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनेछ।

  • स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब

    स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब


    काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु. १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सशर्त अनुदान तर्फ प्रदेशलाई रु. ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु. १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु. २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको पनि बताएका छन् ।

    त्यसै गरी समपूरक अनुदान तर्फ प्रदेशलाई रु. ६ अर्ब २२ करोड र स्थानीय तहलाई रु. ७ अर्ब ५ करोड गरी जम्मा रु. १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु. ४ अर्ब ४६ करोड र रु. ८ अर्ब ७३ करोड विनियोजन गरिएको छ ।

    राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा रु. १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको अर्थमन्त्री डा महतले बताए ।