Category: अर्थतन्त्र

  • संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

    संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

    काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट सरकारले ल्याएको छ ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक बनाउनेतर्फ सुधार निर्देशित समेत बताए । व्यवसायमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल बढाइने तथा स्वदेशी एवं विदेशी पुँजी र प्रविधि आकर्षित गरिने बताए । लगानी विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्षेत्रगत रूपमा नीतिगत र प्रक्रियागत सुधारको प्रस्ताव गरेको अर्थमन्त्री महतले बताए ।

  • पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

    पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

    काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

    आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताए ।

  • जग्गाको मुआब्जा निर्धारण बैंकको मूल्याङ्कनको आधारमा

    जग्गाको मुआब्जा निर्धारण बैंकको मूल्याङ्कनको आधारमा

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जग्गा प्राप्ति गर्न बैंकले कायम गरेको मूल्याङ्कन समेतलाई आधार मान्नु पर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन । आयोजनाको जग्गा प्राप्ति प्रक्रियालाई सरल र छरितो बनाउन जग्गा प्राप्ति ऐनमा संशोधन गरिने उनको भनाइ छ ।‘जग्गाको मुआब्जा निर्धारण गर्न मालपोत कार्यालय तथा स्थानीय तहले गरेको मूल्याङ्कन र धितो बन्धकीको लागि बैंकले कायम गरेको मूल्याङ्कन समेतलाई आधार लिने गरी मापदण्ड तर्जमा गरी कार्यान्वयनमा ल्याइनेछ,’ उनले भने ।

  • चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ

    चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

    संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आंकलन गरेका हुन्। सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको थियो।

    यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु दुई खर्ब तीन अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनमुान थियो । कुल सरकारी खर्च मध्ये चालु खर्च रु ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजिगगत खर्च रु ३ खर्ब ९ करोड अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने अनमुान थियो ।

    गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो । यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ ।

  • क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

    क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

    काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ।
    सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।

    ‘सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनेछ’, उनले भने।

  • संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

    संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।


    आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा बढेन् छैन । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ । सरकारले सार्वजनिक खर्च कटौतीलाई प्राथमिकता दिने भएको छ । आकर्षक नारासहित बजेट लोकप्रिय बनाउने प्रयास गरिएको छ ।

  • नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

    नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

    काठमाडौं । नेपालभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

    २०७८–७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची अवस्थाको रहेको छ । यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९९६ रहेको थियो ।

  • नेप्सेमा दोहोरो अंकको करेक्शन, २ अर्ब ६३ करोडको कारोबार

    नेप्सेमा दोहोरो अंकको करेक्शन, २ अर्ब ६३ करोडको कारोबार

    काठमाडौं । लगातार सातौं दिनसम्म बढेको शेयर बजार फेरि ओरालो लागेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७० कम्पनीको २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९रुपैयाँ बराबरको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.७७ प्रतिशतले घटेको छ ।

    आज शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यसको झन्डै २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण

    सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण

    काठमाडौं । ललितपुर महानगरपालिकाले सडक कालोपत्र गर्ने ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरले सडक निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनी बिरूवा कन्स्ट्रक्सन काठमाडौं र सिएम पवित्र महर्जन जेभी ललितपुरलाई सात दिने स्पष्टीकरण सोधेको हो।

    सडक स्तरोन्नतीको कार्यप्रगती सन्तोषजनक नरहेको विषयमा पटकपटक पत्राचार गरिएको र निर्माण कम्पनी पक्षले पनि समयमै काम सक्ने विषयमा पटकपटक प्रतिबद्धता पेश गरेको तर काम नभएको महानगरले जनाएको छ। ‘तसर्थ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली ०६४ को उल्लंघन गरी सडक आयोजना अलपत्र पारेको हुँदा तपाईँहरूसँग भएको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्नेतर्फ कारबाही किन नगर्ने ?’

    महानगरले सोधेको स्पष्टीकरणमा उल्लेख छ। महानगरले सूचना प्रकाशित भएको सात दिनभित्र निर्माण कम्पनीका आधिकारिक व्यक्ति स्वयं उपस्थित भई स्पष्टीकरणको वस्तुनिष्ठ आधार र कारणसहित जवाफ पेस गर्न निर्देशन दिएको छ। तोकिएको समयमा महानगरपालिकासमक्ष उपस्थित नभएमा वा पेस भएको स्पष्टिकरणको आधार र कारण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौता रद्द गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ।

  • भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

    भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए। छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के हुन्छ भनि प्रश्न गरेका थिए।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले १९५० को सन्धीलगायत अन्य विषय पनि उठाउने र वार्तामार्फत समाधान खोजिने प्रयास हुने सदनलाई जानकारी गराएका थिए। रासायनिक मल खोल्ने विषय पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीले बताएका छन्।

    भारत भ्रमणका क्रममा नेपालमा मल कारखाना खोल्ने विषयमा पनि छलफल हुने उनले बताए। प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्। उनले १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने बताएका छन्।

  • आज आर्थिक सर्वेषण सार्वजनिक हुने

    आज आर्थिक सर्वेषण सार्वजनिक हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।

    त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ । छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

  • स्टार्टअपका लागि पहिलो चरणमा १८६ उद्योग छनोट

    स्टार्टअपका लागि पहिलो चरणमा १८६ उद्योग छनोट

    काठमाडौं । उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगलाई छनोट गरेको छ । मूल्याकंन प्रक्रियाबाट छनोट हुने उद्योगलाई मात्र कर्जाका लागि राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने विभागले जनाएको छ । विभागले चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो ।

    उक्त अवधिमा ४०५ वटा उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए । विभागले एकल लगानी भएको, सात वर्ष नाघेको, प्राइभेट फर्म, सूचना पश्चात साझेदारी फर्म भएको, पालिकामा एकल व्यवसाय दर्ता देखिएका २१९ वटा उद्योगलाई पहिलो चरणको मूल्याकंन प्रकृयाबाट हटाएको जनाएको छ ।

    स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कम्पनीको चुक्ता पुँजी ५० लाखभन्दा बढी नभएको, उद्यमको कुल आय ५० लाख भन्दा बढी नभएको, स्थिर पुँजी ९घररजग्गाको मूल्य बाहेक० ३ करोडभन्दा बढी नभएकोलगायत मापदण्डहरु तोकेको थियो ।

    त्यस्तै उद्यममा पूर्णकालीन कामदारको संख्या १० भन्दा बढी नभएको, कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कार्यविधिअनुसार सहुलियत पूर्ण कर्जा अधिकतम २५ लाख रुपैयाँ हुनेछ, भने सोका लागि परियोजना धितो हुनेछ ।

  • बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

    बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।

    मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधवार बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू हुने छ ।

    राजपत्रमा प्रकाशित गर्न बुधवार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ । उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५ं९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ । यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो ।

  • नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

    नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ।

    विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ।

    आगामी असार ६ गते (जुन २१ तारिख)लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ”, उनले भने । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ।

    त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ। सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ। निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ।

  • उच्च अंकले बढ्यो नेप्से

    उच्च अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७१ कम्पनीको १ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा १३ उपसूचक बढेर हरियाली छाएको छ।

    आज खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार सनराइज फरस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम झन्डै ९ करोड र एनआइसी एशिया बैंकको ७ करोड बढीको कारोबार भएको छ ।

  • आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

    आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

    काठमाडौं । भारतमा आजबाट २ हजारका नोट सर्वसाधारणबाट सरकारले फिर्ता लिँदैछ । भारतीय रिजर्व बैंकले २३ मेबाट ३० सेप्टेम्बरसम्म यी नोट साट्न सकिने भएको छ । यस्तो नोट बैंकमा जम्मा गरी आफ्नो खातामा राख्दा हुन्छ । त्यसो नभए बैंकबाट साना नोट समेत लिन सकिने भएको छ ।

    यसका लागि कुनै पनि प्रकारको अतिरिक्त शूल्क लिइने छैन । ३१ मार्च २०२३ सम्म ३.६२ लाख करोड मूल्यका २ हजारका नोट बजारमा रहेको पाइएको छ । ३१ मार्च २०१८ मा ६.७३ लाख करोडका भारतीय नोट बजारमा उल्लेख थिए ।

  • अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट

    अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट

    अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

    भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको थियो ।

    सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भइ नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका थिए । आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने उनले प्रतिबद्धता जनाए ।

    मन्त्री महतले एमसीसीको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरेकामा धन्यवाद ज्ञापन गरे ।

    भेटका क्रममा उपाध्यक्ष ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको बुझिएको छ ।

    एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको नेपाल भ्रमण भएको हो ।

  • विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    काठमाडौं । विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो ।

    सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका आईएमई काउन्टर तथा साझेदारहरूमार्फत् वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।

    आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौँ नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौताअनुसारको छिट्टै व्यवस्था मिलाइने जानकारी दिए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ।

    सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक ज्ञवालीले आईएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

    यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् अहिले न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।

  • नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

    नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

    काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०७९-८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ । बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

    चालु आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात असार २०७९ मा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म सरकारले २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ । यस अनुसार १० महिनामा खुद सार्वजनिक ऋण भने १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँले वृद्धि भएको छ ।

    कार्यालयका अनुसार नेपालले १० महिनाको अवधिमा आन्तरिक ऋण १ खर्ब ५९ अर्ब ५० करोड रुपैयाँ लिएको छ । नेपालले चालु आर्थिक वर्ष भित्र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । यसै अवधिमा बाह्य ऋण भने मात्र ७० अर्ब ७४ करोड रुपैयाँ प्राप्त भएको छ । नेपालले एक वर्षको अवधिमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो ।

    अन्तर्राष्ट्रिय सहायतामा सञ्चालित आयोजनाहरुको कमजोर प्रगतिका कारण नेपालले लक्ष्य अनुसार बाह्य ऋण भने प्राप्त गर्न हरेक वर्ष असफल हुने गरेको छ । सोहीकारण साधारण खर्च चलाउन समेत आन्तरिक ऋण लिनु पर्ने अवस्था छ । त्यसो त ऋणको भुक्तानीमा समेत नेपालले ठूलो रकम खर्च गर्दै आएको छ ।

    तथ्यांक अनुसार १० महिनामा नेपालले ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणको सावाँ भुक्तानीमा ६३ अर्ब ४७ करोड र बाह्य ऋण भुक्तानीमा २५ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । ब्याज भुक्तानीमा समेत नेपालको ठूलो रकम खर्च हुने भएको छ ।

    १० महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा मात्र ४६ अर्ब ८५ करोड रुपैयाँ र कमिसन भुक्तानीमा १० करोड रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको ब्याज भुक्तानीमा ७ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा मात्र १० महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

  • एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

    एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

    काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे–लप्सीफेदी( हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले सोमबार बोलपत्र आह्वान गरेको थियो ।

    जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्र बारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ ।

    प्रसारणलाइन निर्माणका लागि बोलपत्र लिइसक्दा पनि परियोजनाको पूर्वतयारीको काममा चरम ढिलाइ भइरहेको छ । पूर्वतयारीलाई गति नदिई ढिलाइकै बीच आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालको तयारी छ ।

    प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका (९२ वटा वडाहरु) भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । एमसीए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।

  • नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    काठमाडौं । नेपाल र अमेरिकाबीच तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यसै अवधिमा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको पाइएको छ । नेपालले १० महिनाको अवधिमा १६६ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

    जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । १० महिनामा भारतबाट ८ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने ९१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जस अनुसार नेपालको भारतसँग ७ खर्ब ५३ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । चीनबाट १ खर्ब ७९ अर्बको वस्तु आयात भएको छ । निर्यात भने मात्र १ अर्ब ३५ करोड रुपैयाँको भएको छ । इण्डोनेसियाबाट ३५ अर्ब र अर्जेण्टिनाबाट २१ अर्बको वस्तु आयात भएको छ ।

  • शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

    शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

    काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ। बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो। जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो।

    आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ। कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ।

  • झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७३ कम्पनीको १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँ बराबरको ४८ लाख २८ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् ।

    विहीवारको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । त्यसदिन १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको शेयर किनबेच भएको थियो ।

    कारोबारमा १३ उपसूचकमध्ये ४ वटा घटेको छ भने अन्य बढेर हरियाली छाएको छ। होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.६४ प्रतिशतले बढेको छ ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५ करोड र तारागाउँ रिजेन्सी होटलको ४ करोड बढीको कारोबार भएको छ ।

  • हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

    हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

    हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै १ दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त पुलमध्ये कमला पुल नयाँ ठेक्काबाट बनाउन लागिएको निर्देशनालयका प्रमुख चूणाराज ढकालले जानकारी दिए ।

    धनुषा र सिरहा जिल्ला जोड्ने गरी बनाइएको पुल निर्माण सम्पन्न नहुँदै भासिएको थियो । यसलाई नयाँ ठेक्कामार्फत निर्माण गरिने उनले बताए । रौतहट र सर्लाही जोड्ने वाग्मती पुल निर्माणको जिम्मेवारी पप्पु कन्स्ट्रक्सनलाई दिइएको भए पनि लामो समयसम्म अलपत्र रहेको थियो । उनले भने, ‘अहिले सो पुल नयाँ ठेक्कामार्फत अघि बढाइरहेको छ ।’

    समस्याग्रस्त पुलमध्ये कतिपय पुलमा पुरानो ठेक्का अन्त्य गरिसकिएको र नयाँ ठेक्कामा जाने तयारी भइरहेको बताइएको छ । पप्पु र रमण जेभीले जिम्मेवारी लिएको नारायणी नदीको पुल निर्माण विसं २०६९ मा सुरु भएको थियो । पुरानो ठेक्का अन्त्य भएपनि नयाँ ठेक्कामार्फत निर्माण अघि नबढेको प्रमुख ढकालले बताए ।

    सरकारले झापाको कन्काईमा विसं २०६८ मा पुल निर्माण सुरु गरेको थियो । पप्पु महादेव जेभीले पुल निर्माण नगरेपछि आयोजनाले ठेक्का तोडेको उनले जानकारी दिए।

    कन्काई, कमला र वाग्मती, नारायणीलगायतका ठूला नदीमा पुल निर्माण सुरु भएको दशकौँ बित्दासमेत सम्पन्न हुन नसकेको हो । यी पुराना ठेक्कामध्ये कतिपयमा कोभिडका कारण असर पुगेको र कुनैमा संयुक्त ठेक्कामा एउटाले छाडेर अर्कोले लिएको र कुनै कालोसूचीमा राखिएका कारण निर्माण अघि बढ्न नसकेकाले लामो समयदेखि अलपत्र रहेको प्रमुख ढकालले बताए।

    राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । १ हजार ८५७ किमीमध्ये अहिलेसम्म ९५७ किमी कालोपत्र सकिएको छ ।

    खासगरी वन क्षेत्र र केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

    अहिले अन्योल भएका ठाउँमाबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ । पूर्वबाट पश्चिमसम्म कतिपय खण्डमा सडक सम्पन्न भइसकेर पनि पुल बनिनसकेकाले सडकसमेत प्रयोगमा आउन सकिरहेको छैन ।

  • गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने बताएका थिए ।
    उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए । ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटघाट भएको छ ।

    उहाँहरूको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो, उनले भने, ‘एमसीसीका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनुभएको थियो । र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरूमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरू संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ती, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ ।’

    गृहमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । भेटमा उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाबारे सामान्य ब्रिफिङ पनि गरेको थियो ।

  • महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने

    महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने

    काठमाडौं । सरकारले आगामी बजेटमार्फत स्वदेशी वस्तु उत्पादनको नीति लिने भएको छ । संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताए ।

    ‘उद्योगमा निर्वाध विद्युत प्रवाह गरिनेछ । स्वदेशी वस्तु प्रयोग गर्नका लागि मेक इन नेपाल र मेड इन नेपाललाइए सहयोग गरिनेछ’, उनले भने, ‘तिलगंगा आखा हस्पिटलबाट उत्पादित लेन्स विश्व बजारमा प्रवर्द्धन गरिनेछ ।

  • हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक पालन गर्न दिने

    हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक पालन गर्न दिने

    काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ।

    ‘यसै वर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

  • सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट

    सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट

    काठमाडौं । सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ।

    सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त कुरा दाबी गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै अध्ययन र अनुसन्धानको कार्यमा विश्वविद्यालयलाई जिम्मा दिने बताए।

    यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको उपभोग नभएको भन्दै आलोचना हुँदै आएको थियो।

  • उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने

    उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने

    काठमाडौं । सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

    पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताए । उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताए ।

    यस्तै उनले अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाहरुको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने बताएका छन् ।

  • गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ

    गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ

    काठमाडौं । सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ।

    शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

    पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन अबैध बाटोबाट आउने हुन्डीजस्ता कार्यलाई कडाइ गरिने दाबी गरे। कर प्रणालीलाई पुनरावलोकन गर्दै राजश्वको दायर पनि सरकारले फराकिलो पार्ने दाबी नीति तथा कार्यक्रममा उल्लेख छ।

    त्यस्तै सरकारले राष्ट्रिय पुँजी पलायन गर्नेहरुलाई पनि कारबाहीको दायरमा ल्याउने भएको छ।

    त्यस्तै पूँजीबजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरिने जनाएको छ।

    उनले गैरआवासीय नेपालीको ज्ञान(सिप, पूँजी र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ।