Category: अर्थतन्त्र

  • साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

    साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

    काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

    बिहीबार साउदीको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै आगामी सेम्टेम्बरसम्म दैनिक १० लाख ब्यारेल तेल घटाउने घोषणा गरेको हो । साउदीले विगत ३ महिनादेखि तेल उत्पादन घटाउँदै आएको छ ।

    ‘साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरुपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ । यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग ९० लाख ब्यारेल बजारमा पठाउनेछ ।

    ‘तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरुले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,’ ऊर्जा मन्त्रालयले भनेको छ ।

    साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौती पनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरेका छन् । यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरुले स्वेच्छिक रुपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो ।

    यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भए पनि स्थायी सुधार ल्याउन असफल भएको छ । युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरु घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।

    विगत डेढ महिना यता अन्तर्राष्ट्रिय बजारमा कच्चा चेलको भाउ लगातार बढिरहेको छ । यस अवधिमै कच्चा तेलको भाउ १५ देखि २१ प्रतिशतसम्म बढेको छ । साउदी उत्पादन कटौती घोषणाले आपूर्तिमा कर्मी आई आगामी दिनमै तेलको भाउ झनै बढ्ने देखिन्छ ।एजेन्सी

  • सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने

    सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने

    काठमाडौं ।आर्थिक वर्ष २०८०/८१ को आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले विभिन्न चरणमा ऋण उठाउने भएको हो ।

    जसअनुसार पहिलो त्रैमासमा ५५ अर्ब र दोस्रो त्रैमासमा ५५ अर्ब रुपैयाँ गरी ६ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।

    सरकारले बजेट कार्यान्वन गर्न चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । बजेट मार्फत घोषणा गरिएको आन्तरिक स्रोत जुटाउन राष्ट्र बैंकले विकास ऋण पत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत ऋण उठाउँदै आएको छ ।

    सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ आकारको बजेट ल्याएको छ । उक्त रकम जुटाउन राजस्व र वैदेशिक ऋण तथा अनुदानले समेत अपुग रकम आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख गरिएको छ ।

    आन्तरिक ऋणको हिस्सा बढिरहेका बेला सरकारले थप स्रोत आन्तरिक वित्त बजारबाटै संकलन गर्ने नीति लिएको छ । जसको असर वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीमा समेत पर्ने गरेको छ ।

    योसँगै यो आवको अन्तयसम्म कुल आन्तरिक ऋण १३ खर्ब ६८ अर्ब रुपैयाँ पुग्नेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आसारसम्म नेपालको कुल आन्तरिक ऋण ११ खर्ब २८ अर्ब रुपैयाँ पुगेको थियो ।

    सरकारले गत वर्ष मात्रै आन्तरिक ऋणको साँवा १ खर्ब १५ अर्ब, ब्याज ६४ अर्ब ४९ करोड र कमिसन ११ करोड गरी १ खर्ब ७९ करोड ७२ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । ऋणको हिस्सा बढ्दै जाँदा भुक्तानी गर्नुपर्ने दायित्व पनि रफ्तारमा उकालो लागेको छ ।

  • सरकार र सहकारी पिडितबीच सहमति

    सरकार र सहकारी पिडितबीच सहमति

    काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसनरधर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो।

    छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने सहमति भएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । “सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो–छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।

    सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा अनसनरधर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताको समेत प्रतिनिधित्व गराउन धेरैमा तीन जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यका रूपमा समावेश गर्ने सहमति भएको छ”, उनले भने ।


    यस्तै सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानुनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानुन संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने सहमति भएको छ। सहकारीपीडित बचतकर्ता माइतीघरमण्डलामा दुई महिनादेखि अनसनधर्नामा बस्दै आएका थिए।

    सहमतिअनुसार ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ।

  • झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) आज ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९ कम्पनीको १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये तीनवटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड १९ लाख बढीको कारोबार भएको छ ।

  • ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

    ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यासको मूल्य भने घटेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

  • विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने

    विश्व बैंकले नेपाललाई गर्ने सहयोग निरन्तरता दिने, पौने २ अर्ब उपलब्ध गराउने


    काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।
    सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी ५ वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न १०० मिलियन डलर ऋण (करिब १ अर्ब ३० करोड रुपैयाँ) सहायता तथा ३.८४ मिलियन (करिब ५० करोड रुपैयाँ) ग्रान्ड दिने बताए ।
    उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा रहेको मन्त्री बस्नेतले जानकारी गराए । निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने विश्वास व्यक्त गरे ।
    विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । विशेषगरी कोभिड–१९ विरुद्धको खोप अनुदानको रुपमा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । मन्त्री बस्नेतले कोभिड–१९ महामारीका बेला विश्व बैंकबाट प्राप्त सहयोग रकम केही बचेको र उक्त रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए। कोरोनाका बेला खर्च गर्न उपलब्ध भएको मध्ये बचेको रकम अर्थमन्त्रालयमा पठाइएको थियो । उक्त रकम स्वास्थ्यमन्त्रालयले नै खर्च गरोस् भन्ने विश्व बैंकको धारणा रहेको मन्त्री बस्नेतले जानकारी दिए ।
    ‘विश्व बैंकको पनि बचेको पैसा स्वास्थ्य मन्त्रालयले खर्च गरोस् भन्ने छ । यसबारे प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने । अहिले डेङ्गु लगायतका महामारी फैलनसक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नुपर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीको समयमा खर्च गर्नका लागि आएकोमध्ये बचेको रकम करिब रु १ अर्ब रहेको छ ।
    मन्त्रालयको बजेटको आकार घटेको छ । अहिले २० प्रतिशत बजेट कटौती भएको छ । सुर्तिजन्य पदार्थमा उठेको वार्षिक रु ६ अर्बमध्ये रु ४० करोड मात्रै मन्त्रालयले पाएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘सूर्तीजन्य पदार्थको उठेको रकम पनि अर्थमन्त्रालयमा रहेको र अर्कोतर्फ कोरोनाका बेलामा खर्च गर्ने भनेर प्राप्त भएको पैसा पनि अर्थमै पुगेको छ । कर्मचारी अभावले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पुर्याउन नसकिरहेको अवस्थामा थप दरबन्दी सिर्जना गर्नका लागि सो रकम खर्चहोस् भन्ने हो ।’
    मन्त्री बस्नेतले स्वास्थ्य रणनीति र वित्त रणनीति पास भएर काम गर्ने वातावरण बनेको उल्लेख गर्दै यसमा जति पैसा हुनसक्छ सोही अनुसारको रणनीतिक कार्ययोजना अघि बढाइने उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले उक्त रकम खर्च गर्नका लागि अर्थमन्त्रालयमा आवश्यक प्रक्रिया अगाडि बढाएको र यो छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने मन्त्रालयको विश्वास छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा सुधार

    दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा सुधार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार मापक सूचक (नेप्से) आज २८. ५९अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६२ कम्पनीको १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १ वटा उपसमूहको परिसूचक घटेको छ । भने १२ वटाको बढेको छ ।

    आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ७४ लाख बढीको शेयर किनबेच भएको छ ।

    शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार भएको छ ।

  • भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

    भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

    आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

  • लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

    लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

    काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए ।

    लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।

    प्रधामन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ ।’ उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।

    प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।’ उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।

    लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’ किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।

  • देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

    देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

    काठमाडौं । साउन महिना आधाहुँदा देशैभरका किसानले ७७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार गत वर्ष यसै समयमा धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशत भागमा रोपाइँ भएको थियो ।

    साउन १२ गतेसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ ।

    सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । बागमती प्रदेशमा ७२ प्रतिशत र मधेश प्रदेशमा ५९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।

    कर्णाली प्रदेशमा ८५ प्रतिशत, लुम्बिनी प्रदेशमा ८१ प्रतिशत, गण्डकी प्रदेशमा ८२ प्रतिशत, कोशी प्रदेशमा ८४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

  • कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

    कोरियामा अब पानीजहाज कम्पनीमा पनि नेपालीले काम पाउने, खुल्यो भाषा परीक्षा

    काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ।

    ‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत् गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा भनिएको छ।

    परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

    सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

    ‘कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रकृयामा सामेल हुन रोष्टरमा सूचीकृत हुने भएकाले शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने नभएको शाखाले बताएको छ। तसर्थ आफ्नो पेशा, व्यवसाय आदिलाई निरन्तरता दिन पनि उसले आग्रह गरेको छ। विगतमा भाषा परीक्षा उत्तीर्ण भए पनि कोरिया जान नपाएको भन्दै आन्दोलनसमेत भएको थियो। त्यसैलाई मध्यनजर गरेर शाखाले पूर्वसूचित गरेको हो।

  • हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

    हवाई सुरक्षाका लागि टास्क फोर्स गठन

    काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।

    सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुकभर सञ्चालनमा रहेका एयरक्राफ्ट सञ्चालन विधि र प्रक्रियाबारे बुझ्न र हवाई उद्योग कति सुरक्षित छन् भन्नेबारे समितिले अध्ययन गर्ने बताए । सङ्घमा आबद्ध रहेका सबै वायुसेवा कम्पनीको सञ्चालन प्रक्रिया र विधिबारे पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिले एक महिनासम्म अध्ययन गर्ने भएको छ । समितिले अध्ययनका क्रममा देखिएका कमी कमजोरी हटाउन थप प्रक्रिया अघि बढाउने छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन फ्लाइट र ‘स्लिङ’ उडानमा गरेको कडिकडाइले हवाई दुर्घटना न्यूनीकरण नहुने समेत उनको दाबी छ । हेलिकोप्टरको मुख्य काम नै माउन्टेन फ्लाइट र स्लिङ उडान रहेको जनाउँदै उहाँले माउन्टेन फ्लाइट र स्लिङ उडान रोक लगाउन नहुने उनको भनाइ छ ।

    प्राधिकरणले असार २८ गतेदेखि हेलिकोप्टरहरूले उडानको सुरु गन्तव्यमा नफर्की बिचबाटै अन्य गन्तव्यमा गएको जनाउँदै चालु मनसुन अवधिभर (सेप्टेम्बर २०२३ सम्म) माउन्टेन, स्लिङ र पुष्पवृष्टिका उडानमा रोक लगाएको छ ।

    बिहान एक ठाउँबाट उडान गरेका हेलिकोप्टर दिनभरि आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै प्राधिकरणले टावरलाई समेत जानकारी नगराई उडान गर्दा हवाई दुर्घटना बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो । सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि गठन गरेको टास्कफोर्स समितिमा क्याप्टेन हीराबाबु दाहाल, रवि कंसाकार र नारायणबहादुर सिंह डङ्गोल रहेका छन् ।

  • साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

    साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ

    साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ
    काठमाडौं । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ ।

    ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन् ।

    सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याज मात्रै ५० हजार तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेकी थिइन् । साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् । सुर्जमानले भने साँवा नकटाएर ब्याजमात्रै कटाए । त्यसमाथि सुर्जमानले ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे ।

    उनले तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने बाध्यतामा पारेर सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साथै महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेको प्रहरीले जनाएको छ । सुर्जमानले जिल्ला अदालत ललितपुरमा नक्कली कागजात खडा गरेर ती पीडित महिला बस्दै आएको घर हडपेका थिए ।

    पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि गृहमन्त्री श्रेष्ठले सुर्जमानलाई कानुनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । अनुचित लेनदेन (मिटरब्याज) को समस्या समाधान गर्न गठित आयोगले जिल्ला प्रशासन कार्यालयलाई साहु र ऋणीलाई छलफल गराएर लेनदेन मिलाउने अधिकार दिएको छ ।

  • विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

    विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

    काठमाडौं । भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ । एक राहदानीवापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

    एक वर्ष भन्नाले आर्थिक वर्षलाई जनाउने राष्ट्र बैंकले जनाएको छ । यो अवधि साउन १२ गतेदेखि गणना हुनेछ । यसअघि राहदानीवापत सटही सुविधा लिएर भ्रमण गरेको अवस्थामा भने आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटक अधिकतम अमेरिकी डलर २५ सय गरी बढीमा दुई पटक सटही सुविधा लिन पाउनेछन् ।

  • अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

    अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा.प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर सामूहिक छलफल गरेका हुन् ।

    छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न मन्त्री डा. महतले सचिवलाई निर्देशन दिए । उनले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए । उनले भने, ‘कार्तिकभित्र ठेक्का लगाउनुपर्छ ।’

    ‘कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न सकेको छैन । ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थमन्त्रालयमा आउनुपर्छ । एक महिनाभित्र आएको बिल अर्थमन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने छ’ मन्त्री डा. महतले भने, ‘अब असारमा खर्च हुँदैन ।’

    काम भइसकेर दायित्व सिर्जना भएको छ भने भुक्तानी पाउनुपर्छ । उनीहरूको पनि समस्या छ, त्यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । बजेट शीर्षक भएको दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी गर्नुपर्छ । बजेट शीर्षक नभएको तर दायित्व सिर्जना भएको छ भने त्यसमा विचार गर्न मन्त्री डा. महतले सचिवहरूलाई सुझाव दिए ।
    मन्त्री डा. महतले धेरै ठुलो आवश्यकताको बीचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने हामीले बुझेका छौँ, त्यसकारण जति चाह्यो, त्यत्ति बजेट दिन सकिँदैन । हाम्रो आवश्यकता र श्रोतका बीचमा ठुलो खाडल छ । त्यसैले श्रोत सुनिश्चितता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री डा. महतले निर्देशन दिए ।

  • रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

    रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

    काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

    त्यसक्रममा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको बताइएको छ । बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । सोह्रखुट्टेस्थित उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको अधिकारीहरु बताउँछन् ।

    विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनको बालुवाटारस्थित गोदाममा ४ साउनमा विभागले छापा मारेको थियो । उनलाई गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश भनिने सुरेन्द्र तामाङलाई पनि पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

  • नेप्सेमा लगातार गिरावट, कारोबार २ अर्ब ४३ करोडमा सीमित

    नेप्सेमा लगातार गिरावट, कारोबार २ अर्ब ४३ करोडमा सीमित

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको थौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६० कम्पनीको २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये ३ वटाबाहेक अरु सबैको परिसूचक घटेको छ ।

    आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो ।

    तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

  • २२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

    २२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३६.३१ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६७ कम्पनीको २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये होटेलबाहेक अरु सबैको परिसूचक घटेको छ । बैंकिङ समूह सबैभन्दा धेरै २७५ प्रतिशतले घटेको छ ।

    किसान लघुवित्त वित्तीय संस्थाको शेयर शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

    एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

    काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ ।

    सरकारले ल्याउन दिने कोटाअनुसार बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ । सरकारले अहिले दैनिक १५ किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिएको छ ।

  • एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

    एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो


    काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ । यो अघिल्लो आवको तुलनामा १५।४५ प्रतिशत कम हो ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांका अनुसार आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिएको हो । आव २०७८/ ७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

    सरकारले लगाएको आयात प्रतिबन्ध र अर्थतन्त्रमा आएको संकुचनको कारण वस्तुको मागमा कमी आउँदा व्यापार घाटामा सुधार आएको हो ।

    नेपालले गत वर्ष कुल १७ खर्ब ६८ अर्बको वैदेशि व्यापार गरेको छ । जसमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जबकि अघिल्लो वर्षमा १९ खर्ब २० अर्बको वस्तु आयात हुँदा २ खर्बको निर्यात भएको थियो ।

    गत वर्ष आयात र निर्यात दुवैमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा आयात १६.०८ प्रतिशत र निर्यात २१.४४ प्रतिशतले घटेको छ ।

    सरकारले २०७८ देखि गाडी, मदिरा लगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने २०७९ पुसदेखि उक्त बन्देज हटाएको थियो । पुसदेखि प्रतिबन्ध घटे पनि बजारमा उपभोग्य वस्तुको माग नहुँदा आयात पनि घटेको हो ।

  • एक वर्षमा ४५ अर्बको सुन आयत

    एक वर्षमा ४५ अर्बको सुन आयत

    काठमाडौं । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

    २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

    गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रुपैयाँको सुन आयात गरेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँको सुन आयात गरेको थियो ।

  • नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो ।

    आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा आज नेप्सेमा गिरावट आएको हो । यस्तै, प्रफिट बुक गर्ने हाबी हुँदा पनि सूचकमा दबाब परेको हो ।

    सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोड बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

    सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये अन्य र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १९ करोड र प्रभु बैंक १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज एनआइबीएल ग्रोथ फण्डका इकाईधनीले सर्वाधिक ६.९३ प्रतिशत गुमाएका छन् । त्यस्तै, लिबर्टी इनर्जी ६.२५, विशाल बजार, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

  • नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

    नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०७५–७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो । आर्थिक वर्ष २०७८–७९ को अन्तिमसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९–८० मा मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

    यो रकम नेपाल सरकारले यस वर्ष भुक्तानी गरेको ऋण घटाएर थपिएको खुद सार्वजनिक ऋण हो । १ वर्षको अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । जसमध्ये २ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण हो । १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य लिएको छ । एक वर्षमा सरकारले १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ भने साँवा भुक्तानी गरेको छ ।

    यस अवधिमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ आन्तरिक ऋणको र ३४ अर्ब ६१ करोड रुपैयाँ बराबर बाह्य ऋणको साँवा भुक्तानी भएको छ । जसले गर्दा एक वर्षमा सवा २ खर्ब रुपैयाँ ऋण थपिएको हो । एक वर्षको अवधिमा सरकारले ब्याज र कमिसन भुक्तानीमा मात्र ७३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणको ब्याज भुक्तानीमा ६४ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ । आन्तरिक ऋणको कमिसनमा ११ करोड खर्च भएको छ । बाह्य ऋणको ब्याज भुक्तानीमा भने ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । सरकारले यस वर्ष मंसिरबाटै आन्तरिक ऋण उठाउन थालेको थियो ।

  • शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

    शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्।

    यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

    उनले मौद्रिक नीतिपछि आउने सर्कुलरमा सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको हकमा जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सीमित गर्न खोजिएको बताए ।यसअघि २५ लाखसम्मको कर्जाको रिस्क वेट १०० प्रतिशत थियो भने त्यसभन्दा माथिको कर्जाको रिस्क वेट १५० प्रतिशत थियो ।

    अब भने ५० लाखसम्मको रिस्क वेट १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जाको रिस्क वेट भने १५० प्रतिशत नै यथावत रहेको गभर्नरको भनाई छ ।

  • लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

    लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो ।

    सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ । गत साता औसतमा दैनिक सवा ३ अर्ब हाराहारीको सेयर कारोबार हुँदै आएकोमा आज बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

    आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ । यसदिन २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ४.९८ प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ज्योति विकास बैंक साढे १३ करोड र ग्लोबल आइएमई बैंक १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । किसान लघुवित्त र चन्द्रागिरि हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने

    विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ ।

    भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको हो ।

    यसअघि यो सुविधा १५ सय डलर रहेको थियो । सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।

  • मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत

    मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ ।

    आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ ।

    आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ,” मौद्रिक नीतिमा उल्लेख छ ।

    यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको राष्ट्र बैंकले जनाएको छ ।अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखेको हो ।

  • अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने

    अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने

    काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

    पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने उनले बताए ।
    मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको बताएको छ ।

    तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी छ ।


    द्रुत बस सेवा सञ्चालनका लागि सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।


    अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

    द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । अहिलेका लागि अरु गाडीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

  • १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

    १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

    काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको हो ।

    कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो। यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो। मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ब्रेक शु मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।

    विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ। चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्।

  • कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा

    कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा

    काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।

    ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।

    इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ।

    त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने छ। कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभाग बाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने पनि शाखाले जानकारी दिएको छ।