Category: अर्थतन्त्र

  • दोहोरो अंकले  घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन ८९ करोड ९५ लाख रुपैयाँको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ । त्यस्तै, जाल्पा लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, विशाल बजार, मनकामना स्मार्ट र वीन नेपाल लघुवित्तको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    आज शिवम सिमेन्टकोे सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ३ करोड र जीवन विकास लघुवित्त २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

    मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

    काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे होटल हो । पर्यटन विभागले २०८४ मंसिर २ गतेसम्म मान्य हुने गरी इजाजत पत्र दिएको छ । सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेका होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् ।

    उनले ६ वर्षअघि १२० करोड लगानी गरेर मिनी क्यासिनोसहित चारतारे स्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । त्यतिबेला होटलमा ६० वटा कोठाहरु थिए । अहिले थप ३० करोड लगानी गरेर कोठाहरुको संख्या १०० पुर्‍याइएको उनले बताए । हाउजिङ र रियल स्टेट व्यवसायी वाग्लेले आन्तरिकसँगै भारतको मुजफ्फरपुर, दरभंगा, मधुवन, पटना लगायत भारतका विभिन्न सहरका पर्यटकहरुलाई लक्षित गरेका छन् । यसबाट पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक समृद्धिको अपेक्षा गरिएको पनि उनले बताए । तीन दशक अगाडि नगरकोटबाट होटल उद्योग सुरु गरेका वाग्लेले इच्छा हस्पिटालिटीको व्यवस्थापनमा अमलेखगञ्जमा ‘गार्डेन सफारी रिसोर्ट’ सन्चालनमा ल्याउने योजना समेत बताएका छन् ।

  • नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

    नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

    निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

    क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए।

    निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । ‘निगमसमक्ष काठमाडौँ–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ,’ उनले भने, ‘तर निगमले हेलचेक्र्याई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।’

    निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

    निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताइन्। तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ ।

    नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।

  • ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

    ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

    काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।

    तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

    यसअघि पनि तराई-मधेशबाट मिटर ब्याजपीडित काठमाडौं पुगेर धर्नामा बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्ने सहमति गरेपछि घर फर्किएका थिए।

    तर, सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि फेरि न्यायका लागि पैदल काठमाडौंतर्फ हिंडिरहेको उनीहरू बताउँछन्।

    भोलि (सोमबार) देखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

  • विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

    विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

    काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

    विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

    यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ ।

    साथै नयाँ कार्यक्रमले विद्यार्थीको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न शिक्षक निगरानी व्यवस्था लागू गर्ने विज्ञप्तिमा उल्लेख छ। उच्च आधारभूत र माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षणलाई यो कार्यक्रम मार्फत प्रभावकारी बनाइने जनाइएको छ।

    खासगरी हरित कक्षाकोठा, डिजिटल शिक्षण एवं सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ। त्यसैगरी, कक्षा ६-८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति दिन सघाउने विश्व बैंकले जनाएको छ।

  • शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)२६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । विहीवार कारोबार १ अर्ब ४१ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    ४ कम्पनीको नेगेटिभ र २ कम्पनीको पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त, जाल्पा लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै ८ करोड र नेष्डो समृद्ध लघुवित्तको ७ करोड बढीको कारोबार भएको छ ।

  • तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

    तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

    काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु पाँच सय दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।

    साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस

  • विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

    विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

    काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्।

    तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन्।

    श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन आवेदन दिएर सामाजिक सुरक्षामा जोडिन सकिने उनले बताए। “विदेशमा हुनेहरूलाई पनि मन्त्रालयले पुनः श्रम स्वीकृति सम्बन्धित मुलुकबाटै गर्न सक्ने व्यवस्था गरेको कारणले पुनः स्वीकृति लिँदा पनि सामाजिक सुरक्षा आबद्ध हुने व्यवस्था छ,” ज्ञवालीले भने। उनका अनुसार त्यस बाहेक यसअघिकै स्वीकृति लिएर विदेशमा रहेकाहरूले पनि कोषको वेबसाइटमा आफ्नो जानकारी दर्ता गराएर सामाजिक सुरक्षामा आबद्ध हुन सक्छन्।

    सामाजिक सुरक्षा कोषकी उपनिर्देशक सुशीला पौडेल भुर्तेलका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तीन तरिकाबाट कोषमा आबद्ध हुन सक्छन्। “यसरी सूचीकरण भएपछि उहाँहरूको इमेलमा सामाजिक सुरक्षा नम्बर जान्छ र त्यही नम्बरका आधारमा उहाँहरूले आफ्नो योगदान जम्मा गर्न सक्नुहुन्छ,” भुर्तेलले भनिन्। कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ।

    तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ। नेपाल सरकारले औद्योगिक कामदारका लागि तोकेको न्यूनतम रु १५,००० को बेसिक पारिश्रमिक रु ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ प्रतिशत हुन आउने रु २,००२ लाई कोषमा आबद्ध हुने न्यूनतम रकम तोकिएको अधिकारीहरूको भनाइ छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कोषमा जम्मा गर्न सक्ने अधिकतम योगदान बेसिक पारिश्रमिक ९,३८५ को तीन गुणा हुन आउने २८,१५५ सम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरूका लागि कोषमा आबद्ध हुन चाहिने आवश्यक कागजातहरू फरक फरक हुनसक्छ। कोषका अनुसार विदेशमा बस्ने नेपालीले रेमिट्यान्सको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सक्छन्।

    “कनेक्ट आइपीएस सहित ई(सेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट पनि कोषमा नियमित पैसा जम्मा गर्न सकिन्छ,” कोषकी उपनिर्देशक भुर्तेलले भनिन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्। कोषमा अग्रिम रूपमा पनि रकम जम्मा गर्न सकिने र त्यसरी कम्तिमा सात महिनासम्मको रकम जम्मा गर्दा १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको भुर्तेलले जानकारी दिइन्।

    जम्मा हुने न्यूनतम रु २,००२ मध्ये रु ७०२ प्रिमियम र १,३०० रुपैयाँ न्यूनतम मौज्दात अन्तर्गत रहने र नेपाल फर्किइसकेपछि त्यो निकाल्न पनि मिल्ने बताइएको छ। इजरेलमा रहेकी एक नेपालीका श्रीमान्‌लाई परिचय पत्र दिएर सुरु भएको यो योजना वैशाख १ गतेबाट पूर्ण कार्यान्वयनमा आउने बताइएको छ। पछिल्लो जनगणना अनुसार करिब २२ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। सामाजिक सुरक्षा कोषले गैर आवासीय नेपाली सङ्घसँग पनि यसका लागि सहकार्य गरिने जनाएको छ।


    कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना उपलब्ध हुने उनले बताए। “दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना भनेर चार किसिमका योजनाहरू ल्याएका छौँ। त्यो एक वर्षमा दुर्घटनामा पर्नुभयो र अस्पतालमा उपचार गर्नुपर्‍यो भने एक लाखसम्मको औषधी उपचारको सुविधा छ,” उनले भने। “अशक्त हुनुभयो भने कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध गराउँछ।“ कोषबाट दुर्घटना उपचार खर्च लिन चाहिँ दुर्घटना भएर अस्पतालमा उपचार गराएको बिल पेस गर्नुपर्ने सर्त छ।


    दुर्घटना वापतको एक लाख रुपैयाँ लिन वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश आउँदा बिल पेस गर्नुपर्ने नियम छ। त्यसपछि कोषले उनीहरूको ब्याङ्क खातामा उक्त भुक्तानी पठाइदिने ज्ञवालीले बताए। “अशक्त भएर फर्किएको अवस्थामा पनि नेपालमा रहेको ब्याङ्क खातामा रकम पठाइदिने हो,” उनले थपे।

    विदेशमा रहँदा आजीवन अशक्त भएर काम गर्न नसक्ने भएको अवस्थामा ९,३८५ रुपैयाँ को ६० प्रतिशत जीवनभर हरेक महिना पेन्सन पाउने कोषले जनाएको छ। योगदानमा आधारित यस्तो पेन्सन भने ६० वर्ष पुगेपछि मात्रै कोषले दिन्छ। वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भए श्रीमान् वा श्रीमतीले आजीवन र बालबालिकाले २१ वर्ष नपुग्दासम्म ९ हजारको ४० प्रतिशत हुन आउने ३,७५४ रुपैयाँ मासिक पाउँछन्।

  • मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

    मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

    काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

  • जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

    जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो ।

    कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

    सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।

    बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।

    त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।

  • काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

    काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ ।

    घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो । महानगरपालिकाले बिहीबार नै कालिमाटीका सीपचन्द्र मण्डललाई पनि २ हजार जरिवाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै उनलाई महानगरले जरिबाना तिराएको हो ।

  • राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’


    अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रचण्डले भने, ‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् ।’

    उनले आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन पनि भनेका छन् । ‘छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्नेगरि व्यवस्था मिलाउनुस् ।’

    छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थिए ।

  • तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

    तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

    काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो ।

    एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेका हुन् ।

    आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारणलाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या लगायतका विषय छलफल गरेको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणमा देखिएका समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए। आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

    आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए। ‘मुख्य रुपमा प्याकेज–१को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’ उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पुरा गर्ने गरी काम गर्न निर्देशन दिए ।

    तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।

    जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ ।

    प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

    प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमि तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।

    आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

    यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

    काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो ।

    बुधबार उनीहरुलाई आठ वर्षका दरले सजाय तोकेको छ । अर्का उपसचिव होमनाथ भट्टराईलाई साढे २ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले उपसचिव दाहाललाई तीन करोड २ लाख १७ हजार बिगो, पौडेललाई दुई मुद्दामा ८ करोड बिगो र नेपाललाई ६ करोड १७ लाख ६४ हजार बिगो भराउने आदेश दिएको छ । उनीहरुले त्यसको दोब्बर जरिवाना तिर्नुपर्छ । राजस्व हिनामिनाको भ्रष्टाचारमा आरोप ठहर भए बिगोको दोब्बर जरिवाना हुने कानुनी व्यवस्था छ ।

    यातायात व्यवस्था कार्यालयमा २०६९ सालदेखि २०७३ सालसम्म राजस्व चुहावट भएको भनी अख्तियारमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा ६१ करोड २१ लाख रुपैयाँ राजस्व खातामा दाखिला नगरी दुरुपयोग भएको भेटिएको थियो । त्यसपछि छानबिन गरी अख्तियारले मुद्दा चलाएको हो । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद, १४ करोड ७ लाख रुपैयाँ बिगो भराउने आदेश गरेको छ । अर्का लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद, ५० लाख ८२ हजार रुपैयाँ बिगो भराउने आदेश गरेको छ ।

    अनियमितताका प्रमुख सूत्रधार मानिएका सुरेश अधिकारीलाई एउटा मुद्दामा ८ र अर्कोमा ९ वर्ष कैद सजाय भएको छ । उनलाई दुईवटा मुद्दामा १७ करोड ४ लाख विगो भराउने आदेश भएको छ । लेखापालहरु मणिराज दाहाल र टंकबहादुर खड्कालाई पनि आठ वर्ष कैद, त्यति नै बिगो र जरिवानाको आदेश भएको हो ।

    लेखापालहरु देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद, ११ करोड २२ लाख बिगो भराउने आदेश भएको छ । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद, ५ करोड ३२ लाख बिगो भराउने आदेश भएको छ ।

    अख्तियारले उनीहरुमाथि सेवाग्राहीबाट संकलन हुने राजस्व रकम बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप लगाएको थियो । अख्तियारको आरोपपत्रमा आर्थिक वर्ष २०७१र७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँमात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको उल्लेख थियो ।

    आर्थिक वर्ष २०७२\७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको थियो । आर्थिक वर्ष २०७३र७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको आरोपपत्रमा उल्लेख थियो ।

    इटहरीको यातायात कार्यालय परिसरमै राजस्व संकलनका लागि बैंक स्थापित थियो । तर उनीहरुले आफैंले नगद संकलन गर्थे । फर्जी रसिद जारी गर्थे र संकलन भएको रकम ‘बास्केट फण्ड’ खडा गरी वितरण गरेको अख्तियारको दाबी थियो ।

  • वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

    वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।

    यो योजनाको काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

    वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

    उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

    ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए ।

    नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

  • सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो

    सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

    कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइने छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

  • एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

    एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

    काठमाडौं । बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ ।

    मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ७ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ३५ रूपैयाँ कायम छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम थियो।

  • वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

    वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

    काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याइएको वर्ल्डलिंकले जनाएको छ ।

    यससँगै वर्ल्डलिंककमा विदेशी लगानी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअघि सन् २०१९ को अक्टोबरमा वर्ल्ड लिंकले बीआईआईबाट १ अर्ब ३५ करोड रुपैयाँ लगानी भित्र्याएको थियो । थप लगानीले थप एक हजार रोजगारी सिर्जना हुने वर्ल्डलिंकले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

    अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

    काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    कोभिड-१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ । कोभिड(१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए ।

    सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताइन् ।

    उनले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिइन् ।

    सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याउने दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसंघको भनाइ छ ।

  • अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

    अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने

    काठमाडौं । सरकारले कार्यविधि बनाएर ‘अयोग्य’ लडाकूहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

    १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै नेपालमा स्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले माओवादीका १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड नपुगेको भन्दै अयोग्य घोषणा गरिएको थियोे । अयोग्य घोषणा गरिएकाहरुमध्ये धेरैजसो बाल सैनिक वा ढिलो गरी माओवादी लडाकुको रुपमा भर्ना भएकाहरु थिए ।

  • मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत

    मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत

    काठमाडौं । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । घोडेजात्रा पर्वको राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।

    प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

    राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

    विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

  • नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

    नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ ।

    त्यस्तै तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो।

    त्यस दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला

    काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।

    भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार बसेको १४औं बैठकको निर्णयअनुसार एक महिनाभित्र नेपालले मोडालिटी तय गरिसक्नु पर्नेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो ।

    ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’


    गत फागुनको पहिलो सातामासम्पन्न नेपाल(भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल–मे २०२३मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । विद्युत आदान प्रदान समितिको बैठकले विद्युत आदानप्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ ।

    आर्थिक वर्ष सन् २०२२–२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदान दर तय गरेको हो । विद्युत आदानप्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेलामा विद्युत आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको वेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए । आव २०१९–२०का लागि तय भएको दर त्यसपछिका वर्षहरुलाई पुनरावलोकन हुन सकिरहेको थिएन ।

    भारतीय पक्षबाट वाषिर्क साढे पाँच प्रतिशतको मूल्यबृद्धि जोडर प्राधिकरणले आयात गर्ने विद्युत्को बिल पठाउने गरिएको थियो । विगतमा गरिएको विलिङलाई समायोजन गर्दै जाने सहमति भएको कार्यकारी निर्देशक घिसिङले बताए । यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको उनको भनाइ छ ।

    ‘नयाँ तय गरिएको दर टेक अर पे आधारमा हैन, हामीलाई आवश्यक पर्दा खरिद गरिने विद्युत्को दर हो, चाहिएको बेलामा मात्र विद्युत् आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो छ, उक्त दर हामीले विद्युत निर्यात गर्दा पनि पाउने छौं,’ घिसिङले भने ।

    उनले गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेस गरेको बताए ।

    घिसिङले भने, ‘प्रतिस्पर्धामा छनौट भएका कम्पनीहरुले आयातित कोइलाबाट उत्पादित विद्युतमात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचढाव आइरहेकोले उक्त कम्पनीहरु प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन् ।’

    बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकोले दर सस्तो भएको हो । प्रतिस्पर्धी बजारमा पनि दैनिक रुपमा प्रतियुनिट विद्युत्को औसत दर १२ भारुसम्म पने गएको छ । ‘यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ, त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ,’ घिसिङले भने ।

    प्राधिकरणले आवश्यक परेको वेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज० र महाकाली सन्धि अन्तर्गतको विजुली भारतबाट आयात गर्छ । व्यापारिकरुपमा ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

    प्राधिकरणले प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।

  • सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

    सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई

    काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।


    बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ ।

    २०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।

    यी दुई आयोजना एउटै नदी ुबेसिनुमा ५० किलोमिटर दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपीसीले दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।

  • बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

    बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड

    काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

    लघुवित्तको आइपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

    मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

    जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

    लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२।३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

    लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

  • बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

    बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

    काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ ।

    बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र पुनर्निर्माणमा सहकार्यको लामो र गौरवशाली इतिहास रहेको राजदूत पोलिटले बताइन् । ‘यसले ६ दशकमा नेपाली जनताका लागि महत्त्वपूर्ण नतिजा दिएको छ, जसका लागि हामी र नेपाल सरकार अत्यन्तै गौरवान्वित छौं । यस नयाँ कार्यक्रममार्फत हामीले लिने दृष्टिकोणले स्थानीय निर्णय लिने र सेरुइस डेलिभरीलाई उच्च स्थानमा राख्नेछ र थप जवाफदेही, बलियो स्थानीय सरकार निर्माण गर्न मद्दत गर्नेछ,’ उनले भनिन्, ‘यो नयाँ दृष्टिकोणले नेपाल सरकारलाई पूर्वाधार पुर्‍याउने तरिकामा सुधार गर्न पनि मद्दत गर्नेछ ।’

    लामो समयदेखि नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतको योगदान एवं सहयोग निरन्तर रहेको अर्थसचिव रायाले बताए । यस कार्यक्रमले स्थानीय तहको पूर्वाधार, स्थानीय सरकारको क्षमता अभिवृद्धि र जनजीवनको गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५८ कम्पनीको १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ को बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । बुधवार १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • डीडीसीले बढायो दुधको मूल्य

    डीडीसीले बढायो दुधको मूल्य

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन् । त्यहीं मूल्य बिहीबारदेखि उपभोक्ताबाट लिने भएका छन् ।

    अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ । त्यस्तै, संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ ।

    संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ । बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ।

  • बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै

    बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ।

    फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ।

    महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ। यो अवधिमा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशत छ भने बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत छ।

    चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् दुई खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ।

    सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत मात्रै छ। अर्थात् फागुन मसान्तसम्म सरकारले कूल सात खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ।

    यस अवधिमा सरकारको चालु खर्च ५१ दशमलव ४६, पुँजीगत खर्च २२ दशमलव १५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत छ। चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म छ खर्ब आठ अर्ब ८४ करोड ४५ लाख बराबर छ।

    त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२ दशमलव १५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ।

    वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ। महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ।

    फागुन मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२ दशमलव सात प्रतिशत बराबर मात्रै छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ।

    जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१ दशमलव ५३ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ।

    यसवर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ।

  • ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

    ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले सहज नभएपनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

    आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाका अवसरमा उनले गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, भन्ने लागेपनि अहिले त्यस्तो अवस्था नआएको बताएका हुन् ।

    बाह्य क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिहरूका कारणले गर्दा त्यस्तो संकटको सम्भावना टरेको छ उनले भने ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको बताए । साथै यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको देखाउने जिकिर गरे ।

    बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक नीति जरूरी थियो, तर, अहिले त्यो संकट टरिसकेको छ उनले भने।

    साथै अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको जानकारी प्रम प्रचण्डले दिए ।

    उनका अनुसार अनावश्यक चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको समेत बताए ।

    कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको छु उनले भने।

    मुद्रास्फिर्ति नियन्त्रणभित्रै भएको तथा नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेकोले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको बताए ।

    कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चापलगायत कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएकोमा सरकार यी समस्यालाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेमा गम्भीर भएर लागिरहेको बताए ।

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बाह्य बजारको मूल्यमा निर्भर रहन्छ,तथापी उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ ।

    तर यो सधैभरि धान्न सकिने अवस्था चाहिँ होइन । सिमेण्ट लगायतका स्वदेशी निर्माण सामग्रीहरूको खपत घटेको छ । विकास निर्माणका काम निरन्तर अगाडि बढाउनुभयो भने उत्पादन र रोजगारीका क्षेत्रमा पनि सकारात्मक असर पर्न गई पूरै अर्थतन्त्र नै चलायमान बनाउन योगदान पुग्नेछ ।

    निर्माण व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको मुद्दा र समस्या समाधानका लागि सरकार गम्भीर भएको बताए । नेपालमा सबैभन्दा धेरैपटक संशोधन गरिने कानुनहरूमा सायद सार्वजनिक खरिद सम्बन्धी कानुन नै अगाडि आउँछ ।

    तर, पनि निर्माण क्षेत्रका समस्या पूर्णतः सम्बोधन गर्न सकिएको छैन । यसका नीतिगत सीमा कहाँ छन्, सरकारको भूमिका कसरी थप प्रभावकारी बनाउन सकिन्छ, निर्माण व्यवसायीहरूको राष्ट्रिय दायित्व के हो र त्यो दायित्व कसरी पूरा गर्न सकिन्छ रु यसबारे गम्भीर समीक्षा आवश्यक छ ।

    निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन् ।

    बेलाबेलामा “ठेकेदार हराएको सूचना” भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायहरूप्रतिको आक्रोश ‘ट्रोल’ हुने गरेको छ, त्यसले हाम्रो निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गर्दछ । तसर्थ, यस्ता विषयहरूमा निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी छ ।