Category: अर्थतन्त्र

  • २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

    २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो ७ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशत बढेर ५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७ सय ६७ पुगेको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७ सय ८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ सय ६५.९ प्रतिशत बढेको थियो।

  • १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

    १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने

    काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ ।

    हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माण स्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो ।

    प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
    आयोजनाको अनुगमन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रूपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुयाएको जानकारी दिनुभयो । प्राकृतिक प्रकोपको चपेटामा परेर करिबकरिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको घिसिङले बताए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपियाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपियाँ रहेको छ ।

    आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु. ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

  • सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

    सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो

    काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्।

    टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम गरिरहेका युवा उद्यमी सहभागी छन्। नेपालमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको ठूलो सम्भावना रहेकाले त्यसबारे जानकारी लिन काठमाडौं आएको उनीहरूले बताएका छन्।

    भ्रमणको पहिलो दिन शुक्रबार नेपालका एक मात्र डलर अर्बपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै नेपालको लगानी सम्भाव्यताबारे जानकारी दिए। नेपालमा भएका आर्थिक सम्भाव्यता पूर्ण सदुपयोग हुने हो भने एसियाकै धनी मुलुक बन्ने क्षमता रहेको उनले बताए। ुनेपाल स्रोत(साधनमा अत्यन्तै धनी छ। तर स्रोत हुनु मात्र ठूलो कुरा होइन, व्यवस्थापन पनि राम्रो हुनुपर्छ,ु उनले भने, ुव्यवस्थापनमा समस्या हुनुले नै नेपाल गरिब भएको हो।ु

    विकास योजनालाई आफ्नो एजेन्डा बनाएर हिँड्ने दुरदर्शी नेता नभएकाले नेपाल पछि परेको उनको भनाइ थियो। ‘स्रोतको उचित व्यवस्थापनका लागि हामीलाई एक भिजनरी नेताको खाँचो छ। देशको योजनाबद्ध विकासमा नीतिगत योगदान गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय भएको हुँ’ उनले भने।

    संसारकै दुई ठूला बजार भारत र चीनसँग नेपालको निकट सम्बन्धले पनि यहाँ तुलनात्मक लाभ धेरै भएको चौधरीले बताए। उनले सिंगापुरको उदाहरण दिँदै अगाडि भने, ‘ली क्वान यूको योजनाले सिंगापुर संसारकै धनी मुलुकको सूचीमा पुग्यो।

    दक्षिण कोरिया पनि पार्क चुङ हिको भिजनले धनी बन्यो। यी दुवै देश प्राकृतिक स्रोत(साधनमा कमजोर छन्। तैपनि एउटा नेताको दुरदर्शी सोचले दुवै मुलुकलाई समृद्ध बनाएको छ। हामी त स्रोत-साधनमा धनी छौं। त्यसैले हामीसँग समृद्ध हुने सम्भावना अझ धेरै छ।’


    कुनै पनि उद्यमीले आफ्नो व्यावसायिक सफलता र प्रतिफल सँगसँगै सामाजिक उत्तरदायित्व पनि भुल्न नहुने उनले बताए। सन् १९५० मा स्थापना भएको वाइपिओ संसारभरका ३० हजारभन्दा बढी सिइओहरूको संस्था हो। यसको मुख्यालय अमेरिकामा छ भने नेपाल लगायत १ सय ४२ मुलुकमा यसको सञ्जाल फैलिएको छ।

  • सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

    सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

    काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए ।

    सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएकाछन् । कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेकोप्रति चिन्ता व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए ।

    ‘देशमाआर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ?किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’

    सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना सानापुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको समेत बताए । ‘उत्पादन, रोजगारीबाट गरिबी हटाइ समाजवादउन्मुख समाजवाद स्थापना सहकारीबाट हुने भएकाले यसतर्फ सरकारको यथोचित ध्यान पुगोस् भन्ने मलाई लाग्छ’उनले भने, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएकाभन्ने गुनासाहरु सुनि राखेकाछौं । यस्तो कार्याललाई नियन्त्रण गर्न आवश्यक छ ।

    सरकारले यसको अनुगमनगर्नुपर्यो रदेखा परेका समस्या समयमै समाधान गर्नुर्यो’ उनले भने । सोहीअवसरमा सभामुख घिमिरेले ७ खर्ब भन्दाबढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक भएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमायस्तो हुँदैन भनेर ग्यारेन्टीगर्न सके त्यो सीमाहट्न सक्ने बताए ।

    कार्यक्रमम सहकारी महासंघकापूर्व अध्यक्षएवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदायपछि पर्न नहुने र त्यसकालागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए ।

    ‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामीपनि चाहदैँनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो ।

    सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने । जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्ने बताए ।

  • निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

    निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

    काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ ।

    दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

    पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको हो ।

    यो जहाज बुधबार बिहान १०.३५ बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

    उनीहरुलाई विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीसहितले स्वागत गरेका छन्।

    बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो।

  • सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

    सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

    काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३ः३५ मा उडान भर्ने उक्त जहाज चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातिको ९ बजे अवतरण गर्नेछ ।

    अस्ट्रेलिया र जापान भ्रमणका लागि छेङ्दु ट्रान्जिट भएर जाने यात्रुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँदेखि मेलबर्नसम्मको एकतर्फी भाडा ७९ हजार ९९९ रुपियाँ र काठमाडौँदेखि नारितासम्मको एकतर्फी भाडा ६५ हजार ९९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेकइन लगेज र सात केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाई सेवाको सुरुवातसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुले छेङ्दुमा साढे चार घण्टाको ट्रान्जिट पर्खिनुपर्नेछ । नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टका रूपमा काम गर्दै आएको छ ।

  • एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

    एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

    काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया थालेको छ । एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ । एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।

    यी जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा प्राप्त गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले २३ वैशाख २०७६ मा निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न समितिले सूचना प्रकाशित गर्दै जग्गा प्राप्तिको प्रक्रिया थालेको जनाएको छ ।

    आयोजनाका अनुसार सूचना प्रकाशित भएको तीन दिन पछि यी जिल्लाको तोकिएको क्षेत्रको जग्गा नापजाँच गर्न टोली खटिने भएको छ । जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनाका लागि यी टोली खटिने भएका हुन् ।

    तीन वटा जिल्ला मध्येमा तनहुँमा ११ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक कारबाही समेत सुरु गरेको आयोजनाले जनाएको छ । तनहुँमा रातमाटेदेखि दमौली प्रसारणलाइन खण्डमा जग्गा प्राप्ति सुरु गरिएको छ । जसमा हालको आँबुखैरेनी, बन्दीपुर, व्यास, ऋषिङ र घिरिङ पर्छन् ।

    धादिङमा भने १४ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक काम अगाडि बढाउने निर्णय गरेको थियो । धादिङमा रातमाटेदेखि नयाँ हेटौंडा प्रसारणलाइनमा जग्गा प्राप्ति प्रक्रिया सुरु भएको हो । जसमा गल्छी, थाक्रे, नीलकण्ठ, सिद्धलेक, गजुरी, बेनीघाट रोराङमा प्रसारणलाइन बन्ने छ ।

    पाल्पा जिल्लामा १२ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकले काम सुरु गर्ने निर्णय गरेको थियो । यहाँ नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारणलाइनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको हो । जसमा रामपुर र निस्दी पर्छन् ।

  • वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

    वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको जानकारी दिए । उनले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई बैंकको कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएको, बैंकको उच्च ब्याजदरका कारण तरलतामा देखिएका प्रमुख समस्या समाधान सरकारले गर्नुपर्ने जानकारी गराएको बताए ।

    अध्यक्ष गोल्छाले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणले कर्जा तिर्न नसक्ने अवस्था रहेकाले कर्जा तिर्नै नसक्नेहरूकाको हकमा राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गर्ने जानकारी गराएको पनि बताए ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देश आर्थिक रूपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउन आग्रह गरेको बताए । उनले बैंकहरूले व्यवसायीहरूलाई प्रवाह गरेको कर्जामा तीन महिनामा हुने ब्याजदर र प्रिमियम बढ्न नहुने माग राखेको बताए ।

  • रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सले लगातार पाँचौ दिन सोही लय कायम राखेको हो ।

    गत साता झन्डै ६० अंकले घटेको नेप्से आज एकैदिन ३० अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज सवा अर्बको सेयर किनबेच भएको छ ।

    आइतबार नेप्से ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ५ करोड र एशियन लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, आदर्श लघुवित्त ७.५४, खप्तड लघुवित्त ७.४२, उन्नति सहकार्य लघुवित्त ६.९६, ग्लोबल आइएमई लघुवित्तको सेयर ६.१७ प्रतिशतले घटेको छ ।

  • निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’

    निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालासँग छलफल गरे ।

    पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा विशेष गरी लघुवित्तले ऋणीलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीले राख्दै आएका छन्।

    यता बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ। बैंकले ब्याजदर बढी लिएको भन्दै व्यापारीसमेत सडक आन्दोलन गरिरहेका छन्।

    प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालासँग छलफल सुरु गर्नुभएको छ। छलफलमा मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

  • नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने

    नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने

    काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको सडक खण्ड अब बन्द नहुने भएकोछ । आइतबारदेखि सडक बन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

    तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आइतबारबाट बन्द गरिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ ।

    सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।

  • दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

    दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

    काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो । अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ ।

    अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ । गत २७ माघ २०७८ मा तत्कालित देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

  • भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

    भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ।

    यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ । यस्तै हवाइ इन्धनमा ७.३ रुपैयाँ घटेर आएको छ ।

    नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । यसअघि पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन ।

  • कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।
    भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

    फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिनेछ । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

  • बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

    बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

    काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो ।

    बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एसोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो ।

    त्यसअन्तर्गत परिसंघले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो । सेजनले ती बुँदाको कार्यान्वयन अवस्थाका सम्बन्धमा हालै अध्ययन गरी तयार पारेको विवरणले चालु वर्षको माघ मसान्तसम्ममा आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखाएको हो ।

    नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा सम्बोधनका लागि सुझाएका बुँदाहरुमध्ये करिब ४८ प्रतिशत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम ९बजेट०मा समेटिएका थिए । निजी क्षेत्रमैत्री बजेटले अर्थतन्त्रलाई समृद्धितर्फ उन्मुख हुन प्रेरित गर्ने हुँदा आर्थिक विकासका लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्रसँग गहिरो सहकार्यको अपरिहार्यता महसुस गरेको रुपमा यसलाई बुझिएको प्रतिवेदनमा उल्लेख छ ।

    तर बजेटमा समेटिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन पक्ष सर्वाधिक महत्त्वपूर्ण हुने भए पनि चालु वर्षको पहिलो सात महिना (माघ मसान्त) बितिसक्दा पनि यसको प्रगति भने सन्तोषजनक देखिएको छैन ।

    ‘सीएनआई बजेट वाच’ अन्तर्गत नवउद्यम, नवप्रवर्तन र सूचना प्रविधि, पर्यटन, उद्योगः औद्योगिक विकास, औद्योगिक क्षेत्र व्यवस्थापन, साना तथा मझौला उद्योग, लगानीः सार्वजनिक निजी साझेदारी तथा प्रत्यक्ष वैदेशिक लगानी, ऊर्जा, पूर्वाधार, र कृषि, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धन गरी आठ मुख्य क्षेत्रगत वर्गीकरण गरेर त्यसअन्तर्गतका महत्वपूर्ण बुँदा (नीति तथा कार्यक्रम) हरुलाई सूचीवद्ध गरिएको छ । तिनलाई परिसंघले चालु आवको बजेटलगत्तै ’आर्थिक वर्ष २०७९\८० को बजेट कार्यान्वयन योजना’ पुस्तिकाका रुपमा समेत प्रकाशित गरेको थियो ।

    तिनै क्षेत्रहरुसँग सम्बन्धित ६३ बुँदामध्ये १४.२८ प्रतिशत (९ बुँदा) मात्र पूर्णरुपमा कार्यान्वयन भएको सेजनको अध्ययनबाट देखिएको छ । यसरी कार्यान्वयन भएको देखिएकामध्ये पनि अधिकांश कर नीतिसँग सम्बन्धित व्यवस्था छन्, जुन बजेट लगत्तै वा आर्थिक वर्षको पहिलो दिनबाटै स्वतः लागु भएका प्रावधान हुन् ।

    वैदिशक लगानीका सम्बन्धमा न्यूनतम सीमा रु। २ करोड कायम, रु. १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट स्विकृति, वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण, ठूला वैदेशिक लगानीलाई विद्युतीय माध्यमबाटै सात दिनभित्र प्रारम्भिक स्विकृती लगायतका व्यवस्था कार्यान्वयन भएका छन् । २८.५७ प्रतिशत (१८ बुँदा) आंशिक रुपमा कार्यान्वयनमा गएको पनि अध्ययनले देखाएको छ । तर बाँकी ५७.१४ प्रतिशत (३६ बुँदा) नीति तथा कार्यक्रमहरुमा भने प्रगति शुन्य देखिएको छ ।

    बजेट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सरकारको राजस्व लक्ष्यमा धक्का पुग्नुका साथै प्रणालीमा तरलता असहज हुँदै मागमा ठूलो संकुचन आउने अध्ययनको निष्कर्ष छ । यसको चक्रिय असर रोजगारी सिर्जना लगायत अन्य क्षेत्रहरुमा पनि परेको अध्ययनले देखाएको छ । आर्थिक विकासका लागि महत्वपूर्ण मानिने निजी क्षेत्रको लगानीसँग जोडिएको उद्योग, भूमी, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), सार्वजनिक निजी साझेदारी लगायत क्षेत्रसम्बद्ध चालु आवको बजेटमा घोषणा भएका अधिकांश नीति तथा कार्यक्रमहरुको प्रगति शुन्य रहेको पाइएको छ ।

    चितवनको शक्तिखोर लगायत सम्भावित क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने, उद्योग स्थापनाका लागि आवश्यक जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने, उद्योगका लागि जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था मिलाउने, उद्योग व्यवसायको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गा धितो राखी कर्जा लिन व्यवसाय टाट उल्टेमा बिक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था गर्ने लगायतका बजेटका नीति तथा कार्यक्रममा प्रगति शून्य छ ।

    गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानुन तथा प्रक्रियामा सुधार गर्ने, नेपाली निर्माण व्यवसायीहरुलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गर्ने, हरित ऋणपत्र निष्कासन गरी पूर्वाधार विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउने, मिर्चैया–लुक्ला–सगरमाथा द्रूतमार्ग निजी क्षेत्रको लगानीमा निर्माणको प्रबन्ध मिलाउने इत्यादि बुँदा पनि हालसम्म कार्यान्वयनमा गएका छैनन् । अन्य क्षेत्रहरुसँग सम्बन्धित बजेटका घोषणाहरुको कार्यान्वयन अवस्था पनि निक्कै निराशाजनक छ ।

  • सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

    सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए।

    उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । उनले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको बताए ।

    निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । उनले पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताए । उनले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावाटको पीपीए भइसकेको बताए

    निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए । उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गरे । उनले जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरू बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए ।

    उनले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताए । उनले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि बताए ।

  • झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला,आदर्श र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेको छ ।

    आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको शेयर ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ५० लाख र सानिमा माइको ६ करोड ४६ लाखको कारोबार भएको छ ।

  • उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

    उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

    काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

    पछिल्लो समय ककपिट भित्रै एयरहोस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा निगमका पाइलटमाथि छानविन भइरहेको छ । मन्त्री किरातीले नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड हुने समस्याबारे छानविन गर्न समिति गठन गर्ने समेत उनले जानकारी दिए । उक्त अवसरमा मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापनाको योजना रहेको समेत जानकारी दिए ।

    उनकाअनुसार पशुपति सरसफाइ ३ महिने अभियान, नेपाल सरसफाई संस्थागत गर्न निर्देशिका तयार गरिने समेत उनले जानकारी दिए । सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप० यातायात सञ्चालन गर्ने योजना उनले सुनाएका छन् । मन्त्री किरातीले नागरिक उडड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने समेत उनले जानकारी गराए । मन्त्री किरातीले आफू मन्त्री भएपछि ५ वटा काम सम्पन्न भएको समेत जानकारी गराए ।

    जसमा नेपाल एयरलाइन्सको अनलाइन टिकेटिङ सुचारु भएको उनले बताए । सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी काम गर्ने निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेको उनले बताए ।

  • सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

    सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

    काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तयार तालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकामा कर्मचारीहरुले सिफ्टमा काम गर्नेछन् । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने बताइएको छ ।

  • ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

    ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

    गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो ।

    सो निर्णयानुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ औषधि उपचार खर्च निकासा गरिएको जनाएको छ ।

  • ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना

    ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना

    काठमाडौं । लेखा परीक्षण प्रतिवेदन र साधारण सभाबारे विवरण नबुझाएको भन्दै ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रमा रहेका १० वटा सहकारी संस्थाको अनुमति खारेज गरेको छ।

    पाँच वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो। महानगरले ‘सहकारी ऐन, २०७५’ अनुसार ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण र साधारण सभा नगर्ने तथा विवरण नबुझाउने सहकारी संस्थाहरू खारेजी गरेको हो।

    खारेजीमा पर्ने सहकारीहरुमा महिला सिप विकास वहुउद्देश्यीय, बडीखेल पर्यटन, प्रयास वहुउद्देश्यीय, कुसुन्ती वहुउद्देश्यीय, राजवृक्ष जडीबुटी, एभरेष्ट कृषि, एभरग्रीन बचत तथा ऋण सहकारी लगायत रहेका छन् ।

    प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधरण सभा सम्पन्न गरी विवरण पेश गर्नुपर्नेमा ती संस्थाहरुले ५ वर्षभन्दा बढी समयदेखि कुनै विवरण नबुझाएको महानगरले जनाएको छ ।

    महानगरले गत असार १५ गते एक सूचना जारी गर्दै ती सहकारीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । तर, कुनै पनि सहकारी सम्पर्कमा नआएकाले कानुन बमोजिक दर्ता खारेजी गरिएको महानगरले जनाएको छ ।

    अब खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु/बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न महानगरले भनेको छ ।

  • शेयर बजारले गर्‍याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    शेयर बजारले गर्‍याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६२ कम्पनीको २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार२ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.७८ प्रतिशतले बढेको छ ।

    तीव्र उतरचढाव आएको बजारमा आज विजय लघुवित्तका शेयर धनीले सर्वाधिक ७.९४ प्रतिशत कमाएका छन् । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक ७.६०, अभियान लघुवित्त ७.२६, मिर्मिरे, आरम्भ चौतारी लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै साढे ८ करोड र छिमेक लघुवित्तको ७ करोड बढीको कारोबार भएको छ ।

  • १६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट

    १६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट

    काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो ।

    चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ । सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ ।

    अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरुमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ । ‘चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवा–ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभारसमेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ’, आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


    आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तथा आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ तयार गरी स्वीकृत गरिसकेको जनाएको छ । सो मार्गदर्शन तथा ढाँचा सबै संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालय एवम् प्रदेश सरकारलाई समेत पठाइसकेको आयोगले जनाएको छ ।

    मध्यमकालीन खर्चसंरचनाअनुसार सरकारी राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । राजस्व वृद्धिको सोही अनुमानका आधारमा बजेटको आकार पनि अनुमान गरिएको हो । ‘नेपाल सरकारको कूल स्रोत आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१र८२ का लागि रु १८ खर्ब ८० अर्ब २० करोड र आर्थिक वर्ष २०८२र८३ का लागि रु २० खर्ब ८८ अर्ब ९० करोड बराबर रहने प्रारम्भिक अनुमान छ’, आयोगले भनेको छ ।

    आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्दा विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । ‘विषयगत मन्त्रालय वा निकायहरुबाट बढी बजेट माग हुने तर विनियोजित बजेट बाँडफाँट मुताबिक खर्च नहुने अवस्थालाई मनन गरी बजेट प्रणालीको अनुमान योग्यता र विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । आगामी आर्थिक वर्षका लागि खर्च हुने वा खर्च गर्न सकिने कार्यक्रम तथा क्रियाकलापमा मात्र बजेट व्यवस्था गर्नु उपयुक्त हुने विषयलाई मार्गदर्शनमा जोड दिइएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

  • अर्थमन्त्री स्वदेश फिर्ता

    अर्थमन्त्री स्वदेश फिर्ता

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ स् ०० बजे स्वदेश फर्किएका छन् ।

    सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए ।

    जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत गएका हुन् ।

  • अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने

    अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ जारी गर्दै आकस्मिब बिदाका दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने व्यवस्था गरेको हो ।

    ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले शुक्रबारदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    ‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

    यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।

  • ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

    ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

    काठमाडौं । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ।

    नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा लागु हुने राष्ट्र बैंकले जनाएको छ ।

    तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिने राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल उपर गरी देहायका सर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

  • अर्थमन्त्ती पौडेल भारतमा

    अर्थमन्त्ती पौडेल भारतमा

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

    उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसमेत भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

    शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ ।

    कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६० कम्पनीको २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ बढीको ६३ लाख २६ हजार १०५ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तु्लनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह को परिसूचकमा राताम्मे छाएको छ ।

    लघुवित्तका समूह सबैभन्दा धेरै ९.५४ प्रतिशतले घटेको छ । बजारमा लगानी फस्ने मनोविज्ञानका साथ बिक्रीमा होमिएका लगानीकर्ताले लघुवित्त शेयर बिक्री चाप बढाउँदा कारोबारमा आएका सबै लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको छ।

    आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ७० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ७ करोड ९६ लाख रहिमालयन डिस्ट्रीलरीको ७ करोड २१ लाख बढीको कारोबार भएको छ ।

    छिमेक लघुवित्त, स्वाबलम्बन, समिट, स्वरोजगार, जनउत्थान, नयाँ सारथी, कालिका, ग्लोबल आइएमई, सूर्योदय, मेरो माइक्रो फाइनान्स, माइक्रोफाइनान्स, आरएसडीसी, फरवार्ड, महुली, उन्नती, वीन ,नाडेप, आरम्भ, सामुदायिक, आँधिखोला, महिला, जीवन विकास, राष्ट्र उत्थान, जाल्पा, नेष्डो, आदर्श, धौलागिरी, शिर्जनशील र मिथिला लगायत लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

    राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ व्यवस्था गरेको छ।

    त्यसैगरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ।

  • अमेरिकासँग नेपालको नाफाको व्यापार

    अमेरिकासँग नेपालको नाफाको व्यापार

    नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ ।

    अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहन पुगेको छ । भारतसँग ५ खर्ब ७० अर्बको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ । यसले सबैभन्दा ठूलो व्यापार घाटा पनि सोही मुलुकसँग छ । चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ ।


    नेपालले प्रतिमहिना सवा खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । नेपालले माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

    निर्यात भने मात्र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र हुँदा व्यापार घाटा उच्च हुन पुगेको हो । आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार नै खुम्चिन पुगेको छ । भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।

  • लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    काठमाडौं । लघुवित्तका ऋणी समस्यामा पर्न थालेसँगै नेपाल राष्ट्र बैंकले कडाई थालेको छ । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

    यस्तै लघुवित्त संस्था वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा पनि तोकेको छ । लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै लघुवित्तलाई कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।