Category: अर्थतन्त्र

  • भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

    भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

    तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो ।

    गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

    भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।

    यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब, श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।। साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकलेबढेर २११६.६५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ७ वटा बढेको छ भने अन्य ६ वटा घटेको छ ।

    बढ्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा नेपाल बैंकको ५ करोड ९३लाख ,रिडी पावरको ४ करोड ९२ लाख र एनआइसी एसिया बैंकको ४ करोड ७६ लाखको कारोबार भएको छ ।

  • सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

    सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

    काठमाडौं । अर्थ मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । यसले २५ अर्ब रुपैयाँका कार्यक्रम यस वर्ष रोकिने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको बताएको छ । चालु खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रम स्थगन हुने अर्थ मन्त्रालयको अनुमान छ ।

    मन्त्रालयका अनुुसार संघीय सरकारको सबै मन्त्रालय–निकायको स्वीकृत बजेटको इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चमा कटौती गरिएको छ ।

    भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेशिनरी तथा औजार, फर्निचर, निर्मित भवनको संरचनात्मक सुधार तथा पूँजीगत सुधार खर्चलगायत खर्च शीर्षकमा विनियोजित बजेटमा खर्च भई बाँकी रहेको मध्ये (दायित्व सिर्जना भइसकेको वाहेक) बजेट तत्काल लागु हुने गरी २० प्रतिशत कटौती गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका तर खरिद प्रक्रिया प्रारम्भ भइनसकेका आयोजना तथा कार्यक्रम (पूर्वसहमति प्रदान गरिएका एवम् क्रमागत आयोजना तथा कार्यक्रम वाहेक) को हकमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति÷सहमतिमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयको पूर्व स्वीकृतिविना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने, नयाँ दरबन्दी थप नगर्ने निर्णय समेत अथले गरेको छ । दरबन्दी भन्दा बढी कर्मचारी कुनै पनि निकायमा नखटाउने र खटाउनै पर्ने भए अस्थायी दरबन्दी स्वीकृत गरी मात्र गर्ने निर्णय समेत अर्थले गरेको छ । चालु आर्थिक वर्षमा कुनै पनि थप नयाँ संगठन स्थापना नगरिने भएको छ ।

    सबै प्रकारका गोष्ठी\कार्यशाला स्थगित, सवारी साधन नकिन्ने

    नेपाल सरकारको स्रोत तर्फका सवै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्ने निर्णय समेत अर्थले गरेको छ । फर्निचर र नयाँ सवारी साधन खरिद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी हाललाई रोक्का राख्ने निर्णय समेत भएको समेत मन्त्रालयको भनाइ छ ।

    नेपाल सरकारको स्रोतमा नेपाल सरकारको प्रतिनिधित्व गरी अनिवार्य रुपमा सहभागी हुने कार्यक्रमका लागि वैदेशिक भ्रमण गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य रुपमा लिने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयको सहमति नलिई कुनै निकाय र स्तरवाट थप दायित्व पर्ने कुनै निर्णय समेत अब मन्त्रालयहरुले गर्न पाउने छैनन् ।

    रकमान्तर नगर्ने

    चालु आर्थिक वर्षका लागि चालु खर्च तर्फ स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका कार्यक्रमको परिमाण र लक्ष्य कम हुने गरी नेपाल सरकारको स्रोत तर्फ हाललाई रकमान्तर नगर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

    अर्थले आर्थिक सहायता समेत रोक्ने निर्णय गरेको छ । गर्नैपर्ने अवस्था सिर्जना भएमा स्वीकृत मापदण्ड बमोजिम अर्थ मन्त्रालयको पूर्व सहमति लिनु पर्ने भएको छ । नेपाल सरकारको स्रोतमा विनियोजित निर्मित भवनको संरचनात्मक सुधार खर्च र पूँजीगत सुधार खर्च हाललाई स्थगनररोक्का गर्ने निर्णय समेत भएको छ ।

    सुरुवात नभएका कार्यक्रम स्थगित

    मन्त्रालयका अनुसार कार्यक्रम खर्च अन्तर्गत विनियोजन भएका तर शुरुवात नभएका कार्यक्रम रोक्का गर्ने निर्णय भएको छ । चालु आर्थिक वर्षमा नै भुक्तानी दिने गरी थप दायित्व सिर्जना नगरिने भएको छ । यो निर्णय सबै विश्वविद्यालय, प्रतिष्ठान, समिति, नियामक निकाय, बोर्ड लगायत सवै सार्वजनिक संस्थानमा समेत लागु हुने भएको छ । चालु तर्फको खर्चमा अनिवार्य दायित्व वाहेक न्यूनतम २० प्रतिशत कटौती गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई पनि अनुरोध गर्ने निर्णय समेत अर्थले गरेको छ ।

  • आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

    आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

    काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

    सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने भएको देखिएको छ । अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत मात्र रहने छ । युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने छ । मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशतले बढ्दा एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५.३ प्रतिशत रहने भएको छ ।

    नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुको वृद्धिदर १.८ प्रतिशत र अफ्रिकाको ३.८ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण रहेको छ । विश्व अर्थतन्त्रको ग्रोथ सन् २००० देखि सन् २०१९ को बीचमा ३.८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो ।

    कोभिड–१९ महामारीबाट उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेनले नराम्रो धक्का दिएको छ । यसको असर वर्षभर नै भोग्नु पर्ने देखिएको आईएमएफले जनाएको छ । यस वर्ष मुद्रास्फीति औसत ६.६ प्रतिशत रहने अनुमान छ । सन् २०२२ मा विश्वले मुद्रास्फीति ८.८ प्रतिशत थियो ।

    सन् २०२४ मा भने ४.३ प्रतिशतमा आउने देखिएको छ । यस आवमा नेपालमा भने ५ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान आईएमएफले गरेको छ । यो केही अगाडि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेकोमा दुई निकायको मिल्दोजुल्दो प्रक्षेपण आएको हो ।

  • सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी

    सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्‍मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने जानकारी दिए । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने बताए ।

    बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थिए ।

  • नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

    नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

    काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।

    सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ११७ औं स्थानमा रहेको थियो । नेपालले सन् २०२२ मा यस सूचकांकको १०० अंकमा जम्मा ३४ अंक मात्र पाएको छ ।

    सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने जम्मा १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ ।

    सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ वटा बढेको छ भने अन्य सबैको घटेको छ ।

    घट्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको रिडी पावरको १९ करोड २० लाख , लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख र गुराँस लाइभ इन्स्योरेन्सको ७ करोड ६७ लाखको कारोबार भएको छ ।

  • पोखरामा पनि अब सडकमा पार्किङ निषेध

    पोखरामा पनि अब सडकमा पार्किङ निषेध

    पोखरा । पोखरामासमेत अब मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ नपाइने भएको छ । पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।

    ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने।

    महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा महानगरले आग्रहसमेत गरेको छ।

  • उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५६ कम्पनीको ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ ।

    घट्दो बजारमा २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

    यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको १० करोड ४८ लाख र पिपल्स हाइडोपावर ९ करोड ५६ लाखको कारोबार भएको छ ।

  • सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

    सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

    काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने, राजस्व चुहावटलाई नियन्त्रण गर्ने उल्लेख छ ।
    देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावशक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ । अधुरा र विगतमा देखिने अलपत्र परेका आयोजनाको पहिचान गरी सोको सञ्चालनका लागि आवश्यक योजनासहित सम्बन्धित निकायबाट प्रस्ताव पेश आएमा आवश्यकता र औचित्वका आधारमा स्रोतको व्यवस्था गर्ने, वैदेशिक लगानीमा आउने उचारचढाव व्यवस्थापन गर्ने हेजिङ सेवाको प्रकृया सुरु गर्ने उल्लेख छ ।

    कार्ययोजनामा विदेशी विनिमय, राजस्व नीति, सरकारी अनुदान, बैंक कर्जा नीतिमा परिमार्जन नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्बन्धमा भएको स्वमूल्यांकन प्रतिवेदन एवं अन्य प्रतिवेदनबाट प्राप्त सुझावका आधारमा मन्त्रालयका निकायमा आवश्यक सुधार गर्ने व्यवस्था राखिएको छ । आगामी पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार गर्ने, तीन तहका सरकारबीच नीतिगत समन्वय कायम गर्ने, भन्सार दरमा पुनरावलोकन गर्ने, बन्द सरकारी संस्थान गर्ने सम्बन्धमा अध्ययन गरी पुनःसञ्चालनमा ल्याउने व्यवस्था अघि बढाउने उल्लेख छ ।

    बीमा क्षेत्रमा नीतिगत, संरचनागत प्रकृयागत सुधार गर्ने, धितोपत्र सम्बन्धी कानुनमा सुधार गर्ने, धितोपत्र दोस्रो बजार तथा यस सम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिष्पर्धी बनाउने उल्लेख छ । वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु सञ्चालनमा ल्याउने, साना तथा मझौला कम्पनीहरुलाई आवश्यक हुने पूँजी परिचालनमा सहयोग गर्ने, वित्तीय क्षेत्रमा सुधार गर्ने लगायत पनि नीति तथा कार्यक्रम कार्यान्वयन योजनामा व्यवस्था गरिएको छ ।

    अतिरिक्त सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजनाको अतिरिक्त अर्थ मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई दिएको निर्देशन अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित बुँदाहरुको कार्यान्वयन कार्ययोजना पनि तयार पारी कार्यान्वयनमा ल्याएको छ ।

    कार्ययोजनामा रुपान्तरणकारी र राष्ट्रिय योजनाका लागि विनियोजित बजेट अभाव हुन नदिने, रुपान्तरणकारी र राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकमबाट अन्य कार्यक्रममा रकामान्तर तथा कार्यक्रम संशोधन नगर्ने उल्लेख छ । आन्तरिक राजस्व विभाग र भन्सार विभागले लक्ष्य अनुसार राजस्व परिचालन गर्ने, लक्ष्य अनुसार राजस्व परिचालनका लागि नीतिगत सुधार गर्ने पनि उल्लेख छ ।

    यस्तै निजी क्षेत्रलाई विश्वासमा लिने गरी अर्थतन्त्रमा वर्तमानमा देखिएका समस्याहरुको समाधान गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने गरी योजना तयार गरी कार्यान्वयन गर्ने, अर्थ मन्त्रालयको कार्यक्षेत्र भित्रका विषयमा सेवा प्रवाहमा देखा परेका मन्त्रालय स्तरबाट समस्या समाधान गर्ने र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयमा नेपाल सरकारमा प्रस्ताव पेश गर्ने लगायतका गतिविधि गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दुवै कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै आवधिक रुपमा समीक्षा गर्दै अघि बढ्ने बताए । ४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयलाई कार्ययोजना तयार पार्न समय दिएको थियो ।

    उच्चस्तरीय राजनीतिक संयन्त्रले २५ पुस २०७९ मा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने थिए ।

    यसका लागि राजस्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने, कर छली, आयातमा न्यूनविजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने, कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाउने, करका दरहरू हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने उल्लेख थियो ।

    यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने, पूर्वाधारको क्षेत्रमा सञ्चालित अधुरा आयोजना कार्यान्वयनमा तीब्रता दिने लगायत उल्लेख थियो ।

  • एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

    एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

    काठमाडौं । सरकारले एक दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

    कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् ।

    यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्कर प्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा भरतपुर चितवन, रानी कुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरी पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट प्रालि पोखरालाई पनि कालोसूचीमा राखिएको छ ।

  • सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

    सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो ।

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो । विमानस्थल भित्रका सर्भरहरुमा समस्या आउँदा बेला बेला उडान प्रभावित बन्ने गरेका छन् ।

  • भोकमरी सूचकांकमा नेपालको सुधार

    भोकमरी सूचकांकमा नेपालको सुधार

    काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ भन्ने सन्देश हो । यसअघि सन् २०१४ मा नेपालले २१.२ अङ्क पाएको थियो।

    यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। समग्रतामा हेर्दा नेपालको अवस्थामा सुधार देखिए पनि प्रदेशगत आधारमा भने ठूलो असमानता देखिएको छ ।

    भोकमरीका कारण बालबालिकामा देखिएको पुड्कोपनको अवस्थालाई नियाल्दा कर्णाली प्रदेश सबैभन्दा पछाडि परेको छ। यस प्रदेशमा पुड्कोपनको ४७.८ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ४०.९ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखिन्छ। त्यस्तै बागमती प्रदेशमा २२.६ प्रतिशत र गण्डकी प्रदेशमा २२.६ प्रतिशत छ।

  • खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

    खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

    काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको भनाई छ । दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने बताएका हुन् ।

    मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए । बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर सो रकम जम्मा भएको उनले बताए । संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

  • सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

    सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको
    हो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ।

    कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य छन्। यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहने गरी कार्यदल बनाइएको हो। साथै यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव छन्। कार्यदलले नेपालमा भइरहने सवारी दुर्घटना र त्यसको न्यूनीकरणको उपायबारे समेत अध्ययन गर्नेछ ।

  • आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

    आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन

    काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

    समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहेका छन् । समितिलाई आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस बारेमा सरकारले गर्नुपर्ने कामबारे सुझाव दिने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    मंगलवार बानेश्वरमा आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो । आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्को हिजोको बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आचार्यले उठाएका विषयको सम्बोधन हुनुपर्ने र आचार्यले न्याय पाउनु पर्ने भन्दै प्रदर्शन भएको छ ।

  • होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले माघ ११ गतेदेखि नै लागू हुने गरी सो व्यवस्था खारेज गरिदिएको छ।

    यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो। अहिलेसम्म यसरी शुल्क लिनका लागि नियम कानुनले समेत उनीहरूलाई छुट दिएको थियो। श्रम ऐन २०७४ को दफा ८७ को ३ र श्रम नियमावलीको दफा ८२ ले अतिरिक्त सेवा शुल्क उठाउने छुट दिएको थियो। त्यसरी लिएको सेवा शुल्क श्रमिकलाई बाँड्नुपर्ने व्यवस्था थियो।

    उक्त कानुनी व्यवस्था संविधानको धारा ४४ र ११५ मा रहेका प्रावधान, उपभोक्ता संरक्षणका लागि निर्माण गरिएका कानुन, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएका मान्यता र जारी गरिएका मार्गदर्शनलगायत कुनै दृष्टिले हेर्दा पनि उचित र न्यायोचित नभएको फैसलामा उल्लेख छ।

    ‘संविधान प्रतिकूलका कानुन मान्य हुँदैनन्, त्यसैले विवादित कानुनलाई अमान्य र बदर घोषित गर्नुपर्ने अवस्था आयो,’ फैसलामा भनिएको छ, ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट किटानी रूपमा शुल्कको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएकोमा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले त्यसरी सामूहिक सम्झौताबमोजिम शुल्क लिने कार्य नगर्नूर नगराउनू र त्यस्ता कार्य रोक्नू।’

  • शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ०.८३ अंकले घटेर २१८३.२७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । बुधवार३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ ।

    स्थीर बजारमा आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइडोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    सूर्यज्योती लाइफ इन्स्योरेन्स शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज कारोबारको आधारमा सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ ।

    यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको ८ करोड ६१ लाख र ग्रीन लाइफको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

  • सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

    सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

    बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

    त्यस्तै बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर एक लाख ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।

  • तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग

    तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग

    काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न माग गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।

    आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुको आयात निरूत्साहित गरिनुपर्ने उनको भनाइ छ । उनले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लैजान पनि आग्रह गरे । राजस्व सचिव डा। रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितीमा आयोजित अन्तरक्रियामा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे ।

    सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्युन बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनको भनाई छ । बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले ‘मिसम्याच’ भइरहेको उनले बताए । वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै भन्सारमा कडाई गर्न समेत आग्रह गरे ।

    परिसंघले स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न सरकारी निकायहरुमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक विदाको दिन अन्य दिन जस्तै नियमित पूर्ण रुपमा काम गराउन, भन्सार जाँच पास पछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ ।

    राजश्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानै पर्ने बताए । औद्योगीकरणको प्रबर्द्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाई छ । त्यसका लागि सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । सचिव घिमिरेले चोरी पैठारी नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्ने बताए । यसमा निजी क्षेत्रको पनि सहयोग चाहिने उनले बताए । ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरुको संख्या बढाउने परिसंघको सुझावमा आवश्यक कदम लिने बताए ।

  • आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने

    आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने

    काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ । जतिसक्यो चाँडो प्रतिवेदन तयार पारेर बुझाउनेगरी गृह मन्त्रालयलाई छानबिनको जिम्मेवारी तोकिएको हो ।

    मंगलबार इलामका ३७ वर्षिय आचार्यले नयाँ बानेश्वरको संसद् भवन बाहिर आफैँलाई आगो लगाएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर अस्पतालमा ज्यान गएको छ । आफूले उद्यम गर्ने सिलसिलामा बैंक, वित्तीय संस्था, विभिन्न सुपर मार्केट, व्यापारिक घराना, सरकारी कार्यालय लगायतबाट ठगिएको उनले फेसबुकमा लेखेका छन् ।

  • विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

    काठमाडौं । विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने निर्णय गरेको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।

    पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न अनुरोध गरिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ । ७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

  • क्रसर उद्योग सर्तसहित खुल्ने

    क्रसर उद्योग सर्तसहित खुल्ने

    काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

    विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले उल्लेख गरेका छन् । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् । क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो । यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ ।

    बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाईफ हाइडोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।

    यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ । हिमाल दोलखाको ९ करोड २१ लाख र ग्रीन लाइफको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

  • पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने

    पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने

    काठमाडौं । मंगलबार राजधानीमा एक जनाले आत्मदाहको प्रयासमा आफैलाई आगो लगाए । सो घटनापछि प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई सचेत गराएको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले उल्लेख गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ। जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ ।

  • सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

    सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ ।

    मंगलवार सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

    यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

  • ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

    ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

    काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यद्दपी यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने कम हो । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घट्दा व्यापार घाटा समेत घटेको पाइएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आएको छ । आयात सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँको भएको छ ।

    गत आवमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजारको भएको थियो । यस वर्ष निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँ मात्र भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९६ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो।

    आयातमा कमी आएसँगै व्यापार घाटा १९ दशमलव १५ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रहेको थियो। कुल वैदेशिक व्यापार २१ दशमलव ८९ प्रतिशतले कमी भई आठ खर्ब ७३ खर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बरारको भएको छ ।

  • ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

    ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरिएको छ । उनको कार्यालयबाट साढे ९ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भएको जनाएको छ ।

    चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक हुन् । उनले टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । त्यही सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गर्दा घुस र बाँकी अरु रकम बरामद भएको हो । बाँकी रकम उनको कार्यकक्षमा रहेको स्टिलको दराजबाट बरामद भएको अख्तियारले जनाएको छ । अ

    ख्तियारका अनुसार, उनको साथबाट विभिन्न ब्राण्डका ९ बोतल मदिरा बरामद भएको छ । उनले आफ्नो साथमा रहेको बाहेक अरु ४ वटा मोवाईल पनि कार्यालयमा लुकाएर राखेको अवस्थामा भेटिएको छ । उनले पास उपलब्ध गराइदिन प्रतिमहिना १० हजार रुपैंयाका दरले घुस मागेको अख्तियारको दावी छ । उनले १५ महिनाको पासका लागि डेढ लाख रुपैया घुस मागेका थिए ।

  • अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

    अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।

    नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

    पूँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि उनले निर्देशन दिए । असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशीघ्र असुल उपर गर्न निर्देशन दिँदै उनले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पुरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमिकता दिन आग्रह गरे ।

    राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालयहरुका सचिवलाई निर्देशन दिए ।

    वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उनले अनुदान र ऋण परिचालनका लागि अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारुकता लिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए । वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशिल क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिए ।

    अर्थमन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थ मन्त्रालयले सुरु गरिसकेको र अन्य मन्त्रालले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गरे ।

    राजस्व सचिव डा।रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भीर हुन तथा गैरकर राजस्व संकलनमा सकृयताको लागि अनुरोध गरे ।

    अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी गराए । उनले पूँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको र चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

    वित्तिय व्यवस्थातर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । कार्यक्रममा पूँजीगत खर्च बढी विनियोजन भएका १२ वटा मन्त्रालयका सचिवहरु उपस्थित थिए ।

  • निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

    निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

    सोमवार वायुसेवा निगमले गरेको स्वागत कार्यक्रममा किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्।

    उनले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए। ‘कुन जहाज कतिबेला उडे? कहाँ रोकिए? के कारणले रोकिए भन्ने विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न’, उनले भने।

    उनले दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।

    ‘यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ,’ उनले भने, ‘आजदेखि जहाज रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैं साथ दिन्छु ।’ उनले सबै निजी सेवा प्रदायकले ई–टिकट व्यवस्था गर्दा निगमले किन गर्न सकिरहेको छैन भन्दै प्रश्नसमेत गरेका थिए ।

    मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए।