Category: अर्थतन्त्र

  • विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    १३ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ ।


    प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । सोही सन्दर्भमा घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको हो ।


    प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगहरूको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ।


    महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


    त्यस्तै सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।


    छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

  • आजको मन्त्रीपरिषद् बैठकले के के गर्यो निर्णय ?

    आजको मन्त्रीपरिषद् बैठकले के के गर्यो निर्णय ?

    काठमाडौँ, साउन १३ गते । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नौ वटा विधेयक स्वीकृत गर्दै महत्त्वपूर्ण पाँच निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रीपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरे । बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ।

    यसैगरी राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध र नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयकसमेत संसद्‌मा पेस गर्न स्वीकृति दिइएको छ।

    बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी निर्णय गर्नुका साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ। यसका साथै मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

  • व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

    व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

    १२ साउन, काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । उनलाई गत १० वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    १२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढमुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

    मुग्लिन,नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सो सडकखण्डमा सवारीआवगमन सुचारु गरिएको थियो ।

  • ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

    ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

    १२ साउन, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी ४८ जना बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले बचत फिर्ता गरेको हो।

    समितिका अनुसार बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीका आधारमा निर्धारित प्राथमिकता बमोजिम बचत फिर्ता गर्ने कार्य आगामी दिनमा पनि नियमित रूपमा जारी रहने छ। समितिले सहकारी ऐन, २०७४, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तथा सरकारको १०० दिने कार्ययोजनाअनुसार बचतकर्ताको मागदाबी र प्राथमिकताका आधारमा बचत फिर्ता गरेको जनाएको छ।

  • सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

    सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

    काठमाडौं, ११ साउन । सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गरेका छन् । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


    सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल सहभागी थिए । सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीमा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ । साथै एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृतिलगायतका तयारी पनि तत्काल पूरा गरिने उल्लेख छ ।


    सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्तिलगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनमै, बढीमा तीन महिनाभित्र, अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।


    चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा तोकिएका मापदण्डअनुसार मात्र सिट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सिट संख्या नबढाइने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ ।

    छात्रवृत्तिसम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने सहमतिमा उल्लेख छ ।
    यस्तै, चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैर–नाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष पेश गर्नेछ । उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउनेछ ।
    सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधार तथा सेवा विस्तारमा संघ तथा प्रदेश सरकारले प्राथमिकताका साथ समन्वय गर्ने पनि सहमतिमा उल्लेख छ ।
    सहमतिपत्रमा २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट तथा विनाशका घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीसँग सम्बन्धित भ्रष्टाचार तथा अपराधका घटनाको निष्पक्ष छानबिनलाई थप तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।


    यसैगरी, विगतका सहमतिहरूको कार्यान्वयन अवस्थाको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधि रहने गरी तीन महिनाभित्र कार्यदल गठन गरिनेछ। कार्यान्वयनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।

  • नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासमा धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री

    नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासमा धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री

    ११ साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उनले यस्तो धारणा राखेका हुन् । उनले पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा गएको मैले पाएको छु,’ उनले भने, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउनुहोस्।’

    नियमनको दायरा हेर्दा राष्ट्र बैंक जत्तिकै गह्रौँ दायित्व बोर्डमाथि रहेको भन्दै उनले विचलित नभई अघि बढ्न र लगानीकर्ताको सम्पत्तिको संरक्षण गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ सरकार गठनपछि बजारका लगानीकर्ताको अपेक्षा उच्च रहेको भन्दै अर्थमन्त्री वाग्लेले नियमनकारी कानुन निर्माण गर्दा सबै पक्षसँग परामर्श गर्न र सबैको साझा बुझाइ हुनेगरी लागू गर्न बोर्डलाई निर्देशन दिए ।

    सेयर बजारका हिस्सेदारहरूलाई साथमा लिएर पर्याप्त छलफल गर्न र सरोकारवालाहरूको माग सम्बोधन गर्न पनि उनले बोर्डलाई भने । नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी बजार बनाउने नवनियुक्त अध्यक्षको उद्घोषलाई आफूले कार्यान्वयनमा देख्न चाहेको पनि अर्थमन्त्री वाग्लेले बताए ।

    ‘एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी सेयर बजार बनाउने तपाईंको उद्घोषलाई म हेरिरहेको छु,’ अर्थमन्त्रीले बाेर्ड अध्यक्षलाई भने, ‘सबैको साथ लिएर अघि बढ्नुहोस्। लगानीकर्ताको सम्पत्तिको रक्षा गर्नुहोस्। सरकार र मन्त्रालयले के सहयोग गर्ने हो, भन्नुहोस्।’

    कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकास ब्लूप्रिन्ट तयार गरी लागू गरेको बताए । उनले यही साउन महिनाभित्रै प्राथमिक र दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन ल्यान्डिङ र सर्ट सेलिङ कारोबारका निर्देशिका तयार पार्ने र भदौमा सम्बन्धित क्षेत्रसँग परामर्शपछि लागू गर्दै जाने बताए ।

  • अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    काठमाडौँ, ११ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।

    दुई मन्त्रीले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो । सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।


    अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ गतेभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित प्रगति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष परिणाम महसुस गर्ने गरी निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै काममा ढिलाइ गर्ने कुनै पनि निकाय वा व्यक्तिलाई छुट नहुने स्पष्ट पारे ।


    “साउन १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता गरिएको थियो, तर अहिलेको प्रगति हेर्दा लक्ष्यअनुसार काम अघि बढेको देखिँदैन । यो समस्या कुनै एक निकायको मात्र होइन, हामी सबैको साझा कमजोरीका कारण सिर्जना भएको हो । अब सबै निकायबीच प्रभावकारी समन्वय गरेर समाधानमा केन्द्रित हुनुपर्छ´´ उनले भने “नागरिकले परिणाम चाहेका छन्, त्यसैले काममा ढिलाइ गर्ने छुट कसैलाई छैन । निर्धारित समयभित्र काम भए नभएको निरन्तर अनुगमन हुनेछ र जिम्मेवारी पूरा नगर्ने निकाय तथा व्यक्तिलाई आवश्यक कारबाही गरिनेछ ।”


    सञ्चारमन्त्री तिमिल्सिनाले प्रयोगमा नरहेका केबल तत्काल हटाउन निर्देशन दिँदै पोलमा तार झुण्ड्याउने सेवा प्रदायकले नै त्यसलाई हटाउने जिम्मेवारी पनि लिनुपर्ने बताए । कामका क्रममा कुनै कानुनी, प्राविधिक वा प्रशासनिक समस्या आए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका निर्वाह गर्न तथा सबै सेवा प्रदायकबीच समन्वय गरी स्पष्ट समयसीमासहितको एकीकृत कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए ।


    उनले वर्षायामका बाबजुद निरन्तर काम गरिरहेका प्राविधिक जनशक्तिको प्रशंसा गर्दै कामको गति अझ तीव्र बनाउनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि अव्यवस्थित तार व्यवस्थापन र भूमिगत केबलिङ दुवै कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै निकाय जवाफदेही हुनुपर्ने बताए ।

    उनले न्युरोड र विशालबजार क्षेत्रमा तार व्यवस्थापनपछि सहरी सौन्दर्यमा आएको सुधार उदाहरणीय रहेको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि त्यही ढाँचामा काम विस्तार गरिने जानकारी दिए । उनले भने, “अव्यवस्थित तार हटाउने अभियान सरकार वा कुनै एक संस्थाको एकल प्रयासबाट सफल हुँदैन । नियामक निकाय, सेवा प्रदायक र स्थानीय तह सबैले एउटै लक्ष्यका साथ काम गर्नुपर्छ । यो नागरिकको सुरक्षासँग मात्र होइन, व्यवस्थित र सुन्दर सहर निर्माणसँग पनि जोडिएको विषय हो ।´´

    अनुगमनका क्रममा मन्त्रीद्वयले विद्युत् वितरण पूर्वाधारको अवस्थासमेत अवलोकन गरे । सरकारले काठमाडौँका विभिन्न छ क्षेत्रमा पाइलट परियोजनाका रूपमा तार व्यवस्थापन अभियान सञ्चालन गरी त्यसबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विषयगत मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक कानुनी सुधारको प्रक्रिया पनि अघि बढिरहेको छ ।्


    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्का कारण कार्यसम्पादनमा केही ढिलाइ भएको जानकारी दिँदै साउन १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य अब थप १५ दिनभित्र पूरा गर्ने गरी काम भइरहेको बताए । उनका अनुसार धेरै स्थानमा पोलमा रहेका तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्न कठिनाइ भएको, कतिपय तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नभएको तथा सडक क्षेत्रमा दिउँसो काम गर्न नपाउने व्यवस्थाका कारण पनि काम प्रभावित भएको छ ।


    हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने कार्य तीव्र रूपमा भइरहेको छ भने काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य स्थानमा पनि चरणबद्ध रूपमा व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ । साथै, सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ ।


    सरकारले गत असार ३१ गते नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसअघि जेठ २८ गते दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न छ क्षेत्रमा चरणबद्ध रूपमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको थियो ।


    अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम बढ्नुका साथै सहरी सौन्दर्यसमेत प्रभावित भएको छ । यो समस्या निराकरण गर्न सरकारले अभियानकै रुपमा घोषणा गरी समयबद्ध, समन्वित र परिणाममुखी बनाउँदै राजधानीलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने लक्ष्यका लिएको छ ।

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन

    ११ साउन, काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे ।


    त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे ।

    उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबिच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिए । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबिचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

    यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । नागढुङ्गा सुरुङ दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीक भएको उनको भनाइ थियो ।

    नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताए । उनले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गरे ।
    राजदूत माएदाले परियोजनामा योगदान पु¥याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । आगामी वर्षौंसम्म नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उनले बताए ।

    त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उनको भनाइ थियो ।

    उनले जापानी र नेपाली इन्जिनियरहरूले भौगोलिक जटिलता तथा प्राविधिक चुनौतीबीच काँधमा काँध मिलाएर काम गरेकाले यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न भएको बताए । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ ।

    सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।

    यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ ।

    मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ । नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

    राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

    ११ साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए ।

    नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उनले निर्देशन दिए। नेपालमा कर संकलनको विगतको तथ्याङ्क हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन । राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,’अर्थमन्त्री डा.वाग्ले भने, अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस्। करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर संकलन गर्नुहोस्।’


    कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने उनकाे भनााइ छ । कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ . इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।’


    भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताए । नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।


    सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिए ।
    उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिए । भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उनले आग्रह गरे ।

  • पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग

    पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग

    ११ साउन, काठमाडौं । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्।

    यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ। कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ।

    वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौंमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ।

  • नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

    ११ साउन, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई. सञ्जय पन्थीका अनुसार सोमबार बिहान सुरुङमार्ग उद्घाटन हुँदैछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्नेछन् । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने छ । सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने छ ।

    आयोजनाका उपनिर्देशक पन्थीका अनुसार आजबाट सुरुङमार्गमा सबै सवारीसाधन सञ्चालनमा आउन सक्दैनन । तीन महिनासम्म परीक्षणकाल सञ्चालन हुनेछ । केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवतजावत गर्न दिई परीक्षणकाल सञ्चालन गरिने छ ।

    निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको छ । निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ । आयोजनाको काम सम्झौताभन्दा झन्डै दोब्बर समयमा सम्पन्न भएको छ ।

    सम्झौता अनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ८० महिनामा आयोजनाको काम सम्पन्न भएको हो । कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋण रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो ।

    यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको छ । आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर लामो छ । आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि छ सय रुपियाँसम्म शुल्क तिर्नुपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।

  • किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण

    किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण

    १० साउन, काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यबाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

    कार्यबाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के। सी। को संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरूमा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ थिए ।

    प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने ९ब्याक फ्लो० समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ ।

    विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

    अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् ।

    प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

    दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि विस्तारै निकास दिन सहयोग पुग्नेछ ।

    त्यस्तै, टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।

    सडक, खानेपानी, ढल र विद्युत् जस्ता निकायहरू बीच समन्वयको अभावमा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्वका साथ उठाएको छ ।

  • ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री

    ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री

    काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ ” अर्थमन्त्री वाग्लेले भने ।


    प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनकाे भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए ।

    “सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भने, “सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो।”


    बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए ।
    नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरे ।


    “डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,” अर्थमन्त्रीले भने, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो।”


    सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के-के सहजीकरण गर्नुपर्छ, स्पष्टसँग भन्न पनि उनीहरूलाई आग्रह गरे । अस्ट्रेलियाको कुल जनसङ्ख्याको एक प्रतिशत हाराहारीमा रहनुभएका नेपालीहरू नेपालको समृद्धिका सम्पत्ति भएको भन्दै उनले देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न पनि सबैलाई आग्रह गरे ।

  • विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग

    विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग

    ९ साउन, काठमाडौं। आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गम्भीर चासो दिएका छन् ।


    असार महिनामा खपत भएको विद्युतको बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विषयको कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिए ।


    मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशनसमेत दिए । मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युतको बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ ।

    साथै, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागू हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ । यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको छ ।

  • पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै

    पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै

    ९ साउन, काठमाडाैं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।


    विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।

    सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो ।


    प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायतका जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।


    टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।


    त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

    दुवै सबस्टेशन रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदूर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ ।


    प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ।

  • बुध्दले थप्यो नयाँ सिरिजका एटीआर जहाज

    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर जहाज

    बुध्द एयरले आज २५ जुलाई, शनिबार देशमै पहिलो पटक एटिआर–७२–६०० जहाज भित्र्याएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि यो जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।


    बुध्द एयरले कल साईन 9N-AOS जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो । यस एटीआर–७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेका छन् ।


    क्षेत्रीय विमानहरुमा यो सिरिजका जहाज कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छ । त्यसैगरि जहाजभित्रको बनाबट सुधारिएको हुँदा ध्वनि प्रदुषण पहिलाको सिरिजभन्दा कम हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

    RNP-AR भूउपग्रह प्रणाली
    बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा RNP-AR (Required Navigation Performance – Authorization Required) एप्रोच प्रणाली जडान गरिएको छ । प्रमाणित भइसकेको यस प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।


    नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि RNP-AR आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा समेत बुध्द एयरको यस जहाजले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।


    कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ । एटीआर–७२–६०० विमानको आगमनले नेपालको आन्तरिक हवाई सेवामा नयाँ सम्भावना र आधुनिक प्रविधिको सुरुवात गरेको छ ।
    हाल Instrument Landing System (ILS) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर, तथा काठमाडौं र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
    थप जहाजहरु आउँदै
    बुध्द एयरले अर्को एक एटीआर–७२–६०० सिरिजका जहाज अगस्त अन्तिम/सेप्टेम्बरतिर भित्र्याउने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त जहाजको कल साईन 9N-AOT रहेको छ । त्यसैगरि आगामी केही महिनाभित्र यस्तै सिरिजका थप २ जहाज भित्र्याउने योजना अनुसार कार्य गरिरहेको छ ।


    बुध्द एयरसँग हाल एउटा एटीआर–४२–३२०, पन्ध्रवटा एटिआर–७२–५०० एवं एउटा एटिआर–७२–६०० जहाजहरु रहेका छन् । बुध्द एयरले विगतमा ३ वटा एटीआर जहाजहरु सम्पूर्ण साईकल चलाई उडानबाट विदाई गरेको थियो । त्यसमा एउटा एटीआर–४२–३२० जहाजको थोरै उडान साईकल हुँदा Part-Out का लागि युरोपको हंगेरिस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।


    हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुढृढ बनाउने कम्पनीले जनाएको छ ।


    बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

  • स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    काठमाडौं/ स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।

    बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो।


    यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।

    स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।

  • नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन

    नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन

    काठमाडौँ, ८ साउन : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोट जिल्लाको समग्र विद्युत् आपूर्ति अवस्था, विद्युत् पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिदै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    सञ्चारमन्त्री डा. तिमिल्सिनाले आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गदै जिल्लामा विद्युत् आपूर्तिको अवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका थालिएका पहलबारे विस्तृत जानकारी लिए ।

    छलफलका क्रममा उनले जिल्लावासीबाट पटक–पटक विद्युत् ‘झ्यापझ्याप’ जाने (बारम्बार विद्युत् अवरुद्ध हुने) समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिए । विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन भनिएको छ ।

    सञ्चारमन्त्री तिमिल्सिनाले नागरिकको माग र आवश्यकता अनुसार ट्रान्सफर्मर, विद्युत्‌का पोल, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिदै जिल्लाको वास्तविक आवश्यकता अनुसार विद्युत् पूर्वाधार पर्याप्त भए–नभएको मूल्याङ्कन गरी आवश्यक स्थानमा तत्काल विस्तार गर्नुपर्ने बताए ।

    उनले पहिरो, प्राकृतिक विपद् वा अन्य कारणले ढलेका विद्युत्‌का पोल तत्काल प्रतिस्थापन गरी अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए । साथै जोखिमपूर्ण अवस्थामा रहेका झुन्डिएका तथा अव्यवस्थित विद्युत्‌का तारको व्यवस्थापनलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

    जिल्लाका केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा समेत मन्त्री तिमिल्सिनाले चासो व्यक्त गरे । दुरसन्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरे ।

    उनले विद्युत् सेवा केवल बत्ती बाल्ने विषय मात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार, डिजिटल सेवा, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएकाले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन प्राधिकरणले सक्रिय रूपमा काम गर्नुपर्ने बताए ।

    छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणले जिल्लामा विद्युत्‌को ठूलो प्रकृतिको समस्या नरहेको जानकारी दिए ।उनका अनुसार केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः कालो (इन्सुलेटेड) तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    प्रमुख रमणले आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारका लागि बजेटको अभाव नरहेको उल्लेख गर्दै नागरिकले गुनासो गरेका स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले हाल एकल फेज (सिंगल फेज) र तीन फेज (थ्री फेज) विद्युत् जडानका अधिकांश सेवाहरू एउटै दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी, उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक ‘टाइम अफ डे (टिओडी) मिटर’ जडानको सेवा अधिकतम दुई दिनभित्र उपलब्ध गराउने गरी सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाइएको उनको भनाइ थियो ।


    छलफलमा नुवाकोटमा विद्युत् पूर्वाधारको सुदृढीकरण, सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा दूरसञ्चार सेवासँग सम्बन्धित विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

  • नेपाली उत्पादन प्रवर्द्धन गर्न सरकार तयार : प्रधानमन्त्री

    नेपाली उत्पादन प्रवर्द्धन गर्न सरकार तयार : प्रधानमन्त्री

    ८ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका थिए ।

    झन्डै दुई घण्टा चलेको उक्त छलफलमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष वलराम गुरुङले नेपाली गलैंचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ निमयले निर्यातमा कठिनाइ भएको र व्यवसायीहरु मारमा परेको गुनासो गरे । उनका अनुसार यही जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको, नापतौल विभागको ल्याब पनि जेन जी आन्दोलनमा डढेको छ।

    त्यसैले उनले अर्को व्यवस्था नभएसम्म एक वर्षको लागि उक्त परीक्षण छुट (ग्रेस पिरेड) पाउन परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन माग गरेका थिए । प्रधानमन्त्री शाहले तत्कालै उनको माग कार्यान्वयनका निम्ति उक्त मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    गलैंचा उत्पादनका लागि बाहिरबाट आउने कच्चा पदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ पनि बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । अहिले महिनामा तीन पटक मात्र सर्टिफिकेसनको काम हुँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनको भनाइ थियो।

    प्रधानमन्त्री शाहले तुरुन्तै ‘क्वरेन्टिन सर्टिफिकेसन’को काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । यस्तै, गुरुङले उद्योग मन्त्रालय मातहतमै रहने गरी गलैंचा विकास बोर्ड गठनको माग गरेकोमा प्रधानमन्त्री शाह त्यसमा सकारात्मक भए । साथै, प्रधानमन्त्री शाहले कर्णाली र सुदूरपश्चिममा भेडा पालन गरेर मासु र ऊन उत्पादन लगायतमा जोड दिन सरकारले भूमिका खेल्ने बताए ।

    यस्तै, नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइउडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गरे । उनका अनुसार नेपालमा ८५ वटा प्लाइउड उद्योगले चार हजार करोड रुपैयाँ लगानी गरेका छन् तर प्लाइउडको लागि आवश्यक पर्ने कच्चा पदार्थ (भेनियर) नेपालबाट निकै सस्तो भन्सार दरमा भारत निकासी भइरहेको छ। प्रधानमन्त्री शाहले त्यसको भन्सार शुल्क बढाएर कच्चा पदार्थ निर्यातमा निरुत्साहन गर्न पनि सरकार जुटेको बताए ।

    नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भएपनि वन ऐनका कारण उक्त चरन क्षेत्रमा भेडापालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिए । लामिछानेले स्थानीय तहमै पश्मिनाका लागि आवश्यक ऊन र प्राकृतिक रेशाहरु संकलन केन्द्र र प्रदेशमा त्यसको प्रसोधन केन्द्र खोल्नुपर्ने माग राखेकोमा प्रधानमन्त्री शाहले त्यसका लागि पनि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

    नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले नेपालमा केही कानूनी अड्चनले गर्दा आफूहरुले भनेजस्तो उत्पादन र निर्यात गर्न नसकेको गुनासो गरे । डग च्युलाई डेरी उत्पादनमै राखेकोमा ‘पेट फुड’ उद्योगको रुपमा राख्नुपर्ने र यस्ता उद्योगलाई ‘स्किम्पड मिल्क पाउडर’ आयात गर्न सहज गरिदिनुपर्ने उनको मागबारे अध्ययन गरेर उपयुक्त लागे सम्बोधन गरिने पनि प्रधानमन्त्री शाहले बताए ।

  • सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ :  शिक्षामन्त्री पोखरेल

    सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ, ७ साउन । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
    शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका सरोकारवालासँग भएको छलफलमा मन्त्री पोखरेलले निजी क्षेत्र सरकारको साझेदार भएकाले समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।

    उहाँले विद्यार्थीको हितलाई केन्द्रमा राखेर शैक्षिक परामर्श दिने जिम्मेवारी कन्सल्टेन्सीहरूको पनि रहेको उल्लेख गर्नुभयो ।


    उहाँले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको जानकारी दिँदै आवश्यक परे कानुनी प्रक्रियाअनुसार त्यसमा संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । नाफामुखी सोचभन्दा गुणस्तरीय सेवा र सही परामर्शलाई प्राथमिकता दिन उहाँले कन्सल्टेन्सी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।


    प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न सरकार र संसद् दुवै सकारात्मक रहेको बताउँदै नियमावलीमा रहेका कमजोरी प्रक्रियाअनुसार सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले विद्यार्थी ठगी नियन्त्रण गर्दै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


    छलफलमा सहभागी कन्सल्टेन्सी व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ लाई समग्रमा सकारात्मक बताए पनि संस्था दर्ताका लागि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले नेपाललाई ’ग्लोबल एजुकेसन हब’ का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा पनि राखे ।


    मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, गुणस्तरीय सेवा प्रवद्र्धन, नीतिगत सुधार, नियामकीय व्यवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे सुझाव संकलन गरिएको थियो ।
    कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

  • शिक्षामन्त्रीसंग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसंग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङबीच शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।


    सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण कोरियाबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा क्षेत्रमा कोरिया सरकारको सहयोग, सूचना प्रविधि तथा प्राविधिक शिक्षामा आगामी सहकार्यका सम्भावनाबारे विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।


    भेटका क्रममा मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताउँदै आगामी पाँच वर्षभित्र कुल बजेटको १५ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिए ।
    उनले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास भए पनि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता कायम रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी विस्तार गरिने बताए । विद्यालय तथा उच्च शिक्षामा प्राज्ञिक स्वायत्तता सुदृढ गर्ने, विश्वविद्यालयहरूबीच ‘फ्याकल्टी एक्सचेन्ज’ कार्यक्रम सञ्चालन गर्ने तथा कोरियाली र नेपाली कम्पनीबीच सहकार्यमार्फत प्राविधिक शिक्षाको विकास गर्न सकिने धारणा पनि उनले।राखे ।


    दक्षिण कोरिया सरकारले नेपालमा विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षाको विकासमा सहयोग गर्दै आएको छ । विभिन्न विश्वविद्यालयसँगको सहकार्यका अतिरिक्त मधेश र गण्डकी प्रदेशमा पोलिटेक्निक संस्थानको पूर्वाधार निर्माणमा पनि कोरियाको सहयोग जारी छ ।


    राजदूत पार्क तइ योङले शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा दक्षिण कोरियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालको शिक्षा सुधार र आर्थिक रूपान्तरणमा आफ्नो सरकार सहकार्यका लागि प्रतिबद्ध रहेको बताए ।


    शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएका कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक विकास हासिल गरेको उल्लेख गर्दै राजदूत योङले आफ्नो सरकारले कुल बजेटको करिब १५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए ।

  • विद्युतीय दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार क्षतिपूर्ति दिने

    विद्युतीय दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार क्षतिपूर्ति दिने

    ७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीमा विद्युतीय दुर्घटनामा परी गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्च, क्षतिपूर्ति तथा कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीडित बालकको उपचार खर्च, दुर्घटना क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकैबाट गएको ११ केभी विद्युत् लाइनको तार छोएपछि दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकले दुवै हात गुमाएका छन् ।

    प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम (१) बमोजिम विद्युतीय दुर्घटनाबाट पीडितलाई क्षतिपूर्ति तथा औषधोपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

    विनियमावलीमा भएको व्यवस्थाअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति तथा औषधोपचार खर्च विभागीय प्रमुखले, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशकले, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृतले र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

    यसै व्यवस्थाअनुसार पीडित बालकको उपचार, क्षतिपूर्ति र कुरुवा खर्चसमेत समेटेर १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युतीय दुर्घटनाबाट पीडित बालकको परिवारलाई कानुनी व्यवस्था र विगतका नजिरका आधारमा सहयोग उपलब्ध गराइएको बताए ।

    मन्त्री श्रेष्ठले मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने उल्लेख गर्दै उपलब्ध गराइएको आर्थिक सहयोगले पीडित बालक र परिवारले भोगिरहेको पीडा पूर्ण रूपमा कम गर्न नसके पनि जीवनयापन तथा उपचारमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    “जतिसुकै रकमले पनि पीडित परिवारको पीडा कम गर्न सक्दैन । तर राज्यको दायित्व पीडितको साथमा उभिनु, उपचार र पुनर्स्थापनामा सहयोग गर्नु हो,” मन्त्री श्रेष्ठले भने, “त्यही मान्यताअनुसार कानुनी व्यवस्था र विद्यमान प्रक्रियाबमोजिम सहयोग उपलब्ध गराइएको हो ।”

    उनले बीमा, उपचार तथा क्षतिपूर्तिको व्यवस्था आफ्नो ठाउँमा रहे पनि पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटनाको न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज दुवै पक्ष थप सचेत हुनुपर्नेमा जोड दिए ।

    मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाका कारण भइरहेको जनधनको क्षति चिन्ताजनक रहेको बताउँदै विद्युत् दुर्घटना न्यूनीकरणका लागि प्राधिकरणलाई आफ्ना विद्युतीय संरचनाको नियमित मर्मत–सम्भार गर्न, जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी बढाउन, सुरक्षा सतर्कता र मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

    “पछिल्ला वर्षहरूमा विद्युतीय दुर्घटनाका घटना चिन्ताजनक रूपमा बढिरहेका छन् । त्यसैले नेपाल विद्युत् प्राधिकरणलाई आफ्ना विद्युतीय संरचनाको नियमित मर्मत–सम्भार, जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन, सुरक्षा मापदण्डको कडाइ र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छु,” उनेले भने ।

    विद्युतीय दुर्घटना न्यूनीकरण सरकार वा नेपाल विद्युत् प्राधिकरणको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नागरिकको सचेतना र सावधानी पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । विद्युत् प्रसारण तथा वितरण संरचनाको नजिक घर निर्माण गर्ने, भवनका छतमा जाने तथा विद्युत् तारको आसपासमा काम गर्ने क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

    उनेल सुरक्षित नेपाल निर्माणका लागि विद्युत् पूर्वाधार वरिपरि आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे समयमै सचेत हुन सबै नागरिकसँग आग्रह गरे ।

    विद्युतीय दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न प्राधिकरणले जोखिमयुक्त स्थानको पहिचान, विद्युत् संरचनाको नियमित निरीक्षण तथा मर्मत–सम्भार, जोखिम क्षेत्रको सुरक्षा व्यवस्थापन र स्थानीय तह तथा नागरिकसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी विद्युत् लाइन तथा संरचनाको नजिक रहेका घर, विद्यालय, सार्वजनिक भवन र अन्य भौतिक संरचनाबाट हुनसक्ने जोखिमलाई समयमै पहिचान गरी आवश्यक सुरक्षा उपाय अवलम्बन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    प्राधिकरणले दुर्घटनाबाट पीडितलाई प्रचलित कानुनी व्यवस्था र विनियमावलीअनुसार क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउँदै आए पनि विद्युतीय दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न पूर्वसावधानी, संरचनागत सुरक्षा र नागरिक सचेतनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

  • ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

    प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार (IEX-DAM, IEX-RTM, NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी हासिल भएको हो।

    निर्यात आम्दानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

    समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (Net Trade Surplus) हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।

    देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।

  • झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    काठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका
    र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

  • नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

    नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

    ७ साउन, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो।

    भेटका क्रममा FAO का प्रतिनिधिले विश्वका अधिकांश देशहरूका साथै एसियाका लगभग सबै राष्ट्रमा जीआई (GI) प्रणाली लागू भइसके तापनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए । नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्डहरू अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल पक्का कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिए ।

    जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी गराइन । उनले यस विषयलाई गम्भीरताका साथ लिँदै कानुन मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन ।

  • राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा

    ७ साउन, काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

    बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिए ।

    कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए ।

    सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

  • अर्ग्यानिक  कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्रीको निर्देशन

    अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्रीको निर्देशन

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अग्र्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।


    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उनले आज छलफलका लागि बोलाएका थिए ।

    सो क्रममा पदाधिकारीहरुले अग्र्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरे ।


    यस्तै, अग्र्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए ।

    नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भए ।


    प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए ।


    प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राख्नुभएको थियो। प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनिहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिए ।

    अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक भए ।
    साथै, अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए ।


    छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।

  • हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

    हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

    ७ साउन, काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

    विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

    विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, यसअघि पटकपटक पत्राचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो।

    भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

    विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफैं फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

  • अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

    अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

    ७ साउन, काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।

    युवा, श्रम तथा रोजगार मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो। विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो। अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन समेत देखिएको छ ।

    सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सिटिइभिटी) लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ।

    अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। अनुगमन टोलीले उपलब्ध गराएको कागजातहरूको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ।