Category: अर्थतन्त्र

  • वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    मध्यविन्दु (नवलपरासी), ३२ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए ।
    उहाँका अनुसार लगातार वर्षा हुन थालेपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी भूभागका केही क्षेत्रमा अझै रोपाइँ जारी छ ।

    गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही स्थानमा अझै रोपाइँ भइरहेको उनले बताए ।


    “मनसुन सुरुआतमा केही कमजोर रहे पनि पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन्,” उनले भने, “मौसम अनुकूल रहे आगामी केही दिनमै अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कूल ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ भने बाँकी ४५ प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान वर्षाको भरमा रोपाइँ गर्नुपर्ने भएकाले रोपाइँको गति मौसमसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

    जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धानखेती हुँदै आएको छ । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको अर्थविज्ञ ढकालले बताए ।


    गत आर्थिक वर्ष २०८२\८३ मा जिल्लामा करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष धानखेती हुने क्षेत्रफल १८ हजार ५०० हेक्टर कायम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि प्राविधिकका अनुसार आगामी केही दिन मौसम अनुकूल रहे यस वर्ष पनि लक्ष्यअनुसार सम्पूर्ण क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।

  • नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    रासस
    नवलपुर (नवलपरासी), ३१ असारः देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो । नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिगाहा क्षेत्रफलमा यो आयोजना अघि बढाइएको हो । आयोजनाको शिलान्यास २०७६ वैशाख ७ मा भए पनि निर्माण कार्य २०८१ सालपछि मात्रै तीव्र रूपमा अघि बढेको हो ।

    सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालका अनुसार हाल दुई वटा ठेक्कामार्फत पहिलो चरणमा १४ वटा भवन निर्माण भइरहेको छ ।

    पहिलो ठेक्काअन्तर्गत चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत प्रशासनिक भवन निर्माण गरिरहेको छ । रु २७ करोड लागतमा उक्त निर्माण कार्य आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म यसमा ५० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । एकीकृत भवनमा हुलाक, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक, जिल्ला निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइलगायतका कार्यालय सञ्चालन हुनेछन् ।

    यस्तै, जिल्ला अदालत, जिल्ला समन्वय समिति र सशस्त्र प्रहरी बलका लागि भने छुट्टै भवन निर्माण भइरहेको छ । सबै भवन अपाङ्गमैत्री हुनेछन् । तीनतले भवनमा लिफ्ट र ¥याम्पको व्यवस्था गरिनेछ भने जिल्ला अदालतको भवन चारतले हुनेछ । दोस्रो ठेक्काअन्तर्गत समानान्तर–बुद्ध हिमाली जेभीले सिटी हलसहित ११ वटा भवन, सडक, खानेपानी, विद्युत्, तटबन्ध र पर्खाल निर्माणको काम गरिरहेको छ । रु तीन अर्ब ५० करोडको यो ठेक्कामा हाल ४२ प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार आयोजना सम्पन्न भएपछि यहाँ २३ मिटर चौडाइका सडक, फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्क, हरियाली क्षेत्र र करिब आठ किलोमिटर आन्तरिक सडक सञ्जाल निर्माण हुनेछ । पहिलो चरणमै ५०० क्षमताको सिटी हल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अन्य सङ्घीय कार्यालय सञ्चालनमा आउनेछन् ।

    गुरुयोजनाअनुसार प्रशासनिक, न्यायिक, सुरक्षा, सार्वजनिक सेवा र हरियाली क्षेत्र छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायत कर्मचारीका लागि आवास, अतिथिगृह, पुस्तकालय, सभाहल, खाजाघर, पार्किङ, फुटबल र क्रिकेट मैदानसमेत निर्माण गर्ने योजना छ ।


    आयोजनाअन्तर्गत कुल ४५ वटा सरकारी भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । कुल क्षेत्रफलको ६० प्रतिशत भाग कङ्क्रिटरहित हुनेछ भने २१ दशमलव ५९ प्रतिशत क्षेत्र खुला रहनेछ । पार्किङ क्षेत्रमा एकैपटक ९५० वटा कार र १०० वटा बस पार्किङ गर्न सकिनेछ ।

  • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    काठमाडौँ, ३२ असारः ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी( का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ ।

    पिआइडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सिजिसिओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौँ उपत्यकाको ढल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो ।

    प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्ने, नदी सफा हुने र उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्नेछ । पिआइडीले धोबीघाटमै दैनिक तीन करोड ७२ लाख लिटर क्षमताकै अर्को ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । त्यसैगरी, कोडकुमा दैनिक एक करोड ४२ लाख लिटर, सल्लाघारीमा एक करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

    निर्देशनालयका अनुसार पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुन्छ । हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक करिब २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताए ।

    उनले नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

  • सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    काठमाडौँ, ३१ असारः सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज सर्वोच्च अदालतको आदेशविपरीत आयोगले सूचना प्रकाशित गरेको पूर्ण इजलासबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैको पनि सम्पत्ति विवरण माग गर्न र जाँचबुझको काम अघि नबढाउन अन्तरिम आदेश गरेको हो ।

    पूर्वन्यायाधीश फोरम नेपाल र अधिवक्ता एमआर उपाध्यायले दायर गर्नुभएका छुट्टाछुट्टै रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगलाई तत्काल काम अघि नबढाउने आदेश भएको र आदेशको लिखित पाठ भने आउन बाँकी छ ।

    यसअघि, सर्वोच्च अदालतले यही असार २६ गते न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रस्तुत रिट निवदेनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु, पेस हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसैउपर पनि कुनै पनि किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्नु नगराउनु अन्तरिम आदेश गरेको थियो ।

    अदालतको आदेशसको पूरै प्रतिकूल हुने गरी आयोगले यही असार २९ गते सूचना प्रकाशित गरेपछि सर्वोच्च अदालतमा आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी र सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी, प्रकाश लम्साल र सम्पत्ति आयोगलाई अदालतको अवहेलनामा निवेदन दायर गरिएको छ । यही असार ३२ गते पेसी रहेको छ ।

  • निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    काठमाडौँ, ३१ असारः प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे ।

    प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल समेत सहभागी भएको छलफलमा हानका पदाधिकारीले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए । हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताए ।


    मुलुकलाई आरोग्य पर्यटन, ‘विवाह गन्तव्य’ र सीमापार पर्यटनका रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको औँल्याउँदै उनीहरुले सरकारसमक्ष केही नीतिगत मागहरू प्रस्तुत गरेका थिए । उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह विद्युत् महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि २५ श्ययासम्मको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययन अव्यावहारिक भएकाले त्यसलाई ५० श्ययासम्म कायम गर्न माग गरे ।


    यसैगरी, उनीहरुले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गरे । उनीहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरणअन्तर्गत ‘ट्रेडमार्क’ प्रयोगको ‘रोयल्टी’ रकम, प्रचलित करबाहेक कूल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा नबढ्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने प्रबन्ध मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न आग्रह गरेका थिए ।


    मुलुकलाई विवाह गन्तव्यका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रवर्द्धनका लागि ‘फोटो–भिडियो’मा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको ‘प्याकेज’ र विज्ञहरूको व्यवस्था गर्न उनीहरुले सरकारसँग आग्रह गरे । हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए ।

  • नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

    नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

    रासस
    तानसेन (पाल्पा), ३१ असारः अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् । पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।

    यहाँका मिन सी, सुकुमार सीलगायत नेता राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् । उनीहरु विगत तीन वर्षदेखि धान, गहुँ, आलुखेतीमा लागेका हुन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका हुन् ।

    प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ ।
    सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको भन्दै उत्पादनतर्फ लागेको बताए ।

    सीले भने, “नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने बताए । मुलुक कृषि प्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ । “चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ”, सीले भने । गतवर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो ।

  • हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग

    हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग

    वासिङ्टन, ३१ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गरे ।


    ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गरे । त्यसका कारण त्यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिने खाडी राष्ट्रहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ थियो ।

    पछि न्युजम्याक्ससँगको अन्तर्वार्तामा उनले हालैको अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गरे । इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको उनको भनाइ थियो।

    राष्ट्रपति ट्रम्पले इरानसँग रहेका १५९ वटा नौसैनिक जहाजमध्ये अधिकांश नष्ट भएको दाबी गर्दै अहिले ती समुद्रको सतहमुनि पुगेको टिप्पणी गरे । त्यस्तै, इरानका करिब २०० वटा विमान नष्ट भएको, राडार तथा एन्टी–एयरक्राफ्ट प्रणाली ध्वस्त पारिएको र हतियार उत्पादन गर्ने क्षमता करिब ८४ प्रतिशतसम्म कमजोर बनाइएको उनले दाबी गरे ।


    निरन्तर सैन्य अभियानपछि इरानको आक्रामक क्षमता उल्लेखनीय रूपमा घटेको भन्दै ट्रम्पले अहिलेको इरान चार महिनाअघिको इरानभन्दा पूर्ण रूपमा फरक अवस्थामा पुगेको बताए । उनका अनुसार इरानसँग अझै केही मिसाइल र सीमित सैन्य क्षमता बाँकी रहे पनि त्यसको प्रभाव पहिलेको तुलनामा निकै कम भइसकेको छ ।

    इरानलाई मध्यपूर्वको अस्थिरताको प्रमुख स्रोतका रूपमा चित्रण गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले तेहरानप्रति कडा नीति अवलम्बन गरेको दोहो¥याए । उनले इरानले आफूलाई दबाबमा पार्न नसकेको र आफ्नो प्रशासनले त्यसलाई स्वीकार नगरेको पनि बताए ।

  • अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    नारायणगढ (चितवन), ३१ असारः अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पु¥याएको छ ।
    पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

    रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर – ९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरले वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।


    मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४० का ७० घार र दिनेश ढकाल (भरतपुर–१४) का ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताए ।


    त्यसैगरी लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली (खैरहनी)का ९० घार, दीपक थापा (रत्ननगर–४) का ९० घार र एकबहादुर गुरुङ (रत्ननगर–३) का ९० घर गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए । पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ ।

    “बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो ।

    घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ”, प्रमुख लामाले भने । नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए ।

  • देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

    ललितपुर, ३१ असारः देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिए ।


    प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ । देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।

  • बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    म्याग्दी, ३१ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।

    आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पु¥याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ । गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

  • पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    काठमाडौँ, ३१ असारः नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल छन् । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरुलाई नियुक्त गरिएको हो ।

    बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो । बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

  • बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    काठमाडौँ, ३० असारः नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


    निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार ६० तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।

  • हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल

    हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल

    काठमाडौँ, ३० असारः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’मा वडा कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै ९० प्रतिशतभन्दा धेरै गुनासो आउने गरेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका जिज्ञासाको उत्तर दिँदै मन्त्री लम्सालले ठेकेदार कम्पनीले पनि भेण्डर (आपूर्तिकर्ता) र कामदारलाई भुक्तानी नदिएको विषयमा पनि धेरै गुनासा आउने गरेको स्पष्ट पारे ।


    “कन्स्ट्रयाक्टरले पनि भेण्डर र श्रमिकहरूलाई भुक्तानी नदिएको विषयमा पनि पर्याप्त गुनासा आउने गरेका छन् । कन्ट्रयाक्टरले भुक्तानी नदिएको खण्डमा आत्मदाह गर्नेसम्मको धम्की हामीसमक्ष आउने गरेका छन्”, उनले भने । मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर निर्माण क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न खोजेको स्पष्ट पारे ।


    “विगत आठ वर्षमा १९ हजारबाट ३२ हजार निर्माण व्यवसायी थपिएका छन् । निर्माण व्यवसायीमा ज्ञानको अभाव र निकै कम बोलकबोल गर्ने समस्या यथावत् नै छ”, उनले भने, “न्यून रकममा बोलकबोल गर्नाले अर्थतन्त्रमा ठूलो नोक्सानी देखिएको छ । जसको कारणले न्यून तलबभत्ता, मूल्यवृद्धिको अनुपातमा तलब पनि नबढेको देखिन्छ ।”

    मन्त्री लम्सालले निर्माण व्यवसायीले पनि विभिन्न आपूर्तिकर्ताहरूलाई नियमित भुक्तानी गर्न नसक्दा डुब्ने अवस्थामा आइपुगेको बताए । मन्त्री लम्सालले निर्माण व्यवसायी सप्लायर्स र परार्शदाता र सेवाग्राहीले पनि अतिरिक्त पैसा नदिनका लागि आह्वान गरेका छन् । “त्यसले तपाईँहरूलाई नै डुबाउँछ, कसैले माग्यो भने वा दिनुभयो भने भ्रष्टाचार कहिल्यै पनि सकिँदैन”, उनले भने ।

    आत्मदाहको घटनाले सरकारको ध्यानाकर्षण

    मन्त्री लम्सालले फरक प्रसङ्गमा केही दिनअघिको आत्मदाहको घटनाले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । “यस्तो अवस्था कुनै ‘ट्रिगरिङ पोइन्ट’ले हुने गर्छ । तर, त्यसका पछाडि ठूलो र लामो कथा लुकेको हुन्छ”, उनले भने, “यो एउटा प्रतिनिधिमूलक घटना हो । यसका पछाडिका कारण धेरै हुनसक्छन् जस्तै आर्थिक अवस्था, न्याय नपाएको अवस्था, समाजिक विकृति आदिले गर्दा हुन्छ ।”

    महानगर प्रहरीलाई सान्त्वना

    मन्त्री लम्सालले काठमाडौँ महानगरको नगर प्रहरीहरू मनोबल नघटाउन आह्वान गरे । “हजुरहरूको कारणले गर्दा कयौँ एम्बुलेन्स छिटो अस्पताल पुग्ने गरेका छन्, कयौँको ज्यान बचाउनुभएको छ”, उनले भने, “आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोला ।’’ मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले पनि आशावादी रहनका लागि नगरप्रहरीलाई आग्रह गरे । यसअघि गृहमन्त्री सुधन गुरुङले भने गणेश नेपाली आत्महत्याको जिम्मेवारी नगर प्रहरीमाथि थोपर्दै आफु उम्किएका थिए ।

  • महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त

    महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त

    काठमाडौँ, ३० असारः सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालको विपद् खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

    अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने समेत निर्णय गरेको मन्त्री पोखरेलले बताए । बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । साथै, मन्त्रिपरिषद्ले बीउविजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

  • गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    गोरखा, ३० असारः समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ । कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उनको भनाइ छ ।

    कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ । जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती हुँदैन ।

  • बस्ती जोगाउन तटबन्ध निर्माण

    बस्ती जोगाउन तटबन्ध निर्माण

    पाँचथर, ३० असारः पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिए । उनका अनुसार तटबन्ध तीन मिटर उचाइको छ ।

    बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताउनुभयो । रु तीन करोडको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो ।

    बाढीले बहाव परिवर्तन गरेपछि हेंवा खोलाले विगत तीन वर्षदेखि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा कटान गर्दै आएको छ । बाढी र कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने सिंचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन् । खोलाको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन यस वर्षदेखि तटबन्ध निर्माण थालिएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताए ।

    उनका अनुसार तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३\८४ मा पनि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ । “स्थानीय सरकारको बजेटले नपुग्ने भएपछि हामीले सङ्घीय सरकारका कार्यालयमार्फत बजेट विनियोजनका लागि पहल गरिरहेका छौँ,” मंग्रातीले भने, “यस वर्ष कामको सुरुआत गर्न सफल भएका छौँ ।”

    हेंवा खोलाको दायाँबायाँ रहेको माझीटार बस्ती पछिल्लो समय तमोर नदीको बहाव परिवर्तनका कारण थप जोखिममा परेको छ । “एकातर्फ हेंवा खोलाले बर्सेनि क्षति पु¥याइरहेको छ, अर्कोतर्फ तमोर नदीको बहाव वस्तीतर्फ सोझिँदा जोखिम बढेको छ”, स्थानीयवासी वीरबहादुर माझीले भने, “तमोरतर्फ पनि तटबन्ध निर्माण गर्न जरुरी भइसकेको छ ।”

    नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको बताए । माछाका परिकारका लागि प्रख्यात माझीटारमा स्वादिष्ट स्थानीय माछाका कारण फिदिम आउने अधिकांश पर्यटक पुग्ने गर्छन् । तर बस्ती नै बाढीको जोखिममा परेपछि स्थानीयवासी र व्यवसायी चिन्तित रहेको अवस्थामा तटबन्धले केही राहत दिएको उनले बताए । साथै आगामी दिनमा थप व्यवस्थित संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

  • हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    काठमाडौँ, ३० असारः लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ ।

    मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो ।

    मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

    प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने लक्ष्य निर्धारण गरिएको छ । सोही समयसीमालाई ध्यानमा राखेर उद्योगभित्र आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख गरिएको छ ।

    उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु ३३ लाख बजेट निकासा गरिसकेको छ । उक्त बजेटबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालन गर्न सहज भएको प्रतिवेदनमा उल्लेख छ ।

    उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ । टोलीले उद्योगभित्र सरसफाइको काम तीव्र पारेको, परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा जनाइएको छ ।

    उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट रु ५० लाखको लागत अनुमान पेस गरिएको छ । सोही लागत अनुमानका आधारमा पूर्वाधार विकास मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ ।

    उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ । प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ ।

    प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख गरिएको छ । परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिनेछ । त्यसका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइने प्रतिवेदनमा औँल्याइएको छ ।

    प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले कार्यदलले दिएका सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

  • बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

    बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

    गण्डकी, २९ असारः कास्कीको अन्नपूर्ण गाउँपालिका(११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।


    “आयोजनास्थल जोड्ने सडक पनि ठाउँठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ”, उनले भने, “आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।” पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।


    घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बयालिस मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत रु १० अर्ब ५७ करोडको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएको थियो । किम्रुङ खोला हुँदै मोदी खोलामा मिसिएको बाढीले अन्नपूर्ण गाउँपालिका ८ र १० को सीमाना स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो ।

  • एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

    एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ, २९ असारः चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ ।

    गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो । प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१ अर्ब सात करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो । गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५५ हजार ७३५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • अत्यावश्यकबाहेक काठमाडौं बाहिर यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

    अत्यावश्यकबाहेक काठमाडौं बाहिर यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

    चितवन, २९ असारः निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माद्वारा जारी सूचनामा उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो जानसक्ने भएकाले यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ । स्थानीय सरकार, डिभिजन सडक कार्यालयलगायत सरोकार भएका निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रूपमा परेको वर्षात्का कारण नारायणगढ–मुग्लिन सडकखण्डसहित अन्य राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिँचाइ तथा जल स्रोत आयोजना, वन लगायतका निकायलाई मेसिनरी औजारसहित तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औँल्याएको छ ।

    बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुरानो होल्डिङ सेन्टरलाई खाली गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विसं २०५८ मा आएको विपद्का कारण तत्कालीन जिल्ला विकास समिति र नेपाल रेडक्रस सोसाइटीले दुवै संस्थाको नाममा जग्गा खरिद गरी होल्डिङ सेन्टरको रूपमा रहेको ठाउँ खाली गर्न भनेको हो ।

    भरतपुर महानगरपालिका-२३ मा रहेको सेन्टरमा रहेका वास्तविक आश्रयविहीनलाई अन्य वैकल्पिक व्यवस्था भए–नभएको पहिचान गरी आश्रय आवश्यक नपर्नेलाई उक्त सेन्टरबाट हटाउनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । होल्डिङ सेन्टर सफा गरी तयारी अवस्थामा राख्नसमेत समितिले निर्देशन दिएको हो ।

    तत्कालीन समयमा सो होल्डिङ सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । एक बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर स्थापना गरी बाढी प्रभावितलाई राखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए । विपद् व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

  • मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    फिक्कल (इलाम), २९ असार । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो ।

    सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । “दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ”, प्रमुख जिल्ला अधिकारी ढकालले भने, “आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।”

    राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ । यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


    सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

  • पूर्वाधार विकासमा अग्रसर व्यास

    पूर्वाधार विकासमा अग्रसर व्यास

    रासस
    दमौली (तनहुँ), २९ असारः व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ । दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ ।

    नगरप्रमुख न्यौपानेले दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्यालाई समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने बताए । नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ । सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

    कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने भएको छ । प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ ।

    विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । नगरप्रमुख न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने रु १० लाखभन्दा कम लागतका योजनामा तीन प्रतिशतमात्रै ‘कन्टिन्जेन्सी’ कट्टा गरिने जानकारी दिए । “यसले स्थानीयस्तरमा साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ”, उनले भने ।


    सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ । नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गरिने नीति अघि सारिएको छ ।

    नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए । तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी र बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’ नामकरण गरी सङ्घीय सरकारअन्तर्गत निर्माण तथा विस्तारका कामलाई पूर्णता दिन पहल गरिने उनले जानकारी दिए ।

  • ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    खोटाङ, २९ असारः निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो ।

    कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।

    निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभयो । नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो ।

    सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरेको थियो । हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ ।

    सम्झौताअनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सवबेस, कजवे ढलानलगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र गर्ने समयमा निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् । करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र गर्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् ।

    कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सृजना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताए । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ ।

    ठेकेदार कम्पनीले गत वैशाख ३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका निर्माण व्यवसायीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरे पनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् । कार्यालय तथा स्थानीयको पर्याप्त सहयोग हुँदाहुँदै दुवै सडक कालोपत्र नगरी निर्माण व्यवसायी निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् ।

    दश स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । निर्माण व्यवसायीले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

  • ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

    ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

    रामकुमार लिम्बू/रासस

    फिक्कल (इलाम), २९ असारः इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागिपर्छन् । सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उनले खेतीबाट वार्षिक रु १२ लाखबराबर आम्दानी गरेका छन् ।


    दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले भन्छन्, “यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा छ ।” उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका छन् । सुरुमा तीन कट्ठा जमिनमा ड्रागन खेती सुरु गरेका इङनामले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन् ।


    “पहिले परीक्षणका लागि तीन कट्ठा जमिनमा ड्रागन फ्रुट रोपेको थिएँ । उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लागेको छु”, उनले भने, “अहिले दुई बिघा (४० कट्ठा)मा खेती विस्तार गरेको छु । आगामी वर्ष थप विस्तार गर्ने योजनामा छु ।” उनले उत्पादन गर्नुभएको ड्रागन फ्रुटको बजारको कुनै समस्या छैन । व्यवसायी बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गर्नुभएको फ्रुट झापाको विर्तामोड र दमक, मोरङको उर्लाबारी र इलाम बजारमा बिक्री हुने गरेको छ ।

    उहाँका अनुसार ड्रागन फ्रुट साइजअनुसार प्रतिकेजी रु २०० देखि रु ५०० सम्म बगानबाटै बिक्री हुने गर्दछ । “उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, व्यापारी बगानमा नै आउँछन्”, उनले भने, “बगानबाट साइजअनुसार प्रतिकलोग्राम रु २०० देखि रु ५०० सम्ममा बिक्री हुने गर्दछ ।”

    उनको फार्मबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीयले समेत रोजगारी पाएका छन् । “बगानमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक पाँच जना श्रमिकलाई रोजगारी दिएको छु”, उनले भने, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आत्मसन्तुष्टि मिल्दोरहेछ ।”

    पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर कृषि व्यवसाय सुरु गरेको उनी बताउँछन् । “बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ”, इङनाम भन्छन्, “निरन्तरता दिँदै नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ ।”

    कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले व्यावसायिक खेतीमा जोड दिएको उनको भनाइ छ । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका किसानका लागि इङनामको यो व्यावसायिक ड्रागन फ्रुट खेती एउटा अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ । कम मिहिनेत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा उक्त खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढ्न थालेको छ ।

    चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आएकी छन् । छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती गर्न थालेकी उनले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छिन् । रोपेका सबै बोटले उत्पादन दिन थालेका छन् । लगानी धेरै नचाहिने र उत्पादनसमेत राम्रो हुने भएकाले मैले आठ कट्ठा जमिनमा ड्रागन फ्रुट खेती गर्दै आएकी छु उनले भनिन् । अन्य अन्नबालीभन्दा मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई विस्तार गर्ने योजना छु ।

    उनले सबै खर्च कटाएर वार्षिक रु एक लाख २५ हजार आम्दानी गरेको सुनाइन् । इङनाम र लिम्बूमात्र होइन, पछिल्लो समय जिल्लाका अन्य किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुने भएपछि स्थानीयले परम्परागत खेतीलाई विश्राम दिन थालेका छन् । चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ । इङनामको फार्मलाई चुलाचुली गाउँपालिकाले र लिम्बूको फार्मलाई कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ ।

    इङ्नामको ‘भिलेज एग्रो फार्म’लाई ड्रागन फलखेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा रु चार लाख अनुदान दिएको थियो । इङनामले भने । “प्राप्त भएको अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको थियो । आगामी दिनमा पनि यस्ता प्रवर्द्धनका कार्यक्रम प्राप्त हुने विश्वास छ ।”

    ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ लाई बगान व्यवस्थापनका लागि सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा रु दुई लाख ५० हजार अनुदान उपलब्ध भएको थियो । सो अनुदानले बगान व्यवस्थापनमा सहयोग मिलेको लिम्बूले बताइन् । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको बताए ।

    “हामीले विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गदै आएका छौँ”, अध्यक्ष केरुङले भने । “आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।”

    ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा विस्तार हुँदै आएको छ । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको एक आकर्षक र पौष्टिक फलका रूपमा ड्रागन फ्रुटलाई लिइन्छ । समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट लोकप्रिय छ ।

  • कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

    कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

    लमजुङ, २८ असारः अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।

    गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ । विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो । हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए ।

    अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्र भएपछि स्थानीयले राहत पाएका छन् । सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ । दोर्दी गाउँपालिका–४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्र भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताए ।


    विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उहाँले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५–२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताए । “पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो । गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो । अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ”, उनले भने ।


    बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठूलो सुविधा पुगेको बताए । घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उहाँले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताए ।


    “पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ । समयको सदुपयोग भएको छ”, उनले भने। सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उनको भनाइ छ ।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई ठूलो राहत पुगेको जानकारी दिए । सडक निर्माण सम्पन्न भएपछि पालिका आउने–जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उनले वर्षायाममा हुने जोखिमसमेत हटेको बताए ।


    सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । “यो सडक दोर्दीको विकासको एउटा महत्त्वपूर्ण उदाहरण हो”, उनले भने । पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताए ।

    उनका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको हो । प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७।१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौँले पाएको थियो ।

    कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो । कोभिड–१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन । त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लोपटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो ।

    सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ । सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ । सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

  • गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

    गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

    काठमाडौँ, २८ असार । मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आज बेलुका ५ः०० बजे नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति भएको हो ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो । सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षण प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन् ।


    मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भएका नेपालीले यही असोज २५ गते त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा यही असार २५ गते राति निधन भएको थियो । उक्त घटनालाई लिएर पीडित पक्ष आन्दोलित भएका थिए । सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

    सहमतिपत्रमा घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गरि सक्नु पर्नेछ । मृतक गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

    यस्तै, घटना घटेको दिन उक्त घटनास्थलको अग्रभागमा खटिएका महानगरका प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्वन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरपालिकालाई लेखी पठाउने र पछि छानविन आयोगको प्रतिवेदन तथा सिफारिसबमोजिम कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । लामो गृहकार्यपछि जुटाइएको सहमतिअनुसार पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । साथै, मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट आवश्यक प्रबन्ध मिलाइनेछ भने यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नेछन् । महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाटै निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकमसमेत उपलब्ध गराउनेछ ।

    त्यस्तै, तत्कालका लागि आवश्यक मानवीय र व्यावहारिक पक्षहरूलाई सम्बोधन गर्दै मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजकिरियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने सहमति भएको छ।

    यससँगै पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम)लगायत कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइएको छ । मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौँमा काजकिरिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्धसमेत काठमाडौँ महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख छ ।

  • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

    गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

    काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गरेका छन् । मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए ।


    भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताए । सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताए ।

    उनले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरे । उनीहरुले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमबासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, २७ असारःवैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् ।
    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    अकल्यान्ड, न्यूजिल्यान्ड, २७ असार (रासस–एएफपी) । दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको समय करिब ४० वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

    भारतीय प्रधानमन्त्रीका हैसियतमा भएको प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्डको भ्रमण पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच अकल्यान्डमा द्विपक्षीय वार्ता हुने बताइएको छ । दुवै नेताले व्यापार, लगानी, रक्षा, शिक्षा, सुरक्षा र अन्य क्षेत्रमा सहयोगको समीक्षा गर्नेछन् ।

    –किन विशेष–

    न्यूजील्यान्ड दक्षिण–पश्चिम प्रशान्त महासागरमा अवस्थित एउटा टापु राष्ट्र हो, जुन अस्ट्रेलियाबाट करिब एक हजार ६०० किलोमिटर टाढा छ ।
    वल्र्डओमीटरका अनुसार यहाँको जनसङ्ख्या करिब ५२।९ लाख ९५२ लाख ९१ हजार० छ । यो विश्वका सबैभन्दा विकसित देशहरूमा पर्छ र राम्रो जीवनस्तर, पारदर्शी शासन, मानव विकास र नागरिक स्वतन्त्रताका लागि प्रसिद्ध छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२६ मा न्यूजील्यान्डको अर्थव्यवस्था (जीडीपी) करिब २७८.६४ अर्ब अमेरिकी डलर रहने अनुमान छ भने आर्थिक वृद्धिदर २।१ प्रतिशत रहने अपेक्षा गरिएको छ ।

    –भारत र न्यूजील्यान्डबीचको सम्बन्ध–

    भारत र न्यूजील्यान्डबीचको सम्बन्ध लामो समयदेखि मित्रवत् छ । दुवै देश एक समय बेलायती साम्राज्यका अंश थिए। दुवै कमनवेल्थका सदस्य हुन् र उनीहरूबीच लोकतन्त्र, सामान्य कानुन, अङ्ग्रेजी भाषा, खेलकुद र जनस्तरको सम्बन्धजस्ता धेरै समानताहरू साझा गर्छन्।

    दुवै देशबीच कूटनीतिक सम्बन्ध सन् १९५२ मा स्थापित भएको हो। यद्यपि सन् १९५० मै ट्रेड कमिसन सुरु भइसकेको थियो, जसलाई पछि उच्च आयोग दर्जा दिइयो । समयक्रममा दुवै देशले राजनीतिक, आर्थिक र रणनीतिक सहयोगलाई निरन्तर अगाडि बढाएका छन् ।

    न्यूजील्यान्डले भारतलाई द्रुत गतिमा वृद्धि भइरहेको अर्थव्यवस्था र विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशका रूपमा हेर्छ। भारतको बढ्दो वैश्विक प्रभाव, बलियो अर्थव्यवस्था र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो भूमिकाले न्यूजील्यान्डका लागि भारतको महत्वलाई निरन्तर बढाइरहेको छ।

    यसै कारण सन् २०११ मा न्यूजील्यान्डले ’भारतका लागि नयाँ अवसर खोल्ने नीति’ अन्तर्गत भारतलाई प्राथमिकता प्राप्त देशमा समावेश गरेको थियो।

    त्यसपछि ‘न्यूजील्यान्ड–इन्डिया स्ट्राटेजी’ र ’भारत–न्यूजील्यान्ड २०२५ः सम्बन्धमा लगानी’ जस्ता रणनीतिमार्फत दुवै देशले व्यापार, लगानी र आपसी सहयोगलाई थप मजबुत बनाउने लक्ष्य राखेका छन्।

    –सहकार्य–

    दुवै देश व्यापार, लगानी, रक्षा, शिक्षा, पर्यटन, कृषि, प्रविधि, स्वास्थ्य, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सहकार्य गरिरहेका छन् ।

    दुवै देश संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन र कमनवेल्थजस्ता अन्तर्राष्ट्रिय सङ्गठनका सदस्य हुन्।

    यसबाहेक इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा र स्थिरताका विषयमा पनि दुवै देशको साझा हित छ।

    रक्षा क्षेत्रमा पनि दुवै देशको ऐतिहासिक सम्बन्ध छ। प्रथम र द्वितीय विश्वयुद्धमा दुवै देशका सैनिकहरू सँगै लडेका थिए। अहिले दुवै देश रक्षा सहयोग र सैन्य सम्पर्क बढाउन लागिपरेका छन्।

    सन् २०२५ मार्चमा दुवै देशले बृहत् स्वतन्त्र व्यापार सम्झौता को वार्ता सुरु गर्ने घोषणा गरेका थिए र ९ महिनामा २७ अप्रिलमा यो सम्झौता पूरा भएको थियो।

    यो सम्झौता भारतका लागि धेरै हिसाबले महत्वपूर्ण मानिएको छ । यसले भारतीय निर्यातकर्ताहरूलाई न्यूजील्यान्डको बजारमा राम्रो पहुँच दिनेछ र ओसियानिया तथा प्रशान्त टापु देशहरूमा पनि बाटो खुल्नेछ ।

    भारतले न्यूजील्यान्डलाई औषधि, मेसिनरी, कपडा, सवारीसाधन, बहुमूल्य पत्थर र गहना लगायतका सामान निर्यात गर्छ।

    न्यूजील्यान्डबाट भारतले ऊन, फलाम–स्टिल, एल्युमिनियम, फलफूल, सुक्खा फल, काठजन्य सामान र अन्य वस्तु आयात गर्छ।

    दुवै देश प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य सेवा, शिक्षा, निर्माण, कृषि, खाद्य पदार्थ, उड्डयन र प्राविधिक सेवाहरूमा नयाँ अवसर खोजिरहेका छन्।

    यो सम्झौताअन्तर्गत भारतको शतप्रतिशत निर्यातमा आयात शुल्क हटाइनेछ । यसले भारतीय उत्पादनहरूलाई न्यूजील्यान्डको बजारमा थप प्रतिस्पर्धी बनाउनेछ।

    न्यूजील्यान्डले आगामी १५ वर्षमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ।

    कृषि उत्पादकत्व साझेदारीअन्तर्गत दुवै देश कृषि क्षेत्रमा सहयोग गर्नेछन्, जसले किसानको उत्पादकत्व बढाउन र उनीहरूलाई वैश्विक मूल्य शृङ्खलासँग जोड्न मद्दत गर्नेछ।

    प्रधानमन्त्री मोदी अकल्यान्ड पुग्नुभन्दा एक दिनअघि न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले “भारततर्फ जाने न्यूजील्यान्डको ५७ प्रतिशत निर्यात पहिलेदेखि नै शुल्कमुक्त भएको छ । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “भारतसँगको यो व्यापार सम्झौताले न्यूजील्यान्डको व्यवसायलाई ठूलो फाइदा पुर्‍याउनेछ।”

  • दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    मध्यविन्दु (नवलपरासी), २७ असारः गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

    गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

    यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे । “गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”, उनले भने ।


    दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । “दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ”, उनले भने ।


    गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपथ्र्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन”, उनले भने, “प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ ।”

    नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए । “अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ”, उनले भने, “अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ ।”

    पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।