Category: अर्थतन्त्र

  • वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

    वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

    ७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ ।
    मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाडौँको विभाग धाउनु नपर्ने र विदेशबाटै पनि उजुरी दर्ता गरी कारबाही बारे बुझ्न सकिने बताउनु भयो।


    उहाँले भन्नुभयो “तपाईँ विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईँको साथमा छ। न्यायका लागि अब काठमाडौँ धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।”
    वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि सरकार लागिपरेको समेत मन्त्री यादवले बताउनुभयो।
    निरीक्षणमा विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सह-सचिव पीताम्बर घिमिरे लगायतको उपस्थिति थियो।

  • नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

    नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

    ७ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।


    महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।


    त्यसैगरी महासंघका जिल्लानगर उपाध्यक्ष दील सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रुपमा आएका समस्या समाधानमा परिषद्को महत्वूर्ण भूमिका रहने बताउनुभयो ।


    वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।


    उहाँले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले वस्तुगत परिषद्का सदस्यहरुलाई विषयगत समितीको तथ्याङ्कमा आधारित रहेर असुनधान गरि समस्या समाधानको लागि पहल गर्न आग्रह गर्नु भयो ।


    एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको वर्तमान परिवेशमा व्यावसायिक गतिविधि मार्फत अर्थतन्त्र चलायमान बनाउन परिपाद्को भूमिमा महत्वपूर्ण हुने धारणा राख्नु भयो ।


    महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिदै अर्थतन्त्र चलायमान बनाउने गरि काम गर्नु पर्ने आवश्यक्ता माथी जोड दिनुभयो ।


    कार्यक्रममा महासंघ अन्तर्गत गठित वस्तुगत परिषद्का सदस्यहरूलाई कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले तथा उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले मनोनित सदस्य तथा सल्लाहकारहरुलाई पत्र हस्तान्तरण गर्नु भएको थियो । यसैबीच वस्तुगत परिषद्को बुधबार बसेको बैठकले परिषद्को उपसभापतिमा भक्त बहादुर हमाललाई मनोननयन गरेको छ । महासंघमा विभिन्न १४२ वटा वस्तुगत सदस्यहरु रहेका छन् ।

  • प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी रहने भएका छन् ।

    यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो। प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनिहरुका जायज माग सम्बोधन गर्दै आएका छन् ।

  • श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    काठमाडौँ, ६ साउनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो ।

    श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

    श्रम कानुनअनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्नेलगायत विषय विभागले जारी गरेको परिपत्रमा उल्लेख छ । हेल्लो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउनसमेत विभागले निर्देशन दिएको छ ।

  • हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ, ६ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभएको थियो ।

    प्रधानमन्त्री शाहले आज उहाँहरूलाई छलफलका लागि बोलाउनुभएको हो । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनुभएको थियो ।

    अहिलेसम्म महासङ्घले मङ्सिर २८ मा आफ्नै ढङ्गले हस्तकला दिवस मनाइरहेका अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासङ्घका पदाधिकारीले माग गर्नुभएको थियो । दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।

    यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकामा त्यसको साटो बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझावअनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले आश्वस्त पार्नुभयो । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकामा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।

    हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय रहेकामा त्यो कार्यालय आफूहरूलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राख्नुभएको थियो । यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाउनुभएको छ ।

    परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले विभिन्न माग राख्नुभएको थियो । छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

  • मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    काठमाडौँ, ६ साउन : यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

    बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । यस्तै, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले हवाई उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । त्यसैगरी, यसैबीच, आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

  • बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    काठमाडौँ, ६ साउनः बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो ।

    दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए । अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । —

  • ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    काठमाडौँ, ६ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ । त्यसका लागि तीन तहका सरकारबीच समन्वय सुदृढ गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विषयगत समितिको बैठकमा महत्वपूर्ण छलफल भएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा विषयगत समितिका अध्यक्ष विराज भक्त श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको बैठकमा सङ्घीयताको मर्मअनुसार ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै आपसी समन्वय कायम गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी हुनुहुन्थ्यो ।

    बैठकमा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सरजुकुमार वैद्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरू, विभिन्न प्रदेशका मन्त्रालयका सचिव, विद्युत् विकास विभाग तथा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक र नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशकलगायतको सहभागिता थियो ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८३ सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यपत्रसहित प्रस्तुति गर्नुभएको थियो । यस्तै, जलस्रोत विधेयक सम्बन्धमा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

    बैठकमा जलस्रोत र ऊर्जाको क्षेत्रमा अवसरको न्यायोचित बाँडफाँड गर्दै सङ्घ प्रदेश र स्थानीय तहबीच समन्वय थप सुदृढ बनाउने, जलस्रोतको सदुपयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, जलस्रोतको दुरुपयोगलाई निरुत्साहित गर्ने निर्णय बैठकले गरेको छ ।

    जलस्रोतलाई केवल वस्तुका रूपमा नभई बहुआयामिक महत्वका स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो । त्यसैगरी, जल तथा ऊर्जा आयोगलाई संस्थागत स्मरणलाई थप विकास गर्दै ज्ञान केन्द्र (नलेज सेन्टर) का रूपमा विकास गर्ने, खडेरी, भूमिगत जलस्रोतको अत्यधिक दोहन तथा पानीको पुनर्भरण अभावलाई ध्यानमा राखी ‘वाटर अडिट’ गर्ने विषयमा पनि साझा धारणा बनेको छ ।

    बैठकले जलस्रोत नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने, अर्थ मन्त्रालयको सहमतिमा ‘रिभर बेसिन मास्टरप्लान’ कार्यान्वयन अघि बढाउने तथा सञ्चार र समन्वयलाई केन्द्रीकृत राख्दै अधिकारलाई पूर्ण रूपमा विकेन्द्रीकरण गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ । यस्तै, जलस्रोत र सिँचाइ क्षेत्रमा परम्परागत तथा आदिवासी ज्ञान, सीप र आधुनिक वैज्ञानिक प्रविधिलाई समायोजन गर्दै जनचेतनामूलक कार्यक्रमलाई सरकारी नीति तथा कार्यक्रममा निरन्तर समावेश गरिने उल्लेख छ ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकले ऊर्जा मिश्रण, विद्युत् चुहावट नियन्त्रण तथा सामाजिक न्याय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । बैठकका सहभागीहरूले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको एकीकृत विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

  • टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    काठमाडौँ, ५ साउन : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

    भौगोलिक रूपमा अतिविकट हुम्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका–२ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडकखण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य एकाइ, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    त्यसैगरी, बारा जिल्लाको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया, कलैयामाईलगायत क्षेत्रका चारवटा विद्यालय क्षेत्र र भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका पाँचवटा विद्यालय क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

    रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका आसपासका बस्तीहरू लाभान्वित भएका छन् भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नं ३ र ४ तथा बाहुनबेँसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै सो क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

  • वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    काठमाडौँ, ५ साउनः विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।

    यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ । यसैगरी, ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ । उत्पादन अनुमतिपत्र पाएका २९ आयोजना छन् ।

    ती आयोजनाको क्षमता एक हजार ८५७ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । ती आयोजनाको क्षमता ३१ मेगावाट छ । विभागले वार्षिक रुपमा करिब रु तीन अर्ब ५० करोड बराबरको रोयल्टी सङ्कलन गर्ने गरेको छ । प्राप्त भएको रोयल्टी रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको छ ।

    त्यसबाट प्रदेश र स्थानीय तहको आर्थिक उन्नयन र विकासमा महत्वपूर्ण योगदान पुगेको विभागले जनाएको छ । विभागले हालसम्म जारी गरेको उत्पादन अनुमतिपत्रमध्ये जलविद्युत्तर्फ २६४ आयोजना छन् । ती आयोजनाको कूल क्षमता १२ हजार ३३६ मेगावाट छ । सौर्य ऊर्जातर्फ कूल १० आयोजना छन् ।

    ती आयोजनाको कूल क्षमता ७४ दशमलव छ मेगावाट छ । प्रसारण लाइनतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । यस्तै, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताको एक हजार ६०८ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । त्यस्तै, ३३ केभी क्षमताको ३३७ सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो ।

  • सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध


    काठमाडौँ, ५ साउनः सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो ।

    सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ । यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ रु तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ रु ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।

    पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

  • तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

    तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट


    काठमाडौँ, ५ साउनः तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् ।

    पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन् । कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन् । कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय

    गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।

    संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारको, असार १ गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ । स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्यालगायत कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ । विपद्को समयमा कार्यालय नछाड्न निर्देशन यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले विपद्को संवेदनशील समयावधीभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रुपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ । देशका विभिन्न स्थानमा अविरल बर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याइ यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ । विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै विशेष कारणबस कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएका सम्बन्धित निकायको पूर्वस्वीकृति लिइ जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।

  • पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने

    पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने


    काठमाडौँ, ५ साउन : विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

    सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ ।

    कार्यालयको कार्य सम्पादनजका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री खर्च, भक्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाई खर्च गर्नुपर्नेछ । सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

    भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ । नगद प्रवाहलाई व्यवस्थित गर्न रु एक अर्ब बढीको भुक्तानी दिनुपर्ने भएमा सात दिनभित्रै अर्थमन्त्रालयलाई अनिवार्य अनिवार्य जानकारी गराउनुपर्नेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमको आँकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ ।

    अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायका अनुसार, ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पुँजीगत खर्चएमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ । बजेट कार्यान्वयनमा आइपरेका समस्या, कारणहरु उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ । प्रत्येक दुई महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयनसम्बन्धी समीक्षा हुनेछ ।

  • शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौँ, ४ साउनः सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले कार्यसूचीअन्तर्गत मन्त्रालय-निकायले पूर्णरुपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैँले त्यसको प्रगति ‘ट्रयाकिङ’ गर्ने निर्णय गरेको छ ।

    ‘विजनेश प्रोसेस रि–इन्जिनियरिङ’ मार्फत पहिचान गरिएको अनावश्यक प्रक्रिया, कागजात तथा तहहरु हटाइ निर्णय निर्माण छिटो, सरल र नागरिकमैत्री बनाउने बैठकको निर्णय छ । बैठकले जेन–जी आन्दोलनका सहिद परिवार र घाइेतका लागि गत असार १८ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद् पूर्वतयारी र प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययितालगायत २२ बुँदे निर्णय गरेको छ ।

  • खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

    खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु


    काठमाडौँ, ४ साउनः नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।

    चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट, कृषि पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताए । एअफएओकी निर्देशक हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरे । काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने उक्त परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ ।

    परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु–अनुकूलन क्षमता सुदृढ पार्ने छ । सहकार्यले अन्तरराष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा एफएओका प्रतिनिधि केन शिमिजुलगायत उच्च अधिकारी, सङ्घीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान सङ्गठन र सरोकारवालाको सहभागिता थियो ।

  • देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

    देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह


    काठमाडौँ,४ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताए ।

    प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारको स्पष्ट नीति रहेको जानकारी दिए । प्रधानमन्त्री समक्ष सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको भावना व्यक्त गरेका थिए ।  सरोकारवालाले छलफलपछि प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू सकारात्मक भएको भावना व्यक्त गरेका छन् । उनिहरुले प्रारम्भिक शेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई रु ३० अर्ब पुर्याउने वातावरण मिलाइदिन आग्रह गरे ।

    त्यसैगरी,  बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कूल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाइ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

    अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनःसंरचना तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन माग राखे । छलफलमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए ।

    नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागु गरिसकेको जानकारी दिए ।

    नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताए । नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

  • आज दिनभर उपत्यकामा सडक जलमग्न

    आज दिनभर उपत्यकामा सडक जलमग्न

    काठमाडौँ, ३ साउनः लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन् । ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए ।

    उनका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ । “अहिले ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ । आज सार्वजनिक बिदाको दिन भएर पनि सजिलो भयो । तर सडकमा पानी जम्दा दुर्घटनाको जोखिम भने बढिरहेको छ । एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अवस्था छ”, उनले भने ।


    सुवेदीले वर्षाका कारण आज साँझ पनि माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिँदै दीर्घकालीन रूपमा प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए । वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीको आग्रह छ ।

  • उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    काठमाडौँ, २ साउनः उद्योग विभागले आर्थिक वर्ष २०८२\८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।

    विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार वटा परियोजनाका लागि रु सात अर्ब १६ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा रु २३ अर्ब १८ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

    पर्यटन क्षेत्रका लागि दुई सय २७ परियोजनामा रु १३ अर्ब ९९ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा सात सय २७ परियोजनाका लागि रु दुई अर्ब ८३ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

  • वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

    वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

    काठमाडौँ, २ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल) को व्यापार\व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैरकानुनी रूपमा फुटवेयरको व्यापार\व्यवसाय नगर्ने\नगराउने विषयमा सूचना जारी गर्दैसरोकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो ।

    विभागले बजारमा लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको भनी विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएको सम्बन्धमा गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा ऐनले तोके बमोजिमको लेवल लगाउनुपर्ने जनाएको छ ।

    विभागले सोही ऐनको दफा ८ मा भएको व्यवस्था अनुसार पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नसमेत अनुरोध गरेको छ । विभागले सोही ऐनको दफा ११ मा वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायत कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको जनाएको छ ।

    विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन हुन सूचित गरेको छ । विभागले कानुन विपरितका कार्य भएगरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा सबैलाई जानकारी गराएको छ ।

  • सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    काठमाडौँ, १ साउनः सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट कुशवाहाले हस्ताक्षर गरे ।


    सहमति अनुसार लामो समयदेखि आर्थिक सामाजिक विसङ्गतिका रूपमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई आर्थिक अपराध तथा कुप्रथाका रूपमा लिँदै यसम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्नका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने र सो घोषणासँगै नागरिकमाथि आपराधिक तथा दुषित मनसायका साथ बनाइएका मिटरब्याजसँग सम्बन्धित फर्जि लिखतहरू (तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन, छिनुवा पास, बाध्यकारी चेक आदिं स्वतः अवैध हुने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ ।

    मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन लागू गर्ने, मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्न गृह मन्त्रालयले तीन महिनाभित्र विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ ।

    ‘मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी ऐन’ लागू गर्ने सहमति पनि भएको छ । उक्त ऐनमा मिटरब्याजसम्बन्धी अपराधको परिभाषा र कसुरको व्यवस्था कायम गर्ने, पीडितले गुमाएको चलअचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभलगायत गतिविधिबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टालगायत क्षेत्रमा परिचालन गरी शहरी मिटरब्याजीबाट व्यक्तिहरूको उठिबास लाउने समस्या समाधान गर्न कानूनी व्यवस्था गर्ने र मिटरब्याजबारे न्याय निरुपण गर्न मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने न्यायाधीकरणको व्यवस्था गर्ने प्रावधान राखिएका छन् ।

    सहमतिपत्रमा भनिएको छ, “मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम वडा कार्यालयमा लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा तथा बैंक तथा वित्तीय संस्था वा कुनै विद्युतीय माध्यममार्फत कारोबार गरेको प्रमाण पेश नगरेको तथा एक पक्षको मात्र उपस्थितिमा प्रमाणीकरण गरेको लिखतलाई आधिकारिकता नदिने व्यवस्था गर्ने ।”

    वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेहरूमाथि कडा कारबाहीको व्यवस्था गरिनेलगायत विषय सहमतिपत्रमा उल्लेख गरिएका छन् ।

  • कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    काठमाडौँ, १ साउनः नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता-विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ । सो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो ।

    भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले सन् २०२५ नोभेम्बर ४ तारिखमा ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम नियमावली, २०१९’ मा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

    उक्त निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको थियो । सोहीअनुसार कोलकाता भन्सारले सन् २०२६ फेब्रुअरी २६ तारिखमा कोलकाता र हल्दियाबाट वीरगञ्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।

    कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँगको समन्वयमा आज कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको महावाणिज्य दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्तरुपमा हरियो झण्डा देखाइ रेल कार्गोको शुभारम्भ गर्नुभयो ।

    भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेल ¥याकमार्फत प्रस्थान गरेको सो पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ रहेका छन् । उक्त कार्गोमा ४० फिटका ४० वटा उच्च क्षमताका कन्टेनर रहेका महावाणिज्य दूतावासले जनाएको छ । ती कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम जडान गरिएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत सिँधै विराटनगर पठाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

    सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यनू लागतको ढुवानी हुनेछ । कोलकाताबाट छुटेको करिब २४ घन्टामा उक्त कार्गो रेल विराटनगर आइपुग्नेछ । यसबाट सबै प्रकारका वस्तु आयातमा सहज हुनेछ । विगतमा वीरगञ्जमा मात्र यसखालको रेल कार्गो सुविधा उपलब्ध भएकामा अब विराटनगरमा रेल कार्गोमार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ ।

    यससँगै बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई समग्र व्यापार पारवहन लागत उल्लेखनीय रूपमा न्यूनीकरण हुने, व्यापार सहजीकरणमा मद्दत पुग्ने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास लिइएको छ ।

  • रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

    रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

    रसुवा, १ साउनः रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् । यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन् । अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए । उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन् ।

    नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षभर नै रसुवाकै आलु उपभोग गर्ने गरिएको छ । रसुवाको यार्सा, भार्लेको माथिल्लो क्षेत्र, राम्चे, धुञ्चे, हाकु, नेसिङ, ग्रे, भार्खु, स्याफ्रु, बृद्धिम, टिमुरेको खैदी, थुमन, चिलिमेको टेचाङ्दे, गोल्जुङ तथा गत्लाङलगायतका क्षेत्रमा बर्खे आलुको व्यावसायिक उत्पादन हुँदै आएको छ । गत वर्षको तुलनामा आलु उत्पादन बढेकाले जिल्ला बाहिरसमेत खपत हुन थालेको छ । नुवाकोट, धादिङ र काठमाडौँलगायतका क्षेत्रमा रसुवाको आलु खपत हुने गरेको छ ।

  • लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    बरहथवा (सर्लाही), १ साउनः बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन् । बिहीबार खेतमा भटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन् । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्थे ।


    यस वर्ष धानको बीउ राख्न ढिलाइ भएका कारण रोपाइँ ढिला भयो । समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने र भित्र्याउने समयमा पनि मौसमले दुःख दिने उनलाई चिन्ता छ । अर्कातर्फ खेत जोताउन लागेको लागतले उनलाई चिन्तितः बनाएको छ । उनले भने, “लागत निकै बढेका कारण खेती गर्न नसक्ने अवस्था सृजना भएको छ ।”

    गत वर्ष प्रतिघण्टा रु दुई हजारमा ट्याक्टरले खेत जोत्थ्यो । यस वर्ष भाडा बढेर प्रतिघण्टा दुई हजार ५०० पुगेको छ । सुक्खा खेत जोतेको प्रतिघण्टा रु एक हजार ४०० देखि एक हजार ६०० बाट बढेर रु दुई हजार २०० बराबर पुगेको छ । इन्धनको मूल्य बढेको भन्दै मकैखेतीको समयदेखि नै ट्याक्टर धनीले भाडा बढाएको कृषक महतोले सुनाए । आधारबिना नै मूल्यवृद्धि गरिएकामा उनलाई पटक्कै चित्त बुझेको छैन । “हरेक चिजको मूल्य त्यसको लागतका आधारमा हुनुपर्ने हो, यहाँ हचुवामा भाडा बढाइन्छ”, उनले गुनासो गरे ।


    कृषि क्षेत्रमा भएका यस्ता गलत अभ्यासको नियमन गर्ने निकाय नभएको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटा बताउँछन् । लागत र उत्पादन दुवैको मूल्य निर्धारण गर्ने अधिकार किसानसँग नहुनु दुःखद् भएको उनको गुनासो छ । मलखादको अवस्था उस्तै छ । “राज्यले दिएको अनुदानमा समेत व्यापारीले आफूखुसी मूल्य तोक्ने र किसानको ढाड सेक्ने गर्छन्”, सापकोटाले भने, ‘‘जिल्ला दररेटअनुसार कृषि मजदुरको लागि आठ घण्टा काम गरेको रु ५५० ज्याला तोकिएको छ । तर यहाँ तोकिएभन्दा बढी लिइन्छ ।”

    पछिल्ला केही वर्षदेखि खेत जोत्न र कृषि सामग्री ढुवानीको एकमात्र विकल्प ट्याक्टर बनेको छ । तर, यसको लागत मूल्य व्यवस्थापनमा कुनै निकायले ध्यान दिएको छैन । सोही कारण किसान सबैभन्दा ठूलो मर्कामा पर्दै आएको हरिवन नगरपालिका–५ का किसान सजनीकुमारी स्याङ्तानको गुनासो छ । ट्याक्टर धनीले समेत थोरै समयमा धेरै कमाउने लालासाका कारण किसानको उत्पादनमा अत्यधिक लागत बढेको उनको दाबी छ ।

    खेत जोत्न र कृषि उपज ढुवानीमा प्रयोग हुँदै आएको ट्याक्टरको लागत मूल्य निर्धारण गर्ने वा नियमन गर्ने अभ्यास अहिलेसम्म नभएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको भनाइ छ । यसको क्षेत्राधिकार पालिकाको भए पनि अभ्यास अहिलेसम्म नभएकाले किसानलाई समस्या परेको उनको कथन छ ।

    पालिकाका केही साना किसानले खेत जोताइ तथा कृषि सामग्री ढुवानी लागत मनलाग्दी भएको भन्दै पालिकामा गुनासो गरेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला दररेट निर्धारण समितिले हरेक वर्ष लागतका आधारमा खरिद मूल्य तय गर्ने गरेको छ । हरेक वर्ष तय भएको दररेट एक आर्थिक वर्षका लागि मान्य हुन्छ । जिल्लाभरि कायम हुन्छ ।

    निर्धारण भएको दररेटमा कृषि मजदुरको ज्यालामात्र उल्लेख हुने गरेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । आगामी वर्षको जिल्ला दररेट तय गर्दा भने यस विषयमा छलफल गरिने उनको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय सरकारसँग किसानका समस्या समाधानको लागि ऐन बनाउने र कार्यान्वयन गर्ने अधिकार भएकाले पहिलो दायित्व पनि उनीहरूकै भएको तथ्य स्मरण गराए । पालिकाले ट्याक्टर धनीसँगको छलफलबाट उचित लागत मूल्य तय गर्नुपर्ने उनको कथन छ । सर्लाहीमा २० वटा स्थानीय तह छन् ।

    यहाँ कुनै पनि पालिकामा कृषि उपकरणको प्रयोग र त्यसको लागत मूल्यको विषयमा ऐन वा कार्यविधि निर्माण भएको छैन । व्यवसायिक रूपमा खेत जोत्ने तथा ढुवानी गर्ने उपकरण सञ्चालकले आफूखुसी मूल्य निर्धारण गर्ने र किसानसँग पैसा लिने गरेको साना किसानको गुनासो छ । यो गुनासो सम्बोधन गर्न स्थानीय सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता छ ।

  • जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    १ साउन, बन्दीपुर । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।

    मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो । गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउने गरेका छन् । बन्दीपुर आउने विदेशी पर्यटकसमेत रामकोट पुग्न थालेका छन् । रामकोटका मौलिक घर, मगर कला–संस्कृति तथा अग्र्यानिक परिकारका कारण पर्यटक आकर्षित हुन थालेका हुन् ।

    “पहिले निकै कम पर्यटक आउथे । अहिले भने धेरै पर्यटक आउन थालेका छन् । बन्दीपुर आउने पर्यटक ‘एकपटक रामकोट पनि पुगौँ’ भनेर आउँछन्”, रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले भने, “बन्दीपुरपछिको दोस्रो गन्तव्यका रूपमा रामकोट विकास हुँदै गएको छ । प्रचारप्रसार पनि बढेको छ । हामी खुसी छौँ, अझै धेरै काम गर्न बाँकी छ ।”

    पछिल्लो समय बन्दीपुरबाट रामकोटसम्म ‘भिलेज सफारी’ सेवा सञ्चालनमा आएपछि पर्यटकलाई पुग्न थप सहज भएको छ । भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले बन्दीपुर आउने पर्यटक रामकोट जान उत्सुक हुन थालेको बताए । रामकोटका ९५ घरमध्ये ४८ घर होमस्टे समूहमा आबद्ध छन् । तीमध्ये १५ घरमा मात्र होमस्टे सञ्चालनमा छन् । हाल एक रातमा ३० जनासम्म पर्यटकलाई बस्ने व्यवस्था गर्न सकिन्छ । एक रातको बसाइ र खानाको प्रतिव्यक्ति शुल्क रु एक हजार २०० छ भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेबापत थप रु तीन हजार लिने गरिएको छ ।

    पछिल्ला वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेसँगै गाउँमा आयआर्जनका अवसर पनि विस्तार भएका छन् । पहिले घाँस–दाउरा र मेलापातमा व्यस्त रहने महिला अहिले मगर पहिरनमा सजिएर लामबद्ध रूपमा ‘झोर्ले’ भन्दै पर्यटकको स्वागत गर्छन् । त्यहाँ पुग्ने पाहुनालाई सेतो अक्षता, फूलको माला र स्टिलको गिलासमा ‘सगुन’ दिएर स्वागत गर्ने परम्परा छ ।

    सामूहिक एकता र स्थानीय संस्कृतिका कारण साँझपख गाउँमा गुञ्जिने झ्याउरे, कौरा र चुट्काले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । बेलुका स्थानीय अग्र्यानिक परिकार, कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार तथा लोकल कुखुराको मासु पाहुनालाई खुवाइन्छ । खाना पकाउने काममा स्थानीय महिला अग्रसर हुन्छन् भने पुरुषले सहयोग गर्ने गरेका छन् ।

    पर्यटकलाई एउटै घरमा खाना खुवाउने र छुट्टाछुट्टै घरमा बास बस्ने व्यवस्था गरिएको छ । बिहान उनीहरू बसेकै घरमा कोदोको सेलरोटी, तरकारी, अचार र चियासहितको नास्ता गर्छन् । फर्कने बेला प्रत्येक पर्यटकलाई सेतो अक्षता र फूलको माला लगाएर बिदाइ गरिन्छ ।

    समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको रामकोट मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै मानिन्छ । शान्त वातावरण र मौलिक गाउँले जीवनको प्रत्यक्ष अनुभव लिन चाहने पर्यटक यहाँ पुग्ने गर्छन् । यहाँबाट हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले पनि रामकोट पर्यटकको रोजाइमा पर्न थालेको हो ।

    रामकोटका ढुङ्गा छापिएका गल्ली सफा र आकर्षक छन् । मिलाएर राखिएका मकैका सुली, दाउराका खलिया र आँगनमा बिछ्याइएका ढुङ्गाले गाउँको सौन्दर्य थप बढाएको छ । होमस्टे सञ्चालनपछि स्थानीयले कुखुरा, बाख्रा, सुँगुरपालन, तरकारीखेती तथा स्थानीय मदिरा उत्पादनमार्फत अतिरिक्त आम्दानी गर्न थालेका छन् । यसले साना–साना आर्थिक आवश्यकता पूरा गर्न सहज भएको स्थानीय महिला बताउँछन् । होमस्टे सञ्चालनसँगै महिलामा बचत गर्ने बानीको समेत विकास भएको छ । मगर संस्कृतिको संरक्षणसँगै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले स्थापना गरिएको होमस्टे सफल बन्दै गएकामा स्थानीय खुसी छन् ।

    रामकोट सामुदायिक होमस्टेका अध्यक्ष आले पर्यटकको आगमन बढेसँगै युवाले गाउँमै सम्भावना देख्न थालेको बताउँछन् । उनका अनुसार २०८३ सालभित्र एकै रातमा २०० जना पर्यटकलाई बास बस्न मिल्ने पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ । साथै, युवालाई गाउँमै सक्रिय बनाएर हराउँदै गएको ठाडो भाका र मारुनी नाचको संरक्षण तथा पुनर्जीवनमा पनि जोड दिइनेछ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले रामकोटका गल्लीमा ढुङ्गा छाप्ने तथा अन्य पूर्वाधार निर्माणका काम पालिकाले समन्वय गरेर अघि बढाइरहेको बताउँछन् । बन्दीपुरसहित व्यास नगरपालिकाभित्रका होमस्टेलाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण गरी पर्यटकलाई एक रात रामकोटमा बास बस्ने कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । रामकोट बन्दीपुरबाट मुच्चुक हुँदै ५.५ किलोमिटर, सेराटार हुँदै आठ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनेबाट सात किलोमिटर दूरीमा पर्छ ।

  • वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

    वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

    १ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

    यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका–२सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाउँदै सडक विभागलगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका बताएको छ ।

  • तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    काठमाडौँ, १ साउनः बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका जनाएको छ । उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् ।

    चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् ।

    त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ । तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

  • सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

    सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

    काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिए ।


    करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरे । भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।


    मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याए । मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैङ्कहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्री शाहले आग्रह गरे ।


    यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उहाँहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो ।

    छलफलमा गभर्नर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट पारे । उनले सरकार र राष्ट्र बैङ्क दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैङ्कले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरे । सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैङ्कले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।

  • नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

    नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

    काठमाडौँ — नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न भएको छ । दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले ईपीएस कार्यक्रमले वित्तीय रेमिट्यान्स मात्र नभई सामाजिक रेमिट्यान्स समेत सिर्जना गरिरहेको बताए । उनका अनुसार कोरियाबाट फर्केका नेपालीहरूले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउने गरेका छन्, जसले उनीहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ।

    मन्त्रालयले हालै सम्मान गरेका सात सफल उद्यमी रिटर्ननीहरूमध्ये दुई जना दक्षिण कोरियाबाटै फर्केका व्यक्तिहरू हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गरे ।


    दक्षिण कोरियाको आफ्नै विकास यात्राको उदाहरण दिँदै मन्त्रीयादवले कुनै समय कोरियाली नागरिकहरू पनि कामको खोजीमा जाने गरेको स्मरण गराउनुभयो। ‘कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसरहरू सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ,’ उनले भने । यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उनको तर्क थियो।


    ईपीएस मोडललाई अन्तर्राष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय मोडल मान्दै मन्त्री यादवले यसको पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गरे । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधारहरू गरिरहेको र यसमा ईपीएस मोडलबाट धेरै कुरा सिक्न सकिने उनले बताए ।

    मन्त्री यादवले दुवै सरकारलाई ईपीएस आकांक्षीहरूका लागि स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन र कार्यस्थलको सुरक्षा तथा कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभयो। साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारहरूका लागि सञ्चालित पुनः एकीकरण कार्यक्रमहरूमा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारसँग आग्रह गरिएको छ।


    कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, मलेसियाली राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र ईपीएसमार्फत फर्केका नेपालीहरूको उपस्थिति रहेको थियो।

  • महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने बताए ।


    छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गरे । महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाए ।


    छलफलका क्रममा महासङ्घको वार्षिक अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग पनि गरिएको थियो । साथै, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो ।

    महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

    महिला उद्यमीहरूको छाता संस्था महासङ्घलाई सरकारका नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै उहाँहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि महासङ्घले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आफ्ना समस्या गम्भीरपूर्वक सुनेर तत्काल पहल सुरु गरेकोमा उनीहरुले प्रधानमन्त्री शाह समक्ष कृतज्ञता समेत व्यक्त गरे ।


    “प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन उहाँले समस्याको समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो”, महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, “एक्सन ओरिएन्टेट प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवद्र्धनमा मद्दत हुने हाम्रो विश्वास छ ।”

    महिला उद्यमशीलताको प्रवद्र्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरुको दिगो विकाससम्बन्धमा छलफल भएको थियो । छलफलमा महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य , महासचिव सविता सुवेदी, सचिव डिकीला लामा तृतीय, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायत सहभागी थिए ।

  • अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

    काठमाडौँ, ३२ असारः उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरिन् ।


    मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् । नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उनले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताइन् ।


    मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ । भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताए ।