Category: अर्थतन्त्र

  • अस्ट्रेलियाली युरेनियममा भारतको चासो

    अस्ट्रेलियाली युरेनियममा भारतको चासो

    मेलबर्न, २६ असार (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने अवसरलाई ‘ऐतिहासिक’ अवसरका रूपमा प्रस्तुत गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग हुने उच्चस्तरीय वार्ताअघि उनले यस्तो धारणा व्यक्त गरेका छन् ।


    मेलबर्नमा आयोजित व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतमा बढ्दो विद्युत् माग पूरा गर्न आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादन उल्लेखनीय रूपमा विस्तार गर्ने योजना रहेको बताए । उनले अस्ट्रेलियाको विशाल युरेनियम भण्डार भारतको आणविक ऊर्जा यात्रासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने समय आएको बताए ।


    विश्वको करिब २८ प्रतिशत युरेनियम स्रोत अस्ट्रेलियासँग रहे पनि कानूनी व्यवस्था र राजनीतिक संवेदनशीलताका कारण भारततर्फ निर्यात लामो समयदेखि सीमित रहँदै आएको छ । यद्यपि दुवै देशले ऊर्जा, व्यापार तथा रणनीतिक साझेदारीलाई विस्तार गर्ने प्रयासलाई पछिल्ला वर्षहरूमा तीव्र बनाएका छन् ।

    कार्यक्रमका क्रममा प्रधानमन्त्री मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले सहभागीहरूसँग सेल्फीसमेत खिचेका थिए । अल्बानिजले प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्दै उनको सक्रिय पहलले भारत–अस्ट्रेलिया सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको बताए । यसअघि पनि उहाँले मोदीलाई ‘द बोस’ भनेर सम्बोधन गर्दै उनले अमेरिकी रक गायक ब्रुस स्प्रिङ्स्टिनभन्दा ठूलो भीड आकर्षित गर्न सक्ने टिप्पणी गरेका थिए ।


    पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा भारतीय मूलका समुदायको जनसङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष सार्वजनिक तथ्याङ्कअनुसार पहिलो पटक भारतमा जन्मिएका आप्रवासी अस्ट्रेलियामा सबैभन्दा ठूलो विदेशी मूलको समुदाय बनेका छन् । अस्ट्रेलिया–इन्डिया इन्स्टिच्युटकी तिस्ता प्रकाशका अनुसार सन् २०१४ मा तुलनात्मक रूपमा सानो रहेको भारतीय डायस्पोरा अहिले अस्ट्रेलियाकै सबैभन्दा ठूलो आप्रवासी समुदाय बनेको छ । भारतीय डायस्पोराले ब्रिटिश मूलका समुदायलाई समेत उछिनेको छ ।

    प्रधानमन्त्री मोदीको सम्मानमा बिहीबार मेलबर्नको एक स्टेडियममा आयोजना हुने सामुदायिक कार्यक्रममा २० हजारभन्दा बढी मानिस सहभागी हुने आयोजकहरूको अनुमान छ । यद्यपि उनको भ्रमणसँगै भारतमा हिन्दू राष्ट्रवाद र अल्पसङ्ख्यक समुदायमाथिको व्यवहारलाई लिएर विरोध प्रदर्शनको पनि तयारी गरिएको छ । अस्ट्रेलियाको एलायन्स एगेन्स्ट इस्लामोफोबियाले भारतमा अल्पसङ्ख्यकमाथि दमन भएको आरोप लगाउँदै कार्यक्रमस्थलबाहिर प्रदर्शन गर्ने जनाएको छ भने भारतीय आप्रवासनविरुद्ध अर्को छुट्टै प्रदर्शनको पनि तयारी गरिएको छ । अस्ट्रेलियाको भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री मोदी न्युजिल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    कञ्चनपुर, २६ असारः सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ ।

    निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष छन् । निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने तीन हजार ६९९ नेपाली पर्यटक छन् । जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन् । कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ ।

    त्यसैगरी, सार्क राष्ट्रबाट ३५८ पर्यटक निकुञ्ज पुगेका छन् । यसमध्ये ८७ महिला र २७१ पुरुष छन् । तेस्रो मुलुकबाट भने १५६ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । जसमा ५७ महिला र ९९ पुरुष छन् । विदेशी पर्यटकको सङ्ख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ । गत आवभन्दा चालु आवमा विदेशी पर्यटको सङ्ख्या २२ ले बढेको छ ।

    महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन् । मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत, वैशाख र जेठमा पर्यटकको चाप बढी हुने गरेको छ ।

    सबैभन्दा कम पर्यटक असोजमा मात्र नौ जना पुगेका थिए । त्यसपछि मङ्सिरमा २९३, माघमा ३६९, पुसमा ३७६ र फागुनमा ३८६ जनाले निकुञ्ज भ्रमण गरेका छन् । वर्षायाम तथा पर्यटकीय सिजन सुरु नहुँदा असोजमा पर्यटकको सङ्ख्या न्यून हुने गरेको देखिन्छ ।

    गत आव २०८१\८२ मा निकुञ्जमा तीन हजार ७२२ पर्यटक आएका थिए । तीमध्ये तीन हजार ३७१ नेपाली, १९९ सार्क राष्ट्रका तथा १५२ जना तेस्रो मुलुकका पर्यटक थिए ।

    चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ । करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ ।

    यहाँ बाह्रसिङ्गासँगै पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैँडा, चितुवा, नीलगाई, जरायो, रतुवा, जङ्गली बँदेल, भालु, स्याल, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्ज पन्छीप्रेमीका लागि पनि आकर्षक गन्तव्य हो । यहाँ ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् ।

    निकुञ्जभित्रका विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, सालघारी, चौधर नदी क्षेत्र, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् । बिहान र साँझको समयमा हात्ती सफारी, जिप सफारी तथा बर्ड वाचिङमार्फत पर्यटकले वन्यजन्तु नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन् ।

    प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तु अवलोकनको अनुपम गन्तव्यका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, प्रचारप्रसार तथा पर्यटकमैत्री सेवामा थप सुधार गर्न सके आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन अझै उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण

    राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण

    काठमाडौँ, २६ असारः राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।

  • वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    काभ्रेपलाञ्चोक, २६ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    “वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयारी अवस्थामा राखिएको छ”, कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।


    उहाँका अनुसार साविककै स्थानमा पुनःनिर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोशी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ ।

    चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ ।

    विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।

    “पुनःनिर्माण हुने सडकखण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ”, योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडकं निर्माण सुरु गरिएको थियो ।

  • निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    काठमाडौँ, २५ असारः प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।


    प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमाल सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड दिए । छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।

    उनीहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए । निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा सहभागी थिए ।

  • टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

    टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

    काठमाडौँ, २५ असारः विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त मुद्दाका आरोपी १८ जनालाई आज सफाइ दिएको विशेष अदातलका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

  • गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    गण्डकी, २५ असारः गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे । त्यसअघि आजको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेल सहभागी भए ।


    विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधि र औद्योगिक उत्पादनका लागि गाँजाखेती गर्ने बाटो खुलेको छ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टिएचसी’को मात्रा शून्य दशमलव तीन प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ । गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ । गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

  • सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

    सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

    कायरो, २५ असार (रासस–एपी) । सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारवादी समूहले जनाएका छन्। सुडानमा जारी द्वन्द्वका क्रममा मानवरहित विमान (ड्रोन)को प्रयोग बढ्दै गएको बताइएको छ।

    सुडान डक्टर्स नेटवर्कका अनुसार, बुधबार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमा ड्रोन आक्रमण हुँदा एउटै परिवारका पाँच महिलासहित १० जनाको मृत्यु भएको हो।

    चिकित्सा सहायता समूहले उक्त आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०लाई जिम्मेवार ठहर गरेको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको जनाइएको छ।

    सुडान डक्टर्स नेटवर्कले आक्रमण योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आग्रह गरेको छ।

    यसैबीच, अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’का अनुसार मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि ड्रोन प्रहार हुँदा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।

    उक्त संस्थाले सर्वसाधारणलाई लक्षित ड्रोन आक्रमण पछिल्लो समय बढ्दै गएको जनाएको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार नर्थ कोर्डोफान क्षेत्रमा भएका ड्रोन आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय क्षेत्र, पुल तथा आपूर्ति मार्गमा क्षति पुगेको छ।

    सुडानमा सेना र र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०बीच सन् २०२३ को अप्रिलदेखि जारी द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको, करिब एक करोड ३० लाख मानिस विस्थापित भएको तथा तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

  • तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    रासस

    दमौली (तनहुँ), २५ असारः तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो ।

    ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

    आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना ९हेडवक्र्स०, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ ।

    बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।

    यस्तै, विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उहाँका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ । 

  • भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    रासस

    काँक्रेविहार (सुर्खेत), २५ असारः राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ ।

    सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ ।

    भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछ । त्यसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ ।

    प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

    भेरी–बबईको प्रगति ७० प्रतिशत

    भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिए । अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिनपहिले आयोजना स्थलको निरीक्षण गरेका थिए । उनले निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका थिए ।  

    आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ । प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्नका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ । 

  • सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    कास्की, २५ असारः कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

    सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए । 

    उनका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ ।

    आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ । प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ ।

    सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ । त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ । यहाँ ११/११ मेगावाट क्षमताका दुईवटा ‘टर्वाइन’ जडान गरिएका छन् ।

    आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ । आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिएको छ ।

    सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन् । गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवद्र्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ । हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन् ।

  • भूमिसुधार मन्त्रालयको वेबसाइटबाट सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

    भूमिसुधार मन्त्रालयको वेबसाइटबाट सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

    २५ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ। उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्।

    ड्यासबोर्डमार्फत समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुली, सुकुम्बासी लालपुर्जा वितरण, स्थानीय तहबाट नापी–मालपोत सेवा, सहकारी अनुगमन, निजामती अस्पताल सेवा प्रदेशमा विस्तार गरिएको सम्पुर्ण विवरण हेर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रगति, भोगाधिकारसम्बन्धी कार्य, गुठी जग्गा अतिक्रमण नियन्त्रणका गतिविधि तथा ‘मेरो कित्ता’ मोबाइल एपसँग सम्बन्धित सेवासमेत सोही ड्यासबोर्डमा समावेश गर्ने तयारी भइरहेको छ। मन्त्रालयका अनुसार ड्यासबोर्डमार्फत मन्त्रालयका कामकारबाही र कार्य प्रगति विवरण सबै सार्वजनिक हुने भएकाले सेवा प्रवाह थप पारदर्शी, प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

  • विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    काठमाडौँ, २३ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ ।


    उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमाली ल्याइएको हो । नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूका लागि नयाँ मापदण्ड लागू हुनेछ ।
    नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविदँलयभित्र परेको हुनुपर्नेछ ।

    यसअघि शिक्षा मन्त्रालयले सार्वजनिक गरेको व्यवस्थाअनुसार विश्वविद्यालय विगत पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय ¥याङकिङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान राखिएको छ ।
    त्यसैगरी, सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (डलल क्यूएए) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ । साथै, कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था गरिएको छ ।


    नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ । सरकारले तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरेमा सम्बन्धन नवीकरण, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ ।

  • यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

    यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ, २४ असारः सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी, गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, शिक्षण अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ ।

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । यसैगरी, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत भएको छ ।

    बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३-०८४–२०८७-८८) र भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२-८३–२०८७-८८) स्वीकृत गरेको छ ।

  • युनिभर्सल मेडिकल कलेजमा अनुगमन : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही

    युनिभर्सल मेडिकल कलेजमा अनुगमन : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही

    भैरहवा, असार २२ । रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।

    श्रमिकहरूले श्रम योगदान अनुसारको पारिश्रमिक समयमा नपाएको, रोजगारी अन्त्य भएको १५ दिनभित्र पाउनुपर्ने सेवा सुविधा प्राप्त नगरेको र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाएको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको छानबिनका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशनमा बुटवल कार्यालयले कलेजको स्थलगत निरीक्षण गरेको हो।


    अनुगमनपछि श्रम तथा रोजगार कार्यालयले कलेज प्रशासनलाई विभिन्न १२ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सबै श्रमिकहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र महँगी भत्ता उपलब्ध गराउन,सम्पूर्ण श्रमिकहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र राजीनामा दिएका वा रोजगारी अन्त्य भएका कर्मचारीहरूको तलब र सेवा सुविधा १५ दिनभित्रै फरक–फारक गर्न लगायतका निर्देशन दिइएको छ।

    श्रम कार्यालयले श्रम ऐन विपरीत काम लगाउने वा तोकिएको सुविधा नदिने रोजगारदातालाई श्रमिकको काटिएको रकमको दोब्बरसम्म जरिवाना गरी श्रमिकलाई भराइदिने कानुनी व्यवस्था रहेको भन्दै सचेत गराएको छ। कार्यालयले कलेजलाई श्रम अडिट गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ। वरिष्ठ श्रम अधिकृत मनोज कुमार शैनी र शाखा अधिकृत हुम पाण्डे सहितको टोलीले यो अनुगमन सम्पन्न गरेको हो । श्रम कार्यालयले अनुगमनका क्रममा बालश्रम प्रयोग नभएको स्पष्ट पारेको छ।

  • सिंहदरबारभित्रका सरकारी कार्यालयमा अब ह्वीलचियर र सहजकर्तासहितको सेवा

    सिंहदरबारभित्रका सरकारी कार्यालयमा अब ह्वीलचियर र सहजकर्तासहितको सेवा

    २४ असार, काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबारबाट यो व्यवस्थाको शुभारम्भ गरे । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको हो।

    यो सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई क्रमशः अन्त्य गर्दै लगिने बताए ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।
    यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्, जसले सेवाग्राही र कर्मचारीलाई आवश्यक सहयोग गर्नेछन्।

    सरकारले यस व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ संकल्प लिएको छ। यो व्यवस्था आगामी दिनमा देशभरका अन्य सरकारी निकायहरूमा लागू गर्ने तयारी छ।

  • प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे छलफल, के भयो कुराकानी ?

    प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे छलफल, के भयो कुराकानी ?

    काठमाडौँ, २४ असारः प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरे ।


    सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरे ।


    प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो । उहाँले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे । छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।

    निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवर्द्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

  • मुख्यसचिवमा कार्की नियुक्त

    मुख्यसचिवमा कार्की नियुक्त

    काठमाडौँ, २४ असारः सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

  • दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    जेनेभा, २४ असार (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको जनाएको छ । तर उक्त सुधार सीमित, कमजोर र असमान रहेको भन्दै संस्थाले सावधानी अपनाउन आग्रह गरेको छ ।

    संयुक्त राष्ट्र सङ्घको व्यापार तथा विकास निकाय (यूएनसीट्याड)ले सार्वजनिक गरेको ‘विश्व लगानी प्रतिवेदन–२०२६’ अनुसार सन् २०२५ मा विश्वव्यापी एफडीआइ छ प्रतिशतले बढेर एक दशमलव छ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

    प्रतिवेदनअनुसार गत वर्षको कुल एफडीआइमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा २० वटा देशमा मात्र केन्द्रित भएको थियो । लगानी वृद्धि मुख्यतः सीमित क्षेत्र र केही ठूला परियोजनामा केन्द्रित रहँदा अधिकांश क्षेत्रमा नयाँ लगानी परियोजनाको विस्तार सुस्त रहेको उल्लेख गरिएको छ ।

    यूएनसीट्याडले बढ्दो भू–राजनीतिक तनाव, व्यापार नीतिमा अनिश्चितता, पुँजीको उच्च लागत र तीव्र प्राविधिक प्रतिस्पर्धालाई लगानी विस्तारमा चुनौतीका रूपमा औँल्याएको छ ।

    प्रतिवेदनको प्रस्तावनामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२५ को एफडीआई वृद्धिले देश, क्षेत्र र उद्योगबीच विद्यमान असमानतालाई ढाक्न नसक्ने उल्लेख गरेका छन् । उनले लगानी वृद्धि मुख्यतः कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारलगायत केही ठूला परियोजनाबाट प्रेरित भएको बताए । प्रतिवेदनका अनुसार डाटा सेन्टर, तेल तथा ग्यास र सेमिकन्डक्टर क्षेत्रमा लगानी बढे पनि नवीकरणीय ऊर्जा, पूर्वाधार र उत्पादनमूलक उद्योगलगायत अधिकांश क्षेत्रमा लगानी घटेको छ ।

    विकसित अर्थतन्त्रमा सन् २०२५ मा एफडीआई ११ प्रतिशतले बढ्दा विकासोन्मुख अर्थतन्त्रमा भने दुई प्रतिशत मात्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । विकासोन्मुख देशहरूले ९०१ अर्ब अमेरिकी डलर बराबरको लगानी प्राप्त गरेका छन् ।

    क्षेत्रगत रूपमा विकासोन्मुख एसिया ६४४ अर्ब अमेरिकी डलर भित्र्याउँदै सबैभन्दा बढी लगानी प्राप्त गर्ने क्षेत्र बनेको छ । ल्याटिन अमेरिका र क्यारिबियनमा लगानी १४ प्रतिशतले बढेर १८८ अर्ब डलर पुगेको छ भने अफ्रिकाले करिब ७० अर्ब डलर लगानी प्राप्त गरेको छ । कम विकसित देशमा एफडीआई २१ प्रतिशतले बढेर ४३ अर्ब डलर पुगे पनि यो विश्वव्यापी लगानीको दुई दशमलव सात प्रतिशत मात्र रहेको प्रतिवेदनले जनाएको छ ।

    यूएनसीट्याडका अनुसार गत वर्ष विश्वभर २२९ वटा नयाँ लगानी नीतिगत उपाय लागू गरिएका थिए । तीमध्ये अधिकांश लगानीमैत्री भए पनि धेरै नीति रणनीतिक उद्योगमा लगानी आकर्षित गर्ने, घरेलु आर्थिक प्राथमिकता प्रवद्र्धन गर्ने तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनले नयाँ लगानी प्रवृत्तिले विकासशील मुलुकका लागि अवसर सिर्जना गरे पनि पूँजी र प्रविधिमा आधारित लगानीको बढ्दो प्रवृत्तिका कारण धेरै विकासशील अर्थतन्त्रपछि पर्न सक्ने चेतावनी दिएको छ । 

  • इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    जकार्ता, २४ असार (रासस–एएफपी) । भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । यसअन्तर्गत भारतले इन्डोनेसियालाई ब्रह्मोस लामो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्झौता भएको भारतीय पक्षले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने राजकीय भ्रमणका क्रममा जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको वार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ब्रह्मोस क्षेप्यास्त्र प्रणालीमा सहकार्यसम्बन्धी सम्झौता भएको जानकारी दिए । साथै, दुवै देशबीच हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रणालीसम्बन्धी प्रविधि तथा रक्षा क्षमता अभिवृद्धिका लागि पनि सहकार्य गर्ने सहमति भएको उनले बताए । सम्झौताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इन्डोनेसियाको रक्षा मन्त्रालयले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

    वार्तापछि प्रधानमन्त्री मोदीले भारत र इन्डोनेसियाबीच रक्षा, सुरक्षा तथा समुद्री मामिलामा आपसी विश्वास सुदृढ हुँदै गएको बताए । उनले रक्षा आदानप्रदान, विपद् व्यवस्थापन तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति भएको जानकारी दिए । दुवै देशका तटरक्षक निकायले हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा र सुरक्षासम्बन्धी सहकार्य पनि बढाउने भएका छन् ।

    दुवै पक्षले महत्वपूर्ण खनिज, स्टेनलेस स्टिल तथा दुर्लभ पृथ्वीजन्य चुम्बक (रेयर अर्थ म्याग्नेट) उत्पादन र विकासमा निजी क्षेत्रबीच साझेदारी प्रवद्र्धन गर्ने सहमति गरेका छन् ।

    राष्ट्रपति प्रबोवोले आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तार तथा प्राथमिकतापूर्ण व्यापार सम्झौतासम्बन्धी वार्तालाई तीव्रता दिने सहमति भएको बताए । दुवै नेताले योग्याकार्तास्थित युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्रम्बानन मन्दिरको पुनःस्थापनाका प्रयासको स्वागत गर्दै बुधबार संयुक्त रूपमा त्यसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार इन्डोनेसियाको भ्रमणपछि प्रधानमन्त्री मोदी अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने कार्यक्रम छ । 

  • मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड

    मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड

    लन्डन, २४ असार (रासस–एएफपी) । ‘बैङ्क अफ इङ्गल्याण्ड’ (बीओई)ले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न आर्थिक तथा वित्तीय जोखिम अझै कायम रहेको चेतावनी दिएको छ । बीओइले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो वित्तीय स्थिरता प्रतिवेदनमा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी समझदारीपछि ऊर्जा मूल्य द्वन्द्वअघिको स्तरभन्दा केही माथि आए पनि अनिश्चितता कायमै रहेको उल्लेख गरेको छ ।

    बैङ्कको वित्तीय नीति समितिले मध्यपूर्वमा हुने थप घटनाक्रमले वित्तीय बजारमा रहेका जोखिमपूर्ण अवस्थालाई थप प्रभावित पार्न सक्ने जनाएको छ । साथै, सम्भावित कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी बजार असन्तुलनसँग अन्य आर्थिक जोखिम जोडिएमा चुनौती बढ्न सक्ने चेतावनी दिएको छ ।

    प्रतिवेदनमा एआइसम्बन्धी कम्पनीहरूको मूल्याङ्कन उच्च रहेको र ती मूल्याङ्कन आगामी वर्षमा निरन्तर बलियो नाफा वृद्धिको अपेक्षामा आधारित रहेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पूर्वाधार विकास र प्रविधिको व्यापक प्रयोग महत्वपूर्ण हुने बैङ्कले जनाएको छ ।

    ऊर्जाको खुद आयातकर्ता मुलुक भएकाले बेलायत मध्यपूर्व द्वन्द्वका कारण हुने ऊर्जा मूल्य वृद्धिबाट प्रभावित हुन सक्ने बीओइले जनाएको छ । यद्यपि, यी चुनौतीका बाबजुद बेलायतको वित्तीय प्रणाली अझै लचिलो अवस्थामा रहेको बैङ्कले उल्लेख गरेको छ ।

    यसैबीच, बीओइले प्रमुख बेलायती बैङ्कहरूका लागि वित्तीय सुरक्षासम्बन्धी ‘बफर’ नियमलाई केही खुकुलो बनाउने प्रस्ताव गरेको छ । वित्तीय सङ्कटपछि लागू गरिएका यी नियमले बैङ्कलाई सङ्कटको समयमा थप वित्तीय क्षमता उपलब्ध गराउने उद्देश्य राखेका थिए । 

  • मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च

    मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च

    वासिङ्टन, २४ असार (रासस–एएफपी) । आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल ९ट्यारिफ० लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको हुन सक्ने बताएका छन् ।

    अमेरिकी वाणिज्य विभागका अनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२ दशमलव दुई प्रतिशतले बढेर ७७ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।

    मे महिनामा आयात तीन दशमलव तीन प्रतिशतले बढेर ३९५ दशमलव तीन अर्ब डलर पुगेको छ भने निर्यात तीन दशमलव दुई प्रतिशतले घटेर ३१७ दशमलव सात अर्ब डलरमा सीमित भएको छ ।

    विश्लेषकका अनुसार कम्प्युटर उपकरण, सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता ९एआइ०सम्बन्धी हार्डवेयरको माग बढेसँगै पुँजीगत वस्तुको आयात उल्लेख्य रूपमा बढेको छ । उपभोक्ता वस्तुमध्ये औषधिजन्य सामग्रीको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

    अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री ग्रेस ज्विमरका अनुसार जुलाई अन्त्यदेखि लागू हुने प्रस्तावित उच्च भन्सार महसुलबाट बच्न व्यवसायीले औषधिजन्य सामग्रीको आयात अग्रिम रूपमा बढाएको हुन सक्छ ।

    विश्लेषकले अमेरिकी घरेलु माग बलियो रहेकाले पनि आयात वृद्धि भएको जनाएका छन् । साथै, सम्भावित ट्यारिफ वृद्धिअघि नै सामान भित्र्याउने व्यवसायको रणनीतिले पनि व्यापार घाटा बढाउन योगदान दिएको उनीहरूको भनाइ छ ।

    यसैबीच, मध्यपूर्वमा उत्पन्न तनावका क्रममा अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको निर्यात बढेको थियो । अमेरिका र इरानबीचको समझदारीपछि होर्मुज जलसन्धिमा ढुवानी क्रमशः सामान्य बन्दै जाँदा पेट्रोलियम निर्यात पनि युद्धपूर्वको अवस्थातर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन् ।

  • ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    तेहरान–दोहा, २४ असार (रासस–सिन्ह्वा) । इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको जनाएको छ ।

    फर्सका अनुसार अमेरिका–समर्थित ओमानी मार्ग प्रयोग गर्दै ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजेका ती ट्याङ्करले चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको हो ।

    फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टले सार्वजनिक गरेका स्याटेलाइट तस्बिर तथा समुद्री आवागमनसम्बन्धी तथ्याङ्क उद्धृत गर्दै घटनापछि जापान, भारत तथा अन्य पश्चिमी मुलुकका केही जहाजले आफ्नो मार्ग परिवर्तन गरी इरानले तोकेको जलमार्ग प्रयोग गरेको जनाएको छ ।

    विभिन्न सञ्चारमाध्यमका अनुसार घटनापछि ‘स्टे«ट अफ होर्मुज’ नजिक कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को ट्याङ्करमा क्षति पुगेको छ ।

    ‘अल–रेकाय्यात’ नामको कतारी जहाजमा प्रहार भएपछि त्यसले सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको बताइएको छ ।

    कतारले उक्त आक्रमणको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन तथा अन्तरराष्ट्रिय समुद्री आवागमन र विश्वव्यापी ऊर्जा सुरक्षामाथिको खतरा भएको जनाएको छ ।

    कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी विज्ञप्तिमा घटनाका लागि इरानलाई पूर्ण रूपमा कानुनी रूपमा जिम्मेवार ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् । 

  • तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

    तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

    भोजपुर, २४ असारः भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ । विसं २०७७ मा रु ५१ करोड ६२ लाख लागतमा सम्झौता भएर कालोपत्र थालिएको हो । “यो सडकको १४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ”, प्रमुख रेड्डीले भने,  “कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन कार्यालयले ध्यान दिएको छ ।”

    अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार सडक कालोपत्र भइरहेको छ । गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको कार्यालयले जनाएको छ ।

    षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले यो सडकलाई स्थानीय विकासको मेरुदण्डका रूपमा रहेको बताए । सडक कालोपत्र भएपछि स्थानीयमा उत्साह बढेको उनको भनाइ छ । “सडक पूर्वाधार विकासको आधार हो”, प्रमुख उदासले भने, “यो सडक सम्पन्न भएपछि यहाँको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सुधार आउनेछ ।”

    स्थानीय बासिन्दाका अनुसार वर्षौँदेखि कच्ची सडकका कारण भोग्दै आएको समस्या अन्त्य हुने चरणमा पुगेको छ । स्थानीय देवीराम चौलागाईँले सडक बनेपछि आवतजावत सहज हुनुका साथै ढुवानी खर्च र समय दुवै घट्ने बताए । “पहिले निकै कठिन थियो, अब सडक बनेपछि ठूलो राहत मिल्नेछ”, उनले भने । 

    सडक निर्माण सम्पन्न भएसँगै षडानन्द नगरपालिका र आसपासका क्षेत्रका बासिन्दालाई नियमित, सुरक्षित र सहज यातायात सेवा उपलब्ध हुने उहाँको भनाइ छ । यसले व्यापार, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्दै समग्र क्षेत्रीय विकासमा नयाँ आयाम थप्ने उनले जानकारी दिए । 

  • कृषि र ऊर्जा मन्त्रालयबीच सहकार्य गर्ने सहमति

    कृषि र ऊर्जा मन्त्रालयबीच सहकार्य गर्ने सहमति

    २३ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो ।

    छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने धारणा राख्नुभयो । त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव राखे ।  

    कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाउने बताइन् । यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए । उनले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानको आवश्यकता बारे प्रत्यक्ष छलफल भएको थियो ।

    बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरी कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ ।

    त्यस्तै बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन् ।

    सरकारको अपेक्षाअनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । मन्त्रालयका अनुसार सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण समृद्धिको आधारका रूपमा विकास भइरहेका छन् । 

  • झ्याप्प–झ्याप्प बत्ती जाने समस्या समाधान अभियान सुरु

    झ्याप्प–झ्याप्प बत्ती जाने समस्या समाधान अभियान सुरु

    २३ असार, काठमाडौं । पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या जनताको दैनिक जीवनसँग सीधै जोडिएको छ। त्यसैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो समस्याको सक्रिय अनुगमन र तत्काल समाधानको अभियान सुरु गरेको छ। अभियानको पहिलो दिन हटलाइन ११५० र ११५१ मा २४ वटा गुनासा प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ । अधिकांश गुनासा वीरगञ्ज क्षेत्रबाट आएका थिए ।  सबै समाधान भइसकेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।

    प्राप्त सबै २४ वटा गुनासा शतप्रतिशत सम्बोधन भएका छन्।

    विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा हटलाइन ११५० र ११५१ मा सर्क्प गर्न सकिने भएको छ । यसैगरी आवश्यक परेमा देहायका पदाधिकारीहरूलाई पनि सम्पर्क गर्न सकिने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण

    दीर्घायु श्रेष्ठ (प्रबन्ध निर्देशक) – ९८५१३१३९८२

    प्रदेश सम्पर्क

    कोशी (विराटनगर) : विनोद कुमार यादव – ९८५५०४०७६६

    मधेश (जनकपुर): हरदेव प्रसाद गुप्ता कलवार – ९८५५०४४९१७

    बागमती (काठमाडौं) : सुधीर कुमार राय – ९८५११५०५२५

    गण्डकी (पोखरा) महादेव भट्टराई – ९८५७०१०६२२

    लुम्बिनी (बुटवल) : उमेश कुमार शाह – ९८५२०२९१८९

    कर्णाली (सुर्खेत) : शशिभूषण साह – ९८५८०७२३९९

    सुदूरपश्चिम : जंगबहादुर चन्द – ९८५८४८८५५५

    मन्त्रालय अन्तर्गत हटलाइन मा कार्यरत कर्मचारीहरू चौबीसै घण्टा सेवा उपलब्ध भएको समेत जानकारी गराइएको छ ।

  • भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    २३ असार, काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि उनले मंगलबार मन्त्रालयमा भेट गर्दै विशेष निर्देशन दिए ।

    व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,ू अर्थमन्त्री वाग्लेले भने, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

    अर्थमन्त्री डा।वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिए । भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा मुलुकले विकासको गति लिने उनको भनाइ छ। भन्सार र करको लक्ष्य पूरा गर्ने कदम चाल्दा व्यावसायिक वातावरण राम्रो बनाउने र प्रणालीको चुहावट टाल्नु मुख्य काम भएको उनले बताए । 

    अर्थमन्त्री डा. वाग्लेले दुई महानिर्देशक र भन्सारमा नयाँ आउनुभएका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार र प्रोत्साहन सुनिश्चित रहेकोबारे अवगत गराउन आग्रह गरे । प्रशासन संयन्त्रमा राम्रो र क्षमतावान् भनी चिनिएका अब्बल दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएको निकायको नेतृत्वमा ल्याएको भन्दै अर्थमन्त्री वाग्लेले ६–८ महिनामै नतिजा देखिनेमा आशावादी रहेको पनि बताए । 

    असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ मा मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार र आन्तरिक राजस्वको महानिर्देशक र भन्सारको उपमहानिर्देशकको जिम्मेवारी तोकेको थियो। नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने बताए ।

  • राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ, २३ असार । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

  • सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

    सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

    हिमाल लम्साल/रासस

    काठमाडौँ, २३ असार । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिलाई भरथेग गर्ने गरी नेपाल राष्ट्र बैंकले लचिलो खालको मौद्रिक नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै सरकारले लिएको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएको बताए । 

    गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाले करिब रु ६० खर्ब बराबरको ऋण विस्तार गरेको उल्लेख गर्दै आगामी आवमा ११ प्रतिशत अर्थात छ खर्ब ५२ अर्ब ऋण विस्तार गरी सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने बताए । 

    साथै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि आज पत्रकार आयोजित पत्रकार सम्मेलनमा सरकारले लिएका सात प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइएको बताए । “सरकारले आगामी आर्थिक वर्षमा ल्याएको नीति कार्यक्रम र बजेटलाई भरथेग र सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको छ, मौद्रिक नीतिले सरकारले राखेको उद्देश्य पूरा गर्नका लागि सहयोगी भूमिका खेल्नेछ”, उनले भने । 

    राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने प्रावधानलाई प्राथमिकताको साथमा ल्याएको उल्लेख गरेको छ । प्रवक्ता पौडेलले यो प्रावधानले ऋणीलाई केही हदसम्म भएपनि सहज बनाउने बताए । 

    मौद्रिक नीतिमा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्नेतर्फ पनि केही सहजीकरण गर्ने उल्लेख छ । चेक अनादरको कारणले कालोसूचीमा नभईकन फरक ढङ्गले कानुनी व्यवस्था गर्नाले उद्यमी तथा व्यवसायीलाई केही सहजता हुने प्रवक्ता पौडेलले बताए । 

    राष्ट्र बैंकले रुग्ण उद्योगलाई नयाँ योजना सोच र भिजनसहित अघि बढाउन चाहने कम्पनीलाई पनि प्रवद्र्धन गर्ने खालको नीति मौद्रिक नीतिमा अङ्गीकार गरेको छ ।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक डा सत्येन्द्र तिमिल्सनाले मौद्रिक नीतिमार्फत रुग्ण अवस्थामा रहेको उद्योगलाई नयाँ सोच र भिजनसहित फेरि सञ्चालन गर्ने कार्ययोजनासहित आउनेलाई प्रोत्साहन गर्नका लागि यो नीति ल्याएको बताए । “रुग्ण उद्योगका निष्कृय कर्जाको व्यवस्थापनका साथै निष्कृय कर्जालाई पुनरुत्थान गर्न र संस्थालाई फेरि पहिलाकै अवस्थामा ल्याउनका लागि यो नीति ल्याएका हौं”, उनले भने, “यो नीतिले एकातर्फ रुग्ण उद्योगमा बैंक तथा वित्तीय संस्थाको रकम उठ्ने र रुग्ण उद्योग फेरि सञ्चालनमा ल्याउने अवस्था सिर्जना हुनेछ ।”

    राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरेको छ ।

    बैंक तथा वित्तीय संस्थालाई डिजिटलाइजेसनमार्फत वित्तीय लागत न्यून गराई सोको प्रतिफल ग्राहकमा हस्तान्तरण गरी उपभोक्ताले प्राप्त गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजाने नीति मौद्रिक नीतिमा समावेश छ । साथै बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भैरहेको अध्ययन सम्पन्न गरी सोही अनुरुप बैंक, वित्तीय संस्था तथा गैर बैंक तथा वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्थाहरु क्रमशः लागू गर्ने नीति अङ्गीकार गरिएको छ ।

    प्रवक्ता पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई तीन वटा फरक–फरक कागजपत्रका आधारमा प्रस्तुत गर्न खोजेको बताए । “विगतका वर्षका मौद्रिक नीतिमा एकैठाउँमा सबैकुरा समावेश गरेर ल्याइने गरिन्थ्यो, तर आगामी आवको मौद्रिक नीतिमा भने तीन वटा फरक–फरक डकुमेन्टलाई छुट्टाछुट्टै ढङ्गबाट प्रस्तुत गरेर ल्याइएको छ”, उनले भने । 

    केन्द्रीय बैंकले आव २०८२–८३ को मौद्रिक नीतिको समीक्षा, ‘म्याक्रो इकोनोमिक रिपोर्ट, एनालाइसिस एण्ड आउटलुक’ र मौद्रिक नीति २०८२–८३ गरेर छुुट्टाछुटै रुपमा ल्याएको छ ।

    केन्द्रीय बैंकले आव २०८३–८४ मा पाँच दशमलव ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै ७।० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गर्ने नीति अघि सारेको छ ।

    मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई यथावत् राख्दै अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुने गरी खुला बजार कारोबार सञ्चालन गर्ने नीति अघि सारेको छ । त्यस्तै गरी तरलताको प्रकृति हेरी संरचनागत तरलता र नियमित तथा आकस्मिक तरलता व्यवस्थापनका लागि भिन्न अवधिका उपकरणहरु प्रयोग गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

    राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमा ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत राखेको छ । त्यस्तै गरी अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको मौद्रिक नीतिमा उललेख गरिएको छ ।

    नेपाली बैंकले विदेशी बैंकको फण्डमा लगानी गर्न पाउने

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो पटक विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाइन्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था गरेको छ ।

    कार्यकारी निर्देशक तिमिल्सनाले नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशका केन्द्रीय बैंकको सेक्युरिटी तथा बण्ड फण्डहरुमा लगानी गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पियर टु पियर’ लेनदेन सञ्चालन गर्ने विषयमा आवश्यक अध्ययन गर्ने मौद्रिक नीतिमा समावेश गरेको छ ।

    साथै नेपाल सरकारले जारी गरेका राष्ट्रिय प्रतिवद्धता, शासकीय सुधारसम्बन्धी १०० कार्यसूची एवम् बजेट वक्तव्यमा उल्लेख भएका यस बैंकसँग सम्बन्धित कार्यक्रमहरु सम्बन्धित निकायसँगको समन्वयमा क्रमशः कार्यान्वयन गर्दै लैजाने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 

  • विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    वाशिङ्टन, २३ असार (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् । 

    ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा भन्न चाहन्न । तर उनी अत्यन्त शङ्कास्पद देखिएका छन् ।” 

    ब्राजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकार प्रयोग गर्दै उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए ।