Category: अर्थतन्त्र

  • कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

    कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

    काठमाडौँ, ३१ जेठः काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३–८४को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ । आजको नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहरलाई निःशुल्क, सःशुल्क , न्यूनीकरण, सृजनात्मक पुनःचक्रीयलगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्द्धन हुनेगरी महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गरिने बताइन् ।


    “महानगरले आगामी आवको नीति तथा कार्यक्रममा १०१ बुँदालाई समावेश गरेको छ”, उनले भनिन्, “फोहर स्थानान्तरण केन्द्रबाट निस्कने न्यून फोहरलाई बञ्चरेडाँडा ल्याडफिल साइडमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी (यान्त्रीकृत फोहर व्यवस्थापन तथा पुनःप्राप्ति केन्द्र) सञ्चालन गरी वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनेछ ।”

    कार्यवाहक प्रमुख डङ्गोलले फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वारा प्रणालीमार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको बताइन् । महानगरले राजस्व परिचालनलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन आगामी आवदेखि कर प्रणाली अडिट सुरु गर्ने उनको भनाइ छ । महानगरले करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्ने वातावरण निर्माण गर्ने जनाएको छ ।

    नीति तथा कार्यक्रममा आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग र व्यायाममार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने नीति अङ्गीकार गर्ने जनाइएको छ । महानगरले आगामी आवमा पनि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने उद्घोष गरेको छ । महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    त्यस्तै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरले कर्मचारीको क्षमता अभिवृद्धि गरी पालिका र सबै वडा कार्यालयमा एकद्वारा सेवा केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ । विश्वका सहरका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक आदानप्रदानलगायत माध्यमबाट काठमाडौँ सहरको समग्र पक्षको विकासमा टेवा पुर्‍याउन प्रादेश तथा स्थानीय तहका असल अभ्यास अवलम्बन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

  • हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    तेहरान, ३१ जेठ (रासस–एएफपी) । मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने सङ्केत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गर्नुभएको छ ।

    यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ। हप्तौँदेखि जारी युद्ध र अवरुद्ध वार्तापछि दुवै पक्ष तथा मध्यस्थकर्ताहरूले समाधानको सम्भावना बढेको सङ्केत दिएका छन् । प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको जनाएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप लिन सक्ने बताए । उनका अनुसार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिनेछ भने अर्को साता प्राविधिक तहको वार्ता पनि जारी रहने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत आइतबार हस्ताक्षरको योजना रहेको पुष्टि गरेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छने, “यो सम्झौता भोलि हस्ताक्षर हुने तय भएको छ र हस्ताक्षर भएसँगै हर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।” यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले हस्ताक्षरको मिति अझै अन्तिम नभएको स्पष्ट पार्दै ‘यो भोलिपल्ट नहुन सक्छ, तर आगामी दिनमा सम्भावनालाई अस्वीकार गर्न सकिँदैन’ भनेका छन् ।


    अप्रिल ८ मा भएको युद्धविरामले भीषण लडाइँ रोक्न मद्दत गरे पनि त्यसयता स्थायी राजनीतिक समाधानको प्रयास जारी छ । राष्ट्रपति ट्रम्पले पटकपटक सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन् । तर वार्ता विभिन्न चरणमा अवरुद्ध पनि हुँदै आएको छ । सम्झौताको सम्भावनाबीच हर्मुज जलघाँटीको विषय अझै विवादको केन्द्रमा छ ।

    विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने यस जलमार्गमाथि इरानले युद्ध सुरु भएदेखि नियन्त्रण कडा बनाएको छ । तेहरानले जहाजहरूलाई आफ्ना सुरक्षाकर्मीबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ भने निरीक्षण र शुल्क व्यवस्थापनका लागि नयाँ निकाय पनि स्थापना गरेको छ ।

    यसको प्रत्युत्तरमा अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी लागू गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानले व्यावसायिक जहाजहरूलाई लक्षित गरी एकतर्फी ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाउँदै ती सबै ड्रोन खसालिएको जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा प्रस्तावित सम्झौतामा अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताएका थिए । उनले हर्मुज जलमार्गलाई इरानको ‘प्रतिरोधको प्रमुख साधन’ मध्ये एक भएको उल्लेख गर्दै यसको व्यवस्थापन पहिले जस्तो नहुने सङ्केत दिएका थिए ।

    तर अमेरिकाले इरानलाई जलघाँटीमाथि पूर्ण नियन्त्रण दिन नसकिने स्पष्ट गर्दै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्तिमा पनि शुल्क वा नयाँ प्रशासनिक व्यवस्थाबारे कुनै उल्लेख गरिएको छैन । सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो ।

    विशेषगरी इरानसँग रहेको उच्च संवर्धित युरेनियम भण्डारको भविष्यबारे अझै मतभेद कायम छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ, तर अमेरिका, इजरायल तथा पश्चिमी राष्ट्रहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

    विदेशमन्त्री अराघचीले इरानको समृद्ध युरेनियमको व्यवस्थापन गर्ने सबैभन्दा उपयुक्त उपाय देशभित्रै त्यसलाई कम घनत्वमा रूपान्तरण गर्नु रहेको बताउनुभएको छ । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले यसअघि युरेनियम हटाएर नष्ट गरिने बताइसकेका छन् । शनिबारको आफ्नो सन्देशमा ट्रम्पले ‘सबै शान्त भएपछि हामी आणविक धुलो सङ्कलन गरेर त्यसलाई नष्ट गर्नेछौँ, चाहे त्यो इरानमा होस् वा संयुक्त राज्य अमेरिकामा’ भनेका छन् । उनले प्रक्रिया छिटो र सहज रूपमा सम्पन्न हुने आशा व्यक्त गर्दै आवश्यक परे ‘अन्तिम विकल्प’ प्रयोग गर्न सकिने चेतावनीसमेत दिए ।


    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पले कुनै पनि सम्झौतामा संवर्धित आणविक सामग्री हटाउने प्रतिबद्धता जनाएको दाबी गरेका छन् । यद्यपि तेहरानका सर्वसाधारणमा भने सम्झौताप्रति अझै शङ्का कायम देखिएको छ । ४९ वर्षीय सईद सादेगीले आफूले छिट्टै कुनै सम्झौता हुने विश्वास नगरेको बताउँदै नेताहरूका आश्वासनप्रति अविश्वास व्यक्त गरे ।


    इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा तेहरानस्थित विदेश मन्त्रालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताको विरोध गरेको देखिएको छ । प्रदर्शनमा सहभागीहरूले झण्डा बोकेर सरकारको वार्ता नीतिविरुद्ध नाराबाजी गरेका थिए । यसरी युद्धविरामपछि मध्यपूर्वमा स्थायी शान्तिको आशा पलाए पनि हर्मुजको नियन्त्रण र इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाले अन्तिम सम्झौताको मार्ग अझै पूर्ण रूपमा सहज बनाएको छैन ।

  • प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

    काठमाडौँ, ३१ जेठः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ९्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

    असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

    असार ३ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।


    यस्तै असार ४ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।

    सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिइसकेका छन् ।

  • युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

    युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

    काठमाडौँ, ३१ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।
    काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए । उनले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भने, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।”

    देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटामा अघि बढ्ने जनाए ।

    बजेटमा करको दर घटाएर रु एक लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उनको भनाइ थियो । अर्थमन्त्री डा वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे । बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रम घोषणा भएका उनले बताए ।

  • विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    त्रिवेणी (नवलपरासी), ३१ जेठः पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु चार लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको छ । पहाडी क्षेत्रमा आम्दानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो ।

    गत वर्ष पनि पाडी तथा बङ्गुर अनुदानमा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष पनि पाडी तथा केही परिवारलाई बाख्रासमेत वितरण गरिएको छ । केही दिनभित्र ९० बङ्गुरका बच्चा वितरणको तयारी गरिएको उनले बताए । पशुपालनतर्फ स्थानीयलाई आकर्षित गर्दै आयआर्जनसँग जोड्नका लागि पालिकास्तरमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइएको वडाध्यक्ष श्रेष्ठले बताए । “हामीकहाँ आयआर्जनका स्रोत कम छन् ।

    यसलाई विस्तार गर्दै लैजाने योजनाअनुसार पशुपालनलाई समेत जोड दिँदै आएका छौँ । गत वर्ष बङ्गुर वितरण गरेकाले मासु उत्पादन पर्याप्त भयो, स्थानीयले आम्दानीसमेत राम्रो गरे । त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौँ”, उनले भने ।


    गाउँपालिकाले दुग्ध उत्पादनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसअनुसार पशुपालन विस्तार गर्न इच्छुक किसानका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । स्थानीय वित्तीय संस्थासँगको समन्वयमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने गरी ऋण कार्यक्रम सञ्चालन गरेको उनले बताए ।


    दुग्ध उत्पादनमा पनि पालिकाले अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले बताए । अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए । जसअनुसार प्रतिलिटर दूधमा सात रुपैयाँ ५० पैसा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले जानकारी दिए । दूध सङ्कलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहकारी संस्थालाई प्रतिलिटर रु दुई रुपैयाँ ५० पैसा सहयोग उपलब्ध गराउँदै आएको उनले बताए ।


    कालीगण्डकी करिडोर निर्माण भएपछि यातायातको पहुँच वृद्धि भएकाले पशुपालन गरी पशुजन्य उत्पादन बढाउनसके सहजै बजार पुर्याउन सकिने हुँदा यसलाई प्राथमिकता दिइएको अध्यक्ष ओझाले बताए । “अहिले बाटोको सुविधा भएको छ । सजिलै नजिकका ठूला बजारमा यहाँ उत्पादन गरिएका वस्तु पुर्याउन सकिन्छ । यसकारण कृषि र पशुपालनलाई जोड दिँदै उत्पादन बढाउने योजनामा लागेका छौँ । यसले यहाँका स्थानीयको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास छ”, उनले भने ,

  • बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    इलाम, ३१ जेठः भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ ।

    भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए । “किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ”, अध्यक्ष श्रेष्ठले भने, “किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प रहेन ।”

    भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ ।

    “उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो नै बन्दजस्तै भएको छ”, उद्योगी गोपाल कट्टेलले भने, “भारतले विभिन्न प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन ।” नेपाली चियाको निर्यात समस्या समाधान गर्न सङ्घीय सरकारले प्रभावकारी रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ । “सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न पहल गर्नुपर्छ”, कट्टेलले भने, “अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ ।”

    उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ । “उद्योग बन्द भयो भने आम्दानी नै रोकिन्छ, परिवार कसरी चलाउने ? हाम्रो त रोजिरोटी हराउँछ”, किसान राजन भट्टराई भन्छन्, “उद्योग बन्द भएपछि हाम्रो हरियोपत्ती बिक्दैन । अब कसरी बाँच्ने भन्ने चिन्ता बढ्यो ।”

    पैसठ्ठभन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना सङ्कलन र परीक्षण गर्न थालेको तथा आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना सङ्कलन गरिएको एक साता व्यतित भइसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदनबेगर बिक्री–वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ ।

    “झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने जोखिम छ”, सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भने, “भारतीय अवरोध हटाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ ।” राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ । वार्षिक सवा रु चार अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।

  • फोहरबाट रोजगारी र आम्दानी

    फोहरबाट रोजगारी र आम्दानी

    इन्द्राकुमारी केसी/रासस

    घोडाघोडी (कैलाली), ३१ जेठः कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् । चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु १७ हजार आम्दानी गरिरहेका छन् । उनका अनुसार यस कामले रोजगारीको अवसर दिएको भए पनि फोहरसँगको प्रत्यक्ष सम्पर्क, दुर्गन्ध र स्वास्थ्य जोखिम भने निरन्तर चुनौतीका रूपमा रहेका छन् ।

    गोदावरी नगरपालिका–१० की प्रियङ्का जोराइला पनि विगत चार महिनादेखि सोही केन्द्रमा फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै आएका छन् । पहिले कपडा पसलमा काम गर्ने उनी अहिले मासिक करिब रु १६ हजार आम्दानी गरिरहेका छन् । उहाँहरू जस्तै उक्त फोहर व्यवस्थापन केन्द्रमा करिब एक सय जनाले रोजगारी पाएका छन् ।
    गोदावरीमामात्रै होइन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समेत फोहर व्यवस्थापनका माध्यमबाट स्थानीयले रोजगारी पाउँदै आएका छन् । यसरी सुदूरपश्चिमका स्थानीय तहहरूमा फोहर व्यवस्थापन अब केवल सरसफाइको काममात्र नभई रोजगारी र जीविकोपार्जनसँग पनि जोडिन थालेको छ । स्थानीयस्तरमै सृजना भएको यो रोजगारीले फोहरलाई समस्या होइन, अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई थप स्पष्ट पारेको छ ।

    यही अभ्यासलाई अझ संस्थागत र प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले वैज्ञानिक व्यवस्थापन, पर्याप्त लगानी र निजी क्षेत्रको सक्रिय सहभागितासहित फोहरलाई वातावरणीय जोखिमबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रयास अघि बढाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र यसैको उदाहरण हो । चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा करिब रु एक अर्ब लागतमा निर्माण गरिएको यस केन्द्रमा फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने प्रणाली सञ्चालनमा छ । यसले वातावरणीय प्रदूषण न्यूनीकरणसँगै दिगो फोहर व्यवस्थापनको आधार तयार गरेको छ ।

    नगर प्रमुख वीरेन्द्र भट्टका अनुसार स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यासले व्यवस्थापनलाई सहज बनाएको छ भने नगरपालिकाले यसबाट राजस्वसमेत प्राप्त गर्न थालेको छ । यस केन्द्रको सञ्चालनमा निजी क्षेत्रको सहभागिता पनि उल्लेखनीय छ । स्वच्छ वातावरण प्रालिले फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये करिब ७० प्रतिशत पुनः प्रयोगयोग्य सामग्रीका रूपमा व्यवस्थापन गरिन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री पुनः प्रयोगका लागि पठाइन्छ । यसरी फोहरलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएमा यो समस्या होइन, अवसर बन्न सक्ने उनी बताउँछन् ।


    कम्पनीले वार्षिक रूपमा नगरपालिकालाई राजस्व बुझाउने गरेको छ । कम्पनीको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्छ । आम्दानी र खर्च बराबरजस्तै भए पनि कम्पनीले एक सय व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको रावल बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमार्फत यस्तै अभ्यास अघि बढाइएको छ । केन्द्र निर्माण हुनुअघि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गरिँदै आएकामा एक वर्षअघि केन्द्र सञ्चालनमा आएपछि व्यवस्थापन कार्य सहज भएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताए ।


    दैनिक करिब छ टन फोहर सङ्कलन हुने अनुमानका आधारमा २० वर्षसम्म व्यवस्थापन गर्न सकिनेगरी केन्द्र निर्माण गरिएको भए पनि हाल दैनिक करिब तीन टनमात्र फोहर सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस अवस्थालाई हेर्दा केन्द्रको आयु ४० वर्षसम्म पुग्न सक्ने नगरप्रमुख महराको भनाइ छ । उनका अनुसार केन्द्र सञ्चालनपछि ट्याक्टर चलाउनेदेखि फोहर छुट्याउनेसम्मका काममा स्थानीयवासी नै संलग्न रहेका छन्, जसले रोजगारीको अवसर पनि सृजना गरेको छ । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा यस्ता संरचना निर्माण भएका छन् । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यी परियोजना अघि बढाइएका हुन् ।

    यता कैलालीको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको भए पनि सञ्चालनमा आउन बाँकी छ । तर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि विगतका वर्षहरूबाट नै निजी कम्पनीमार्फत ठेक्का लगाई आम्दानी गरिरहेको छ । उपमहानगरपालिकाले नकुहिने फोहरबाट आयआर्जन तथा कुहिने फोहरबाट मल बनाउने उद्देश्यका साथ २०८० साउनमा रु ३१ लाख ५५ हजार लगानीमा सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो ।

    उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थी बताउँछन् । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई आव २०८१÷८२ मा रु ७२ लाखमा पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको अवस्थीले बताए ।
    यी अभ्यासहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी वातावरण संरक्षण र आर्थिक अवसरसँग जोड्न सकिन्छ । तर संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपारिने अभ्यास जारी रहनु चुनौतीपूर्ण देखिएको छ । फोहर व्यवस्थापनको समस्या केवल स्रोतको अभाव होइन, नीति कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन दृष्टिकोणसँग पनि जोडिएको छ ।

  • सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    मस्को, ३० जेठ (रासस–एएनआई) । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण ९७.९६ अर्ब अमेरिकी डलरबाट २०८.९७ अर्ब डलर पुगेको वा १११.०१ अर्ब डलर बढेको छ ।

    युक्रेनको बाह्य ऋणमा वृद्धि सन् २०२२ को ५७.२ अर्ब डलरबाट १६२.७३ अर्ब डलर पुगेको छ । यो लगभग तीन गुणा वृद्धि हो । यस रकममध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग १० अर्ब डलर तिर्नु पर्छ, बाँकी विभिन्न सहयोगी देशहरूलाई तिर्नुपर्छ । किएभको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरे पछि आएको हो । जनसाङ्ख्यिकी र सामाजिक अध्ययन संस्थानलाई उद्धृत गर्दै तासले लेखेको छ, “अनुमानित कूल दुई करोड ८० लाख जनसङ्ख्या रहेको युक्रेनमा जनसङ्ख्याको आधारमा प्रत्येक नागरिकले अब सार्वजनिक ऋणमा लगभग सात हजार ५०० डलर ऋणभार रहनेछ ।

    किएभको बढ्दो आर्थिक जोखिमको बीचमा, भेरखोव्ना राडाका सांसदहरूले देशको विद्यमान ऋण तिर्न मात्र करिब ३५ वर्ष लाग्ने अनुमान गरेका छन् । युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट वित्तीय सहयोग खोजिरहेको छ । युरोपेली सङ्घले हालै युक्रेनको लागि ९० अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ जुन निकासा हुर्ने तयारीमा छ र यो ड्रोनको लागि छुट्याइएको पहिलो किस्ता हो ।

    फ्रान्सको इिभियनमा हुने जी–७ शिखर सम्मेलनमा युक्रेनको द्वन्द्व पनि छलफलको एक प्रमुख हिस्सा हुने अपेक्षा गरिएको छ ।

    शिखर सम्मेलन भूराजनीतिक सङ्कट, आर्थिक सहयोग, कृत्रिम बौद्धिकता र विकास साझेदारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार मङ्गलबार शिखर सम्मेलनको पहिलो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनसम्बन्धी सत्र हुनेछ, त्यसपछि इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स र साउदीसहित मध्य पूर्वी देशहरू सम्मिलित छलफल हुनेछ ।

    स्रोतका अनुसार शिखर सम्मेलनको प्राथमिकताहरू मध्ये एक समकालीन सङ्कट अर्थात् युक्रेनको द्वन्द्व र इरान, इजरायल, गाजा, लेबनान र स्ट्रेट अफ हर्मुजको पश्चिम एशियामा बढ्दो तनावबारे अन्तर्राष्ट्रिय बहस हुनेछ ।

  • नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    बेइजिङ (चीन), ३० जेठः चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ ।

    पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गरे । नेपालका पर्वतीय पर्यटनको प्रवद्र्धन तथा नेपाली र चिनियाँ पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

    त्यस अवसरमा चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले सगरमाथाको महत्व, साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पारे । उनले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताए । नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुति दिएका थिए । नेपालका कीर्तिमानी आरोही लाक्पा डेण्डी शेर्पा र चिनियाँ आरोहीद्वय चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणको अनुभव साझा गरेका थिए । कार्यक्रमस्थलमा नेपालका पर्यटकीय गन्तव्यहरु स्थलको तस्बिरहरूको प्रदर्शनी गरिएको थियो ।

    कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तरराष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो । नेपालबाट नेपाल पर्वतारोहण सङ्घ, आरोहण सञ्चालक सङ्घ, सगरमाथा आरोही सङ्घ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका साथै आरोहण र पदमार्गसम्बन्धी दर्जन बढी कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

  • ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो ।

  • प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

    प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

    प्रगति ढकाल–रासस
    काठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३–०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।

    नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्द्धनका लागि करिब रु आठ अर्ब ७१ करोड (५७ मिलियन अमेरिकी डलर) बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो । विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र पाँच मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएपछि परियोजना कार्यान्वयनको बाटो खुलेको छ ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना ९एनक्याप०’ ले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाले विशेषगरी उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न सहयोग पुर्‍याउने भएकाले औद्योगिक प्रदूषणमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।

    “हामीले अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन खोजेका छौँ । उद्योगहरू स्वच्छ ऊर्जामा रूपान्तरण हुँदा प्रदूषणको मात्रा घट्नेछ र आगामी पाँच वर्षभित्र सकारात्मक परिणाम देख्न सकिने विश्वास गरेका छौँ”, उनले भने । सुवेदीले अन्तरदेशीय वायु प्रदूषण, विशेषगरी छिमेकी मुलुकबाट भित्रिने प्रदूषण नियन्त्रणका लागि बहुपक्षीय तथा अन्तरदेशीय समन्वय आवश्यक रहने बताए । उनले परियोजनाले नेपालभित्रका प्रदूषण स्रोत नियन्त्रणमा केन्द्रित भई औद्योगिक उत्सर्जन घटाउने, वायु गुणस्तरको प्रभावकारी अनुगमन गर्ने तथा तथ्यमा आधारित नीति निर्माणलाई सहयोग पुर्‍याउने उल्लेख गरे ।


    उनका अनुसार परियोजनाअन्तर्गत वायु गुणस्तर मापन केन्द्रको सङ्ख्या विस्तार गरिनेछ भने विद्यमान स्टेशनहरूको क्षमता अभिवृद्धि गरिने, साथै प्रयोगशालामा आधुनिक उपकरण थपिने, प्राविधिक जनशक्तिको क्षमता विकास गरिने तथा वातावरण विभागको संस्थागत क्षमता सुदृढ बनाइनेछ ।

    महानिर्देशक सुवेदीले वायु प्रदूषणका कारण अर्थतन्त्रमा समेत ठूलो असर परिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण विश्वव्यापी रूपमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब छ प्रतिशत बराबरको आर्थिक क्षति हुने विभिन्न अध्ययनले देखाएको बताए । “नेपालमा वायु प्रदूषणले अर्थतन्त्रमा कति असर पारेको छ, कुन क्षेत्रबाट कति प्रदूषण उत्सर्जन भइरहेको छ र त्यसको आर्थिक तथा सामाजिक प्रभाव के छ भन्ने विषयमा समेत अध्ययन गरिनेछ”, उनले भने, उनका अनुसार आगामी दिनमा तथ्यमा आधारित नीति निर्माण, प्रदूषणका स्रोतहरूको पहिचान तथा प्रभावकारी नियन्त्रणका लागि आवश्यक अनुसन्धान र अध्ययनलाई समेत परियोजनाले प्राथमिकतामा राख्नेछ ।

    वातावरण विभागका उपमहानिर्देशक सरोजकुमार चौधरीका अनुसार परियोजनाको मुख्य उद्देश्य प्रदूषित हावामा पाइने सूक्ष्म कण (पीएम–२.५) को उत्सर्जन घटाई वायु गुणस्तर व्यवस्थापन क्षमता अभिवृद्धि गर्नु रहेको छ । उनले नेपालमा विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्रमा पीएम–२.५ को मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा आठदेखि नौ गुणासम्म बढी रहेको उल्लेख गर्दै यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।


    “परियोजनाअन्तर्गत उद्योग क्षेत्रमा जीवाश्म इन्धन तथा कोइलाबाट सञ्चालन भइरहेका ब्वायलर र फर्नेसलाई विद्युत् तथा बायोमासमा आधारित हरित प्रविधिमा रूपान्तरण गरिनेछ”, चौधरीले भने, “उद्योग विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत विद्युतीय फर्नेसमा रूपान्तरण गर्ने उद्योगलाई कूल पुँजीगत खर्च (क्यापेक्स)को २० प्रतिशतसम्म पुँजी अनुदान उपलब्ध गराइनेछ ।”

    त्यस्तै बायोब्रिकेट तथा बायोपेलेटजस्ता बायोमासमा आधारित फर्नेसमा रूपान्तरण गर्ने उद्योगलाई कुल पुँजीगत खर्चको १० प्रतिशतसम्म अनुदान प्रदान गरिनेछ चौधरीको भनाइ छ । “उद्योग विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत विद्युतीय फर्नेसमा रूपान्तरण गर्ने उद्योगहरूलाई पुँजीगत लगानीको २० प्रतिशत र वायोमास (बायोब्रिकेट र बायोपेलेट) मा आधारित फर्नेसमा रूपान्तरण गर्नेलाई पुँजीगत लगानीको १० प्रतिशतसम्म पुँजी अनुदान ब्यादर र फर्नेसमा रूपान्तरण गरिसकेपछि उपलब्ध गराइनेछ”, उनले भने, “बाँकी रकम ब्याजदरमा लामो अवधि (करिब १५ वर्ष) सम्मको लागि प्रदान गरिनेछ”, अन्य वायु प्रदुषण नियन्त्रण उपकरणका लागि कुनै अनुदानको व्यवस्था नरहेको तर बजार ब्याजदरमा लामो अवधिको ऋण प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।”

    चार सय उद्योगले सहुलियतपूर्ण वित्तीय पहुँच प्राप्त गर्ने

    परियोजनाको आर्थिक प्रभाव उल्लेखनीय रहने अपेक्षा गरिएको छ । चौधरीका अनुसार यसबाट ४०० उद्योगले सहुलियतपूर्ण वित्तीय पहुँच प्राप्त गर्ने, ३०० उद्योगमा स्वच्छ ब्वायलर वा फर्नेस जडान हुने तथा ३० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण परिचालन हुने लक्ष्य राखिएको छ । साथै निजी क्षेत्रबाट थप १८ मिलियन अमेरिकी डलर लगानी आकर्षित हुने अनुमान गरिएको उनको भनाइ छ ।

    “परियोजनाअन्तर्गत वायु गुणस्तर मापन केन्द्रहरूको विस्तार तथा स्तरोन्नति गरिनेछ । चार वटा केन्द्रलाई ‘सुपरसाइट’ मा रूपान्तरण गरी प्रदूषणका स्रोत पहिचान, तथ्याङ्क विश्लेषण तथा अन्तरदेशीय वायु प्रदूषणको निगरानी क्षमता अभिवृद्धि गरिने छ”, चौधरीले भने, “परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि पिएम–२.५ उत्सर्जन वार्षिक ५०० मेट्रिक टनले घट्ने तथा हरितगृह ग्यास उत्सर्जनमा वार्षिक एक लाख १० हजार टन कमी आउने अपेक्षा गरिएको छ ।”

    यसले नेपालले अन्तरराष्ट्रिय रूपमा प्रतिबद्धता जनाएको राष्ट्रिय निर्धारित योगदान (एनडिसी)का लक्ष्य प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको उनको भनाइ छ । चौधरीले परियोजनाबाट देशभरका ४०० औद्योगिक प्रतिष्ठान, ती उद्योगमा कार्यरत करिब ६० हजार श्रमिक तथा काठमाडौँ उपत्यका र तराई क्षेत्रका करिब एक करोड ८० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने जानकारी दिए ।
    उनले कार्यक्रममा परियोजनाले उद्योगको उत्पादन लागत घटाई प्रतिस्पर्धी क्षमता बढाउने, स्वदेशी जलविद्युत्को खपत विस्तार गर्ने, हरित औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने तथा स्वच्छ हावामार्फत जनस्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । परियोजनाको समग्र निर्देशनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षतामा परियोजना स्टेयरिङ समिति रहनेछ । उद्योग विभाग र वातावरण विभागमा छुट्टाछुट्टै कार्यान्वयन एकाइ रहने व्यवस्था गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक मुख्य बैंकिङ साझेदार रहने तथा अन्य वित्तीय संस्थाले समेत सहकार्य गर्ने जनाइएको छ ।

    परियोजना कार्यन्वयनका चुनौती

    वातावरण युवा अभियन्ता प्रकाश लामाले वायु प्रदूषण अब केवल वातावरणीय समस्या नभई दैनिक जनस्वास्थ्य सङ्कटका रूपमा लिनुपर्ने बताए । उनले विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण तथा ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा सञ्चालन हुन लागेको नेपाल स्वच्छ वायु तथा समृद्धि (एनक्याप) परियोजनाले प्रदूषण नियन्त्रणका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको बताए ।

    तर ऋणसँग जिम्मेवारी पनि जोडिएको हुन्छ”, उनले भने, “त्यो ब्याजसहित फिर्ता गर्नुपर्छ र यसको भार अन्ततः हाम्रो पुस्ताले नै वहन गर्नुपर्ने हुन्छ ।” उनका अनुसार उक्त लगानीले वास्तविक र मापनयोग्य परिणाम दिन आवश्यक छ । विशेषगरी इँटा उद्योग, उच्च प्रदूषण उत्सर्जन गर्ने सवारीसाधन, साना तथा मझौला उद्योग र परम्परागत चुलोजस्ता प्रदूषणका प्रमुख स्रोतलाई लक्षित गरी प्रभावकारी हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

    “स्वच्छ औद्योगिक प्रविधिको प्रयोग, विद्युतीय यातायाततर्फ तीव्र रूपान्तरण तथा घरपरिवारका लागि सहज रूपमा स्वच्छ खाना पकाउने प्रविधिको विस्तार आवश्यक छ”, उनले भने । अभियन्ता लामाले परियोजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । उनले हरित रोजगारी सिर्जना, आर्थिक वृद्धिदरमा योगदान तथा प्रदूषणजन्य स्वास्थ्य खर्चमा कमीमार्फत लगानीको प्रतिफल सुनिश्चित गर्ने स्पष्ट योजना आवश्यक रहेको बताए ।

    “उधारो लिइएको प्रत्येक रूपैयाँले भविष्यमा त्यसको प्रतिफल दिन सक्नुपर्छ”, उनले भने । उनले स्वच्छ वायु अभियानमा युवालाई केवल लाभग्राहीका रूपमा नभई नेतृत्वकर्ता, अनुसन्धानकर्ता र नवप्रवर्तकका रूपमा सहभागी गराउनुपर्ने धारणा राखे । “५७ मिलियन अमेरिकी डलर केवल आर्थिक सहायता होइन, यो जिम्मेवारी पनि हो”, उनले भने, “यसलाई बुद्धिमत्तापूर्वक प्रयोग गरौँ, नतिजा सुनिश्चित गरौँ र स्वच्छ वायु तथा दिगो आर्थिक समृद्धि सँगसँगै अघि बढ्ने नेपाल निर्माण गरौँ ।”

    के छ अन्य नीतिगत व्यवस्था ?

    काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

    राष्ट्रिय वातावरण नीति २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडिीयोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति रहेको छ । प्रमुख शहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ ।

    “औद्योगिक तथा अन्य क्षेत्रवाट निष्काशन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिनेछ । उद्योग र अन्य व्यवसायहरूबाट निष्कासन हुने प्रदूषणयुक्त धुवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरण–मैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ,” नीतिमा उल्लेख छ, “घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुलो, विद्युतीय चुलो, बायोग्याँस, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणहरूको प्रवर्द्धन गरिनेछ । ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ ।”

    प्रदूषण नियन्त्रणका लागि उत्सर्जन थल नक्साइनका लागि विक्षेपणजस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर विसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले विसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।

    काठमाडौँ उपत्यकाको वायु हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेकोसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदनहरू आइरहेका छन् । सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स ईन्डेक्स २०१८ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण वढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वायु प्रदुषणको हिसावले नेपालको स्तर ३१.४४ रहेको छ ।

    वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैंवु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटाजाने र आम सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

  • डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

    डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

    काठमाडौँ, ३० जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो ।

    वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका छन् । महासचिवमा टेकनाथ आचार्य ९टिएन आचार्य० तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित निर्वाचित भए । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भए ।


    त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनीसँग प्रतिस्पर्धी गर्नुभएका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे । खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भए ।

  • आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    कृष्ण दवाडी–रासस
    कास्की, ३० जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए ।

    लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नुपर्ला भन्ने कल्पना नगरेको बताउने उनी अहिले भने बसपार्क निर्माणको प्रक्रिया अघि बढेपछि संरचना खाली गर्न बाध्य छन् । पोखरा महानगरपालिकाले गत वैशाख ३ गते बसपार्क क्षेत्रका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । सुरुमा त्यो निर्णय कार्यान्वयन होला भन्ने विश्वास नगरेका व्यवसायी पछिल्लो समय जग्गाधनी र महानगरबीच भएको सहमतिपछि भने संरचना खाली गर्न थालेका छन् ।

    बसपार्कको उत्तरी क्षेत्रमा रहेका जग्गाधनीले संरचना हटाउने तयारी विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । तर जेठ २५ गते महानगरसँग भएको समझदारीपछि उनीहरूले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यससँगै बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गर्न थालेका हुन् ।


    “पहिला बसपार्क बन्ला र हामीले ठाउँ छोड्नुपर्ला भन्ने लागेको थिएन । तर जग्गाधनी र महानगरबीच सहमति भएपछि हामीले पनि सर्नुपर्ने अवस्था आयो । बसपार्क निर्माण हुनु राम्रो कुरा हो, तर विस्थापित व्यवसायीको व्यवस्थापनमा महानगरले ध्यान दिनुपर्छ, ”लामिछानेले भने । उनले भविष्यमा बसपार्क क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर वा भवन निर्माण भएमा हाल विस्थापित भएका व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गरे ।


    हाल बसपार्क प्रवेशको बायाँपट्टि रहेको बास्तोला कम्प्लेक्सका ३२० भन्दा बढी सटर खाली गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । बसपार्कभित्रका अन्य जग्गाधनीले पनि आफ्ना संरचना हटाउने प्रक्रिया अघि बढाएका छन् । पोखरा बसपार्कका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेन । बरु बसपार्कका लागि छुट्याइएको अधिकांश जग्गा अतिक्रमणको चपेटामा प¥यो। अहिले मूल क्षेत्रफलमध्ये करिब २५ रोपनी जमिन मात्र बाँकी रहेको बताइन्छ ।

    बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिनको काम अहिले भइरहेको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब नौ रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन् ।

    विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएकोलगायतका आरोप सार्वजनिक भएपछि सत्यतथ्य छानबिनका लागि महानगरले समिति बनाएको हो । पोखरा महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । संरचना हटाउने काम अघि बढेसँगै स्थानीयवासीमा बसपार्क निर्माण हुने आशा समेत वृद्धि भएको छ ।

    बसपार्क निर्माणको मार्गमा रहेको अर्को प्रमुख चुनौती बसपार्कभित्र बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापन हो । बसपार्क क्षेत्रमा झण्डै ५०० परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन् । महानगरपालिकाले उनीहरूको व्यवस्थापनका लागि जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको थियो । समितिले विभिन्न छ स्थानमा पुनःस्थापना गर्न सकिने सुझाव महानगरलाई दिएको छ ।

    सोही सिफारिसका आधारमा महानगरले जेठ २५ गते जग्गा प्लट मिलान तथा पूर्वाधारको सम्भाव्यता अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको उक्त समितिले सम्भावित स्थानको नापजाँच तथा व्यवस्थापन क्षमता अध्ययन गरिरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वास्तविक भूमिहीन र सुकुम्बासी पहिचान गर्न छुट्टै छानबिन समिति पनि क्रियाशील छ ।

    “सिफारिस भएका जग्गाको नापजाँच गरी कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,” प्रमुख आचार्यले भने, “छानबिन प्रतिवेदनका आधारमा वास्तविक सुकुम्बासीको व्यवस्थापन गरिनेछ र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाएर आधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण गरिनेछ ।” बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले पनि आफू विकासको बाधक नबन्ने बताएका छन् ।

    भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले वैकल्पिक व्यवस्थापन भए जुनसुकै बेला पनि स्थान खाली गर्न तयार रहेको बताए । “हामीलाई उचित विकल्प दिएर व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी सम्पूर्ण जग्गामा नै बसपार्क निर्माण हुनुपर्छ ।

    सुकुम्बासीलाई मात्र हटाउने तर शक्तिका आडमा बसपार्कको जग्गा ओगटेर बसेका अन्य व्यक्तिलाई यथावत् राख्ने काम स्वीकार्य हुँदैन ।” पोखरा महानगरले संरचना हटाउने अभियानलाई तीव्रता दिएको र जग्गाधनी तथा व्यवसायीले सहयोग गर्न थालेपछि लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्कको सपना पूरा हुने विश्वास पोखरेलीको छ ।

  • रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

    रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

    २९ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो।

    आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरिएको हो।

    गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। “वर्षौदेखि कार्यान्वयमा आउन नसकेको यो प्रतिवेदन मन्त्रिपरिषद्को निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको छ,”उनले भनिन्, “अब सबै सरोकारवालाहरुसँग आवश्यक समन्वय गरीे अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ।”

  • रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

    २९ जेठ, काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो।


    साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।

    मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। साथै, उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ ।


    यस निर्णय बारेमा स्पष्ट पार्दै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले भनिन्, “रावल आयोगको प्रतिवेदन त्यतिबेलै कार्यान्वयन हुनुपर्ने थियो। तर, विडम्बना हुन सकेन। आजको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै प्रतिवेदन कार्यान्वयनमा लैजान बाटो खुलेको छ। र, यो काम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायहरूसँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्पादन गरिनेछ।”

    उनका अनुसार काठमाडौँ महानगर क्षेत्रमा तत्कालिन समयमा जम्मा अठार हजार नौ सय एकचालिस (१८९४१) रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा रावल आयोगले अध्ययन गर्दासम्म १८५९ रोपनीभन्दा (करीब १० प्रतिशत) बढी जग्गा अतिक्रमण भइसकेको थियो। यस क्रममा १,१८७ जना अतिक्रमणकारीहरूले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा उपभोग गरिरहेको तथा थप ६,९०६ जना अतिक्रमणकारीहरूले १,७६२ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो निजी जग्गामा घुसाउदा जम्मा ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।

    तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण, गैरकानूनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी गम्भीर समस्या समाधान गर्ने उद्देश्यले २०५० साल असोज २१ गतेको निर्णयानुसार सरकारका तत्कालीन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो।

    आयोगले काठमाडौँ नगरक्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी २०५२ सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन।

    त्यसको ८ वर्षपछि अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रावल आयोगको प्रतिवेदन, २०५२ को कार्यान्वयनका लागि परमादेशसमेत माग गरी सर्वोच्च अदालतमा २०६० सालमा रिट दर्ता गरेका थिए ।

    उक्त रिट निवेदनको सुनुवाइको क्रममा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा विशेषज्ञ सम्मिलित समितिद्वारा अध्ययन गर्न उपयुक्त देखिएकाले सर्वोच्च अदालतको २०६६ साल जेठ १७ गतेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने आदेश दिएको थियो। सो विशेषज्ञ समितिले काठमाडौँ बाहेक देशका अन्य स्थानहरूमा भएका सरकारी जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन २०६६ चैत १ गते पेश गरेको थियो ।

    विशेषज्ञ समितिको उक्त प्रतिवेदन समेतको अध्ययन पश्चात् सर्वोच्च अदालतले २०६७ जेठ १२ गते रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै “विशेषज्ञ समितिको प्रतिवेदनअनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन र देशका अन्य स्थानहरूमा भएको सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गरी कानूनबमोजिम कारबाही गर्न वाञ्छनीय देखिएकोले सो कार्यलाई उच्च प्राथमिकता प्रदान गरी छिटो कार्यान्वयन गर्नू गराउनू“ भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतको स्पष्ट आदेश र चौतर्फी जनदबावका बाबजुद पनि तीन दशकसम्म गठन भएका कुनै पनि सरकारले यस आदेशलाई कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति देखाउन सकेका थिएनन्। बरु, प्रतिवेदन र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको कार्यान्वयनलाई थप अध्ययन तथा प्रक्रियाका नाममा विभिन्न समितिहरु गठन गर्दै अल्झाएर राखिएको थियो।

    गत वर्ष चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि वालेन्द्र शाह र उहाँको सचिवालय रावल आयोगको प्रतिवेदन र सर्वोच्च अदालतको निर्देशानात्मक आदेश कार्यान्वयनका सम्बन्धमा गम्भीर बनेको थियो। यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले यो प्रतिवेदन र सोको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश ९२०६७० सम्बद्ध टिप्पणीसहितको सङ्क्षेपीकरण तथा सुझाव प्रतिवेदन,२०८३”शीर्षकको मामला अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थियो।

    सरकारको यस निर्णयसँगै राज्यको स्रोत र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने, सुशासन कायम गर्ने र विधिको शासन स्थापित गर्ने सरकारको सङ्कल्प व्यवहारिक रूपमा रूपान्तरण हुने विश्वास लिइएको छ।

  • काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए । उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धरान (सुनसरी), २९ जेठः सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिकf–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध बनेको थियो । हाल उक्त खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । दुर्घटनापछि घाइतेको उद्धार गरी केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केहीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

  • विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    काठमाडौँ, २९ जेठः बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मको बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइएलओले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओका अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न रहेकामा उक्त सङ्ख्या घटेर हाल १३ करोड ८० लाखमा झरेको छ । यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी पाँच वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा ११ गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिकाले वहन गरिरहेको छ । उक्त क्षेत्रमा विश्वका कुल बालश्रमिकमध्ये झण्डै दुईतिहाइअर्थात् करिब आठ करोड ७० लाख बालबालिका बालश्रममा संलग्न छन् । त्यहाँ बालश्रमको दर २४ प्रतिशतबाट २२ प्रतिशतमा झरे पनि जनसङ्ख्या वृद्धि, निरन्तर तथा नयाँ द्वन्द्व, चरम गरिबी र कमजोर सामाजिक सुरक्षा प्रणालीका कारण प्रभावित बालबालिकाको कूल सङ्ख्यामा उल्लेखनीय कमी आउन सकेको छैन ।

    एसिया तथा प्रशान्त क्षेत्रमा भने सन् २०२० यता सबैभन्दा ठूलो सुधार देखिएको छ । यस अवधिमा बालश्रमको दर छ प्रतिशतबाट तीन प्रतिशतमा झरेको छ भने बालश्रममा संलग्न बालबालिकाको सङ्ख्या चार करोड ९० लाखबाट घटेर दुई करोड ८० लाखमा पुगेको छ । ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा बालश्रमको दर स्थिर रहे पनि प्रभावित बालबालिकाको सङ्ख्या ८० लाखबाट घटेर करिब ७० लाखमा झरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

    उक्त प्रतिवेदनअनुसार कृषि क्षेत्र बालश्रमको सबैभन्दा ठूलो केन्द्र बनेको छ, जहाँ कूल बालश्रममध्ये ६१ प्रतिशत बालबालिका संलग्न छन् । सेवा क्षेत्रमा २७ प्रतिशत बालबालिका कार्यरत छन्, जसमा घरेलु कामकाज तथा बजारमा सामान बिक्रीजस्ता गतिविधि पर्छन् । उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत छन्, जसमा खानी तथा उत्पादनमूलक उद्योगसमेत समावेश छन् ।

    बालश्रम अन्त्यको अभियानलाई तीव्र बनाउन युनिसेफ र आइएलओले सरकारहरूलाई जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा तथा बालभत्ताजस्ता कार्यक्रम विस्तार गर्न, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन, गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न, युवा तथा वयस्कका लागि मर्यादित रोजगारी सिर्जना गर्न तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आपूर्ति शृङ्खलामा हुने बालशोषण रोक्न आग्रह गरेका छन् ।

    बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तरराष्ट्रिय साझेदारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

    तस्बिरः युनिसेफ

  • पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

    पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

    पोखरा, २८ जेठः संयुक्त अरब इमिरेट्स (युएई)को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएकोे छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ । यसैसाथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो ।

    पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो । अब अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।


    उनले केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको बताए । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूतसँग पर्यटन आदान–प्रदान तथा पोखरा–यूएई सिधा उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गरे ।
    “यूएईसम्म नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ,” उनले भने, पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताए ।


    दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ ।

    फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहरुले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।

  • सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले

    सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले

    काठमाडौँ, २८ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा वाग्लेले आफूले दुई रुपैयाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताए । करको दर हेरफेरमा अनियमितता भएको भनी भइरहेको प्रचारप्रसार गलत भएको उनको भनाइ थियो ।

    बजार स्वनिर्मित र स्वनियन्त्रित नहुने भएकाले राज्यले नै नियमन गर्नुपर्ने मन्त्री डा वाग्लेले बताए । बजेट आम्दानी आर्जन गर्ने अवस्थामा लैजाने सोचमा सरकार लागेको उनको भनाइ छ । “रोजगारी सृजना गरी स्थायी आम्दानीको माध्यम बनाउने सोच बजेटले राखेको छ, विगत २० वर्षमा गरिबी विप्रेषणका कारण घटेको हो, अब रोजगारीका माध्यमबाट आय गर्ने गरी बजेटले वातावरण बनाउन लागेको छ”, मन्त्री डा वाग्लेले भने ।


    बजेटमा किसान केन्द्रित कृषि प्रणाली, सामाजिक सुरक्षा सुधारजस्ता व्यवस्था गरिएको मन्त्री वाग्लेले सुनाए । राज्यका सेवासुविधा अपुग भएर नै निजी क्षेत्र आइरहेकाले त्यसलाई प्रवद्र्धन गर्ने नीति पनि बजेटले लिएको उनले बताए । संस्थागत विद्यालयमा लगाइएको तीन प्रतिशत करका विषयमा नकारात्मक प्रचार गरिएको उनको भनाइ छ । व्यक्तिगत आय कर छुटको रकम वृद्धि गरिएको मन्त्री डा वाग्लेले प्रष्ट पारे ।


    बिद्युत्मा कर भनेर अर्को भ्रम सृजना गरिएको बताउँदै उनले ५० युनिटसम्म कर नलाग्ने प्रष्ट पारे । पञ्चायत ढल्दा २६२ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले त्यो बढेकाले अझै विस्तार गर्नका लागि केही मात्रामा कर लगाएको मन्त्री डा वाग्लेले बताए । लोक रिझ्याइँको राजनीति गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नभएको बताउँदै उनले बूढानीलकण्ठ स्कुलको स्वरुपमा सामुदायिक विद्यालयलाई विकास गरिने नीति लिएर बजेट ल्याएको स्पष्ट पारे । पूर्वाधार विकास मन्त्रालयले तीन वर्षको लक्ष्य राखेअनुसार नै बजेट र कार्यक्रमको व्यवस्था गरिएको उनले बताए ।


    “रु २१ खर्बको बजेटले कायाकल्प हुँदैन, यसले बीउ रोप्ने हो, यसमा निजी क्षेत्रले पनि लगानी गरेर हुने हो, रु एक सरकारले खर्च गर्दा निजी क्षेत्रले रु पाँच खर्च गर्ने वातावरण बनाउनुपर्छ, यो सिद्धान्तमा बजेट ल्याइएको छ”, मन्त्री डा वाग्लेले भने । अर्थ मन्त्रालयले बुझाइसकेपछि अर्थ विधेयकमा कानुन मन्त्रालयले अन्तिम रुप दिने क्रममा केही भाषिक कमजोरी भएकाले त्यसलाई सुधार गरी पछि फेरि विधेयकमै समावेश गरिएको मन्त्री डा वाग्लेको भनाइ छ ।

  • अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

    अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

    काठमाडौँ, २८ जेठः प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गरे । अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरे । अहिले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल जारी रहेको छ ।

  • सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

    सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

    काठमाडौँ, २८ जेठः सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।

    उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानुन निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा प्रतिनिधिसभा दृढतापूर्वक लागिरहेको उल्लेख गरे । सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे । दुवै देशले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रतालगायत साझा मूल्यलाई आत्मसात् र सम्मान गर्दै आएको पनि उनले बताए ।


    उनले आगामी वर्ष नेपाल(अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम रहेको मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । सो अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने सभामुखले धारणा राखे ।

    नेपाल–अमेरिका संसदीय मैत्री समूहको पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै उनले अमेरिकी विधायिकामा नेपाल–अमेरिका मैत्री समूहको पुनःसक्रियता आवश्यक रहेको उल्लेख गरे । यस्ता मैत्री समूहहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भेटमा सभामुख अर्यालले विश्वास व्यक्त गरे ।


    सभामुख अर्यालले संयुक्त राज्य अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गर्दै सन् १९५० को दशकदेखि नेपालको सामाजिक तथा आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा मानव पुँजी विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे । उनले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाको सहयोग र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरे ।


    कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता व्यक्त गरे । उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

  • समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

    समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

    काठमाडौँ, २८ जेठः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् ।

    समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ ।

    त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

  • रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन

    रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन

    काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।

    मन्त्रालयले गरेको पछिल्लो निर्णयअनुसार डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटीका स्थानीय तहले तोकिएको परिमाणको मल नउठाएको कृषि सामग्री र साल्ट ट्रेडिङको तथ्याङ्क छ । साथै कैलालीको गोदावारी नागपालिकाले २१ हजार २३० किलो, गौरीजङ्ग नगरपालिकाले छ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी उपमहानगपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन् ।

    यस्तै, कञ्चनपुरका केही पालिकाले पनि रासायनिक मल उठाएका छैनन् । त्यहाँको भीमदत्ता नगरपालिकाले एक लाख छ हजार ८०० किलो र बेदकोट नगरपालिकाले एक लाख छ हजार ४०० किलो मल उठाएका छैनन् । यस्तै, अछाम जिल्लामा पर्ने पाँच स्थानीय तहमध्ये साँफेबगर नागरपालिका, बन्नीगढ जयगढ गाउँपालिका र कमल बजार नगरपालिकाले मल लैजान बाँकी छ । खेतीपातीको मुख्य याम धान रोपाइँ सुरु भइसके पनि सम्बन्धित निकायहरुले मल ढुवानी नगरेपछि किसानलाई मलको समस्या देखिन थालेको हो ।

    स्थानीय तहले रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय नगर्दा किसानसम्म मल समयमै पुग्न नसकेको अवस्था छ । वर्षे धान रोपाइँको समय नजिकिँदै गर्दा मल वितरणमा भएको ढिलाइले किसान प्रभावित हुने जोखिम बढेको छ । सुदूरपश्चिम प्रदेशले पाउने कोटामध्ये हाल कृषि सामग्री कम्पनीमार्फत उपलब्ध हुने रासायनिक मलमध्ये कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ३२ प्रतिशत मल वितरण हुने व्यवस्था छ । बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटीलगायत अन्य जिल्लाका स्थानीय तहलाई छुट्याइएको छ । तर यी जिल्लाका सरोकारवाला निकायहरुले मल लैजान सकेका छैनन् ।

    त्यस्तै, सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वितरण हुने मलमध्ये कैलालीमा ३४ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशत हिस्सा छ । बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने व्यवस्था रहे पनि ती जिल्लाबाट अपेक्षित रूपमा मल उठाउन सकेको अवस्था छैन । सुदूरपश्चिम प्रदेशमा ४३ पालिकाले रासायनिक मल बिक्री गर्दै आएका छन् । यसमध्ये १७ पालिकाले लगे पनि २६ पालिकाले हालसम्म मल लैजान सकेका छैनन् ।

  • मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    चितवन, २८ जेठः पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ । पुलको प्लाष्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन् ।

    उनले भने, “समग्रमा ९० प्रतिशतभन्दा बढी काम भएका छन् । हामी असारभित्र पुल सञ्चालनको तयारीमा छौँ ।” सोही खण्डको हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ । हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम भएको उनले बताए । ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ । सो सडक खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ ।

    मिश्रका अनुसार निर्माण कम्पनीले एक दुई दिनमा अलकत्रा आउने र कालोपत्र गर्न सक्ने बताएको छ । उहाँका अनुसार सबबेस राखिसकेको करिब दुई किलोमिटर सडकमा बेस राखेर कालोपत्र गर्ने तयारी गरिएको छ । यो बन्दै गर्दा थप ठाउँ कालोपत्रको तयारी गर्न सकिने उनले जानकारी दिए ।


    अलकत्राको मूल्य बढेर आउन छोडेपछि यहाँ कालोपत्र काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको छ। सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ ।

    यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने छ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ । ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    निर्माण कम्पनीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गत पुसमा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ । अरू म्याद थपका लागि प्रक्रियामा रहेको छ ।

  • नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    मध्यविन्दु (नवलपरासी), २८ जेठः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।


    दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    मान्म (कालीकोट), २८ जेठः पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।

    दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको साथै सडक साँघुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएकोसहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्मा बताए ।

  • बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

    बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

    काठमाडौँ, २७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको अनुमान (बजेट)का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे ।


    मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गरे । प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो ।

    “देखिएका त्रुटि सच्च्याएर सार्वभौम सांसदको हातमा विधेयक पारेपछि कुनै परिवर्तन गरिएको छैन । प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो”, अर्थमन्त्री डा वाग्लेले भने, “सुशासनका लागि निर्मम रूपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा सांसदहरू पर्नु हुँदैन ।”

    बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी बजेट आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको जनाए । समितिका सदस्य नरेन्द्रकुमार केरूङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताए ।

  • दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

    दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

    सियोल, २७ जेठ (रासस–सिन्ह्वा) । दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ । यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि, विशेषगरी सेमिकन्डक्टरको उच्च मागका कारण आर्थिक वृद्धिलाई प्रमुख रूपमा सहयोग पुगेको हो । यस अवधिमा निर्यात ५.९ प्रतिशतले बढेको छ भने आयात ३.९ प्रतिशतले वृद्धि भएको छ ।

    निजी उपभोग ०.६ प्रतिशतले बढेको छ भने सरकारी खर्च ०.४ प्रतिशतले घटेको देखिएको छ । गानी क्षेत्रतर्फ हेर्दा उपकरण लगानी ६.६ प्रतिशतले र निर्माण लगानी १.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै नाममात्र कुल राष्ट्रिय आय पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ११.० प्रतिशतले बढेको छ, जसले देशभित्र र बाहिर कमाइ हुने कुल आयलाई जनाउँछ । मूल्य परिवर्तन मापन गर्ने डिफ्लेटर पनि सोही अवधिमा १२.९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

  • एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना

    एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना

    सान फ्रान्सिस्को, २७ जेठ (रासस–सिन्ह्वा) ।
    विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ)तर्फ महत्वपूर्ण कदम चालेको छ । कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ । यद्यपि कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुला हुनेछ ।

    ओपनएआईले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा अमेरिकी धितोपत्र ऐनअन्तर्गतको सम्बन्धित व्यवस्थाअनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ । कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानुनी प्रक्रिया पूरा गरिनेछ ।

    कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विशाल लगानी आवश्यकताबीच ओपनएआईको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास, उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माण, डाटा केन्द्र विस्तार तथा नयाँ उत्पादन विकासका लागि अरबौं डलर लगानी आवश्यक पर्ने भएकाले कम्पनीले दीर्घकालीन पूँजी व्यवस्थापनका विकल्पहरू खोजिरहेको विश्लेषकहरूको भनाइ छ ।

    सार्वजनिक कम्पनी बनेमा ओपनएआईले विश्वभरका लगानीकर्ताबाट ठूलो मात्रामा पूँजी जुटाउन सक्नेछ, जसले कम्पनीलाई अनुसन्धान तथा विकास, पूर्वाधार विस्तार र नयाँ प्रविधि विकासमा थप लगानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेका छन् ।