Category: अर्थतन्त्र

  • चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    काठमाडौँ, २ चैतः उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ ।
    पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ ।

    पार्टी प्रवक्ता डा राजु थापाका अनुसार यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिँदै सङ्गठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको छ ।

  • जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    काठमाडौँ, १ चैतः जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन् ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

  • भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    गोरखा, १ चैतः सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।

    समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिक भिरबाट खसेर दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकहरुको प्रदेश अस्पताल गोरखामा शवपरीक्षण गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सात गम्भीर घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    १ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

    दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’ युद्धका कारण भारत आउने पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा नै असर गरेको छ ।

  • घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।

    अधिकारीले राजस्व अनुसन्धान विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य सम्भावित कसुरबाट बचाउन सहजीकरण गरिदिने नाममा एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अधिकारीले रु ७० लाख घूस÷रिसवत लिएको आयोगको ठहर छ ।

    अनुसन्धानका क्रममा अधिकारीले प्राप्त घूस रकम प्रत्यक्ष रूपमा प्रयोग नगरी विभिन्न व्यक्तिसँगको मिलेमतोमा बैङ्क खातामार्फत घुमाएर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । निजले विकास चापागार्इं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायतसँगको सल्लाह तथा मिलेमतोमा रकम विभिन्न बैङ्क खातामा जम्मा गराई त्यसलाई तहीकरण गर्दै घूसको स्वरूप परिवर्तन गर्ने प्रयास गरेका आयोगले उल्लेख गरेको छ ।

    उक्त रकम ग्लोबल आइएमई बैङ्क, लुम्बिनी विकास बैङ्क र लक्ष्मी सनराइज बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थामा रहेको खातामार्फत जम्मा गराई चरणबद्ध रूपमा कारोबार गरिएको जनाइएको छ । यसरी विभिन्न खातामार्फत रकम घुमाएर स्रोत लुकाउने तथा घूस रकमलाई वैध देखाउने प्रयास गरिएको आयोगको दाबी छ ।

    अनुसन्धानबाट उक्त रकमको केही भाग मध्यपुर थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्र रहेको जग्गा खरिदमा प्रयोग गरिएको पनि खुलेको छ । भक्तपुर जिल्लाको साबिक वडा नं १७ ९हाल वडा नं २० मा पर्ने कित्ता नं ९९८ को करिब १६४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिदका लागि उक्त रकम प्रयोग गरिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।

    यस्तै, अनुसन्धानका क्रममा घूस रकमको केही अंश देवेन्द्र केसीसमेत सञ्चालक रहेको पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाको कर्जा भुक्तानीमा समेत प्रयोग भएको पाइएको छ । आयोगका अनुसार ‘द कुटी रिसोर्ट’ नामक परियोजनासँग सम्बन्धित कर्जा तिर्न घूसबाट प्राप्त रकम प्रयोग गरिएको प्रमाण भेटिएको हो ।

    आयोगले यो प्रकरणमा संलग्न व्यक्तिहरूबीच आपसी सल्लाह र मिलेमतोमा घूस रकमलाई विभिन्न बैङ्क खातामा जम्मा गरी त्यसलाई क्रमशः अन्य आर्थिक कारोबारमार्फत वैध देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको छ । यस्तो कार्यले भ्रष्टाचारसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरसमेत आकर्षित हुने देखिएको आयोगले जनाएको छ ।

  • घुमाउनेमा पुल नबन्दा सास्ती

    घुमाउनेमा पुल नबन्दा सास्ती

    दमौली (तनहुँ), १ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए ।

    सोहीबमोजिम हजारौँ जनता मतदानमै सहभागी नहुने चेतावनीपछि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय मतदानमा सहभागी भए । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने यस क्षेत्रबाट रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले विजयी भए । अब बन्ने सरकारले घुमाउनेमा पुल निर्माणलाई सुरु गर्नेमा यहाँका स्थानीयवासी आशावादी छन् । चाँडै पुल निर्माणले गति लिनेमा आफूहरू आशावादी रहेको पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले बताए ।


    उनले भने, “नयाँ सरकार गठन हुँदैछ । अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्न सक्दैन । हामी पुल निर्माण हुनेमा आशावादी छौँ ।” घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।

    बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दिपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ ।

    गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता भएको बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।

  • अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    सुगुरथला (म्याग्दी), १ चैत स् बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।

    आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

    हालको सुक्खायाममा १३।८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युत्गृह, पाइप लाइन, प्रसारण लाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट ९टर्वाइन० रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।


    यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हँुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।

    रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख–जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युत्गृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

    राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।


    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

  • डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    काठमाडौँ, १ चैत । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

    सो अवसारमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् ।


    मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको बताए । उनका अनुसार विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको छ ।

    डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उनले बताए । उनका अनुसार नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

  • चितवनमा तोरी उत्पादन घट्यो

    चितवनमा तोरी उत्पादन घट्यो

    चितवन, १ चैत । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।

    जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।

    चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ ।

  • नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    काठमाडौँ, १ चैतः गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

    सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, १ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

  • रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    भरतपुर (चितवन), १ चैत स् नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए ।

    लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताए । शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।

  • नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

    नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

    काठमाडौँ, ३० फागुनः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ । आज यहाँ कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वस्त आधार बनाउँदै सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे । विगतमा अस्थिर सरकारका कारण नीतिगत एकरुपतामा केही समस्या रहे पनि अब करिब दुई तिहाइसहितको सरकार आउन लागेकाले लगानीकर्तामा आत्मविश्वास जगाउन सबै एकजुट हुनुपर्ने भन्दै लगानी सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताए ।


    नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्ने विषयमा सोच्नुपर्ने बताए । उनले लगानीका लागि सुरक्षित वातावरण, बजार र विश्वासको आधार तयार गर्नुपर्नेमा जोड दिए ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अब राजनीतिक स्थिरताको वातावरण बनेकाले प्रवासी नेपालीसँग सहकार्य गरेर नीतिगत सुधारमार्फत लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताए । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा राखे ।


    चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको धारणा राखे । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै नेपालमा लगानी गर्न आग्रह गरे । यसैबीच, सम्मेलनअन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ सत्रमा वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले संस्कृतिको संरक्षण पुस्तान्तरणबाट हुने भन्दै प्रवासमा रहेका नेपालीका सन्ततिलाई संस्कृति र भाषासँग जोड्नुपर्ने बताए ।


    संस्कृतिविद् प्राडा वीणा पौडेलले भाषा, कला र चाडपर्वमार्फत संस्कृति जोगाउन सकिने उल्लेख गरिन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सांस्कृतिक पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताए । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले युवालाई नेपालसँग जोड्न भाषा शिक्षा, सांस्कृतिक कार्यक्रम र खेलकुदजस्ता गतिविधि उपयोगी हुने धारणा राखे ।


    कार्यक्रममा विभिन्न वक्ताले प्रवासी नेपालीको लगानी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।

  • ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    काठमाडौँ, ३० फागुनः नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

    निगमले आज विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ ।

    निगमले भनेको छ, “निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १०ः०० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पुनःअनुरोध गर्दछ । साथै सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नं र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ ।”

    निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि मिति शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्ने–गराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

  • ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    काठमाडौँ, ३० फागुनः काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।


    काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर रु ९५५ तोकेको छ । यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।” ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ ।

    यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ”, काफ्लेले भने, “सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आआफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।”

    पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाइएको जनाउँदै उहाँले यसमा महानगरले निगरानी थालेको बताए । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ । ग्यास बिक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । उहाँले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गरे ।

  • केन्यामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

    केन्यामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

    नाइरोबी, ३० फागुन (रासस–सिन्ह्वा) । केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको सरकारले जानकारी दिएको छ ।
    आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार, मृतकमा ४६ पुरुष, ८ महिला र ८ बालबालिका रहेका छन् । मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको, त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा ७ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

    सरकारले बाढीले १० हजार भन्दा बढी परिवार प्रभावित भएको र ४ हजार ८४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ । भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ ।

    मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठूलो क्षति भएको छ । केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवनरक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ ।

  • इथानोल मिश्रित पेट्रोलः ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    इथानोल मिश्रित पेट्रोलः ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    काठमाडौँ, ३० फागुनः सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

    यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ ।

    इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) र अन्य आवश्यक रसायन समावेश छन् । खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ । उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ । यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ ।

    उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ । इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि हुने छ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ ।

    नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौतामा उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ। इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ। मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ।

    सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ। समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् । आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल-बिज-विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ ।

    यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ ।

  • ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    नारायणगढ ३० फागुन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ । यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

    नेपाल आयल निगमको निर्णय अनुरुप ग्यास बिक्री वितरण गरी ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको स्पष्ट अभिलेख राख्नुपर्नेछ । उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

    प्रशासनले आम उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ । कतै ग्यास लुकाइछिपाइ वा गैरकानूनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ । सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३० फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    मुस्ताङ, ३० फागुनः माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।

    माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।

    आव २०७८–०७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको उक्त आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड माहामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।

    सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न भएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि तल करिव आधा घण्टाको दूरीमा पर्दछ । एक वर्षअघि निर्माण सम्पन्न गरिएको उक्त आधारभूत अस्पताल भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने गरी शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवाससहितको भवन निर्माण गरिएको थियो ।

    माथिल्लो मुस्ताङमा आधारभूत स्वास्थ्य सेवाका लागि सामान्य उपचार गर्न स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरु रहेपछि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा माथिल्लो मुस्ताङका नागरिकलाई निकै सास्ती हुने गरेको छ । त्यहाँका नागरिकलाई गम्भिर बिरामी हुँदा वा भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न १०० किलोमिटर दुरीको यात्रा गर्दै जोमसोम झर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीलाई जोमसोमसमेत भरपर्दो स्वास्थ्य सेवा उपलब्ध नहुँदा पोखरा÷काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।

    लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार लोमान्थाङमा निर्मित आधारभूत अस्पताल आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधार नहुँदा सञ्चालन हुन नसकेको हो । सरकारले आधारभूत अस्पतालका लागि चिकित्सक तथा जनशक्तिको दरबन्दी व्यवस्था र आवश्यक उपकरणलगायतको व्यवस्थापन गरिदिएमा अस्पताल सञ्चालन गर्न सकिने बताए ।


    चालु वर्ष गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीको माथिल्लो मुस्ताङको भ्रमण हुँदा यहाँको पाँच शय्याको आधारभूत अस्पताल भवनलाई चाहिने स्वास्थ्य उपकरणलगायत सामग्री खरिदका लागि लागत स्टेमेट र विवरण पठाउन निर्देशन भएको र सोहीअनुसार गाउँपालिकाले डेढ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्न विवरणसहित आवश्यक डकुमेन्ट प्रदेश सरकारलाई पठाइसकिएको स्वास्थ्य संयोजक गुरुङले उल्लेख गरे ।


    “हामीले यहाँबाट आधारभूत अस्पताल भवनका लागि सामग्री खरिद गर्न लागत र विवरण प्रदेश सरकारलाई पठाइसकिएको छ”, स्वास्थ्य संयोजक गुरुङले भने, “गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि यस विषयमा के हुँदैछ भन्ने जानकारी प्राप्त हुन सकिरहेको छैन ।” गण्डकी प्रदेश सरकारले अस्पतालका लागि सामग्री खरिद गर्न लागत र विवरण आएपछि प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी व्यवस्थापन गर्ने भनिएको भएपनि उक्त विषय अझै अन्योल मै रहेको स्वास्थ्य संयोजक गुरुङको भनाइ छ ।

    रङ्गरोगनसहित निर्माण सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवनमा तत्कालका लागि हेल्थ पोस्ट स्थान्तरण गरेर सामान्य प्रकारको स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था रहेपनि उक्त भवन लोमान्थाङ बजारदेखि टाढा समुदायलाई अपायक पर्ने भएकाले उक्त आधारभूत अस्पताल भवन प्रयोगमा आउन नसकेको उनको भनाइ छ । माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्न यहाँ निर्माण गरिएको अस्पताल भवन सञ्चालनका लागि सङ्घीय तथा प्रादेशिक सरकारको ध्यान जान आवश्यक रहेको स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङले उल्लेख गरे ।

  • उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    म्याग्दी, ३० फागुनः म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो । गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप रु नौ लाख अनुदान उपलब्ध गराएको जानकारी दिए ।


    “विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरी एक जनालाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको,” उनले भने, “वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न पछिल्लो तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्दै आएको छ ।” यसअघि गत कात्तिकमा १२ जनालाई रु १२ लाख, विसं २०८१ मा २० जनालाई, २०८० मा नौ जनालाई सहयोग गरेको थियो । हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

    थप ऋण पाउनेमा वडा नं १ का चक्रे दमाई, ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी, शन्तु भण्डारी, वडा नं ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल, दुर्गबहादुर दर्जी, वडा नं ६ का कौशिला नेपाली र वडा नं ७ का रोहितप्रसाद आचार्य रहेका छन् । सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

    कृषि उद्यमलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार हरेक वर्ष फरकफरक उद्यमीलाई विउँपुजी सहयोग गरिएको छ । पालिकाभित्रै व्यावसायिकरूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

  • धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राती बन्द

    धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राती बन्द

    काभ्रेपलाञ्चोक, ३० फागुनः अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो ।

    सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इािन्जनियर सुनम योगेशले बताए ।
    उनका अनुसार उक्त सडकखण्ड कालोपत्रका लागि आगामी चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएका उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे्र सवारी साधन चल्न रोक लगाइने भएको छ । यस्तै उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरि टिपर र ट्रकलगायत (पास लिएकासमेत)मालबहाक सवारीका साधनलाई चौबिसै घण्टा चलाउन रोक लगाइएको हो ।

    उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

    सम्झौताका समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसंग ठेक्का रद्द गरेको हो । सडक बिस्तारको काम कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

    अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

    उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् ।

  • डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

    डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

    काठमाडौँ, ३० फागुनः नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो ।

    अल्प विकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्युटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।

  • डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

    डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

    काठमाडौँ, ३० फागुन । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए ।

    आयोगले निरन्तर रूपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम, कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । आयोगको सूचनाअनुसार प्राधिकरणले तय गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले निर्णयका लागि आयोगमा आवेदन गरेको थियो ।

    सो आवेदनमा प्राधिकरणले डेडिकेटड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सप्लाई लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइपाउँ भनी माग गरिएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित हुन आग्रह गरेको छ । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरुपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्र आवेदकलाई अदालत जाने मार्गप्रशस्त हुन्छ ।

  • जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    रासस
    भोजपुर, २९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।

    बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताए । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनको भनाइ छ । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उनले जानकारी दिए ।


    “बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ”, थापाले भने, “सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।” बराह क्षेत्रसम्म जलयात्रा गरेको रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।

    “हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पथ्र्यो”, राईले भने, “अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।” बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।


    हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । “पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ”, अध्यक्ष राईले भने, “दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।”

  • बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    मुना (म्याग्दी), २९ फागुन । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन–बेनी हुँदै काठमाडौँ गएको हो ।

    पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले सवारी सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनअघि मार्ग खुलेको सडक प्रयोग गरेर बेनी हुँदै काठमाडौँ गएको बताए । “सडक मार्ग नहुँदा पोखरा हुँदै काठमाडौँ जान ढोरपाटन–बेनीको बाटो प्रयोग गर्दै आएका थियौँ”, उनले भने, “पुरानो पदमार्गलाई आधार मानेर अहिले खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पूर्वी, पश्चिमरुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा–काठमाडौँ आवातजावत गर्न छोटो र सजिलो हुन्छ ।”

    तकसेरादेखि गाडीमा पाँच घण्टाको यात्रापछि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा आइपुगेका अध्यक्ष पुनको टोलीलाई उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत गरे । “बेनीदेखि मुना–खोरिया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर दूरीको सडकको गत पुसमा मार्ग खुलेको थियो”, धवलागिरिका उपाध्यक्ष पुनमगरले भने, “ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो साता मार्ग खुलेकाले हिउँदयाममा जीप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।”

    स्तरोन्नति गर्न र खोलामा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकलाई पनि सहज हुने धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । हाल प्रयोगमा आइरहेको बागलुङदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ ।

    नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दूरीको सडकका रूपमा विकास हुने सम्भावना छ । बेनीदेखि २०५५ सालमा यो सडक निर्माण सुरु भएको थियो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ५० किलोमिटर दूरी छोटो भएको बताए ।


    बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम–मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बताए ।

    मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वीरुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ २८ बेनीमा भएको कार्यक्रममा म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने प्रतिबद्धता जनाए ।

    पूर्वीरुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत धेरै अवसर छन् ।

  • ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटन (बागलुङ), २९ फागुन : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ ।

    रु १५ करोड लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताए । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा पुर्याउने उनको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उनी बताउँछन् । प्रमुख मरासिनीले भने, “पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्षमात्रै भयो, त्यसभन्दा माथि अधिकारीचौरसम्म दुई वर्ष अगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउनेछन् ।”

    ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए । विसं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । केन्द्रीय लाइन आएपछि अब सहज हुने उनको भनाइ छ ।

    अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताए । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उनी बताउँछन् । “ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ”, अध्यक्ष घर्तीमगरले भने, “अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।”

    ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जलविद्युत्बाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताए । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनले बताए । उनले भने, “पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढेको छ, होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि केन्द्रीय विद्युत् नहुँदा निकै समस्या थियो, चिसो पानीमा कपडा धुनुपर्ने बाध्यता थियो, ठूलो मेसिन चलाउन पाएका थिएनौँ, अब सजिलो हुने भयो, पर्यटकले पनि लाभ लिन सक्ने भए ।”

    विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटनभरका बस्तीमा विद्युत् नपुगेको बताए । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् । बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाए ।

  • चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने

    चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने

    काठमाडौँ, २९ फागुनः नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’का लागि तीन देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा राखिएको छ ।

    यसअघि प्रवाह भएको ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’को आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एक पटकका लागि मात्र पुनर्तालिकिकरण गर्न सकिने व्यवस्था ल्याइएको छ । यसरी गरिएको कर्जा पुनर्तालिकिकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकिकरण भएको नमानिने उल्लेख छ ।

    त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम÷व्यवसायमा प्रवाहित कर्जालाई पनि पुनःसंरचना वा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ । “यो शीर्षकमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तको अधिनमा रही कर्जाको पुनर्रतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ ।

    यस्तो पुनरर्तालिकीकरण र पुनःसंरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरर्तालिकीकरण वा पुनःसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

  • स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

    स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

    त्रिशूली (नुवाकोट), २९ फागुनः स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।
    विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए ।

    उनले भने, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।” यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।

    नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

  • चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

    चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

    काठमाडौँ, २८ फागुन । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

    अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गरे । उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र निजी क्षेत्रको मनोबल उठाउनु प्रारम्भिक चुनौती रहेको उल्लेख गर्दै साझा प्रयासबाट अहिले व्यावसायिक वातावरणमा सुधार आएको जानकारी दिए ।


    अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार छलफलमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवद्र्धन गर्ने, पुँजी बजारलाई पारदर्शी बनाउने तथा आर्थिक सुशासन कायम गर्ने विषयमा सुझाव आदानप्रदान भएको थियो ।

    अर्थमन्त्री खनालले विभिन्न क्षेत्रबाट आएका सुझावअनुसार केही विषय सम्बोधन गरिएको तथा नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा बाँकी काम आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी दिए । छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री खनालले निजी क्षेत्रका मुद्दा सम्बोधन गर्न देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेका थिए । उनीहरूले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनको परिणामबाट सकारात्मक अपेक्षा व्यक्त गरे ।

    निजी क्षेत्रले मूल्यअभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लागू गर्नुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच कम्तीमा दुई तहको अन्तर राख्नुपर्ने, निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने, नियमनकारी निकायको प्रभावकारिता परीक्षण गर्नुपर्ने तथा अन्तःशुल्कका उच्च दर घटाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।