Category: अर्थतन्त्र

  • महबाटै करोड कारोबार गर्दै विनोद हमाल

    महबाटै करोड कारोबार गर्दै विनोद हमाल

    राष्ट्रिय समाचार समिति (रासस)

    भजनी (कैलाली), २९ मङ्सिर । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।

    विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।”

    दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुग्नुभएको छ । उहाँले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राख्नुभएको छ । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि जता फूल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।”

    उहाँका अनुसार कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उहाँहरू कैलाली, बर्दिया, बाँके, दाङका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् । मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । “दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकैखेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ”, हमाल भन्नुहुन्छ, “तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।”

    स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आउनुभएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छभने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो । “आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ”, उहाँ भन्नुहुन्छ, “त्यो मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढीमा बिक्री गर्दै आएका छौँ ।” महको मूल्य पनि फूलको स्रोतका आधारमा तय गरिने उहाँ बताउनुहुन्छ ।

    माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ । काठमाडौँलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आउनुभएका उहाँ धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्री हुने गरेको विनोद बताउनुहुन्छ । उहाँको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।

    पैसा कमाउनका लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “पैसा विदेशभन्दा स्वदेशमा धेरै छ । हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौैँ, त्यसैगरी स्वदेशमा गरौँ त”, उहाँ भन्नुहुन्छ, “दश घण्टा कुरा गरेर अनि सामाजिक सञ्जाल चलाएर व्यतित गर्दा बाँकी दुईतीन घण्टा काम गरेजस्तो गएर पैसा कमाउन सकिँदैन । आम्दानी हुँदैन । व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ ।”

  • राजधानीमै छैन पर्यटक बस बसपार्क

    राजधानीमै छैन पर्यटक बस बसपार्क

    काठमाडौँ, २९ मङ्सिरः मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।

    विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।

    कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।

    सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् । “सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”, उनी भन्छन्। राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउँछन् ।


    कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।

    टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

  • कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, २८ मङ्सिर । विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रुपमा सम्पत्ति जोडेको भन्दै रु तीन करोड ६८ लाख ४७ हजार ७६१ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।

    काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई सङ्घीय संसद्को अर्थ समितिका सभापतिसमेत रहनुभएका चालिसेले गोकर्णेश्वर नगरपालिकाको प्रमुख छँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको अख्तियारले जनाएको छ ।

  • कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

    कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

    मुस्ताङ, २८ मङ्सिर : यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१\८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।

    भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्रयाक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो ।

    जसअन्तर्गत आयोजनाले यहाँ २०७३\७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२\८३ प्रस्ताव गरिएको छ । तर कोरलानाकासम्मको सडक कालोपत्र गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ ।

    यस कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्यअनुरुप आव २०८१\८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

    कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ । यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

    कोरला सडकका लागि चालु आव २०८२\८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तिय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।

    त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तिय प्रगति ९९ करोड ९६ लाख भएको थियोभने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    आयोजना अनुसार गतवर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्र, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३\७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४\७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५\७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६\७७ मा रु ९० करोड २५ लाख, आव २०७७\७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८\७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९\८० मा रु ५७ करोड एक लाख, आव २०८०\८१ मा ७२ करोड ७८ लाख र आव २०८१\८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।

    कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ । बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २।५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।

    बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्र गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ । घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।

  • मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

    मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

    खोटाङ, २८ मङ्सिरः प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् ।

    यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।

    सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिए पनि तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयले बताएका छन् । जलविद्युत् आयोजना सञ्चालन भएको वर्षौँ वित्दा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएका कारण आयोजना बन्द गरेको स्थानीय माइतीराज राईले जानकारी दिनुभयो ।

    “गत चैतमा पनि स्थानीयले उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपश्चात सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो, “सहमति कार्यान्वयनमा नआएपछि उपभोक्ताले पुनः आयोजना बन्द गराएका हुन् । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

    स्थानीय जग्गाधनीले आयोजना सञ्चालन गर्न ओगटिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कनसहित तुरुन्त क्षतिपूर्तिदिनुपर्ने, जालपादेखि विद्युत् गृहसम्मको सडक मर्मत, सोलिङ तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा १०–१५ प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, सरकारी जग्गा प्रयोग गर्दा कानुनी अनुमति लिनुपर्ने, प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्नेलगायत माग राखेका छन् ।

    आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले अहिले उठाइएका कतिपय माग सम्बोधन गर्न नसकिने बताउनुभयो । केपिलासगढी गाउँपालिकाको समन्वयमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिबीच २०८१ चैत ५ गते बसेको बैठकमा मुआब्जा समन्वय समिति गठन गरिएको थियो । स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा इनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादातालाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको थियो ।

    गाउँपालिकाको कार्यालयमा बसेर गरिएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए । गत वैशाख ३० गते ज्ञापनपत्र बुझ्नुहुँदै तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको थियो । तर हालसम्म प्रशासनले कुनै पहल नगरेको स्थानीयवासीको आरोप छ ।

  • एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

    एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

    रमेश गिरी–रासस
    भक्तपुर, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् ।

    ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको एक सय आठ रोपनी चौरमा उपस्थित अधिकांश सहभागीले उक्त ऐतिहासिक मन्दिरका बारेमा चासो राख्दै घुमफिर तथा दर्शन गर्ने सन्दर्भमा एकापसमा कुराकानी गरिरहेको सुनिन्थ्यो । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनुभएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउनुभयो । साथीहरूसहितको टोलीले मन्दिर अवलोकन गर्ने जानकारी दिनुभयो ।

    खड्काले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनाँै, महाधिवेशनको उद्घाटन सत्रअन्तर्गत मञ्च व्यवस्थापनका क्रममा निर्माण गरिएको मन्दिरको संरचना देख्दा त्यहाँ पुग्न मन लाग्यो, नजिकै रहेछ, अब चाँगुनारायण मन्दिर जाने भयौँ ।”

    त्यसैगरी, खोटाङबाट आउनुभएका रवीन्द्र श्रेष्ठ महाधिवेशनमा बनाइएको ‘स्टेज’ले इतिहास र धार्मिक महत्वको मात्र प्रचार गरेन, मन्दिरको महत्वसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनुहुन्छ । स्टेजमा देखिएको मन्दिरको आँगनमा प्रत्यक्ष पुग्न अधिकांश सहभागी लालायित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महाधिवेशनका क्रममा काठमाडौँ आएका बेला अब एकपटक मन्दिर पुगिन्छ, साथीभाइसँगै घुमफिर गरी मन्दिरको दर्शन पनि गरिन्छ ।”

    सांस्कृतिक झाँकी, न्याउली बाजादेखि जङ्कुसम्मले थप्यो रौनक

    एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको र्यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।

    त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे । सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे ।

    कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिङ्गारिएको रथमा राखी ६ छोरानातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यस किसिमको जीवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागीले देख्ने, जान्ने मौका पाए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि विभिन्न झाँकी एवं नाच प्रदर्शन भइरहेका थिए भने उद्घाटनसत्रको स्टेजमा समेत कार्यक्रमका बीचबीचमा विभिन्न गीत, नृत्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा सडक अवरुद्ध भई जनजीवन अस्तव्यस्त भएको पाठबाट सिकी यसपटक एमाले भक्तपुर जिल्ला कमिटीले सम्बद्ध सुरक्षा निकायका पदाधिकारीसँग समन्वय गरी तयार गरेको रुटमा र्याली निकाल्दा कुनै पनि सडकमा कुनै पनि बाधाव्यवधान हुन पाएन । उल्लेखनीय जनसहभागिता रहे पनि काठमाडौँबाट भक्तपुर हुँदै काभ्रे जाने मुख्य सडक अरनिको राजमार्ग दिनभर सञ्चालनमा रह्यो ।

    धरैले र्याली अव्यवस्थित भई सडक अवरुद्ध हुने आकलन गरिरहेको अवस्थामा गठ्ठाघर र जगातिबाट आएको र्याली ६ लेन सडकको ‘सर्भिस ट्रयाक’मात्र प्रयोग गरेको देखिन्थ्यो । दिनभर नै सवारीसाधन कुदिरहेका देखिन्थे । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाकमात्र प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेकाले सडक अवरुद्ध नभएको बताउनुभयो ।

    जुजुधौ बिक्रेतादेखि साना व्यापारी खुसी

    एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही कक्षमध्ये ‘जय शम्भो जुजुधौ सेन्टर’ले विभिन्न जिल्लाबाट आएका सहभागीलाई देशभर प्रख्यात भक्तपुरको उत्कृष्ट जुजुधौ खुवाउन पाएकामा खुसी व्यक्त गरेको छ । व्यवसायी कान्छाराम सैँजुले व्यापार राम्रो भएर खुसी भएको बताउँदै विभिन्न जिल्लाबाट आएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई जुजुधौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।

    नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउँदै पश्चिमतर्फको नेवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि विभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एक सातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो ।

    महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई साँझसम्म नै मजबुत बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले बिहान ‘बम डिटेक्टर’ उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसी क्यामेराबाटसमेत निगरानी गरेको बताउनुभयो ।

    सहभागीको उल्लेख्य उपस्थिति

    दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो । महाधिवेशन उद्घाटनका अवसरमा भरिएको चौरमा कतिपय आउने र फर्कनेक्रम जारी रहेकाले सहभागी सङ्ख्या एकिन गर्न कठिन भएको थियो ।

    अपेक्षा गरिएभन्दा बढी व्यक्तिको उपस्थिति रहेको एमाले भक्तपुर जिल्ला उपाध्यक्ष किरण थापामगरले जानकारी दिनुभयो । उहाँले टाढासम्म रहेका सहभागीले वक्तालाई देख्ने र बोलेको सुनिनेगरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखेको र मञ्चबाट तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरेकाले सल्लाघारी चौरभन्दा बाहिर रहेका हजारौँले नेताको सम्बोधन सहजै सुन्न सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।

    पार्किङमा भएन समस्या

    महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधन तोकिएको क्षेत्रमा पार्किङ गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापामगरले जानकारी दिनुभयो । थानकोट हुँदै विभिन्न जिल्लाबाट आएका सवारीसाधनलाई नागरिक उड्डयन प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातिस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएकाले सवारी व्यवस्थापनमा सहज भएको एमाले जिल्ला अध्यक्ष देउजाले स्पष्ट पार्नुभयो ।

    आन्तरिक पर्यटन प्रवर्द्धनका टेवा

    महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधि एवं कार्यकर्ता कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिकाभित्रका सम्पदाको अवलोकन गर्न पुगेका देखिन्थ्यो । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाँचतले मन्दिरलगायतका सम्पदा अवलोकनका लागि त्यसतर्फ लामबद्ध देखिन्थ्यो ।

    महाधिवेशनमा आएर शनिबार नफर्किएकाहरु आज भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अवलोकनका लागि जाने भएकाले यहाँको आन्तरिक पर्यटनमा केही हदसम्म सहयोग पुग्ने देखिन्छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापति भक्तपुरको सम्पदा अवलोकनका लागि महाधिवेशनमा आएकाले भक्तपुरको प्रमुख बजार तथा सम्पदा क्षेत्रमा दिनभर भीडभाड लागेको, विशेषगरी होटल तथा रेष्टुराँले मनग्य आम्दानी गरेको, जुजुधौ अत्यधिक बिक्री भएको, पेय पदार्थसहित बदाम र सुन्तलाको व्यापार अत्यधिक भएको बताउनुहुन्छ ।

    उद्घाटनस्थलको सरसफाइ

    महाधिवेशन उद्घाटनस्थलको सरसफाइ र व्यवस्थापन शनिबार साँझदेखि सुरु भएको छ । चौरमा फालिएको फोहर सबै सफा गरिने पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाइ शनिबार रातिसम्म सक्छाँै, अस्थायी शौचालयको व्यवस्थापन गर्छौँ, मञ्चलाई आज नै भत्काएर आज भृकुटीमण्डपमा राख्नेगरी आवश्यक तयारी गरेका छौँ ।”

  • एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    दमौली (तनहुँ), २७ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्र्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
    मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे ।

    उनले भने, “घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।” मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिए । उनले भने, “पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।”

    आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

  • अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी विन्दुमा

    अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी विन्दुमा

    काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

    नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

    काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् ।

    पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए ।

    “प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”

    उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए । प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन् । अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय उनले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताए ।

  • नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु

    नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु

    काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरे ।

    पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भने । “नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।

  • सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

    सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

    रमेश लम्साल–रासस

    काठमाडौँ, २६ मङ्सिर । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले सरकारी प्रावधानअनुसार पछि सोधभर्ना गर्नेगरी आफ्नै लगानीमा मलेखु नजिकै सिद्धलेख गाउँपालिका वडा नम्बर ६ मा हुवासिन नारायणी सिमेन्ट उद्योगले १३२ केभीको सबस्टेसन निर्माण गरेको थियो ।

    विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि धादिङ जिल्ला विद्युत्को भरपर्दो सुविधाबाट लामो समयदेखि वञ्चित थियो । जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो । हाइ भोल्टेजले विभिन्न विद्युतीय उपकरण जल्ने पड्किनेजस्ता समस्याबाट पीडित थिए । स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण तथा जिल्लामा क्रियाशील राजनीतिक नेतृत्वलाई पटकपटक गुनासो पोख्दै आएका थिए ।

    ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्ने राज्यको दायित्व हो । लगानी बोर्डको संयोजनमा धादिङमा स्थापना भएको चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिन सिमेन्टले पनि सरकारले सडक तथा विद्युत् उपलब्ध गराउने शर्तमा लगानी गर्ने निर्णय गरेको थियो । उद्योग आफैँले निर्माण गरेको सबस्टेसनका कारण जिल्लामा थप सहज भएको छ ।

    मलेखु सबस्टेसनका कारण धादिङमा सहज रूपमा विद्युत् प्रवाहका अलावा अन्य प्रत्यक्ष फाइदा भएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । मलेखु सबस्टेसनका इञ्चार्ज विश्वजीत यादवका अनुसार धादिङ र आसपासका क्षेत्रमा सहज बिजुली आपूर्तिका लागि ठूलो काम भएको छ । उहाँका अनुसार विगतमा सल्यानटारबाट धादिङबेँसी र आसपासमा क्षेत्रमा बिजुली प्रवाह हुने गर्दथ्यो । अन्य कुनै विकल्प थिएन । यो सबस्टेसनको निर्माणपछि बिजुली कम हुनेबित्तिकै सहज प्रवाह हुने गरेको छ ।

    यसबाट धादिङबेँसी र अन्य क्षेत्रमा विद्युत्को गुणस्तर तथा भोल्टेजको समस्यामा ठूलो सुधार आएको उहाँले जानकारी दिनुभयो । मलेखु सबस्टेसनका कारण राजमार्गका अलावा धादिङका धेरै स्थानमा सहज बिजुली आप्रवाह भएको र यो खुसीको विषय भएको उनले जानकारी दिए । उद्योगले निर्माण गरेको सबस्टेसनले अहिले धादिङमा मात्रै लाभ पुगेको छैन प्राधिकरणलाई समेत यसले ठूलो प्रतिफल दिएको छ । प्राधिकरणले लामो समयदेखि जिल्लाभरको गुनासो सम्बोधनका लागि सोही सबस्टेसनबाट जिल्लाभरको विद्युत् वितरण प्रणाली सुदृढीकरण गरेको छ ।

    केही महिनाभित्र नै सोही सबस्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ । हाल सो वितरण केन्द्र मातहत ६६ हजार १८० ग्राहक छन् । रु एक अर्ब ५० करोडको लगानीमा स्थापना गरेको उक्त सबस्टेसनले धादिङ जिल्लामा औद्योगिकीकरणको बाटो पनि खुलेको छ ।

    विगतमा जिल्ला सदरमुकाम धादिङबेँसीमा नुवाकोटको देवीघाटबाट प्रवाह भएको बिजुली लामो एवं कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीयताको अभाव थियो । सामान्य हुरीबतास चल्नेबित्तिकै लाइन काटिने र लामो समयसम्म अँध्यारोमा बस्नुपर्ने अवस्था थियो । धादिङ र गोरखामा निर्माण भएका साना जलविद्युत् आयोजना जोड्नसमेत समस्या थियो ।

    उद्योग आफैँले सबस्टेसनदेखि उद्योगस्थल ताल्दीसम्म १४ किलोमिटर लामो प्रसारण लाइन र १३२ केभी÷१० केभी सबस्टेसनमा निर्माण गरेको छ । सो उद्योग पूर्ण क्षमताका चलेको समयमा कुल २० मेगावाट विद्युत् खपत गर्छ । जिल्लाको बसेरी र सल्यानटारमा रहेको सबस्टेसनमा कुनै समस्या आएको खण्डमा वैकल्पिक रूपमा बिजुली प्रवाहका लागि समेत उपयुक्त छ ।

    कुल चार दशमलव पाँच मेगावाट क्षमताको विकास हाइड्रोपावर, चार दशमलव ९८ मेगावाट क्षमताको रिचेत र दुई मेगावाट क्षमताको माथिल्लो रिचेतसमेत बसेरी, सल्यानटार सबस्टेसन हुँदै मलेखु सबस्टेसनमा जोड्न सकिनेगरी व्यवस्था मिलाइएको छ ।

    यस्तै, आठ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि समेत सहज भएको छ । बेनीघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेका सो उद्योगले स्थानीय क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिएको छ । सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार उद्योगका कारण आफ्नो गाउँपालिकामा विकास निर्माणको काम सहज भएको छ ।

    उद्योगका कारण स्थानीय कृषि उपजको बिक्री बढेको, स्थानीयले रोजगारी पाएको तथा होटल व्यवसायमा बढोत्तरी भएको गाउँपालिका अध्यक्ष थपलियाले उल्लेख गरे । सो उद्योगको दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । लगानी बोर्डको संयोजनमा प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियाका माध्यमबाट नेपाल आएको सो उद्योग स्थापनाका सम्बन्धमा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते हस्ताक्षर भएको थियो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् ।

    नेपालमा हाल करिब ४० लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि पछिल्ला दिनमा सुस्तता आएको छ ।

  • मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    दमौली (तनहुँ), २६ मङ्सिर । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।


    हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई लेन सकिएपछि अर्को दुई लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलव ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

    उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३।०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै पुल बनेका छन् ।

    छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिनुभयो । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो ।

  • एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने

    एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने

    २६ मंसिर, मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि पुरै दिन चल्ने भएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत खुला गर्ने निर्णय भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।

    त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । उनले भने, “स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।”

    युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

  • नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    त्रिवेणी (नवलपरासी), २६ मङ्सिर ः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

    गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।


    सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि दुई सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्य कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । “पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुणखोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ”, सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ ।

    नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथोपटक २०८३ असारसम्म म्याद थप गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?

    अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?

    काठमाडौँ, २६ मङ्सिर स् नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

    जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

    काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

    समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ । दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् । १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । समग्र भौतिक क्षति हेर्दा रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भएको समितिको मूल्याङ्कन छ । जसमध्ये प्रभावित निकाय÷संस्था दुई हजार १६८ छन् । दुई हजार ६७१ भवनमा क्षति पुगेको छ । जसमा क्षतिको मूल्याङ्कन रु ३९ अर्ब ३१ करोड ७५ लाख बराबर रहेको छ ।

    १२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुग्दा रु १२ अर्ब ९३ लाख ६१ हजार बराबरको नोक्सान हुन पुगेको छ । सरकारी÷सार्वजनिक क्षेत्रको रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबरको क्षति पुगेको छ । निजी क्षेत्रको क्षतिको मूल्याङ्कन रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबर छ । सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनःनिर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनःनिर्माण गर्न रु ३६ अर्ब ३० करोड २१ लाख बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

  • श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

    श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

    कोलम्बो, २५ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ । महिला तथा बाल–बालिका उपमन्त्री नमल सुदर्शनले विपद्का कारण देशव्यापी रूपमा एक लाख भन्दा बढी बालबालिका गम्भीर रूपमा प्रभावित भएको जनाउदै सबै भन्दा बढी पुत्तलम जिल्लामा ४३ हजार बालबालिका प्रभावित भएको बताउनु भएको छ ।

    प्रभावित बालबालिकाका लागि सहायता कार्यक्रम विकास गर्न सरकारले डिसेम्बर ११–१२ मा अन्तर्राष्ट्रिय बाल कोषसँग पनि छलफल गर्ने उहाँले बताउनु भएको छ । बैठक पछि मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूले विपद् प्रभावित क्षेत्रमा बाल संरक्षण संयन्त्रलाई बलियो बनाउन संयुक्त पहल गर्ने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ ।

  • मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् ।

    भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका थिए । प्रारम्भिक दृश्यमा उद्धारकर्मीहरूले शव बोकेर सवारीमा लैजाँदै गरेको देखिएको छ, जबकि स्थानीय बासिन्दाहरू उद्धार प्रयास हेर्न जम्मा भएका थिए । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या आगामी घण्टामा बढ्न सक्ने चेतावनी दिएका छन् ।

    सुरक्षा अधिकारीहरूले वरिपरि क्षेत्र सुरक्षित गर्ने आवश्यक कदमहरू उठाइरहेका छन् । घाइतेहरू फे्सको विश्वविद्यालय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् । यो दुर्घटना पछिल्ला वर्षहरूमा यस्तै प्रकारको सबैभन्दा घातक घटना मानिएको छ । गत वर्ष फेब्रुअरीमा फे्सको पुरानो शहरमा एउटा घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

    करिब एक दशकअघि, सन् २०१६ मा एक हप्ताभित्र दुई भवन भत्किएका थिए । पश्चिमी शहर मेराकेशमा एउटा घर भत्किँदा दुई बच्चाको मृत्यु भएको थियो भने अर्को चारतले भवन भत्किँदा चार जनाको मृत्यु र दुई दर्जन बढी घाइते भएका थिए । सन् २०१४ मा पश्चिमी शहर कासाब्लाङ्कामा तीन भवन भत्किँदा तेइस जनाको मृत्यु भएको थियो ।

  • दक्षिण कोरियाको श्रम बजारमा सुधार

    दक्षिण कोरियाको श्रम बजारमा सुधार

    सिओल, २५ मङ्सिर (रासस–सिन्ह्वा) । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०।८ प्रतिशतले बढेर दुई करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र तीन लाख ३३ हजारले बढेका छन्, तर १५–२९ वर्ष उमेर समूहमा एक लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ ।

    स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा क्रमशः दुई लाख ८१ हजार, ६३ हजार र ६१ हजार रोजगारी बढेका छन्, भने निर्माण र उत्पादन क्षेत्र क्रमशः एक लाख ३१ हजार रहेका छन् । नियमित र अनियमित कर्मचारी सङ्ख्या बढे पनि दैनिक मजदुर र एक्लै व्यवसाय गर्ने स्व–रोजगार घटेका छन् । रोजगार दर १५ वर्षमाथिका जनसङ्ख्यामा ०.२ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५–६४ वर्ष समूहको दर ७०.२ प्रतिशतमा उक्लिएको छ । बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार सङ्ख्या पाँच हजारले बढेर ६ लाख ६१ हजारमा पुगेको छ । आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या अलि घटेको छ ।

  • विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

    विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

    जेनेभा,२५ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बावजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी व्यापार वर्षैपिच्छे करिब सात प्रतिशतले वृद्धि हुने अनुमान छ । मूल्य वृद्धिले नभई व्यापारको मात्रा वृद्धि मुख्य कारण रहेको देखिन्छ, जसले विश्वव्यापी माग स्थिर रहेको सङ्केत गर्दछ ।

    पूर्वी एशियामा निर्यात वृद्धि सबैभन्दा धेरै देखिएको छ, जहाँ व्यापार नौ प्रतिशतले बढेको छ, र क्षेत्रीय भित्रको व्यापार १० प्रतिशतले बढेको छ । अफ्रिका र दक्षिण व्यापारमा पनि बलियो वृद्धि देखिएको छ, जसले उदाउँदो अर्थतन्त्रहरूको विश्वव्यापी व्यापारमा भूमिका बढ्दै गएको देखाउँछ । प्रतिवेदनले मित्र राष्ट्रहरूसँग र नजिकका भौगोलिक साझेदारसँगको व्यापार बढाउने प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ, जसले विश्वव्यापी व्यापारको ढाँचा फेरबदल गर्दैछ । आगामी वर्ष सन् २०२६ मा व्यापार वृद्धिदर अलि सुस्त हुने पनि प्रतिवेदनले अनुमान गरेको छ, जसका कारणमा विश्वव्यापी आर्थिक क्रियाकलापमा कमी, ऋण वृद्धि, व्यापार लागत बढ्नु र अनिश्चितता रहनु समावेश छ ।

  • कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

    २४ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
    सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३\७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।


    पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्का किन नतोड्ने रु भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।


    निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

    ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

  • दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौताको धारा २९, उपधारा १ बमोजिम खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई प्रेषण गरेका हुन् ।

    विभागद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यो कदम हालको घरेलु कर कानुन तथा विश्वव्यापी कर शासन व्यवस्थामा आएका महत्त्वपूर्ण परिवर्तनहरूसँग नेपाललाई मिलाएर लैजान आवश्यक भएकाले चालिएको रणनीतिक निर्णय हो । नेपालले आयकर ऐन, २०५८ ले कर प्रणालीमा व्यापक सुधार गरेको र ऐनमा कर दुरुपयोग नियन्त्रणसम्बन्धी आधुनिक प्रावधानहरू समावेश हुँदा विद्यमान दोहोरो करमुक्ति सम्झौताका केही धारासँग मेल नखाने अवस्था उत्पन्न भएको विभागले जनाएको छ ।

    विशेषगरी, ऐनको दफा ७३(५०)मा समावेश सीमित लाभको प्रावधानले सन्धि कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ । नेपालले पुरानो सन्धि खारेज गरेर समकालीन आवश्यकताका अनुरूप नयाँ कर सम्झौताका लागि मार्ग प्रशस्त गर्न खोजेको सरकारको भनाइ छ । नेपालले मौरिसससँग आर्थिक तथा कर सहयोगका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका अनुसार दुवै पक्षबीच नयाँ तथा आधुनिक दोहोरो करमुक्ति सम्झौता र द्विपक्षीय लगानी संरक्षण सम्झौता मा वार्ता गर्ने सम्भावना खुला छ ।

    आगामी कुनै पनि सम्झौता पारस्परिक हित, पारदर्शिता र वर्तमान विश्वव्यापी आर्थिक परिवेशसँग मेल खाने आधारमा गर्नुपर्नेमा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३–८४ को साउन १ गतेदेखि लागू हुनेछ । यो मिति सम्झौतामा उल्लिखित समाप्ति प्रावधानअनुसार निर्धारण गरिएको हो ।

  • नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

    नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

    २४ मंसिर, काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ ।
    कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको छ । कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वहुमत सेयर रहनेछ ।

    कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय, सम्बन्धित प्रदेश मन्त्रालय, स्थानीय तह,सम्बन्धित क्षेत्रका कृषक, कृषि क्षेत्रसँग सम्बन्धित वित्तीय संस्था, उद्योगी÷व्यवसायी र नेपाल विद्युत प्राधिकरणको लगानी रहनेछ । कम्पनी संस्थापना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने छ । कम्पनीको कारोबार प्रकृति सेवा प्रदान गर्ने र उत्पादनमूलक हुनेछ ।


    सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी)को सहायतामा नवीनतम यान्त्रिक सिँचाइ आयोजनाबाट हाललाई रौतहट र सर्लाहीमा भूमिगत जलस्रोतको उपभोगमार्फत प्रारम्भिक चरणमा पाँच सय डिप ट्युबवेलको निर्माण गरिने छ । यसबाट साढे २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने र कृषि व्यवसायीकरणमार्फत उत्पादन बृद्धिमा टेवा पुर्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बताउनुभयो ।

    उहाँले आवश्यकता र मागका आधारमा अन्य जिल्ला र क्षेत्रमासमेत सेवा विस्तार गर्न सकिने उल्लेख गरे । हाल दुई जिल्लामा सञ्चालन गरिने आयोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ४० करोड रुपैयाँ) रहेको छ । यसमध्ये सरकारको ४ अर्ब ९३ करोड रुपैयाँ लगानी रहेको छ । एडिबीको १७ अर्ब ४७ करोड रुपैयाँ सहयाता रहने छ । यसमा २ अर्ब १० करोड अनुदान र बाँकी रकम सहुलितपूर्ण ऋण रहेको छ ।


    कम्पनीले सतह तथा भूमिगत जलस्रोतको एकल तथा संयोजनात्मक उपयोगमार्फत सिँचाइ सुविधा उपलब्ध गराउने, किसानसँग ग्राहकी सम्झौता गर्ने, पानी वितरणका शर्त र सिँचाइ महशुल निर्धारण तथा संकलन गर्ने, सिँचाइ प्रणालीको विकास, संचालन, मर्मत सम्भार तथा प्रस्तिस्थापन गर्ने, किसानलाई तालिम प्रदान गरी क्षमता विकास गर्नेलगायतका काम गर्ने छ ।


    कम्पननीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ रहनेछ । अधिकृत पूँजीलाई प्रतिशेयर एक सय रुपैयाँ दरका तीन करोडड थानका साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी दुई करोड रुपैयाँको हुनेछ । कम्पनीमा ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत साधारण शेयरधनी रहनेछन् ।
    संस्थापकहरुले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजी १ करोड ७० लाख रुपैयाँ हुनेछ । जारी पूँजीको १५ प्रतिशतले हुने रकम बरारको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।


    संस्थापकतर्फ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ११ प्रतिशत (२२ लाख रुपैयाँ), अर्थ तथा कृषि तथा पशुपन्छी मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको १०\१० प्रतिशत (२०\२० लाख रुपैयाँ),कृषि\सिचाइसँग सम्बन्धित मधेश प्रदेश सरकारको १५ प्रतिशत (३० लाख रुपैयाँ), रौतहट र सर्लाहीका स्थानीय तह २५ प्रतिशत (५० लाख रुपैयाँ) र कृषि विकास बैंक २ प्रतिशत (४ लाख रुपैयाँ) शेयर रहनेछ ।


    साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक\जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ । कम्पनीको सञ्चालक समिति सात सदस्यीय रहनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (सिँचाइतर्फ), नेपाल सरकारको प्रतिनिधिका रुपमा सिँचाइ विभागका महानिर्देशक, अर्थ तथा कृषि मन्त्रालयकातर्फबाट सहसचिव स्तरको कर्मचारी,प्रदेश सरकार, रौतहट र सर्लाहीका स्थानीय तह,किसान प्रयोगकर्ता\उपभोक्ता समितिकातर्फबाट एक÷एक जना प्रतिनिधि रहनेछन् । प्रमुख कार्यकारी अधिकृत\प्रबन्ध—सञ्चालकले कम्पनीको सदस्य—सचिवको रुपमा काम गर्ने व्यवस्था गरिएको छ ।

  • पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

    पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

    जलेश्वर (महोत्तरी), २४ मङ्सिर : पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो ।

    प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताउनुभयो । सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए । उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ ।

    सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताए । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए ।

  • चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    बेइजिङ, २४ मङ्सिर (रासस–एएफपी) । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

    सिएचएच चाइना हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो, जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ । ह्वारोङ राष्ट्रपति सी जिनपिङको वर्षौं लामो भ्रष्टाचारको दमनको एक प्रमुख लक्ष्य भएको छ र यसका पूर्व अध्यक्ष सियाओमिनलाई सन् २०२१ जनवरीमा २५ करोड ३० लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

    अन्य धेरै हुआरोङ अधिकारीहरू पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका छन्। चीनमा भ्रष्टाचारका लागि मृत्युदण्डको सजाय प्रायः दुई वर्षको छुटका साथ जारी गरिन्छ र त्यसपछि आजीवन कारावासमा परिवर्तन गरिन्छ। उत्तरी शहर तियानजिनको अदालतले सन् २०२४ मेमा पहिलो पटक सुनाएको बाईको सजाय निलम्बन गरिएको थिएन। उनले आफ्नो सजायबिरूद्ध अपील गर्नुभएको थियो तर मूल फैसलालाई फेब्रुअरीमा सदर गरिएको थियो ।

    चीनको सर्वोच्च अदालत सुप्रिम पिपुल्स कोर्टले समीक्षापछि निर्णयको पुष्टि गर्दै बाईको अपराध ‘अत्यन्त गम्भीर’ भएको बताएको छ । “बाइले असाधारण रूपमा ठूलो रकम घूस स्वीकार गरेकाले उनको अपराधको अवस्था असाधारण थियो । यसको सामाजिक प्रभाव विशेष थियो र राज्य र जनताको हितले असाधारण रूपमा ठूलो क्षति बेहोरेको थियो,” सीसीटीभीले एसपिसीलाई उद्धृत गर्दै लेखेको छ।

    मङ्गलबार बिहान तियानजिनमा नजिकका आफन्तहरूसँग भेटेपछि उनलाई मृत्युदण्ड दिइएको थियो तर उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलाएको छैन।
    चीनले मृत्युदण्डको तथ्याङ्कलाई राज्यको गोप्य रूपमा वर्गीकृत गरेको छ, यद्यपि एम्नेस्टी र अन्य अधिकारवादी समूहहरूले देशमा हरेक वर्ष हजारौँ मानिसहरूलाई मृत्युदण्ड दिने गरेको विश्वास गर्छन्।

    बाई चीनको वित्त उद्योगमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि चलिरहेको कारबाहीमा सजाय भोग्ने पछिल्लो उच्च पदका व्यक्ति हुन् । चीनको शीर्ष सेक्युरिटिज रेगुलेटरका पूर्व प्रमुख यी हुइमानलाई गत सेप्टेम्बरमा भ्रष्टाचारको आरोपमा छानबिनको दायरामा राखिएको थियो । गत मार्चमा सरकारी स्वामित्वको बैङ्किङ कम्पनी एभरब्राइट ग्रुपका पूर्व प्रमुख ली सियाओपेङलाई छ करोड युआनको घुस लिएको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

    बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष लिउ लियान्गेलाई सन् २०२४ नोभेम्बरमा दुई वर्षको छुटसहित मृत्युदण्डको सजाय सुनाइएको थियो। भ्रष्टाचार विरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिएको अभियानका समर्थकहरूले बताएका छन् तर आलोचकहरूले यसले सीलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सफाया गर्ने शक्ति प्रदान गरेको मात्र देख्छन् ।

  • विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

    विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

    संयुक्त राष्ट्र , २४ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय ९ओचा० ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पु¥याइनेछ । ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान बचाउन २३ अर्ब डलर जुटाउनुपर्ने बताएको छ ।

    संयुक्त राष्ट्र र उसका साझेदारहरूले सन् २०२६ का लागि मानवीय अपिल सार्वजनिक गर्दै युद्ध, जलवायु विपद्, भूकम्प, महामारी र बाली नष्ट हुने घटनाले सबैभन्दा बढी असर पारेका क्षेत्रमा सहयोग केन्द्रित गरिने जानकारी दिएका छन् । मानवीय मामिलाका अवर–महासचिव तथा आकस्मिक राहत संयोजक टम फेलेचरका अनुसार यसले ‘ज्यान बचाउने कामलाई पहिलो प्राथमिकतामा राखेको’ छ । उनले भने, “२०२६ को प्रतिवेदन सुधार, प्रमाण र कार्यक्षमतामा आधारित छ, र संयुक्त राष्ट्रले स्थानीय संस्थालाई थप अधिकार दिँदै आवश्यक व्यक्तिलाई सहयोग सीधै पु¥याउने दिशामा अघि बढिरहेको छ ।”

    ‘विश्व मानवीय अवलोकन २०२६’ नामक प्रतिवेदनले विश्वभरका मानवीय आवश्यकता, तिनका कारण तथा सहयोगका लागि कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत विवरण प्रस्तुत गर्दछ । संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले यो वर्ष देखा परेको गम्भीर वित्तीय सङ्कटले धेरै मानवीय कार्यक्रममा कठिनाइ उत्पन्न गरेको बताए ।

  • ‘पानी बोकेरै गयो जवानी’

    ‘पानी बोकेरै गयो जवानी’

    राष्ट्रिय समाचार समिति
    देवारतोली (कालिकोट), २३ मङ्सिर । देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ ।

    भीरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ । तिलगुफा नगरपालिका–२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो । चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे ।

    उनले त्यो दिनको त्रासदी सम्झिदै भने, “चालमको बोरा लिएर साँझमा घर आउँदै थिए । आधाआधि भीरमा पुगेपछि चिप्लिए छु । झण्डै तिलानदीमा पुगेको । धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन् । टाउँकामा चोट लागेछ । नेपालगञ्जमा गएर उपचार गर्दा रु सात लाख सकियो ।”

    भीरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिनजाँदा कति गाग्रा गाग्री गुल्टे देवारतोलीवासी सम्झन चाहँदैनन् । पछिल्लो समय गाउँलेले भीरको नाम नै ‘चन्दे्रभिर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जङ्गलमा घाँस दाउरा लिन आउँदछन् ।

    भीर सकिने बित्तिकै केही समथरको जङ्गलमा सल्ला प्रजाति रहेको छ । जङ्गल सकिएपछि गाउँ आउन पुनःउकालो लाग्नुपर्छ । यही उकालोकै बीचमा सीमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी सङ्कलन गर्न ट्याङ्की बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्याङ्कीबाट पानी भर्न घण्टौँ लाग्दथ्यो । यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतित हुन्थ्यो । यहाँका स्थानीयवासी हिउँदका समयमा मूल सुक्दा तिला नदीमा नै जान्थे ।

    देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिदै भनिन्, “पानी बोकेरै जवानी बित्यो । भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन । थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो । तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन । बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानुपर्दथ्यो । सागसब्जी लगाउन त परै जाओस् ।”

    पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरु साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आगनका डिलमुनिका बारिमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छन् । घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् ।

    दलित समुदायको करिब ४५ घरमा करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौपछि खुसीका दिन आएको हो । उनले भनिन्, “आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन । धारा नै हेरिरहुँ जस्तो भइराखेको छ । बल्ल पानीको चिन्ता हट्यो । अब त सागसब्जी खान पाइने भयो । बस्तुभाउलाई खुवाउन समस्या नहोला । आलु लगाउन पाइएला ।” उब्जिनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन् ।

    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले यहाँका गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सो कार्यक्रम सञ्जालित छ । देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँका अब खानेपानीको सङ्कट अन्त्य भएको बताउँछन् ।

    उनी भन्छन्, “गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरेका छौँ । ट्याङ्की बनाउनदेखि घरघरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग ग¥यो । यसमा हामी खुसी छौँ ।” उहाँका अनुसार गाउँका धारमा समान रुपमा पानी वितरण गरिएको हुँदा समुदाय रमाएका छन् ।

    समितिका सदस्यसमेत रहेका चन्द्रबहादुरले भने, “भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ । यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु ।” तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्याय देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पु¥याउने आफ्नो ध्येय रहेको र यो ध्येय सफलता पाएको बताउँछन् ।


    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवर्द्धन गरिराखेको जानकारी दिइन् । ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने स्थानीय समुदायको मागअनुसार कार्यक्रमले गाउँका ४५ घरमा ‘एक घर एक धारा’ निर्माण तथा ‘चन्दे्रभीर’ मा रेलिङ बनाउन स्थानीय समुदायलाई सहयोग गरेको बताए ।


    उनले भने, “देवारतोलीमा चरम खानेपानीको सङ्कट समाधान भयो । समुदायको मागअनुसार नै चन्द्रेभीरमा रेलिङ निर्माण गरिएको छ । अब भीरमा लडेर अकालमा गाउँवासीको ज्यान जाँदैन ।” सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

    दलित टोल बदमबाडा खानेपानी उपभोक्ता समितिका सदस्य एवं कालिका माविका शिक्षक धीरेन्द्र पाण्डेले भने, “खानेपानीको चरम सङ्कट भएर गाउँबाट बसाइसाराइ बढ्दै थियो । यस्तो अवस्थामा नगरपालिकाले रेडक्रससँगको सहकार्यमा ‘एक घर एक धारा’ को सुविधा पु¥याएको छ । महिलाको समय बचत भएको छ । बालबालिकाल पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ ।”

  • पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    म्याग्दी, २३ मङ्सिरः म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।

    दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यस पदमार्गलाई सडकले असर नगरेको पदयात्री बताउँछन् । उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताए । “ग्रामीण जीवनशैली, शान्त र एकान्त वातावरण यो पदमार्गको आकर्षण हो”, उनले भने, “सडकलाई छलेर विशुद्ध पदयात्रा गर्न र प्रकृतिसँग रमाउन पाइने भएकाले पर्यटकको रोजाइमा परेको छ ।”

    गाउँगाउँमा सडक विस्तारसँगै पुराना पदमार्ग विलय भएको घिमिरेले बताए । पर्यटकीय राजधानी पोखराबाट नजिक भएकाले पनि नयाँ वैकल्पिक पदमार्गमा पर्यटक आकर्षित भएका उनको भनाइ छ । गत महिना घिमिरेले बेलायतका पाँच जना पर्यटकलाई यो पदमार्गको भ्रमण गराएका थिए । पर्यटन व्यवसायीले पदमार्गलाई धौलागिरि अन्नपूर्ण नामकरण गरेका छन् ।

    पदमार्गमा पर्ने स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार हाल दैनिक १०० जना पर्यटक यो नयाँ वैकल्पिक पदमार्गको भ्रमणमा आउने गरेका छन् । “पर्यटक आउन थालेपछि बजारबाट गाउँ फर्किएर होटल व्यवसाय सुरु गरेको छु”, उनले भने, “अन्य ठाउँमा होटल र रेष्टुरेन्ट थपिनेक्रम बढेको छ ।”

    समुन्द्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको स्वाँतलाई पदयात्रीले थकान मेटाउन विश्राम गर्ने थलोका रुपमा विकास भएको छ । समुन्द्री सतहबाट तीन हजार ६०० मिटर उचाइको खोप्रा लेक यस पदमार्गको मुख्य आकर्षण हो । क्याम्पिङ र होटलमा बास बस्ने गरेर पदयात्रा गर्न सकिने विकल्प रहेको बयलीका होटल व्यवसायी लोकबहादुर पुर्जाले बताए । वनजङ्गल, भिर र खोल्सा भएकाले गाइडसहित यात्रामा आउन उनले सुझाव दिए । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले पदमार्गका सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति, निर्माण र नयाँ गन्तव्य पहिचानसँगै प्रवद्र्धनमा जोड दिएको बताए ।

  • साउदी अरब-कतारबीच उच्च गतिको रेलमार्ग निर्माणका लागि सम्झौता

    साउदी अरब-कतारबीच उच्च गतिको रेलमार्ग निर्माणका लागि सम्झौता

    रियाद, साउदी अरब, २३ मङ्सिर (रासस–एएफपी) । साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानीहरू जोड्ने उच्च गतिको रेल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यो दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधारको पछिल्लो सङ्केत हो। साउदी अरबको राज्य नियन्त्रित सञ्चारमाध्यमले सरकारद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै लेखेकोे छ, “उच्च गतिको विद्युतीय यात्री रेलमार्गले रियाद र दोहालाई जोड्नेछ ।” साउदी अरबका अल–होफुफ र दमाम पनि यो सञ्जालमा आउने अपेक्षा गरिएको छ ।

    निर्माणसँगै उक्त रेलमार्गमा प्रतिघण्टा ३०० किलोमिटरभन्दा बढी गतिमा उच्च गतिका विद्युतीय रेल गुड्ने र यसले दुई राजधानीबीच यात्रा लगभग दुई घण्टाको बनाउने अधिकारीहरूले बताएका छन् । अहिले खाडी राष्ट्रका उक्त प्रमुख दुई शहरहरू बीचको सीधा उडान लगभग ९० मिनेटमा हुने गरेको छ। छ वर्षमा पूरा हुने यस परियोजनाले प्रति वर्ष एक करोड यात्रुहरूलाई सेवा दिने अपेक्षा गरेको छ।

    साउदी राजकुमार मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हालैका वर्षहरूमा खाडी राज्यहरूबीचको सम्बन्धमा नाटकीय सुधारलाई चिह्नित गर्ने कदमहरूको श्रृङ्खलामा यो सम्झौता सबैभन्दा महत्त्वपूर्ण र पछिल्लो हो ।

    सन् २०१७ को जुनमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको कुटनीतिक र यातायात सम्बन्ध तोडेका थिए । सन् २०२१ जनवरीमा साउदी सहर अलउलामा भएको शिखर सम्मेलनपछि सम्बन्ध पूर्ण रूपमा पुनस्र्थापित भएको थियो। चार राष्ट्रहरूले दोहालाई मुस्लिम ब्रदरहुडसहित कट्टरपन्थी इस्लामवादीहरूलाई समर्थन गरेको र साउदी अरबको कट्टर प्रतिद्वन्द्वी तेहरानसँग घनिष्ठ सम्बन्ध राख्न खोजेको आरोप लगाउँदै कुटनीतिक तथा भौगोलिकरूपमा सम्बन्ध तोडी एक्लाउने घोषणा गरेका थिए ।

    राजकुमार मोहम्मदले क्षेत्रीय खाडी भ्रमणको एक भागको रूपमा सम्बन्धलाई पुनः स्थापित गर्ने घोषणापछि पहिलो पटक सन् २०२१ डिसेम्बरमा दोहाको भ्रमण गरेका थिए । त्यसबेलादेखि, दुई राज्यका नेताहरूले नियमित रूपमा भेट गर्दै आएका छन् र गाजामा युद्धविरामको आह्वानसहित कूटनीतिक पहललाई समर्थन गर्न सेनामा सामेल भएका छन्। गर्मीयाममा दोहामा इजरायलले आक्रमण गरेपछि रियादले पनि कतारलाई समर्थन गरेको छ।

  • अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    भोजपुर, २३ मङ्सिर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ ।

    “हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ”, प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।” यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए । आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको उनको भनाइ छ । अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए ।


    “राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन”, उनले भने, “सबै क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउनको लागि आवश्यक कदम अघि बढाएका छौँ ।” जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ । पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानुनी प्रावधन रहेपनिछ यो उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ ।

    हाल यो क्रसर यो उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा रहेको छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ । क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ ।