Category: अर्थतन्त्र

  • टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    तुलसीपुर (दाङ), २३ मङ्सिरः नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार हाल टरिगाउँबाट हप्तामा चार दिन उडान भइरहेको छ ।

    आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उहाँले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक चार–पाँच जनाभन्दा बढी यात्रु नहुने गरेको उनले बताए । कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गरे । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

    विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो ।

  • नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

    नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

    चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

    देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु ४०० मा झरेको थियो ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।


    उनले भने, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाई छ । सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उनले बताए ।


    अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए । पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउँछन् ।


    उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।

  • गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

    गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

    काठमाडौँ, २२ मङ्सिरः पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।

    आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १२, जीवन बिमा शून्य दशमलव ५०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, निर्जीवन बिमा शून्य दशमलव शून्य पाँच र व्यापार समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

    अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ११, वित्त शून्य दशमलव ५७, होटल तथा पर्यटन शून्य दशमलव २३, लगानी शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव २९, म्युचुअल फण्ड शून्य दशमलव शून्य चार र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

    अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १६ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५५ करोड ८६ लाख ६७ हजार ८७४ बराबरको १३ लाख ४८ हजार ८६१ कित्ता शेयर किनबेच भएको छ ।

  • सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

    सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

    काठमाडौँ, २२ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी ‘प्रदर्शन’ का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्व पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

    यस्तै, आर्थिक वर्ष २०८२–८३ का लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु ६२० तोकिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान कायम गरेको छ । यस्तै, विभिन्न दश जिल्लाका गरिब परिवारको सूचीसमेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताए ।

    तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरीलगायत गरी २७ गरिब परिवारको सूची स्वीकृत गरिएको हो ।
    यस्तै, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोश्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

  • प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    काठमाडौँ, २२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएकी छिन् । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिइन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । “म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुप(यो । अलपत्र पार्न भएन”, उनले भनिन् । उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाईका साथ लागू गर्नसमेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराइन् ।


    “वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुप(यो । तालिम लिनुप(यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुप¥यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन”, उनले भनिन्, “दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् । यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ ।”

    कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

  • प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

    प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

    नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनस्थापित गरिदिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै सर्वोच्च अदालतले उनलाई पदमा पुनर्बहाली गरेको हो । यससँगै कुलमानलाई भने धक्का लागेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई हटाउने सरकारको निर्णय बदर गर्दै पुनः प्राधिकरणकै कार्यकारी निर्देशकमा पुनःस्थापित गरिदिएको हो ।

    त्यति मात्र नभई अदालतले विभागीग मन्त्रीले शाक्यलाई हटाउन प्रतिशोधपूर्ण तरिकाले प्रस्ताव लगेको पनि आदेशमा उल्लेख छ । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न नमिल्ने पनि आदेशमा उल्लेख छ । मिसिलको मुहारबाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानुन र न्यायको रोहमा कायम रहन सक्ने नदेखिएको पनि आदेशमा उल्लेख छ ।


    ुनेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रक्रिया र आधारमा हटाउन सकिनेमा सोबमोजिमको कुनै पनि प्रकृया अबलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आयो । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन । मिसिलको मुहारबाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानुन र न्यायको रोहमा कायम रहन सक्ने देखिएन,’ आदेशमा भनिएको छ ।


    गत असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव मन्त्री कुलमानले नै मन्त्रिपरिषद्‍मा लगेका थिए । ऊर्जामन्त्रीका रूपमा कुलमानले शपथ लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    हेमन्त जोशी\रासस
    काठमाडौँ, २२ मङ्सिर । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन ।

    राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो भन्ने जवाफ भेटिँदैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानमा शेयरतर्फ रू २६ अर्ब ३४ करोड २१ लाख र ऋणतर्फ रू २० अर्ब ५३ करोड १८ लाख गरी कुल रू ४६ अर्ब ८७ करोड ३९ लाख सरकारी बराबर लगानीको हिसाब मिल्न सकेको छैन । सरकारले धेरै लगानी गरेको भन्छ, तर संस्थानहरुले कम भन्छन् । दशकौं अघिदेखिको हिसाबी गडबडीबारे जिम्मेवार को हो ? भन्ने प्रश्न पनि अनुत्तरित छ ।

    जलविद्युत् आयोजना, विमानस्थल निर्माण, दूरसञ्चार र खानेपानी जस्ता पूर्वाधार परियोजना सञ्चालन गर्ने भन्दै सार्वजनिक संस्थानमा सरकारले ऋण तथा शेयर लगानी गर्दै आएको छ । तर सार्वजनिक संस्थानमा आन्तरिक नियन्त्रण प्रणालीको अभाव र लेखाजोखासम्बन्धी एकीकृत मापदण्डसमेत नहुँदा नेपाल सरकारले गरेको शेयर तथा ऋण लगानीको यथार्थ आकलन हुन नसकेको हो ।

    यही समस्यालाई सम्बोधन गर्न ‘शेयर तथा ऋण लगानी नीति, २०८१’ जारी गरिएको भएपनि यो नीति कार्यान्वयन हुनुभन्दा अगावैको हिसाब मिलानमा समस्या छ । स्पष्ट कानूनी तथा नीतिगत मार्गदर्शन र ऋण भुक्तानी अवधि, ब्याजदर एवम् सेवा शूल्क निर्धारणको ठोस आधारबिनै सरकारले गरेका पटके निर्णयबाट करिब रू ४७ अर्ब बराबरको लगानीको हरहिसाब नमिलेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम, खानेपानी संस्थानजस्ता निकायको हिसाबी गडबडीको आँकडा उच्च छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ग्रामीण विद्युतीकरण कार्यक्रममा हालसम्म कति लगानी भएको हो ? भन्ने स्पष्ट तथ्याङ्क हालसम्म भेटिन सकेको छैन । विद्युत् प्राधिकरणमा नेपाल सरकारले गरेको वैदेशिक अनुदानअन्तर्गत प्राप्त सहायतालाई शेयर लगानीका रुपमा कायम गर्न २०६८ पुस १२ गते मन्त्रिपरिषदबाट निर्णय भएको देखिन्छ ।

    त्यस्तै, ग्रामीण विद्युतीकरणका लागि दिइने रकमलाई ऋणको साटो शेयर लगानी मान्ने गरी २०७४ साल जेठ ९ गते मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । तर ग्रामीण विद्युतीकरणअन्तर्गत साविक कुन कार्याक्रममा कति लगानी भएको हो र कुन कार्यक्रमको स्रोत वैदेशिक अनुदान हो भन्ने यकिन अभिलेख भेटिँदैन । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना हुँदा साविकको हवाई विभागको सम्पत्ति मूल्याङ्कन कति हो भन्नेबारे प्राधिकरण र कार्यालयका विवरणमा एकरुपता छैन ।

    सरकारी लगानीको हिसाब नमिलेको विषयमा राससले जिज्ञासा राख्दा नेपाल विद्युत् प्राधिकरणले केही प्रक्रियागत त्रुटी भएको र आवधिक रुपमा हिसाब मिलान भइरहेको प्रतिक्रिया दिएको छ । “पछिल्लो समय विद्युत् प्राधिकरणको पुनर्संरचना भएको छ । तर सरकारले त्यसको फरक–फरक हिसाब राखिसकेको छैन । कतिपय निर्णयहरु हामीले तत्काल कार्यान्वयन गर्छौँ तर सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले त्यसमा ढिलाइ गरेका कारण समस्या भएको हुनसक्छ”, प्राधिकरणले भनेको छ, “आवधिक रुपमा हिसाब मिलानको काम भइरहेको छ । कतिपय निर्णय मन्त्रिपरिषद्बाट गर्नुपर्ने छन् ।”

    ऋण लगानीको ब्याजदरमा फरक पर्दा र भुक्तानी तालिकामा परिमार्जन हुँदा पनि समस्या देखिएको ऋण व्यवस्थापन कार्यालयको भनाइ छ । सरकारले विकास साझेदारसँग ऋण लिने र त्यही ऋण पुनःसंस्थानमा प्रवाह गर्दा सहायक ऋण सम्झौता गर्ने चलन देखिन्छ । यस्तो अवस्थामा सरकारले विकास साझेदारसँग तोकिएको समयमै ऋणको साँवा ब्याज भुक्तानी गर्दा सरकारसँग सहायक ऋण सम्झौता गरेका संस्थानहरुले भने तोकिएको समयमा साँवा ब्याज तिर्दैनन् । उल्टै आयोजना निर्माणमा ढिलाइ भएको भन्दै ऋण तालिका परिमार्जनको माग गर्ने गरेको देखिन्छ ।

    सरकार र संस्थानबीच ऋण सम्झौता हुँदा तोकिएको समयअनुसार काम सम्पन्न नभएपछि ऋण तिर्ने समय तालिका परिमार्जन हुनुपर्ने भन्दै विभिन्न निकायहरुले पत्र पठाउने गरेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । “एकातर्फ नेपाल सरकारले वैदेशिक ऋण सहायता स्रोत रहेको रकम ऋण लगानी गरेको मूल सम्झौता बमोजिम अन्तरराष्ट्रिय विकास साझेदारलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी तालिकाअनुसार अनिवार्य तिर्नुपर्ने र तिर्ने गरेको छ । अर्कोतर्फ भुक्तानी तालिका परिमार्जनको कार्यविधिगत अस्पष्टता रहेको अवस्थामा भुक्तानी तालिका परिमार्जन गर्न जटिलता भएको छ”, नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन–आर्थिक वर्ष २०८१–८२’ मा भनिएको छ ।

    प्रतिवेदनअनुसार विकास साझेदारले संस्थानहरुलाई सोझै भुक्तानी गरेका ऋण लगानीको विवरणमा अस्पष्टता छ । सार्वजनिक संस्थानमा भएको सरकारी ऋण लगानी नउठेको अवस्थामा के गर्ने भन्ने कानूनी स्पष्टतासमेत देखिँदैन । सरकारद्वारा विभिन्न संस्थामा ऋण लगानी गर्नुअघि गरिने तमसुकमा भने जायजेथा बेचेर भएपनि असुल गरिने उल्लेख भएको देखिन्छ । तर त्यतिको भरमा मात्रै सम्पत्ति र जायजेथा बेचेर ऋण असुली गर्नसक्ने अवस्था नरहेको कार्यालयको तर्क छ ।

    सरकार जमानत बसेको दायित्वको हिसाबमा स्पष्टता छैन । नेपाल सरकारले सार्वजनिक संस्थानलाई दिएको जमानत तथा बैंक–वित्तीय संस्थाबाट ऋण लिएको स्वीकृतिको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग छैन । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई अल्पकालीन ऋण लिनका लागि सरकारले दिएको स्वीकृतिको जानकारीसमेत कार्यालयलाई गराइएको छैन । महालेखा नियन्त्रक कार्यालयबाट २०७६ सालमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई हस्तान्तरण भएको शेयर तथा ऋण लगानीको अभिलेख नमिलेको बारे अध्ययन गर्न सम्बन्धित संस्थान, विषयगत मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधि रहनेगरी कार्यदल गठनको माग कार्यालयले गर्दै आएको छ ।

    ऋण लिने निकाय र खर्च गर्ने निकाय फरक हुँदा हिसाबमा नमिलेको ऋण व्यवस्थापन कार्यालयको बुझाइ छ । उदाहरणका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयबीच ऋण तथा लगानीको हिसाब कसले राखेको भन्ने स्पष्टता छैन । सरकारले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सहायक ऋण सम्झौता गरी रकम निकासा गरेको देखिन्छ । तर बोर्डले उक्त रकम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सोअन्तर्गतका आयोजना कार्यान्वयन निर्देशनालयलाई दिने गरेको देखिन्छ । “ऋण लिनेले पाइप विस्तारको काम गर्दैन, पाइप विस्तार गर्नेले पानी वितरण गर्दैन, पानी विवरण गरी आयआर्जन गर्नेले ऋण तिर्ने दायित्व वा जिम्मेवारी राख्दैन”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ ।

    अनुदानको रकमलाई ऋणको रुपमा गणना गर्दा हिसाब फरक देखिएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बराल बताउँछन् । “विभिन्न आयोजनाका लागि ५० देखि ८० प्रतिशतसम्म अनुदान र बाँकी रकम ऋणका रुपमा आएको भए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यसको हिसाब राख्दा अनुदान र ऋण रकम कति भन्ने नछु्टयाएकाले समस्या देखिएको हो”, बरालले भने, “विगतमा महालेखापरीक्षकको कार्यालयले यो विषय उठाएको रहेछ । अहिले हामीले यसबारे स्पष्ट पारेर कार्यालयलाई जानकारी गराइसकेका छौँ ।”

    ऋण व्यवस्थापन कार्यालयले संस्थानहरुलाई लगानीको हिसाब मिलाउन पटक–पटक भन्ने गरेको सूचना अधिकारी मोहनसिंह बस्नेत बताउँछन् । “कुन संस्थानमा सरकारको कति लगानी भएको छ भनेर हेर्ने पहिलो जिम्मेवारी सम्बन्धित विषयगत मन्त्रालय र संस्थान आफैँको हो । हामीले हिसाब मिलानका लागि निरन्तर ताकेता गर्ने गरेका छौँ”, बस्नेतले रासससँग भने, “जबसम्म हिसाब मिल्दैन, तबसम्म सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग भएको विवरण नै आधिकारिक हो ।” कार्यालयले यही मङ्सिर ८ गते खानेपानी संस्थान र मङ्सिर ९ गते नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेर मङ्सिर मसान्तभित्र हिसाब मिलाउन भनेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन–आर्थिक वर्ष २०८१–८२’ अनुसार यस अवधिसम्ममा नेपाल सरकारले विभिन्न १५९ वटा सार्वजनिक संस्थान तथा निकायहरुमा सेयर तथा ऋणका रुपमा रू नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । जसमध्ये सेयर लगानी ११६ संस्थानमा रू चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ । गत आर्थिक वर्षसम्मको सरकारको कुल ऋण लगानी रू पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रहेको छ । जसमध्ये आन्तरिक स्रोतबाट रू एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट रू तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रहेको कार्यालयले जनाएको छ ।

    विभिन्न संस्थान र निकायहरुमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायहरुले समयमा सरकारलाई साँवा ब्याज भुक्तानी नगर्दा त्यसको दायित्वसमेत क्रमशः बढ्दै गएको देखिन्छ । “आर्थिक वर्ष २०८१र८२ सम्ममा भाका नाघेको साँवा रू दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार १२६ र भाका नाघेको ब्याज रू एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ गरी कूल भाका नाघेको रकम रू चार खर्ब ८ करोड २० लाख ९९ हजार २९५ रहेको छ”, प्रतिवेदनमा उल्लेख छ ।

    सार्वजनिक संस्थानको वित्तीय उत्तरदायित्व, अनुशासन, संस्थागन सुशासन र समग्र कार्यसम्पादनको सुनिश्चितता गर्ने र पारदर्शिता कायम गर्ने प्रमुख औजार लेखापरीक्षण हो । कानुनले तोकेको प्रक्रिया र समयभित्र लेखापरीक्षण सम्पन्न गर्नु संस्थानको अनिवार्य दायित्व भए पनि उनीहरुले नियमित लेखापरीक्षण गरेको देखिँदैन ।

    अघिल्लो आर्थिक वर्ष २०८०–८१ सम्ममा २१ वटा संस्थानले मात्र नियमित रुपमा अन्तिम लेखापरीक्षण गरेका छन् । उदयपुर सिमेन्ट, सार्वजनिक सेवा प्रशारण नेपाल र गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७८–७९ सम्मको मात्रै लेखापरीक्षण गराएको देखिन्छ । त्यस्तै, जनकपुर चुरोट कारखाना र राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६–७७, विशालबजार कम्पनी लिमिटेडले आव २०७५–७६, राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडले आव २०७३–७४ र नेपाल ओरियन्ट म्याग्नेसाइट प्राईभेट लिमिटेडले आव २०६४–६५ यताको लेखापरीक्षण गराएका छैनन् ।

    “तमसुक, निर्णय तथा सम्झौता प्राप्त हुन नसकेका कतिपय ऋण तथा ब्याजको बक्यौता रकमहरु गणना गर्न सकिएको छैन । जसका कारण यस्तो लगानीको साँवा मात्र समावेश गरिएको छ भने बक्यौता राजस्व आर्थिक विवरणमा उल्लेख गरिएको छैन”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

    वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

    काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    साधारण शेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो शेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले जारी पूँजी रु एक अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशत रु १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । साधारण शेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।

  • नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौँ, २२ मङ्सिर । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।

    ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ ।

    सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ । सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।

    सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ । मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ ।

    साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ । रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।

  • नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    नेपालगञ्ज, २२ मङ्सिर ः निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे ।

    अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए । “राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन”, उनले भने ।

    नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

  • सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    नेपालगन्ज, २१ मङसिर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम गरिरहेको बताउनुभएको छ । आज यहाँ भन्सार कार्यालयको भन्सार मूल्याङ्कन ‘डाटावेस’ प्रणालीको शुभारम्भ गर्दै उहाँले निर्वाचन, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सरकारका कार्यभार रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे । मन्त्री खनालले भन्सार कार्यालयमा सुरु भएको ‘डाटावेस’ प्रणालीले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनमा सघाउ पुग्ने भन्दै यसबाट अनावश्यक लेनदेनको सम्भावना पनि नहुने बताए ।

    उनले भने, “हामीले सरकारको कार्यभारअनुसार काम अगाडि बढाएका छौँ । राजश्व प्रणाली सुधारका लागि पनि प्राथमिकताका साथ काम गरिरहेका छौँ । मन्त्रालयले आन्तरिक राजश्व प्रशासन र भन्सार कार्यालयमा धेरै समय थाती राखिएका समस्या सम्बोधन गर्दै सुधारका काम गरिरहेको छ ।”

    मुलुकका सबै स्थानीय तहमा करदाताका लागि पर्याप्त सुविधा दिइएकाले राजश्वका आधार पनि बलियो हुने उल्लेख गर्दै उहाँले अनुचित लाभका विषयले पनि प्राथमिकता नपाउने बताए । “मन्त्रालयका तर्फबाट दीर्घकालका लागि फाइदा हुने धेरै काम भएका छन् । स्थानीय तहमा करदाता लक्षित काम पनि हुँदैछन् । यसले राजश्व र गलत प्रवृत्ति सुधारमा योगदान पुग्नेछ”, मन्त्री खनालले भने, “कतिपय अवस्थामा शंका भएर काम नहुन सक्छ, कतिपय अवस्थामा आचरण खराब भएर पनि काम नहुन सक्छ, त्यस्तो अवस्थामा दोषीमाथि कारवाही हुन्छ ।”

    कार्यक्रममा राजश्व सचिव भूपाल बरालले भन्सार प्रणालीमा सुधारका लागि व्यवसायीको मागबमोजिम ‘डाटा’ प्रणाली लागू गरिएको बताए । “जोखिम सबै प्रणालीमा हुन्छ र यसमा पनि जोखिम छ, तर यो प्रणाली वैज्ञानिक र पारदर्शी छ । यसबाट पक्कै पनि लाभ प्राप्त हुनेछ”, उनले भने, “सुशासन कायम गर्ने दायित्व नीजि क्षेत्र र सरकार दुवैको हो । वैध व्यापारलाई प्रोत्साहन गर्नु सबैको दायित्व हो । यसमा प्रविधिको प्रयोग र सहकार्यको नीति अवलम्ब गरौँ ।”

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार चुहावट रोक्न स्थानीय प्रशासनसँग सहकार्य अगाडि बढाइएको भन्दै आज शुभारम्भ भएको ‘डाटावेस’ प्रणाली अन्तरराष्ट्रिय अभ्यासपछि नेपालमा पनि लागू गरिएको बताए । “यस प्रणालीले भन्सार महसूल छलीलाई नियन्त्रण गरी राजश्व वृद्धि गर्न, मूल्याङकन जोखिम सहजै पत्ता लगाई राजश्व चुहावट रोक्न मद्दत गर्नेछ”, उनले भने, “साथै कम वा बढी मूल्य पत्ता लगाई सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई टेवा पु¥याउन, भन्सार मूल्याङ्कनमा निष्पक्ष, पारदर्शिता र एकरुपता निर्धारणलगायत काम गर्न यो प्रणाली आवश्यक भएको हो ।” यस प्रणालीमा वस्तुको कारोबार मूल्य, ढुवानी, बिमा र अन्य लागत विवरणको विस्तृत सूचना सङ्ग्रहसमेत हुने जनाइएको छ ।

  • हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    बागमती, २१ मङ्सिरः सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको आदेशबारे पत्र आज कार्यालयमा प्राप्त भएकाले सडक विस्तार कार्य रोकिएको प्रमुख अधिकारीले बताए ।


    पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।

    तोकिएको समय सीमाभित्र घरधनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चौक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचनाहरु डोजर प्रयोग गरी भत्काएका थिए । यही मङ्सिर १९ गते सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडामा नाममा आदेश दिएको थियो ।

  • पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

    पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

    २१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

    उनीहरूविरुद्ध जनही ८ अर्व २६ करोड ७३ लाख ५५ हजार ९ सय ९७ रुपैया ५० पैसा बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर भन्दा अस्वभाविक रुपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर बढाई, संशोधन गरि गराई २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर लागत अनुमान कायम गरि अस्वभाविक मूल्य तिरेर खरिद कार्यको सम्झौता गरि अनियमितता गरेको अख्तियारको आरोप दावी रहेको सूचना अधिकारी रेग्मीले बताए ।

    मुद्दा दायर गरिएको मध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ । यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।

  • अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, २१ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

    विमानस्थल निर्माणका क्रममा रु आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजारभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगाय ५५ जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

  • साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

    साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

    काभ्रेपलाञ्चोक, २१ मङ्सिरः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ ।

  • श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

    श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

    कोलम्बो, २१ मङ्सिर (रासस–एएफपी) । विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न एक बृहत् क्षतिपूर्ति प्याकेज सार्वजनिक गरेको छ । चक्रवातपछि श्रीलङ्कामा भइरहेको बर्षाका कारण आइतबार पनि थप बाढी र पहिरो आउन सक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन लागि आग्रह पनि गरिएको छ। सरकारले पछिल्लो प्राकृतिक विपत्मा परी कम्तीमा ६११ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य २१३ जना बेपत्ता रहेको जनाएको छ। उनीहरूलाई जीवित उद्धार गर्न सकिनेमा आशङ्का गरिएको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले यसलाई देशको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपत्तिको संज्ञा दिएका छन् ।


    विपद् व्यवस्थापन केन्द्रले सबैभन्दा बढी प्रभावित मध्य प्रान्तका विभिन्न क्षेत्रहरूमा थप बाढी र पहिरोको चेतावनी जारी गरेको छ । उत्तरपूर्वी मनसुन श्रीलङ्कामा सक्रिय हुँदै थप वर्षा गराइरहेको छ। यस शताब्दीकै सबैभन्दा खराब भनिएको हिउँदे बर्षाका कारण गत हप्ताको बाढी र पहिरोबाट २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । प्रभावित जनसङ्ख्या यहाँको जनसङ्ख्याको लगभग १० प्रतिशत हो । बाढीबाट प्रभावित भई घरबार गुमाएकालाई बाँचेकाहरूलाई सुरक्षित स्थानमा जग्गा किन्न र नयाँ घर बनाउन १० लाख रुपैयाँ ९३३ हजार डलर सम्म० आर्थिक सहयोग प्रदान गर्ने घोषणा अर्थ मन्त्रालयले शुक्रबार राति जारी एक विज्ञप्तिमा उल्लेख छ।

    विपत्मा बढी प्रभावित भएका नागरिकका लागि सरकारले जीविकोपार्जनका लागि सहयोग, बालबालिका लागि विद्यालयको किताब, भान्साका सामान, ओछ्यान र भाडा तिर्नका लागि नगद समेतको सहयोगको घोषणा गरेको छ। सरकारले यो महत्त्वाकाङ्क्षी प्याकेजमा कति खर्च लाग्नेछ भन्ने तत्काल बताएको छैन । देशको हालैको आर्थिक क्षतिलाई ध्यानमा राख्दा यो एक चिन्ताको विषय हो। एकजना वरिष्ठ अधिकारीले पहिले पुनःलाभ र पुनर्निर्माणमा सात अर्ब अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने बताए । केन्द्रीय बैङ्कले सरकारी तथा निजी दुवै वाणिज्य बैङ्कहरूलाई प्रभावित व्यक्तिहरूको ऋण पुनःतालिकाबद्ध गर्न र ऋण तिर्न नसक्नेहरूमाथि जरिवाना नलगाउन आदेश दिएको छ।

    सरकारले मारिएका वा स्थायी रूपमा अपाङ्ग भएका प्रत्येक व्यक्तिको लागि एक लाख रुपैयाँ क्षतिपूर्ति पनि प्रदान गरिरहेको छ। डीएमसीले गत हप्ताको विपद्मा लगभग ७५ हजार घर क्षतिग्रस्त भएको र त्यसमध्ये पाँच हजार घरमा पूर्ण रूपमा क्षति भएको बताएको छ। विपदका कारण यस पहिले दुई लाख २५ हजार विस्थापितलाई सरकारी आश्रयस्थलमा राखिएकोमा यो सङ्ख्या क्रमशः घट्दै गएको तर अझै करिब एक लाख ५० हजार मानिसहरू सरकारी आश्रयस्थलहरूमा छन् । वायु सेनाले शनिबार देशको मध्य भागमा पहिरोले पृथक भएका समुदायहरूमा सामग्री आपूर्ति गर्न हेलिकप्टर र ‘फिक्स्ड–विङ’ विमानहरू प्रयोग गरिरहेको बताएको छ।

    –आइएमएफ अनुरोध–

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले शुक्रबार श्रीलङ्काले यस महिनामा प्राप्त गर्नुपर्ने ३४ करोड ७० लाख अमेरिकी डलरको किस्ता बाहेक थप २० अर्ब अमेरिकी डलरको लागि गरेको अनुरोधमाथि विचार गरिरहेको बताएको छ। “आइएमएफ श्रीलङ्काली अधिकारीसँग निकटमा रहेर वार्ता गरिरहेको छ र देशलाई सहयोग गर्न प्रतिबद्ध छ,” वाशिङ्टनस्थित आइएमएफका अधिकारीले बताएका छन् । सन् २०२३ को सुरुमा आइएमएफसँग सहमति भएको चार वर्षे २.९ अर्ब डलरको उद्धार ऋणपछि श्रीलङ्का आफ्नो गम्भीर २०२२ को आर्थिक सङ्कटबाट बाहिर निस्कँदै गर्दा चक्रवात दितावाले देशको ठूलो क्षेत्रहरूलाई तहसनहस पारेको थियो।

    दिसानायकेले शुक्रबार संसदमा भने, “श्रीलङ्काको अर्थतन्त्रले उल्लेखनीय सुधार गरेको छ, तर पछिल्लो झट्कालाई एक्लै सामना गर्न पर्याप्तरूपमा बलियो छैन ।” सैनिक र स्वयंसेवकहरूले बाढीग्रस्त समुदायहरूमा सहयोग गरेपनि नयाँ वर्षाले सरसफाइ कार्यमा बाधा पु¥याएको छ । सरकारले पहिरोले घरमा असर नगरेको भएपनि बाढी पहिरोको सम्भावित मध्य पहाडी क्षेत्रबाट हटाइएका बासिन्दाहरूलाई तुरुन्तै नफर्कन अनुरोध गरेको छ।

  • कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    मुस्ताङ, २१ मङ्सिरः उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।

    आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । उनका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गरे । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ ।

    कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ–३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ–२ स्थित छाक्ताङ खोला, घरपझोङ–२ स्थित मार्फाखोला पुल, घरपझोङ–३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ–३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर–१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।

    त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए । इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ–३ लेतेमा निर्माणाधीन सेतोखोला, घरपझोङ–२ स्थित मार्फाखोला, वारागुङ–३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदरकुण्ड–१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१\८२ मा सम्पन्न भएका हुन् ।

    आयोजना कार्यालयअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ–४ स्थित कैकुखोला, थासाङ–२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताउनुभयो । यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने इन्जिनियर चापागाईँको भनाइ छ ।

    निर्माणाधीन रहेका तीन पुलको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उहाँले बताउनुभयो । आयोजनाले कोरला सडकमा छवटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाले म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ–२ घट्टेखोला र थासाङ–१ टुकुचेस्थित थापाखोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाइएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ पुल निर्माण गरिसकेको जनाएको छ ।

    त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्यवन गरेका बाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म आठवटा पक्की पुल निर्माण भइसकेको छ । पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका आठ पुल सम्पन्न भएका हुन् । जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन् । त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन् । यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

  • बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    २१ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।


    हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडिनै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।


    कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने, ‘आयोजनाबाट विद्युत उत्पादन सुरुभएपछि हिउँदयामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’


    बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रुपमा डुबेको थियो ।


    उक्त दिन जलविद्युत आयोजनामा कार्यरत २२ जना कर्मचारीहरुलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रुपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।


    आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो । आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

  • यस वर्ष कति आयात भयो रासायनिक मल ?

    यस वर्ष कति आयात भयो रासायनिक मल ?

    काठमाडौँ, २१ मङ्सिरः सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार यही मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले एक लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरशेनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।

    कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया, ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट टे«डिङ कर्पोरेशनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको जनाएको छ । यस्तै, कूल ८६ हजार तीन सय ३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार आठ सय १८ मेट्रिकटन र साल्ट टेडिङ कर्पोरेशनमा २८ हजार पाँच सय १४ मेट्रिक टन उपलब्ध छ ।

    यस्तै, आयातको क्रममा बाह््य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेटिकटन रहेको मन्त्रालयले जनाएको छ । खेतीपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अबलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

  • १४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

    १४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

    सिरहा, २० मङ्सिरः १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन् । आज कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए ।

    “यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ । विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ । पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ”, उनले भने ।


    अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताए । पटक–पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनको भनाइ छ ।

    मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ । त्यसैले कमला पुल निर्माणमा करिब रु दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ । यस अभियानका लागि प्रतिपरिवार रु १० हजारका दरले चन्दा सङ्कलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाउने बताइएको छ ।

  • टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    काठमाडौँ, २० मङ्सिरः काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २।५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक ९एडिबी०को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत रु तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ ।

    टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणधीन छन् ।

    मन्त्री घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए । त्यस क्रममा उनले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरे ।

    उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँ, २० मङ्सिरः नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

    यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

  • ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    पाटन (ललितपुर), २० मङ्सिरः विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक र एक उत्कृष्ट टिभी ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मानसहित पुरस्कृत गरे । महानगरमा लामो समय काम गरेर अनिवार्य अवकाश भएका ६ जना महिला स्वास्थ स्वयंसेविका र २० जना टोल स्वास्थ्य उत्प्रेरकलाई नगल एक लाख रुपैयाँसहित सम्मान गरियो ।


    स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई÷तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताएका छन् । “तपाईंहरुको कारणले ललितपुर महानगरको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम भएको छ, हामी तपाईंहरुको कामको प्रशंसा गर्न चाहन्छु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधान गर्न तीन महिनाभित्र एउटा कार्यविधि निर्माण गर्नेछौँ, ७५३ स्थानीय तहमध्ये हामीले उत्कृष्टस्तरको काम गरेका छौँ, ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने नगरपालिका भनेर चिनिन्छ, स्वास्थ्य क्षेत्रमा प्राप्त सुझावलाई ग्रहण गरेर कार्यान्वयन गर्छौँ, हामी बोल्ने मात्रै हैन, बोलेको कुरा काम गरेर देखाउन सक्छौँ ।” उनले भने ।

    ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले धेरै चर्चा गर्नेभन्दा पनि जनताको हीतमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका रूपमा ललितपुर महानगर प्रमुखको भूमिका रहेको भन्दै ललितपुर महानगरले उत्कृष्ट काम गरिरहेको धारणा राखे । उनी ललितपुर महानगरले मानव संशाधनको विकास, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थको विकासमा अनुकरणीय काम गरेको भन्दै शारदा नगरपालिकाल पनि ललितपुर महानगरको समन्वय र सहयोगमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बताए ।
    कार्यक्रममा महानगरको सामाजिक विकास समितिका संयोजक प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले धेरै वडामा खुला आकाशमुनि बसेर भिटामिन ए खुवाउनु परेकोमा अवदेखि २९ वटै वडामा टेवल, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने बताए ।

    ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वयंसेवकको योगदानले स्थानीय समुदायदेखि विश्वले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने भन्दै सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न र आमसर्वसाधारणको स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन महत्त्वपूर्ण काम भएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कारण मातृमृत्युदर, बालमृत्युदरमा कमी आएको भन्दै महिला स्वास्थ स्वयंसेविकाको योगदानले सुरक्षित मातृत्वको लागि अतुलनीय योगदान भएको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका महानगरको स्वास्थ क्षेत्रको मेरुदण्ड भएको धारणा राखिन् । जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ स्वयंसेविकाको योगदानले नेपालले स्वास्थ क्षेत्रमा दक्षिण एसियामा नै उत्कृष्ट स्थान हासिल गर्न सकेको धारणा राखिन् ।

  • हेटौँडाको मुख्य सडक विस्तार सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    हेटौँडाको मुख्य सडक विस्तार सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    बागमती, १९ मङ्सिर । सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
    सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडाका नाममा आदेश दिएको छ ।

    यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सोसमेत खुलाइ यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनिभत्र प्रत्यर्थी नं १, ३, ४, ५ र ६ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रत्यर्थी नं २ को हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी अदालतले आदेश दिएको छ ।

    अदालतले अन्तरिम आदेश माग भएको सन्दर्भमा विचार गर्दा निवेदकहरूको बसोबास र सम्पत्तिको हकको विषय निवेदनमा उठाइ आएकाले विषयवस्तुको प्रकृति हेर्दा अन्तरिम आदेश जारी हुने वा नहुने के हो, दुवै पक्षहरु राखी छलफल गरी निष्कर्षमा पुग्नु मनासिव देखिएको अदालतको आदेशमा उल्लेख छ । छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकिएको छभने छलफल भई अन्तरिम आदेश जारी हुने÷नहुने विषय टुङ्गो नलागेसम्म प्रत्यर्थी सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजन कार्यालय मकवानपुर हेटौँडाको मिति २०८१ मङ्सिर ५ को सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भनी अदालतको आदेशमा उल्लेख छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीबाटै असुलउपर गर्ने जनाएको थियो ।

  • भूजीखोलाका बाढीपीडित ६ वर्षदेखि राहतको पर्खाइमा

    भूजीखोलाका बाढीपीडित ६ वर्षदेखि राहतको पर्खाइमा

    रासस
    ढोरपाटन (बागलुङ), १९ मङ्सिर । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।

    आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । सैतीस जनाको ज्यान जानेगरी आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । बाढी गएपश्चत सरकारले पीडितको पुनःस्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसकेको उनीहरूको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।

    बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का एक सय ३१ घर बगाएको थियो । पीडितले ऋणधन गरेर अहिले घर बनाइसके । तर राहत अझै पाएका छैनन् । ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गरे । बाढीले उहाँको जेठो छोरा र भएभरको घरसम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशासमेत मरिसकेको उनी बताउँछन् ।


    विकले भने, “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पालमुनि बस्यौँ, सधैँभरि पालमुनि बसेर जीवन चल्दोरैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरू धेरै पीडामा पर्यौँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”

    अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको रु चार लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरिसकेको बताए । केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उहाँको भनाइ छ । नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउँछन् । “हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ”, उनले भने ।


    सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए । बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाए । आफूले जम्मा रु दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा रु पाँच लाख खर्च भएको उनको भनाइ छ ।

    “बाढीले परिवार नै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ, अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरु धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ”, उनले भने ।


    बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनःनिर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । सङ्घीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरु रकम नपाएको उनको भनाइ छ ।

    उपप्रमुख कायतले भने, “पीडितहरूले प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने हो, विभिन्न कारण उनीहरूले सकेनन्, तर घरचाहिँ सबैको बनेको छ, सरकारले दिने रकम एकतिहाइले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरूले पहल गरिरहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनःनिर्माण भएर सञ्चालनमा आइसके ।”

  • आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    काठमाडौँ, १९ मङ्सिर । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।

    यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसङ्घले जनाएको छ । यसै अवसरमा एक सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । सन्देशमा उहाँले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    राष्ट्रसङ्घका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसङ्घका स्वयंसेवकहरू क्रियाशील छन् । स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइने गरिएको छ । विश्वभर माटो संरक्षण, दिगो कृषि व्यवस्था तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न आवश्यक उपायहरूबारे बहस र अभियान यो दिवसमा सञ्चालन हुने गरेका छन् ।

    कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा माटोको भूमिका महत्वपूर्ण भएकाले माटो संरक्षण र दिगोपनलाई प्राथमिकतामा राख्न यो दिवसले विश्व समुदायलाई स्मरण गराउने उक्त विश्व संस्थाले जनाएको छ । सन् २०१३ जुनमा राष्ट्रसङ्घले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउने यो दिवसको लक्ष्य हो ।
    तस्बिरः एआई सिर्जित

  • सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

    सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

    काठमाडौँ, १९ मङ्सिर । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ मेगावाट क्षमताका कुल ९७ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन् ।

    सरकारले ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको तथा सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुलीको पनि उचित मूल्य प्रदान गर्ने नीतिगत निर्णय गरेकाले यस क्षेत्रमा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको हो । चालु आवको हालसम्म छवटा सौर्य ऊर्जा परियोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन् ।
    विभागका अनुसार गैरआवासीय नेपालीको लगानी रहने एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १०० मेगावाट क्षमताको रोल्पा सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । त्यस्तै, सोही कम्पनीले नै १५० मेगावाट क्षमताको अर्घाखाँची सौर्य विद्युत् आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ ।

    सिजी इर्नगो प्रालिले २५ मेगावाट क्षमताको पाल्पा डम्बक सौर्य विद्युत् आयोजना निर्माणका लागि सर्वेक्षणको अनुमति लिएको छ । यस्तै, १० मेगावाट क्षमताका विराट बर्जु सौर्य विद्युत् आयोजना, डाँगीहाट सौर्य विद्युत् आयोजना र बाडगङ्गा सौर्य विद्युत् आयोजनाले पनि सर्वेक्षण अनुमति लिएको विभागले जनाएको छ । विभागले हालसम्म १२ सौर्य विद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ती आयोजनाको कुल क्षमता ८४ मेगावाट बराबर छ ।

    यस्तै, विभिन्न पाँच आयोजनाले सर्वेक्षणका लागि अनुमति माग्दै आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १० मेगावाटबराबर छन् । विभागका अनुसार १५ मेगावाट क्षमताका तीन आयोजनाले विद्युत् उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।

  • पुटिन भारतमा, वार्ता रक्षा र व्यापारमा केन्द्रित

    पुटिन भारतमा, वार्ता रक्षा र व्यापारमा केन्द्रित

    नयाँ दिल्ली, १९ मङ्सिर (रासस–एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणमा शिलशिलामा बिहीबार साँझ भारतको राजधानी आइपुग्नुभएको छ। विश्वले विशेष चासोका साथ हेरेको यस भ्रमणका क्रममा रूस र भारतबीच रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ। नयाँदिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबाबको सामना गरिरहेको छ। रूसी नेता पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा पुग्नुभएको थियो । पुटिनलाई रातो कार्पेटमा अँगालो हाली स्वागत गरेका प्रधानमन्त्री मोदी र नेता पुटिन त्यसपछि एउटै कारमासँगै विमानस्थलबाट बाहिरिएका थिए ।

    युक्रेन युद्धपछि भारतको पहिलो भ्रमणमा रहेका पुटिनसँगै उहाँका रक्षामन्त्री एन्ड्रे बेल्उसोभ पनि रहनुभएको छ र लडाकु विमान तथा हवाई रक्षा प्रणालीसम्बन्धी सम्भावित सम्झौताहरूमा छलफल हुने अपेक्षा गरिएको छ। इन्डिया टुडेसँगको एक संक्षिप्त अन्तर्वार्तामा पुटिनले भन्नुभयो, “म ‘मेरो मित्र’ मोदीलाई भेट्न पाउँदा ‘धेरै खुसी’ छु।” “भारतसँग हाम्रो सहयोगको दायरा विशाल छ,” उहाँले रूसी भाषामा भन्नुभएको थियो । सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणलगायतका क्षेत्रलाई समेटिएको इन्डिया टुडेले भारतीय तथा रूसी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

    भारतीय प्रधानमन्त्रीले पनि आफ्ना मित्र तथा रूसी राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू ‘अत्यन्तै खुशी” भएको बताउनुभएको छ । “आज साँझ र भोलि हुने हाम्रो कुराकानीको प्रतीक्षामा छु,” मोदीले एक्समा एक पोस्टमा लेख्नुभएको छ। उहाँले बिहीबार साँझ पुटिनलाई निजी रात्रिभोजमा स्वागत गर्नुहुनेछ भने शुक्रबार दुई नेताबीच दुवै देशका प्रतिनिधिसहित शिखर बैठक हुनेछ।

    “भारत–रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो जसले हाम्रा जनतालाई धेरै फाइदा पु¥याएको छ,” मोदीले कारभित्र खिचिएको उनीहरूको तस्बिर पोस्ट गर्दै एक्समा लेख्नुभएको छ। भारतले रणनीतिक रुसी तेल आयातमा निर्भर रहँदै जारी भन्सार शुल्क वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तेजित नगर्ने प्रयास गरिरहेको बेला व्यापारिक सम्बन्ध प्रमुख रूपमा अगाडि आउने अपेक्षा गरिएको छ।

    – ऊर्जा आयात –

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको उन्नत एस–४०० हवाई रक्षा प्रणालीको भारतमा आपूर्ति विस्तार गर्ने एजेन्डामा वार्ता केन्द्रित रहने बताउनुभएको छ। भारतीय सञ्चारमाध्यमका रिपोर्ट अनुसार मस्कोले रुसको एसयु–५७ लडाकु विमानको सह–उत्पादनको प्रस्ताव पनि गर्न सक्छ। भारत विश्वको शीर्ष हतियार आयातकर्ताहरू मध्ये एक हो, र रुस लामो समयदेखि एक प्रमुख आपूर्तिकर्ता रहँदै आएको छ। तर नयाँ दिल्लीले प्रतिरक्षाका लागि घरेलु उत्पादन बढाएको छ वैकल्पिक आपूर्तिकर्ताहरू पनि खोजेको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार, भारतको हतियार आयातमा रुसको हिस्सा २००९–१३ मा ७६ प्रतिशतबाट घटेर २०१९–२३ मा ३६ प्रतिशतमा पुगेको छ।

    अगस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिल्लीले रुसको तेल निरन्तर खरिद गरिरहेको भन्दै अधिकांश भारतीय उत्पादनहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि रूसी नेता पुटिनको भ्रमण हुन लागेको छ र यसले पनि विश्वको ध्यान खिचेको छ। वाशिङ्टनको तर्कअनुसार रूससँगको व्यापार सम्बन्धलाई लिएर भारतमाथि (भारतीय सामानमा) लगाइएको अतिरिक्त शुल्क ९राजस्व० ले युक्रेनमा युद्धलाई आर्थिक सहयोग पु¥याउँछ।

    विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारत, रुसको तेलको प्रमुख खरिदकर्ता बनेको छ, जसले भारतलाई अर्बौं डलर बचत गराएको छ भने युद्धका कारण युरोपका परम्परागत खरिदकर्ताहरूबाट अलग भएपछि मस्कोलाई एक अत्यन्त आवश्यक निर्यात बजार प्रदान गरेको छ। तर हालै दिल्लीले रुसका शीर्ष तेल उत्पादकहरू रोसनेफ्ट र लुकोइलमाथिको प्रतिबन्धको दबाबमा कच्चा तेलको आयात घटाएको छ। रुससँग कुनै पनि नयाँ ऊर्जा वा रक्षा सम्झौताले ट्रम्पलाई रिसाउन सक्छ कि भन्ने भारतीय सरकारलाई डर छ । यसको वाशिङ्टनसँगको व्यापार वार्तामा असर पर्ने सम्भावना रहन्छ। पेस्कोभले भन्नुभयो, “मस्को ‘कसैलाई हस्तक्षेप गर्न नदिई भारतसँगको हाम्रो द्विपक्षीय व्यापारको मात्रा कायम राख्न र बढाउन’ चाहन्छ।”

    नयाँ दिल्लीस्थित ‘थिङ्क–ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन’ का नन्दन उन्नीकृष्णनले एएफपीसँग भन्नुभयो, “अमेरिकी दबाबका कारण ऊर्जा खरिदमा केही कमी आउन सक्छ तर सम्बन्धको समग्र दिशा पूर्ववत कायम रहनेछ किनभने दुवै देशलाई रणनीतिक स्तरमा एकअर्काको आवश्यकता छ।”

    – संवेदनशील क्षण –

    भारतीय परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा भन्नुभयो, “व्यापार असन्तुलनलाई ‘जे भए पनि’ सम्बोधन गर्न आवश्यक छ।

    द्विपक्षीय व्यापार सन् २०२४\२५ मा ६८.७ अर्ब डलर पुगेको छ जुन महामारी अघिको स्तरभन्दा लगभग छ गुणा बढी हो । तर भारतीय निर्यात केवल ४.८८ अर्ब डलर मात्र रहेको थियो। भारतले औषधि, सवारी साधन (अटोमोबाइल) र सेवा क्षेत्रलगायत आफ्ना प्रमुख उद्योगहरूका लागि बजार पहुँच विस्तार गर्न मस्कोमाथि दबाब दिँदै आएको छ। किङ्स कलेज लन्डनका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हर्ष वी पन्तले भन्नुभयो, “यो भ्रमण ‘दुवैका लागि एक महत्त्वपूर्ण भू–राजनीतिक क्षणमा आफ्नो सम्बन्धलाई पुनस्र्थापना गर्ने’ एक प्रयास हुनेछ।

    “भारतका लागि यो रणनीतिक स्वायत्तताको लागि दृष्टिकोणको एक व्याख्या हो भने विरलै यात्रा गर्ने पुटिनले यहाँ यात्रा गरेर मजबूत सम्बन्धको महत्त्वबारे सन्देश दिइरहेको पाइन्छ।” पन्तले एएफपीसँग भन्नुभयो । भारतीय परराष्ट्र मन्त्रालयका एक अधिकारीले मस्को र दिल्लीबीचको सम्बन्धलाई ‘आधुनिक समयको सबैभन्दा स्थिर सम्बन्ध’ का रूपमा वर्णन गरेका छन् । ती अधिकारीले विश्वव्यापी भू–राजनीतिक महत्त्वलाई स्वीकार गर्दै बैठकलाई ‘केवल अर्को वार्षिक शिखर सम्मेलन’ को रूपमा हेरिनुपर्ने कुरामा जोड दिए।

  • लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    काठमाडौँ, १८ मङ्सिरः काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।


    लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।


    उनले भने, “राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।” यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । “ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ”, उनले भने ।


    ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

    यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

    नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ ।

  • नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

    नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

    त्रिवेणी (नवलपरासी), १८ मङ्सिरः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए । उनका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ ।

    गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । लामो पुलमा चोरमारा र अरुणखोला मात्र सञ्चालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताए । कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम समेत चलिरहेको छ । त्यसबाहेक सडकबीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको छ ।

    पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उनले बताए । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उनले बताए । “दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ”, सूचना अधिकारी खनालले भने । नारायणगढ–बुटवल सडक विस्तार विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।