Category: स्वास्थ्य

  • काठमाडौंमा हैजा पुष्टी

    काठमाडौंमा हैजा पुष्टी

    काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ ।

    सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी समेत गरिएको छ । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन । यसले हैजाको जोखिम बढेको आशंका गरिएको थियो । ठूलो जनसंख्या, खानेपानीको सुरक्षित व्यवस्थापन नहुनुका कारण काठमाडौंमा हैजा अझ जोखिमपूर्ण मानिन्छ । हैजा सरुवा रोग हो ।

  • नेपालमा भेटिए २३ कोरोना संक्रमित

    नेपालमा भेटिए २३ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।


    पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३९ पुगेको छ । नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।

  • मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ । प्रयोगशालाको विज्ञ टोलीबाट जाँचका क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठ रोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुरुषलाई विमानस्थालको हेल्थ डेक्सले मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकु अस्पताल पठाएको थियो । मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।

  • मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय चार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

    काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने तयारी छ ।

    पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिने मन्त्रालयको तयारी छ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

    सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं.१ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लामा खोप बाड्ने भएको छ । लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

  • संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

    संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

    काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन ।

    सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका छन् । बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ ।

    प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ । धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको छ ।

    असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ । साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।

  • नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    नेपालमा थप १६ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार !

    तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ । काठमाडौंको उत्तर पुर्बी डाँडामा अबस्थित जगडोलको स्थानीयबासीको हैसियतले यो पत्र लेख्ने जमर्को गरेको हुँ । काठमाण्डौस्थित जगडोल गाउँ अलि पर बसेर हेर्दा गोकर्ण नगरपालिका भित्रकै एउटा गाँऊ होला भन्ने भान पर्दछ तर भुगोलको हिसाबले जगडोल बुढानिलकण्ठ नगरपालिका भित्रपर्ने तर बुढानिलकण्ठ नगरपालिका प्रशासनको नजरमा भने हत्तपत्त नपर्ने, एैतिहासिक एवं पौराणिक महत्त्व बोकेको रमणीय गाउँ हो । काठमाडौंको जनघनत्व र अव्यवस्थित भवन निर्माणले निम्त्याएको प्रदुषणले निसासिएर जगडोलको स्वच्छतामा रमाउदै टहलिन, बिहान चारै बजे देखि सयौ मानिसहरू “ मर्निङ वाक “ आउने कुरामा तपाईंहरू पनि सायदै अनविज्ञ हुनुहुन्न होला ! तपाईं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ज्यु त बिहान घुम्ने सयौ मानिसहरु मध्येको एउटा अंग नै हुनु हुन्छ ।

    नगरपालिका प्रमुख ज्युहरु !

    म अब मुल बिषय तर्फ प्रवेश गर्छु ।उता काठमाडौं महानगरपालिकाका नब निर्बाचित प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको फोहोर समाधान नगरे सम्म आफू माला नलगाउने प्रण गरेको देखेर मलाई डाह लागेको छ । तर यता प्रकृतिले हराभरा हजारौ पर्यटकको गन्तब्य उपत्यका कै शिर ,जगडोल जाने मुल सडकको प्रबेशद्वारमा अज्ञात मानिसले ल्याएर दुर्गान्धित बनाउने गरेको त्यो फोहोरको थुप्रो र गन्धले तपाईं हामी सबैलाई दिनहु गिज्याउदै आएको छ । कस्ले फाल्छ कसरी फाल्छ आज सम्म अत्तो पत्तो छैन । तर त्यो हरियाली दिनहु फोहोरको पहिरो बन्दै गएको छ । सभ्य समाज ,पढे लेखेकाहरुको बस्ती तर कानुन बिपरित डकैती सैलीमा गाउँको बिचमा फोहोर फ्याकेर दुर्गान्धित बनाईन्छ तर समाज ,प्रशासन सबै मौन ।तपाईं हामी सधैं हिंड्ने बाटोमा बसेर गिज्याई रहने ति फोहोरको थुप्रोलाई हाम्रै आँखाले मात्र देखेको हो कि हाम्रो नाकले मात्र महसुस गरेको हो त्यो त थाहा भएन । स्थानिय प्रशासन वा प्रतिनिधिका आँखाले देखेका भए त कती बर्ष बित्यो त्यो क्रमभङ् हुन्थ्यो होला ? यो बिषय कतिपयका लागि सामान्य हुनसक्छ तर कृयाकलापका हिसाबले यो बिषय सामान्य हुँदै होईन । भोग्नेहरु पिडा भयो भन्छन् । लाजै भयो भन्छन ।

    रमणीय र प्राकृतिक श्राेत साधनले भरिभराउ जगडाेल क्षेत्रको प्रवेशद्वारमा अस्तब्यस्त फ्याकिएको फोहोरको गन्धले ख्याल ख्यालैमा हद पार गरिसकेको छ । वरिपरी महंगा रिजोर्ट स्वादिस्ट पारीकार पाक्ने गर्दछन् तर नाकैमा पोतिएको त्यो फोहोरको थुप्रोले यस अगाडिका जन प्रतिनिधिलाई यो गन्धले कहिल्यै पिडा दिएन ।तर दैनिक आवत जावत गर्ने सर्वसाधारण र पर्यटकका लागि यो पिडा बनेर बसेको बर्षाै भै सक्यो । सुरुमा दुई चार पोका ल्याएर सुरु गरिएको यो प्रकृया अहिले बढाएर रातको समयमा ट्रकमा नै ल्याएर खन्याएर भाग्ने गरेको छ ।

    यदि काठमाण्डौ महानगरका प्रमुख बालेनले जस्तै तपाईं हाम्रा दुबै नगरका प्रमुखले पनि त्यो फोहोर हटाउने प्रतिबद्धता पहिलो दिन देखी गर्नु भएकाे भए हामी कति भाग्यमानि महसुस गर्ने थियौ होला । राज्यको करोडौं करोड लगानीमा अस्त ब्यस्त पसारो परीरहेको सहिद पार्क कै काखमा त्यो फोहोरको डङुर् नाची रहेको छ । न शहिद पार्क प्रशासनलाई त्यो फोहोरले गन्हाउने गरेको छ न जन प्रतिनिधिका नाकमा त्यो गन्ध पस्ने गरेको छ ।

    प्रमुख ज्युहरु ! अचम्म त यो छ कि फोहोरलाई फोहोर देख्ने अनी फोहोरको गन्ध नाकले थाहा पाउने चांहि किन गाउँले र सर्वसाधारण मात्र हुने होला ? जगडाेल हुँदै शिबपुरी हाइकिङ गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु समेत आउने गरेका छन् , उक्त मुख्य प्रवेश मार्गमा रातको समय पारेर ट्रकका ट्रक फाेहरहरू लेराइ दोस्रो ओखरपौवा बनाएर आवत जावत गर्न समेत हम्मे हम्मे पर्ने अवस्थामा छ ।हुन त जगडाेलका स्थानिय बासिहरुले उक्त फोहोर कसले कसरी ल्याउछ भन्ने पतालगाउन बिभिन्न उपाय यस अगाडि नगरेका पनि होईनन् । कुन ठाँऊको फोहोर होला भनेर स्थानिय युवाहरुले फोहोर खोसरेर कागजमा भएको फोन नम्बरमा फोन गरेर समेत पत्ता लगाउने कोशीस गरे । केही सिप लागेन । सि सि क्यामेरा पनि जडान गरिएका छन तर उक्त क्यामेराको भिडियो बौद्ध प्रहरीले हेर्ने सहमति पनि नभएको होइन तर के त्यो क्यामराले काम गरेको छ ? न बौद्ध प्रहरी नै यो बिषयमा संबेदनसिल देखिन्छन् ।न प्रहरीले पत्ता लगाउने कोशीस नै गरेको छ । सुरु सुरुका दिनहरुमा १ , २ पोका फोहोर त हो नि भनेर वास्ता नगर्दा, अहिले मरेका सिनो देखि हरेक फाेहर थुप्रीसकेका अबस्थामा छ ।बटुवा देखि सवारि साधन प्रयोग कर्ता र बटुवाहरु आवत जावत गर्ने हरेकको नाकमा ठुःस गन्ध पुगे पछी एकछिन नाक मुख छोपी हिंड्ने गरेका छन्। प्रहरी प्रशासनको खिल्ली उडाउदै मध्य गाँऊमा ट्रकका ट्रक फोहोर मिल्काउदा समेत न प्रशासन न गाँउले सबै चुप चाप भएको देख्दा हामी नेपाली ” हामी यस्तै त हो नि ब्रो ” भने जस्तो भयौ कि जस्तो पनि लाग्छ ।

    भूमिका जती नै बाँधे पनि जती नै बयान गरे पनि त्यो फोहोर त्यहा बाट हट्नु पर्‍यो ।जसरी पनि हटनु पर्‍यो । हाम्रा नगर प्रतिनिधिज्युहरु अब त्यहाँ पुग्दा नाक मुख थुनेर खुम्च्यार हिड्दै अर्को पाँच बर्ष नबिताइ दिनुहोला भनी अनुरोध साथ यो पत्र सार्बजनिक गरेको हुँ । बिकास र परिवर्तनका नाममा ठुला ठुला गुड्डी हाक्नु भन्दा गाउँले ले महसुस गर्ने यस्तै कामहरु गर्दै जानुस् तपाईंहरुको योगदान अजर र अमर हुने छ । धन्यबाद ।

    बसन्त पौडेल
    बुढनिलकण्ठ -११,जगडोल

  • निजामती अस्पतालले  मोडुलर आइसीयू संचालनमा ल्याउने

    निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने

    काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उनले जानकारी गराए । आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्धहुने उनको भनाई छ ।

    अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उनको दावि छ । अस्पतालले चारबेडको आईसीयू विस्तार गरेर १२ बेडको बनाएसँगै दैनिक १० देखि १५ जना बिरामी आइसीयू नपाएर रिफर हुनुपर्ने समस्याको अन्त्य भएको डा. पौडेलेले जानकारी दिए ।

    चीन सरकारले बनाएको १ सय १५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको उनको भनाइ छ । अस्पताले जेठ १ गतेबाट होलबडी जाँच गर्नेहरुका लागि लक्षित गरेर बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सेवा दिन थालेपछि दैनिक १८० जनाले सेवा लिन थालेका छन् । अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिए ।

  • थप ९ जनामा कोरोना पुष्टी

    थप ९ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्। अहिले देशभर ९७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

    स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

    काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको जानकारी गराएका छन् । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्र्पकमा आउँदा तिनीका र्‍याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ।

    यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्दछ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ।

    ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ। यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।

    मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ। मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

  • निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

    निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

    काठमाडौं । सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन् ।

    प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ । स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान भने संचालन नहुने भएको हो । सबै मतदातलाई भयरहित भएर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आफ्नो मतअधिकारको प्रयोग गर्न मन्त्रालयले आह्वान गरेको छ ।

  • वैशाख ३० गते खोप सेवा बन्द हुने

    वैशाख ३० गते खोप सेवा बन्द हुने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

    मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते खोप कार्यक्रम नहुने भन्दै कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाहरूले त्यसअघि नै खोप लगाउन आग्रह गरेको छ ।

    यस्तै वैशाख ३० गतेपछि खोप कार्यक्रम नियमित हुने पनि मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । यसअघि मन्त्रालयले सबै मतदान केन्द्र नजिक खोप केन्द्र पनि राखेर कोरोनाविरुद्धको खोप लगाउने बताएको थियो ।

  • नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

    नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको छ।

    केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ। संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको छ । संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले भनेको छ । छिमेकी देश भारतमा समेत संक्रमणदर बढिरहेका कारण समेत नेपालमा यसको जोखिम बढेको हो ।

    खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गरेको छ । नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये नौ लाख ६६ हजार ७४७ जनाले कोरोना जितेका छन्।

    नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले देखाएको छ। कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।

  • आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा मात्रै कोभिड सङ्क्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो सङ्ख्या भारतले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क भन्दा १० गुणाले बढी हो।


    यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ सङ्ख्या भारतमा देखिन्छ। तर भारत सरकारले विश्व स्वास्थ्य सङ्गठनको यो आकलनमा प्रश्न उठाएको छ। भारतले गणनाको विधिमा चिन्ताू रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी रहेको देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गरेको मापनलाई अतिरिक्त मृत्यु भनिएको छ। जसमा महामारी सुरु भएपछि मृत्यु हुने मानिसहरूको सङ्ख्या महामारी अघिको त्यही समयको मृत्युदर भन्दा कति बढी थियो भन्ने अन्तर हेरिएको छ।

    यो विधिले प्रत्यक्ष कोभिडकै कारण मृत्यु नभएका तर कोभिड महामारीले निम्त्याएका अप्रत्यक्ष समस्याहरूका कारण भएका मृत्युहरूलाई पनि गणना गर्छ। जसमा मानिसहरू कोभिडका कारण अस्पतालबाट आवश्यक सेवा लिन वञ्चित भएका कारण भएका मृत्यु जस्ता कारणहरू पर्छन्। यसले केही क्षेत्रहरूमा भएको कमजोर तथ्याङ्क सङ्कलन र महामारीको सुरुवाती समयमा देखिएको परीक्षण अभावजस्ता समस्याहरू पनि उजागर गरेको छ।

    तर विश्व स्वास्थ्य सङ्गठनले देशहरूको तथ्याङ्कमा देखिएको ५४ लाखबाट आफ्नो आकलनमा थपिएको ९५ लाख मृत्युका अधिकांश घटना कोभिडको प्रत्यक्ष असरका कारण भएको दाबी गरेको छ। पछिल्लो तथ्याङ्कलाई विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क विभागकी समिरा आस्माले दुःखान्त भनेकी छिन्। भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।

    रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ। प्रतिवेदनले देशको जनसङ्ख्याको आकारसँग समेत अतिरिक्त मृत्युको दरलाई तुलना गरेको छ। सन् २०२० र २०२१ मा यूके सहित अमेरिका, स्पेन र जर्मनी जस्ता देशहरूको अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको छ।

  • अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ।

    यदि त्यसो भए त्यसले राज्यहरूलाई गर्भपतनमा रोक लगाउने बाटो खोल्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले यदि उक्त निर्णय अघि बढे त्यसले स्वतन्त्रतासम्बन्धी थुप्रै प्रश्नहरू उठाउने बताएका छन्। पहिलो मस्यौदा भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।


    उक्त मस्यौदा अन्तिम फैसला होइन र त्यसमा धारणाहरू परिवर्तन हुनसक्छन्। तर यदि रोविरुद्ध वेड नामको उक्त मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकाका करिब आधा राज्यहरूमा गर्भपतनमाथि रोक लगाउनसक्छ। एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टस्‌ले मस्यौदा चुहिएको विषयलाई गम्भीर उल्लङ्घन भन्दै त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई भनेका छन्। उक्त मस्यौदा अमेरिकी वेबसाइट पोलिटिकोले पहिलोपटक प्रकाशित गरेको थियो।

    प्रधानन्यायाधीशले कुनै पनि तरिकाबाट अदालतको कारबाही प्रभावित नहुने पनि बताएका छन्। सार्वजनिक भएको मस्यौदाप्रति दुवै पक्षबाट तीव्र प्रतिक्रिया आएका छन्। गर्भपतनविरोधी ल फर्म अमेरिकन्स युनाइटेड फर लाइफले अदालतलाई गर्भपतन समर्थक गतिविधिहरू वा प्रतिनिधि सञ्चारहरूको अपेक्षालाई उपेक्षा गर्न आह्वान गरेको छ।

    अमेरिकामा प्रजनन स्वास्थ्यबारे सेवा दिने ठूलो संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतनको अधिकारको रक्षाका लागि आफूले लडाइँ जारी राख्ने बताएको छ। उसले यदि उक्त मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख महिलाहरूले गर्भपतनको अधिकार गुमाउने जनाएको छ।

  • नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

    नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

    नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

    काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

    बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए। शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उनलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिएका थिए।

    भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरूद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए। टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरूद्ध बालबालिकालाई खोप सुरू गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

    नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे। पाटन माध्यामिक विद्यालयमा पुगेर उनले टाइएफाइडविरूद्धको खोप अभियानको अवलोकन समेत गरेका थिए।

  • डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटमा नेपाल र डब्लूएचओबीचको सहकार्यलाई थप बलियो बनाउने र कोरोना भ्याक्सिन सहयोग गर्ने विषयमा छलफल गरेका छन् । आजै उनले परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्काले डब्लूएचओले नेपाललाई कोरोना महामारी त्यसको भ्याक्सिन उपलब्ध गराएर गरेको सहयोगको सराहना व्यक्त गरे ।

    मन्त्री खड्काले दशकौंदेखि को सहकार्य र सार्वजनिक स्वास्थ्य संकट समाधानका लागि विभिन्न समयमा गरेको भ्याक्सिन र प्राविधिकलगायत सहयोगका लागि पनि धन्यवाद व्यक्त गरेका थिए । बिहीबार नै महानिर्देशक गेब्रेयससले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि भेट गरेका छन् ।

    अध्यक्ष तिमिल्सेनाले पनि डब्लूएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले कोरोना महामारीलगायत स्वास्थय समस्या समाधानका लागि हुने सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे । भेटपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशक गेब्रेयससको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गरेको छ । उनले नेपालमा रहँदा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेट्ने कार्यक्रम छ ।

  • डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी समेत रहने छन् ।

    डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्नेछन् ।

  • आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

    आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

    काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

    स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने गरि व्यवस्थापन मिलाइएको छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

    ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

    यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ।

    मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।

    नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा जाँदा कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

  • अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

    अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

    काठमाडौं । देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४ जना अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये ११ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

    काठमाडौं उपत्यकाका प्रमुख ११ अस्पतालमा दुईजना मात्रै कोभिड–१९ संक्रमित उपचाररत छन् । ती अस्पतालमा आईसीयू र भेन्टिलेटरमा कुनै पनि बिरामी नरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र भक्तपुर अस्पतालमा उपचाररत दुईजना संक्रमित सामान्य बेडमा छन् । उपत्यकाका अरू कुनै पनि अस्पतालमा कोरोनाका बिरामी नरहेको मन्त्रालयको तथ्यांक छ ।

    न्यिदब िदबलप
    सोमबारसम्म नेपालमा कुल ११ लाख १८ हजार ७४३ जना कोभिड–१९ संक्रमित भएका छन् । संक्रमणका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

  • नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र

    नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र

    काठमाडौं । सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

    मंगलबार पत्रकार सम्मेलन गरि सरकारले सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जनाएको हो ।

    यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ ।

    २४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।

    अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

    खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको डा लालको भनाइ छ ।

    टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।

    विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ।

    यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ।

    नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।

    टाइफाइड बारे जानकारी

    टाइफाइड साल्मोनेला टाइफी(Salmonella Typhi)बाट हुने गम्भीर रोग हो जुन ढल वा संक्रमित व्यक्तिको दिसाामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।

    यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने,जिउदुख्ने, पसिना आउने ,पखाला लाग्ने र बान्ताहुने हुन्छ साथै कहिलेकाहीँ ज्यानै जान पनि सक्छ ।

    विगत ५ वर्षको तथ्याँकअनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ ।

    विगत ३ वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरु मध्ये तेश्रो र अस्पताल भर्ना हुने कारणहरु मध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ ।

    यो रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ तर १५ वर्ष मुनीकाबालबालिकामाअन्य उमेर समूहभन्दा बढी संक्रमण देखिएको छ ।

    त्यस्तै पछिल्लो Global Burden of Disease Analysis २०१९ अनुसार नेपालमा ८२,४४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ ।

    जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दाकम उमेर समूहका बालबालिका रहेका छन् । हालसालैको तथ्याङ्कले औषधि प्रतिरोधी टाइफाइडमा वृद्धि भएको पनि देखाउँछ ।

  • १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

    १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

    काठमाडौं । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार बालबालिकालाई निशुल्क टाइफाइड खोप प्रदान गरिनेछ ।

    टाइफाइड ढल वा संक्रमित व्यक्तिको दिसामा हुने जिवाणु वा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएको छ । विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गर्छ।

    डाइफाइड हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने हुन्छ । त्यस्तै पेट दुख्ने, पखाला, वाकवाकी तथा शरीरमा रातो बिमिरा आउने पनि यसका लक्षण हुन् ।

    टाइफाइड खोप लगाएपछि रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने हुन्छन् । खोप लगाएपछि यी बाहेक अन्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

  • चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

    चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर करीव शून्यको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    थप चार सय नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएन । नेपालमा तीन हजार पाँच सय ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यसैबीच पछिल्लो २४ घण्टामा आठ हजार सात सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएको समेत सरकारको तथ्यांक छ ।

  • रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

    रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

    काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराइएको छ । उनले राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै विश्व समुदायलाई घटनबारे जानकारी गराए ।

    एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताए । भिडियो फुटेजमा एउटा भवनका झ्याल बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको छ । मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएको बीबीसीले लेखेको छ ।

  • ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो ।

    पछिल्लो २४ घण्टामा तीन सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन् ।

    उनका अनुसार नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट महिलाको सफलतापूर्वक भल्भको प्रत्यारोपण गरिएको हो । यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्भको ठाउँमा प्रत्यारोपण गरिन्छ ।

    प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने चिकित्सकको भनाई छ । केन्द्रले बिरामी महिलाको सोमवार भल्भ प्रत्यारोपण गरि शुक्रबार नै डिस्चार्ज दिएको छ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ ।

    एओर्टिक भल्भ वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज भएको भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा नै कृत्रिम भल्भको सफल प्रत्यरोपण गरेपछि अब भल्भ परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको केन्द्रका निर्देशक डा. अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कृत्रिम भल्भ नेदरल्यान्डबाट भित्राइएको हो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्भ फ्रान्समा पहिलो पटक गरिएको थियो ।