Category: स्वास्थ्य

  • दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

    दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता लैजान विभागले निर्देशन दिएको छ ।

    दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले यी औषधिको प्रयोग नगर्न–नगराउन पनि सचेत गराएको छ ।

  • काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

    काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।


    ‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’ यसअघि महानगरले स्रोतमै फोहोर छुट्याउने र अलग अलग संकलन गर्ने भने पनि त्यो अभियान भने सफल हुन सकेको थिएन ।

  • देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

    देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

    काठमाडौं । काठमाडौंसहित देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ । दिउँसोमा भने घाम लाग्दा अधिकतम तापक्रम धेरै खस्किसकेको छैन । आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न शुरु भएको छ ।

    चिसोबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक ब‍दली हुने सम्भावना छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा रहने छ । हिमाली भेगमा भने कतै कतै हिमपात शुरु भइसकेको छ ।

  • राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

    राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

    सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।

    राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनको भनाई छ । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन् । यसका लागि पालिकाको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

    सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयवासीलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।


    सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरिन् ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउन्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताए । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने उनको भनाइ छ ।

    यो अस्पताल निर्माण गर्न झन्डै २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन् । अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो ।

    सन् २०१७ जुलाईमा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो । अहिले अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाण्डौसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।

  • प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ ।

    उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको छ । उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

  • काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर(३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो।

    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए। ‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’ यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।

    ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, ुव्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’ ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।

  • भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

    भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

    काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ । भारतमा यो अवस्था अझ डरलाग्दो पाइएको छ । १२२ देश समावेश सूचीमा भारत १०७ औं स्थानमा छ ।

    भारतको अवस्था छिमेकी श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानभन्दा खस्किएको छ । सूचीअनुसार दक्षिण एसियामा अफगानिस्तान मात्र भारतभन्दा पछाडि १०९ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमा श्रीलंका ६४ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा छन् ।


    बुरुन्डी, सोमालिया, दक्षिणी सुडान र सिरिया कुल ४९.९ अंकसहित सूचीको पुछार (१२२ औं स्थान) मा छन् । चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे, चिलीलगायत १७ वटा देशको अंक ५ भन्दा कम छ । सन् २०२१ मा ११६ देशको सूचीमा भारत ९४ औं स्थानमा थियो । उच्च भोकमरी रहेको भारतका बच्चाहरूमा ‘कुपोषणको अवस्था पनि गम्भीर’ रहेको छ । विश्वभर ८२ करोड ८० लाख मानिस कुपोषणको सिकार भएकामा त्यसमध्ये २२ करोड ४० लाख भारतीय रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • शरीर नै दान गरेका थिए  शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

    शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

    काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ ।

    उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए । अस्पतालले उनको निशुल्क उपचार गरिरहेको थियो । शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका हुन् ।

  • शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

    शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइहरको छ । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बनेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम गर्न छाडेको चिकित्सकले बताएका छन् । उनमा ब्लड प्रेसर ह्वातै घट्ने समस्या देखिएको छ ।

    निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् । स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको अवस्था छ ।

  • सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

    सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

    काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ ।

    किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले बोल्न र नजिकै रहेकालाई चिन्न पनि थालेका छन् ।

    छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

    किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

  • डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

    डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

    काठमाडौंं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।


    मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

    प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

  • संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।

    गत २३ असोजदेखि जोशीको छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको बज्राचार्यले जानकारी दिए । मुटुको चालमा समेत समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

  • नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

    नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

    काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

  • १९ जनामा कोरोना पुष्टी

    १९ जनामा कोरोना पुष्टी

    काठमाडौं । देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट ९६ जना निको भएको मन्‍त्रालयले जनाएको छ। यस्तै देशभर अहिले ९२५ जना सक्रिय संक्रमित छन्।

  • देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

    देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

    बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ।

    हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।

    दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

    डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ।

    डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमश: उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    संक्रमितको सख्या २७ हजार ५६९ जना पुगेको छ । डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

    विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

    काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी टिकट शुल्कमा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

    छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ । विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल छन् ।

  • नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।

    काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगिसकेको छ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौं उपत्यकामा १६ हजार बढी लाई डेंगु भएको छ ।

    सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् ।

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

    डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

    काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारी कै रुप लिएको छ ।

    मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

  • डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

    डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

    काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा केसीको अनसन तोडिएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडे । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरे ।

    सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ । सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निस्शुल्क गर्न सरकार तयार भएको छ ।

    डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा‍। केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डा केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका छन् । त्यस विषयमा संघर्ष अझै जारी रहने बताएका छन् । अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।

  • ७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    ७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले २४ घण्टामा चार हजार १२६ जनाको परीक्षण गरेको छ ।

  • टिचिङ हस्पिटल भर्ना भए डा. केसी

    टिचिङ हस्पिटल भर्ना भए डा. केसी

    काठमाडौं । अनसनरत डा. गोविन्द केसी बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी चिकित्सा क्षेत्रमा सुधारका विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशनरत थिए । सरकारले उनको स्वास्थ्य बिग्रिएपछि सेनाको जहाजबाट मंगलबार काठमाडौं ल्याउन चाहेको थियो । तर, उनी आज १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका छन् । अस्पताल भर्ना भए पनि अनशन जारी रहने बताइएको छ ।

    केसी आफ्नै खर्चमा ४ः४५ बजेको उडानबाट धनगढीबाट काठमाडौं आए । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति झन्‌ झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले पहल गरेको हो । अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उनी धनगढीको सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना भएका थिए । औषधि समेत सेवन नगरेपछि स्वास्थ्य स्थिति गम्भीर भएको थियो ।

  • धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

    धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

    काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज सेनाको हेलिकप्टर धनगढी पुगेको थियो । स्काई ट्रकबाट डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने सरकारको प्रयास असफल भएको छ ।

    उता, डा. केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको बताइएको छ । बुधबार फेरि वार्ता हुने भएको छ । ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

  • ६३ जनामा कोरोना पुष्टी

    ६३ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।

  • १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

    सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

    ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

  • अस्पताल भर्ना भए अनसनरत डा. केसी

    अस्पताल भर्ना भए अनसनरत डा. केसी

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

    डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ब्लड प्रेसर निकै घटेको र ब्लडमा सुगरको मात्रा पनि कम देखिएको बताइएको छ । धनगढी पुगेर सोमबार साँझदेखि २० औं पटकको सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन ।

  • डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् ।

    माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् । डा. केसीले जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेसमेत बताएका छन् । उनले जनसंख्या बढे अनुसार सरकार िअस्पतालको क्षमता बढाउन समेत माग गरेका छन् ।

  • डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्। अभियान सफल बनाउन स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार सङ्घसंस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्। सबै स्वास्थ्य संस्थाबाट डेङ्गुका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन्।

  • १६३ जनामा कोरोना पुष्टी, १३० ले जिते

    १६३ जनामा कोरोना पुष्टी, १३० ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४३० छ । यसैगरी, पछिल्लो २४ घण्टामा चार लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

  • नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।

  • देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

    देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

    काठमाडौं । मनाङ र हुम्लाबाहेक नेपालका ७५ वटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसको ठूलो प्रकोप ललितपुर र काठमाडौंमा देखिएको छ । ललितपुरका कतिपय परिवारका सबै सदस्यमा डेङ्गी देखिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौंमा ८ सय ८८ जना छन् ।

    डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ । डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ ।

    अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

    कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहनु पर्छ । लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।