Category: स्वास्थ्य

  • पूर्वराजकुमार पारस अस्पताल भर्ना ?

    पूर्वराजकुमार पारस अस्पताल भर्ना ?

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ ।

    ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको छैन’ ती चिकित्सकले भने, ‘अन्य केही परीक्षण गर्न बाँकी छ । सायद, भोलि उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’ तर, यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएको २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको उनले बताए ।

    ‘उँहालाई पहिला मुटुको समस्या भएकाले भर्ना गरेर राख्नुपरेको हो । एक–दुई वटा परीक्षणले सबै नर्मल भन्न नसकिने हुँदा भर्ना गरिएको छ । मुटु समस्याको औषधि खाइराख्नु भएकाले उहाँको अवस्था अहिले स्थिर छ’ ती चिकित्सक भन्छन् । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

  • उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे

    उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा. भरतबहादुर भण्डारीले जानकारी दिएका छन् ।


    शल्यक्रियापछि अस्प्तालकै वार्डमा रहेका उपप्रधानमन्त्री खड्काको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको चिकित्सक तथा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी भण्डारीले जानकारी दिए । उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्री प्रचण्डले आज अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

  • औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका लागि नेपाल सरकारले लगानी बढाउने बताएका हुन् ।


    नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै कुनै न कुनै रुपमा परम्परागत औषधिको प्रयोग गर्ने गरेको दाबी गर्दै सरकारले लगानी बिस्तारैसँग यसको सेवाको गुणस्तर बढाउन पनि पहल गर्नुपर्ने जोड दिइएको छ ।

    मन्त्री बस्नेतले भने, ‘‘परम्परागत ओषधिको विकास र विस्तार गर्ने अहिले उपयुक्त समय हो । यसमा हामीले ढिलो गर्नु हुँदैन ।’’ संसारका सबै देशसँग परम्परागत औषधिका क्षेत्रमा आ–आफ्ना अनुभव भएको बताउँदै मन्त्री बस्नेतले आयुर्वेदिक र परम्परागत औषधिको उत्पादनमा ज्ञान र अनुभव आदान प्रदान गरेर सहकार्य गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।


    सम्मेलनमा सहभागी विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वास्थ्यका अधिकारीहरुले आयुर्बेदिक क्षेत्रमा उच्चस्तरीय जनशक्तिको छात्रवृति बढाउने, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा अनुसन्धानमा सहकार्य गर्ने, दुई देशको उत्पादनलाई आयात निर्यातमा सहजीकरण गर्नेलगायतमा छलफल भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बाशुदेव उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार विश्वका विभिन्न देशमा आधुनिक र परम्परागत चिकित्साको एकीकृत सेवा प्रवाहको विषयमा विद्यमान अवस्था र नेपालको अवस्थाका विषयमा पनि छलफल भएको थियो । सम्मेलनले डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडनोम गेब्रेयेससले परम्परागत औषधि र यसको विकासमा विश्वका सबै देशहरुबिच सहकार्य आवश्यक रहेको चर्चा गरे ।


    सम्मेलनको उदघाटन समारोहमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मांडविया र केन्द्रीय आयुष मन्त्री सर्वानन्द सोनोवालले आधुनिक औषधिको प्रयोगले मात्र अबको उपचार सम्भव नहुने कुरा विगतको कोरोनाले देखाइसकेको बताउँदै परम्परागत औषधिको विकासमा सर्वपक्षीय साझेदारी आवश्यक रहेकोमा जोड दिए । सम्मेलनमा डब्लूएचओ सदस्य देशका स्वास्थ्य मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी र अनुसन्धानकर्ता सहभागी थिए ।

  • कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

    कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए ।


    नेता भण्डारीको सर्जरीका लागि प्रा. डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा. प्रदीपराज भण्डारी, डा. तिम स्प्रौल, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा. प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्यान्ड थेरापिस्ट मोहनकृष्ण डङ्गोल रहेका थिए ।


    सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस आएको जानकारी दिएका छन् । भारतमा दुई महिनाभन्दा बढी उपचार गराएर फर्किएपछि उनको गएको वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

  • २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

    २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन् ।

    ‘हाललाई सरकारले औपचारिक रुपमा प्रतिबद्धताहरु कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौं । उक्त समयमा प्रतिबद्धताअनुसार मागहरु पूरा भएर कार्यान्वयनमा नगएमा भदौ २९ गतेदेखि सत्याग्रह लगायत आन्दोलनका कडा कार्यक्रमहरु शुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं’ केसीले भनेका छन् ।

    केसीले पछिल्ला दिनमा नर्सिङ कलेजका विषयमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । आफूहरुले देशमा सबै तहको स्वास्थ्य र चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ रहोस् र आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर बढ्दै जाओस् भन्ने चाहेको उनले प्रष्टीकरण दिएका छन् ।

    ‘त्यस क्रममा चिकित्सा शिक्षा ऐन जारी भएपछि सोही अनुसार चिकित्सा शिक्षा आयोगले नियमन गर्ने क्रममा विभिन्न कोर्सहरुमा सिट संख्या घटेको हुनसक्छ । त्यो अवस्थामा गर्नुपर्ने काम भनेको शिक्षण संस्थाहरुको गुणस्तर बढाउने, स्तरोन्नति गर्ने र आवश्यक संख्यामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हो’ केसीले भनेका छन् ।

    तर त्यसो गर्नुको सट्टा सीटीईभीटीमा निजी कलेजका सञ्चालकलाई लैजाने, उनैको स्वार्थमा नीति–नियमको धज्जी उडाउने, निजीको स्वार्थ पूर्ति गर्न सरकारी संस्थाको समेत भर्ना रोक्ने, चिकित्सा शिक्षा आयोगको समन्वयमा नियमन दुरुस्त बनाउनुको सट्टा कानुनविपरीत निर्णयहरु गर्ने जस्ता गतिविधिका कारण स्वास्थ्य शिक्षामा भद्रगोल सिर्जना भएको केसीको दाबी छ ।

    ‘यसको निकास हाल कायम कानुनी व्यवस्था अनुसार गुणस्तर हुने गरी तथा देशको जनशक्तिको माग पूरा हुने गरी विभिन्न कोर्समा सिटहरु तोक्नेबाहेक केही हुन सक्दैन’ केसीले भनेका छन्, ‘कानुन नमिची र गुणस्तरमा सम्झौता नगरी अघि बढ्ने कुनै काममा हाम्रो कहिल्यै अवरोध छैन ।’

  • धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

    धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

    काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।
    धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

    डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् । स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो ।

    धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो । धरानमा घर(घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।

    तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको अवस्थालाई मध्यनजर गर्दै ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणाका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेको बताइन् ।

    साउन २६ गतेको बैठकपछि संघ र प्रदेशलाई ‘जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणाका लागि सिफारिस गरेको हो । त्यसअघि स्वास्थ्य कार्यालयले जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणाका लागि विपद व्यवस्थापन समितिलाई पत्र पठाएको थियो । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जिल्ला तहबाट केन्द्र र प्रदेशमा आपतकालीन अवस्था घोषणाका लागि अनुरोध भएको बताए ।

  • डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

    डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

    काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ ।

    अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताए । उनका अनुसार डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने बताए ।

    सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । यसपालि सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने र ती फुलबाट लार्भा निस्कन्छन् । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ ।

    सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।

    नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि मन्त्रालयको आग्रह छ ।

  • आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

    आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

    काठमाडौं । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।
    पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् ।

    कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा सामुदायिक विद्यालय, यससँग सम्बन्धित संस्था अभिभावकसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शुक्रबारसम्म विद्यालय बन्द गर्दा र भोलिपल्ट शनिबार पनि परेकाले ४ दिनसम्म हेर्ने र त्यति हुँदा पनि संक्रमण फैलिए फेरि अर्को निर्णय गर्ने जानकारी दिए ।

  • बारुला खाँदा ८ जना गम्भीर बिरामी

    बारुला खाँदा ८ जना गम्भीर बिरामी

    काठमाडौं । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।

    बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिएका छन् ।

    भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको छ । सबै बिरामी अचेत अवस्थामा छन् ।

  • काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

    काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो।

    कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।

    खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनका अनुसार बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आईसीयूमा राखेर भइरहेको पनि पौडेलले बताए ।

    पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । केही वाडमा मात्र यस कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिकरुपमा अन्य वडामा पनि यस कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।

    अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेका खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । यस कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिवार खोप सञ्चालन हुनेछ ।

  • साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

    साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

    सोमवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न सुधार भएको तर ती महत्वपूर्ण सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन् ।

    सम्झौताहरू कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। अन्यथा साउन २९ गतेदेखि सम्झौता कार्यान्वयनका लागि सत्याग्रह सुरु गर्ने चेतावनी उनले दिएका छन्।

    विज्ञप्ति

    हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं। पछिल्लो दशकभर हामीले बारम्बार गरेको सत्याग्रह लगायतको आन्दोलनका कारण विभिन्न सुधारहरु भएका छन् तर राज्यले धेरै महत्वपुर्ण सम्झौताहरु कार्यान्वयन गरेको छैन। बरु उल्टै अघि बढेका सुधारका काम मेडिकल माफियाको स्वार्थमा उल्ट्याउने काम गरिरहेको छ।

    यसै पृष्ठभुमिमा पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको छ। आयोगका सह–अध्यक्ष रहेका शिक्षामन्त्री समेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरुको त्यस्तो प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको छ। स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंक जन्माएको हो।

    साढे दुई दशकसम्मको भद्रगोलका कारण डिग्री किनबेचमा परिणत भएको चिकित्सा शिक्षा सुधारका लागि दशक लामो संघर्षबाट हासिल भएका उपलब्धिहरु उल्ट्याउने यस्तो प्रयास निन्दनीय छ। यसबीच हामीले बारम्बार विज्ञप्तिहरुमार्फत् सरकारलाई त्यस्तो उल्टो बाटो नहिंड्न चेतावनी दिंदादिंदै पनि सरकारले कुनै सुनुवाइ गरेको छैन। बरु चिकित्सा शिक्षा आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि शुरु भइसक्नु पर्ने प्रक्रिया अझै शुरु नगरेर आयोगलाई नेतृत्वविहीन बनाएर त्यसको कार्यसम्पादन अवरुद्ध पार्ने प्रयासमा छ।

    यसैबीच दलीय कार्यकर्ता भर्ती केन्द्र बनेका राज्यका अरु नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षा सुधारमा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरुको संगठित प्रयास भएको देखिन्छ।

    त्यसैले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौं।

    यीसहित शुल्क बढाउनेसम्बन्धी सिटिइभीटीको निर्णय खारेज गर्ने सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा संचालनमा ल्याउने,एकिकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्धमान शैया अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाईका साथ लागु गर्ने लगायत हामीसित २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गर्दर्छौं।

    यी सबै मागहरु पुरा नभएमा यही साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौं।

  • फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता

    फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता

    काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ ।

    गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको हो । यो काम आज सकिए आजैदेखि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान पाउने बताएको छ । फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।

    दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् । यसअघि पनि काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए ।

  • डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

    डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

    काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ।

    पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ। ती फूल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगीका बिरामी भेटिएका छन्।

    महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेंगीको संक्रमण देखिएको छ। यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।


    नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कन्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।

    नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

    सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । रासस

  • अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

    अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ। एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब(सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ। बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५(९५(९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले जनाएको छ।

    यसको अर्थ एचआईभी भएर बाँचिरहेका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो एचआईभीको अवस्थाका बारेमा थाहा छ भने त्यस्तो जानकारी भएका ९५ प्रतिशत व्यक्तिहरूले एन्टीरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन्। उपचार पाइरहेका ९५ प्रतिशत व्यक्तिहरूले भाइरसलाई दबाइदिएका छन् जसले त्यो भाइरस अरूमा सार्ने सम्भावना लगभग समाप्त पारेको छ। सब(सहारा अफ्रिकाका थप ८ सहित अन्य १६ देशहरू पनि उक्त लक्ष्यको नजिक छन्।

    “एड्सको अन्त्य आजका नेताहरूका लागि एउटा शक्तिशाली उदाहरण प्रस्तुत गर्ने अवसर हो,” यूएनएड्सकी कार्यकारी निर्देशक विन्नी ब्यानयीमाले भनिन्।
    उनले भनिन्, “यसले लाखौँको जीवन जोगाउँछ र सबैको स्वास्थ्य रक्षा गर्छ। यसले नेतृत्वले के गर्नसक्छ भन्ने देखाउँछ।” तर यूएनएड्सले कम तथा मध्य आय भएका देशहरूलाई साढे ८ अर्ब डलर बजेट अभाव रहेको उल्लेख गरेको छ।

    सन् २०२२ मा प्रत्येक एक मिनेटमा एक जनाले एड्सका कारण ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यस्तो प्रगति जुन बेला पनि गुम्नसक्ने उसको भनाइ छ। “यो प्रतिवेदनमा तथ्य र तथ्याङ्कले हामी त्यो दिशामा छौँ भन्ने देखाउँदैन तर हामी त्यता हुनसक्छौँ भनिएको छ,“ ब्यानयीमाको भनाई छ।

    तर कैयौँ चुनौतीहरू सम्बोधन हुन बाँकी छन्। प्रत्येक हप्ता ४ हजार किशोरी र कम उमेरका महिलाहरूमा एचआईभीको नयाँ सङ्क्रमण थपिने गर्छ। र प्रगतिका बाबजुद सन् २०२२ का नयाँ एचआईभी सङ्क्रमणका ६३ प्रतिशत घटना सब(सहारा अफ्रिकाका महिला र किशोरीमा देखिएको थियो।

    एचआईभी खोपको परीक्षण युगान्डा, तान्जिनिया र दक्षिण अफ्रिकामा भइरहेको छ । दक्षिणी अफ्रिकाको वोत्स्वानामा किशोरीहरू खतरामा छन्। त्यहाँ आफूभन्दा धेरै बढी उमेरका पुरुषहरूले किशोरीहरूलाई सिकार बनाउने हुँदा त्यसलाई ‘अन्तर(पुस्ता यौन सम्बन्ध’ का रूपमा चित्रण गर्ने गरिन्छ।

    गाओन ३२ वर्षकी महिला हुन् र उनलाई स्कूले छात्राहुँदा नै एचआईभीको सङ्क्रमण भएको थियो। “मलाई एक जना नजिकका आफन्तले धेरै सहयोग गर्ने गर्थे। तीसको दशकको उमेर रहेका उनी म भन्दा दुई गुणा बढी उमेरका थिए। मैले उनलाई विश्वास गरेँ। उनले त्यसको फाइदा उठाए र मसँग यौन सम्बन्ध राखे।”

    गाओन ले सन् २०१२ देखी एन्टीरेट्रोभाइरल औषधि लिइरहेकी छन्। दुई सन्तानकी आमा रहेकी उनले आफ्ना बच्चाहरू एचआईभी नेगेटिभ रहेको बताइन्। उनी अहिले अभियानकर्ताका रूपमा काम गर्छिन्। उनका अनुसार अहिले पनि समुदाय खुला रूपमा ‘बलात्कार’ र ‘यौन शोषण’ बारे छलफल गर्न तयार छैन।

    “कतिपय दिनमा, म पाँच जनासम्म महिलाबाट आफूभन्दा बढी उमेरका अधिकांश अवस्थामा आफन्तबाट एचआईभी सरेको जानकारी पाउने गर्छु। यदि पुरुषहरूले सुन्दैनन् भने हामी के गर्न सक्छौँ,” उनी प्रश्न गर्छिन् । सबै तथ्याङ्कले एचआईभी सङ्क्रमित महिलाको तुलनामा स्वास्थ्य सहयोग लिन पुरुषहरूमा हिचकिचाहट रहेको देखाएको छ। वोत्स्वानाले धार्मिक नेताहरूलाई प्रयोग गरेर पुरुषहरूको त्यस्तो व्यवहार बदल्ने र एचआईभी सङ्क्रमण रोक्ने प्रयास गरिरहेको छ। धार्मिक गुरुहरू पनि सचेतना अभियानमा लागेका छन्

    बाँकी विश्वमा उक्त प्रवृत्ति त्यति सकारात्मक छैन। राष्ट्रसङ्घका अनुसार एक चौथाइ नयाँ एचआईभी सङ्क्रमण सन् २०२२ मा एसिया प्रशान्त क्षेत्रमा देखिएको थियो। पूर्व युरोप र मध्य एसियामा पनि निरन्तर नयाँ सङ्क्रमण उकालो लागिरहेको छ। त्यसै गरी मध्यपूर्व र उत्तर अफ्रिकामा पनि त्यस्तै प्रवृत्ति देखा परेको छ। राष्ट्रसङंघले सीमान्तकृत जनसङ्ख्यामा एचआईभी नियन्त्रणका सेवाहरूको अभाव र एलजीबीटीक्यूप्लस समुदायलाई अपराधी करार गर्ने कानुनका कारण त्यस्तो भएको उल्लेख गरेको छ।

    तर पीआरइपी नामक उपचार पद्धतिले केही आशा भने दिएको छ। पूर्वी एसियाको कम्बोडियाले जोखिममा रहेका यौनकर्मी एवं समलिङ्गी तथा पारलैङ्गिक समुदायलाई ती औषधि निःशुल्क उपलब्ध गराएको छ। दैनिक रूपमा सेवन गर्नुपर्ने चक्की एचआईभीको उपचारको लागि प्रयोग गरिन्छ। एचआईभी नेगेटिभ व्यक्तिले पनि निरोधात्मक औषधिका रूपमा त्यसलाई लिनसक्छन्।
    बीबीसी

  • अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

    अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

    काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ।

    चिकित्सकहरूले पछिल्लो समय अस्पतालहरूमा गर्मी मौसममा लाग्न सक्ने रोगका कारण बिरामीको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। सन् २०२३ मा उन्मूलन गर्ने भनिएको दादुरा सङ्क्रमण भएर कान्ति अस्पतालमा दैनिक एक, दुई जना बिरामी आउने गरेका छन्।

    यस्तै कान्तिबाल अस्पतालको बहिरङ्ग सेवामा एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी आउने गरेका छन्। अस्पतालका अनुसार पछिल्ला दिनमा झाडापखाला, आउँ, रुघाखोकी, ज्वरो तथा दादुराका बिरामी आउने गरेका छन् । कतिपय बिरामी शरीरमा पानी नभएर जलविनियोजनको अवस्थामा अस्पताल आएको समेत अस्पतालको भनाई छ ।

    शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कोइरालाका अनुसार जाडो मौसमभन्दा गर्मीमा सरुवा रोग लागेर आउने बढी हुन्छन् । उनका अनुसार अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेकामा तीन सय बिरामी झाडापखाला, ज्वरो, फुड पोइजन, टाइफाइड, मलेरियालगायतका समस्या लिएर आउने गरेका छन् । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जीलगायतका समस्या लिएर बिरामी आउने गरेका छन्

  • लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ ।

    यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’ सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने । शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको उल्लेख गर्दै भनेका छन्, ‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ ।

    अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।’

    नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको छ । उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’ राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजना के छ भनी प्रश्न गरिन् ।

  • राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

    राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

    मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

  • बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

    बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएकाले यस विषयमा व्यवसायलाई निर्देशन दिएको हो ।

    विभागका निर्देशक होमनाथ भट्टराईले जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानीको उत्पादन, ढुवानी एवं बिक्रीवितरणका क्रममा संलग्न रहने उत्पादनकर्ता, ढुवानीकर्ता एवं बिक्रेता सबैले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम आआफ्नो व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले दर्ता नगरी सञ्चालन गरेको कम्पनी वा व्यवसायी फर्मका बारेमा अनुगमन भइरहेको र त्यस्ता भेटिएमा कानुन अनुसार हदैसम्मको कारबाही हुने जानकारी दिए ।


    साथै विभागले विज्ञप्तिमार्फत उपभोग गर्ने पानी खरिद गर्दा लेबल हेरेर आफूले पिउने पानी कहाँ कसले उत्पादन गरेको हो त्यसको सुरक्षित ढुवानी तथा ओसारपसार र भण्डारण भए वा नभएको र जारको गुणस्तर राम्रो भए वा नभएको यकिन गरेर मात्रै खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेको छ ।

  • राष्ट्रपति पुनः अस्पताल भर्ना

    राष्ट्रपति पुनः अस्पताल भर्ना

    काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।

    मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

  • नेपालमा मंकिपक्स भाइरस पुष्टी

    नेपालमा मंकिपक्स भाइरस पुष्टी

    काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए।

    ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’

    मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ।

  • भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन

    भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।

    मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ । मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ ।

  • राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

    राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

    काठमाडौं । मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ। राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार एन्जिओग्राफी गरिएको जानकारी गराएका छन् ।

    एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो। यसलाई सचिवालयले नियमित चेकजाँच भनेको छ । अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण र उपचार गरिएको जनाएका छन्। तर कस्तो उपचार गरिएको भन्ने विषयमा अस्पतालले केही खुलाएको छैन।

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ ।

    ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’ अस्पतालले भनेको छ, ‘उहाँलाई चिकित्सकहरुको सल्लाहअनुसार २४ घण्टा अवलोकनमा राखि भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँछौं ।’

    दम र ग्यास्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान ७ बजे काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो । अहिले उनको मुटुको परीक्षण भइरहेको छ । सचिवालयकाअनुसार एनजिओग्रामको सुरुआती रिपोर्ट राम्रो छ ।

    पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार भइरहेको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली पौडेलको स्वास्थ्य परीक्षणमा संलग्न छ ।

  • काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी

    काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी

    काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार जना बालबालिकामा दादुरा पुष्टी भएको छ।

    दादुरा पुष्टी भएका सबै बिरामीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ स्थित जोभो कदम्पा विद्यालयका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।

    विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षणहरु देखिएको थियो। शंकास्पद बिरामीको उमेर ८ वर्षदेखि ३८ वर्षसम्म रहेको महाशाखाले जनाएको छ।

  • देशभर बढ्दो गर्मी केही दिन नरोकिने

    देशभर बढ्दो गर्मी केही दिन नरोकिने

    काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

    महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो । जेठ १८ गते रौतहटको गौरमा ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

    तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

    विभाग मातहतको महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ । बुलेटिनमा लेखिए अनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

    गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ ।

  • देशभरको गर्मी अझै केही दिन रहने

    देशभरको गर्मी अझै केही दिन रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। मौसमविद्हरुका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ। हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको थियो। गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको थियो ।

    हिजो सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायु कमजोर भएका कारण अन्य भूभागमा भने वर्षाको सम्भावना नरहेको बताइएको छ ।

    काठमाडौं उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने सम्भावना रहेको छ। शुक्रबार दिउँसो पनि केहीबेर मौसम बदली भइ तापक्रम घटेको थियो। यसपालि मनसुन केही ढिला हुने देखिएको छ। सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ।

  • स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो

    स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए ।

    यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड–१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए ।

    मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

    मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

  • अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

    अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

    काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका छन् ।

    गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको हो । भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको छ । इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको हो । उता, बाराको जितपुर सिमरा उपमहानगरपालिकामा समेत गर्मी छल्न विद्यालयमा विदा दिइएको छ ।

  • ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।

    औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

    कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।

  • नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु

    नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।