Category: स्वास्थ्य

  • तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम

    तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम

    काठमाडौं । देशभर गर्मी बढ्दै जाँदा जनजिवन प्रभावित भएको छ । खासगरी तराई मधेशमा गर्मी उच्च तहमा पुगेको हो । यसले तातो हावा चल्दा लु लाग्ने सम्भावना समेत बढाउँछ । बाँके, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी मापन भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

    तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना नभएका कारण गर्मी अझै बढ्नेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको प्रक्षेपण गरेको छ । मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ । ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।

  • गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?

    गोविन्द केसीले किन दिए पुनः अनसन बस्ने चेतावनी ?

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका छन् ।

    ६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो । त्यस्तै नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने उनले माग राखेका छन् ।

    केसीले उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने नभए आफू सत्याग्रहलगायत दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले रुसी सेनामा भर्ना भएका सबै नेपालीहरुलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।

  • डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो

    डोल्पामा आगो निभाउने क्रममा घाइतेमध्ये थप दुई सैनिकको मृत्यु, मानवीय क्षति तीन पुग्यो

    काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ ।

    रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा ज्यान गएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको जलन अस्पतालमा हिजो ज्यान गएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको छ । सोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।

  • आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?

    आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए। गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।

  • विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

    विश्व मिर्गौला दिवसमा ओलीको सन्देश : बिग्रेपछिको जिवन ज्यादै कष्टकर हुन्छ

    काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई आह्वान गरेका छन् । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्।

    उनले लेखेका छन्, ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।
    हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’

  • दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

    दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

    काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म चल्दैछ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ ।

    तराई–मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ ।


    यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।

    खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

  • आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

    आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

    काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।

    कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बलका एक-एक जना र नेपाल प्रहरीका दुईजना प्रतिनिधि रहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सूचना तथा सञ्चार विज्ञ विजय गौतम पनि कार्यदल सदस्य छन् ।

    अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन् । यी सबै आकस्मिक सेवालाई एउटै प्रणालीबाट सञ्चालन गर्ने विषयमा कार्यदलले अध्ययन गरेर सुझाव दिने उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

  • सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

    सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

    काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने, ‘‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते हुनुभएको छ । ६ जना डिस्चार्ज भइसक्नु भएको छ । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ ।’ घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

  • काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही

    काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो । महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर जरिवाना गराइने छ ।’

    महानगरपालिकाले बालबालिकालाई लक्ष्य गरी खुला बेचिने कटन क्यान्डी (मिठाइ) वडा नम्बर ७ चाबहिल चोकबाट नमुना संकलन गरेर २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । यसरी पठाइएको नमुनामा ‘रोडामिन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि महानगरले अनुगमन गरेर कारबाहीको तयारी गरेको हो ।

    महानगर बजार अनुगमन समिति संयोजक तथा उपमेयर सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेरमात्र किन्न आग्रह गरिन् । खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्र सम्बन्धी जानकारी भएको लेबल हेरेरमात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।

  • चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ ।

    आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    उनले मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेको बताएका छन् । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको बीबीसीले जनाएको छ ।

  • गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

    गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त


    काठमाडौं । सरकारले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाइ नियुक्त गरेको छ ।
    बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
    डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
    यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र शर्मालाई मनोनयन गरेको छ ।

  • प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

    प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन ।

    स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दु:ख पाउने भएकाले यसलाई गम्भीररुपमा लिनु निर्देशन दिएका हुन् ।

  • सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान

    सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

    मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ ।

    सङक्रमण देखिनेहरुको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइन्छ । जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छ । तर नेपालमा अहिलेसम्म नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भैसकेको छैन ।

    डब्ल्यूएचओले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ । कोरोनाभाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ ।

  • अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

    अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

    काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।

    महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।

  • आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी

    आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ । डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो ।

    डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताए ।

    गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएको घोषणा गरेका थिए । उनले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताए । उनले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेको बताएको एएफपीले लेखेको छ ।

  • अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

    अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ–आफ्नो ठाउँबाट योगदान गर्न उनले् सम्पूर्ण नेपालीलाई अपिल गरे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले काठमाण्डौमा गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउन सक्ने बताए ।

    उनले अङ्ग फेल भइ मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने कार्यलाई थप प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आउँदा दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

  • भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

    भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

    प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई महिना निषेधित क्षेत्र तोकेको छ । राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

    त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिएकााले त्यस्ता काम गर्न रोक लगाएको उल्लेख गरेका छन् । ती क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

  • १० प्रकारका औषधी उत्पादनमा रोक

    १० प्रकारका औषधी उत्पादनमा रोक

    काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका छन् ।


    औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो । यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन् । यी नेपाली कम्पनीबाट उत्पादित औषधी हुन् ।

  • स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने

    स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने


    काठमाडौं । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो । 

    एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बिमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दिए । 

    डा. लोहनीले योसहित विभिन्न आठबुँदे निर्णय पनि गरिएको बताए । बोर्डका अध्यक्ष लोहनीले बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए । उनले  बिमितले पाउने सुविधाको थैलीमा पर्ने औषधीको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको बताए ।  औषधीको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । 

  • काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

    काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगर प्रहरीमार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने पनि भनिएको छ।

    सूचनामा महानगर क्षेत्रभित्र बिक्री निषेध गरिएको भनिए पनि कुन-कुन ठाउँमा निषेध गरिएको हो भनेर खुलाइएको छैन। त्यस्तै, सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको भनिए ती स्थान कुन(कुन हुन् भन्ने किटान गरिएको छैन। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले सार्वजनिक स्थल किटान गरेको छ।

    शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको कानुनमा उल्लेख छ।
    महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले २९औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्‍याउने सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको बताएका छन्। महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा पनि सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने व्यवस्था रहेको उनले बताए।

    उक्त ऐेनले बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री गर्न नपाउने, सार्वजनिक स्थलको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री गर्न निषेध गर्न सकिने व्यवस्था पनि गरेको छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने। दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने उनले बताए।

  • बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

    बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

    काठमाडौं । नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।

    आवेदन भर्नका लागि ९० दिनको समय दिइएको थियो । तर, सो आवेदनमा ७७१ जनाले फर्म भरे पनि अधिंकाशको नर्सले माग अनुसारको कागजात पुर्‍याउन सकेनन् । वैदेशिक रोजगार विभागका निर्देशक गोपालराज तिमल्सिना अनुसार नेपालबाट आवश्यक कागजात पुरा गरेका ७८ जनाको आवेदन सबमिट गरिएको थियो ।

    नर्सको योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर ७१ जनाको मात्रै सूची नेपालमा पठाएको छ । ‘सट लिस्ट’मा परेका नर्सको बेलुका सम्म सुचना निकालेर प्रकाशित गर्न लागेका छौं,’ तिमल्सिनाले भने । आवेदन दिँदा कम्तीमा दुई वर्षको कार्यानुभव भएको र अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या देखिएकाले कमैले मात्रै कागजात पेश गर्न सकेको तिमल्सिनाले बताए ।

    ‘आवेदन दिएका मध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स नभेटिएको बताइएको छ । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्या देखिएको छ । नेपाल र यूकेबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।

    नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने हुन्छ । राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अंक दिइने आईईएलटीएसमा राइटिङ बाहेक सबैमा ७ अंक आउनुपर्ने हुन्छ । मापदण्ड अनुसार राइटिङमा भने ६।५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिन्छन् । सटलिस्टको सूचीमा परेका नर्सको मात्रै अन्तर्वार्ता हुने र छनोटमा भएका नर्स मात्रै यूके जान पाउनेछन् ।

    उनीहरुले पठाएको सूचीमा परेको नर्स मात्रै अन्तर्वार्तामा समावेश हुन पाउनेछन् । डीएचएससी प्रतिनिधि र युेकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि र नर्स हुनेछन् ।
    छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।

    नेपाली नर्सहरूले पनि ब्रिटेनमा दर्ता भएपछि त्यहाँका ‘रजिस्टर्ड नर्स’ बराबरको तलब पाउनेछन् । सम्झौता अनुसार उनीको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदाहरू पाउनेछन् ।

  • काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

    काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् । १ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

    फोहोरमैला प्रशोधन गरी बिजुली, ग्याँस तथा मल उत्पादन गर्ने प्रशोधन प्लान्टको स्थापना गर्नु अहिलेको आवश्यकता भन्दै महर्जनले लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय तहको लगानीले मात्रै प्रशोधन प्लान्ट स्थापना गर्न नसकिने र ती प्लान्टलाई एक वा दुईवटा पालिकाको फोहोर मात्रै पर्याप्त नहुने देखिएकाले संघीय सरकारले स्थानीय सरकारलाई साथमा लिएर फोहोरमैला प्रशोधन प्लान्ट स्थापनाका लागि नेतृत्व लिनुपर्ने देखिएको छ ।’ उनले सावकिको ल्याण्डफिल साइटमा रहेको पुरानो फोहरको व्यवस्थापन समेत गर्नुपर्न बताएका छन् ।

    ‘ओखरपौवामा रहेको पुरानो फोहोरलाई व्यवस्थापन गरी उक्त साइटलाई सामुदायिक पार्क वा सामुदायिक वनको रुपमा रुपान्तरण गर्नु अत्यावश्यक छ । पार्क वा वनको अवधारणाले वातावरण संरक्षणसँगसँगै मानवस्वास्थ्यको समेत ख्याल हुने भएकाले तत्काल आवश्यक पहलकदमीका निमित्त हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ । उनले पुरानो ल्याण्डफिल साइटको फोहोरको उचित व्यवस्थापन हुन सकेमा नयाँ ल्याण्डफिल साइट क्षेत्रका जनतामा रहेको नकारात्मक धारणालाई हटाउन सकिने समेत बताएका छन् ।

  • लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

    लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

    काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको ज्यान गएको हो ।

    मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौंमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजो सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । बोऋनको शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

    मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

    काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (बुधबार) सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।

    काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएकाे थियो ।

  • मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

    मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

    काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पीके सढाईंलाई भारतको मुम्बई लगिएको छ । दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।

    ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याए हुन् । आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

    शनिबार बिहान लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ । घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

  • मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु

    मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु

    काठमाडौं । मुस्ताङमा एक साताको अन्तरमा लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको मुस्ताङ प्रहरीका सूचना अधिकारी इन्सपेक्टर दिनेश गौतमले बताएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको गौतमले बताए।

    उनको शव पोष्टमर्टम गर्न हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। यस्तै, मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई पनि असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो।

    भारतको तिलगङ्गाबाट आएका सत्यनारायणको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको पनि श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङको प्रवेशद्धार घाँसा पुगेपछि उनलाई असोज २३ गते श्वासप्रश्वासमा समस्या देखिए थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि रेवतीलाई लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।

    स्वास्थ्य केन्द्रमा उपचारका गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पर्यटक सिजन सुरू भएसँगै मुस्ताङमा पर्यटकको चाप बढेको छ। मोटरबाटोबाट छिट्टै उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने गरेको छ।

  • फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

    फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

    काठमाडौं । फ्रान्सको राजधानी पेरिस र अन्य सहरमा उडुसको प्रकोप बढेको छ । यसले आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ। बीबीिसीका अनुसार विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ।

    प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ, मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर भनेका छन् । मानिसहरू जुलाई र अगस्ट महिनामा बाहिर जान्छन् र आफ्ना सामानमा उडुस लिएर फर्किने उनले बताए । प्रत्येक वर्ष हुने यस्तो मौसमी वृद्धि अघिल्लो वर्षको भन्दा बढी हुने समेत उनले बताए ।

    पेरिसमा फ्ल्याटमा बस्ने मानिसहरू लामो समयदेखि उडुसको त्रासमा छन्। विगत पाँच वर्षमा १० जनामध्ये एक जनाले उडुसको प्रकोप खेपेको सरकारी तथ्याङ्क छ। अहिले उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा परेका छन्।

    सिनेमाघरमा पनि उडुस देखिएको विवरण प्रकाशित भएको छ। पुष्टि हुन नसके पनि त्यसलाई गम्भीरतापूर्वक लिइएको छ। मानिसहरूले आफूलाई उडुसले रेलमा पनि टोकेको दाबी गरेका छन्। अहिले पेरिसको स्थानीय प्रशासन र राष्ट्रपति माक्रोँको सरकारले उडुस नियन्त्रणका लागि उचित काम गर्न आह्वान गरेको छ।

    त्यसबाट उडुसको प्रकोप तथा ओलिम्पिक्स खेल आयोजना हुन लागेका बेला पेरिसको छविप्रति फ्रान्स कति गम्भीर छ भन्ने देखिन्छ। सामाजिक सञ्जालमा उडुस आतङ्कबारे निकै चर्चा हुने गरेको छ। तर प्रशासन त्यसलाई बेवास्ता गर्ने पक्षमा छैन। सिनेमाघरको कुर्सीमा अज्ञात कीरा देखिने भिडिओहरू सामाजिक सञ्जालमा फैलिएपछि सिनेमा हेर्न जाने मानिसको सङ्ख्या घट्न थालेको छ। मेट्रोमा पनि मानिसहरूले बस्नुअघि सीटमा केही पो छ कि भनेर हेर्न थालेका छन्। केही मानिस भने उठ्न नै रुचाउँछन्।

  • सरकार र चिकित्सकबीच सहमति

    सरकार र चिकित्सकबीच सहमति

    काठमाडौं । सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।

    पछिल्लो समय मणिपाल ९पोखरा, माडी ९चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो। सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा. शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

    सरकार र चिकित्सकबीच डाक्टरको सुरक्षा प्रत्याभुति गराउने सहमती भएको छ । डाक्टरलाई कुटपिट गर्नेलाई तीन वर्ष भन्दाबढी जेल सजाय गर्ने बारे कानूनी व्यवस्था बढाउने बारे समेत सहमति भएको छ ।

  • हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द

    हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द

    काठमाडौं । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

    कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

    सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताए । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।

  • पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

    पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

    काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ । 

    कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरुलाई मात्र खोप दिने डा.गौतमले जानकारी दिए ।

    खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउदा प्राप्त हुने कार्ड लैजान उहाँको आग्ह छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन डा.गौतमको आग्रह छ ।

    सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरेको हो ।  खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेल्धुरा अस्पतालमा खोप  कार्यक्रम सञ्चालन गर्दै छ ।

    विश्व स्वास्थ्य संगठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको हो । 

    यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।